पाठकवर्गलाई सूचना: कृपया info@wordoftruth.com.np लाई आफ्‍नो contact list मा add गर्नुहोला नत्र हाम्रो ईमेल पाठकको inbox मा नआइपुग्ने सम्भावना छ।

अनन्त विनाशबाट बाँच्ने उपाय

यस पृष्ठलाई छाप्नुहोस्

प्रदेश श्रेष्ठ

जु वा खेलेर पैसा, घरबार, जग्गा-जमिन नाश गर्ने मान्छे मूर्ख हो। अझ बहुमूल्य छ तपाईंको आत्मा। बाँच्ने उपाय हुँदा-हुँदै आफ्नै आत्माको खेलबाड गरी मान्छे नरकमा हाम फाल्दैछ। बाइबलले भन्दछ,

"डराउनेहरू, विश्वास नगर्नेहरू, घिनलाग्दाहरू, हत्याराहरू, व्यभिचारीहरू, टुनामुना गर्नेहरू, मूर्तिपूजा गर्नेहरू र सबै झूट बोल्नेहरूको भागचाहिँ आगो र गन्धकले जलिरहेको झीलभित्र हुनेछ; यो दोस्रो मृत्यु हो।" (प्रकाश २१:८)

धेरैले भन्छन्, "येशूमा विश्वास नगर्ने मान्छे नरक जान्छ भन्‍ने बाइबलको कुरा म मान्न सक्दिनँ"।

तर भूलमा नपर्नुहोस्। पछि पछुताएर हुँदैन, समय ढिलो भइसकेको हुन्छ। नरक एउटा वास्तविक ठाउँ हो। बाइबल सत्य छ भण्ने कुराको प्रमाणहरूको अलिकति पनि जाँचबुझै नगरी इन्कार गर्नुहुन्छ र?

बरु यो सन्देशलाई आज गम्भीर भई विचार गर्नुहोस्, र नरकबाट बच्ने उपाय जान्ने निर्णय गर्नुहोस्। येशूले भन्नुभयो, "बाटो, सत्य, र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउँदैन।" (यूहन्ना १४:६)

धेरैजना भन्छन्, "मरेपछि चौरासी लाख जुनी घुम्‍नुपर्छ।"

तर बाइबलमा लेखिएको छ,

"मानिसहरूका निम्ति एकपल्ट मरण र त्यसपछि न्याय नियुक्त गरिएको छ।" (हिब्रू ९:२७)

मानिस एकपल्ट मात्र जन्मन्छ र एकपल्ट मात्र मर्छ। अनि मरेपछि ऊ न्यायमा पर्छ! ईश्वरीय न्यायले पापीलाई दण्ड दिनैपर्छ किनकि परमेश्वर पवित्र र धर्मी हुनुहुन्छ। प्रिय मित्र, नाकमा सास भएको मान्छेको "अरे, अरे" को भरमा आफ्‍नो आत्मालाई नफाल्‍नुहोस्। संसारका सबै गुरू, दार्शनिक, पैगम्बर, भगावन्, योगी, बाबाजी, माता, पोप आदि मरेर गए, आफूलाई बौराउन सकेनन् किनकि उनीहरू केवल मानिस थिए। तर येशू ख्रीष्ट, उहाँ मारिनुभएको तीन दिनपछि फेरि बौरेर उठ्नुभयो! यस ऐतिहासिक घटनाले येशू नै एक दिन संसारको न्याय गर्नुहुने परमेश्वरको पुत्र हुनुहुन्छ भनेर सारा संसारलाई प्रमाण दिएको छ। (रोमी १:४, प्रेरित १७:३१)

परमेश्वरको भययोग्य न्यायबाट उम्कन आफ्‍नो पापदेखि पश्चात्ताप गर्नुहोस् र सत्य परमेश्वरकहाँ फर्केर आउनुहोस्। येशूले भन्नुभएको छ,

"साँचो-साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, ऊसँग अनन्त जीवन छ, र ऊ न्यायमा पर्नेछैन, तर मृत्युबाट जीवनमा सरिसकेको हुन्छ।" (यूहन्ना ५:२४)

"परमेश्वर प्रेम हुनुहुन्छ भने उहाँले नरक जस्तो डरलाग्दो ठाउँ किन बनाउनुभयो?"

परमेश्वर असल हुनुभएकोले उहाँले खराबलाई घृणा गर्नुहुन्छ। उहाँ धर्मी हुनुभएकोले उहाँले पापलाई घृणा गर्नुहुन्छ। उहाँ पवित्र र न्यायी हुनुभएकोले उहाँले अपराधलाई दण्ड दिनैपर्छ। यदि उहाँले पापलाई दण्ड नदिनुहुँदो हो त उहाँ असल हुनुहुनेथिएन र फलस्वरूप उहाँको प्रेम पनि असली प्रेम हुनेथिएन।

वास्तवमा नरक एउटा उच्च स्वर्गदूतको दण्डस्थान हो किनकि उसले "म परमप्रधानजस्तै हुन्छु" भन्‍यो (यशैया १४:१४) र एकमात्र सृष्टिकर्ताको विरोधमा उठ्यो। स्वर्गबाट तल फ्याँकिएको त्यो आत्मा शैतान हो। शैतानले मान्छेलाई सत्य परमेश्वरको सट्टा झूटा शक्तिको खोजी गर्न अभिप्रेरित गर्दछ, जस्तै जोखना, साइत हेर्न, मन्त्रतन्त्र, टुनामुना, बोक्सेरो-विद्या, प्रेत-विद्याको अभ्यास गर्न।

मानिस सृष्टिकर्तालाई पूज्‍न छोडेर विद्रोही र स्वेच्छाचारी बनेकोले ऊ पनि नरकको योग्य बनेको छ।

"त्यसपछि उहाँले ती देब्रे हातपट्टि हुनेहरूलाई भन्नुहुनेछ: हे श्रापितहरूहो, मदेखि त्यस अनन्त आगोभित्र जाइहाल, जोचाहिँ शैतान र त्यसका दूतहरूका निम्ति तयार पारिएको छ"। (मत्ती २५:४१)

आफ्नो विद्रोह कहिल्यै नछोड्ने शैतान अनन्त आगोमा जानेछ। तर परमेश्वर पिताले पापी मानिसलाई प्रेम गर्नुभई उसलाई अनन्त विनाशबाट बचाउन आफ्‍नै पुत्रलाई बाँकी राख्नुभएन, तर हाम्रो सट्टामा मृत्युको स्वाद चाख्न र हाम्रा पापहरूको दण्ड भोग्नलाई संसारमा पठाउनुभयो। तसर्थ, येशू ख्रीष्टको बलिदानमा परमेश्वरको अद्भुत् प्रेम र अपरिवर्तनीय न्याय दुवै सिद्धरूपमा प्रकट भएका छन्।

धेरैले भन्छन्, "मरेपछि जे होला, होला।"

के तपाईं आफ्नै आत्माको जुवा खेल्नुहुन्छ? बाइबलले भन्दछ, नरककुण्ड अथाह गहिरो छ, त्यहाँ पुगिसकेपछि उम्कने उपाय छैन। त्यो रुवाबासी र दाह्राकिटाइको पीडाघर हो, प्रेम वा दया नपाइने कारागार हो, सुख र सान्त्वनारहित तहखाना हो, मनोरञ्जनबिहीन अन्धकारपूर्ण दण्डस्थान हो, रोजाइ र स्वतन्त्रतारहित निर्वासनस्थान हो, परमेश्वरको अनुग्रह वा कृपारहित अनन्त पछुतोस्थान हो। नरकमा आगो कहिल्यै निभ्दैन, एक थोपा पानी पनि दिइँदैन, त्यहाँ पीडा कहिल्यै टुङ्गिदैन। (लूका १६:२३-२८) आफ्नो अनमोल आत्मा नाश गर्ने यस्तो जुवा नखेल्नुहोस्।

धेरैजना सोच्छन् - "मैले के पाप गरेको छु र? मरेपछि म स्वर्ग नै पुग्छु होला।"

तर कृपया आफूसित एकपटक इमानदार भई सोच्नुहोस्। के तपाईंले झूट बोल्नुभएको छैन? वा रिसमा हत्या सोच्नुभएको छैन? वा हृदयमा व्यभिचार गर्नुभएको छैन? वा चोर्नुभएको छैन? वा अर्काको धनमाल, पति-पत्‍नीको लालच गर्नुभएको छैन? ढँटुवा, हत्यारा, व्यभिचारी, चोर, लोभीहरू स्वर्ग होइन नरक जान योग्य हुन्छन्। एउटै पापले पनि नरक पुर्‍याउँछ।

"किनकि जसकसैले सम्पूर्ण व्यवस्था पालन गर्दछ, तर पनि एउटै कुरामा चुक्यो भने ऊ सबै कुरामा दोषी ठहरिएको छ।" (याकूब २:१०)

"धर्मी कोही छैन, एउटै पनि छैन। असल गर्ने कोही छैन। सबैले पाप गरेका छन्।" (रोमी ३:१०)

आफ्‍ना पापहरूका लागि कुनै बहाना नबनाउनुहोस्, बरु तपाईंको मन संसार र मूर्तिहरूदेखि परमेश्वरतर्फ फर्काउनुहोस् र उहाँले तपाईंमाथि कृपा देखाउनुहुनेछ।

कतिले भन्छन् - "मैले जानी-नजानी पाप गरेँ होला। तर मैले धर्म पनि गरेको छु। म नरकमा पुग्छु जस्तो लाग्दैन।"

तर बाइबलले भन्छ,

"हाम्रा सबै धार्मिक कामहरू मैला थाङ्नाहरूसरह छन्"। (यशैया ६४:६)

हामीले गरेका कामहरू ठीक छन् कि छैनन् भनेर अन्तिम फैसला गर्ने हामी आफैले होइन तर न्यायकर्ता परमेश्वरले हो, जसले आकाश र पृथ्वीलाई सृष्टि गर्नुभयो, जो सबैका मालिक हुनुहुन्छ। उहाँले कुनै अधर्म गर्नुहुन्न, उहाँ कहिल्यै चुक्नुहुन्न। (सपन्याय ३:५) उहाँको न्यायले सिद्ध धार्मिकताको माग गर्छ। उहाँका पवित्र नजरका सामु सबै मानिस फोहोरी छन्। हाम्रा धर्मकर्म मानिसका सामु ग्रहणयोग्य भए पनि परमेश?वरका सामु ती कर्मले पापको ऋण चुक्ता गर्न सक्दैनन्, तपाईंलाई नरकबाट बचाउन सक्दैनन्। यदि सक्‍ने भएका भए हामीले "मेरो कर्म र भक्ति वा मेरो साधना वा पुरुषार्थले मैले पापको प्रायश्चित गरेँ" भन्दै घमन्ड गर्ने ठाउँ हुन्थ्यो तर शास्त्रले भन्दछ, "परमेश्वरको सामु कुनै प्राणीले घमन्ड गर्न नपाओस्।" (१ कोरिन्थी १:२९)

"मुक्ति धार्मिक कामद्वारा पाइँदैन भने त्यो कसरी पाइन्छ त?"

"किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ; यो तिमीहरू आफैबाटको होइन, यो परमेश्वरको दान हो; कामहरूबाट होइन, नत्र ता कसैले घमन्ड गर्नेछ।" (एफेसी २:८-९)

विनम्र मित्र, मुक्ति मान्छेले कमाउन सक्ने कुरा होइन, यो त परमेश्वरबाट सित्तैंमा पाइने दान हो। कसरी दान? यसरी कि परमेश्वर स्वयंले हाम्रो छुटकाराको दाम तिरिदिनुभएकोले। दाम? हो, हाम्रो पापले अग्‍निकुण्डको मृत्यु कमाएको थियो — “किनकि पापको ज्याला मृत्यु हो।” (१७) अनि नरकको अनन्त पीडाबाट छुटाउनलाई दाम स्वरूप एक निर्दोष बलिदान आवश्यक परेको थियो किनकि “रगत नबहाईन पाप क्षमा हुँदैन।” (१८) असल खबर यो हो कि परमेश्वरले नै एक निर्दोष र निष्कलङ्क बलिदानको प्रबन्ध गर्नुभयो। कुन बलिदान? उहाँकै अनन्त पुत्र येशू ख्रीष्ट जो इस्राएल देशमा एउटी कन्याको कोखबाट अलौकिक देहधारण भई मानिसको रूपमा जन्मनुभयो। उहाँले कुनै पाप गर्नुभएन। उहाँ सम्पूर्ण मानव जातिका पापहरू हरण गर्न पापबलिको रूपमा आजभन्दा करिब २००० वर्ष अघि क्रूसमा आफ्‍नो बहुमूल्य रगत बहाएर मर्नुभयो। यसको प्रमाण? येशू मरेको मरै हुनुभएन, तर उहाँ तेस्रो दिनमा फेरि बौरेर उठ्नुभयो! (१९) यसको प्रमाण? उहाँ ४० दिनसम्म शरीरमै देखा पर्नुभयो। त्यसपछि? उहाँ प्रत्यक्षदर्शीहरूकै बीचबाट शरीरमै उचालिएर स्वर्गमा फर्कनुभयो।

"परमेश्वरले यस्तो अद्भुत् काम किन गर्नुभयो?"

"किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो — उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस्।" (यूहन्ना ३:१६)

परमेश्वर तपाईंको विनाश चाहनुहुन्न। बरु उहाँ तपाईंलाई बचाउन चाहनुहुन्छ। किनकि उहाँ तपाईंलाई प्रेम गर्नुहुन्छ। आफ्‍नो मन परमेश्वरतर्फ फर्काउनुहोस् र प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस्।

"पाप, संसार र झूटा ईश्वरहरूदेखि जीवित र सत्य परमेश्वरतर्फ आफ्‍नो मन फनक्क नफर्काउँदा के हुन्छ?"

"जसले पुत्रमाथि विश्वास गर्दछ, ऊसँग अनन्त जीवन हुन्छ; अनि जसले पुत्रलाई विश्वास गर्दैन, त्यसले जीवन देख्‍नेछैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ।" (यूहन्ना ३:३६)

प्रिय पाठक, जीवनको सबभन्दा गम्भीर रोजाइ आज तपाईंको हातमा छ। अनन्त जीवन रोज्नुहोस् र आउन लागेको ईश्वरीय क्रोधबाट भाग्‍नुहोस्!