वेबसाइटको नाम

परमेश्वरको प्रेरणाद्वारा दिइएको एक मात्र पवित्रशास्त्र बाइबललाईसत्यको वचन” अथवा अङ्ग्रेजीमा Word of Truth पनि भनिन्छ। बाइबल पूर्ण रूपमा सत्य , अकाट्य , अचूक , त्रुटिहीन , अपरिवर्तनीय , अविवाद्य आधिकारिक छ। परमेश्वरले एउटै मात्र पुस्तक दिनुभएको छ; त्यो हो बाइबल। अब हामीलाई एउटै मात्र चासो छ, “बाइबलले के भन्दछ?” (रोमी :)

 

यो वेबसाइट किन?

प्रत्येक बाइबल विश्वासीलाई परमेश्वरको एउटा महत्त्वपूर्ण आज्ञा : “आफूलाई परमेश्वरकहाँ ग्रहणयोग्य तुल्याउने प्रयत्न गर — एउटा शर्ममा पर्नु नपर्ने किसिमको कामदारजस्तो, जसले सत्यको वचन ठीकठीकसँग छुट्ट्याउँछ” (२ तिमोथी :१५) यसकारण बाइबलको व्याख्या होशियारीसाथ, ठीकसँग गरिनुपर्छ। परमेश्वरको वचनलाई ठीकसँग बुझ्न, अपनाउन भ्रमात्मक मार्गहरूदेखि जोगिन यस वेबसाइटद्वारा तपाईंलाई मद्दत मिलेको होस् भन्ने हाम्रो प्रार्थना रहेको छ

हाम्रो विश्वास

हामी विश्वास गर्दछौं, पुरानो र नयाँ नियमका पवित्र शास्त्रहरू —

(क) यथाशब्द परमेश्वरका वचन हुन् (२ तिमोथी ३:१६-१७; २ पत्रुस १:२०-२१; मत्ती ५:१८),

(ख) परमेश्वरको प्रेरणाद्वारा दिइएका हुन् (२ तिमोथी ३:१६),

(ग) विश्वास र जीवनका लागि अन्तिम अधिकार हुन् (यूहन्ना १६:१२-१३; २ तिमोथी ३:१७),

(घ) मूल लेखोटहरूमा त्रुटिरहित छन् (मत्ती ५:१८),

(ङ) अचूक छन् (मत्ती ५:१८)।

हामी विश्वास गर्दछौं, एकमात्र त्रिएक परमेश्वरमा (व्यवस्था ६:४; मत्ती २८:१९) जसको अस्तित्व अनादिदेखि तीन व्यक्तिहरूमा रहेको छ, जोहरू पिता र पुत्र र पवित्र आत्मा हुनुहुन्छ (२ कोरिन्थी १३:१४), जोहरू,

(क) अस्तित्वमा सह-अनन्त हुनुहुन्छ,

(ख) स्वभावमा अभिन्न हुनुहुन्छ,

(ग) शक्ति र महिमामा बराबर हुनुहुन्छ,

(घ) गुणहरू र सिद्धताहरूमा समान हुनुहुन्छ।

हामी विश्वास गर्दछौं, प्रभु येशू ख्रीष्ट —

(क) परमेश्वरका अनन्त पुत्र हुनुहुन्छ (यूहन्ना १:१,२,१४), जो पवित्र आत्माबाटको गर्भधारणले कन्या मरियमद्वारा जन्मनुभई मानिस बन्नुभयो तर आफ्नो ईश्वरत्व कायमै राख्‍नुभयो (लूका १:३५, यूहन्ना १:१४)। उहाँ मानिस बन्नुको उद्देश्य थियो –

          (१) परमेश्वरलाई प्रकट गर्नु (यूहन्ना १:१८) र

          (२) पापी मानिसको उद्धार गर्नु (१ तिमोथी १:१५)।

(ख) उहाँ मानिसको प्रतिनिधिको रूपमा –

          (१) क्रूसमा मानिसको सट्टामा बलिको रूपमा मर्नुभई उहाँले हाम्रो उद्धारको लागि आवश्यक काम पूरा गर्नुभयो (रोमी ३:२४; एफेसी १:७; १ पत्रुस २:२४), र

          (२) मरेकाहरूबाटको उहाँको वास्तविक, स-शरीर बौरिउठाइले हाम्रो धर्मीकरण सुनिश्चित गरियो (रोमी ३:२५; १ पत्रुस १:३-५), र

          (३) उहाँ स-शरीर स्वर्गारोहण हुनुभएर परमेश्वरको दाहिने बाहुलीमा उच्च पारिनुभयो जहाँ अहिले महापूजाहारी भएर हाम्रो प्रतिनिधि, मध्यस्त र वकिलको काम गर्दैहुनुहुन्छ (प्रेरित १:९,१०; हिब्रू ९:२४; ७:२५; रोमी ८:३४; १ यूहन्ना २:१-२)।

हामी विश्वास गर्दछौं, पवित्र आत्मा एक ईश्वरीय व्यक्ति हुनुहुन्छ जसले

(क) संसारलाई पापको, धार्मिकताको र न्यायको विषयमा कायल पार्नुहुन्छ (यूहन्ना १६:८-११,

(ख) सबै विश्वासीहरूलाई नयाँ गरी जन्माउने, ख्रीष्टको शरीरभित्र बप्‍तिस्मा गराउने, उनीहरूभित्र बास गर्ने र छुटकाराको दिनसम्म उनीहरूलाई छाप मार्ने अलौकिक काम गर्नुहुन्छ (२ कोरिन्थी ३:६; १ कोरिन्थी १२:१२-१४; रोमी ८:९; एफेसी १:१३-१४),

(ग) विश्वासीहरूलाई सबै सत्यताहरूभित्र डोर्‍याउनुहुन्छ (यूहन्ना १६:१३; १ यूहन्ना २:२०,२७); अनि पवित्र आत्माले भरपूर हुनु प्रत्येक विश्वासीको विशेषाधिकार तथा कर्तव्य हो (एफेसी ५:१८)।

हामी विश्वास गर्दछौं, मानिस —

(क) परमेश्वरको स्वरूप र प्रतिरूपमा सृष्टि गरिएको थियो (उत्पत्ति १:२६-२७), र

(ख) आदमले पाप गर्दा मानव जातिकै पतन हुन गयो, मानिस पाप स्वभावको भागीदार बन्न पुग्यो र परमेश्वरबाट अलग हुन पुग्यो (रोमी ३:२२-२३; ५:१२);

(ग) मानिस पूरै भ्रष्ट छ र आफ्नो पतित अवस्थाबाट मुक्त हुन ऊ, आफैमा, पूर्ण रूपमा असमर्थ छ (एफेसी २:१-३,१२)।

हामी विश्वास गर्दछौं, मुक्ति —

(क) मानिसलाई अनुग्रहमा प्रदान गरिएको परमेश्वरको दान हो (एफेसी २:८-९);

(ख) जसलाई प्राप्‍त गर्न एक व्यक्तिले प्रभु येशू ख्रीष्टमा व्यक्तिगतरूपमा विश्वास गर्नुपर्छ (एफेसी २:८; यूहन्ना १:१२);

(ग) जुन मुक्ति हामीलाई दिलाउन प्रभु येशू ख्रीष्टले आफ्नो बहुमूल्य रगत हाम्रा पापहरूको क्षमाका लागि कलवरीमा बहाउनुभयो (एफेसी १:७; १ पत्रुस १:१८-१९)।

हामी विश्वास गर्दछौं, सबै उद्धार पाएकाहरू —

(क) एक पटक बचाइएपछि परमेश्वरको शक्तिले सुरक्षित राखिन्छन् र यसरी ख्रीष्टमा अनन्तसम्मै सुरक्षित रहन्छन् (यूहन्ना ६:३७-४०; १०:२७-३०; रोमी ८:१,३८,३९; १ कोरिन्थी १:४-८; १ पत्रुस १:५);

(ख) उनीहरू परमेश्वरको वचनले दिएको गवाहीको आधारमा आफ्नो मुक्तिको निश्चयतामा रमाहट गर्न सक्छन्, तरैपनि, त्यही वचनद्वारा आफ्नो स्वतन्त्रतालाई शरीरको अभिलाषा पूरा गर्नदेखि प्रतिबन्धित हुन्छन् (रोमी १३:१३-१४; गलाती ५:१३; तीतस २:११-१५)।

हामी विश्वास गर्दछौं, मुक्ति पाएको प्रत्येक व्यक्तिसँग —

(क) दुइटा स्वभावहरू हुन्छन् (रोमी ६:१३; ८:१२-१३),

(ख) जसमा उसको नयाँ स्वभाव पुरानो स्वभावमाथि उसभित्र बास गर्नुहुने पवित्र आत्माद्वारा विजयी बन्न सक्ने व्यवस्था गरिएको छ (गलाती ५:१६-२५; एफेसी ४:२२-२४; कलस्सी ३:१०; १ पत्रुस १:१४-१६; १ यूहन्ना ३:५-९);

(ग) तर वर्तमान जीवनमै पुरानो स्वभाव निर्मूल हुन सक्छ भन्ने दाबी अ-बाइबलीय हो (१ यूहन्ना १:८-१०)

हामी विश्वास गर्दछौं, मुक्ति पाएका सबै —

(क) आफ्ना मुक्तिदाता र प्रभुको निन्दा नहुने तरिकामा जीवन बिताउन जिम्मेवार छन् (२ तिमोथी ३:१-५; रोमी १२:१-२; १४:१३) र

(ख) उनीहरूलाई सबै झूटा शिक्षा र अभ्यासदेखि साथै सबै पापका सांसारिक मोजमज्जा, क्रियाकलाप र सङ्गतदेखि अलग रहन परमेश्वरको आज्ञा छ (१ यूहन्ना २:१५-१७; २ यूहन्ना ९-११; २ कोरिन्थी ६:१४-७:१)

हामी विश्वास गर्दछौं, मुक्ति पाएकाहरू —

(क) आफ्नो जीवनको र मुखको गवाहीद्वारा पवित्र शास्त्रका सत्यताहरूको साक्षी हुन जिम्मेवार छन् (प्रेरित १:८), र

(ख) सबै मानिसहरूलाई सुसमाचार प्रचार गर्ने प्रयास गर्न जिम्मेवार छन् (मर्कूस १६:१५; २ कोरिन्थी ५:१९-२०)।

हामी विश्वास गर्दछौं, आत्मिक वरदानहरू —

(क) परमेश्वरले आफ्नो सार्वभौम इच्छाबमोजिम प्रदान गर्नुहुन्छ (१ कोरिन्थी १२:४-११) र

(ख) आज पवित्र जनहरूलाई सिद्ध बनाउन प्रचारक, पास्टर, र शिक्षकका दानहरू यथेष्ट छन् (एफेसी ४:७-१२), र

(ग) नयाँ नियम पवित्र शास्त्र लेखिने र तिनको आधिकारिक मान्यता स्थापित हुने क्रममा अन्यभाषा बोल्ने र चिन्हरूपी आश्चर्यकर्म गर्ने कामहरू बिस्तारै बन्द भए (२ कोरिन्थी १२:१२)।

(घ) परमेश्वरले आफ्नो इच्छाबमोजिम रोगी-बिरामी र कष्टित व्यक्तिका लागि गरिएको विश्वासको प्रार्थना सुन्नुहुन्छ र त्यसको उत्तर दिनुहुन्छ (यूहन्ना १५:७; १ यूहन्ना ५:१४-१५; याकूब ५:१४-१५)।

हामी विश्वास गर्दछौं, मण्डली —

(क) ख्रीष्टको शरीर र मगनी गरिएको दुलही हो (एफेसी १:२२-२३; ५:२५,२७; २ कोरिन्थी ११:२), र

(ख) वर्तमान युगमा नयाँ जन्म पाएका सबै व्यक्तिहरू मिलेर बनेको एउटा आत्मिक संरचना हो (१ कोरिन्थी १२:१२-१४)।

(ग) स्थानीय मण्डलीहरूको स्थापना र निरन्तरता नयाँ नियम पवित्र शास्त्रहरूमा प्रस्ट सिकाइएको र परिभाषित गरिएको विषय हो (प्रेरित १४:२७; २०:१७,२८-३२; १ तिमोथी ३:१-१३; तीतस १:५-११)।

हामी विश्वास गर्दछौं, ख्रीष्टियनहरूलाई दुइटा विधिहरू पालन गरिनका लागि आज्ञा गरिएका छन् –
ती हुन्

(१) पानीको बप्‍तिस्मा (मत्ती २८:१९) र

(२) प्रभु-भोज (१ कोरिन्थी ११:२३-३३)

(ख) पानीको बप्‍तिस्माले मुक्ति पाइँदैन तर मुक्ति पाएपछि एउटा व्यक्तिले लिनुपर्ने कदम बप्‍तिस्माको हो जसद्वारा उसले संसारलाई आफू ख्रीष्टको मृत्युमा, दफनमा र बौरिउठाइमा जोडिएको तथ्य (सम्मिलिकरण) को चित्रणरूपी गवाही दिने काम गर्दछ (रोमी ६:४; कलस्सी २:९-१३)।

(ग) पानीको बप्‍तिस्माको बाइबलीय तरिका चोपल्नु हो (प्रेरित ८:३८-३९)।

(घ) प्रभु-भोजको शुरूआत येशू ख्रीष्टले गर्नुभएको हो र यो उहाँ नआउञ्जेलसम्म उहाँको मृत्युको सम्झनामा लिने गरिन्छ (१ कोरिन्थी ११:२६)।

(ङ) पानीको बप्‍तिस्मा केवल एक पटक लिइन्छ जो सम्मिलिकरणको चित्रण हो र जीवनको नयाँपनाको गवाही हो (रोमी ६:४), तर प्रभु-भोज सम्झनाका लागि हो र यो हाम्रा प्रभु येशू ख्रीष्टको शरीर र बहाइएको रगतको सम्झनामा अक्सर लिइनुपर्छ (१ कोरिन्थी ११:२५)।

(च) प्रभु-भोजमा नयाँ जन्म पाएका सबै विश्वासीहरू सहभागी हुन सक्छन्।

हामी विश्वास गर्दछौं, शैतान —

(क) एक व्यक्ति हो

(ख) पापको कर्ता र मानिसको पतनको कारक हो (यशैया १४:१२-१७; उत्पत्ति ३:१-६)

(ग) परमेश्वर र मानिसको अजात शत्रु हो (अय्युब १:६-७; २ कोरिन्थी ४:३-४; १ पत्रुस ५:८; मत्ती ४:२-११) र

(घ) ऊ आगोको झीलमा अनन्तसम्म दण्डित हुनेछ (मत्ती २५:४१; प्रकाश २०:१०)।

हामी विश्वास गर्दछौं, बाइबलको व्याख्या —

(क) शब्दहरूको अक्षरशः, सामान्य, स्वाभाविक र मौलिक अर्थमा आधारित हुनुपर्छ र अक्षरशः अर्थ अनर्थ हुने खण्डमा मात्र अर्को (लाक्षणिक) अर्थ खोज्नुपर्छ।

(ख) बाइबलको सही व्याख्या प्रबन्धवादी (dispensational) व्याख्या हो भन्ने हाम्रो मान्यता छ, तर प्रभु-भोज र पानीको बप्‍तिस्मा वर्तमान मण्डली युगका लागि होइनन् भन्ने जस्ता शिक्षा अपनाउने उग्र-प्रबन्धवादी”(ultra-dispensational) शिक्षालाई हामी अस्वीकार गर्दछौं (मत्ती २८:१९-२०; प्रेरित २:४१-४२; १८:८; १ कोरिन्थी ११:२३-२६)।

हामी विश्वास गर्दछौं, ख्रीष्टको दोश्रो आगमन —

(क) त्यो “धन्यको आशा” हो (तीतस २:१३),

(ख) जुन आशा त्यो दिन पूरा हुनेछ जब प्रभु येशू ख्रीष्ट स्वयं उद्धार पाएकाहरूलाई लिनलाई आकाशमा आउनुहुनेछ (यूहन्ना १४:१-३; १ थेस्सलोनिकी ४:१३-१८),

(ग) जुन आगमन कुनै पनि घडी हुन सक्नेछ (१ कोरिन्थी १५:५१-५२; १ थेस्सलोनिकी १:९),

(घ) तरैपनि उक्त आगमन हजार वर्षको राज्यभन्दा अगाडि हुने सङ्कष्टकालभन्दा पनि अगाडि हुनेछ (१ थेस्सलोनिकी १:९-१०, ५:९; प्रकाश ३:१०),

(ङ) जुन सङ्कष्टकालपछि प्रभु येशू ख्रीष्ट आफ्ना पवित्र जनहरूलाई साथमा लिएर पृथ्वीमा आफ्नो हजार वर्षको राज्यलाई स्थापना गर्न स्वर्गबाट ओर्लनुहुनेछ (प्रकाश १९:११-१६; २०:१-६)।

हामी विश्वास गर्दछौं, मानिसको अनन्त अवस्थितिमा जसका लागि —

(क) सबै मानिसहरू स-शरीर बौराइनेछन् (यूहन्ना ५:२८)

          (१) मुक्ति पाएकाहरू अनन्त जीवनका लागि (यूहन्ना ५:२९; मत्ती २५:४६)

          (२) मुक्ति नपाएकाहरू न्याय र अनन्त दण्डका लागि (यूहन्ना ५:२९; मत्ती २५:४६; प्रकाश २०:५,६,१२,१३)।

(ख) मरणपछि उद्धार पाएकाहरूका प्राणहरू –

          (१) शरीरबाट अलग भएर प्रभुसित रहन जान्छन् (लूका २३:४३; २ कोरिन्थी ५:८; फिलिप्पी १:२३), र

          (२) पहिलो बौरिउठाइको घडीसम्म आनन्दपूर्ण चेतनामै रहिरहन्छन् (प्रकाश २०:४-६; १ थेस्सलोनिकी ४:१६-१७),

          (३) जुन घडी आत्मा, प्राण र शरीर एकसाथ महिमित रूपमा जोडिनेछन् अनि यसरी उनीहरू सदा सर्वदा प्रभुसित रहनेछन् (फिलिप्पी ३:२१)।

(ग) मरणपछि उद्धार नपाएकाहरूका प्राणहरू –

          (१) दोश्रो बौरिउठाइसम्म कष्टपूर्ण चेतनामै रहिरहन्छन् (लूका १६:१९-२६),

          (२) जब प्राण र शरीर जोडिएर उनीहरू ठूलो सेतो सिंहासनका सामु देखा पर्नेछन् र आगोको झीलभित्र फ्याँकिनेछन् जहाँ उनीहरू अस्तित्वहीन भएर जानेछैनन् बरू कष्टपूर्ण अनन्त दण्ड भोग्नेछन् (मत्ती २५:४१-४६; २ थेस्सलोनिकी १:७-९; यहूदा ६-७; मर्कूस ९:४३-४८; प्रकाश २०:११-१५)।

 

सम्पर्क

प्रश्न सोध्नुहोस्