मण्डली—आज परमेश्वरको योजना

मण्डली—आज परमेश्वरको योजना

 

आज हामी अनुग्रहको प्रबन्धमा बाँचिरहेका छौं (पाठ ९ मा हेर्नुहोस्)। अनुग्रहको वर्तमान युगमा परमेश्वरले एउटा अति विशेष र एकदमै अचम्मको काम गर्दै हुनुहुन्छ। हाम्रो अध्ययनको क्रममा अर्को प्रबन्धको अध्ययनमा अगाडि बढ्नु अघि हामी यहाँ केही समय अडिएर आज परमेश्वर संसारमा के गर्दै हुनुहुन्छ भन्ने कुरालाई बुझ्न चाहन्छौं।

मत्ती १६:१८ मा प्रभु येशू ख्रीष्टले भविष्यमा आफूले गर्न लागिरहनुभएको कुरालाई आफ्ना चेलाहरूलाई अवगत गराउनुभयो: “यस चट्टानमाथि म आफ्नो ____________ ____________, अनि नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन्।” यस महत्त्वपूर्ण पदबाट हामीले कम्तिमा चारओटा कुराहरू सिक्दछौं:

१. निर्माता ख्रीष्ट हुनुहुन्छ!

२. निर्माण कार्य चट्टानमाथि गरिनेछ!

३. निमार्ण गरिने “भवन” मण्डली हो!

४. मण्डलीको स्वामित्व ख्रीष्टमा निहित छ! – (“म आफ्नो मण्डली बनाउनेछु”)

आज प्रभु येशू एउटा कुराको निर्माण गर्दैहुनुहुन्छ। उहाँले आफ्नो लागि एउटा ज्यादै प्रिय कुरा निर्माण गर्दैहुनुहुन्छ। उहाँले आफ्नो स्वामित्वका निम्ति एउटा विशेष कुराको निर्माण गर्दैहुनुहुन्छ: “म _________ मण्डली बनाउनेछु” (मत्ती १६:१८)।

यो भवनजस्तै अर्को कुनै छैन। यो भवन कुनै ठूलो शहरका भवनहरू जस्तै होइन। यो “भवन” निर्जीव इट्टा, सिमेन्ट, डण्डी र काठले बनेको भवन होइन। यो “भवन” जिउँदा पत्थरहरूले बनेको भवन हो (१ पत्रुस २:५ पढ्नुहोस्)। क्रूसमा मरेर बौरिउठ्नुभएको ख्रीष्टमाथि विश्वास गरेका र उहाँलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तिदाता भनी ग्रहण गरेका मानिसहरू (यूहन्ना १:१२) नै यस भवनका “पत्थरहरू” हुन्।

ख्रीष्टको शरीर

माथि उल्लेख गरियो, मण्डलीलाई एउटा भवनको रूपमा बयान गरिएको छ – जिउँदा पत्थरहरू अर्थात् जिउँदा विश्वासीहरूले बनेको भवन (१ पत्रुस २:५)। मण्डलीलाई भवनको रूपमा मात्र होइन शरीरको रूपमा पनि बयान गरिएको छ:

१. एफेसी १:२२-२३ “र उहाँ (ख्रीष्ट) लाई सबै कुराहरूमाथि _________ हुनाका निम्ति _____________लाई दिनुभयो, जोचाहिँ उहाँको ____________ हो।”

२. कलस्सी १:१८

“अनि उहाँ (ख्रीष्ट) ____________ अर्थात् _____________का __________ हुनुहुन्छ।”

यी पदहरूले हामीलाई मण्डली ख्रीष्टको शरीर हो भनेर सिकाउँदछन्। प्रत्येक विश्वासी जन यस शरीरको अंग हो (१ कोरिन्थी १२:२७ पढ्नुहोस्)। यस शरीरको शिर को हुनुहुन्छ (कलस्सी १:१८)? __________________। मण्डली जिउँदा अंगहरूले बनेको एउटा जिउँदो संरचना (एउटा शरीर) हो।

एक व्यक्ति कसरी साँचो मण्डलीको अंग बन्दछ? एक व्यक्ति कसरी यस भवनको “पत्थर” बन्दछ? एक व्यक्ति कसरी ख्रीष्टको शरीरको अंग बन्दछ? तलको चित्रलाई अध्ययन गरौं:

यस चित्रमा हामी देख्छौं, शिर स्वर्गमा हुनुहुन्छ (कलस्सी ३:१-२) र मण्डली पृथ्वीमा छ (यूहन्ना १७:१५)। प्रत्येक अंग शिरसँग र साथै एकअर्कासँग सम्बन्मा गाँसिएको छ। क्रूसद्वारा (विश्वास गरेर) बाहेक कोही पनि ख्रीष्टको मण्डलीको अंग बन्न सक्दैन। जब एक व्यक्तिले विश्वास गर्छ, तब परमेश्वरले उसलाई उहाँको शरीरभित्र गाभ्ने काम (बप्‍तिस्मा) गर्नुहुन्छ (१ कोरिन्थी १२:१३)।

के तपाईं ख्रीष्टको शरीरको अंग हुनुहुन्छ? के तपाईं क्रूसको बाटो भएर आउनुभयो (त्यहाँ ख्रीष्ट तपाईंको लागि मर्नुभयो र उहाँले तपाईंका पापहरूका पूरा मूल्य चुक्ता गरिदिनुभयो भनेर विश्वास गर्नुभयो)? के तपाईंले क्रूसमा टँगाइनुभएको र बौरिउठ्नुभएको मुक्तिदातामाथि विश्वास गर्नुभयो? आज, साँच्ची नै मुक्ति पाएका सबै मानिसहरू ख्रीष्टको शरीरको अंगहरू भएका छन् अनि ख्रीष्टको यस शरीरलाई मण्डली भनिन्छ।

पवित्र आत्माको आगमन

मण्डली सधैंदेखि थिएन। आदमको सृष्टि हुँदा मण्डली थिएन। नूहको समयमा मण्डली थिएन। अब्राहाम, दाऊद र यशैया सबै नै विश्वासी जनहरू थिए तर उनीहरू मण्डलीका अंगहरू थिएनन् किनभने त्यसबेला मण्डली थिएन। बप्‍तिस्मा दिने यूहन्नाको समयमा मण्डली थिएन। येशू पृथ्वीमा हिँड्नुहुँदा मण्डली थिएन। येशू ख्रीष्टको मृत्यु र बौरिउठाइ नभएसम्म मण्डलीको शुरूआत भएको थिएन।

क्रूसमा आफ्नो मृत्यु हुनभन्दाको अघिल्लो रातमा येशूले आफ्ना चेलाहरूलाई एउटा विशेष दिनको बारेमा बताउनुभयो जब पवित्र आत्मा प्रत्येक विश्वासी जनभित्र वास गर्न आउनुहुनेछ। यूहन्ना १४ देखि १६ अध्यायहरूलाई सरसर्ती हेर्नुहोस् (आफ्नो मरण हुनभन्दाको अघिल्लो रातमा येशूले आफ्ना चेलाहरूसित बोल्नुभएका वचनहरू यिनै हुन्)। शान्तिदाताको उल्लेख गर्ने पदहरू भेट्टाउनुहोस्: ___________________। शान्तिदाता चाहिँ पवित्र आत्माको अर्को नाउँ हो। शान्तिदाता भन्ने शब्दको अर्थ हो, “सहायक, तपाईंलाई सहायता गर्न, सान्त्वना दिन, हौसला दिन तपाईंको छेउमा आउन बोलाइएको व्यक्ति”। पवित्र आत्माको उल्लेख गर्ने पदहरू भेट्टाउनुहोस्: ____________________।

यूहन्ना अध्याय १४ र १५ मा पवित्र आत्मा पठाइनुहुने भनी उल्लेख गर्ने पदहरू भेट्टाउनुहोस्: ______________________। यूहन्ना १६:७,८,१३ को विचार गर्नुहोस्। के यी पदहरूले पवित्र आत्मा आउनुहुने समयको बारेमा बताउँदै छन्? __________________।

प्रभु येशू ख्रीष्टले आफ्नो चेलाहरूलाई एकजना व्यक्ति पठाइनुहुनेछ भनी प्रतिज्ञा गर्नुभयो। यस व्यक्तिले चेलाहरूलाई सहायता गर्नुहुनेछ (यूहन्ना १४:१६), उहाँ चेलाहरूसँगै रहनुहुनेछ (यूहन्ना १४:१६), उहाँ चेलाहरूभित्र वास गर्नुहुनेछ (यूहन्ना १४:१७), चेलाहरूलाई सिकाउनुहुनेछ (यूहन्ना १४:२६), चेलाहरूलाई ख्रीष्टको बारेमा गवाही दिनुहुनेछ (यूहन्ना १५:२६) र चेलाहरूलाई डोर्याउनुहुनेछ (यूहन्ना १६:१३) भनी प्रभुले भन्नुभयो। उक्त व्यक्ति को हुनुहुन्छ? ____________________________।

पवित्र आत्माको आगमन इतिहासकै सबभन्दा महत्त्वपूर्ण घटनाहरूमध्ये एउटा घटना हो। त्यही दिनमा मण्डलीको शुरूआत भएको हो (प्रेरित ११:१५ पढ्नुहोस् जहाँ पेन्टेकोस्टको दिनलाई “शुरू” भनेर जनाइएको छ)। त्यही दिन मण्डलीको जन्म भयो। त्यही दिन परमेश्वर आफ्ना विश्वासी जनहरूभित्र विशेष रूपमा वास गर्न आउनुभयो: पवित्र आत्मा “_________________ हुनुहुनेछ” (यूहन्ना १४:१७) र “उहाँ सधैंभरि तिमीहरूसँगै रहून् भनेर” (यूहन्ना १४:१६) दिइनुहुनेछ।

पवित्र आत्मा एक विशेष दिनमा आउनुभयो जसलाई पेन्टेकोस्टको दिन भनिन्छ। पवित्र आत्माको आगमनको बारेमा हामी प्रेरित अध्याय २ मा पढ्न सक्छौं (विशेष गरी अध्यायको शुरूको खण्डमा)। तलको नक्साले पवित्र आत्मा कहिले आउनुभएको थियो भनेर देखाउँदछ:

पेन्टेकोस्टको दिनमा पवित्र आत्मा आउनुभयो र मण्डलीको जन्म भयो। यसै दिनदेखि परमेश्वर विश्वासी जनहरू भित्र विशेषरूपमा बस्न आउनुभयो।

ख्रीष्टमसलाई “येशू ख्रीष्टको जन्मदिन” भनेर मान्ने चलन छ। त्यसले हामीलाई त्यस समयको सम्झना गराउँछ जब परमेश्वर स्वर्ग छोडेर एउटा मानव शरीरमा जिउन आउनुभयो: “वचन (येशू ख्रीष्ट) ___________ हुनुभयो, अनि हाम्रा माझमा…वास गर्नुभयो” (यूहन्ना १:१४)। यसलाई ख्रीष्टको देहधारण (INCARNATION) भनिन्छ किनकि परमेश्वरले देह (मानव शरीर) धारण गर्नुभयो (यूहन्ना १:१४, १ तिमोथी ३:१६)। परमेश्वर मानव शरीरमा जिउन आउनुभयो।

पेन्टेकोस्टको दिनले चाहिँ हामीलाई यो सम्झना गराउँछ, पवित्र आत्मा परमेश्वर अर्को शरीरमा जिउनलाई आउनुभयो, अर्थात् ख्रीष्टको शरीरमा जसलाई मण्डली भनिन्छ। यसै दिनदेखि परमेश्वर विश्वासी जनहरू भित्र विशेषरूपमा बस्न आउनुभयो र मण्डलीको जन्म भयो। मण्डली “_________द्वारा परमेश्वरको वा_____________ हो” (एफेसी २:२२)।

टिप्पणी: यस अध्ययनको दोस्रो पाठमा हामीले सिकेका थियौं, कतिपयले मण्डली पेन्टेकोस्टको दिनमा शुरू भएको हो भनेर विश्वास गर्दैनन्। मण्डली प्रेरितको दोस्रो अध्याय (पेन्टेकोस्ट) मा शुरू भएको हो भनेर बाइबलले प्रस्टै सिकाउँछ। मत्ती १६:१८ मा येशूले भन्नुभयो, “म आफ्नो मण्डली बनाउनेछु“। उहाँले भविष्यत् कालको प्रयोग गर्नुभयो (“बनाउनेछु”) जसको मतलब मण्डली शुरू भइसकेको थिएन तर भविष्यमा बनाइने योजना थियो। १ कोरिन्थी १२:१३ मा हामी सिक्छौं, मानिसहरू मण्डलीको अंग तब बन्दछन् जब उनीहरूलाई परमेश्वरले ख्रीष्टको शरीरमा बप्‍तिस्मा दिनुहुनेछ। चाबी प्रश्न यो हो: परमेश्वरले ख्रीष्टको शरीरमा मानिसहरूलाई सबभन्दा पहिले कहिले बप्‍तिस्मा गर्नुभयो? मत्ती ३:११ मा उक्त बप्‍तिस्मा भविष्यमै हुने बताइएको छ (त्यसबेला भइसकेको थिएन)। प्रेरित १:५ मा उक्त बप्‍तिस्मा अझै भविष्यमै हुने बताइएको छ। त्यो घटना घटिसकेको थिएन तर त्यो “अब केही दिनपछि” हुनेछ भनेर बताइएको छ। केही दिन (दस दिन) पछि पवित्र आत्मा आउनुभयो (प्रेरित २)। प्रेरित ११:१५-१७ मा हामी सिक्छौं, उक्त बप्‍तिस्मा सबभन्दा पहिले प्रेरित अध्याय २ मा पूरा भएको थियो। त्यही दिन (पेन्टेकोस्टको दिन) मा परमेश्वरले मानिसहरूलाई उहाँको शरीरमा सबभन्दा पहिला गाभ्नुभयो अनि त्यस शरीरलाई मण्डली भनिन्छ। साथै हामीले यो ख्याल राख्‍नुपर्छ, प्रेरित अध्याय २ को अन्तमा आइपुग्दा हामी मण्डली अस्तित्वमा आइसकेको देख्छौं (प्रेरित २:४७ पढ्नुहोस्)।

यस शरीर र भवनमा थपिने कार्य

प्रेरित १:१५ अनुसार त्यहाँ करिब कतिजना चेलाहरू (विश्वासी जनहरू) थिए?_____________। प्रेरित २:१-३ मा हामी सिक्छौं, पवित्र आत्मा यी मानिसहरूमाथि आउनुभयो र मण्डलीको जन्म भयो। मण्डलीको शरूआत हुँदा त्यो करिब १२० अंगहरूले बनेको शरीर थियो! त्यो, करिब १२० जिउँदा ईंटाहरूले बनेको भवन थियो!

त्यही दिनमा केही समयपछि पत्रुसले प्रचार गरे अनि थुप्रै मानिसहरूले विश्वास गरे। अरू कति “ईंटाहरू” भवनमा थपियो (प्रेरित २:४१)? __________________। परमेश्वरले मण्डली, आफ्नो भवन, लाई निर्माण गर्न भ्याइसक्नुभएको थिएन। बास्तवमा, उहाँको काम भरखरै शुरू मात्र भएको थियो। प्रेरित २:४७ मा हामी यो पढ्छौं: “अनि दिनहुँ प्रभुले __________ पाउनेहरूलाई _____________मा ___________हुन्थ्यो।” दिनदिनै भवनमा नयाँ ईंटाहरू थपिंदैथिए, शरीरमा नयाँ अंगहरू थपिंदैथिए। पछि प्रेरित ४:४ मा हामी सिक्छौं, त्यहाँ ______________ पुरुषहरू थिए जसले विश्वास गरेका थिए। के परमेश्वरले आफ्नो शरीरमा विश्वासी जनहरू थप्दै जानुभयो र आफ्नो भवनमा ईंटाहरू थप्दै जानुभयो (प्रेरित ५:१४ र ११:२४)? ________________।

आज परमेश्वर आफ्नो मण्डली अझै निर्माण गर्दैहुनुहुन्छ। एक दिन यो निर्माण योजना पूरा हुनेछ, तर यो अझै पूरा भइसकेको छैन। परमेश्वरले अझै मानिसहरूलाई बचाउँदै हुनुहुन्छ र ख्रीष्टको शरीरमा थप्दैहुनुहुन्छ। परमेश्वरले आज संसारमा गर्दैरहनुभएको कामलाई प्रेरित १५:१४ मा बयान गरिएको छ – परमेश्वरले अन्यजातिहरू (संसारभरिका जातिहरू) सँग भेट गर्दै हुनुहुन्छ। किन? –”अन्यजातिहरूको बीचबाट आफ्ना _________का निम्ति एउटा __________ निकाल्नालाई।”

परमेश्वरको रहस्य

एफेसी ३:३-५ मा पावल प्रेरितले एउटा रहस्य अर्थात् गोप्य कुराको उल्लेख गरेका छन्। यो रहस्य एउटा यस्तो कुरा थियो जुनचाहिँ “अरू पुस्ताहरूमा मानिसका सन्तानहरूलाई बताइएको ___________, जसरी यो ___________ आत्माद्वारा उहाँका पवित्र प्रेरितहरू र भविष्यवक्ताहरूकहाँ प्रकट गरिएको छ (एफेसी ३:५)।” यो रहस्य एउटा यस्तो कुरा थियो “उहाँ (परमेश्वर) मा ____________देखि ___________ बसेको” (एफेसी ३:९) थियो। के परमेश्वरले यस रहस्य पावललाई बताउनुभयो को त्यसलाई गुप्यमै राख्‍नुभयो (एफेसी ३:३)? ________________________।

एउटा केटोको खल्तीभित्र केही चीज छ। त्यो के हो उसले जान्दछ तर अरू कसैले जान्दैन। त्यो कुरा गोप्य छ! त्यो चीज खल्तीभित्र लुकेर बसेको छ। उसको खल्तीमा के छ उसले निकालेर अरूलाई नदेखाएसम्म कसैले थाह पाउन सक्दैन।

संसारको शुरूदेखि नै परमेश्वरसित एउटा गोप्य कुरा थियो (जसलाई “रहस्य” भनिएको छ)। परमेश्वरसित उहाँको “खल्ती” मा एउटा कुरा थियो जुन कुराका बारेमा उहाँले कसैलाई बताउनुभएन। आदमलाई यस रहस्यको बारेमा थाह थिएन। अब्राहाम र दाऊदलाई यस रहस्यको बारेमा केही थाह थिएन। बप्‍तिस्मा दिने यूहन्ना जान्दैनथे परमेश्वको खल्तीमा के छ भनेर। तर आखिरमा प्रेरित पावलको समयहरूमा परमेश्वरले त्यो रहस्य ब_____________ (एफेसी ३:३)। के आज परमेश्वर उहाँको “खल्ती” मा एक समय के थियो भनेर मानिसहरूले देखेको चाहनुहुन्छ (एफेसी ३:९)? ___________।

यो रहस्य के हो? के हो यो गोप्य कुरा जुनचाहिँ यति लामो समयसम्म बताइएको थिएन? यसको जवाफ एफेसी ३:६ मा पाइन्छ – “अर्थात् सुसमाचारद्वारा ख्रीष्टमा अन्यजातिहरू साझा-हकवालाहरू, एउटै ___________को साझेदार र उहाँका प्रतिज्ञाका साझा-भागीदारहरू हुनुपर्छ।” यो सुन्दर रहस्य यो हो कि, मुक्ति पाएका यहूदीहरू र मुक्ति पाएका अन्यजातिहरू एउटै शरीरमा एकिकृत हुनेछन्! यस पृथ्वीमा परमेश्वरले एउटा शरीर राख्‍नुभएको छ अनि यो शरीरलाई मण्डली भनिन्छ। कलस्सी १:२६-२७ मा पनि यस रहस्यको बारेमा हामी सिक्छौं। पद २७ मा हामी सिक्छौं, “महिमाको आशा ख्रीष्ट ______________ ________” नै यो रहस्य हो। येशू ख्रीष्ट मण्डलीमा जिउनुहुन्छ! येशू ख्रीष्ट आफ्ना विश्वासी जनहरूका हृदयहरूमा विशेष प्रकारले जिउनुहुन्छ। मण्डली “______________को घर हो” (१ तिमोथी ३:१५)। परमेश्वर त्यहाँ बास गर्नुहुन्छ। यो उहाँको घर हो!

पुरानो नियमका समयहरूमा मण्डलीलाई देख्न सकिंदैन थियो

विगतका युगहरूमा मण्डली सम्बन्धित सत्यता बताइएको थिएन (कलस्सी १:२६)। पुरानो नियमको विश्वासी जनलाई मण्डलीको बारेमा बताइएको थिएन। एक दिन परमेश्वर विश्वासी जनहरू मिलेर बनेको एउटा शरीरमा बास गर्नुहुनेछ भनेर उसलाई बताइएको थिएन। मसीह एक दिन मर्नुहुनेछ भनेर उसले जान्दथ्यो (यशैया ५३; भजनसंग्रह २२; दनियल ९:२६)। मसीहले एक दिन संसारमा राजा हुनुभएर शासन गर्नुहुनेछ भनेर पनि उसले जान्दथ्यो (मीका ५:२; यशैया ९:६-७; दनियल ७:१३-१४; यर्मिया २३:५-६)। ख्रीष्ट (मसीह) को पहिलो आगमनको बारेमा उसले केही कुराहरू जान्दथ्यो अनि ख्रीष्टको दोस्रो आगमनको बारेमा पनि उसले केही कुराहरू जान्दथ्यो तर ख्रीष्टका दुई आगमनहरूको बीचमा के हुनेछ भनेर उसले जान्दैनथ्यो।

तपाईंले टाढाबाट पर्वतको चुचुरोहरूलाई कहिल्यै हेर्नुभएको छ? हेर्दा एउटै चुचुरोजस्तै देखिए तापनि तपाईं अलि नजिक पुग्नुभएपछि त्यहाँ बास्तवमा दुइटा पर्वतका चुचुरोहरू रहेछन् र बीचमा बेसी रहेछ भनेर देख्‍नुहुनेछ। पुरानो नियमको विश्वासी जनले भविष्यतिर आँखा लगाउँदा पनि यस्तै देख्थ्यो। उसले दुइटा पर्वतका चुचुरोहरू देख्थ्यो (ख्रीष्टको पहिलो र दोस्रो आगमन) तर उसले बीचको बेसी (मण्डली युग) लाई देख्न सक्दैनथ्यो:

आज हामी ख्रीष्टका दुई आगमनहरूको बीचको बेसीमा बाँचिरहेका छौं। ख्रीष्टको पहिलो आगमन त इतिहास भइसक्यो (वितिसक्यो) र ख्रीष्टको दोस्रो आगमन चाहिँ भविष्यवाणी मै छ (आउन बाँकी नै छ)। बीचको बेसीलाई मण्डली युग (वा अनुग्रहको युग वा पवित्र आत्माको युग) भनिन्छ।

परमेश्वरको मन्दिर कहाँ छ?

मोशाको समयमा परमेश्वर कहाँ बास गर्नुहुन्थ्यो? परमेश्वरले आफ्नो उपस्थिति कहाँ प्रकट गर्नुभयो? परमेश्वरको महिमा कहाँ देखिन्थ्यो? परमेश्वरको घर कहाँ भेट्टाउन सकिन्थ्यो? परमेश्वरले देखिने रूपमा आफ्नो उपस्थितिलाई कहाँ प्रकट गर्नुभयो? यसको जवाफ पाइन्छ प्रस्थान ४०:३४-३५ मा – “परमप्रभुको महिमा (परमेश्वरको देखिने रूप) ले ___________ _______________ भरियो।” परमेश्वरले आफूलाई भेट हुने पाल नाम गरेको एउटा विशेष तम्बुमा प्रकट गर्नुभयो। परमेश्वरले उक्त तम्बुलाई विशेष प्रकारले भर्नुभयो।

सोलोमनको समयमा परमेश्वर कहाँ बास गर्नुभयो? परमेश्वरले आफ्नो उपस्थिति कहाँ प्रकट गर्नुभयो? परमेश्वरको महिमा कहाँ देखियो? यसको जवाफ पाइन्छ १ राजा ८:११ मा – “किनभने परमप्रभुको _____________ले ____________ भरिएको थियो।” परमेश्वरले मन्दिर भनिने एउटा विशेष भवनद्वारा आफूलाई प्रकट गर्नुभयो। परमेश्वर उक्त मन्दिरमा बास गर्नुभयो र त्यसलाई उहाँले आफ्नो पवित्र उपस्थितिले भर्नुभयो।

प्रभु येशूको समयमा परमेश्वरको महिमा कहाँ देखिन्थ्यो? परमेश्वरले आफूलाई कसरी प्रकट गर्नुभयो? यूहन्ना १:१४ मा हामी सिक्छौं, परमेश्वर एउटा मानव शरीरमा जिउन आउनुभयो अनि परमेश्वरको महिमा देखियो। यूहन्ना १४:७ मा येशूले भन्नुभयो, “तिमीहरूले __________ चिनेका भए मेरा _________लाई पनि चिनेका हुन्थ्यौ।” येशूलाई चिन्नु पितालाई चिन्नु हो! यूहन्ना १४:९ मा हामी सिक्छौं, __________लाई देख्‍नु पितालाई देख्‍नु हो! परमेश्वरले आफूलाई आफ्नो पुत्र, प्रभु येशू ख्रीष्टको व्यक्तित्वमा चिनाउनुभयो। उहाँको शरीर परमेश्वरको मन्दिर थियो (यूहन्ना २:१९-२१ हेर्नुहोस्)।

आज परमेश्वर कहाँ बास गर्नुहुन्छ? आज परमेश्वरको मन्दिर कहाँ छ?

आज पृथ्वीमा कुनै भेट हुने पाल छैन। आज यरुशलेममा कुनै यहूदी मन्दिर छैन। आखिरी यहूदी मन्दिर ई.सं. ७० मा रोमीहरूद्वारा ध्वस्त भयो। आज प्रभु येशू ख्रीष्ट यस पृथ्वीमा एउटा मानव शरीरमा रहिरहनुभएको छैन। आज परमेश्वरको मन्दिर कहाँ छ? आज परमेश्वरले आफ्नो उपस्थिति कहाँ प्रकट गर्दै हुनुहुन्छ? परमेश्वरको महिमा कहाँ देखिन्छ? परमेश्वर आज कहाँ जिउनुहुन्छ, कहाँ बास गर्नुहुन्छ? यसको जवाफ १ कोरिन्थी ३:१६ मा पाइन्छ – “_______________ (विश्वासी जनहरू) परमेश्वरका ___________ हौ, र परमेश्वरका ___________ तिमीहरूभित्र _________ गर्नुहुन्छ – के यो कुरा तिमीहरूलाई थाह छैन?” आज मण्डली (विश्वासी जनहरू मिलेर बनेको संरचना) नै परमेश्वरको मन्दिर हो। परमेश्वरले ख्रीष्टको शरीर (मण्डली) लाई आफ्नो महिमाले भर्नुहुन्छ (एफेसी १:२२-२३)। मण्डली नै परमेश्वरको घर हो (१ तिमोथी ३:१५) र यो नै “आत्माद्वारा ______________को वासस्थान हो” (एफेसी २:२२)। आज परमेश्वरले आफूलाई मण्डलीमा र मण्डलीद्वारा प्रकट गर्न चाहनुभएको छ!

यदि परमेश्वर सबै विश्वासी जनहरू (मण्डली) भित्र वास गर्नुहुन्छ भन्ने कुरा साँचो हो भने परमेश्वर प्रत्येक विश्वासी जनभित्र पनि वास गर्नुहुन्छ भन्ने कुरा पनि साँचो हो। “अथवा के यो तिमीहरूलाई थाह छैन? तिमीहरूको _________ पवित्र आत्माको _____________ हो, जो ___________________ हुनुहुन्छ, जसलाई तिमीहरूले परमेश्वरबाट पायौ, र तिमीहरू आफैका होइनौ” (१ कोरिन्थी ६:१९)। के तपाईं एउटा विश्वासी जन हुनुहुन्छ? यदि हुनुहुन्छ भने, परमेश्वर तपाईंभित्र वास गर्नुहुन्छ के तपाईं साँच्ची नै विश्वास गर्नुहुन्छ? यदि उहाँ तपाईंभित्र रहनुहुने (RESIDENT, तपाईंको हृदयभित्र जिउनुहुने) व्यक्ति हुनुहुन्छ भने के उहाँ तपाईंमा राज्य गर्ने (PRESIDENT, तपाईंको हृदय र जीवनमा नियन्त्रण गर्ने, शासन गर्ने) व्यक्ति पनि हुनुपर्ने होइन र?

 आज मण्डली नै त्यो स्थान हो जहाँ परमेश्वरले उहाँ को हुनुहुन्छ भनेर प्रकट गर्नुहुन्छ। मण्डली आज पृथ्वीमा छ ताकि मानिसहरूले जानून् कि त्यहाँ एक जीवित परमेश्वर र मुक्तिदाता हुनुहुन्छ जसरी उहाँ पृथ्वीमा रहेको उहाँको जीवित शरीर मण्डलीमा देखिनुहुन्छ। ढोकाको मुनिबाट तपाईंले बिरालोको पुच्छर हल्लिरहेको देख्‍नुभयो भने तपाईंलाई थाह हुन्छ, ढोका पछाडि बिरालोको बाँकी भाग हुनुपर्छ! जब संसारले ख्रीष्टको शरीर (विश्वासी जनहरू) लाई ठीक तरिकाले जीवन जिइरहेको देख्दछ, तब संसारले जान्नेछ कि त्यहाँ एउटा शिर हुनुहुन्छ, अर्थात् प्रभु येशू ख्रीष्ट, जो स्वर्गमा हुनुहुन्छ। शरीर छ भने त्यहाँ शिर पनि हुनुपर्दछ!

मानिस र स्वर्गदूतहरूका सामु जीवित परमेश्वरको प्रदर्शनी गर्नका लागि आज मण्डलीलाई यस पृथ्वी राखिएको छ (निम्न चित्रलाई अध्ययन गर्नुहोस्):

स्वर्गदूत र मानिसहरूका सामु परमेश्वरलाई प्रकट गर्नका लागि त्यहाँ मिलिजुली काम गर्न (TEAMWORK) आवश्यक पर्छ! मण्डलीको प्रत्येक अंग स्वस्थ रहनुपर्छ र प्रभुमा बढ्दै जानुपर्छ (दिन प्रति दिन ख्रीष्ट जस्तै बन्दै जानुपर्छ)। अंगहरू जति स्वस्थ हुन्छन् त्यति नै स्वस्थ शरीर हुन्छ। विश्वासी जनहरू आत्मिक रूपमा रोगी छन् भने उनीहरूले परमेश्वरलाई दर्शाउने काम त्यति राम्रोसँग गरिरहेका हुनेछैनन् (किनकि संसारले ख्रीष्टको रूप नभएको मानिसहरूलाई देख्‍नेछन्)। एउटा व्यक्ति कसरी एक स्वस्थ विश्वासी जन हुन सक्छ? एउटा स्वस्थ विश्वासी जनले गर्नुपर्ने केही कामहरू के-के हुन्? एउटा स्वस्थ विश्वासी जनले गर्नु नहुने केही कामहरू के-के हुन्? के तपाईं एक स्वस्थ विश्वासी जन हुनुहुन्छ? परमेश्वरलाई दर्शाउने काममा तपाईंले बल पुर्याउँदै हुनुहुन्छ कि बाधा दिँदै हुनुहुन्छ?

भवन निर्माण पूरा हुने दिन

मण्डलीको जन्म झण्डै २००० वर्ष अगाडि भयो (पेन्टेकोस्टको दिनमा, ख्रीष्टको मृत्यु र बौरिउठाइ भएको केही दिनपछि)। त्यसबेला देखि नै परमेश्वरले आफ्नो मण्डलीमा मानिसहरूलाई थप्ने काम गर्दै हुनुहुन्छ। आज पनि परमेश्वरले आफ्नो मण्डली बनाउदै हुनुहुन्छ। एक दिन (त्यो दिन हामीलाई थाह छैन) मण्डली बनाउने काम पूरा हुनेछ। एक दिन भवनको अन्तिम ईंटालाई त्यको ठाउँमा राखिनेछ र भवन निर्माण पूरा हुनेछ। एक दिन मण्डलीको अन्तिम अंगले मुक्ति पाउनेछ (यद्यपि त्यो व्यक्ति को हो र कहिले हुनेछ भनेर हामी जान्दैनौं)।

मण्डली पूर्ण रूपमा निर्माण भएपछि एउटा अचम्मको कुरा हुनेवाला छ। आफ्नो मण्डलीलाई स्वर्गमा लैजान येशू ख्रीष्ट फेरि आउनुहुनेछ। यस महान् घटनालाई “र्‍याप्चर” (RAPTURE, मण्डली एक्कासी उठाइने) भनिन्छ अनि यसको बयान यूहन्ना १४:३, १ थेस्सलोनिकी ४:१३-१८, १ कोरिन्थी १५:५१-५२ र तीतस २:१३ मा गरिएको छ। यस महान् घटना कुनै पनि घडीमा हुन सक्ने सम्भावना छ। आज मण्डली झण्डै पूर्ण रूपमा पुगिसकेको हुन सक्छ — यो ज्यादै सम्भावित कुरा हो। सम्भवत: परमेश्वर आज भवन निर्माणको, भनौं, “गजुर-चरण” मा पुग्नुभएको छ। जब गजुरलाई आफ्नो स्थानमा राखिन्छ तब मण्डली पूर्ण हुनेछ अनि ख्रीष्ट आफ्ना विश्वासी जनहरूलाई स्वर्गमा लैजान ओर्लि आउनुहुनेछ।

के तपाईं एक विश्वासी जन हुनुहुन्छ? के तपाईं मण्डलीको अंग हुनुहुन्छ? मुक्ति पाउनलाई सबभन्दा उचित दिन आज हो, विशेष गरी आज अनुग्रहको युगमा बाँचिरहेको दिनमा। के तपाईं, तपाईंलाई लिन आउँदै गर्नुहुने प्रभुको आगमनको बाटो हेर्दै हुनुहुन्छ? तपाईंको लागि हुने प्रभुको आगमनका लागि के तपाईं तयार हुनुहुन्छ (१ यूहन्ना २:२८ मा हेर्नुहोस्)?

प्रभु येशू आफ्नो मण्डलीका निम्ति आउनुभएपछि संसार तत्कालै सात-वर्षे सङ्कष्ट (TRIBULATION) को अवधि (मत्ती २४:२१, ठूलो सङ्कष्टको समय) भित्र प्रवेश गर्नेछ। बाइबलले हामीलाई भविष्यमा हुने सङ्कष्टपूर्ण त्यस समयावधिबारे धेरै कुरा बताएको छ। आगामी पाठको हाम्रो विषय यही हुनेछ। याद राख्‍नुहोस्, जो-जो ख्रीष्टको मण्डलीका हुन् उनीहरू स्वर्गमा जानेछन् (यूहन्ना १४:१-३; प्रकाश ३:१०), तर जो-जो ख्रीष्टको मण्डलीका होइनन् उनीहरू यस परीक्षा (TESTING, TRIBULATION) को घडीभित्र प्रवेश गर्नेछन् जुनचाहिँ सारा संसारमाथि आउनेछ (प्रकाश ३:१०)। तपाईं कुनचाहिँमा पर्नुहुनेछ? र्‍याप्चरमा कि सङ्कष्टकालमा?

 

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email