११ आत्माले भरिनुका परिणामहरू के के हुन्?

यस पृष्ठलाई छाप्नुहोस्

पाठ ११ — आत्माले भरिनुका परिणामहरू के के हुन्?

हरेक विश्वासी या त आत्माले भरिएको हुन्छ या शरीरद्वारा चलाइएको हुन्छ। मानिसको जीवन या त परमेश्वरद्वारा चलाइएको हुन्छ या आफैंद्वारा नियन्त्रित हुन्छ। या त परमेश्वर नै मानिसको जीवनको चालक र कप्तान बनिरहनुभएको हुन्छ, या विश्वासीले परमेश्वरबिना र उहाँको अगुवाइबिना नै आफ्नो जीवनको गाडी आफैंले चलाइरहेको हुन्छ।

गलाती ५:१६ मा यस्तो लेखिएको पढ्छौं, “तर म यो भन्दछु: _____________ हिँड, र तिमीहरूले _______________ _____________ (उत्कट इच्छा) कुनै रीतिले पूरा गर्नेछैनौ।” यदि तपाईं आत्मामा हिँडिरहनुभएको छ भने तपाईंले शरीरको अभिलाषा पूरा गरिरहनु भएको हुँदैन, र यदि तपाईं शरीरको आभीलाषा पूरा गरिरहनुभएको छ भने तपाईं आत्मा हिँडिरहनुभएको हुँदैन। एकै समयमा दुई जनाले गाडीको स्टेरिङ्ग चलाउनु सम्भव छैन। या त आत्मा नै नियन्त्रक हुनुहुन्छ या शरीर आफैं नियन्त्रक हुन्छ। या परमेश्वरले अगुवाइ र डोर्याउने कार्य गरिरहनुभएको हुन्छ, या त मानिस आफैंले नै उसको पुरानो स्वभावको उत्कट इच्छाहरू अनुसारले जीवनको गाडी चलाइरहेको हुन्छ।

तिमोथी म्याकभेय (Timothy McVeigh) (अप्रिल २३, १९६८ – जुन ११, २००१) एक अमेरिकी थिए जसले सन् अप्रिल १९, १९९५ मा ओक्लाहोमा शहरको सङ्घीय भवनको सामु ट्रक बम्ब विस्फोट गराएका थिए। ओक्लाहोमा शहर बम्ब काण्ड नामले परिचित उक्त आक्रमणले १६८ मानिसहरूको ज्यान लियो र ६०० भन्दा बेसी घाइते भए। योचाहिँ सेप्टेम्बर ११ पूर्व अमेरिकाको सबैभन्दा खतरापूर्ण आतङ्ककारी घटना थियो, र अहिलेसम्म पनि यो घटना अमेरिकाको इतिहासमै सबैभन्दा गम्भिर प्रकारको घरेलु आतङ्कको घटना हो। म्याकभेयलाई प्राणनाशक सुई (इन्जेक्शन) द्वारा मृत्युदण्ड दिइएको थियो। आफ्नो मृत्युभन्दा अघि, तिमोथी म्याकभेयले आफ्नो अन्तिम शब्दहरूको रूपमा विलियम हेन्लेद्वारा लिखित इन्भिक्टस (अजेय) कवितालाई अवज्ञापूर्वक रोजे। यी शब्दहरू परमेश्वरको अधिनमा रहन इन्कार गर्ने मानिसका शब्दहरू हुन्:

अजेय

मलाई छोप्ने रातदेखि बाहिर,
कालो झैं छ एक छेऊ देखी अर्को छेऊसम्म खाडल यो।
ईश्वरहरू जो भए पनि धन्यवादी छु म,
मेरो अजेय प्राणको निम्ति यो।
खराब परिस्थितीहरूमा परे तापनि,
म हच्किएको छैन र म चिच्याएको छैन।
संजोगको मोटो छडीको हिर्काइ मुनि,
मेरो शिर रक्ताम्मे छ तर यो झुकेको छैन।
क्रोध र आँशुहरूको यस स्थान पारि।
ओझेलका त्रासहरूको भयङ्कर छायाँ देखिन्छ।
र नयाँ सुरुको त्यस भयानक दर्शनले,
मलाई त्रासरहित भेट्टाउनेछ।
ढोका जति साँघुरो भएपनि फरक पर्नेछैन,
पत्र ढण्डाज्ञाहरूले भरिएपनि फरक पर्नेछैन।
मेरो भाग्यको म नै मालिक हुँ;
मेरो प्राणको म आफैं कप्तान हुँ।

ख्रीष्टमा विश्वास गर्ने डोरोथी डे (Dorothea Day) ले यही कविताको प्रत्युत्तर स्वरूप अर्को समानान्तर कविता लेखेकी छिन्। तिनको कविताको निश्कर्ष निकै भिन्न छ:

मलाई तिरमिर्याउने रातदेखि बाहिर,
सूर्य झैं एक छेऊ देखी अर्को छेऊसम्मको ज्योति यो।
मैले चिनेको परमेश्वरप्रति धन्यवादी छु म,
ख्रीष्ट मेरो प्राणमाथि विजयी हुनुभो।
मेरा परिस्थितीहरू छन् उहाँको नियन्त्रणमुनि,
म हच्किने छैन न ता मेरो प्राण चिच्याउने छ।
मानिसहरूले संजोग भनी भनेका ती प्रथामुनि,
मेरो शिर आनन्दित छ र नम्रतामा झुकेको छ।
पाप र आँशुहरूको यस स्थान पारि,
उहाँसँगको त्यो जीवन! भरोसा उहाँकै छ।
र त्यो दृश्य भयानक भएतापनि,
मलाई त्रासरहित राख्नेछ, र राखिरहनेछ।
ढोका जति साँघुरो भएपनि मलाई कुनै डर छैन,
पत्र ढण्डाज्ञाहरूले भरिए तापनि ती मेटिएकाछन्।
मेरो भाग्यको मालिक ख्रीष्ट हुन्;
मेरो प्राणको कप्तान ख्रीष्ट हुन्।

ख्रीष्ट हाम्रा प्राणहरूको कप्तान हुनुभएकोले हामी विश्वासीहरूले परमेश्वरलाई धन्यवाद दिन्छौं, तर समस्या यो छ, कि हामीले जहिल्यै पनि परमेश्वरलाई हाम्रो चालक हुन दिँदैनौं। हामी आफैं चालक हुन चाहन्छौं। र उहाँको अधिनमा रहन हामी अकसर इन्कार गर्छौं, र त्यसैले उहाँको अगुवाइलाई हामी इन्कार गर्छौं र उहाँको कामलाई हामी निभाउँछौं।

हामी यस प्रश्नको जवाफ दिन चाहन्छौं: म आत्माले भरिएको छु कि छैन भनी मैले कसरी थाह गर्न सक्छु? आत्माले भरिनुका प्रमाणहरू के के हुन्? अर्को शब्दमा, म आत्माले भरिएको छु भनी कसरी प्रमाणित हुन्छ? यसको पहिचान कसरी हुन्छ?

एउटा व्यक्ति आत्माले भरिएको छ कि छैन भनी हामी थाह गर्न सक्ने हुनुपर्छ भनी बाइबलले स्पष्ट बनाएको छ। प्रेरित ६ अध्यायमा टेबलको सेवा गर्नका निम्ति विश्वासीहरूलाई सातजना मानिसहरू छान्ने आज्ञा दिइयो: “यसकारण भाइहरूहो, आफ्नो बीचबाट नाम चलेका, ____________ _____________ र बुद्धिले ______________ सातजना मानिसहरूलाई खोज, जसलाई हामी यस काममा नियुक्त गर्न सकौं” (प्रेरित ६:३)। यी सातजनालाई छान्दा, ती मानिसहरूमा केही निश्चित गुणहरू भएको हुनुपर्थ्यो, र तीमध्येको एउटा गुणचाहिँ, उक्त मानिस आत्मा भरिएको हुनुपर्थ्यो, अर्थात् ऊ आत्मिक मानिस हुनुपर्थ्यो। कुनै मानिस पवित्र आत्माले भरिएको छ कि छैन भनी पहिचान गर्नु सम्भव छ भनी यस खण्डबाट स्पष्ट हुन्छ। आफ्नो जीवनलाई पवित्र आत्माले नियन्त्रण गरिरहनुभएको छ भनी प्रमाण दिन सक्ने व्यक्तिलाई उनीहरूले छान्नुपर्थ्यो।

हामीले मानिस कुन बेला शरिरद्वारा चलाइएको छ भनेर पनि पहिचान गर्न सक्नुपर्छ भनी बाइबलले स्पष्ट गर्दछ। गलाती ५:१९ ले भन्छ, “अब _____________ ______________ प्रकट छन्...।” “प्रकट” शब्दको अर्थ हो “देख्न मिल्ने गरी खोलिएको, दृश्यमान, प्रत्यक्ष।” यदि कोही मानिस शरीरमा हिँडिरहेको छ भने, तपाईंले त्यो सजिलै ठम्याउन सक्नुपर्छ। यो स्पष्ट देख्न सकिने कुरा हो। यो त फोहोर कपडालाई सबैले देख्ने गरी झुण्ड्याइएको जस्तै हो।

(टिप्पणी: शरीरका कामहरू अकसर दृश्यमान र प्रत्यक्ष भए तापनि, ती धोकापूर्ण पनि हुनसक्छन्। मानिसको हृदय र दिमागमा के चलिरहेको छ भनी हामीले देख्न सक्दैनौं। मानिस आत्मिक झैं देखा पर्न सक्छ, तर उसको हृदय र दिमाग ठीक नहुन सक्छ र उसको सोचाइ भ्रष्ट हुन सक्छ।)

शरीरका कामहरू अकसर प्रकट र दृश्यमान हुन्छन्। गलाती ५:१९-२१ को सूची हेर्नुहोस्। यदि तपाईं व्यभिचारको दोषी हुनुहुन्छ र आफ्नो श्रीमान वा श्रीमती प्रति विश्वासयोग्य हुनुहुन्न भने, तपाईं आत्माले भरिनु भएको छैन भनी तपाईंले निर्धक्कतासाथ भन्न सक्नुहुन्छ। यदि तपाईं कतै गएर मत्त हुनुभएको छ भने (२१ पद), तपाईं आत्माले भरिएको हुनुहुन्न (एफेसी ५:१८ सित पनि तुलना गर्नुहोस्)। यदि तपाईं शरीरमा हिँडिरहनुभएको छ भने, तपाईं आत्माले भरिएको हुनुहुन्न। यी दुई एक अर्काको विरोधमा छन्। शरीरले केही कुराहरू फलाउँछ; आत्माले केही कुराहरू फलाउँछ, र जब तपाईंले परिणामहरू देख्नुहुन्छ, तब स्रोत पनि स्पष्ट हुनेछ।

यदि विश्वासी आत्मामा हिँडिरहेको छ भने र यदि परमेश्वरका आत्माले उसलाई चलाइरहनुभएको छ भने, परिणाम के हुन्छ? “तर ____________को ___________ हो, प्रेम, आनन्द, मिलाप इत्यादि” (गलाती ५:२२-२३)। परमेश्वरका आत्माले फलाउनुहुने फल यही हो र हामीले यस फलको पहिचान गर्न सक्नुपर्छ, पहिले हाम्रो आफ्नै जीवनमा, र अरूहरूको जीवनमा पनि। आत्माको पूर्णताचाहिँ आत्माको फलबाट प्रमाणित हुन्छ। फल छैन भने, भरिने कार्य पनि हुँदैन। भरिने कार्यको परिणामचाहिँ फल हो, अर्थात् त्यो फल जुन परमेश्वरले मात्र फलाउन सक्नुहुन्छ।

फल सजिलै देखिने र दृश्यमान कुरा हो। अङ्गुर, स्याउ र नासपातीहरू सजिलै देखिन्छन्। फल भनेको गोप्य कुरा होइन, यो खुल्ला कुरा हो। आखाहरूले ती देख्छन् र ती सबैको सामु प्रकट छन्। “त्यसरी नै तिमीहरूको ____________ मानिसहरूको सामु चम्कोस्, र तिनीहरूले तिमीहरूका असल कामहरू ___________, अनि स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्” (मत्ती ५:१६)।

चेलाहरूले आत्माले भरिएका डिकनहरू वा सेवकहरू छान्नुपर्थ्यो, र आत्मिक रूपमा छुट्याउन सक्ने क्षमता भएकाहरूका लागि यो गुण अति स्पष्ट भएको हुनुपर्छ।

एफेसी ५:१८ को सन्दर्भ

एफेसी ५:१८ मा आत्माले ____________ होओ भन्ने महत्त्वपूर्ण आज्ञा पाउँछौं। हाम्रो अघिल्लो पाठमा यसको बारेमा विस्तृत अध्ययन गरिसक्यौं। आत्माले भरिनुका परिणामहरू निम्न पदहरूमा देखिन्छन्। यदि विश्वासीजन साँच्चै आत्माले भरिएको छ भने, उसको जीवनमा के-के कुराहरू वास्तविक हुनुपर्छ? आत्माको भरिपूर्णता कसरी स्पष्ट हुन्छ?

एफेसी ५:१९

ध्यान दिनुहोस्, यहाँ यसो भनिएको छैन, “आत्माले भरपूर होओ, आफैंसँग अन्यभाषाहरूमा वा अनौठा परमानन्ददायक उच्चारणहरूमा बात गर।” अन्यभाषाहरूमा बोल्नु भनेको आत्माले भरिएको कुराको प्रमाण हो र अन्यभाषामा नबोल्ने मानिस आत्माले भरिएको छैन भनी क्यारिज्म्याटिक विचारधारा भएकाहरूले सिकाउँछन्। बाइबलले यस्तो सिकाउँदैन।

एफेसी ५:१९ ले के सिकाउँछ? जब परमेश्वरले नियन्त्रण गर्नुहुन्छ, उहाँले हृदयमा गीत दिनुहुन्छ। आत्माले भरिएको विश्वासी आनन्दित विश्वासी हो। भरोसा गर्ने विश्वासीको हृदयभित्र सुन्दर सङ्गित उत्पन्न गर्नुहुने गुरु-सङ्गितकार पवित्र आत्मा नै हुनुहुन्छ। तपाईंले स्वरलिपिमा गाउन नसक्नुहोला, त्यसले केही फरक पार्दैन। तपाईंले गायन समूहमा गाउन नसक्नुहोला। स्वरलिपिमा मिलाएर गाउन नसक्ने विश्वासीहरू पनि हुन्छन् तर प्रभुको निम्ति उनीहरूले आ-आफ्ना हृदयहरूमा गाउन सक्छन्। आत्माको फल हो आनन्द, र आत्माले भरिएको विश्वासी घोर परिक्षाहरू भएर जानु परे तापनि भजन गाउन र प्रभुमा सधै आनन्द गर्न सक्छ। प्रभुले रातमा गीतहरू दिनुहुन्छ!

एफेसी ५:२०

आत्माले भरिएको विश्वासी एक धन्यवादी विश्वासी हो। यदि तपाईं धन्यवादी हुनुहुन्न भने, तपाईं आत्माले भरिएको हुनुहुन्न। परमेश्वर नै नियन्त्रक हुनुभएको र उहाँले नै हाम्रो जीवनको गाडीलाई डोर्याउँदै गर्नुभएकोले हामी कति धन्यवादी हुन सक्छौं। हाम्रो जीवनमा आइपर्ने हरेक कुराहरूमाथि उहाँ नै हुनुहुन्छ र सबै कुराहरूलाई मिलाएर हाम्रा निम्ति भलाइ उत्पन्न गराउन सक्नुहुन्छ भन्ने कुरामा हामी कति धन्यवादी हुन सक्छौं।

एफेसी ५:२१ र त्यसपछिका पदहरू

परमेश्वरले अधीनतामा सुम्पने हृदय खोजिरहनुभएको छ। हरेक विश्वासीले आफूलाई उहाँको अधीनतामा सुम्पिनुपर्छ। श्रीमतीहरूले आफूलाई आफ्ना श्रीमानको अधीनतामा सम्पिनुपर्छ। नानीहरूले आफूलाई आफ्ना बाबुआमाहरूको अधीनतामा सुम्पनुपर्छ। दासहरूले आफूलाई आफ्ना मालिकको अधीनतामा सुम्पनुपर्छ। आत्माले भरिएको र अधीनतामा सुम्पने विश्वासीलाई भेट्न मैले कहाँ हेर्नुपर्छ? शनिबारको मण्डली सभामा होइन जब सबैजनाले आफ्नो सर्वोत्कृष्ट व्यवहार देखाउन खोजिरहेका हुन्छन्। क्यारिज्म्याटिक स्तुति प्रशंसाको भागमा होइन जब सबैजना आत्मिक रूपले उच्च भएको जस्तो देखिन्छ। मूल्याङ्कन गर्ने सर्वोत्तम तरिका भनेको हप्ताभरि एउटा विश्वासी जहाँ-जहाँ हुन्छ, त्यहीँ हर्नु हो। उदाहरणको निम्ति: मालिकको दिन खराब चलिरहेको बेलामा विश्वासी कामदारले कस्तो प्रतिकृया देखाउँछ? जब दिनभरीको लामो र गाह्रो काम सिद्धाएर श्रीमान घरमा आइपुग्छन्, तब आफ्नो श्रीमती र नानीहरूसँग व्यवहार गर्दा के उनी पवित्र आत्माको प्रभाव र अधिकार मुनि रहेको देख्न सकिन्छ? श्रीमती पनि, नानीहरूसँग चुनौतीपूर्ण दिन बिताएपछि, जब तिनी पूरै थकित हुन्छिन्, र तिनको श्रीमान ठूस्स मुद्रामा घर आउँछन् र खानाको बारेमा गनगन गर्छन्, तब श्रीमतीले कस्तो व्यवहार गर्छिन्? के उनी सहनशील हुन्छिन् (“आत्माको फल हो...सहनशीलता) वा उनी कुनै पहाड पड्के जस्तो पड्किन्छिन्? त्यसैले आत्माले भरिएको कुरा देखिने ठाउँचाहिँ घर, कार्यालय हो।

वचन बोल्न साहस

पछि के होला भन्ने कुनै डर नराखी परमेश्वरको वचन बोल्न साहस राख्नुचाहिँ आत्माले भरिने कार्यको अर्को प्रमाण हो। हामी यो कुरा प्रेरितको पुस्तकमा घरी-घरी पाउँछौं।

प्रेरित १:८ गवाही भनेको कुनै वाणआकार (कुनै चित्रमा बनाइएको वाण) जस्तै हो। वाणआकार आफैंचाहिँ देखिन रुचाउँदैन तर उसले अन्य कुनै वस्तुलाई नै देखाउन चाहन्छ। वाणआकारले यसो भन्दछ, “मलाई नहेर; मैले देखाएको कुरालाई हेर।” पवित्र आत्माले विश्वासीलाई उहाँको गवाही हुने, जीवनले र बोलीले ख्रीष्टलाई देखाउने सामर्थ्य दिनुहुन्छ।

प्रेरित ४:३१ तिनीहरू सबै पवित्र आत्माले _____________, फलस्वरूप के भयो? तिनीहरूले _______________को _________ ___________सित बोले। तिनीहरू ख्रीष्टका साहसिलो गवाही बने। उहाँको बारेमा बोल्न र मानिसहरूको माझ असल खबर बाँड्न उनीहरू डराएका थिएनन्। अनि उनीहरूको साहसिक कार्य निकै मूल्यवान थियो। साहससाथ सुसमाचार प्रचार गरेकोमा उनीहरू सजिलै झ्यालखानामा पनि पुग्न सक्थे। वास्तवमा, यी विश्वासीहरूले गरेका निडर प्रचारको कारणले भर्खरै मात्र झ्यालखाना पुगेका थिए, र पाँच अध्यायमा उनीहरू पुन: झ्यालखानामा पुग्नेछन्।

प्रेरित ४:८-१२ पत्रुसको साहसिक सन्देशलाई यसरी बताउन सकिन्छ, “तिमीहरूले उहाँलाई क्रूसमा टाङ्ग्यायौ! तिमीहरूले परमेश्वरका चट्टानलाई इन्कार गर्यौ! तिमीहरूले एकमात्र मुक्तिदाताको हत्या गर्यौ!” आत्माले भरिएको फलस्वरूप त्यहाँ निकै साहसिलो र निडर प्रचार कार्य भयो।

प्रेरित १३:९-१० पावलमा सुसचामारका शत्रुहरूको सामना गर्ने साहस थियो।

प्रेरित ७:५५ स्टिफनसमा सतावटको बीचमा पनि साहस थियो, र तिनी ढुङ्गाले हानिएर मारिनलाग्दा समेत तिनमा दृढता थियो।

मण्डली इतिहासबाट एउटा उदाहरण

१६औं सताब्दीको मध्यतिर बेलायतमा भएको प्रोटेस्टेन्ट रिफर्मेशनमा थोमस क्र्यान्मर (Thomas Cranmer) नामका एकजना प्रमुख व्यक्ति थिए। १५५५ मा तिनी रोममा भएको रोमन क्याथोलिक चर्चद्वारा बहिष्कृत गरिए। बिस्तारै दवाव बढ्दै गएपछि क्र्यान्मर कमजोर भए र उनले ख्रीष्टिय विश्वासलाई इन्कार गर्ने एउटा कागजातमा हस्ताक्षर समेत गरे। जीवनको यस घडीमा उनले आफ्ना आँखाहरू प्रभुबाट अन्तै लगाए, र उनी आत्माले भरिएका थिएनन् भनी भन्नु गलत हुँदैन। तरैपनि केहि समय पछि, उनले आफ्नो उक्त इन्कारलाई त्यागे र उनले सो कार्य उनलाई प्राणदण्ड दिनेहरूले समेत बिर्सन नसक्ने तरिकाले गरे। रानी मेरीद्वारा (Queen Mary, जो अति कठोर क्याथोलिक थिइन् र जसले झण्डै ३०० मानिसहरूलाई जलाइन दिए, त्यसैले उनले “रक्ताम्मे मेरी” वा “Bloody Mary” को उपाधि नै पाइन्) उनलाई जलाइने आज्ञा दिइएयो । क्रयान्मरले आफ्नो अघिल्लो इन्कारलाई त्यागे र पुन: एकपटक अति सामर्थी शब्दहरूमा ख्रीष्टमा रहेको आफ्नो विश्वासको घोषणा गरे। रिफर्मेशनका सिद्धान्तहरूलाई इन्कार गरेको कुराप्रतिको आफ्नो भावनालाई तिनले प्रभावशाली ढङ्गले देखाए। इन्कारपत्रमा हस्ताक्षर गरेको हातलाई तिनले आगोमा त्यो पूरै जलेर खरानी होउन्जेल दृढतापूर्वक राखिरहे। त्यसपछि आगोले तिनको शरीरलाई जलाइदियो र तिनी एक शहीदको मृत्यु मरे। आत्माले नभरिएको भए तिनले यस्तो प्रकारको मृत्युलाई सहन सक्ने थिएनन्। क्र्यान्मरले पत्रुसले झैं पनि प्रभुलाई इन्कार गरे तर पछि उनी सुन्दर ढङ्गले पुनर्स्थापित भए।

विश्वास

प्रेरित ११:२४ बर्नबास “प___________ आ__________ र वि___________ भरपूर थिए।” आत्माको भरपूरी र विश्वास दुवै सँग-सँगै हुन्छन्। जब परमेश्वर नियन्त्रक भइ रहनुहुन्छ, विश्वासीको हृदयले महान् परमेश्वरमाथी भरोसा र विश्राम गरिरहेको हुन्छ। “भर पर्छु ख्रीष्टको वचनमा, त्यो लिखित वचनमा।” आत्माले भरिएको विश्वासी आफ्नो विश्वासको कारणले चिनिएको हुन्छ, शारीरिक विश्वासी उसको अविश्वास, परमेश्वरलाई विश्वास गर्न ऊ चुकेको कारणले चिनिएको हुन्छ। आत्माले भरिएको विश्वासी विश्वासको ढाल र आत्माको तरवार, अर्थात् परमेश्वरको वचनद्वारा सुरक्षित हुन्छ।

पवित्र आत्माको सेवकाइ

“उहाँले मेरो महिमा गर्नुहुनेछ; किनभने जे मेरो छ, त्यहीबाट उहाँले प्राप्त गर्नुहुनेछ र तिमीहरूलाई बताइदिनुहुनेछ” (यूहन्ना १६:१४)। पवित्र आत्मा परमेश्वरको मूल सेवकाइ नै पुत्रलाई महिमा गर्नु र परमेश्वरका पुत्रलाई उचाल्नु हो। परमेश्वरको आत्माले मेरो जीवनमा काम गर्नुहुँदा, त्यहाँ के-कस्ता परिणामहरू हुनेछन्? प्रभु येशू ख्रीष्ट र उहाँको वचन बाइबल मेरो निम्ति झन् मूल्यवान हुनेछ। आत्माले भरिएको मानिस उही हो जो ख्रीष्टले भरिएको हुन्छ—उहाँद्वारा वास गरिएको, उहाँमा आनन्दित भइरहेको, उहाँमा विश्राम गरिरहेको, उहाँमा भर परिरहेको। ख्रीष्ट केन्द्रित मानिस आत्माले भरिएको मानिस हो; स्व-केन्द्रित मानिस शरीरमा हिँडिरहेको मानिस हो। शरीरले आफ्नै महिमा खोज्छ; आत्माले ख्रीष्टको महिमा खोज्नुहुन्छ।

रोमी १४:१७

कुन कुरा महत्त्वपूर्ण छ र कुन कुरा त्यती महत्त्वको छैन भन्ने कुरालाई देख्न हामी कहिल्यै पनि चुक्नुहुँदैन। यदि विश्वासीले आफ्नो सङ्गी विश्वासीलाई प्रेम गरेकोले बुङ्गुरको मासु खाँदैन भने, उसले कुनै महत्त्वपूर्ण कुरा गुमाइरहेको वा बलिदान दिइरहेको हुँदैन। तपाईंले म: म: खानुहुन्छ वा खानुहुन्न भन्ने कुरा महत्त्वपूर्ण होइन। तरैपनि, यदि तपाईंले परमेश्वरको आनन्द वा परमेश्वरको शान्ति गुमाइरहनुभएको छ भने, यो अति ठूलो चासोको कुरा हो किनभने तपाईंलाई निरन्तर आत्माले भरिने आज्ञा दिइएको छ (एफेसी ५:१८ र गलाती ५:२२-२३ तुलना गर्नुहोस्)। पेटभित्र जाने खाना होइन तर परमेश्वरद्वारा फल्ने फल वास्तवमै महत्त्वपूर्ण कुरा हो।

सामान्य अर्थमा “परमेश्वरको राज्य” भनेको परमेश्वरले शासन गर्नुहुने हरेक ठाउँ हो। भविष्यमा परमेश्वरले वास्तवमै यस पृथ्वीमा शासन गर्नुहुनेछ। त्यस समयमा:

संसारमा धार्मिकता वास्तविक हुनेछ (यर्मिया ३३:१५)।
संसारमा शान्ति वास्तविक हुनेछ (यशैया ९:६-७)।

संसारमा आनन्द वास्तविक हुनेछ (यशैया ६५:१८-१९; “संसार रमाओ” भन्ने भजनलाई तुलना गर्नुहोस्, जुनचाहिँ उहाँको दस्रो आगमनको बारेमा लेखिएको भजन हो, यसले ख्रीष्टको पहिलो आगमन भन्दा दोस्रो आगमनलाई वर्णन गर्दछ)। मत्ती २५:२१,२३ ले पनि राज्यमा पस्न लागेकाहरूलाई यी शब्दहरूले सम्बोधन गर्दछ, “आफ्ना प्रभुको आनन्दभित्र प्रवेश गर।”

परमेश्वरले आज कहाँ शासन गर्नुहुन्छ? उहाँले विश्वासीहरूका हृदयहरूभित्र शासन गर्नुहुन्छ। पहिलो पटक ख्रीष्ट मानिसहरूका हृदयमा काम-कुराहरू ठीकठाक पार्न आउनुभयो। दोस्रो पटक ख्रीष्ट संसारका काम-कुराहरू ठीकठाक पार्न आउनुहुनेछ। आज धार्मिकता, शान्ति र आनन्द हाम्रो संसारमा वास्तविक भएका छैनन्, तर ती कुराहरू आत्माको फलको माध्यमद्वारा हाम्रा जीवनहरूमा वास्तविक बन्न सक्छन् (गलाती ५:२२-२३, “प्रेम, आनन्द, मेलमिलाप (वा शान्ति)”। के धार्मिकता आत्माको फल हो? एफेसी ५:९ र फिलिप्पी १:११ पढ्नुहोस्। “ओहो, ती दिनहरू जब यस पृथ्वीमा धार्मिकता र प्रेमले राज्य गर्नेछन्! तर अधर्मको इन्साफ गर्न र न्यायलाई स्थापित गर्न धर्मी जन फर्की नआउन्जेल यस्तो हुनेछैन। आधारहीन विश्वास नगर्नुहोस्, तर यसको बारेमा शास्त्रहरू पढ्नुहोस्। यति मात्र सम्झनुहोस्, कि पवित्र आत्मा तपाईं विश्वासीभित्र हुनुहुन्छ, र उहाँले अहिले नै, तपाईंभित्र राज्यका कुराहरू पूरा गर्नुहुनेछ।” (विलियम नेवेल, ओल्ड टेस्टमेन्ट स्टडिज, भोल्यूम १, पृ २१९)।

आत्माले भरिनुका परिणामहरू मेरा जीवनमा पाइँदैनन् भने आफैंलाई सोध्नुपर्ने प्रश्नहरू

के मेरो जीवनमा स्वीकार नगरिएका पापहरू छन्? अरूहरूलाई स्वीकार गर्नुपर्ने कुनै पाप छ कि?

के म कुनै निश्चित पापहरूमा लागिरहेर आत्मालाई शोकित पार्दैछु? कुनै पापपूर्ण अभिलाषाहरूलाई राखिरहेको छु?

मेरा कुनै बानीहरूले प्रभुलाई खुशी पर्दैनन् भनी थाह हुँदा हुँदै पनि, के म त्यसैमा टाँसिरहेको छु?

के म हरेक दिन शास्त्रहरूमा खोजी गर्दै र प्रर्थना गर्दै प्रभुसित समय बिताइरहेको छु?

के मैले मेरो फुर्सतका समयहरूलाई प्रभुसितको हिँडाइलाई उन्नति गराउने किसिमले प्रयोग गरिरहेको छु कि मैले अधिकांश समय मेरो शरीरका इच्छाहरू पूरा गर्ने किसिमले टेलिभिजनमा वा कम्प्यूटरमा बिताइरहेको छु?

के म आत्मामा हिँडिरहेको छु? के म उहाँको सहायता र योग्यताको लागि प्रभुमा भर परिरहेको छु कि म आफैंले सबै असल गर्ने विचारले दिन बिताइरहेको छु? के मेरो खाँचोको निम्ति म उहाँमा भर परिरहेको छु कि म आफ्नै कुराहरूमा भर परिरहेको छु? उहाँबिना मैले केही पनि गर्न सक्दिनँ भनी के मैले महसुस गरेको छु? परमप्रभुले नै घर निर्माण गर्नुभएन भने ता यसको निर्माण गर्नेहरूले व्यर्थमा यसमा परिश्रम गर्दछन् भनी के मैले महसुस गरेको छु? न मेरो बलद्वारा, न मेरो शक्तिद्वारा, तर केवल आत्माद्वारा र उहाँद्वारा भन्ने के मैले महसुस गरेको छु?

के म आत्मालाई निभाउँदैछु? के मैले मेरो जीवनमा परमेश्वरको कामलाई वाधा दिँदैछु? के मैले परमेश्वरको इच्छालाई “हस्” भन्न नकारिरहेको छु? परमेश्वरको इच्छा जे सुकै भए तापनि त्यो पूरा गर्न के म इच्छुक छु? के मेरो जीवनमा मैले परमेश्वरलाई समर्पण नगरेका कुनै क्षेत्रहरू छन्? के उहाँले मेरा सम्पूर्ण कुराहरूमाथि अधिकार गर्नुभएको छ कि मैले केही कुराहरू उहाँदेखि रोकिराखेको छु? के म हरेक दिन उहाँमा समर्पित हुँदै यसो भन्छु, “प्रभु, म यहाँ छु, मलाई बनाउनुहोस्, भर्नुहोस्, चलाउनुहोस्”?