सुसमाचार

यस पृष्ठलाई छाप्नुहोस्

डेविड क्लाउड

पद कण्ठ: १ कोरिन्थी १५:१-८

परिचय

  1. सारांशमा सुसमाचार यो नै हो। पवित्र शास्त्रमा अरू कतै पनि यति छोटकरीमा सुसमाचारको सारांश दिइएको पाइँदैन। तसर्थ यो ज्यादै महत्त्वपूर्ण खण्ड हो।
    1. सही सुसमाचार जान्नु आवश्यक छ किनकि मुक्ति पाउने एउटै मात्र उपाय यही हो (१ कोरिन्थी १५:२)।
    2. सही सुसमाचारलाई पक्रनु आवश्यक छ किनकि हरेक झूटा सुसमाचार परमेश्वरको श्रापमुनि छ भनेर पावलले चेताउनी दिएका छन् (गलाती १:६-९)।
    3. हामीले सही सुसमाचारलाई जान्नु आवश्यक छ किनकि येशूले हामीलाई हरेक प्राणीलाई सुसमाचार प्रचार गर्नू भन्ने आज्ञा दिनुभएको छ (मर्कूस १६:१५)।
  1. सुसमाचारको यो प्रस्तुतिचाहिँ पावलले विश्वासीहरूलाई गरेका हुन् (१ कोरिन्थी १५:१)। यसले हामीलाई यो सिकाउँछ कि नयाँ विश्वासीहरूले सुसमाचार राम्ररी सिक्नुपर्छ ताकि उनीहरू यसका सत्यताहरूमा व्यक्तिगत रूपमा जग बसालिएको हुन सकून् र अरूहरूलाई प्रचार गर्न सकून्। साथै यसले यो पनि सिकाउँछ कि पुराना विश्वासीहरूले सुसमाचार झन् झन् राम्ररी सिक्नुपर्छ। हामी सुसमाचारको बारेमा सिकेर कहिल्यै भ्याउनेछैनौं।

सुसमाचारको बारेमा महत्त्वपूर्ण प्रश्नहरूको जवाफ

१ कोरिन्थी १५ को यस महत्त्वपूर्ण खण्डले सुसमाचार सम्बन्धी एक-एक आधारभूत सत्यतालाई समेट्दछ।

सुसमाचार के हो?

ख्रीष्टको सुसमाचारका मुख्‍य तीन भाग छन्:

  1. पवित्र शास्त्रमुताविक ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो (१ कोरिन्थी १५:३)।
    1. मर्नुहुने को हुनुहुन्थ्यो भन्ने कुरामा ध्यान दिनुहोस्: मर्नुहुने ख्रीष्ट हुनुहुन्थ्यो। येशू नै पुरानो नियममा प्रतिज्ञा गरिनुभएको ख्रीष्ट हुनुहुन्छ। "ख्रीष्ट" भन्ने नाउँ "अभिषिक्त जन" भनी जनाउने ग्रीक शब्द हो। हिब्रुको "मसीह" भन्ने शब्दको उही अर्थ हुन्छ (भजनसङ्ग्रह २:२; १३२:१७)। येशू अभिषिक्त अर्थात् चुनिएका जन हुनुहुन्छ। मसीह संसारमा पहिलो पटक आउनुहुँदा उहाँ हटाइनुहुनेछ अर्थात् मानिसका पापका लागि मर्नुहुनेछ भन्ने कुरा (दनिएल ९:२५-२६) अनि उहाँ पछि फेरि आउनुहुनेछ र दाऊदको सिंहासनबाट शासन गर्नुहुनेछ र पृथ्वीमा परमेश्वरको राज्य स्थापना गर्नुहुनेछ (यशैया ९:६-७) भन्ने कुरा अगमवक्ताहरूले बताएका थिए।
    2. ख्रीष्ट किन मर्नुभयो भन्ने कुरालाई ध्यान दिनुहोस्: हाम्रा पापहरूका निम्ति। मान्छे पापी छ र उसले परमेश्वरको व्यवस्थालाई भङ्ग गरेको छ। सबैले पाप गरेका छन् र परमेश्वरको महिमारहित हुनगएका छन् (रोमी ३:२३), र पापको ज्याला मृत्यु हो (रोमी ६:२३)। उक्त मूल्य हाम्रो निम्ति ख्रीष्टले तिरिदिनुभयो। मुक्ति सट्टापट्टाको एउटा कारोवार हो। ख्रीष्टले हाम्रो पाप लिदिनुभयो र हामीले चाहिँ उहाँको धार्मिकता लिन्छौं (२ कोरिन्थी ५:२१)। बाइबलले भने जस्तै गरी आफू पापी हुँ भनी स्वीकार नगरेसम्म कसैले पनि मुक्ति पाउन सक्दैन।
    3. उहाँ पवित्र शास्त्रहरूमुताविक मर्नुभयो भन्ने कुरालाई ध्यान दिनुहोस्: यसले चाहिँ उहाँको मृत्युलाई एकदम विस्तृतरूपमा बयान गर्ने ती अचम्मका भविष्यवाणीहरूलाई जनाउँदछ। ती भविष्यवाणीहरू येशू जन्मनुभन्दा सयौं वर्ष अगाडि लेखिएका थिए। तीमध्ये दुईचारओटालाई भजनसङ्ग्रह २२ बाट तल उल्लेख गर्दछौं:
    • येशू क्रूसीकरणद्वारा मारिनुहुनेछ भनेर पवित्र शास्त्रले भविष्यवाणी गरेको थियो (भजनसङ्ग्रह २२:१४-१६; यूहन्ना १९:१६-१८)। क्रूसीकरणको मृत्युको यो हु-बहु बयान हो जुनचाहिँ दाऊद अगमवक्ताले ख्रीष्टभन्दा १००० वर्षअघि नै लेखे जुनबेला क्रूसीकरणको चलन आएकै थिएन! यो त रोमी साम्राज्य कालमा अर्थात् येशू जन्मनुभन्दा केही वर्ष अगाडिदेखि मात्र चलनमा आएको थियो। हत्याराहरू र डाँकाहरूलाई दण्ड दिन रोमी सरकारले तिनीहरूका हात र पाउलाई काठको क्रूसमा काँटीले ठोकेर मर्नलाई छाडिदिन्थे।
    • सिपाहीहरू क्रूसको फेदमा येशूको वस्त्रका लागि चिठ्ठा खेल्नेछन् भनेर पवित्र शास्त्रले भविष्यवाणी गरेको थियो (भजनसङ्ग्रह २२:१८)। येशूले पीडा भोगिरहनुहुँदा निर्दयी सिपाहीहरूले त्यसै गरे (मत्ती २७:३५)।
    • येशूले क्रूसबाट उच्चारण गर्नुहुने शब्दहरूलाई पवित्र शास्त्रले भविष्यवाणी गरेको थियो (भजनसङ्ग्रह २२:१; मत्ती २७:४६)।
    • येशू तिर्खाउनुहुनेछ भनेर पवित्र शास्त्रले भविष्यवाणी गरेको थियो (भजनसङ्ग्रह २२:१५; यूहन्ना १९:२८)।
    • उहाँलाई मानिसहरूले गिल्ला गर्नेछन् भनेर पवित्र शास्त्रले भविष्यवाणी गरेको थियो (भजनसङ्ग्रह २२:६-८; मत्ती २७:३९,४१-४३)।
    • मानिसहरू बसेर उहाँलाई एकटक लाएर हेर्नेछन् भनेर पवित्र शास्त्रले भविष्यवाणी गरेको थियो (भजनसङ्ग्रह २२:१७; मत्ती २७:३६)।
  1. ख्रीष्ट गाडिनुभयो (१ कोरिन्थी १५:४)।
    1. उहाँको गडाइले उहाँ साँच्चै मर्नुभयो भनेर प्रमाणित गर्छ। उहाँ कुनै-कुनै झूटा शिक्षकहरूले भनेजस्तै केवल मुर्छा खानुभएको वा मरेको जस्तै मात्र देखिनुभएको थिएन। सिपाहीहरूले येशूका खुट्टाहरूलाई नभाँच्नुको कारण यो थियो: उहाँ मरिसक्नुभएको थियो (यूहन्ना १९:३१-३४)।
    2. उहाँको गडाइ हुँदा भविष्यवाणी पूरा हुन गयो। यो "पवित्र शास्त्रहरूमुताविक" भएको थियो। येशू एकजना धनी मानिसको चिहानभित्र गाडिनुहुनेछ भनेर बाइबलले भविष्यवाणी गरेको थियो (यशैया ५३:९)। येशू जन्मनुभन्दा ७१० वर्ष अगाडि लेखिएको यो भविष्यवाणी त्यो बेला पूरा भयो जब एकजना धनी चेला आएर येशूलाई क्रूसबाट तल झारे र आफ्नै चिहानमा गाडे (मत्ती २७:५७-६०)।
  1. ख्रीष्ट पवित्र शास्त्रहरूमुताविक बौरिउठ्नुभयो (१ कोरिन्थी १५:४)।
    1. उहाँको बौरिउठाइको भविष्यवाणी भजनसङ्ग्रह १६:१० मा गरिएको थियो। येशू आउनुभन्दा यो १००० वर्ष अगाडि लेखिएको थियो।
    2. उहाँको बौरिउठाइले उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भनेर प्रमाणित गर्‍यो (रोमी १:४)। येशूले आफू तेस्रो दिनमा बौरेर उठ्ने भविष्यवाणी गर्नुभएको थियो (मत्ती १६:२१) अनि यदि उहाँ नबौरनुभएको भए उहाँ झूटा अगमवक्ता ठहरिनुहुनेथ्यो र आफू परमेश्वरको पुत्र भएको उहाँखो दाबी झूटा ठहरिने थियो।

सुसमाचार सत्य छ भन्ने त्यहाँ के प्रमाण छ?

सुसमाचार सत्य छ भनेर पावलले दुईटा ठूला प्रमाणहरू दिन्छन्:

  1. पुरानो नियमका भविष्यवाणीहरूले सुसमाचार सत्य छ भनेर प्रमाणित गर्दछन्। उहाँ "पवित्र शास्त्रहरूमुताविक" मर्नुभयो र बौरिउठ्नुभयो। यी बुँदाहरूलाई हामीले हेरिसक्यौं।
  2. प्रत्यक्ष साक्षीका गवाहीहरूले सुसमाचार सत्य छ भनेर प्रमाणित गर्दछन् (१ कोरिन्थी १५:५-८)। बाइबल एउटा "अन्धविश्वास" होइन। यो चाहिँ "अनेकौं अचूक प्रमाणहरू" मा आधारित विश्वास हो (प्रेरित १:३)। बाइबलीय विश्वासमा "निश्चयता" हुन्छ, "प्रमाण" हुन्छ (हिब्रू ११:१)।
    1. बौरिउठ्नुभएका प्रभुलाई एकैचोटि ५०० जना भन्दा बढीले देखे (१ कोरिन्थी १५:६)। पावलले उक्त पत्र लेख्दाहुँदी अधिकांश प्रत्यक्ष दर्शीहरू अझै जीवितै थिए। पावलले धेरै समय अगाडिको घटनाको बारेमा लेखिरहेका थिएनन्।
    2. उहाँको बौरिउठाइको घटनाले उहाँलाई देख्‍नेहरूका जीवनहरूमा ठूलो परिवर्तन ल्यायो। ख्रीष्टको बौरिउठाइ हुनुअघि चेलाहरू डरपोक थिए र अधिकारीहरूदेखि लुकिरहेका थिए (यूहन्ना २०:१९), तर उनीहरूले बौरिउठ्नुभएका प्रभुलाई देखेपछि उनीहरू साहसी भए र आफ्नो विश्वासको लागि प्राण दिन समेत तयार भए।
    3. येशूको बौरिउठाइले उहाँको भाई याकूबलाई विश्वास दिलायो (१ कोरिन्थी १५:७)। यूहन्ना ७:५ सित तुलना गर्नुहोस् जहाँ उहाँको क्रूसीकरण हुनु अगाडि येशूका भाइहरूले उहाँमाथि विश्वास गर्दैनथे भन्ने कुरा देख्छौं।
    4. बौरिउठाइले पावललाई विश्वास दिलायो र उसलाई ख्रीष्टप्रतिको उनको भयङ्कर शत्रुताबाट फर्कायो। सांसारिक दृष्टिकोणबाट हेर्ने हो भने ख्रीष्टको अनुयायी बनेर पावललाई कुनै फाइदा भएन। जीवनको अन्तिम घडीसम्म नै उनलाई खेदो गरियो र उनले परिवारबिहीन, सम्पत्तिबिहीन र घरबिहीन जीवन बिताए। येशू मृत्युबाट बौरनुभएको छ र त्यसैले उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ भनी उनी निश्चित भएकाले नै पावल यी दुःखहरू सहन राजी थिए।

"व्यर्थमा विश्वास गर्नु" भनेको के हो (१ कोरिन्थी १५:२)?

सम्भवतः यहाँ पावलले बताएको कुरा यो हो कि त्यहाँ यस्तो तरिकाले विश्वास गर्नु सम्भव छ जसद्वारा मुक्ति पाइन्न। यहाँ केही तरिकाहरूलाई विचार गर्नुहोस् जसले मुक्ति दिलाउन सक्दैन:

  1. गलत कुरालाई विश्वास गर्नु व्यर्थमा विश्वास गर्नु हो (यूहन्ना २:२३-२५)। यी यहूदीहरूले येशूलाई आफ्नो प्रभु र मुक्तिदाताको रूपमा नभई सांसारिक खाँचोहरू पूरा गरिदिने र उनीहरूलाई खुवाउने, रक्षा गरिदिने व्यक्तिको रूपमा "विश्वास गरे"। हेर्नू: यूहन्ना ६:१४,१५,२६,६६। त्यसरी नै आज धेरैजनाले येशूलाई गलत तरिकाहरूमा विश्वास गर्छन्। उनीहरू येशूकहाँ आउँछन् र उहाँलाई प्रार्थना गर्छन् तर उनीहरू के चाहन्छन् भने उहाँले उनीहरूको समस्याहरू समाधान गरिदिनुभएको, उनीहरूको स्वाभिमान वृद्धि गरिदिनुभएको, वा उनीहरूलाई धनी बनाइदिनुभएको वा निको पारिदिनुभएको वा अरू कुरा गरिदिनुभएको तर उनीहरू होच्चिएर पापीको रूपमा आएका हुँदैनन् र केवल उहाँलाई नै आफ्नो मुक्तिदाताको रूपमा भरोसा गर्दैनन्।
  2. पश्चात्ताप बिनाको "विश्वास" गर्नु व्यर्थमा विश्वास गर्नु हो (प्रेरित २०:२१; २६:२०)। धेरैजना आफ्ना जीवनहरू आत्मसमर्पण नगरीकन "येशूमा विश्वास" गर्न चाहन्छन्, तर पश्चात्तापबिना मुक्ति पाउनु असम्भव छ। हामी याकूब २:१९-२० मा देख्छौं, जीवन बदलिने गरीकन आत्मसमर्पणका साथ विश्वास गर्नुको सट्टा दिमागले मात्र विश्वास गर्नु सम्भव छ। जीवन बदलिने गरी आत्मसमर्पणका साथ विश्वास गर्नुचाहिँ पश्चात्ताप हो जुनचाहिँ मनको परिवर्तन हो जसले जीवनको परिवर्तन ल्याउँदछ। दुष्टात्माहरू "परमेश्वरमा विश्वास गर्छन्" तर मुक्ति पाउने किसिमले त होइन। उहाँ हुनुहुन्छ भनेर तिनीहरू जान्दछन् तर उनीहरू उहाँको अधीनमा बस्न चाहँदैनन्। धेरैजनाले "येशूमा विश्वास" त गर्छन् तर केवल उहाँ २,००० वर्ष अघि संसारमा हुनुहुन्थ्यो भन्ने अर्थमा मात्र।
  3. झूटा सुसमाचार वा झूटा ख्रीष्टमाथि विश्वास गर्नु व्यर्थमा विश्वास गर्नु हो (२ कोरिन्थी ११:३-४)। धेरैजनाले पवित्र शास्त्रमा प्रकट गरिएकोभन्दा बेग्लै सुसमाचार वा बेग्लै येशूमा विश्वास गर्छन्। जस्तै, उनीहरू विश्वास र कामले मुक्ति पाइन्छ भन्ने सुसमाचारमा वा येशू र धार्मिक संस्कारले मुक्ति पाइन्छ भन्ने सुसमाचारमा वा येशूको इश्वरत्वलाई इन्कार गर्ने शिक्षामा विश्वास गर्छन्।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course - 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो "एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू" शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9851-055734, 9818-399206; मूल्य: नेरू ३०० मात्र।