डेविड क्लाउड

पद कण्ठ: एफेसी ४:३०; हिब्रू १२:८; १ यूहन्ना १:६; २:१-२

अनन्त सुरक्षा सम्बन्धीको यस अध्ययनलाई टुङ्ग्याउनु अगाडि हामी अझै एउटा अन्तिम प्रश्नको जवाफ दिनेछौं।

यदि आज्ञा नमान्ने विश्वासीले आफ्नो मुक्ति गुमाउँदैन भने उसलाई के हुन्छ त?

१) पापमा हिँडिरहेको विश्वासी प्रभुसितको र उहाँका जनहरूसितको सङ्गतिबाट बञ्चित हुन्छ (१ यूहन्ना १:३-७)

ख्रिष्टसित कसरी सङ्गतिमा रहिरहन सकिन्छ भनेर विश्वासीहरूलाई सिकाउनलाई यूहन्नाले एउटा पत्र लेखे (१ यूहन्ना १:३)। जब हामी अन्धकारमा नभएर ज्योतिमा हिँडिरहन्छौं तब हामी ख्रीष्टसितको सङ्गतिमा रहिरहन्छौं। ज्योतिमा हिँडिरहनु भनेको परमेश्वरको वचन पालन गर्दै हिँड्नु हो। अन्धकारमा हिँड्नु भनेको अनाज्ञाकारी भई हिँड्नु हो। यसर्थ पापमा हिँडिरहेको विश्वासी ख्रीष्टसितको सङ्गतिमा हिँडिरहेको हुँदैन। ख्रीष्टसितको उसको सम्बन्ध टुटेको त हुँदैन तर सङ्गति टुटेको हुन्छ। यो ठूलो नोक्सानी हो। ख्रीष्टसितको सङ्गतिबाट बञ्चित भई जिउनु भनेको मसित उहाँको बुद्धि नहुनु हो, उहाँको सामार्थ्य नहुनु हो, उहाँको आशिष नहुनु हो। यस्तो अवस्थामा हुँदा यदि मैले कुनै ठूलो निर्णय गरेँ भने त्यो निर्णय निःसन्देह गलत हुनेछ र त्यसले मलाई परमेश्वरको इच्छादेखि झन् पर धकेल्नेछ।

२) पापमा हिँडिरहेको विश्वासीले आफूभित्र बास गर्नुहुने पवित्र आत्मालाई शोकित पार्दछ (एफेसी ४:३०)

पवित्र आत्मा शोकित बन्नुको तात्पर्य मेरो जीवनमा उहाँको काम अवरुद्ध हुनु हो। उहाँ नै विश्वासीको शान्तिदाता र सामर्थ्य र अगुवा र शिक्षक हुनुहुन्छ। जब उहाँ शोकित बन्नुहुन्छ तब मैले उहाँको आशिष गुमाउँदछु; म आत्मिक रूपमा बढ्न छाड्छु; मसँग आत्मिक सामर्थ्य, ज्ञान र बुद्धि हुँदैन।

३) पापमा हिँडिरहेको विश्वासीलाई प्रभु येशू ख्रीष्टले सहायता गर्नुहुन्छ (१ यूहन्ना २:१-२)

हामीले पाप गर्दा परमेश्वरले हामीलाई परित्याग गर्नुहुन्न; हाम्रो एकजना वकिल हुनुहुन्छ, अर्थात् एकजना सहायक। "येशू" नाउँको अर्थ हो मुक्तिदाता, अनि जब म पाप गर्न पुग्छु उहाँ मेरो मुक्तिदाता हुन छाड्नुहुन्न। येशूले मलाई सहायता गरिरहनुभएको हुन्छ, मेरो निम्ति अन्तर्विन्ती गर्दै, मलाई पुनःस्थापित गर्न खोजिरहनुभएको हुन्छ जसरी उहाँले पत्रुसको लागि गर्नुभयो जुन रात पत्रुसले उहाँलाई तीनपटक सम्म इन्कार गरे।

४) पापमा हिँडिरहेको विश्वासीलाई पिताले ताडना दिनुहुन्छ (हिब्रू १२:५-११)

आफ्ना सन्तानले पाप गरे भने परमेश्वरले उनीहरूलाई त्यत्तिकै छाड्नुहुन्न। उहाँले हामीलाई छडी लगाउनुहुन्छ। विश्वासीले पश्चात्ताप गर्न नै मानेन भने त्यहाँ पापसम्म पुर्‍याउने पाप पनि हुन्छ (१ यूहन्ना ५:१६-१७)। कोरिन्थका कतिजना विश्वासीहरूले यस्तो पाप गरेका थिए (१ कोरिन्थी ११:२७-३०)।

५) पापमा हिँडिरहने विश्वासीले विनाशको कटनी गर्नेछ (गलाती ६:७-८)

पापको कारण हामीले यस वर्तमान संसारमा मूल्य तिर्नुपर्ने हुन्छ। मुक्ति पाएको हुँदैमा "जसले जे छर्छ उसले त्यसैको कटनी गर्नेछ" भन्ने नियमबाट हामी उम्कन सक्दैनौं। धेरैजना विश्वासीहरूले भयङ्कर मूल्य तिरेका छन् जस्तै व्यभिचार, रिस र सांसारिक जीवनले गर्दा कतिले आफ्नो दाम्पत्य जीवन गुमाएका छन्; छोराछोरीको हृदहयहरू गुमाएका छन्; आफ्ना सेवाकार्यहरू गुमाएका छन्। स्वीकार गरेर सबै पाप क्षमा हुन्छन्, तर पापका फल त रहिरहन्छन्। जस्तै, पारपाचुके गरेका धेरैजना विश्वासीहरूलाई म चिन्दछु जसले आफ्नो पाप स्वीकारेका छन् तर त्यो पारपाचुकेको वास्तविकता बिलाएर गएको त छैन, बरु जीवनपर्यन्त त्यसका सबै विरुप र चोटपूर्ण बहूरूपी परिणामहरू त्यहाँ विद्यमान नै छन्।

६) पापमा हिँडिरहने विश्वासीले सेवाकार्य गर्ने र फल फलाउने सुअवसरहरूलाई फिर्ता नपाउने गरी गुमाउँछन् (एफेसी ५:१४-१७)

पापमा हिँड्ने ख्रीष्टियनले क्षमा पाउन सक्छ तर गुमाइएका सुअवसरहरूलाई उसले फिर्ता पाउन सक्दैन। इस्राएलीहरूले परमेश्वरलाई शङ्का गरे त्यसैले उनीहरू ४० वर्षसम्म उजाडस्थानमा घुमिरहन बाध्य भए यद्यपि उनीहरूले पश्चात्ताप गरे (व्यवस्था १:३८-४५)। धेरैजना विश्वासीहरूले फिर्ता नपाउने गरी त्यस्ता सुअवसरहरू गुमाएका छन् किनकि उनीहरूले आफूहरू पछि हटेको र परमेश्वरको इच्छाबाट टाढा रहेको अवस्थामा हुँदा भारी निर्णयहरू गरे; जस्तै, गलत व्यक्तिसँग विवाह गरे वा गलत पेशा अँगाले। जीवनको घडीलाई उल्टो दिशामा घुमाउन सकिन्न, फेरि सुरुदेखि जिउन सकिन्न, त्यसैले हामी एकदम होशियार भएर जिउनुपर्छ र प्रत्येक पाइलामा हामी परमेश्वरको इच्छामा हिँडिरहेकै हुनुपर्छ।

७) पापमा हिँडिरहने विश्वासीले ख्रीष्टको न्यायआसनमा नोक्सानी भोग्नेछ (१ कोरिन्थी ३:११-१५)

योचाहिँ नयाँ नियममा अनन्त सुरक्षाको सबैभन्दा सुस्पष्ट प्रतिज्ञाहरूमध्ये एउटा हो। प्रभुलाई बेखुशी पार्ने, पापमा जिउने विश्वासीले यस संसारमा गरेका उसका कामहरू जलेर जानेछन् तरैपनि ऊ आफैचाहिँ बाँच्नेछ। उसका कामहरू जल्नेछन् तर ऊ जल्नेछैन। यो ज्यादै सुन्दर सत्यता हो, तरैपनि आफ्नो सिङ्गो पार्थिव जीवन परमेश्वरको इच्छाभन्दा अरू कुरामा स्वाहा पारिनु, मसँग येशू बेसरी नाराज हुनु, उहाँको महिमाको लागि मैले कुनै इनाम नपाउनु, "स्याबास! तिमी असल र विश्वासयोग्य दास" भन्ने बोली उहाँको मुखबाट सुन्न नपाउनु ‍-- त्यसलाई त ज्यादै ठूलो नोक्सानी ठान्नुपर्छ।