सङ्कष्टकाल

सङ्कष्टकाल

 

प्रभु येशू ख्रीष्टले आफ्नो मण्डलीलाई स्वर्गमा लैजान आउनुहुने घटनाको लगत्तैपछि एउटा सात वर्ष लामो समयावधिको शुरूआत हुनेछ जसलाई “सङ्कष्टकाल” (TRIBULATION PERIOD) भनिन्छ। यस ७ वर्षे समयावधिलाई “दनियलको ७० औं हप्‍ता” (दनियल ९:२४-२७) पनि भनिन्छ। पछि हामी देख्‍नेछौं, उक्त हप्ता ७ दिनको नभएर ७ वर्षको “हप्ता” हुनेछ। सात वर्षको यस हप्ताको पछिल्लो आधा भाग (पछिल्लो ३ १/२ वर्ष) लाई प्रायः म_____________ (मत्ती २४:२१) भनिन्छ किनकि उक्त समय संसारकै इतिहासको सबैभन्दा सङ्कष्टपूर्ण समय हुनेछ। सङ्कष्टकालको लगत्तैपछि कुनचाहिँ महान् घटना घट्नेछ (मत्ती २४:२९-३०)? _________________________________________________।

ख्रीष्टको मृत्युपछिका मुख्य-मुख्य घटनाहरूको विवरणहरू संक्षेपमा यस प्रकार छन्:

उपर्युक्त अंकित नक्साका दस अंकहरूले तल सूचित दस बुँदाहरूको सङ्केत दिन्छन्:

ख्रीष्टको मृत्यु (१ कोरिन्थी १५:३; २ कोरिन्थी ५:२१; रोमी ५:८; १ पत्रुस ३:१८)

ख्रीष्टको बौरिउठाइ (१ कोरिन्थी १५:४; रोमी १:४)

पेन्टेकोस्टको दिनमा पवित्र आत्माको आगमन (प्रेरित २)। ख्रीष्टको शरीर अर्थात् मण्डलीको जन्मदिनलाई पनि यसै अंकले सङ्केत दिन्छ।

वर्तमान मण्डली युग जसमा येशू ख्रीष्टले आफ्नो मण्डली (मत्ती १६:१८) बनाउँदै हुनुहुन्छ र आफ्नो नामको निम्ति एउटा जातिलाई बोलाएर निकाल्दै हुनुहुन्छ (प्रेरित १५:१४)। (पाठ १० मा हेर्नुहोस्)

त्यो समय जब प्रभु येशू ख्रीष्ट स्वर्गबाट तल ओर्लनुहुनेछ र मण्डली प्रभुलाई भेट्नलाई “उठाइनेछ” (१ थेस्सलोनिकी ४:१३-१८)। यस घटनालाई मण्डलीको र्‍याप्चर (RAPTURE) भनिन्छ। र्‍याप्चरसहित पृथ्वीमा मण्डली युगको समाप्त हुनेछ।

सङ्कष्टकालको शुरूआत, साथै दनियलको ७० औं हप्ताको शुरूआत। यस सात वर्षको अवधि त्यसबेला शुरू हुनेछ जब इस्राएल जातिसित एउटा करार बाँधिनेछ (दनियल ९:२७)।

उक्त सात वर्षे अवधिको ठीक बीचमा आएर करार भङ्ग हुनेछ अनि “पापको पुरुष” (ख्रीष्ट विरोधी) संसारकै शासक बन्नेछ र मानिसहरूले उसलाई परमेश्वर नै मानेर पूजून् भनेर उसले विश्वलाई बाध्य गराउनेछ (दनियल ९:२७; मत्ती २४:१५-२१; २ थेस्सलोनिकी २:३-४)।

येशूले यस ३ १/२ वर्षको अवधिलाई “महासङ्कष्ट” (GREAT TRIBULATION) भन्ने संज्ञा दिनुभएको छ (मत्ती २४:२१) जुन समय संसारको लागि अपूर्व सङ्कष्टको समय हुनेछ। त्यो समय शैतानिक क्रियाकलाप तीब्र रूपमा अघि बढ्ने समय हुनेछ (प्रकाश १२:७-१२) र शैतानकै मान्छे पृथ्वीको शासक बन्नेछ जो एक कट्टर अधिनायकबादी हुनेछ (प्रकाश १३:१-१०)।

सङ्कष्टकाल समाप्त त्यसबेला हुनेछ जब प्रभु येशू ख्रीष्ट सामर्थ्य र ठूलो महिमामा संसारमा फर्किनुहुनेछ (मत्ती २४:२९-३०; प्रकाश १९:११-१६)।

१० येशू ख्रीष्टले पृथ्वीमा आफ्नो राज्य स्थापना गर्नुहुनेछ। यसलाई प्रायः “हजार वर्षको राज्य” भनिन्छ किनकि त्यो हजार वर्ष लामो हुनेछ (प्रकाश अध्याय २०)।

सङ्कष्टकालको समयलाई बाइबलका धेरैओटा खण्डहरूले बयान गरेको छ, विशेषत: मत्ती अध्याय २४, दनियल अध्याय ९, २ थेस्सलोनिकी अध्याय २ र प्रकाश अध्याय ४-१९ ले। तर कति मानिसहरू भविष्यमा सङ्कष्टकालको समय आउँदै छ भनेर विश्वास गर्दैनन्। पवित्र शास्त्रका माथि उल्लेखित खण्डहरू सबै पूरा भइसके भनेर उनीहरू विश्वास गर्छन्। तर बास्तवमा, ती अध्यायहरूमा बयान गरिएका घटनाहरू इतिहासमा कहिल्यै पूरा भएका छैनन्। उदाहरणका लागि प्रकाश ८:७-१२ मा उल्लेखित इन्साफ वा महामारीहरूलाई विचार गरौं। त्यस्ता घटनाहरू आजसम्म कहिल्यै घटेका छन् त? विश्वले त्यस्ता महामारीहरू कहिल्यै देखेको छैन। सारा विश्वमाथि एकलौटी शासन गर्ने मान्छे इतिहासमा कहिले आए र जसलाई सारा विश्वले परमेश्वर नै मानेर दण्डवत् गरे (प्रकाश १३:१-१२)? सारा विश्वले एउटा मान्छेको मूर्तिलाई दण्डवत् गर्नैपर्ने बाध्यता इतिहासमा कहिले आएको थियो र (प्रकाश १३:१६-१७)? यी कुराहरू विगतमा घटेका घटनाहरू होइनन्।

माथिको दफामा सूचित खण्डहरूलाई अक्षरश: नै अर्थ लगाइनुपर्छ। यी अध्यायहरूले पृथ्वीमा आजसम्म कहिल्यै नघटेका घटनाहरूको बयान गर्दै छन्। यी घटनाहरू आजसम्म कहिल्यै नघटेका घटनाहरू भएका हुनाले यी घटनाहरू भविष्यमै हुने घटनाहरू हुनुपर्छ। एक प्रबन्धबादी, परमेश्वरले जे बताउनुभएको छ त्यसैमा विश्वास गर्ने व्यक्ति भएको हुनाले, उसले यी घटनाहरू भविष्यमा नै (सम्भवत: निकट भविष्यमै) हुनेछन् भनेर बुझ्दछ, ठीक जसरी परमेश्वरले बताउनुभएको छ त्यसरी नै।

सङ्कष्टकाल विगत इतिहासमा घटिसकेको घटना होइन तर भविष्यमा हुने घटना हो। हामी मत्ती २४:२९-३० मा सिक्छौं, सङ्कष्टकालको लगत्तै पछि येशू ख्रीष्ट पृथ्वीमा फर्की आउनुहुनेछ। येशू ख्रीष्टको उक्त पुन:आगमन हालसम्म पूरा नभइसकेको, अत: भविष्यमै हुने, घटना भएको हुनाले सङ्कष्टकालको समय पनि भविष्यमै हुने घटना हुनुपर्छ जुन आजसम्म पूरा भइसकेको छैन।

हामीले विभिन्न प्रबन्धहरूको अध्ययन गर्दै आयौं। अन्य प्रबन्धहरूको तुलनामा यस सङ्कष्टकालको अवधिलाई हामी कसरी बुझ्ने त? सात वर्षको लामो यो सङ्कष्टकाललाई प्रायः छुट्टै प्रबन्धको रूपमा हेरिँदैन। यी सात वर्षहरू, अनुग्रहको प्रबन्ध (छैटौं प्रबन्ध) को ठीक पुछारमा अनि राज्यको प्रबन्ध (सातौं प्रबन्ध) को ठीक अगाडि पर्न जान्छन्। सात वर्ष लामो यस सङ्कष्टकाललाई अनुग्रहको प्रबन्धपछि आउने परमेश्वरको इन्साफ भनेर प्रायः बुझ्ने गरिन्छ।

१) निर्दोषता

निर्दोषताको प्रबन्धको समयमा मानिसलाई उसको सबैभन्दा राम्रो अवस्थामा पायौं। मानिस निर्दोष थियो, ऊ पापरहित थियो, ऊ परमेश्वरको स्वरूपमा सृष्टि गरिएको थियो अनि उसलाई एउटा सुन्दर बगैंचामा राखिएको थियो जहाँ ऊ दिन-दिनै परमेश्वरसित मीठो सङ्गतिमा हिँड्न सक्थ्यो। सङ्कष्टकालको समयमा भने हामी मानिसलाई उसको सबैभन्दा नराम्रो अवस्थामा पाउँछौं। त्यहाँ मानिसलाई उसको पूर्ण भ्रष्टता र पापमा देख्छौं। उक्त समय अधर्म अथवा भ्रष्टता (LAWLESSNESS, २ थेस्सलोनिकी २:७) को समय हुनेछ। उक्त समय परमेश्वरले उहाँलाई अस्वीकार गर्ने संसारमाथि आफ्नो इन्साफहरू खन्याउने समय हुनेछ। ती मानिसहरू पश्चात्तापी भई इन्साफका परमेश्वरतर्फ फर्कँदै उहाँको कृपाको चाहना गर्नेछन् कि उनीहरू पश्चात्ताप गर्न अस्वीकार गर्नेछन् (प्रकाश ९:२०-२१; १६:९,११)? ___ ______________________________________________।

आदम आफ्नो निर्दोष अवस्थाबाट पतन भएदेखि यता मानिस झन् झन् पापको गहिराइभित्र डुब्दै गएको छ। अन्तिम सात वर्षको समय (सङ्कष्टकाल) मा आइपुग्दा मानव जाति दुष्टताको गहिराइको पिँधमै पुगिसकेको हुनेछ। त्यसबेला शैतानले आफ्नो सारा बल पृथ्वीमा केन्द्रित गर्नेछ (प्रकाश १२:१२) र परमेश्वरले मानिसलाई उसको पतित, पापी स्वभावलाई पूर्ण रूपमा अभिव्यक्त गर्न अनुमति समेत दिनुहुन्छ। मानिसको हृदय सधैं नै “सबै कुराभन्दा _______” र “_______ पार्न नसकिने” (यर्मिया १७:९) भए तापनि सङ्कष्टकालको समयमा मानिसलाई उसको दुष्टता व्यक्त गर्न अनुमति दिइनेछ। सङ्कष्टकालमा आदमका सन्तानहरू उनीहरूको सबैभन्दा नीच अवस्थामा देखिनेछन्!

२) विवेक

बाइबलले, विवेकको प्रबन्ध अन्तर्गत जिउनेहरू र सङ्कष्टकालको आखिरतिर जिउनेहरूको बीचमा एउटा महत्त्वपूर्ण तुलना गरेको छ:

“तर नूहका दिनहरू जस्ता थिए, त्यस्तै मानिसका पुत्रको ____________ पनि हुनेछ” (मत्ती २४:३७)।

यस पदले जलप्रलय अगाडि (विवेकको प्रबन्धअन्तर्गत) जिइरहेकाहरू र येशू ख्रीष्टको आगमनको ठीक अगाडि (सङ्कष्टकालमा) जिउनेहरूको बीचमा तुलना गरेको छ। केही समानताहरू यस प्रकार छन्:

नूहका दिनहरूमा

सङ्कष्टकालको समयमा

पृथ्वीमा मानिसहरूको ____________ बढी भएको (उत्पत्ति ६:५)

मानिसको दुष्टता ज्यादै बढी हुनेछ (२ थेस्सलोनिकी २:७-८)।

परमेश्वरलाई बेवास्ता गर्दै, परमेश्वरलाई आफ्नो विचारमा राख्‍न अस्वीकार गर्दै र परमेश्वरका चेताउनीहरूलाई सुन्न इन्कार गर्दै, मानिसहरू आफ्नो दिनचर्या (खाने, पिउने, विवाह गर्ने, आदि) मा लागिरहे (मत्ती २४:३८)।

जलप्रलय अगाडि जस्तै मानिसले आफ्नो भक्तिहिन जीवनलाई निरन्तरता दिइरहनेछ: उसले परमेश्वरलाई बेवास्ता गर्दै, परमेश्वरलाई आफ्नो विचारमा राख्‍न अस्वीकार गर्दै, परमेश्वरका चेताउनीलाई सुन्न अस्वीकार गर्दै।

परमेश्वरको इन्साफ अकस्मात् आइपर्‍यो (जलप्रलय) अनि मानिसहरू त्यसका लागि बेतयार थिए (मत्ती २४:३९)।

परमेश्वरको इन्साफ अकस्मात् आइपर्नेछ (ख्रीष्टको दोस्रो आगमन) अनि मानिसहरू यसका लागि पूर्ण रूपमा बेतयार हुनेछन् (मत्ती २४:४०-४१ र लूका १७:३०-३७)।

विवेकको प्रबन्धअन्तर्गत नाश भएर जानेहरूको इतिहासले ख्रीष्टको पुन:आगमन अगाडि जिउनेहरू (अर्थात् सङ्कष्टकालमा जिउनेहरू) का लागि एउटा ज्यादै महत्त्वपूर्ण सन्देश बोकेको छ: “तिमीहरूले पश्चात्ताप गरेनौ भने तिमीहरू सबै त्यही प्रकारले नाश हुनेछौ (लूका १३:३,५)!”

३) मानवीय शासन

सङ्कष्टकालको समयमा विश्वको मानवीय शासन सबैभन्दा खराब रूपमा देखिनेछ: त्यसबेला शैतानकै मान्छेले एउटा संगठीत विश्व शासन (ONE WORLD GOVERNMENT) चलाउनेछ।

बाबेल शहरलाई एकपटक फर्केर हेरौं (उत्पत्ति ११)। त्यसबेला मानिसहरू एकजूट हुन चाहेका थिए (उत्पत्ति ११:६)। पापपूर्ण मानिसहरू एकजूट हुँदा उनीहरूले गर्न सक्ने खराबीको सीमा रहन्न भनी परमप्रभु जान्नुहुन्थ्यो। तसर्थ, परमेश्वरले उनीहरूको भाषालाई खलबल पारिदिनुभयो र उनीहरूलाई छरपुष्ट पारिदिनुभयो अनि यही महान घटनाबाट थुप्रै जातिहरूको शुरूआत भयो।

एक भन्दा बढी राष्ट्रहरू हुँदा नै विश्वलाई कल्याण छ किनभने थुप्रै राष्ट्रहरू हुँदा शक्ति-सन्तुलन (balance of powers) हुन्छ। कुनै एक राष्ट्रले विश्वभरि एकलौटी शासन र शक्ति चलाउन पाउँदैन। जुन बेला सबै राष्ट्रहरू एकजूट हुन्छन् तब त्यहाँ ठूलो खतरा हुन्छ किनभने सम्पूर्ण शक्ति र अधिकार एउटै दुष्ट निरंकुश शासकको हातमा पर्न जान्छ। बाबेलको धरहराको समयमा जुन कुरालाई परमेश्वरले रोक लगाउनुभयो, त्यही कुरालाई उहाँले एक दिन (यद्यपि थोरै बेरको लागि) अनुमति दिनुहुनेछ। बाबेलमा पापपूर्ण मानिसले शुरू गरेको प्रयासले एक दिन सङ्कष्टकालको पछिल्लो भागमा आएर विशाल रूप लिनेछ। बाबेलका मानिसहरू जे गर्न विफल भए त्यो पूरा गर्न सङ्कष्टकालको समयमा शैतानको मान्छे (पापको पुरूष) सफल बन्नेछ।

उक्त भयानक विश्व शासकलाई प्रकाश १३:१-१० मा बयान गरिएको छ। यस खण्डमा उसलाई “पशु” को संज्ञा दिइएको छ। यस मान्छेले आफ्नो अधिकार कसबाट पाउनेछ (प्रकाश १३:२; १२:९)? ______________। को “छक्क परेर पशुको पछि” लाग्नेछ (प्रकाश १३:३)? __________________। यस मानिसको विरुद्धमा को युद्ध गर्ने सक्नेछ (प्रकाश १३:४)? _______________________। प्रकाश १३:८ अनुसार उसलाई कसले दण्डवत् गर्नेछ? _________________________। यस मानिसलाई दण्डवत् गर्न अस्वीकार गर्नेहरूलाई के हुनेछ (प्रकाश १३:१५)? _________________________। यस मानिस यति शक्तिशाली हुनेछ कि विश्वकै अर्थतन्त्र उसको नियन्त्रणमा हुनेछ (प्रकाश १३:१६-१८)!

संसारमाथि आफूले शासन गर्न (राज्यको युग) अगाडि परमेश्वरले मानिसलाई शासन गर्न दिनुहुन्छ (सङ्कष्टकाल) उक्त शासन एउटा संगठीत विश्व शासन हुनेछ जसको नियन्त्रण एउटा अत्यन्तै दुष्ट मानिसको हातमा हुनेछ। संसार त्यस्तो संगठीत विश्व शासन तर्फ लम्किरहेको छ भन्ने सङ्केत के आज संसारमा देख्न सकिन्छ? (यातायात, संचार, इन्टरनेट, विश्व बैंक आदिलाई विचार गर्नुहोस्)

४) प्रतिज्ञा

परमेश्वरले अब्राहाम र उनका सन्तानहरू (इस्राएलका सन्तानहरू) लाई केही निश्चित प्रतिज्ञाहरू दिनुभयोय भनेर हामीले यस अध्ययनको छैटौं पाठमा हेर्यौं। उहाँ विश्वासयोग्य हुनुभएको हुनाले परमेश्वरले आफ्ना यी प्रतिज्ञाहरूलाई कहिल्यै तोड्न सक्नुहुन्न।

सङ्कष्टकालको समयमा परमेश्वर आफूले चुन्नुभएको यहूदी जातिप्रति विश्वासयोग्य हुनुभएको देख्‍नेछौं। परमेश्वर इस्राएल जातिसित एउटा अत्यन्तै विशेष प्रकारले व्यवहार गर्नुहुनेछ र फलस्वरूप यस जाति विजयी भएर उठेको हामीले देख्‍नेछौं! यर्मिया ३०:७ मा सङ्कष्टकालको समयलाई “___________ को…दुःखको _________” भनेर बयान गरिएको छ। त्यस समय, याकूब (इस्राएल जाति) बाट उत्पन्न भएको राष्ट्रको निम्ति ज्यादै संकटपूर्ण समय हुनेछ। शैतान र उसले अधिकार दिएको शासकले इस्राएललाई नष्ट गर्ने प्रयास गर्नेछ तर परमेश्वरले यस जातिलाई रक्षा गर्नुहुनेछ: “ऊ त्यसबाट _______________” (यर्मिया ३०:७)।

प्रकाश अध्याय १२ मा इस्राएल जातिलाई एउटी “स्त्री” को रूपमा बयान गरिएको छ अनि शैतानलाई चाहिँ एउटा डरलाग्दो “अजिंगर” को रूपमा चित्रण गरिएको छ। सङ्कष्टकालको समयमा “अजिंगर” ले कसलाई सताउने प्रयास गर्छ (प्रकाश १२:१३)? _________________। के त्यो अजिंगर सफल हुनेछ? कि परमेश्वरले त्यस स्त्रीको रक्षा गर्नुहुनेछ (प्रकाश १२:१४-१७)? __________________ _________________________।

येशू ख्रीष्ट पृथ्वीमा पहिलो पटक आनुहुँदा इस्राएल जातिले उहाँलाई ग्रहण गर्‍यो कि अस्वीकार गर्‍यो (यूहन्ना १:११)? ________________________। सङ्कष्टकालको अन्तमा येशू ख्रीष्ट दोस्रो पटक पृथ्वीमा आउनुहुँदा के इस्राएल जाति पश्चात्ताप गरी ख्रीष्टकहाँ फर्केनेछ र बचाइनेछ कि त्यस जातिले ख्रीष्टलाई अस्वीकार गर्नेछ (रोमी ११:२६-२७; जकरिया १२:९-११ मा पढ्नुहोस्)? _________________ __________________। सङ्कष्टकालका ती संकटपूर्ण घडीहरूभरि परमेश्वरले यहूदी जातिहरूको हृदयहरूमा एउटा विशेष काम गर्दै आउनुहुनेछ ताकि पृथ्वीमा येशू ख्रीष्टको पुन:आगमन हुँदा उनीहरू उहाँको आगमनका लागि तयार हुनेछन्।

५) व्यवस्था

सङ्कष्टकालको समयले मानिस परमेश्वरको व्यवस्था पालन गर्न पूरै विफल भएको देखाउनेछ। २ थेस्सलोनिकी २:७-८ अनुसार सङ्कष्टकालको समय अत्यन्तै अधर्म वा भ्रष्टता (LAWLESSNESS) को समय हुनेछ। त्यसबेलाको विश्व-शासकलाई २ थेस्सलोनिकी २:८ मा “त्यो अधर्मी” (अर्को शब्दमा, “भ्रष्ट व्यक्ति”, LAWLESS ONE) भन्ने संज्ञा दिइएको छ। विश्वको भावी शासक पूर्ण रूपमा परमेश्वरको पवित्र व्यवस्थाको विरुद्धमा हुनेछ।

परमेश्वरको पवित्र व्यवस्थामा पहिला दुई आज्ञाहरूले (प्रस्थान २०:३-५ पढ्नुहोस्) परमेश्वरको सट्टामा अन्य कुनै कुरा प्रतिस्थापन गर्नुहुँदैन, केवल परमेश्वरलाई मात्र दण्डवत् गर्नुपर्छ भनेर प्रस्ट बताएका छन्। परमेश्वरको व्यवस्थामा मानिसहरूलाई कुनै मूर्ति, वा सालिक वा झूटा ईश्वरलाई दण्डवत् गर्न मनाही गरिएको छ। इस्राएलका सन्तानहरूले यस व्यवस्थालाई भङ्ग गरे जब उनीहरूले सुनको बाछो बनाए र त्यसलाई दण्डवत् गरे (प्रस्थान ३२)।

सङ्कष्टकालका मानिसहरू, मूर्तिपूजाको यस्तो पाप गर्नेछन् जुन खालको मूर्तिपूजा आजसम्म संसारले कहिल्यै देखेको छैन। एउटा मान्छेले, आफू परमेश्वर हुँ भन्ने दाबी गर्दै, मानिसहरूलाई दण्डवत् गर्न लगाउँछ (२ थेस्सलोनिकी २:४)। यस मानिसको एउटा अचम्मको मूर्ति वा सालिकलाई यहूदीहरूको मन्दिरमा स्थापना गरिनेछ (प्रकाश १३:१४-१५ मा पढ्नुहोस्)। यस मूर्तिलाई दण्डवत् गर्न अस्वीकार गर्नेहरूलाई के हुनेछ (प्रकाश १३:१५)? _________________________। के विश्वका अधिकांश बासिन्दाहरूले यस मानिसलाई दण्डवत् गर्नेछन् त (प्रकाश १३:८)? ___________। यो नै अधर्म वा भ्रष्टता (LAWLESSNESS) को चरमबिन्दु हुनेछ।

६) अनुग्रह

उक्त सङ्कष्ट, उहाँको अनुग्रहलाई अस्वीकार गर्ने संसारमाथि आइपर्ने परमेश्वरको इन्साफ नै हुनेछ। सबैभन्दा अधिक अनुग्रहको अवधि (अर्थात् वर्तमान अनुग्रहको अवधि) पछि सबैभन्दा अधिक इन्साफको अवधि आउनेछ (सङ्कष्टको सात वर्ष)। मानिसहरूले परमेश्वको अनुग्रहलाई अस्वीकार गरेपछि त्यहाँ परमेश्वरको इन्साफबाहेक अरू केही बाँकी रहँदैन। यदि मानिसले परमेश्वरको प्रेमलाई अस्वीकार गर्दछ भने उनीहरूले परमेश्वरको क्रोध र रिसको सामना गर्नुपर्ने हुन्छ।

प्रकाशको पुस्तकले हामीलाई सिकाउँछ, त्यसबेला इन्साफ वा महामारीहरू पृथ्वीमाथि तीन चरणहरूमा वर्षनेछन्:

१. सात छापका इन्साफहरू
प्रकाश अध्याय ६ र ८:१
२. सात तुरहीका इन्साफहरू
प्रकाश अध्याय ८, ९ र ११:१५
३. सात कचौराका इन्साफहरू
प्रकाश अध्याय १६

यी भयानक इन्साफहरूको विचार गर्दा हामीलाई परमेश्वरले मोशाको समयमा मिश्रमाथि प्रहार गर्नुभएका महामारीहरूको सम्झना आउँछ (प्रस्थान अध्याय ६-१२)। एउटा भिन्नता यो हो: मोशाको समयका महामारीहरू मिश्रदेशमै सीमित थिए। यस ठूलो सङ्कष्टको समयमा भने महामारी र इन्साफहरू “पृथ्वीमाथि बस्नेहरूलाई जाँच्नका निम्ति _________ ______________माथि आउनेछ” (प्रकाश ३:१०)। यी महामारीहरू उनीहरूमाथि आएपछि ती मानिसहरूले के गर्नेछन्? के उनीहरू आफ्नो होशमा आएर परमेश्वरकहाँ फर्कनेछन्? के उनीहरू पश्चात्ताप गरी आफ्ना दुष्ट मार्गहरूदेखि फर्केनछन् (प्रकाश ९:२०-२१)? ____________।

इन्साफको बीचमा अनुग्रह

सङ्कष्टकालको समय पापी मानिसहरूलाई परमेश्वरले इन्साफ गर्ने समय हुनेछ, तरैपनि त्यस समय मानिसहरूले मुक्ति पाउने समय पनि हुनेछ। इन्साफको बीचमा समेत परमेश्वरको अनुग्रह देख्न सकिनेछ। मानव इतिहासको सबैभन्दा घोर अन्धकारको घडीमा पनि त्यहाँ ज्योतिको एउटा किरण हुनेछ। परमेश्वरले प्रेममा आफ्नो हात पसार्नुहुनेछ र अनुग्रहले मानिसहरूलाई बचाउनुहुनेछ।

प्रकाश अध्याय ७ मा पढ्नुहोस्। यस अध्यायले हामीलाई त्यस ठूलो सङ्कष्टको समयमा बचाइएका मानिसहरूको विषयमा बताउँछ। त्यहाँ मुक्ति पाएका यहूदीहरू कतिजना हुनेछन् (प्रकाश ७:४)? ________________________। पद ९ मा त्यहाँ हरेक जातिबाट मुक्ति पाएकाहरूको अर्को समूह पनि देख्छौं। त्यहाँ कतिजना थिए? __________________________। हो, महासङ्कष्टबाट मुक्ति पाएकाहरू थुप्रै हुनेछन् (पद १४)। सङ्कष्टको समयमा के त्यहाँ सुसमाचार सुन्न पाइनेछ (मत्ती २४:१४ पढ्नुहोस्)? _____________। यस सुसमाचारलाई पृथ्वीका बासिन्दाहरूकहाँ ल्याउन एउटा स्वर्गदूतलाई समेत प्रयोग गरिनेछ (प्रकाश १४:६-७)।

७) राज्य

टिप्पणी: यस आखिरी प्रबन्धलाई हामी यस अध्ययन मालाको बाह्रौं पाठमा अध्ययन गर्नेछौं।

सङ्कष्टकाल तब समाप्त हुनेछ जब राजाले आफ्नो खुट्टाले पृथ्वीमाथि टेक्नुहुनेछ र आफ्नो राज्यलाई स्थापना गर्न थाल्नुहुनेछ (मत्ती २४:२९-३०)। सबैभन्दा ठूलो सङ्कष्टको समयपछि सबैभन्दा ठूलो आशिषको समय आउनेछ।

के तपाईंले आँधी बेहरी आउँदै गरेको देख्‍नुभएको छ? चारैतिर अंधकारले छोप्छ र आँधी शुरू हुन्छ, गर्जन सुनिन्छ अनि पानी वर्षिन थाल्छ। कहिलेकाहीँ आँधी छिट्टै सकिन्छ र सूर्य फेरि देखा पर्छ र चारैतिर शान्त वातावरणले छाउँछ। आकाशमा इन्द्रेणी पनि देखिएला! यस्तै नै सङ्कष्टकाल पछिको संसार पनि हुनेछ। सूर्य निस्की आउनेछ (मलाकी ४:२ मा पढ्नुहोस्)। येशू ख्रीष्ट यस पृथ्वीमा फर्कनुहुनेछ। त्यो समय शान्ति र आशिषको समय हुनेछ। त्यस समय संसारको इतिहासकै सबभन्दा सुन्दर समय हुनेछ। सबभन्दा नराम्रो समयपछि सबभन्दा राम्रो समय आउनेछ। परमेश्वरको राज्य आउँदै छ (मत्ती ६:१० पढ्नुहोस्)।

अपूर्व सङ्कष्टको समय

सङ्कष्टकालको समय इतिहासकै सबैभन्दा अन्धकारमय घडी हुनेछ। हाम्रो संसार पटकपटक भयावह घडीहरू भएर आइसक्यो। त्यहाँ भयानक युद्धहरू (दुइटा त विश्व युद्धहरू) भए, भयानक महामारीहरू भए, भयानक सतावटहरू भए, दुष्ट मानिसहरू सिंहासनमा बसेर निरंकुश शासन चलाए। यी सबै कुराहरू, जतिसुकै भयानक किन नहोस्, आउँदै गरेका कुराहरूको तुलनामा केही होइनन्। सबैभन्दा भयानक घडी आउन बाँकी नै छ! यस पृथ्वी थुप्रै सङ्कष्टरूपी आँधीहरू भएर आइसक्यो तर अब एउटा भयानक तुफान आउँदै छ!

सङ्कष्टकालको समय संसारको इतिहासकै सबैभन्दा संकटपूर्ण हुनेछ भनी सिकाउने खण्डहरू तीनओटा छन्। जोडा मिलाउनुहोस्:

१. ______“यस्तो सङ्कष्टको समय आउनेछ कि जातिहरू शुरू भएदेखि त्यस बेलासम्म त्यस्तो कहिल्यै भएको छैनक. यर्मिया ३०:७
२. ______“किनभने त्यस बेला यस्तो महा सङ्कष्ट हुनेछ, जो पृथ्वीको शरुदेखि अहिलेसम्म भएको थिएन, न ता फेरि कहिल्यै हुनेछख. दनियल १२:१
३. ______“त्यो दिन कस्तो डरलाग्दो दिन हुनेछ! त्यस्तो अरू कुनै दिन पनि हुनेछैन। याकूबको निम्ति यो दुःखको दिन हुनेछ”ग. मत्ती २४:२१

त्यो समय छोटो हुनेछ

सङ्कष्टकालको समयको बारेमा केवल एउटै कुरा राम्रो छ। त्यो धेरै समयको लागि हुनेछैन! येशूले मत्ती २४:२१ मा बताउनुभएको महा सङ्कष्टको समय केवल ३ १/२ वर्ष लामो हुनेछ। त्यसबेला पृथ्वीमा बस्नेहरूका लागि यो खुशीको कुरा हुनेछ। परमेश्वरले त्यस समयलाई लामो बनाउनुहुनेछैन; उहाँले त्यसलाई छोटो बनाउनुहुनेछ (मत्ती २४:२२ पढ्नुहोस्)। यद्यपि त्यस समयमा जिउन सजिलो हुनेछैन, खुशीको कुरा यो छ कि त्यस समय चाँडै समाप्त हुनेछ! चार वर्ष लामो कलेजको अध्ययन पार गर्न भन्दा सङ्कष्टकालको आखिरी भाग (३ १/२ वर्ष) लाई पार गर्न छोटो समय लाग्नेछ।

सङ्कष्टकालको अवधि

दनियल ९:२७ मा अगमवक्ताले “एक सा___” को उल्लेख गरेका छन्। उनले येशू ख्रीष्ट यस पृथ्वीमा फेरि आउनु भन्दा ठीक अगाडिको एक साताको कुरा गर्दै छन्। त्यो एउटा ज्यादै विशेष साता हो। एक साताको कुरा गर्दा हामी प्रायः सात दिनको समयावधिलाई बुझ्छौं। तर दनियलले दिनको साताको कुरा गरिरहेका छैनन्। उनले वर्षहरूको साताको कुरा गर्दै छन्। एक सातको कुरा गर्दा दनियलले सात वर्षको कुरा गर्दैथिए। उनले, ख्रीष्ट पृथ्वीमा आउनु भन्दा ठीक अगाडिको सात वर्षको कुरा गर्दैथिए:

येशू ख्रीष्ट, यी सात वर्षको लगत्तै पछाडि आउनुहुनेछ।

साथै दनियल ९:२७ मा अगमवक्ताले “सातको बीच” को उल्लेख गर्दछन्। याद राख्‍नुहोस्, यस साता सात वर्षको साता हो। यदि तपाईंले यस सात वर्षे साताको ठीक बीचमा एउटा रेखा कोर्नुभयो भने यस साता कति-कति वर्षको दुई भागमा विभाजित हुनेछ? ___________।

येशूले मत्ती २४:२१ मा उल्लेख गर्नुभएको महा सङ्कष्टको समयचाहिँ पछिल्लो ३ १/२ वर्ष (साताको पछिल्लो आधा भाग) हो। महा सङ्कष्टको समय, ख्रीष्ट पृथ्वीमा फेरि आउनुहुनुभन्दा अगाडिको ३ १/२ वर्षमा हुनेछ। यस ३ १/२ वर्षको समयावधिलाई बाइबलले विभिन्न तरिकाले जनाएको छ:

  1. १,२६० दिन (प्रकाश १२:६,१४)
  2. ___________ महिनाहरू (प्रकाश ११:२; १३:५)
  3. “समय, समयहरू र आधा समय” (प्रकाश १२:१४)
    “समय”= १ वर्ष, “समयहरू” = २ वर्ष, “आधा समय” = १/२ वर्ष
    यसले जम्मा कति वर्षको समयलाई जनाउँछ? _______________
  4. “समय छोटो छ” (प्रकाश १२:१२)

प्रमुख व्यक्तित्वहरू

सङ्कष्टकालको घटनाक्रममा मुख्य मुख्य भूमिका खेल्ने व्यक्तित्वहरू को-को हुन्? तिनीहरू यस प्रकार छन्:

  • पापको पुरुष (जसलाई पशुख्रीष्ट-विरोधी भनिन्छ)
    पढ्नुहोस् प्रकाश १३:१-१०; २ थेस्सलोनिकी २; १ यूहन्ना २:१८
  • झूटो अगमवक्ता (जसलाई “दोस्रो पशु” पनि भनिन्छ)
    पढ्नुहोस् प्रकाश १३:११-१८
  • अजिंगर (अर्थात् शैतान)
    पढ्नुहोस् प्रकाश १२
  • परमेश्वरको इन्साफ
    पढ्नुहोस् प्रकाश ६,८,९,१६
  • इस्राएल जाति (जसलाई “स्त्री” पनि भनिएको छ)
    पढ्नुहोस् प्रकाश १२
  • विश्वका अन्य जातिहरू
    पढ्नुहोस् जकरिया १२:९; १४:२
  • आउनुहुने राजा
    पढ्नुहोस् प्रकाश ४-५ र १९:११-१६

सङ्कष्टकालको समयमा पृथ्वीमा एउटा “व्यक्तित्व” उपस्थित हुनेछैन, त्यो हो प्रभुकी दुलही, अर्थात्, मण्डली। मण्डलीलाई सङ्कष्टकालको उक्त समयबाट जोगाउनुहुने प्रतिज्ञा परमेश्वरले प्रकाश ३:१० मा गर्नुभएको छ जुन समय सारा पृथ्वीमाथि आइपर्नेछ। प्रकाश ४-१९ ले सङ्कष्टकालको समयको बयान गर्दछ तर यी कुनै पनि अध्यायमा मण्डली त्यस समयमा पृथ्वीमा हुने भनी बताइएको छैन। बास्तवमा, यी अध्यायहरूमा “मण्डली” भन्ने शब्द नै पाइन्न। सङ्कष्टकाल शुरू हुनभन्दा अगाडि नै मण्डलीलाई स्वर्गमा लैजान येशू ख्रीष्ट आउनुहुनेछ।

दुई चित्रणहरू

१. हनोकको चित्रण (उत्पत्ति ५:२१-२४ र हिब्रू ११:५)

हनोक, इन्साफ (जलप्रलयको इन्साफ) आउनुअघि नै पृथ्वीबाट लगिए।

हनोक, इन्साफ आउनुअघि नै पृथ्वीबाट लगिने (र्‍याप्चर – १ थेस्सलोनिकी ४:१३-१८) विश्वासीहरूको चित्रण हो

२. नूहको चित्रण (मत्ती २४:३७-४१)

नूह इन्साफ (जलप्रलय) भएर गए र बाँचे

नूह, सङ्कष्टकालको समयमा मुक्ति पाउने र सङ्कष्टकालभरि बाँचेर राज्यमा (उनीहरूका प्राकृतिक शरीरमै) प्रवेश गर्ने विश्वासीहरूको चित्रण हो। यसमध्येका केही व्यक्तिहरूलाई येशूले मत्ती २५:३४ मा उल्लेख गर्नुभएको छ।

कुनै आशा छ त?

र्‍याप्चर अगाडि येशू ख्रीष्टलाई अस्वीकार गर्नेहरूले र्‍याप्चर पछाडि मुक्ति पाउन सक्नेछैनन् भनेर कतिपयले सिकाउने गर्छन्। उनीहरू भन्छन्, र्‍याप्चर अगाडि सुसमाचारको सन्देशलाई सुनेर त्यसलाई अस्वीकार गरेकाहरूलाई र्‍याप्चर पछाडि मुक्ति पाउने कुनै आशा छैन। उनीहरू २ थेस्सलोनिकी २:१०-१२ लाई यस शिक्षाको आधार मान्छन् र भन्छन्, सङ्कष्टकालको समयमा र्‍याप्चर अगाडि सुसमाचार कहिल्यै नसुनेकाहरूले मात्र मुक्ति पाउन सक्नेछन्।

ती पदहरूको अर्थ बास्तवमा त्यो होइन। २ थेस्सलोनिकी २:१०-१२ को खण्डले र्‍याप्चर अगाडि सत्यलाई अस्वीकार गर्नेहरूको कुरा गरिरहेको छैन। यी पदहरूले त सङ्कष्टकालको समयमा सत्यलाई अस्वीकार गर्नेहरूको कुरा गरिरहेको छ। यी मानिसहरू ती हुन् जसले जानाजानी शैतानको मान्छे (२ थेस्सलोनिकी २:३-९) लाई पछ्याउने निर्णय गर्नेछन्। यी मानिसहरू ती हुन् जसले सत्यलाई अस्वीकार गर्नेछन् र झूट (त्यो मान्छेलाई दण्डवत् गरिनुपर्छ भन्ने झूट!) लाई ग्रहण गर्नेछन् । यी मानिसहरू ती हुन् जसले सुझबुझले पशुको चिन्हलाई लिनेछन् र यस मान्छेलाई दण्डवत् गर्नेछन्। कसैले त्यसो गरेमा (प्रकाश १४:९) उसलाई के हुनेछ (प्रकाश १४:१०-११)? ______________________________ _____________________________________। सङ्कष्टकालको समयमा शैतानको मान्छेको पक्षमा स्वेच्छाले जानेहरू दण्डित हुनेछन् (२ थेस्सलोनिकी २:१२)। यी पदहरूले सत्यलाई त्यस बेला अस्वीकार गर्ने मानिसहरूको कुरा गर्दै छन् जुनबेला पक्ष-विपक्षको सवाल अत्यन्तै प्रस्ट हुनेछ:

मानिसले परमेश्वरलाई दण्डवत् गर्न सक्नेछ (प्रकाश १४:६-७)

वा

मानिसले शैतानको मान्छेलाई दण्डवत् गर्न सक्नेछ (प्रकाश १४:९-११)

तरैपनि हामीले निम्न कुराहरूलाई ध्यान दिनुपर्छ:

  1. हामी जुनसुकै समयमा जिउने व्यक्ति किन नहोऔं, सत्यलाई अस्वीकार गर्नु भनेको सधैं डरलाग्दो कुरा हो।
  2. मुक्ति पाउने समय आज हो, भोलि होइन। तपाईं यदि आज मुक्ति पाउन अस्वीकार गर्नुहुन्छ भने भविष्यमा तपाईं मुक्ति पाउन इच्छुक बन्नुहुनेछ भन्ने के निश्चयता छ र?
  3. यदि कसैले आज सजिलो (सतावट बिना वा थोरै सतावटको) परिस्थितिमा ख्रीष्टलाई विश्वास गर्न अस्वीकार गर्छ भने यस व्यक्तिले भोलि गएर झन् कठिन परिस्थितिमा ख्रीष्टलाई किन विश्वास गर्ला र? सङ्कष्टकालको समयका विश्वासी जनहरू साह्रै सतावटमा पर्नेछन् र धेरैले आफ्ना विश्वासका निम्ति उनीहरूका प्राणहरू गुमाउनेछन्। आज सुसमाचारलाई अस्वीकार गर्नेहरू भोलि गएर पनि सुसमाचारलाई अस्वीकार गर्ने खतरामा छन्। र्‍याप्चर अगाडि सुसमाचारलाई अस्वीकार गर्ने व्यक्ति सङ्कष्टकालमा पापको मानिसलाई दण्डवत् गर्ने व्यक्ति बन्न सक्छ। आज अविश्वासमा रहनेहरू भोलि पनि अविश्वासमै रहने सम्भावना छ।
  4. अर्कोतिर, एकताकाको कडा सत्य-विरोधीलाई परमेश्वरले पछि बचाउनै सक्नुहुन्न भनेर हामी भन्न सक्दैनौं। यदि ऊ वा कुनै व्यक्ति परमेश्वरको पुत्रकहाँ फर्कन्छ र उहाँमा र उहाँको वचनमा भरोसा गर्छ भने उसले मुक्ति पाउनेछ। नबिर्सनुहोस्, परमेश्वरले टार्ससका शाऊललाई समेत बचाउनुभयो!
  5. आजै मुक्ति पाउनुहोस्! याद गर्नुहोस्, यस पाठमा हामीले अध्ययन गर्दै आएको सङ्कष्टकालको समय त आजको एक वर्षभन्दा कम समयमै शुरू हुन सक्छ! यो समय त अहिलेको एक महिना भन्दा कम समयमा शुरू हुन सक्छ! र्‍याप्चरकुनै पनि समयमा हुन सक्छ अनि सङ्कष्टकालको समय त्यसको थोरै समयमै शुरु हुनेछ!

यदि ख्रीष्ट आज आफ्ना विश्वासी जनहरूका निम्ति आउनुभयो भने (पढ्नुहोस् यूहन्ना १४:३; १ थेस्सलोनिकी ४:१३-१८) के उहाँले तपाईंलाई आफ्नो साथमा लैजानुहुनेछ कि उहाँले तपाईंलाई यहीँ छाड्नुहुनेछ? के तपाईं आफूले मुक्ति पाएँ भनी निश्चित हुनुहुन्छ? के तपाईंसित साँच्ची नै अनन्त जीवन छ? के तपाईं भविष्यलाई सामना गर्न तयार हुनुहुन्छ? यदि हुनुहुन्न भने आजै आफ्नो पास्टर वा बाइबल शिक्षकसित कुरा गर्नुहोस्। उहाँहरू तपाईंलाई मदत गर्न चाहनुहुन्छ।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email