पास्टरको अधिकारको सीमा

यस पृष्ठलाई छाप्नुहोस्

डेविड क्लाउड

कजना पास्टरसित त्यतिमात्र अधिकार हुन्छ जति निजलाई परमेश्वरद्वारा प्रत्यायोजित गरिएको हुन्छ। ख्रीष्टियनहरू आँखा चिम्लेर मण्डली अगुवाको अधीनमा बस्नुपर्छ भनेर बाइबलले कतै बताएको छैन, तर परमेश्वरबाट बोलाइएका, परमेश्वरको वचनअनुसार नेतृत्व गर्दै गरेका, बाइबलअनुसारको योग्यता भएका पुरूषहरूको अधीनमा भने बस्नुपर्छ। जसरी प्रेरित पावलले भने, "जसरी म ख्रीष्टको देखासिकी गर्दछु, उसरी नै तिमीहरू पनि मेरो देखासिकी गर्ने होओ" (१ कोरिन्थी ११:१)। पावलले अरूहरूलाई उनको देखासिकी गर्नू भनी माग गर्न सक्थे किनभने उनी आफै ख्रीष्टको देखासिकी गर्दैथिए र ख्रीष्टले सुम्पनुभएको सन्देशलाई उनले विश्वासयोग्य भई प्रचार गर्दैथिए। यसभन्दा बाहिर पावलसित समेत कुनै अधिकार थिएन। उनले अरू कुनै सुसमाचार प्रचार गरेको खण्डमा उनलाई इन्कार गरिनुपर्छ भनेर उनले गलातीयाका मण्डलीहरूलाई चेतावनी दिए (गलाती १:८)। उनका आफ्‍नै सहयोगीहरूसित कामकुरा गर्ने सम्बन्धमा समेत पावलको अधिकार असीम वा प्रश्नै गर्न नमिल्ने खालको थिएन। अपोल्लोस सेवकाइ गर्न कोरिन्थमा गइदिऊन् भनी पावलले "खूबै अनुरोध" गर्दा, अपोल्लोसले मान्न अस्वीकार गरेका थिए (१ कोरिन्थी १६:१२)।

पास्टरको अधिकार निम्न तरिकाले सीमित हुन्छ:

१) पास्टरको अधिकारलाई बाइबलले सीमित गर्छ। हिब्रू १३:७ ले ख्रीष्टियनहरूले त्यस्ता व्यक्तिहरूको अधीनमा आफूलाई सुम्पनुपर्छ भनेको छ जोहरूले परमेश्वरको वचन सुनाएका छन्। आफैमा पास्टरसित अधिकार हुँदैन; निजको अधिकार परमेश्वरको वचनमा हुन्छ। एउटा पास्टर वा शिक्षक यदि बाइबलदेखि भड्कन्छ भने निजलाई पछ्याउन उनका कुरा सुन्नेहरूको कुनै जिम्मेवारी हुँदैन किनकि निजले आफ्‍नो अधिकारको सीमा नाघिसकेको छ। बेरियालीहरूले एउटा मान्छेलाई आँखा चिम्लेर पछ्याउनुको सट्टा पावलको प्रचारलाई होशियारपूर्वक जाँचेका हुनाले उनीहरूको तारिफ गरिएको छ (प्रेरित १७:११)। परमेश्वरका जनहरूलाई "सबै कुरा जाँच" (१ थेस्सलोनिकी ५:२१) भनेर शिक्षा दिइएको छ। प्रत्येक प्रवचन त्यसलाई सुन्नेहरूद्वारा जाँचिनुपर्छ (१ कोरिन्थी १४:२९)। सदस्यहरूको जीवनका एक-एक कुरामा अधिकार चलाउनलाई पास्टरसित अधिकार हुँदैन। तिनीहरू प्रभुका जनहरू हुन्, पास्टरका होइनन्। उनी केवल एक नम्र अधीनस्थ गोठाला मात्र हुन् जसले केही समयका लागि प्रभुको बगालको देखरेख गर्दैछन्। ती जनहरूसित परमेश्वरका आत्मा अन्तरवास गर्नुहुन्छ अनि उहाँ नै उनीहरूका शिक्षक हुनुहुन्छ। "तर जुन अभिषेक तिमीहरूले उहाँबाट पाएका छौ, त्यो तिमीहरूमा रहिरहन्छ, र कुनै मानिसले तिमीहरूलाई सिकाउने खाँचो छैन; तर जसरी यही अभिषेकले तिमीहरूलाई सबै कुराको विषयमा सिकाउँछ; र यो सत्य हो, अनि झूटा होइन; र जसरी यसले तिमीहरूलाई सिकाएको छ, उसरी नै तिमीहरू उहाँमा रहिरहो" (१ यूहन्ना २:२७)।

२) पास्टरको अधिकार निजको ईश्वरीय बोलावटमा र निजको ईश्वरीय योग्यताहरूमा भर पर्ने कुरा हो (प्रेरित २०:२८; १ तिमोथी ३; तीतस १:५)। एफेससको मण्डलीमा केही व्यक्तिहरूलाई एल्डरहरूको स्थानमा राख्नुहुने पवित्र आत्मा हुनुहुन्थ्यो। आत्मिक अधिकारको आधारशिला नै यही हो। ख्रीष्टियनहरू ती पुरूषहरूको मात्र अधीनमा बस्न जिम्मेवार हुन्छन् जोहरूले आफूहरू परमेश्वरबाट बोलाइएको कुराको सुस्पष्ट प्रमाण दिन सक्छन्। पास्टरका योग्यताहरू १ तिमोथी ३ र तीतस १ मा प्रस्टै उल्लेख गरिएका छन्। धेरैजना व्यक्तिहरू पास्टरीय अधिकार प्रयोग गर्न अयोग्य छन् किनकि तिनीहरूका पत्नीहरू आत्मिक छैनन् वा तिनीहरूका छोराछोरीहरू अनुशासनहीन छन् वा समाजमा उनीहरूको लोभी चरित्र वा व्यभिचार वा रिसाउने बानी वा बाइबलमा प्रस्ट गरी उल्लेख गरिएको अन्य अरू कुराको कारण उनीहरूको राम्रो गवाही छैन।

दाजुभाइहरूहो, हामीले आफूहरूलाई ईश्वरीय, योग्य पास्टरहरूको अधीनमा सुम्पनुपर्छ जोहरूले मण्डलीहरूलाई परमेश्वरको वचनअनुसार अगुवाइ गर्दैछन्। धेरैजना असल र नम्र पास्टरहरू आज निरुत्साहित छन् र तिनीहरूका हातहरू उनीहरूका जनहरूका विश्वासयोग्यता र प्रार्थनाहरूद्वारा उठाइनु आवश्यक छ। कुनै शङ्कास्पद कुराको सवालमा हामीले पास्टरहरूलाई सधैं निर्दोष नै ठान्नुपर्छ जबसम्म उनीहरूले परमेश्वरको वचनलाई प्रत्यक्ष रूपमा उल्लङ्घन गरी नेतृत्व गर्न खोजिरहेको भेटिँदैन। त्यसो नगर्नु त विद्रोह र गडबड हो। तर हामी ती व्यक्तिहरूको विषयमा सचेत हुनुपर्छ जोहरूले अबाइबलीय कल्ट-चरित्रको पास्टरीय अधिकार चलाउँछन्, चाहे जुनसुकै साम्रदायको बिल्ला उनीहरूले लगाएको किन नहोस्। यही डियोट्रेफेस (३ यूहन्ना ९) मानसिकताले गर्दा नै इतिहासमा आर्चविशपहरू र कार्डिनलहरू र पोपहरू भएको रोमन क्याथोलिक मण्डलीको निर्माणमा टेवा पुग्न गएको हो।