विविध

यस पृष्ठलाई छाप्नुहोस्

१) येशू ख्रीष्टको दोस्रो आगमनमा यस संसारमा नै १००० वर्ष राज्य गर्नुहुन्छ अनि स्वर्ग उठाइएको मण्डलीहरू पृथ्वीमा येशूसाथ आउँछन् कि स्वर्गमा बस्छन्?

येशू ख्रीष्टसँगै फेरि आउँछन्। प्रकाश १९:१४; प्रकाश १:६ लाई २०:६ सित तुलना गर्नुहोस्।

२) मण्डलीमा ६ महिना, ३ महिना अनुशासनमा राख्छन्। त्यसैले बाइबलअनुसार अनुशासन भनेको के हो? किन बस्ने? कसरी बस्ने? बस्दा के हुन्छ? नबस्दा के हुन्छ? त्यसैले अनुशासनको बारेमा परमेश्वरको वचनबाट प्रस्ट पारिदिनुहोला।

मण्डलीले आफूमध्येबाट कसैलाई सार्वजनिक प्रकारको पापको कारण "न्याय" (१ कोरिन्थी ५:१२) अथवा अनुशासन गर्नुपर्ने हुन्छ र उसलाई मण्डलीदेखि अलग राख्‍नुपर्ने परिस्थिति पनि आउने गर्छ जसरी १ कोरिन्थी ५:१-१३ मा विभिन्न त्यस्ता पापको उल्लेख छ। २ थेस्सलोनिकी ३:६,१४ मा पनि हेर्नुहोस्। समयावधि बाइबलमा नतोकिएकोले मण्डलीले परिस्थिति हेरीकन, प्रार्थनापूर्वक व्यवहार गर्नुपर्ने हुन्छ।

३) प्रभुले मण्डलीलाई उठाउनुहुँदाखेरि ककसलाई उठाउनुहुन्छ? (जीवित मण्डली, मरेका मण्डली वा दुवैलाई उठाउनुहुन्छ?

प्रभु येशू विश्वासीहरूलाई लिन आउनुहुँदा (यूहन्ना १४:३; १ थेस्सलोनिकी ४:१६-१७) सबै साँचोविश्वासीहरू उठाइन्छन्। कुनै पनि स्थानीय मण्डलीमा सबै नै सदस्यहरू साँचो विश्वासी हुन्छन् भनेर भन्नसकिन्न (दाँज्नुहोस् प्रेरित ८:२३; २०:३०; २ पत्रुस २:१; यहूदा ४)। नयाँ गरी जन्मेको (यूहन्ना ३:३,५; तीतस ३:५) प्रत्येक विश्वासी साँचो विश्वासी हो (हाम्रो वेबसाइटमा "के तपाईं साँचो विश्वासी हुनुहुन्छ" भन्ने लेख पढ्न सक्नुहुन्छ)। यस घटनालाई "र्‍याप्चर" भन्ने चलन छ।

४) येशू ख्रीष्टको १००० वर्ष राज्यमा ककसले उहाँसँग राज्य गर्नेछन् अथवा सहभागी हुन पाउनेछन्? उठाइसकेको मण्डलीले पाउने कि नपाउने किनभने यो त स्वर्ग गइसकेको हुन्छ? अनि पुरानो नियममा मरेका विश्वासीहरू जस्तै (आदम, नूह, मोशा आदि) ले पाउने कि नपाउने? अनि सङकष्टकालमा मरेका विश्वासीहरूले?

प्रभु येशूसँग स्वर्गमा उठाइसकेको मण्डली युगका विश्वासीहरू ७ वर्षपछि फेरि उहाँसँगै संसारमै फर्कीआउनेछन् (प्रकाश १९:१४)। पुरानो नियमका विश्वासीहरूको बौरिउठाइ पनि ७ वर्षको सङ्कष्टकालपछिहुनेछ (दानियल १२:१-२)। साथै सङ्कष्टकालमा मरेका विश्वासीहरूको बौरिउठाइ पनि त्यसैबेला हुनेछ(प्रकाश २०:४)। यसरी सबै बिगतका युगका विश्वासीहरू हजार वर्ष राज्यमा भाग पाउनेछन्।

५) येशू ख्रीष्टको १००० वर्ष राज्य सिद्धिएपछि के हुन्छ?

हजार वर्ष राज्यको अन्तमा शैतान थोरै समयको लागि उसको १००० वर्ष लामो कैदबाट छोडिनेछ(प्रकाश २०:२, ७)। उसले हजार वर्षको राज्यमा पार्थिव जन्म लिएका तर साँचो गरी विश्वासनगरेकाहरूलाई प्रभुको विरोधमा सुर्‍याउनेछ र शैतान र मानिसको अन्तिम विद्रोह हुनेछ तर अवश्यसफल हुनेछैन; विद्रोही मानिसहरू भस्म पारिन्छन् र शैतान आगो र गन्धको झीलभित्र फ्याँकिन्छ (प्रकाश२०:८-१०)। त्यसपछि ठूलो सेतो सिंहासनको न्याय हुनेछ जसमा अविश्वासीहरू मात्र हुनेछन् र उनीहरूकोअन्त पनि आगोको झी नै हुनेछ (प्रकाश २०:११-१५)। त्यसपछि पृथ्वी र आकाश बितेर जानेछ (प्रकाश२१:१; २ पत्रुस ३:१२) र परमेश्वरले नयाँ आकाश र नयाँ पृथ्वीको सृजना गर्नुहुनेछ (प्रकाश २१:१; २पत्रुस ३:१३) र अनन्तताको शुरुआत हुनेछ जसमा कहिल्यै श्राप हुनेछैन।

६) हजुरले कृपया येशू ख्रीष्टको जन्मदेखि लिएर दोस्रो आगमन, अनि मण्डली उठाइ, सङ्कष्टकाल, १००० वर्षको राज्य अथवा (येशू ख्रीष्टको जन्मदेखि लिएर १००० वर्षको राज्यपछि) सम्मका कुरालाई एउटा चार्ट वा चित्र बनाएर पठाइदिनुहोला जसले गर्दा बुझ्न अझ सजिलो पर्ने थियो। अनि यसमा पदहरू पनि लेखेर पठाइदिनुहोला दाई।

एउटा चार्ट यहाँ पठाइदिएको छु -- यसले पनि काम देला कि।

७) के हामी विश्वासीहरू आर्मीमा जानु हुन्छ कि हुँदैन?

आर्मीमा जान सकिन्छ तर मूर्तिपूजाबाट अलग रहनुपर्छ। सरकारलाई जनताका भलाइका निम्ति तरवार भिर्नेअधिकार दिइएको छ (रोमी १३:१-७)।

८) येशू ख्रीष्टलाई साँचो विश्वास नगरीकन कोही पनि स्वर्ग जान सक्दैन तर हाम्रा जिज्यूबाजेहरूले येशू ख्रीष्टको नाउँ समेत सुनेका छैनन्, बाइबल पनि थाह छैन उनीहरू मरे अब स्वर्ग जान्छन् कि नरक जान्छन्?

हाम्रो पुर्वजहरूलाई, संसारका सबै मानिसहरूलाई जस्तै, सृष्टि (रोमी १:१८-३२) र विवेकको (रोमी २:१-१६) प्रकाश दिइएको थियो; त्यसकै आधारमा उहाँहरूको न्याय हुनेछ। अब्राम मूर्तिपूजाकै देशमा जन्मेका थिए तर उनलेमूर्तिपूजा नगर्ने निर्णय गरे। हाम्रै देशको तीर बहादुर देवानको जीवनी पढ्नुभएको छ भने कसरी मूर्तिपूजकहरूकोबीचमा समेत सत्य परमेश्वरको चाहना हुन सक्दछ भन्ने कुरा बुझ्न मदत मिल्नेछ।

९) एकजना मान्छे दुर्घटनामा पर्‍यो उसको एउटा हात गयो। त्यसपछि केही समयपछि मर्यो अनि प्रभुको आगमनमा उसको बौरिउठाइ हुँदा हात भएको हुन्छ कि नभएको हुन्छ?

बौरिउठाइको शरीरसित वर्तमान शरीरको खासै सरोकार छैन भन्ने कुरा म बुझ्दछु -- हेर्नुहोस् १ कोरिन्थी १५:३७। बरु विश्वासीको बौरिउठाइको शरीर ख्रीष्टको जस्तै महिमित हुनेछ भनिएको छ (फिलिप्पी ३:२१)।

१०) मर्कूकस ९:१ मा येशू ख्रीष्टले भन्नुभएको भनाइ यहाँ उभिएका कतिजनाले परमेश्वरको राज्य नदेखुन्जेल मृत्युको स्वाद चाख्नेछैन। के यिनीहरू अझै जीवित छन् र? मलाई प्रस्ट पारिदिनुहोला।

मर्कूस ९:१ बुझ्नलाई ९:२ र त्यसपछिका पदहरू पढ्नुपर्छ। ९:१ को ६ दिनपछि उहाँका तीनजना चेलाले उहाँको परमेश्वरको राज्यको सामर्थ्यको झलक पाए जब प्रभु येशूको रूप उनीहरूको सामु परिवर्तन भयो। भविष्यमा प्रभु येशू बडो सामर्थ्यसाथ आउनुहुनेछ र संसारमा आफ्‍नो हजार वर्षको राज्य स्थापना गर्नुहुनेछ। त्यसको पूर्वदर्शन मर्कूस ९:२ मा पत्रुस, यूहन्ना र याकूबले देखे। धेरै वर्ष पछि २ पत्रुस १:१६-१७ मा पत्रुसले उक्त घटनालाई उल्लेख गर्दै लेखेको कुरा पढ्नुहोस्। यसको विस्तृत चर्चाको लागि निम्न पृष्ठमा हेर्नुहोस्:

http://wordoftruth.com.np/index.php?page=life-of-christ-07

१ कोरिन्थी ७:२९ ले के भन्न खोजेको हो?"

१ कोरिन्थी ७:२९ लाई बुझ्न यसको पूरै सन्दर्भ (पद २९-३५) लाई ध्यान दिनुपर्छ। १ कोरिन्थी ७:२९-२५

“तर भाइहरूहो, म यो भन्दछु — समय छोटो छ;
अबदेखि पत्नी हुनेहरू पनि नहुनेहरूझैं होऊन्;
अनि रुनेहरू पनि नरुनेहरूझैं होऊन्;
अनि आनन्द मनाउनेहरू पनि आनन्द नमनाउनेहरूझैं;
र किन्नेहरू पनि केही थोक नभएकाहरूझैं होऊन्;
अनि यस संसारसँग व्यवहार राख्नेहरू पनि व्यवहार नराख्नेहरूझैं होऊन्,
किनकि यस संसारको रीति बितेर जान्छ।

तर तिमीहरूलाई फिक्री नहोस् भन्ने म चाहन्छु।
जसले विवाह गरेको छैन, उसले म प्रभुलाई कसरी खुशी पारूँ भन्दै
प्रभुकै कुराहरूको विषयमा फिक्री गर्दछ।
तर जसले विवाह गरेको छ, उसले, म मेरी पत्नीलाई कसरी खुशी पारूँ भन्दै
संसारका कुराहरूको विषयमा फिक्री गर्दछ।

एउटी पत्नी र एउटी कन्यामा पनि भिन्नता पाइन्छ।
विवाह नगरेको स्त्रीले दुवै शरीर र आत्मामा पवित्र हुनाका निम्ति
प्रभुकै कुराहरूको विषयमा फिक्री गर्छे। तर विवाह गरेकी स्त्रीले चाहिँ,
म मेरा पतिलाई कसरी खुशी पारूँ भन्दै संसारका कुराहरूको विषयमा
फिक्री गर्छे।

अनि तिमीहरूकै फाइदाका निम्ति म यो भन्दछु
— तिमीहरूलाई फन्दामा पार्नका निम्ति होइन,
तर जुन कुरा ठीक छ, त्यसका लागि, र तिमीहरूले
एक चित्त भएर प्रभुको सेवा गर्न सक भनेर।

यस खण्डमा संसारका कुराहरूलाई एकातिर राखिएको छ भने प्रभुको सेवालाई अर्कोतिर। संसारका कुराहरूमध्येमा वैवाहिक सम्बन्धलाई पहिले उल्लेख गरिएको छ। त्यसपछि संसारमा रहँदाको हर्ष र रोदनका घडीहरूलाई। अनि त्यसपछि संसारमा जोडिने सम्पत्तिको कुरा छ। र संसारमा भएका कुराहरूको उपभोग गर्ने कुरा।

संसारमा हाम्रो समय छोटो छ अर्थात् संसारमा प्रभुको सेवा गर्ने अवसर थोरै समयको लागि मात्र छ। प्रभुको आगमन कुनै पनि बेला हुन सक्छ। त्यसैले विवाहित भए पनि वैवाहिक सम्बन्धका कुराहरूलाई नै प्रमुख नबनाऔं। विवाहितले आफ्‍नो काम कर्तव्यहरूलाई परित्याग गर्ने भनेको त होइन (दाँज्नुस् १ कोरिन्थी ७:३-५) तर पावलको तात्पर्य यो हो कि उसले प्रभुको कुरालाई पहिलो स्थान देओस्।

त्यस्तै गरी संसारमा हामीलाई कहिले आनन्दको अनुभव हुन्छ कहिले शोकको। तर आनन्दको घडीमा पनि त्यसमा ज्यादा बढ्ता प्रफुल्लित नहोऔं अनि शोकको घडीमा ज्यादा बढ्ता त्यसमा नडुबौं। किन? किनकि त्यो छिनभरलाई हो, चाहे संसारको आनन्द वा शोक। अनि हाम्रो आर्थिक उन्नति हुँदा त्यसैमा हाम्रो भरोसा नराखौं किनकि ती पनि क्षणिक हुन्। तुलना गर्नुहोस् १ तिमोथी ६:१७, हितोपदेश २३:४-५। हामी संसारमा छौं, त्यसैले संसारका कुराहरूलाई प्रयोगमा त ल्याउँछौं नै, तरैपनि तिनको दुरुपयोग चाहिँ नगरौं, तिनलाई नै हाम्रो जीवन ठानेर। किनकि “यस संसारको रीति बितेर जान्छ”। अनि प्रभुको सेवा गर्ने अवसर सकिन्छ।

केही टिप्पणीकारहरूबाट म उद्दरण गर्छु:

“सबैजनाले आफ्‍नो काम व्यवहार यस्तो दृष्टि राखेर गर्नुपर्छ कि समय साँच्ची नै छिटोछटो सकिँदैछ, प्रभुको आगमन झन् झन् नजिकिँदैछ र परमेश्वरको इच्छा पूरा गर्नुपर्छ भन्ने हाम्रो अठोटलाई कुनै पनि शारीरिक उपलब्धीको फिक्रीले एकातिर नपन्साओस्।” — आइरनसाइड

“यसको माने निश्चय पनि यो होइन कि विवाहित पुरुषले एउटा पतिले गर्नुपर्ने व्यवहार गर्न छोडोस्, बरु यो हो कि आफ्‍‍नी पत्नीसितको उसको सम्बन्धले पूर्ण तवरले आफ्‍ना प्रभुसितको उसको अझ उच्च सम्बन्धभन्दा निम्नस्थान ओगटोस् जुन प्रभुलाई नै हृदयमा पहिलो स्थान दिइनुपर्छ; ख्रीष्टप्रतिको उसको आज्ञापालनलाई कुनै प्राकृतिक सम्बन्धले बाधा नदेओस्।” — भाइन

“जीवनका सुखदुख तथा सम्पत्तिहरूलाई हाम्रो जीवनमा आवश्यक भन्दा बढ्ता महत्त्व दिइनुहुँदैन। यी सबै कुराहरूलाई प्रभुको सेवा गर्ने उद्देश्यमा दिन छँदा नै हरेक समय र अवसरको सदुपयोग गर्ने हाम्रो प्रयत्नको अधीनतामा राखिनुपर्छ।” — म्याक्डोनाल्ड