थोमा

यस पृष्ठलाई छाप्नुहोस्

मत्ती १०:२-४ को सूचीको सातौं स्थानमा कुन चेलाको नाउँ छ? __________। उनलाई अर्को नाउँले पनि बोलाइन्थ्यो भन्ने कुरा यूहन्ना ११:१६ बाट जान्न सकिन्छ। त्यो अर्को नाउँ के थियो? _____________‌_। यी दुइटै नाउँको अर्थ एउटै हुन्छ। दिदमसको अर्थ "जुम्ल्याहा" (डबल) हो। थोमाको अर्थ पनि "जुम्ल्याहा" नै हो। यसैले सम्भवतः थोमा एक जुम्ल्याहा थिए यद्यपि बाइबलमा उनको जुम्ल्याहा भाइ वा बहिनीको उल्लेख भएको भेटिँदैन।

थोमाको चरित्र

बाइबलमा थोमाको बारेमा धेरै कुरा बताइएको पाइँदैन। केवल यूहन्नाको सुसमाचारमा मात्र उनको बारेमा केही हदसम्म बताइएको पाइन्छ। सुसमाचारका अन्य पुस्तकहरूमा उनको नाम उल्लेख भए तापनि त्यहाँ उनको बारेमा कुनै कुरा बताइएको पाइँदैन।

यूहन्नाको सुसमाचारलाई पढेर थोमा नाउँ गरेका चेलाको बारेमा निम्न चारओटा कुराहरू जान्न सकिन्छ:

  1. उनी विश्वास गर्नमा ढीलो थिए। त्यसैले उनले "शङ्कालु थोमा" भन्ने नाम कमाएका छन्। उनको धारणा यस्तो थियो – "नदेखेसम्म म विश्वासै गर्दिनँ!"

  2. उनी सजिलै निराश हुने स्वभावका थिए। उनी छिट्टै निरुत्साहित बन्थे।

  3. उनी परिस्थितिको नकारात्मक पक्षलाई हेर्ने स्वभावका थिए। आकाशमा घाम र बादल दुइटै लागेका बखत उनी केवल कालो बादलपट्टि हेर्ने स्वभावका थिए। पछिबाट आउने आशिषलाई हेर्नुको सट्टा उनले विद्यमान समस्याहरूलाई मात्र देख्न सक्थे। उनी एक निराशावादी थिए। यसको मतलब कुनै पनि कुराको नतीजा नराम्रो हुन्छ भन्ने सोचाइ उनमा अक्सर आउने गर्थ्यो।
  4. उनी आफ्नो प्रभुलाई औधी प्रेम गर्ने व्यक्ति थिए। नडराइकन विश्वासयोग्य भई ख्रीष्टलाई पछयाउने चेला थिए उनी।

यूहन्नाको सुसमाचारमा थोमाको उल्लेख

थोमालाई प्रथम पटक उल्लेख गरिएको कुरा यूहन्नाको एघारौं अध्यायमा भेटिन्छ। प्रभुले आफ्ना चेलाहरूलाई यहूदियामा फर्केर जाने कुरा गर्नुभएको थियो (यूहन्ना ११:७)। लाजरसको गाउँ (बेथानी) यहूदियामा पर्थ्यो (यूहन्ना ११:१)। तर बेथानी प्रभुका शत्रुहरू बस्ने शहर यरुशलेमको नजिकै पर्थ्यो! प्रभु त्यही इलाकामा फर्कन चाहनुभएको देखेर के चेलाहरूलाई फिक्री लागेको थियो (यूहन्ना ११:८)? __________‌_। उहाँका शत्रुहरूले येशूलाई पहिला मार्न खाजेका हुनाले (हेर्नुहोस् यूहन्ना १०:३१-३२, ३९) तिनीहरूले फेरि पनि उहाँलाई मार्न खोज्नेछन् भन्ने कुरा चेलाहरूलाई थाहा थियो।

यूहन्ना ११:१५ मा येशूले चेलाहरूलाई भन्नभयो, "हामी उनी (लाजरस) कहाँ जाऔं।" आफ्नो मुख तुरुन्तै खोल्ने र अरूहरूलाई "हामी पनि जाऔं" भन्ने चेला को थिए (यूहन्ना ११:१६)?_____________‌_। के थोमाचाहिँ जानलाई डराइरहेका थिए? ___________‌_। के उनी ख्रीष्टसित मर्न समेत तयार थिए?_____________‌_। यसबाट थोमाको साहस र प्रभुप्रतिको भक्ति देख्छौं। येशू लगायत सबै चेलाहरूलाई के हुनेवाला छ भन्ने उनको सोचाइ थियो (यूहन्ना ११:१६)?_________‌_________ ________________। ख्रीष्टप्रतिको उनको भक्ति आफ्नो ज्यानको मायाभन्दा पनि गहिरो थियो। थोमा परिस्थितिको अँध्यारो पक्षलाई हेर्ने स्वभावका थिए। ज्यादै खराब परिस्थिति आइपर्नेछ भन्ने उनको सोचाइ थियो। उनको दृष्टिलाई मृत्युको छायाँले ढाकेको थियो। तर, घटनाक्रम थोमाले सोचेको जस्तै भएन! चेलाहरू येशूसँग बेथानीमा गए तर कसैले उनीहरूमध्ये एउटैलाई पनि मारेनन्! जुन घटना हुनेवाला नै थिएन त्यसका निम्ति थोमा व्यर्थमा फिक्री गरिरहेका थिए।

थोमाको हेराइ राम्रो थियो कि नराम्रो? ठीक थियो कि बेठीक? हेराइ नै केवल मृत्युको मात्र हुनु के ठीक थियो? ध्यान दिइनुपर्ने कुरालाई थोमाले ध्यान दिइरहेका थिएनन् र त्यसैले प्रभुले यूहन्ना ११:१५ मा त्यतिबेला भन्नुभएको कुरालाई अपनाउन उनी असफल भए- "अनि तिमीहरूले _____________ गर्न सक भनी म त्यहाँ नभएकोमा म तिमीहरूकै निम्ति आनन्दित छु; तरैपनि _____________‌ उनीकहाँ जाऔं।" यस पदमा येशूले: "तिमीहरू मर्न सक भनी" भन्नुभएन तर "तिमीहरूले _____________‌_ गर्न सक" भनी भन्नुभयो। परमेश्वरको उद्देश्य के थियो? येशूले उनीहरूलाई "मर्न सक" होइन तर "_____________‌_ गर्न सक" भनेर बेथानीमा लैजान चाहनुभएको थियो! येशूले उनीहरूलाई "मरण-स्थिति" तर्फ होइन "परमेश्वरको _____________‌_" (यूहन्ना ११:४) हुने सुन्दर स्थितितर्फ लैजाँदै हुनुहुन्थ्यो। थोमाले प्रभुको कुरालाई ध्यान दिएनन्! के तपाईं पनि कहिलेकाहीँ परमेश्वरको वचनले भनेको कुरामा ध्यान दिनदेखि चुक्नुभएको छ? के तपाईंको बुझाइ पनि कहिलेकाहीँ बिलकुलै गलत भएको छ? के परमेश्वरले तपाईंको निम्ति कुनै अप्रिय उद्देश्य राख्नुभएको छ भनेर तपाईंले केहिलेकाहीँ सोच्नुभएको छ जब कि परमेश्वरको उद्देश्य वास्तवमा सधैं सुन्दर हुन्छ?

के तपाईं पनि थोमाजस्तै हुनुहुन्छ? सधैं परिस्थितिको अँध्यारो पक्षलाई नै हेर्ने स्वभाव छ तपाईंको? जे कुरा पनि नराम्रै हुन्छ भन्ने खालको सोचाइ आउने गर्छ तपाईंमा? के तपाईं काल्पनिक समस्याहरूको बारेमा फिक्री गरी बस्नुहुन्छ? के तपाईं जहिले पनि बादल मात्र देख्नुहुन्छ तर नीलो आकाशचाहिँ देख्नुहुन्न? स्वयं परमेश्वरले संसार र संसारका सबै घटनाहरूमाथि नियन्त्रण गर्नुहुन्छ भन्ने कुरालाई हामी कहिल्यै नबिर्सौं। स्वर्गका प्रभुले सबै कुरा बिगार्ने उद्देश्य राखेर काम गरिरहनुभएको छैन! बरु उहाँको महिमा र मानिसको भलाइको निम्ति सबै कुराहरूलाई मिलाउन त परमेश्वर एक "विशेषज्ञ" नै हुनुहुन्छ! परमेश्वरले सबै कुराहरू मिलाएर खराबी नभएर _____________‌ उत्पन्न गराउनुहुन्छ (रोमी ८:२८) भन्ने कुरा एउटा विश्वासीले सिक्नुपर्छ। यसैकारण हामीले गनगन गर्नु, अँध्यारो मुख लाउनु वा निराश बन्नु पर्दैन। बरु के गर्नलाई हामीलाई आज्ञा दिइएको छ (एफेसी ५:२०)?________ _____‌____________‌______________‌_। फिलिप्पी ४:४ मा हामीलाई के गर्नलाई आज्ञा दिइएको छ? __________________ __‌______________‌_

अविश्वास, फिक्री, गनगनले हामीलाई के कस्तो असर गर्छ? के यस्ता कुराहरूले मान्छेको शारीरिक स्वास्थ्यमा असर गर्न सक्छ? के यस्ता कुराहरूले मान्छेको मानसिक स्वास्थ्यमा असर गर्न सक्दछ? आत्मिक स्वास्थ्यमा? कसरी?

थोमाको बारेमा थप कुरा यूहन्ना १४ अध्यायमा पाइन्छ। यूहन्ना १४:१ मा येशूले भन्नुभयो, "तिमीहरूको हृदय _____________‌_ नहोस्।" त्यतिबेला थोमाको हृदय ज्यादै विचलित अवस्थामा भएको हुनुपर्छ। प्रभुलाई गिरफ्तार गरिएको त्यही रात थियो। परिस्थिति अँध्यारो देखिन्थो, विशेष गरी थोमाको नजरमा। यूहन्ना १४:३ मा येशूले आफ्ना चेलाहरूलाई दिनुभएको सुन्दर प्रतिज्ञा के थियो? _______‌________________________________________ ______________। उनीहरूको आँखाले आशारूपी चम्किलो आकाशलाई देख्न सकून् भनेर उनीहरूलाई त्यतिखेरको निराशारूपी काला-काला बादलहरूभन्दा परतिर देखाउन प्रभु चाहनुहुन्थ्यो। येशू चेलाहरूलाई छोड्नेवाला हुनुहुन्थ्यो, उहाँ मारिनेवाला हुनुहुन्थ्यो — त्यो साँचो हो। तर यो पनि साँचो हो, उहाँ मृत्युबाट बौरनेवाला हुनुहुन्थ्यो र फेरि फर्की आउनेवाला हुनुहुन्थ्यो! येशूले भन्नुभयो, "अनि म जहाँ जान्छु, त्यो तिमीहरू जान्दछौ, अनि तिमीहरू बाटो चिन्छौ" (यूहन्ना १४:४)। भनाइको तात्पर्य यो थियो, "म स्वर्ग जाँदैछु भन्ने कुरा तिमीहरूलाई थाहा छ, साथै स्वर्ग जाने बाटो पनि तिमीहरूलाई थाहा छ!”

येशूको यो कुरा सुनेर अलमल्लमा पर्ने चेला को थिए (यूहन्ना १४:५)? _____________‌_। फेरि पनि थोमाले राम्ररी ध्यान दिइरहेका थिएनन् र त्यसैले उनले कुरा बुझ्नै सकेनन्। येशूले आशाको वचन (यूहन्ना १४:१-३) दिनु हुँदाहुँदै पनि थोमाले कमै आशा देखे। उनले अँध्यारो सुरुङ देखे तर सुरुङपारीको उज्यालोलाई भने देख्न सकेनन्। तरैपनि आफूले उहाँको कुरा बुझ्न नसकेको भनी प्रभुलाई बताउन सक्ने इमानदारीता भने उसमा थियो। प्रभुले थोमालाई बुझ्न सहायता पनि गर्नुभयो र प्रभुले थोमालाई दिनुभएको जवाफचाहिँ मुक्ति सम्बन्धी बाइबलकै सबभन्दा महत्त्वपूर्ण पदहरूमध्ये एउटा होः

येशूले तिनलाई (थोमालाई) भन्नुभयोः “________, ________ र ________ म नै हुँ, ____द्धारा बाहेक कोही पनि पिताकहाँ _____________‌_____”(यूहन्ना १४:६)

के तपाईंले यस पदलाई कण्ठस्थ भन्न सक्नुहुन्छ? यस पदको अर्थ के हो? यस पदअनुसार कुनै पनि मान्छे कसरी स्वर्ग जान सक्दछ?

यूहन्ना २० अध्यायमा र २१:१ मा पनि थोमाको उल्लेख गरिएको छ (माछा मार्न जाने सातजना चेलाहरूमध्ये उनी पनि एक थिए)। यूहन्ना २० अध्यायमा पाइने ज्यादै महत्त्वपूर्ण खण्डलाई अब हेरौं:

शङ्कालु थोमा

आफू बौरिउठ्नुभएको साँझ (आइतबार) प्रभु येशू आफ्ना चेलाहरूकहाँ देखा पर्नुभएको थियो (यूहन्ना २०:१९)। बौरिउठ्नुभएका आफ्ना प्रभुलाई देख्न पाएर के चेलाहरू आशिषले भरपूर भएका थिए? (यूहन्ना २०:२०) __________‌_। उक्त अवसरमा कुनचाहिँ चेला उपस्थित थिएनन् (यूहन्ना २०:२४)? ___________

थोमा त्यसबेला किन अनुपस्थित थिए, बाइबलले बताउँदैन। उनको अनुपस्थितिको पछाडि कुनै जायज कारण हुन पनि सक्छ, नहुन पनि सक्छ। हामीलाई यति कुरा थाहा छ, कुनै न कुनै कारण ख्रीष्टको बौरिउठाइको पहिलो साँझ उनी अरू चेलाहरूसँग भेला हुन सकेनन् जसको फलस्वरूप उनले एउटा ठुलो आशिष गुमाए! उनी अन्य चेलाहरूको "आनन्द"”को अनुभवमा सहभागी बन्न पाएनन् (यूहन्ना २०:२०)। पूरै एक हप्ता उनी नैराश्य र अविश्वासको दलदलमा डुबिरहे जब कि अन्य चेलाहरू भने रमाहट गरिरहेका थिए। एउटा विश्वासी अरू विश्वासीहरूसँग एकै ठाउँमा भेला हुन छोडेर उसले पाउन सक्ने आशिषहरू गुमाएको परमेश्वर चाहनुहुन्न। हिब्रू १०:२५ मा हामीलाई बताइएको छ, "कसै-कसैको रीति भएझैं हामी एक ठाउँमा _________ हुन नछोडौं।" परमेश्वरका जनहरू भेला भएका बखत हामी पनि उपस्थित हुनुपर्छ नत्र भने हामीले आशिष गुमाउनेछौं! एकदमै उचित कारणबिना अनुपस्थित हुनु कहिल्यै पनि बुद्धिमानी होइन। मण्डली सभाहरूमा तपाईंको उपस्थिति कत्तिको नियमित छ? परमेश्वरले तपाईंलाई दिन चाहनुभएको कुरा गुमाउँदै हुनुहुन्छ कि?

अरू चेलाहरूले थोमालाई के भने (यूहन्ना २०:२५)? ___________ __‌_______________‌। के उनीहरू झूटो कुरा गर्दैथिए? _____________‌_। के उनीहरू थोमालाई झुक्क्याउन वा उनीसित ठट्टा गर्न खोज्दैथिए? _____________‌_। के उनीहरू साँचो कुरा गर्दैथिए?_____________‌_। के थोमाले उनीहरूको कुरालाई विश्वास गरे?_____________‌_। थोमाले दसजना विश्वासयोग्य दाजुभाइको गवाहीलाई इन्कार गरे। उनीहरू उनका सच्चा मित्रहरू थिए! तरैपनि उनले तिनीहरूको कुरै खाएनन्!

थोमाले कुन कुराबिना प्रभु बौरिउठ्नुभएकै हो भनी विश्वास नगर्ने अडान लिए? ______‌______________‌______________‌______ ________‌_______________‌___________________________ ______________________। आफुले नदेखे (र नछोए) सम्म थोमा विश्वास गर्न नमान्ने भए!

यूहन्ना २०:२५ मा उल्लेखित थोमाका शब्दहरूलाई विचार गरौं। थोमाले ख्रीष्टको मृत शरीरलाई क्रूसमा देखेकै हुनुपर्छ। ठोकिएका ती काँटीहरूको बारेमा र भालाले रोपिएर ख्रीष्टलाई लागेको चोटको बारेमा थोमालाई राम्ररी थाहा थियो (हेर्नुहोस् यूहन्ना १९:३४)। उनको दिमागमा ख्रीष्टको मृत शरीरको छाप गहिरोसँग परेको हुनुपर्छ। निराश भई आफ्नो अविश्वासमा उनले केवल क्रूसमा झुण्डिएको आफ्नो प्रभुको मरेको रूपलाई मात्र झल्झल्ती सम्झिरहे। थोमाको संसार नै भताभुङ्ग भएको थियो जब ख्रीष्टको मृत्यु भएको थियो। आफ्नो मानस पटलमा थोमाले केवल एक मरेका ख्रीष्टको चित्रलाई बोकिरहेका थिए; बाँकी चेलाहरूका हर्षोल्लासका वचनहरू ले समेत त्यस चित्रलाई मेटाउन सकेनन्। आकाशमा घाम चम्किलो थियो तर थोमाले भने नैराश्यरूपी कालो बादल मात्र देख्न सक्यो (जुन बादल वास्तवमा त्यहाँ कदापि थिएन)।

हामीले यो पनि टिप्पणी गर्नुपर्छ, प्रभुले कोखामा पाएको भालाको चोट ज्यादै ठूलो हुनुपर्छ! एउटा मानिसले आफ्नो _____________‌_ त्यहाँ छिराउन सक्नेसम्म थियो त्यो (यूहन्ना २०:२५ र २७ तुलना गर्नुहोस्)।

थोमाको अविश्वास एक ठूलो पाप थियो तर प्रभुले उनीसित गर्नुभएको व्यवहार कति अनुग्रहपूर्ण थियो! एक हप्तापछि (आठ दिनपछि) चेलाहरू फेरि भेला भएका थिए अनि उनीहरूसँग ____________ पनि थिए (यूहन्ना २०:२६)। बन्द ढोकाहरूलाई समेत छेंडेर उनीहरूकहाँ को देखापर्नुभयो? _____________‌_। येशू पहिला कोसित बोल्नुभयो (युहन्ना २०:२७)? _____________‌_। येशूले थोमालाई उनले मागेकै कुराहरू प्रस्तुत गर्नुभयोः

थोमाका मागहरू (यूहन्ना २०:२५) येशूका आज्ञाहरू (यूहन्ना २०:२७)
१) जबसम्म म उहाँका हातमा काँटीहरूका डोब देख्दिनँ, २) मेरा हात हेर;
२) अनि आफ्नो औंला ती काँटीहरूका डोबमा हाल्दिनँ, १) तिम्रो औंला यहाँ ल्याऊ,
३) र आफ्ना हात उहाँको कोखामा हाल्दिनँ, ३. तिम्रो हात यहाँ ल्याऊ, र मेरो कोखाभित्र हाल;
४) तब सम्म म विश्वास गर्ने छैन। ४. अनि विश्वास नगर्ने होइन, विश्वास गर्ने होऊ!

थोमाको प्रत्येक मागको प्रत्युत्तरमा येशूले एउटा आज्ञा दिनुभयो यद्यपि उही क्रममा होइन। अर्को उदेकको कुरा के छ भने थोमाले भनेका एक-एक कुरा प्रभु सिद्ध रूपमा जान्नुहुन्थ्यो यद्यपि त्यसबेला प्रभु भौतिक रूपमा त्यहाँ उपस्थित हुनुहुन्नथ्यो (हेर्नुहोस् यूहन्ना २०:२५)। यो, प्रत्येक विश्वासी जनले बिर्सन नहुने एउटा महत्त्वपूर्ण कुरा हो। प्रभु येशू ख्रीष्ट सर्वज्ञाता हुनुहुन्छ (उहाँ सबै कुरा जान्नुहुन्छ)। हामीले भनेका वा सोचेका सबै कुराहरू उहाँ जान्नुहुन्छ। हामी अरूहरूलाई झुक्क्याउन सकौंला तर उहाँलाई कहिल्यै सक्दैनौं।

थोमाले यूहन्ना २०:२८ मा भनेका कुरालाई विचार गर्नुहोस् – "हे मेरा ____________! र हे मेरा __________________।" थोमाले प्रभुलाई छुन आवश्यक नै परेन। उनले देखे र त्यति नै पर्याप्त भयो। एकै क्षणमा शङ्कालु थोमा विश्वस्त थोमा बने। उनी बिलकुलै विश्वस्त भए। फेरि कहिल्यै उनले बौरिउठाइको वास्तविकतालाई शङ्का गरेनन्।

थोमाले केवल पाँचओटा शब्दहरू उच्चारण गरे (यूहन्ना २०:२८) तर ती शब्दहरू कति सुन्दर छन्। उनको भाषा आश्चर्य र हर्षोल्लासको भाषा थियो, पश्चताप, विश्वास र भक्तिको भाषा थियो, सबै एउटै वाक्यमा! येशूलाई "परमेश्वर" भनेर सम्बोधन गर्नु के उचित थियो? आज कतिपय झूटा शिक्षकहरू येशू वास्तवमै परमेश्वर हुनुहुन्छ भन्ने तथ्यलाई विश्वास गर्दैनन्। के थोमाले येशूको ईश्वरत्वलाई विश्वास गरे?____________। साथै हामीले यो टिप्पणी गर्नुपर्छ, येशूले थोमालाई सच्च्याउनु भएन। प्रभुले यसो भन्नुभएन, "थोमा, तिमीले मलाई कहिल्यै पनि "परमेश्वर" भन्नु हुँदैन। म परमेश्वर होइनँ, त्यसैले फेरि कहिल्यै मलाई यसरी सम्बोधन नगर्नू।" प्रभुले यस्तो कुनै कुरा गर्नुभएन किनकि थोमाले जे भनेका थिए उहाँ सयमा सय प्रतिशत सो हुनुहुन्थ्यो! थोमाले किन विश्वास गरेका थिए भनी येशूले भन्नुभयो (यूहन्ना २०:२९)? __________________ __________________। उनले एक हप्ता अघि नै उनका दसजना मित्रहरूद्वारा बताइएको बौरिउठाइको खुशीको खबरलाई विश्वास गर्नुपर्थ्यो (यूहन्ना २०:२५) तर उनले सो गर्न इन्कार गरेका थिए। उनले देखेपछि मात्र विश्वास गरे।

विश्वास, दृष्टिमा आधारित हुँदैन

थोमाको उदाहरणबाट हामी सबैले एउटा पाठ सिक्नुपर्छ। हामी सबैका लागि येशूले यी महत्त्वपूर्ण शब्दहरू बोल्नुभयो, "उनीहरू धन्य हुन, जसले ____________ ____________, तापनि ____________ गरेका छन्" (यूहन्ना २०:२९)।

थोमाले जे देखे हामीले यस वर्तमान समयमा देख्न सक्दैनौं। के आज मानिसहरूले बौरिउठ्नुभएको ख्रीष्टलाई देख्न सक्छन् (दाँज्नुहोस् यूहन्ना १६:१०)? ____________। यदि आज कसैले प्रभुलाई नदेखेसम्म विश्वास नगर्ने अडान लिन्छ भने, उसले कहिल्यै विश्वास गर्नेछैन! उसले येशूलाई देख्नेछैन, केवल ढिलो भइसकेपछि मात्र देख्नेछ (अर्थात् मृत्युपछि!)। येशू आज मानिसहरूकहाँ देखा पर्ने गर्नुहुन्न। नयाँ नियमकै समयमा पनि त्यहाँ धेरैले बौरिउठ्नुभएको ख्रीष्टलाई कहिल्यै देखेका थिएनन् (हेर्नुहोस् १ पत्रुस १:८)। के तिनीहरू प्रभुलाई प्रेम गर्दथे (१ पत्रुस १:८)? ____________। के तिनीहरूले विश्वास गरेका थिए (१ पत्रुस १:८)? ____________। के तिनीहरू आनन्दले भरपूर थिए (१ पत्रुस १:८)? ____________।

हाम्रो विश्वास वर्तमान समयमै हामीसित भएको कुन कुरामाथि आधारित छ? वास्तवमा थोमासित जे थियो त्यही कुरा हामीसित छ। थोमासित प्रभुलाई वास्तवमै देख्ने मानिसहरूको वचन र गवाही थियो (यूहन्ना २०:२५)। खेदको कुरा, थोमाले विश्वास गर्न इन्कार गरे। आज पनि हामीसित प्रभुलाई देख्ने मानिसहरूको गवाही छ। उदाहरणको लागि, बौरिउठ्नु भएको ख्रीष्टलाई देख्नेहरू मध्ये प्रेरित यूहन्ना एक थिए। उनले हामीलाई यूहन्नाको सुसमाचार लेखेका छन् जसमा उनले हामीलाई ख्रीष्टको बौरिउठाइको बारेमा बताएका छन्। के हामी यूहन्नाको वचनलाई विश्वास गर्नुपर्छ?__________। के यूहन्नाले हामीलाई झुक्क्याउन खोजेका वा हामीसित ठट्टा गर्न खोजेका हुन्?_________। के यूहन्ना झूटा थिए?_________। यूहन्नाले लेखेका कुराहरू सत्य थिए कि असत्य (यूहन्ना २१:२४)? ______

बाइबलले भन्दछ, "हामी ________ देखेर होइन, तर ___________ द्वारा (परमेश्वरलाई उहाँको वचनकै आधारमा मानिलिएर) हिँड्छौं (२ कोरिन्थी ५:७)। परमेश्वरले हामीलाई आफ्नो लिखित वचन दिनुभएको छ जसद्धारा हामीले ख्रीष्टको बारेमा जान्न सक्छौं र उहाँमाथि विश्वास गर्न सक्छौं “तर येशू नै परमेश्वरका पुत्र "ख्रीष्ट" हुनुहुन्छ भनी तिमीहरूले ____________ गर्न सक र ____________ गरेर तिमीहरूले उहाँको नामद्धारा जीवन पाओ भनी यी चाहिँ ____________ हुन्” (यूहन्ना २०:३१)। विश्वास गर्नेहरू धन्य हुन्! परमेश्वरलाई उहाँको वचनकै आधारमा मानि लिनेहरू धन्य हुन्! "परमेश्वरले जे भन्नुभयो, त्यो म विश्वास गर्छु" भन्नेहरू धन्य हुन्!

मत्ती ८:५-१० मा हामी एउटा सुबेदारको बारेमा पढ्छौं। के उसले विश्वास गर्नु अघि उसलाई आफ्नो दास निको पारिएको देख्न आवश्यक पर्‍यो? ____________। उक्त मान्छेको विश्वासको बारेमा येशूले के भन्नुभयो (पद १०)? _____________ ______________________________। यूहन्ना ४:४६-५४ मा हामी एउटा राजकर्मचारीको बारेमा पढ्छौं। के उसले विश्वास गर्नु अघि उसलाई आफ्नो दास निको पारिएको देख्न आवश्यक पर्‍यो? ____________। व_______ विश्वास गर्ने व्यक्तिहरू धन्य हुन् (पद ५०)!

यदि मानिसहरू परमेश्वरको वचन सुन्न र विश्वास गर्न इन्कार गर्दछन् भने तिनीहरूलाई अन्य कुराले विश्वास दिलाउने कमै आशा छ। यो कुरा हामी लूका १६:१९-३१ पढेर थाहा पाउँछौं (विशेष गरी अन्तिम पद हेर्नुहोस्)। आज पनि मानिसहरूको यस्तै समस्या छ। सम्भवतः उनीहरू यस्ता कुराहरू गर्छन्:

  1. कसैले नूहको जहाज नभेट्टाएसम्म म बाइबल विश्वास गर्दिनँ। नूहको जहाज भेट्टाइयो भने म विश्वास गरूँला।
  2. "येशूको कात्रो" आफ्नै आँखाले नदेखेसम्म म बौरिउठाइमा विश्वास गर्दिनँ। (उक्त "कात्रो", Turin's Shroud, चाहिँ एउटा चाखलाग्दो कुरा छ जसलाई कतिले येशूलाई दफन गर्न प्रयोग गरिएकै कात्रो हो भनी विश्वास गर्छन्।)
  3. म बाइबल विश्वास गर्दिनँ, विशेष गरी आफूहरू पृथ्वीबाट माथि उठाइनेछौं भन्ने ख्रीष्टियानहरूको हावाको दाबी। मेरा ख्रीष्टियान साथीहरू यसलाई "र्‍याप्चर" भन्छन्। मेरै आँखाले उक्त र्‍याप्चरलाई नदेखेसम्म म ख्रीष्टियान कदापि बन्ने छैनँ।
  4. बाइबलका आश्चर्यकर्महरू साँच्ची नै भएका थिए भनी म विश्वास गर्दिनँ। म यति धेरै वर्ष बाँचेर पनि मैले एउटै आर्श्चर्यकर्म देखेको छैनँ! आश्चर्यकर्महरू साँचा हुन सक्दैनन् किनकि मैले त्यस्ता कुराहरू कहिल्यै देखेको छैनँ।
  5. वर्तमान समयका अविश्वासीहरूले भन्ने अन्य कुराहरू के कस्ता छन्? १ यूहन्ना ५:९-१२ ले विश्वास गर्ने र नगर्ने सम्बन्धमा के बताएको छ?

थोमाको आखिरी जीवन

थोमाको अखिरी जीवनको बारेमा हामीलाई धेरै कुरा थाहा छैन। उनले विश्वासयोग्य भई प्रभुको सेवा गरे भन्ने कुरामा हामी पक्का छौं तर कुन ठाउँमा र कसरी भन्ने कुरा हामीलाई थाहा छैन। कतिको भनाइ अनुसार उनी ख्रीष्टको निम्ति पार्थिया, फारस र भारतमा परिश्रम गरे। एउटा भनाइ अनुसार उनी भालाले रोपिएर शहीदको रूपमा मरे। हामीलाई पक्का थाहा छैन। तर उनी आफ्ना प्रभुप्रति अन्तसम्मै विश्वासयोग्य र बफादार रहे भनी हामी निश्चित हुन सक्छौं (तुलना गर्नुहोस्, यूहन्ना ११:१६)। पत्रुसले आफ्नो प्रभुलाई तीन पटक इन्कार गरे अनि थोमाले प्रभुको बौरिउठाइलाई विश्वास गर्न इन्कार गरे। प्रभु दुवैसित अनुग्रही व्यवहार गर्नुभयो र उनीहरूलाई महत्त्वपूर्ण रूपमा प्रयोग गर्नुभयो। हामी सबैका समस्याहरू र पापहरू हुन्छन् तर परमेश्वर यी भन्दा ठूला हुनुहुन्छ। तपाईंको जीवनलाई पनि उहाँ प्रयोग गर्न चाहनुहुन्छ।