डेविड क्लाउड

पद कण्ठ: २ पत्रुस १:५-९

ख्रीष्टियन जीवनमा योभन्दा महत्त्वपूर्ण विषय अरू कमै छन्। यथार्थमा हरेक नयाँ विश्वासीलाई आफूभित्र पापको समस्या किन अझै विद्यमान छ र यसको सामना कसरी गर्ने होला भन्ने कुराले ताजुप लागेको हुन्छ। यी पाठहरूमा हामी यही प्रश्नको जवाफ दिनेछौं।

परिचय

  1. जब कुनै व्यक्ति मुक्तिका लागि ख्रीष्टकहाँ आउँछ, परमेश्वरले उसलाई नयाँ गरी जन्माउनुहुन्छ र उसलाई एउटा पवित्र स्वभाव दिनुहुन्छ, तरैपनि पुरानो पाप स्वभाव ऊसँगै रहिरहेको हुन्छ। यसलाई "पुरानो मानिस" भनिन्छ। यसैको कारण नयाँ नियमभरि नै विश्वासीहरूलाई पापलाई फाल्न शिक्षा दिइएको छ (जस्तै, १ पत्रुस २:१)। नयाँ नियमका पत्रहरूभरि ख्रीष्टियन जीवनमा पापको निरन्तर उपस्थितिलाई स्वयंसिद्ध तथ्यको रूपमा मानिलिइएको छ। यदि पाप कुनै रीतिले निर्मूल पारिएको भए त्यसको सामना गर्नुपर्ने आवश्यकताको बारेमा पत्रहरूमा जहातहीँ बताइँदैनथ्यो। यदि पाप निर्मूल पार्न सम्भव भएको भए त्यो कसरी सम्भव छ भनेर नयाँ नियममा बयान गरिनुपर्थ्यो अनि उक्त अनुभवलाई पाप समस्याको उपायको रूपमा जहाँतहीँ प्रस्तुत गरिनुपर्थ्यो। तर नयाँ नियममा त्यस्तो प्रस्तुति पाइँदैन। बरु त्यहाँ विश्वासीको जीवनमा एउटा आत्मिक लडाइँ चलिरहेको बयान भेट्टाउँछौं। शरीर आत्माको विरोधमा लडाइँ गरिरहेको छ; पुरानो मानिस नयाँ मानिसको विरोधमा लडाइँ गरिरहेको छ।
  2. ख्रीष्टियन जीवनमा आत्मिक विजयको त्यस्तो कुनै एउटै गोप्‍य उपाय वा चाबी छैन। थुप्रै "चाबीहरू" का प्रस्ताव नआएका होइनन्, जस्तै पवित्र आत्माको बप्‍तिस्मा, दोस्रो आशिष, क्रूसीकृत जीवन। यदि विश्वासीलाई विजयी बनाउने त्यस्तो कुनै एउटै कुरा भएको भए, नयाँ नियमको प्रत्येक पत्रमा त्यो उल्लेख गरिनुपर्थ्यो। जस्तै, पावलले कोरिन्थीहरूलाई उनीहरूको पापदेखि सुधार्नलाई लेख्‍दा उनले पूरै पत्रमा उक्त "चाबी" को व्याख्या गर्नुपर्थ्यो। तर पावलले त फरक-फरक कुराहरूलाई सम्बोधन गरे। एफेसीको पत्रमा पनि यस्तै पाउँछौं। अध्याय ४-६ ख्रीष्टियन जीवन सम्बन्धीको एउटा लेख हो, अनि एउटै "गोप्य उपाय" को सट्टामा पावलले अनेक किसिमका विषयहरूलाई सम्बोधन गरेका छन्, जस्तै पुरानो मानिसलाई फाल्ने र नयाँ मानिसलाई पहिरने (४:२२-२४), पवित्र आत्मालाई शोकित नपार्ने (४:३०), खराबसित कुनै सङ्गति नगर्ने (एफेसी ५:११), होशियारसित हिँड्ने (५:१५), समय खेर नफाल्ने (५:१६), सधैं प्रभुलाई धन्यवाद चढाउने (५:२०), पत्‍नीहरू आफ्ना पतिहरूको अधीनमा बस्ने र पतिहरूले आफ्ना पत्‍नीहरूलाई प्रेम गर्ने (५:२२-२३), र परमेश्वरको सारा हतियारहरू धारण गर्ने (६:१०-१८)।
  3. ख्रीष्टियन हुर्काइ र आत्मिक विजयको सम्बन्धमा सामान्यतयाः समावेश गरिने प्रार्थना र मण्डली जस्ता विषयहरूलाई तिनका छुट्टाछुट्टै खण्डहरू अन्तर्गत चर्चा गरिनेछ।
  4. २ पत्रुस १:३-११ मा ख्रीष्टियन हुर्काइको सम्बन्धमा विभिन्न महत्त्वपूर्ण सत्यताहरू देख्‍दछौं:
    1. ख्रीष्टियन हुर्काइ परमेश्वरको प्रशस्तमय मुक्तिको प्रतिफल हो (२ पत्रुस १:३)। मुक्ति पाएकै घडीमा ऊ बढ्न र फलदायी बन्न विश्वासीलाई आवश्यक पर्ने सबै कुराहरू दिसकिएका हुन्छन्। उसले केवल तिनलाई प्रयोगमा ल्याउनुपर्छ।
    2. ख्रीष्टियन हुर्काइ आफ्नो विश्वासमाथि केही कुरा थप्दै जाने प्रकृया हो (२ पत्रुस १:५-७)। मुक्ति पाउँदा हामीसँग केवल एउटा मात्र कुरा हुन्छ - त्यो हो विश्वास। ख्रीष्टियन जीवन उक्त विश्वासमा हरेक असल कुरा थप्दै जाने प्रकृया हो।
    3. ख्रीष्टियन हुर्काइ तत्कालै हुने करा होइन; यो रातारात हुनै कुरा होइन। विश्वासीसित एक्कासी सिद्ध गुण, सिद्ध धैर्यता, सिद्ध प्रेम हुँदैन। हुर्काइ क्रमिक रूपले हुने कुरा हो। बच्चा दैनिक रूपमा बढ्दै गएको देख्‍न सकिन्न। त्यसैले हामीलाई विश्वास र धैर्यताको खाँचो पर्छ। हामी लगातार लागिरहनु पर्छ। ख्रीष्टियन जीवनमा सबभन्दा महत्त्वपूर्ण गुणहरूमध्ये एउटा यही हो। यसलाई ख्रीष्टसितको हिँडाइको रूपमा बयान गरिएको छ (गलाती ५:१६; एफेसी ५:८; १ यूहन्ना १:७)। यो भनेको पाइला-पाइला, दिन-दिनको कुरो हो; ख्रीष्टियन जीवन एउटा उफ्रने काम वा उड्ने काम नभएर एउटा हिँड्ने काम हो।
    4. ख्रीष्टियन हुर्काइका लागि "सबै यत्‍न" चाहिन्छ (२ पत्रुस १:५)। मनतातो ख्रीष्टियन बढ्न सक्दैन। ऊ बच्चै रहन्छ र उसले मण्डलीमा समस्या ल्याइरहन्छ र परमेश्वरको कामलाई अघि बढाउनुभन्दा त्यसलाई वाधा दिन्छ। उहाँ मनतातोपनलाई घृणा गर्नुहुन्छ भनेर येशूले बताउनुभयो (प्रकाश ३:१५-१६)।
    5. ख्रीष्टियन हुर्काइको पथ र प्रकृया वैयक्तिक हुन्छ भन्ने कुराको सङ्केत "आफ्नो" भन्ने शब्दले दिन्छ (२ पत्रुस १:५-७)। हामीले आफूलाई एक-अर्कासित दाँजेर नापजोख गर्न सक्दैनौं; हाम्रा आफ्ना-आफ्नै बाधा-अड्चन हुन्छन्, हामीले आफ्नो-आफ्नो ख्रीष्टियन जीवनभित्र फरक-फरक आत्मिक तथा नैतिक पृष्ठभूमभि हुलेका हुन्छौं।
    6. ख्रीष्टियन हुर्काइ नयाँ व्यवस्था अर्थात् ख्रीष्टअनुसार जिउनु हो (२ पत्रुस १:५-७)। ५ देखि ७ पदहरूले ख्रीष्टको बयान गर्दछन्। उहाँ प्रत्यक्ष रूपमा यी सबै कुरा हुनुहुन्छ: सद्‍गुण, ज्ञान, संयम, धैर्य, भक्त, भाइ‍भाइको माया, र प्रेम। ख्रीष्टियन जीवनको लक्ष्य भनेको "ख्रीष्टको परिपूर्णतारूपी कदको नामसम्म" (एफेसी ४:१३) आइपुग्नु हो।
    7. ख्रीष्टियन हुर्काइको लागि धैर्य चाहिन्छ (२ पत्रुस १:६)। ख्रीष्टियन जीवनमा यो सबैभन्दा महत्त्वपूर्ण कुराहरूमध्ये एउटा हो। धैर्य नभई हुन्न किनकि हुर्काइ एक प्रकृया हो अनि त्यहाँ थुप्रै परीक्षाहरू, वाधाहरू र वैरीहरू छन्। तपाईं लागेको लागै गर्नुपर्छ, प्रभुसँग हिँडेको हिँडै गर्नुपर्छ, उहाँमाथि भरोसा गरिरहनुपर्छ, प्रार्थना गरिरहनैपर्छ, बाइबल पढिरहनैपर्छ, मण्डली सभा गइरहनैपर्छ र उहाँको आज्ञापालन गरिरहनैपर्छ।
    8. ख्रीष्टियन हुर्काइ फलदायी जीवनको ग्यारेन्टी हो (२ पत्रुस १:८)। ख्रीष्टमा बढ्दै जानलाई प्रयत्‍न गर्न इच्छुक बन्ने हरेक विश्वासीले यस वर्तमान जीवनमा नै असल फल र आशिष पाउन सक्छ।
    9. कुनै विश्वासी बढिरहेको छैन भने ऊ पछि हट्दैछ (२ पत्रुस १:९)। यो भनेको नदीको धारको विपरित दिशामा उँभो-उँभो नाउ खियाउनुजस्तै हो। बहना खियाउञ्जेल मेरो प्रगति हुन्छ, तर खियाउन छोड्नेबित्तिकै नदीले मलाई उँधो-उँधो बगाउन थालिहाल्छ। त्यसैगरी विश्वासी पनि आत्मिक रूपमा अचल रहन सक्दैन। उसले भन्न सक्दैन, "म जहाँ आइपुगेको छु म यसमा सन्तुष्ट छु, त्यसैले म आफ्नो ख्रीष्टियन जीवनको यही तहमा रहिरहन्छु"। हामी अगाडि बढिरहनैपर्छ, नत्र हामी पछि हट्नेछौं।
    10. पछिहटाइले विश्वासीलाई टाढा देख्‍न नसक्ने र बिर्सने बनाउँछ (२ पत्रुस १:९)। ऊ यस संसारका फिक्री र अभिलाषाले भरिन्छ र उसले अनन्तताको बारेमा विचार गर्दैन। उसका आँखा ख्रीष्टमा भन्दा मान्छेमा हुन्छ। उसले महत्त्वपूर्ण कुराहरू बिर्सन्छ र महत्त्वहीन कुराहरूमा आफ्नो ध्यान लगाउँछ। पछि हटेको अवस्था एउटा खेदपूर्ण र फलहीन अवस्था हो।
    11. ख्रीष्टियन हुर्काइले मुक्ति दिलाउँदैन, तर यसले निजको मुक्तिलाई प्रमाणित गर्दछ (२ पत्रुस १:१०)। पत्रुसले २ पत्रुस १:१० मा दिएको चुनौती र पावलले २ तिमोथी २:१९ मा र याकूबले २:१७-१८ मा दिएका चुनौती एउटै हुन्। ख्रीष्टलाई स्वीकार गर्ने तर उहाँको निम्ति नजिउनेहरूसित "मैले मुक्ति पाएको छु" भन्ने कुनै बाइबलीय अधिकार छैन।
    12. ख्रीष्टियन हुर्काइको प्रतिफल मुक्ति होइन; तर इनाम चाहिँ हो (२ पत्रुस १:११)। हुर्काइले हामी स्वर्गमा पुग्नेछौं भनेर पत्रुसले सिकाइहेको होइन; हुर्काइले र ख्रीष्टको सेवा गराइले हामीले स्वर्गमा सम्पत्तिहरू थुपार्दछौं भन्ने उनको तात्पर्य हो। तुलना गर्नुहोस्, १ तिमोथी ६:१९।