अध्याय ११ – “नडराऊ, पावल”

अध्याय ११ – “नडराऊ, पावल”
(प्रेरित २१-२६)
के तपाईं बाटोमा जाँदै गर्दा अगाडिपट्टि “सावधान!” वा “खतरा!” भनेर लेखिएको कुनै सूचनापाटी राखिएको देख्नुभएको छ? सायद सडक निर्माण गर्नेहरूले कुनै विष्फोटक पदार्थ पड्काउन लागेको बेला हुन सक्छ वा अगाडि जोखिमपूर्ण घुम्ती आउन लागेको ठाउँमा हुन सक्छ। यस्तो सूचनापाटीले हामीलाई अघि बढौं कि नबढौं जस्तो बनाउन सक्छ। यस्तो सूचनापाटीले हामीमा डर पैदा गर्न पनि सक्छ। तर त्यो सूचनापाटी वास्तवमा हाम्रो मित्र हो किनभने यसले हामीलाई चेतावनी दिँदैछ र अगाडि के छ भनेर जान्न मदत गर्दछ। “सावधान्!” भन्ने सूचनापाटी कतै नहुँदो हो ता हामी समस्यामा पर्न सक्थ्यौं।
प्रेरित पावल हिँड्दै गरेको बाटोलाई हामी “परमेश्वरको इच्छा” भन्ने नाम दिऊँ। पावल येरूशलेम जानु र पछि रोम जानु परमेश्वरको इच्छा थियो। यस क्रममा कतिपटक बाटो कठिन हुन सक्थ्यो तरैपनि उक्त बाटो ऊ हिंड्नुपर्ने ठीक बाटो हो भनी पावलले जान्न सक्थे। एकदिन उक्त बाटोमा जाँदै गर्दा पावलले एउटा सूचनापाटी देखे जसमा उसलाई “सावधान्!” भन्ने चेतावनी लेखिएको थियो।
चेताउनीको चिन्हपाटी
तेस्रो प्रचार यात्राको अन्त्यमा पावल सिजरिया आइपुगे। उनी त्यहाँ बस्दै गर्दा एउटा अनौठो घटना घट्यो। ___________ नाम गरेका कुनै एकजना भविष्यवक्ता (प्रेरित २१:१०) उनीकहाँ आए र पावलको पेटी (वा कम्मर कस्ने वस्तु) लिए। अगाबसले उक्त पेटीले आफ्नै हात र पाउहरू बाँधे। त्यसपछि तिनले पावललाई एउटा ठूलो चेतावनी दिए। तिनले भने, “जब तिमीहरू यरूशलेम पुग्नेछौ, यो पेटी जसको हो उसलाई यहूदीहरूले ठीक यस्तै गर्नेछन्। तिनीहरूले तिनलाई पक्रनेछन् र बाँध्नेछन्!” (प्रेरित २१:११ पढ्नुहोस्)। उक्त पेटी कसको थियो? _____________। अगाबसको भनाइको तात्पर्य यो थियो, “पावल, तिमी जान लागिरहेको येरूशलेममा तिमीलाई खतरा छ; त्यहाँ यहूदीहरूले तिमीलाई पक्रनेछन् र कैद गर्नेछन्!”
जब पावलका मित्रहरूले यो कुरा सुने के उनीहरूले पावल येरूशलेम गएको चाहे (प्रेरित २१:१२)?_____________। अगाडि खतरा भए तापनि के यस बाटोमा अघि बढ्न पावल इच्छुक थिए (प्रेरित २१:१३)?__________। के पावलका मित्रहरूले उनलाई जानबाट रोक्न सफल भए (प्रेरित २१:१४)?__________।
पावललाई यस्तो साहस कहाँबाट आयो? उनी किन डराएनन्? उनको जीवन ठूलै खतरामा पर्नेछ भनी उनलाई थाह हुँदा हुँदै पनि येरूशलेमभित्र प्रवेश गर्ने यस्तो सामर्थ्य उनले कहाँबाट पाए?
कहिलेकाहीँ भविष्यमा के हुने हो भन्ने कुरा हामीलाई थाह नभएकोले हामी डराउँदछौं। हामीलाई अब के हुनेछ भनी हामी निश्चित हुँदैनौं। उदाहरणको निम्ति मानौं तपाईंको दाँत उखेल्न तपाईं अस्पताल जानु पर्ने भयो। चिकित्सकले वा नर्सहरूले तपाईंलाई के गरिनेछ भनी बताएको र तपाईंलाई उनीहरूले के गर्नेछन् भनी बताएको तपाईं चाहनुहुन्छ? कि एकैचोटी अचानक तपाईंले सोच्दै नसोच्नुभएको किसिमको उपचार गरिएको तपाईं चाहनुहुन्छ?
धेरैजसो मानिसहरू “यसपछि के हुन्छ” भनी जान्न चाहन्छन्। भोलि के हुनेछ भनी पावललाई थाह थियो र उनी नडराउनुको एउटा कारण पनि यही थियो। पावलले आफ्नो जीवनको बारेमा कस्तो सोच राख्थे? त्यो चैनको जीवन हुनेछ भन्ने सोच कि कष्टपूर्ण हुनेछ भन्ने (प्रेरित ९:१६)?_______________________________। पावललाई दुःखहरू आइपर्नेछन् भनी परमेश्वरले पहिल्यै बताउनुभयो र यो कुरा उनले आफ्नो विश्वासी जीवनको प्रारम्भदेखि नै जान्दथे। आफ्नो जीवनमा के कस्ता कुराहरू आउँदैछन् भनी पावल जान्दथे। येरूशलेममा उनलाई के कस्ता कुराहरू हुनेछन् भनेर सबै कुरा नै उनी जान्दैनथे (प्रेरित २०:२२), तर उनी कैद गरिनेछन् र सताइनेछन् भन्ने कुराचाहिँ उनी जान्दथे (प्रेरित २०:२३ पढ्नुहोस्)।
भोलि के हुन्छ भनी हामी जान्दैनौं (हित्तोपदेश २७:१) तर परमेश्वर जान्नुहुन्छ! परमेश्वरलाई कहिल्यै कुनै कुराले आश्चर्यमा पार्दैन! मानौं तपाईं कुनै एउटा ठूलो जहाजमा यात्रा गर्दै हुनुहुन्छ। तपाईं कहाँसम्म आइपुग्नुभयो भन्ने कुरा तपाईंलाई थाह नहोला र जहाज कुन दिशामा गइरहेछ भन्ने कुरा पनि तपाईंलाई थाह नहोला, तर जहाजको चालकलाई त्यो राम्ररी थाह हुन्छ! ऊ कता जाँदैछ भनेर उसलाई थाह छ र ऊ के गर्दैछ भनेर पनि उसलाई थाह छ र फलस्वरूप तपाईं नआत्तीकन (नडराईकन) बस्न यात्रा गर्न सक्नुहुन्छ। ख्रीष्ट हाम्रो जीवनको चालक हुनुहुन्छ।
अगाबसको भविष्यवाणी पूरा हुन्छ
पावल येरूशलेम आइपुग्छन् र मन्दिरभित्र पस्छन्। एकदिन यहूदीहरूले उनलाई समात्छन् (प्रेरित २१:२७) र उनलाई म_______ बाहिर निकाल्छन् (प्रेरित २१:३०)। तिनीहरूले उनलाई मार्न खोज्दै थिए (प्रेरित २१:३१)। अगाबसले दिएको चेतावनी पूरा हुँदैथियो। पावल समस्यामा थिए। के पावल अब डराउन थाल्नुपर्छ?
यहूदीहरूले पावललाई कुट्न थाले (प्रेरित २१:३२)। तिनीहरूले उनलाई मार्ने थिए होलान्, तर तिनीहरूले यसो गर्न पाउनु पूर्व नै, रोमीहरूले पावललाई आफ्नो कब्जामा लिए र उनलाई यहूदीहरूको हातबाट बचाए (प्रेरित २१:३२-३३)। कुनै पनि मानिसको निष्पक्ष सुनुवाइ हुनुपर्छ भन्ने रोमीहरूको मान्यता थियो।
केही वर्ष अगाडि यही शहरमा येशूलाई जस्तो भएको थियो पावललाई पनि ठीक त्यस्तै हुँदै थियो। यहूदीहरूले पावललाई मार्न चाहिरहेका थिए। के तिनीहरूले येशूलाई पनि मार्न चाहेका थिए (मत्ती २७:१)?________। रोमीहरूले पावलको निष्पक्ष सुनुवाइ गर्न र निर्दोष पाइएको खण्डमा उनलाई स्वतन्त्र छोडिदिन चाहेका थिए। के येशूलाई पनि रोमी सरकारले यस्तै गर्न चाहेको थियो (लूका २३:१३-१६)?__________। पावलको सम्बन्धमा यहूदीहरू यसो भन्दै चिच्च्याए “त्यसलाई हटाइदेऊ!” (प्रेरित २१:३६)। येशूको बारेमा पनि तिनीहरूले एक समय भनेको कुरा के यही थियो (यूहन्ना १९:१५)?_____________।
आफ्नो जीवनमा के हुन लागिरहेको छ भन्ने कुरा पावल जान्दथे। येशूले एक समय यसो भन्नुभएको थियो, “दास आफ्नो मालिकभन्दा ठूलो हुँदैन। तिनीहरूले मलाई _______ छन् भने तिनीहरूले ति___________ पनि सताउनेछन्।” (यूहन्ना १५:२०)। पावल दु:ख भोग्न र ख्रीष्टलाई गरेको व्यवहार जस्तै व्यवहार सहन राजी थिए!
पावलले यहूदीहरूको त्यो ठूलो भीडलाई सम्बोधन गर्ने मौका पाए (प्रेरित २१:४० पढ्नुहोस्)। उनले तिनीहरूलाई बताएका सन्देश प्रेरित २२:२-२१ मा छ। यस सन्देशमा उनले आफ्नो मुक्तिको व्यक्तिगत गवाही बताउँछन्। उनको गवाहीको अन्ततिर भीडले उनलाई अरु बोल्न दिएनन्, र तिनीहरू के भनेर चिच्च्याउनथाले (प्रेरित २२:२२)?
1. “पावल, परमेश्वरले तपाईंको जीवनमा यस्तो काम गर्नुभएकोमा हामीलाई अचम्म लागिरहेको छ। यदि ख्रीष्टले तपाईंलाई यसरी उदेकको रीतिले बचाउन सक्नुहुन्छ भने, हामी पनि उहाँलाई हाम्रो मुक्तिदाताको रूपमा ग्रहण गर्न चाहन्छौं!” 2. “पृथ्वीबाट यस्तो मान्छेलाई हटाइदेऊ, किनकि त्यो जीवित रहनु उचित छैन!”
त्यस क्रोधित भीडले अरु के गरे (प्रेरित २२:२३)? _____________________________________।
आमरणान्त अनसन
सन् १९८१ मा आयरल्यान्डका कैदीहरूको एउटा समूहले बेलायती सरकारले तिनीहरूलाई केवल साधारण कैदी मात्र नभई “राजनैतिक कैदी” का रूपमा स्वीकार गरियोस् भन्ने माग राखे। बेलायती सरकारद्वारा तिनीहरूको माग पूरा गराइनको निम्ति, तिनीहरूमध्ये धेरैले यसो भने, “हाम्रो माग पूरा नहुन्जेल हामी केही पनि खाने छैनौं!” र त्यसैले तिनीहरू “आमरणान्त अनसन” बसे र खान इन्कार गरे। तिनीहरूमध्ये धेरैजना भोकले मरे पनि।
प्रेरितको पुस्तकमा ४० जना भन्दा बेसी मानिसहरूको समूहले यसो भनेको हामीले जान्न सक्छौं, “हामीले चाहेको कुरा पूरा नहुन्जेल हामी खाँदैनौं र पिउँदैनौं!” तिनीहरूले चाहेको कुरा के थियो (प्रेरित २३:१२,२१)?______________________________________। के अब पावल डराउनुपर्थ्यो?
ती यहूदी मानिसहरूले पावललाई सधैंका निम्ति हटाउनलाई एउटा दुष्ट षड्यन्त्र रच्छन् (प्रेरित २३:१५)। तर तिनीहरूको यो षड्यन्त्र विफल हुन्छ। तिनीहरूको षड्यन्त्रको सुइँको कसले पायो (प्रेरित २३:१६)? _________________________________ ______________________। यस युवकले पावललाई यसको खबर दिन्छ, र पावलले मुख्य कप्तानलाई अनि फलस्वरूप रोमीहरू पावललाई जोगाउन र येरूशलेम शहरदेखि बाहिर अन्यत्र सार्न सफल हुन्छन्। परमेश्वरले पावललाई थुप्रै अङ्गरक्षकहरू दिनुभयो (प्रेरित २३:२३):
त्यहाँ कतिजना सिपाहीहरू थिए?________________
त्यहाँ कतिजना घोडसवारहरू थिए?_______________
त्यहाँ कतिजना भाला बोक्ने सिपाहीहरू थिए?___________
आफैलाई श्रापले बाँधेर आमरणान्त अनसन बसेकाहरूको आखिरी नतिजा कस्तो भयो होला भनेर हामीलाई कौतुहल लाग्न सक्छ। चाहेको कुरा तिनीहरूले पाएनन्। के तिनीहरूले आफ्नो कसम पूरा गरे त? यदि गरेका हुन् भने तिनीहरूले मार्न चाहिरहेको व्यक्ति नै तिनीहरू भन्दा बेसी बाँचे!
“मलाई हानि गर्नु अगाडि पहिला अनुमति चाहिन्छ!”
तपाईंलाई जीवित देख्नुभन्दा बरु मरेको देख्न रूचाउने ४० जना भन्दा बढी मानिसहरू त्यहाँ छन् भने तपाईं के गर्नुहुन्छ? के तपाई त्रसित बन्नुहुन्छ?
परमेश्वरको अनुमतिबिना कसैले पनि उनलाई हानि गर्न सक्दैन भनी पावल जान्दथे। उनी यो पनि जान्दथे कि उनी रो_____ जानु उनको निम्ति परमेश्वरको योजना हो (प्रेरित २३:११)। यदि पावल येरूशलेममा मरेका भए वा उनको हत्या भएको भए, उनी कसरी रोम जान सक्थे र? यद्यपि पचास लाख मानिसहरूले पावल मरेको चाहे तापनि परमेश्वरको इच्छा जे छ त्यही नै पूरा हुन्छ!
केही मानिसहरू चट्याङ्गदेखि डराउँछन्। जब चट्याङ्ग पर्छ कतै बज्रपातले आफैलाई लाग्छ कि भनेर तिनीहरू डराउँछन्। के चट्याङ्गको कारणले कहिल्यै मानिसहरू मरेका छन्?__________। यसको मतलब के हामीहरू डराउनुपर्छ?
एउटा कुरा छ जुन हामीले कहिल्यै बिर्सनुहुँदैन। चट्याङ्ग र सबै प्राकृतिक शक्तिहरू नियन्त्रण गर्नुहुने को हुनुहुन्छ (भजनसङ्ग्रह १४८:८ सित तुलना गर्नुहोस्)?__________। यदि परमेश्वरले यसलाई नियन्त्रण गरिरहनुभएको छ भने, कुनै पनि चट्याङ्गको बज्रपात परमेश्वरको अनुमतिबिना कतै जान सक्दैन! परमेश्वर जसले मलाई सृष्टि गर्नुभयो, जसले मलाई प्रेम गर्नुहुन्छ, र जसले मलाई मुक्ति दिनुभयो उहाँ उही परमेश्वर हुनुहुन्छ जो चट्याङ्गका पनि मालिक हुनुहुन्छ!
के शैतानले कुनै मानिसलाई परमेश्वरको अनुमतिबिना हानि गर्न सक्छ (अय्यूव १:११-१२; २:४-६)?____________।
“नडराऊ पावल!”
आउने समयहरूमा सङ्कष्ट हुनेछ भनी पावललाई बताइएको थियो। भोलि के हुनेछ भनेर परमेश्वरले उनलाई बताउनुभएको थियो तर उहाँले पावललाई “हि______ गर” (प्रेरित २३:११) भनेर पनि भन्नुभयो। विश्वासी हुनाले, परमेश्वरले हामी जीवनको बाटोमा हिँड्दा हामीलाई के हुनेछ भनी भन्नुभएको छ। येशूले भन्नभयो, “संसारमा तिमीहरूलाई स__________ (समस्या, कठिनाइ, परीक्षाहरू) हुनेछ” (यूहन्ना १६:३३)। तर येशूले यसो पनि भन्नुभयो, “तर सा________ गर, मैले संसारलाई जितेको छु!” (यूहन्ना १६:३३)। परमेश्वर नै विजेता हुनुहुन्छ र जो उहाँका हुन् उनीहरूको हार हुनै सक्दैन!
परमेश्वरले मानिसहरूलाई भोलि के हुन्छ भन्ने कुराको सामान्य ज्ञान दिनुहुन्छ। जब समस्याहरू र कठिनाइहरू आउन लागिरहेका हुन्छन्, परमेश्वरले प्राय: पूर्वसूचना दिनुहुन्छ। के परमेश्वरले इस्राएलको सन्तानहरूलाई तिनीहरू मिश्रको भूमिमा दासहरू हुनेछन् भनी उक्त घटना घट्नुभन्दा धेरै अगाडि नै बताउनुभयो (उत्पत्ति १५:१२-१४)?________________। के परमेश्वरले इस्राएलको सन्तानहरूलाई तिनीहरू बेबिलोनीहरूद्वारा पराजित हुनेछन् र ७० वर्षसम्म बन्दी बनाइनेछन् भनी बताउनुभयो (यर्मिया २५:८-११)?______________। परमेश्वरले हामीलाई प्रकाशको पुस्तक पनि दिनुभएको छ ताकी मानिसहरूले भविष्यमा पृथ्वीमाथि आउन लागिरहेको सङ्कष्ट र समस्याहरूका भयावह कालखण्डको बारेमा जानून्।
भविष्यले तपाईंको निम्ति के साँचेको छ? तपाईंले आफ्नो वरिपरि नजर लगाउनुभयो भने तपाईंले यो पत्ता लगाउनुहुनेछ कि मानिसहरूले हरेक किसिमका समस्या र अप्ठ्यारा कुराहरूको सामना गरिरहेका हुन्छन्। जीवनको बाटो सधैं सजिलो हुँदैन। त्यहाँ स्कूल वा कलेजका समस्याहरू हुन्छन्, पारिवारिक समस्याहरू हुन्छन्, जागीरको समस्याहरू हुन्छन् र स्वास्थ्य सम्बन्धी समस्याहरू हुन्छन्। हाम्रो राज्यमा, हाम्रो प्रान्तमा, र हाम्रो विश्वमा पनि धेरै समस्याहरू छन् जसले तपाईं र तपाईंको भविष्यलाई नै असर गर्नेछ। तपाईं हुर्कनु भएर माथिल्लो तह र अझै धेरै अध्ययन गर्ने विचार गर्नुहुँदा, आगामी दिनहरूमा तपाईंको निम्ति के कस्ता कुराहरू पर्खेर बसिरहेका छन् जस्तो लाग्छ तपाईंलाई? तपाईंले कस्तो किसिमको समस्याहरू र कठिनाइहरूको सामना गर्नुपर्ला?
हामी यी कुराहरूको अपेक्षा गर्ने क्रममा के हामी डराउनुपर्छ? पावललाई येरूशलेममा र पछि रोममा आइपर्ने घटनाहरूको बारेमा विचार गर्दा के ऊ डराउनुपर्थ्यो? परमेश्वरको बाटोमा हिँड्दा हामी साहस गर्न सकौं भनेर परमेश्वरले हामीलाई कस्तो सहायता गर्नुहुन्छ?
तपाईंले निम्न पदहरू अध्ययन गर्नुहुँदा पावल किन डराउनुपर्दैनथ्यो भन्ने कुराको व्याख्या गर्नुहोस्। अनि (यदि तपाईं परमेश्वरको सन्तान हुनुहुन्छ भने) तपाईं पनि किन डराउनुपर्दैन भनेर व्याख्या गर्नुहोस्। प्रथम बुँदा नमुनास्वरूप पूरा गरिएको छ।
- व्यवस्था २०:१ पावल जान्दथे परमप्रभु उनका परमेश्वर येरूशलेममा उनको साथमा हुनुहुनेछ। म पनि आफ्नो जीवनमा समस्याहरू हुनेछन् भनी थाह गर्दै अगाडि बढ्नुपर्छ, तर मेरो परमेश्वर मेरो साथमा हुनुहुनेछ भन्ने कुरा यादमा राख्नुपर्छ।
- उत्पत्ति १५:१ _____________________________________________
- व्यवस्था ३:२२ ____________________________________________
- १ इतिहास २८:२० __________________________________________
- भजनसङ्ग्रह २७:१ _________________________________________
- भजनसङ्ग्रह ४६:१-२ ________________________________________
- भजनसङ्ग्रह ९१:२,५ ________________________________________
- भजनसङ्ग्रह ११२:७ _________________________________________
- भजनसङ्ग्रह ११८:६ _________________________________________
- यशैया ४१:१० ____________________________________________
- यशैया ४१:१३-१४ __________________________________________
- मत्ती १०:२९-३१ ___________________________________________
“पावल, नडराऊ!”
“विश्वासी, नडराऊ!”
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)