आत्माको फल (भाग १)

यस पृष्ठलाई छाप्नुहोस्

पाठ ७ — आत्माको फल (भाग १)

सुन्दर फलदायी जीवन हरेक विश्वासीको निम्ति परमेश्वरको योजना हो।


यूहन्ना १५:१-१७ पढ्नुहोस्।

शास्त्रको यस खण्डका चाबी शब्दहरू के के हुन् (प्राय: दोहोरिएका शब्दहरू)?

यूहन्ना १५:२,८,१६ फ______ यूहन्ना १५:४,५,६,७ रहनु
विश्वासीको निम्ति परमेश्वरको योजनालाई ध्यान दिनुहोस्। उहाँ फल चाहनुहुन्छ, उहाँ धे____ फल चाहनुहुन्छ (२ पद) र उहाँ धे____ फल चाहनुहुन्छ (८ पद)। विश्वासीको सर्वोच्च इच्छा भनेको परमेश्वर महिमित हुनुभएको होस् भन्ने हुनुपर्छ। परमेश्वर कसरी महिमित हुनुहुन्छ (८ पद)? _____________________________________________

गलाति ५ मा “आत्माको फल” को बारेमा बताउने पद खोज्नुहोस्। पद ________ विश्वासीजन आत्माले भरिनुपर्छ (एफेसी ५:१८)। जब यसो हुँदछ, परमेश्वरले आत्माको फल फलाउनुहुन्छ। यो विश्वासी आफैंले गर्न सक्ने कार्य होइन; यो त केवल परमेश्वरले गर्नसक्नुहुने कार्य हो।

हामीले फलको बारेमा राम्ररी सोच्नुपर्छ। निम्न कुराहरूलाई विचार गर्नुहोस्:

१) फल भनेको जीवनको अभिव्यक्ति हो।

फल सजीव रचनाद्वारा फलाइने कुरा हो। फल जीवनको परिणाम हो। मरेका रूखहरूले फल फलाउँदैनन्। चट्टानहरूले फल फलाउँदैनन्। केवल जीवित बोट, बिरुवा वा रूखले मात्र फल फलाउन सक्छ। आत्माको फल परमेश्वरको जीवनको परिणाम हो। परमेश्वरको जीवन नभएसम्म कसैमा पनि परमेश्वरको फल हुन सक्दैन। एउटा मानिसले कसरी परमेश्वरको जीवन प्राप्त गर्न सक्छ (१ यूहन्ना ५:११-१२)?
_________________________________________________________
फल भित्री जीवन र सामर्थ्यको बाहिरी र दृश्यमान अभिव्यक्ति हो। उदाहरणको निम्ति, स्याउको रूखमा भित्री जीवन, सामर्थ्य, पोषक तत्व र द्रव नहुने हो भने त्यहाँ स्याउ हुन सक्दैन। अङ्गुरको झुप्पा बोटको भित्री जीवनको देख्न सकिने र बाहिरी अभिव्यक्ति हो। गलाती २:२० मा उल्लेख गरिएको भित्री जीवन र सामर्थ्यलाई बिचार गर्नुहोस्—“ख्रीष्ट ___भित्र _____________”। याद राख्नुहोस्, यो “आ____को फल” हो (गलाती ५:२२), र परमेश्वरको आत्मा जीवन र सामर्थ्यले भरपूर हुनुहुन्छ (रोमी ८:२ सित तुलना गर्नुहोस् जहाँ उहाँलाई “जी________ आत्मा” भनी सङ्केत गरिएको छ)।

२) स्वस्थ रूखबाट असल फल फल्दछ।

स्वस्थ रहनु नै फल फलाउने कार्यको रहस्य हो। किन केही रूखहरू वा बोटहरूले असल फल फलाउँदैनन्? त्यहाँ केही सम्भावित समस्याहरू हुन सक्छन्: तुषार, रोग, झुसिल्किरो, अन्य हानिकारक किराहरू इत्यादि। स्वस्थ रूखले अलस फल फलाउँछ। मत्ती ७:१७-१८ हेर्नुहोस्। विश्वासीजन आत्मिक रूपमा स्वस्थ, साथै प्रभुसित ठीक सम्बन्धमा रहिरहनुपर्छ । उसले व्यवस्थावाद (उसको आफ्नै कामहरूले परमेश्वरलाई खुशी पार्न सक्छु भनी सोच्नु—गलाती ३:१-३) ररूपवाद (भित्री सामर्थ्य र वास्तविकताको अभावलाई बाहिरी धार्मिक कार्यहरूद्वारा ढाक्न सकिन्छ भनी सोच्नु—२ तिमोथी ३:५) जस्ता रोगहरूको सामना गर्नुपर्छ। यी रोगहरूले ख्रीष्टको जीवनलाई निसास्याइदिन्छ र क्रूसतर्फको हेराइलाई धमिल्याइदिन्छ। विश्वासीजन ख्रीष्टमा रहनैपर्छ र उहाँमा जोडिनै पर्छ (यूहन्ना १५:१-५) किनभने हामी रहनु पर्ने एउटै मात्र स्वस्थ स्थान भनेको नै साँचो बोटसँग जोडिरहनु हो।

३) प्रकृतिमा फलहरू प्राकृतिक रूपमै फल्दछ।

नास्पातीको रूखले नास्पाती निकाल्नको निम्ति कडा परिश्रम, मेहनत र प्रयत्न गर्दैन, नता नास्पाती ननिस्केला कि भनेर चिन्ता र सन्ताप नै गर्दछ। यसको ठीक उल्टो, नास्पातीको रूख पोषक तत्व लिँदै स्वस्थ रहन्छ, र प्राकृतिक रूपमा नै नास्पातीहरू फल्दछन्।

गोलेभेडाका बोटहरूको बारेमा बिचार गर्नुहोस्। के उनीहरू परिश्रम गर्छन्, पसिना निकाल्छन् र मेहनत गर्दै यसो भन्छन्, “ओहो, हामीले जसरी भए पनि गोलभेडा फलाउनैपर्छ”? होइन, परमेश्वरले प्राकृतिक रूपमा नै गोलभेडाहरू फलाउनुहुन्छ।

त्यस्तै गरी, आत्माको फल मानिसको अथक प्रयास वा शारीरिक सङ्घर्षको परिणाम स्वपरूप आउँदैन। फल परमेश्वरको कार्य हो, र उहाँ सर्वोत्तम फल फलाउन विशेषज्ञ हुनुहुन्छ।

४) फलले पहिचान गर्न मद्दत गर्दछ

हाम्रो प्रभुले भन्नुभयो, “यसकारण, निश्चय नै तिनीहरूकै __________द्वारा तिमीहरूले तिनीहरूलाई ______________” (मत्ती ७:२०)।

रूखमा स्याउ झुन्डिएको देखियो भने, त्यो स्याउको रूख हो भनी पक्का भइन्छ। तपाईंले आफ्नो बगैंचामा कुनै बोट हुर्किरहेको देख्नुभयो भने, तपाईंले त्यो के हो भनी ठम्याउन नसक्नुहोला, तर तपाईंले त्यस बोटमा खरबुजा फलेको देख्नुभयो भने, तपाईंले सजिलै त्यो बोटको पहिचान गर्न सक्नुहुनेछ। कुनै बोटमा गोलभेडा फलिरहेको देखियो भने, त्यो गोलभेडाको बोट हो भनी निश्चित भइन्छ।

तपाईंले कुनै मानिसमा आत्माको साँचो फल प्रदर्शन भइरहेको देख्नुभयो भने, उसमा परमेश्वरको आत्माले काम गरिरहनुभएको छ भनी तपाईं निश्चित हुन सक्नुहुन्छ। कहिलेकाहीँ यसरी सोधेको पाइन्छ, “कसरी एउटा व्यक्तिले ऊभित्र परमेश्वरको आत्मा वास गर्नुहुन्छ भन्ने प्रमाण दिन सक्छ?” उसले अन्यभाषामा बोल्नु नै सबै भन्दा ठूलो प्रमाण होइन (कसै-कसैले यही विश्वास गर्छन्) नता कुनै भावुक किसिमको अनुभव नै हो; सबै भन्दा ठूलो प्रमाण भनेको फल हो। आत्माको फल भनेको ऊभित्र वास गर्नुहुने भित्री व्यक्ति, जीवन र सामर्थ्यको बाहिरी र दृश्यमान प्रमाण हो। ती व्यक्ति पवित्र आत्मा परमेश्वर हुनुहुन्छ।



गलाती ५:२२ मा “फल” शब्द एकवचनमा छ। यस पदमा नौओटा गुणहरू सूचीकृत भए तापनि यसले “आत्माका फलहरू” भनी भन्दैन। एकवचन शब्द “फल” ले एकतालाई सङ्केत गर्दछ। नौओटा गुणहरू सूचिकृत भए तापनि, यो एउटै झुप्पा जस्तै हो, अङ्गुरको झुप्पा जस्तै।



यो फल कसले फलाएको हो? झुप्पा कहाँबाट आएको हो? यो “आ______को फल” हो (गलाती ५:२२)। यो फल परमेश्वरको पवित्र आत्माबाट आउँदछ। यो फल उहाँले विश्वासीभित्र फलाउनुहुने फल हो। पिताको महिमा गर्ने फल हामीभित्र फलाउन काम गर्नुहुने सामर्थी शक्ति उहाँ नै हुनुहुन्छ। यहाँ “ख्रीष्टियनको फल” भनिएको छैन। यो हामी आफैंले फलाउन सक्ने कुरा होइन। फल हामीबाट आउँदैन; यो त परमेश्वरबाट आउँछ। हामीले के फलाउँदो रहेछौं भनी जान्न चाहनुहुन्छ भने, गलाती ५:१९-२१ पढ्नुहोस्!

आत्माले मात्र आत्माको फल फलाउन सक्नुहुन्छ। तपाईंले भन्नुहोला, “एकछिन! मेरो एउटा अविश्वासी छिमेकी हुनुहुन्छ जो साह्रै प्रेमिलो, कृपालु र अरूको भलाइ गर्ने किसिमको हुनुहुन्छ। मेरो एकजना अविश्वासी आफन्त पनि हुनुहुन्छ जो निकै आनन्दित हुनुहुन्छ र मैले चिनेका केही ख्रीष्टियनहरूलाई भन्दा त उहाँलाई नै २२ पदको व्याख्या एकदम सुहाउँछ जस्तो लाग्छ।” यो सबै सत्य हुन सक्छ, तर वास्तविकता त यही हो कि केवल आत्माले मात्र आत्माको फल फलाउन सक्नुहुन्छ। परमेश्वरको आत्माले मात्र वास्तविक प्रेम फलाउन सक्नुहुन्छ। अन्य सबै सस्तो, मानवीय, नक्कली फल हो। परमेश्वरले मात्र आनन्द फलाउन सक्नुहुन्छ, र बाँकी सबै मानिसद्वारा फलाइएको नक्कली आनन्द हो। हामीले परमेश्वद्वारा फलाइएको सक्कली फल र मानिसद्वारा र शरीरद्वारा फलाइएको नक्कली फलको बीचमा भिन्नता राख्नुपर्छ।

मानिसको फल र परमेश्वरको फल बीच भिन्नताहरू: शरीरले दयालु साथीहरू, परिवार, पती वा पत्नी र दयालु मानिसहरूलाई प्रेम गर्न सक्छ। आत्मिक मानिसले आफूलाई गरिएको घृणा, विमुखता वा सतावटको बावजुद पनि प्रेम गर्न सक्छ। शरीरले छुट्टिका दिनहरूमा र जीवनका रमाइला क्षणहरूमा आनन्द गर्न सक्छ। आत्मिक मानिसले क्यान्सर रोगले थलिएको अवस्थामा, प्रिय जनको चिहानको सामु र दिनहुँ गर्नु पर्ने कामहरूको नैरास्यतामा पनि आनन्द गर्न सक्छ। शरीरले शान्त कोठामा वा नदीमा बहेको कुनै डुङ्गामा, वा कुनै कथाको हँसिलो-खुशिलो अन्त्यमा शान्ती (वा मेलमिलाप) को अनुभव गर्न सक्छ। आत्मिक मानिसले समस्याहरू, दबाबहरू र दु:खहरूमा पनि शान्ती (वा मेलमिलाप) को अनुभव गर्न सक्छ।

परमेश्वरको आत्माले मात्र आत्माको फल फलाउन र चम्काउन सक्नुहुन्छ, र परमेश्वरको आत्मा ख्रीष्टमा विश्वास गर्ने मानिसको हृदयमा मात्र वास गर्नुहुन्छ। आफूसँग पवित्र आत्मा नहुनुभएको अविश्वासीमा (यहूदा १९) कहिल्यै पनि आत्माको फल हुन सक्दैन।

गलाती ५:२२ कसरी सुरु भएको छ भनी ध्यान दिनुहोस्। यो पद सानो “तर” भनिने शब्दबाट सुरु भएको छ। यो भिन्नता देखाउने शब्द हो। आत्माको फललाई यही अध्यायमा उल्लेख गरिएको अर्कै कुरासँग, अर्थात् “शरीरका कामहरू” सँग (गलाती ५:१९-२१) तुलना गरी भिन्नता देखाइएको छ। शरीरका कामहरू ती कुराहरू हुन् जुन कुराहरू मानिसको आफ्नै प्रयासले फल्दछन्। ती कुराहरू मानिसको पापी स्वभावका फल हुन्। पापचाहिँ जरा हो; शरीरका कामहरूचाहिँ पुरानो स्वभावका फलहरू हुन्।

गलाती ५:१६ लाई ध्यानपूर्वक पढ्नुहोस्। यो पदले दुईमध्ये कुनै एक अवस्थालाई वर्णन गर्दछ। तपाईं कि त आत्मामा हिँडिरहनुभएको छ (आत्माको फल देखाउँदै) अथवा तपाईं शरीरको अभिलाषा पूरा गर्दैहुनुहुन्छ (शरीरका कामहरू देखाउँदै)। दुईमध्ये कुनै एक। विश्वासीको हृदयभित्र युद्ध चलिरहेको हुन्छ (गलाती ५:१७ पढ्नुहोस्)। यो युद्ध आधिपत्यताको युद्ध हो। तपाईं कि त आत्माद्वारा नियन्त्रण गरिनुहुन्छ कि शरीरद्वारा? तपाईंले के शरीरले आफ्नो फल फलाउनेछ कि परमेश्वरले? अर्को दुईमध्ये कुनै एक अवस्थालाई गलाती २:२० मा उल्लेख गरिएको छ — “म होइन, तर ख्रीष्ट...” यदि यो स्व-जीवन हो भने, यो ख्रीष्ट-जीवन हुन सक्दैन; यदि यो ख्रीष्ट-जीवन हो भने, यो स्व-जीवन हुन सक्दैन। यी दुई पूर्ण रूपमा अमिल्दो कुराहरू हुन्।

“अब शरीरका कामहरू प्र_______ छन्” (गलाती ५:१९)। पावलले त्यसपछि शरीरले फलाउने यी भयानक कामहरूको सूची बनाउँछन् (१९-२१)। “प्रकट” को माने हो, दृश्यमान, स्पष्ट देखिने, खुल्ला, प्रत्यक्ष, परिचित, व्यक्त गरिएको, सुस्पष्ट। “प्रकट” शब्द “लुकेको, छिपेको, गुप्त” को ठीक उल्टो हो। शरीरका कामहरू गोप्य कुराहरू होइनन्। यी कामहरू देखा पराइमा खुल्ला, सबैले देख्न सक्ने र अति सुस्पष्ट छन्। अर्को शब्दमा, यदि तपाईं शरीरमा हिँडिरहनुभएको छ भने र तपाईंलाई यो थाह छैन भने पनि तपाईं बहानारहित हुनुहुन्छ! यदि तपाईं शरीरमा हिँडिरहनुभएको छ भने र तपाईंलाई यो थाह छैन भने, तपाईंले सुस्पष्ट कुरालाई देख्नबाट गुमाउनुभएको छ र सबैको निम्ति खुल्ला रहेको कुरालाई देख्नबाट तपाईं चुक्नुभएको छ। यी कामहरू “प्रकट” छन् भनी परमेश्वरले हामीलाई भन्नुहुन्छ। ती कुराहरू प्रत्यक्ष, स्पष्ट देखिने र सबैको निम्ति खुल्ला छन्। यी अपगुणहरूलाई हामीले ठम्याउन सकौं भनेर परमेश्वरले हामीलाई यो जम्मै सूची दिनुभएको छ। परमेश्वरले यी कुराहरूलाई अति स्पष्ट तरिकाले लेखिदिनुभएको छ। हरेक विश्वासीले आफू शरीरमा हिँडिरहेको छु कि आत्मामा हिँडिरहेको छु भनी राम्ररी छुट्याउनु सक्नुपर्छ। हामीहरू शरीरमा हिँडिरहेका छौं कि आत्माद्वारा डोर्याइएका छौं भन्ने कुरा स्पष्ट हुनुपर्छ र यो थाह गर्न कठीन हुनुहुँदैन।

स्त्रीहरू किनमेल गर्न जाँदा, उनीहरू राम्रो फल र नराम्रो फलहरूको बीचमा भिन्नता पत्ता लगाउने काम राम्ररी गर्न सक्छन्। उनीहरूले राम्रो गोलभेडा छान्दछन् र खराब वा कुहिन लागेका गोलभेडाहरूलाई इन्कार गर्छन्। उनीहरू राम्रो स्याउ र कुहिएको स्याउ, राम्रो फल र नराम्रो फलहरूबीच भिन्नता छुट्याउन निपुण हुन्छन्। कुन अङ्गुरहरू राम्रा देखिएका छन् र कुन अङ्गुरहरू नराम्रा देखिएका छन् भनी उनीहरू जान्दछन्। आत्मिक जगतमा पनि, हामीले राम्रो फल र खराब फलहरू बीच भिन्नता छुट्याउनुपर्छ।

यस्ता समयहरू हुन्छन् जब एउटा विश्वासीले आफैंलाई रोक्नुपर्छ र परमेश्वरको सामु इमान्दारसाथ यसो भन्नुपर्छ, “त्यो शरीरको कुहिएको काम हो। परमेश्वरले त्यो फलाउनुभएको होइन। त्यो मेरो काम हो। केही खराबी छ। मैले आत्मालाई निभाइरहेको वा शोकित पारिरहेको हुनसक्छु। परमेश्वरको जीवन मबाट बाहिर बहनलाई कुनै कुराले बाधा दिरहेको छ। यस समयमा परमेश्वरसितको मेरो सम्बन्ध स्वस्थ छैन र यी कुराहरू ठीकठाक नहोउन्जेल म सन्तुष्ट हुनेवाला छैन।”

विश्वासीहरू घण्टौंसम्म र केही दिनसम्म पनि शरीरका कामहरू फलाउँदै गइरहनु कति दु:ख लाग्दो कुरा हो। आफूहरू जसरी हिँड्नुपर्ने हो त्यसरी नहिँडेको कुरा उनीहरूलाई थाह छ, र उनीहरूले त्यसको बारेमा थोरै मात्र चिन्ता गरेको र समस्या समाधान गर्न केही पनि नगरेको जस्तो देखा पर्छ। यदि तपाईंको धाराबाट फोहोर, गन्हाउने, हिलो जस्तो पानी आउन थाल्यो भने, तपाईंले जति सक्दो छिट्टो त्यो समस्या समाधान गर्न केही न केही गर्नुहुनेथियो भनी म निश्चित छु। येशूले भन्नुभयो, “जसले ममाथि विश्वास गर्छ, पवित्रशास्त्रले भनेअनुसार, उसको हृदयबाट जिउँदो पानीका नदीहरू _____________! तर यो कुरा उहाँले आ______ विषयमा भन्नुभयो” (यूहन्ना ७:३८-३९)। यो त्यही जिउँदो नदी जसलाई गलाती ५:२२-२३ मा वर्णन गरिएको छ। यो जिउँदो नदी परमेश्वरको पवित्र आत्माद्वारा फलाइन्छ र उक्त नदी परमेश्वरको जीवनको कारणले बहन्छ। हामी अन्य कुनै पनि नदीबाट सन्तुष्ट नभएका हौं।

शरीरले फलाउने हिलाम्मे, फोहोर र घिनलाग्दो नदीको बारेमा बिचार गर्नुहोस् (गलाती ५:१९-२१):

२१ पदको अन्तिम वाक्यांशले धेरै मानिसहरूलाई चिन्तित तुल्याएको छ र यसलाई प्राय ठीकसँग बुझिएको छैन: “यस्ता-यस्ता काम गर्नेहरू परमेश्वरका राज्यका हकवाला हुनेछैनन्।” जब हामीले यी शारीरिक, पापपूर्ण कामहरूका सूचीको बारेमा सोच्दछौं, विश्वासीहरू नै भए तापनि हामी हरेकले आफैंलाई यी कुराहरूमध्ये कुनै न कुनै कुराहरूमा दोषी भेट्टाउँदछौं। हामीहरूमध्ये कसले इमानदारीसँग यसो भन्न सक्ला, “मैले मुक्ति पाएदेखि, मैले कहिल्यै पनि द्वेष गरेको छैन”? हामीहरूमध्ये कसले यसो भन्न सक्ला, “मैले आफैंलाई सधैँ मूर्तीहरूबाट जोगाइ राखेको छु (१ यूहन्ना ५:२१)। मैले कहिल्यै पनि मेरो जीवनमा कुनै कुरालाई परमेश्वरको स्थान लिन दिएको छैन किनभने मैले हरेकपटक प्रभुलाई नै पहिलो स्थानमा राखेको छ!”? अवगुणहरूका यो सूचीले हामीहरूमध्ये हरेकलाई दोषी ठहराउँछ। ख्रीष्टियनहरू भए तापनि हामीले शरीरका कामहरूलाई हाम्रो व्यवहारमा उतारेका छौं। यी कुराहरूलाई हामीले घृणा गरे तापनि, हामीले हाम्रो दोषलाई स्वीकार गर्नैपर्छ र भन्नैपर्छ, “शरीरमा हिँड्ने विषयमा म दोषी छु। शरीरका कामहरूमध्ये केही कुराहरू मेरो जीवनमा पनि प्रकट भएका छन्।”

“यस्ता-यस्ता काम गर्नेहरू परमेश्वरका राज्यका हकवाला हुनेछैनन्।” यसको अर्थ, के हामी राज्यबाट बहिस्कृत गरिनेछौं? १ कोरिन्थी ६:९-११ लाई विचार गर्नुहोस्। तपाईले ९-१० पदहरू पढ्नुभयो भने हाम्रो निम्ति त्यहाँ कुनै आशा छैन! तर असल खबरचाहिँ ११ पदमा पाइन्छ। परमेश्वरले किन दोषी पापीहरूलाई आफ्नो राज्यमा सम्मिलित गराउन सक्नुहुन्छ? ___________________________________________________________________________ के हामी आफूले कतिको असल गरेका छौं भन्ने आधारमा राज्यको हकवाला भयौं कि ख्रीष्टले हाम्रो निम्ति के गरिदिनुभएको छ भन्ने आधारमा? __________________________________________________

गलाती ५:२१ लाई बुझ्ने चाबीशब्द भनेको “गर्नेहरू” भनिने सानो शब्द हो। यो कृयापद वर्तमानकालमा प्रयोग भएको छ र यसले स्वभाविक आचरणलाई जनाउँछ: “यस्ता यस्ता काम गरिरहनेहरू” वा “यस्ता यस्ता कामहरू अभ्यास गर्नमा लागिरहनेहरू”। गलाती ५:१९-२१ मा वर्णन गरिएका यी शरीरका कामहरूमा लिप्त भएकाहरू र यसैमा निरन्तर लागिरहनेहरू र ती अभ्यास गरिरहनेहरू जस्ता मानिसहरू राज्यका हकवाला हुनेछैनन्। यदि कुनै मानिसको जीवन शरीरका कामहरूले भरिएको र तीद्वारा दमन गरिएको छ भने, योचाहिँ त्यस व्यक्तिले मुक्ति नै नपाएको हुन सक्ने लक्षण हो।

यस सूचीमा उल्लेख गरिएका केही पापहरूमा विश्वासीहरू फस्नु दु:खलाग्दो सत्यता हो, तर यी पापहरू उनीहरूका जीवनका नियमित चरित्रचाहिँ हुँदैनन्। हिलोमा खस्नु एउटा कुरा हो; हिलोमै जिउनु अर्कै कुरा हो। भेँडा हुनु र कहिलेकसो हिलाम्मे हुनु एउटा कुरा हो; सुङ्गुर हुनु र हिलोलाई नै जीवनको मार्ग बनाउनु र त्यसमै रमाउनु (त्यसमा आनन्द लिनु) अर्कै कुरा हो! विश्वासीजन पापभित्र खस्छ तर उसले यसलाई घृणा गर्छ; मुक्ति नपाएको व्यक्ति पापमा जिउँछ र त्यसलाई प्रेम गर्छ।

नूह मत्त भए, तर तिनी मतवाला थिएनन्। सामान्यतया तिनको जीवन धार्मिकताले भरिएको थियो। अब्राहामले आफ्नी श्रीमतीको बारेमा झूट बोले, यद्यपि उनी त्यस पापमा फसे, तिनी यही पापमा लागिरहेनन्। दाऊदले व्यभिचार गरे र आफ्नो पापलाई लुकाउन त्यस स्त्रीको श्रीमानको हत्या गरे। तरैपनि, दाऊद यही पापमा लागिरहेनन्। तिनको हृदय शोकित भएको थियो र तिनले आफ्ना पापहरू स्वीकार गरे र धार्मिकताको मार्गमा फर्किएर आए (भजनसङ्ग्रह ५१ र भजनसङ्ग्रह ३२)। पत्रुसले प्रभुलाई तीन-तीन पल्ट इन्कार गरे र यो जति सुकै गम्भिर किसिमको पाप भए तापनि, यसले पत्रुस जीवनको चरित्र नै औंल्याएको थिएन। पेन्टेकोस्टको दिनमा पत्रुसले हिम्मतसाथ हजारौंको सामु ख्रीष्टलाई स्वीकार गरे (प्रेरित २:३६)। यदि तपाईंले प्रभुलाई इन्कार गरिरहेको पत्रुसको तस्वीर लिनुभयो भने, ख्रीष्टलाई इन्कार गर्ने यही हो भनी भन्नुहुनेथियो। तरैपनि, यदि तपाईंले उसको नयाँ जन्म पाएको पूरै जीवनको नै भिडियो लिनुभयो भने, यो व्यक्ति आफू मर्नै परे तापनि ख्रीष्टलाई साहससाथ र घरी-घरी स्वीकार गर्ने मानिस थियो भनी तपाईंले निश्कर्ष निकाल्नुहुने थियो। उनको जीवनको बारेमा यो अध्याय कुरूप भए तापनि, ख्रीष्टलाई इन्कार गर्नु नै उनको जीवनको मूल चरित्र थिएन।

एकसमय हामीले जिउने गरेको जीवन र हामीले अहिले जिइरहेको जीवनमा क्रूसले भिन्नता ल्याएको छ (गलाती २:२० हेर्नुहोस्)। के १ कोरिन्थी ६:९-१० मा वर्णन गरिएका मानिसहरूको निम्ति केही आशा छ? क्रूसले भिन्नता दिलाउन सक्छ भनी ११ पदमा हामी सिक्दछौं!

के क्रूसले तपाईंको जीवनमा भिन्नता ल्याएको छ? ख्रीष्टियन भएकोमा तपाईं पक्राउ पर्नुभयो भने, के त्यहाँ तपाईंलाई दोष लगाउने पर्याप्त प्रमाणहरू हुनेछन्? के त्यहाँ प्रयोग गर्दा-गर्दा च्यातिएको बाइबल भेट्टाइने छ? तपाईंले प्रभुको बारेमा गवाही दिनुभएको केही साक्षीहरू खडा हुन सक्छन्? कुनै रूखले आफू स्याउको रूख भएको दाबी गर्दछ भने, हामीले उक्त रूखलाई चुनौती दिएर यसो भन्न सक्नुपर्छ, “तिमी साँच्चैको स्याउकै रूख हौ भनी मलाई प्रमाणित गर। मलाई तिम्रा स्याउहरू देखाऊ! ” याद राख्नुहोस्, फलले पहिचान गराउँदछ (मत्ती ७:१७-१९ हेर्नुहोस्)।

मत्ती १२:३३ लाई बिचार गर्नुहोस्। मानिसले गर्नुपर्ने पहिलो कुरा हो, रूखलाई असल बनाउनु। तपाईं मुक्ति पाएको व्यक्ति हुनुहुन्न भने, फललाई असल बनाउने कोसिस नगर्नुहोस्। फल असल हुन रूख असल हुनैपर्छ। तपाईं ख्रीष्टियन हुनुहुन्न भने, ख्रीष्टिय जीवन जिउनु तपाईंको निम्ति असम्भव कुरा हो। त्यसो गर्नुभनेको पेट्रोलबिना गाडी गुडाउने प्रयास गर्नु जस्तै हो, अथवा प्यारासुट (parachute) नलिई प्लेनबाट हामफाल्न खोज्नु जस्तै हो। त्यसले कुनै फाइदा दिनेछैन। तपाईंसँग परमेश्वरका आत्मा (रोमी ८:९) हुनुहुन्न भने, आत्माको फल फलाउने कोसिसै नगर्नुहोस्। यो असम्भव हुनेछ। पहिले रूखलाई असल बनाउनुहोस्, जसको अर्थ हो, तपाईंले गर्नु पर्ने पहिलो कुरा भनेको प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नु (प्रेरित १६:३१) र परमेश्वरलाई तपाईंलाई नयाँ सृष्टि बनाउन दिनु (२ कोरिन्थी ५:१७) हो। ख्रीष्टबिना तपाईंले ख्रीष्टिय जीवन जिउन सक्नुहुन्न। पवित्र आत्माबिना तपाईंले पवित्र जीवन जिउन सक्नुहुन्न।

मत्ती १२:३४-३५ मा प्रभु येशूले अर्को किसिमको फलको बारेमा कुरा गर्दैहुनुहुन्छ, अर्थात् ओंठहरूका फल। जसरी फलले रूखलाई प्रकट गर्दछ, ठीक उसरी नै हाम्रो बोल्ने शैलीले हाम्रो हृदयलाई प्रकट गर्दछ: “किनकि _____________ भरपूरीबाट नै मुखले _______________” (मत्ती १२:३४)। हाम्रो मुखबाट निस्केका शब्दहरूले हाम्रो हृदयको अवस्थालाई प्रकट गरिरहेका हुन्छन्। काममा वा स्कूलमा वा खेल्ने चउरमा भएको मानिसले गाली गरिरहेको वा फोहोर भाषा प्रयोग गरिरहेको छ भने, उसको हृदय प्रकट भइरहेको हुन्छ! फोहोर शब्दहरूले फोहोर, नविकरण नभएको हृदयलाई प्रकट गर्दछ। सफा शब्दहरूले सफा हृदयलाई प्रकट गर्छ किनभने “असल मानिसले ____________ असल ढुकुटीबाट ___________ कुराहरू निकाल्छ” (मत्ती १२:३५)।

विश्वासीहरू फलवान भएका परमेश्वर चाहनुहुन्छ! उहाँ धे______ फल चाहनुहुन्छ (यूहन्ना १५:२) र उहाँ धे______ फल चाहनुहुन्छ (यूहन्ना १५:८)। येशूले कस्तो किसिमको फलको कुरा गरिरहनुभएको थियो? के उहाँले स्याउहरू वा अङ्गुरहरू वा खरबुजाहरूको कुरा गरिरहनुभएको थियो? गलाती ५:२२ मा हामीलाई बताइएको छ कि आत्माको __________ हो १) ______________ २) _______________ ३) ______________ (पहिलो तीनओटा मात्रै लेख्नुहोस्)। यूहन्ना १५:९-१० मा कुन फलको कुरा गरिएको हो? ________________ यूहन्ना १५:११ र यूहन्ना १६:२०,२२ मा कुन फलको कुरा गरिएको हो? _______________ के यो गलाती ५:२२ मा भएको उही फल हो? ______________

हामी “हरेक असल काममा फ_____________ हुँदै” गएको परमेश्वर चाहनुहुन्छ (कलस्सी १:१०)। हामी कस्तो नभएको परमेश्वर चाहनुहुन्छ? (तीतस ३:१४ अन्तिमतिरको शब्द) _______________________