शारिरिक भिन्नता (ख)

यस पृष्ठलाई छाप्नुहोस्

मानिस र पशुबीच भिन्नता

मानिसलाई पशुबाट छुट्टाउने एउटा ठूलो खाँद छ। मानिस जगत र पशु जगतबीचमा “एउटा ठूलो खाँद राखिएको छ” भन्ने कुरा विकासवादीले पनि उसको अन्तस्करणमा जान्दछ। के तपाईंले कहिल्यै कुनै एकजना जवान विकासवादीले एउटा स्त्री गोरिल्लासित विवाहको प्रस्ताव राखेको देख्नुभएको छ? त्यहाँ भिन्नता छ भनी उसलाई थाह छ!

मानिस र बाँदरको बीच यति ठूलो भिन्नता छ कि मानिस आज संसारमा पाइने कुनै पनि बाँदरबाट विकास भएको होइन भनेर स्वीकार्न विकासवादीहरू बाध्य भएका छन्। आज उनीहरू मानिस र बाँदर दुवै एउटा अर्को साझा पूर्खाबाट विकास भएका हुन् भनी सिकाउने गर्छन्। तर खेदको कुरा, उक्त काल्पनिक “साझा पूर्खा” आज संसारमा छैनन्! उसलाई “लुप्तन कडी” (“missing link”) को संज्ञा दिएको छ र हालसम्म पनि त्यो लुप्ता (missing) नै छ! त्यो विकासवादीहरूको कल्पनामै सिमित छ।

अब हामी मानिस र पशुबीचका १० शारीरिक भिन्नताहरू र २० मानसिक, नैतिक, आत्मिक भिन्नताहरू अध्ययन गर्न तयार भएका छौं।

शारीरिक भिन्नताहरू

“सबै मासु एकै किसिमको हुँदैन, तर ____________ एक किसिमको मासु हुन्छ, ___________ अर्कै मासु, ____________ अर्कै मासु र ______________ अर्कै किसिमको मासु हुन्छ।” १ कोरिन्थी १५:३९।

१. मानिस मात्र दुई खुट्टामा ठाडो भएर हिँड्ने गर्छ। मानिस दुई खुट्टामा स्वभाविक तरिकाले सजिलै हिँड्न सक्छ। मानिसको यो साधारण शारीरिक ढाँचा हो। बाँदरहरू, भालुहरू र अरू पशुहरू पनि कहिलेकाहिँ दुई खुट्टामा हिँड्ने गर्लान्, तर यो तिनीहरूको हिँडाइको साधारण शैली होइन। उनीहरू सामान्यतया चार खुट्टाहरूमा हिँड्डुल गर्नेगर्छन्।

२. मानिसको गिदी सबैभन्दा ठूलो स्तनधारी प्राणी (गोरिल्ला) को भन्दा दुई-तीन गुणा ठूलो हुन्छ।

३. बाँदर जातिको तुलनामा मानिसको शरीर झण्डै रौंरहित (hairless) छ। बाँदरहरू र स्तनधारी प्राणीहरूमा निकै रौं हुन्छ। कति विकासवादीहरूले मानिसलाई “नग्न बाँदर” भन्ने गर्छन्। तरैपनि, के तपाईंले कहिल्यै नग्न बाँदर (रौं नभएको बाँदर)लाई देख्नुभएको छ? बाँदरहरूको विश्लेषण गर्नुपर्दा नै रौंले भरिएको भन्ने बुझिन्छ। यदि मानिस रौंले भरिएको छैन भने, ऊ बाँदर पनि होइन!

४. मानिसको नाक दुईपट्टी छाना आकार र लाम्बिएको टुप्पो भएको छ तर बाँदर जातिको त्यस्तो पटक्कै छैन (मानिसलाई मात्र चश्माको आवश्यकता पर्छ भनी परमेश्वर अघिबाटै जान्नुहुन्थ्यो, र त्यसैले उहाँले हामीलाई ती चश्माहरू राख्न मिल्नेगरी नाक बनाइदिनुभयो!)

५. मानिसका हात बाँदरका भन्दा छोटो हुन्छन्। बाँदरका हात भुईसम्मै लत्रने हुन्छ र खुट्टाले झैं यसले उसलाई चलहल गर्न मद्दत गर्दछ।

६. बाँदरको खुट्टामा समेत हातमा जस्तै बुढी औंला हुन्छ, जसले बाँदरलाई रूख चढ्न ठूलो मद्दत गर्छ (उनीहरूले आफ्नो खुट्टाले रूखलाई हातलेझैं समाउन सक्छन्)। मानिसको बुढी औंला अनुपातमा बाँदरको भन्दा लामो हुन्छ जसको कारण त्यसले अरू औंलाहरूलाई धकेल्न सक्छ जुन बाँदरले सक्दैन। यस विशेषताले गर्दा मानिस कृत्रिम औजारहरू सहजरूपमा प्रयोग गर्न सक्षम छ जुन क्षमता बाँदर जातिमा छैन। मानिसजातिमा भएको दक्षता बाँदरजातिमा छैन।

७. मानिसका बच्चा तुलनात्मक रूपमा बाँदर जातिका बच्चा भन्दा आफ्ना बाबु-आमामाथि बढी मात्रामा निर्भर हुन्छन्, आफैंमा बढी असहाय हुन्छन्।

८. मानिसको टाउको उसको मेरुदण्डमाथि अडेर रहेको हुन्छ। बाँदरको भने त्यसको अगाडिपट्टी अडिएको हुन्छ। त्यसैकारण त्यसको टाउको मानिसको भन्दा अगाडि निस्केको हुन्छ। साथै मानिसको मेरुदण्ड र बाँदरको मेरुदण्डको ‍घुमर्किएको बनावट (curve) ज्यादै फरक किसिमको हुन्छन्। मान्छेको “lumbar curve” हुन्छ, बाँदर जातिको हुँदैन।

९. भावना विव्हल भई आँसु झार्ने र रूने एउटै प्राणी मानिस हो।

१०. मानिस र बाँदरका क्रोमोसोम (chromosome) संख्या फरक छन्। मानिसको ४६ छ, चिम्पान्जी र गोरिल्लाको ४८।

मानसिक, नैतिक र आत्मिक भिन्नताहरू

१. मानिस स्वचेतनशील (self-conscious) प्राणी हो, जसको अर्थ ऊ आफ्नो अस्तित्वको बारेमा चेतनशील छ। “मानिसको दिमागको उल्लेखनीय उपलब्धि भनेको आफ्नो बारेमा र आफ्नो कार्यविधिको बारेमा चेतनशील हुनु हो” (फ्रेड कोह्लर, विकासवादी)। मानिसलाई आफूबारे गहिरो चेतना छ। पशुहरू स्वचेतनशील हुँदैनन्। म किन यहाँ छु? म कहाँबाट आएँ? म कहाँ जाँदैछु? जस्ता जीवनको मूलभूत अर्थ सम्बन्धी उठ्ने प्रश्ननलाई लिएर उनीहरू मनन गर्दैनन्।

२. मानिस भाषाको माध्यमले संवाद गर्न सक्ने विशेष प्राणी हो (यहाँ भाषा भन्नाले बोलिने भाषा साथै लेखिने अर्थपूर्ण सांकेतिक चिन्हहरूलाई लिन्छौं)। पशु अबोध प्राणी हो (२ पत्रुस २:१६)। त्यसले विभिन्न आवाज निकाल्न सक्छ तर उसको मानिसको जस्तो भाषा हुँदैन। मानिसलाई मात्र कठिन, मौखिक भाषाद्वारा संवाद गर्न सक्ने बनाइएको छ। मानिसले मात्र पढ्न र लेख्न सक्छ। तपाईंले बाँदरलाई संसारकै सर्वोत्तम पुस्तकालयमा लगेर राख्न सक्नुहुन्छ, तर उसलाई त्यहाँको कुनै थोकमा चासो हुँदैन! रेडियो वा टेलिभिजनमा जतिसुकै चाखलाग्दो कार्यक्रम किन नहोस्, उसलाई त्यसको चासो हुँदैन। तरैपनि हामी यो स्वीकार्छौं पशुहरूसित मानिसको जस्तो भाषा नभए तापनि, आफूबीच आवश्यकता अनुरूप गजबसित सन्देशको आदान प्रदान गर्न सृष्टिकर्ताले उनीहरूलाई क्षमता दिनुभएको छ। जस्तै कागहरूले आफ्नो का-का गर्ने आवाजद्वारा सन्देश आदान प्रदान गर्न सक्छन्। माहुरीले अचम्मको नाचद्वारा रस चुस्ने ठाउँ देखाउने गर्छन्। डल्फिन, व्हेल, गोरिल्लाबीचका सन्देश आदान प्रदानको बारेमा वैज्ञानिकहरूले अझै पत्ता लगाउन खोजिरहेका छन्। सृष्टिकर्ताले पशुहरूलाई आश्चर्य र भययोग्य रीतिले बनाउनुभएको छ, तर उनीहरूको सन्देश आदान प्रदान गर्ने क्षमता र मानिसको भाषाद्वारा संवाद गर्न सक्ने क्षमताको बीचमा अतुलनीय अन्तर छ।

३. मानिसले दु:ख, रिस, दया, आनन्द, हाँसो जस्ता गहिरा संवेदना र भावनाहरूको अनुभव गर्न सक्छ जुन पशुले सक्दैन।

४. मानिसमात्र ऐच्छिक छनोट गर्न स्वतन्त्र छ। “केवल मानिसहरू मात्र वास्वतविक रूपमा रोजाइहरू गर्न र जीवनमा निश्चित उद्देश्य र योजनाहरू बनाउको निम्ति पर्याप्त तरिकाले स्वतन्त्र छ” (जोन व्हिटकम्ब)। पशुले जे गर्छ, उसले त्यो जन्मजात क्षमता (instinct) अनुरूप गर्छ वा कुनै कुरा गर्नलाई तालिम दिइए अनुसार गर्छ। मानिसले भने योजना बनाउन, उद्देश्य राख्न र कुनै मार्ग अपनाउने विषयमा रोज्न सक्छ। कुनै पनि बिरालोले, “यो साल मूसा खान्न, अर्को सालदेखि फेरि खान्छु” भन्दैन। पशुहरू तिनीहरूको जन्मजान क्षमताले (instinct) बाँधिएका छन्। जन्मजान क्षमतामा जे आउँछ, तिनीहरूले त्यहि गर्छन्। बाइबलमा परमेश्वरले कुनै पशुलाई आज्ञा दिनुहुँदा त्यसले कहिल्यै नाइनास्ती गरेको पाइन्छ (गन्ती २२:२२-२८; १ शमूएल ६:७-१२; योना १:१७; २:१०; लूका ५:४-७)? _________। जब परमेश्वरले मानिसहरूलाई आज्ञा दिनुहुँदा, के मानिसले सँधै आज्ञा पालन गर्छन्? ___________। मानिसहरूले परमेश्वरको आज्ञा पालन नगर्न रोज्न सक्छन्। पशुहरूको कुनै रोजाइ हुँदैन! तिनीहरूले जहिल्यै पनि आफ्नो सृष्टिकर्ताको आज्ञा पालन गर्छन्!

५. मनिसले सङ्गीत, कला, सुन्दरता के हो महसुस गर्न सक्छ र त्यसको महत्व देख्छ। पशुले कहिल्यै पनि चित्र कोर्न र रङ्ग भर्न अथवा गीत लेख्न सक्दैन नता पशुहरूले त्यस्तो कार्यको वर्णन नै गर्न सक्दछन्। के गोरिल्लाले धन्यवादी हुँदै सूर्यास्त भएको हेरेको देख्नुभएको छ? अथवा के लोखर्केले खुसी हुँदै “आजको दिन” भन्ने भजन सुनेको देख्नुभएको छ?

६. मानिस मात्रै यस्तो प्राणी हो जसले इतिहासको ज्ञानको उपयोग गर्न, उक्त ज्ञानलाई लिखित रूपमा संचय गर्न र त्यसलाई भावी पुस्तामा हस्तान्तरण गर्न सक्छ। हरेक बाँदरले यस संसारको बारेमा उसका बाबु-आमाहरूले जस्तै गरी सिक्नुपर्छ। मानिसहरूले कुनै पुस्तक लिएर बिगतका विद्वान मानिसहरूबाट सिक्न सक्छ र विगतका उनीहरूको बुद्धि र खोजहरूद्वारा फायदा उठाउन सक्छन्। मानिसहरूले विगतका पुस्ताहरूको ज्ञानमाथि थप्दै जान सक्छ। पशुहरूले त्यसो गर्न सक्दैनन्।

७. आफ्नो मृत्यु पश्चात् पनि प्रभाव पार्न सक्ने प्राणी मानिस मात्र हो। जब हामीले हाबिलको विश्वासको नमुनालाई सम्झन्छौं, उनले आज पनि हामीसित बात गर्छन् (हेर्नुहोस्, हिब्रू ११:४)। जब हामीले हजारौं वर्ष अगाडि बाँचेका मानिसहरूको उपलब्धिहरू सम्झन्छौं र उनीहरूको दुर्वलताहरूबाट सिकेर हामी आफैं जोगिन खोज्छौं र उनीहरूको चरित्रको देखासिकी गर्दछौं, ती मानिसहरूले आज पनि हामीलाई प्रभाव पार्छन्। मोशा झण्डै ३५०० वर्ष अगाडिमा मानिस हुन् र आज धेरै मानिसहरूले मोशालाई जान्दछन् र धेरैले तिनलाई महान र ईश्वरीय मानिसको रूपमा मानिलिन्छन्। के तपाईंलाई आजसम्म पनि प्रभाव पारिरहेको विगतका त्यस्तो कुनै प्रख्यात पशुको याद छ?

८. मानिस मात्र शिक्षित बन्न सक्छ। पशुलाई तालिम दिन सकिन्छ तर शिक्षा दिन सकिन्न। तपाईंले कक्षाकोठामा पशुहरू भेट्टाउन सक्नुहुँदैन।

९. मानिसले मात्र अन्य पशुहरूलाई तालिम दिन र सधाउन सक्छ (हेर्नुहोस्, याकूब ३:७)। बाँदरले सिंहलाई तालिम दिएको कहिल्यै देख्नुलभएको छ? मानिसले मात्र पशु पाल्छन्। के तपाईंले कहिल्यै कुनै घोँडाले चिडियाखाना संचालन गरेको देख्नुभएको छ? मानिसले मात्र चिडियाखाना संचालन गर्छन्।

१०. मानिसले मात्र नयाँ-नयाँ कुराहरू अविष्कार गर्न र निर्माण गर्न सक्छ। चराले गुँड बनाउन त सक्छ तर त्यो त्यसको जन्मजात गुण (instinct) हो जुन त्यसभित्र कम्प्युटरमा सूचना (program) राखिएजस्तै राखिएको हुन्छ। एक खालको चराले एउटै खालको गुँड बनाउँछ तर उसले अर्को साल अर्को विकसित गुँड बनाउन सक्दैन। तर यसको तुलनामा मानिसको निर्माण गर्ने र अविष्कार गर्ने क्षमता उदेकको छ। चन्द्रमामा गरिएको अवतरणलाई वा बाइबलमा लिखित मिश्रका पिरामीड र सुलेमानको मन्दिरको बारेमा विचार गर्नुहोस्।

११. मानिसले मात्र पोशाक लगाउँछ। निर्वस्त्र भएको नसुहाउने मानिसलाई मात्र हो। तर कुनै पनि पशुलाई पोशाक लगाइँदा विचित्र देखिन्छ।

१२. मानिसले मात्र खेती किसान काम गर्छ र आफ्नो भोजनलाई पकाउने गर्छ। तर कुनचाहिँ पशुले किसान पेशा अपनाएको देख्नुभएको र? “आकाशका चराचुरुङ्गीहरूलाई हेर; किनकि ती न ता ___________ छर्छन्, न _________ गर्छन्, न ____________ बटुल्दछन्; तर पनि तिमीहरूका स्वर्गीय पिताले तिनीहरूलाई खुवाउनुहुन्छ।” (मत्ती ६:२६)।

१३. मानिसमा मात्र हाँस उठाउने, हाँसोको कुरा बुझ्ने जस्ता प्रफुल्लताको आभास (sense of humour) हुन्छ। के कहिल्यै कुनै गोरिल्लाले ठट्टा गरेको सुन्नुभएको छ? तपाईंले कहिल्यै हात्तीको बारेमा चुट्किलाहरू सुन्नुभएको छ? तर के तपाईंले कहिल्यै हात्तीले चुट्किला भनेको सुन्नुभएको छ?

१४. मानिसले मात्र कृतिम औजारको प्रयोग गर्न सक्छ। पशुहरूले रूखमा प्वाल पारेको वा जमिन खनेको देख्न सकिन्छ तर उनीहरूले कहिल्यै पनि बञ्चरो वा कोदालो प्रयोग गरिरहेको देख्न सक्नुहुँदैन।

१५. सबै पशुले जस्तै यात्रा गर्न सक्ने एउटै प्राणी मानिस हो। जमीनमा चितुवा भन्दा छिटो कुद्नि सक्ने (गाडी), आकाशमा चीलभन्दा छिटो उड्न सक्ने (हवाइजहाज), समुद्रमा माछा भन्दा गहिरोमा जानसक्ने (पनडुब्बी जहाज) र साथै कुनै पशु पुग्न नसक्ने ठाउँ – अन्तरिक्ष -- मा जान सक्ने प्राणी मानिस नै हो!

१६. मानिसले मात्र परमेश्वरको विरुद्धमा पाप गर्न सक्छ। कुकुरलाई “धर्मी” वा “दुष्ट” को संज्ञा दिइन्न। उसले हुकुम पालन गर्ला वा राम्ररी तालिम लिन सक्ला, तर ऊ धर्मी कुकुर भने कहिल्यै हुँदैन। पापी कुकुर भन्ने कुनै कुरा हुँदैन (यद्यपि केही पशुहरू निकै डरलाग्दो र खतरापूर्ण हुन सक्छन् — प्रस्थान २१:२८ हेर्नुहोस्)। कुनै पनि पशुले कहिल्यै पनि परमेश्वरको आज्ञालाई उल्लङ्घन गरेको छैन। मानिसले मात्र ठीक र बेठीकको भिन्नता बुझ्न सक्छ। कुकुरले खान नहुने कुरा खाए वा कोठा फोहोर गरे पनि उसलाई कुनै दोषको महसुस हुँदैन (यद्यपि उसले दण्डदेखि डराउन तालिम पाएको हुनसक्छ)। “मानिसले मात्र नैतिक रूपमा असल र खराब छुट्याउन र विवेक दोषी ठरहिएको खण्डमा शोकित हुन सक्छ” (जोन व्हिटकम्ब)।

१७. मानिसले मात्र परमेश्वररको उपासना गर्न सक्छ। तर परमेश्वदरको उपासना गर्ने, मन्दिर वा मूर्ति बनाउने कुनै पनि पशु भेटिएको छैन, तर विवेकशील मनिसले पहिल्यै देखि नै कुनै न कुनै रूपलाई उपासना गरेको पाइन्छ। कुनै पशुले “परमेश्वरलाई धन्यवाद होस्” भनेको छैन! कुनै पशुले पनि प्रार्थना गर्ने वा बलि चढाउने काम गरेको पाइन्न। मानिसले मात्र उसको सृष्टिकर्तालाई साँच्चै प्रेम गर्न सक्छ। “मानिसले मात्र उसको सृष्टिकर्ताका ईश्वरीय अधिकारको पहिचान गर्न सक्छ र आराधना, प्रशंसा, प्रार्थना, बलिदान र आज्ञाकारी सेवाद्वारा उहाँको महिमा गर्न सक्छ” (जोन व्हिटकम्ब)।

१८. मानिसको मात्र मृत्यु पछि अस्तित्व रहन्छ। कुकुरहरू र बिरालोहरूका निम्ति कुनै स्वर्ग छैन। यद्यपि ख्रीष्टको हजार वर्षे राज्यमा पशुहरू पनि संसारमा हुन्छन्, तर अनन्त अवस्थितीमा उनीहरूको बारेमा कुनै पनि कुरा उल्लेख गरिएको छैन (प्रकाश २१-२२)। मानिस मात्र अमर प्राणी हो (उसको आत्मा कि त स्वर्गमा कि नरकमा सदाको निम्ति रहन्छ)।

१९. मानिस मात्र आफ्नो सृष्टिकर्तालाई प्रतिविम्वित गर्न परमेश्वरको स्वरूपमा बनाइयो (उत्पत्ति १:२६-२७)।

२०. परमेश्वर संसारमा शरीरमा आउनुभएको वास्तविकताबाट आशिष पाउन सक्ने प्राणी मानिस मात्र हो। परमेश्वर संसारमा आउनुहुँदा मानिस बनेर आउनुभयो (यूहन्ना १:१४), पशु बनेर होइन। मानिसलाई मात्र मुक्तिको खाँचो पर्छ। ख्रीष्ट पापी मानिसलाई बचाउन आउनुभयो, पशुलाई बचाउन होइन (१ तिमोथी १:१५)। ख्रीष्ट हाम्रो पापहरूको निम्ति क्रूसमा मर्नुभयो (१ कोरिन्थी १५:३), पशुहरूको निम्ति होइन।

निष्कर्ष

“‘बाँदर-मानव’को विचार कुनै ‘जिराफ-मानव’ वा ‘गैंडा-मानव’ भन्नुजस्तै बाइबलीय र वैज्ञानिक रूपमा अर्थहीन कुरा हो” (जोन व्हिटकम्ब)। मानिस र केही पशुहरूमा निश्चित समानताहरू छन् किनभने सबैलाई उही सृष्टिकर्ताले उही पदार्थ (माटो) द्वारा उही संसामा एउटै किसिमका प्रकृयाहरूमा जिउनको निम्ति बनाउनुभएको हो। मानिस र पशुहरूमा भिन्नताहरू छन् किनभने मानिस र हरेक प्राणीहरूका निम्ति सृष्टिकर्ताको उदेकका योजना, बनावट र उद्देश्यहरू छन्। यद्यपि मानिस जमिनमा चलहल गर्ने अन्य पशुहरू सृष्टि गरिएकै दिनमा (अर्थात छैठौं दिनमा) सृष्टि गरिएको भए तापनि मानिस परमेश्वरको स्वरूपमा सृष्टि गरिएको छ र उसले परमेश्वरसित सङ्गति गर्न सक्छ जुनचाहिँ अन्य प्राणीहरूले गर्न सक्दैनन्। मानिसहरू आफूसँग नजिकको सङ्गति हिँडुन् भनी परमेश्वर चाहनुहुन्छ (उत्पत्ति ५:२२-२४; ६:९; १७:१ सित तुलना गर्नुहोस्), तर पशुहरू तिनीहरूका सृष्टिकर्तासँगको सङ्गतिमा आनन्दित भएको कुरा बाइबलमा कहिँपनि पाइँदैन। मानिस पशु होइन र ऊ कुनै पनि पशुबाट विकसित भएको पनि होइन।

पशुहरू किन सृष्टि गरिए?

बाइबलले निम्न मध्ये धेरै कारणहरू दिएको छ:

१. सीमित तर अपर्याप्त साथको निम्ति (उत्पत्ति २:१८-२२ र २ शमुएल १२:३ हेर्नुहोस्)। कुकुरले खुशीयाली त देला र मानिसको पक्षमा हिँड्ला, तर कुकुर “मानिसको घनिष्ठ मित्र” होस् भन्ने उद्देश्य कहिल्यै पनि थिएन। परमेश्वरले मानिसको निम्ति अझै उत्तम सहयोगी बनाउने इच्छा गर्नुभयो (उत्पत्ति २:२०-२२)। निश्चय पनि, मानिसको सर्वोत्तम र महान मित्र भनेको परमप्रभु आफैं हुनुहुन्छ।

२.खानाको निम्ति (उत्पत्ति ९:२-३)

३.वस्त्रको निम्ति (मत्ती ३:४)

४.सवारीको निम्ति (उत्पत्ति २२:३)

५.बलिदानको निम्ति (उत्पत्ति ४:४; लेवी १:३)। बलिदानले एउटा महान बलिदानलाई इङ्कित गर्दथ्यो र रगत बहाएर मात्र मुक्तिको सम्भव हुन्छ भनी चित्रण गर्दथ्यो।

६.पापले पूर्ण मानिसहरूको इन्साफ गर्न (प्रस्थान ८ अध्याय; २ राजा २:२३-२४)

७.विभिन्ना तरिकाहरूद्वारा मानिसहरूको सेवा गर्न (उत्पत्ति ८:७-८; र आजका दिनहरूमा पशुहरूलाई प्रयोग गरिएका अचम्मका तरिकाहरूको बिचार गर्नुहोस्, जस्तै नयाँ-नयाँ औषधिहरूको अनुसन्धान गर्न पशुहरूको प्रयोग)।

८. मानिसहरूलाई आत्मिक पाठ सिकाउन (हितोपदेश ६:६)।

९. मानिसहरूलाई परमेश्वरको वास्ताको बारेमा सिकाउन (मत्ती ६:२६)।

१०. साना नानीहरूलाई आनन्द दिन (यशैया ११:६,८)।

११. तिनीहरूका सृष्टिकर्ताका आदेशहरू पालन गर्न (१ राजा १७:६; मत्ती १७:२७)।

१२. हामीलाई ईश्वरीय हातले बनाएको हो भनी चित्रण गर्नलाई (हरेक प्राणी सृष्टिकर्ताद्वारा अद्भुत रचना गरिएका हुन् र ती कुनै अवसरले विकास भएका होइनन् भनी देख्न सकिन्छ)। परमेश्वरले सृष्टि गर्नुभएको हरेक पशु विकासवादको सिद्धान्तको विरुद्धमा अकाट्य प्रमाण हुन्।

के बाँदरलाई थाह छ?

एउटा नरिवलको रूखमा खाना खाँदै गरेका तीन बाँदरहरू आफूले सुनेको हल्लाको विषयमा कुरा गरिरहेका थिए, “तिमीहरूलाई के लाग्छ? अब सुन, तिमी दुई बाँदरहरूले सुन! मानिसहरू हाम्रो उत्तम जातबाट बनेका हुन् भन्ने कुरा सत्य हुन सक्दैन! किन यस्तो भयानक अपमान? कसले चाहिँ बाँदरले आफ्नो श्रीमतीलाई त्यागेको, बच्चाहरूलाई भोकै भएर मर्न र उसको जीवन खेर हुन छोडेको सुनेको छ? के आमा बाँदरले आफ्नो प्यारो सन्तानको देखरेख गर्न अर्कैलाई छोडेको सुनेका छौ? तिनीहरूका नानीहरू एक हातबाट अर्को हातमा दिइन्छन्, र कोही-कोहीले त मुश्किलले आफ्ना आमाको प्रेम पाएको हुन्छन्। र मैले त्यस्तो स्वार्थी बाँदरलाई देखेको छैन जसले नरिवलको रूख वरिपरि बार लगाउँछ र त्यहाँको सबै नरिवल बिग्रेर गएपनि अन्य बाँदरहरूलाई त्यहाँ आएर खान प्रतिबन्धित गर्छ। किन, यदि मैले यस नरिवलको रूख वरिपरि बार लगाएँ भने, भोकको कारणले पनि तिमीहरू यहाँ चोर्न आउनेछौ। अनि बाँदरले नगर्ने अर्को कुरा पनि छ: जाँडको अड्डा खोजेर जानु। मद्यपान गर्नु अनि आफ्नै जीवनको अपमान हुने गरी उच्छृङ्खतापूर्वक होहल्ला गर्नु, त्यसपछि पागलसरह घर पुगेर आफ्नै श्रीमतीलाई हात हाल्नु। यस्तो कार्यलाई उनीहरूले आनन्द भन्छन् र ठूलो धाक लडाउँछन्। उनीहरू अन्य कुराहरूबाट विकास भएको हुनुपर्छ, तर हामीबाट चाहिँ होइन!”