Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

बाँसको कथा

यस पृष्ठलाई छाप्नुहोस्

एउटा उखान

गंगाप्रसाद प्रधान (सन् १८५१-१९३२)

एउटा कुचेन् भन्ने जिल्लाको पहाडको पाखामा अनमोल-अनमोल बाँसका बोटहरू छन्। तिनमा बाँसको मालिकको नाउँ समेत लेखिएका छन्। पहाडका छाँगाहरूदेखि पानी लैजानका लागि एउटा साधारण उपाय छ अर्थात् मान्छेहरूले बाँस बाँस् गाँस्दै लगेर लामा लामा नल बनाई पानी लैजान्छन्।

अघि माथि उल्लेख भएको ठाउँमा पहाडको पाखाको फेदीमा एउटा राम्रो बाँसको बोट उम्रेको थियो। त्यसका हाँगाहरू काला-काला र चिल्ला-चिल्ला थिए। त्यसका राम्रा-राम्रा पातहरू बेलुकीको हावामा बिस्तारै-बिस्तारै हल्लिँदै थिए। ती देखेर हामीहरू छक्कै पर्‍यौं। अनि हामीहरूले तिनीहरू बिस्तारै-बिस्तारै हल्लिँदाखेरि सिरिरिरि गर्ने सोर पनि सुन्यौं।

तब बाँसले भन्यो, "तिमीहरूले मेरो विषयमा यो कति राम्रो हो भन्ने विचार गर्दछौ? अनि मेरा लामा-लामा र अल्गा-अल्गा लिङ्गा र रहरलाग्दा हाँगाहरू देखी उदेक मान्दछौ? तरै पनि म चाहिँ ता केही अहंकारी हुँदिनँ। मेरा जे छन् ती सबै मेरा स्वामीका खबरदारीका लागि छन्। यी सबै तिनकै हुन् जसले मलाई यो असल ठाउँमा रोपे, जहाँ मेरा जराहरू यति तलसम्म गई पुग्दछन् जहाँ गुप्‍त पानी छ। अनि मेरा जराले बराबर जीवन दिने पानी चुसी रहन्छन्। जसले गर्दा म मेरो जीवन बनिनलाई रस र खुराक र राम्रोहुवाइ र बल पाउँदछु।

अनि यो डाँडाको अर्कोपट्टि भएका बाँसका बोटहरू देख्दछौ? तिनको कस्तो कुगत् र पातहरू सुक्‍न-सुक्‍न आँटेका छन्। तिनका जराहरू भित्रको गुप्‍त पानीसम्म पुगेका छैनन्। तर मेरो लागि मैले गुप्‍त पानी पाएको कारणले केहीको घटी छैन।

तिमीहरूले मेरा लिङ्गामा भएका चिन्हहरू देख्दछौ? राम्रो गरी हेर्दैजानुहोस्। मेरो जीउमा गहीरो-गहीरो गरी काटिएका छन्। यी काटिएका डामहरूले मलाई दुःख हुन्छ। म उदेक मान्दथेँ मैले किन यसरी दुःख भोग्‍नुपर्दैछ भनेर। तर के गरूँ मेरा स्वामीले आफ्नो हातमा हतियार लिई त्यसले मेरो जीउमा आफ्नो नाउँ खोप्‍दछन्। तर काम सक्किएपछि मेरा लिङ्गामा मेरा स्वामीको नाउँ खोपिएछन् भनेर थाहा पाएँ तब म रमाहटले उर्लेँ। तब मैले थाहा पाएँ उनले मलाई बिना धुकचुक प्यारो गन्नेछन् भनेर। अनि सिङ्गो संसारले जान्न सक्‍नेछ मेरा यस्ता स्वामी रहेछन् भनेर।"

जब बोटले आफ्नो धनीको विषयमा हामीहरूलाई बताउँदैथियो, तब हामीहरूले यताउता हेर्‍यौं, त हेर, धनी आफै पनि त्यहाँ रहेछ। त्यसले प्यारसित एउटा लिङ्गोलाई हेर्दैरहेछ। अनि त्यसले आफ्नो हातमा लाग्ने खुकुरी लिएको रहेछ। अनि धनीले बाँसलाई भन्यो, "मलाई तेरो खाँचो छ। के तैले आफूलाई मलाई दिहाल्ने इच्छा गर्छस्?" तब बाँसले उत्तर दियो, "म तपाईंकै हुँ। तर म जस्तोले तपाईंको के काम चल्छ होला र?" धनीले भन्यो, "मलाई तेरो खाँचो छ। मेरो जरुवा पानी त्यहाँ लैजानका लागि जहाँ पानी छैन।"

तब बाँसले भन्यो, "तर हे स्वामीज्यू, मदेखि यस्तो काम कसोगरी हुन सक्छ? म ता तपाईंको जरुवा पानीनिर रहन सक्छु। अनि आफ्नो खुराकको लागि यसको पानी चुस्‍न सक्छु। अनि म आफ्नो बाहाँ आकाशतिर फिजाउँन सक्दछु। अनि जीवन नयाँ पार्न तपाईंको जराको पानी पनि पिउँदछु। अनि बलियो र राम्रो हुँदछु। अनि रमाहट गर्दछु किनभने बल र सुन्दरता सबै तपाईंबाट कै हुन्। अनि तपाईं मेरा कति जाती स्वामी हुनुहुन्छ भनी प्रचार गर्दछु। तर म अरूलाई कसोगरी जरुवा पानी दिन सक्छु? म आफ्नै खुराकको लागि साँच्चै पानी चुस्दछु, अरूलाई के दिऊँ?"

तब धनीचाहिँको मुखबाट "तैंले आफूलाई मेरो लागि दिहाल्ने इच्छा गर्दछस् भने म तलाईं काममा लगाउँछु" भन्ने मीठो बोली निस्क्यो। अर्थात् -- "म तँलाईं काट्छु अनि तेरा सबै हाँगाहरू छिमल्छु अनि तँलाई नाङ्गो पारेर तँलाई तेरा यी अरू साथी बोटहरूको बीचदेखि लैजान्छु। अनि म तँलाई टाढो एकलास ठाउँमा लैजान्छु जहाँ तैंले मीठो स्वर सुन्न पाउँदैनस् जहाँ खालि घाँस बन्सो मात्र छन्। अँ अनि तँमा दुःख दिने हतियार काममा लगाउँछु जसले तँलाई अरू पनि दुःख दिनेछ। कसरी भने तेरा मनभित्र भएका सबै गाँठागुँठी एक-एक गरीकन काटी निकालिनेछन् तँदेखि मेरो जरुवा पानी बहेर जाने नहोउञ्जेलसम्म। तँ भन्दछस्, "तब ता म मरिहाल्छु"। अँ तँ मेरो बोट मर्नु ता मर्छस्। तर मेरो जरुवा पानी तँदेखि नअड्कीकन अनि नथामिनेगरी बहिरहनेछ। अँ साँच्ची-साँच्ची नै तेरो सुन्दरता जान्छ। अँ अबदेखि उसो तेरो सुन्दरताको लागि कसैले तँमाथि दृष्टि गर्नेछैन। तरैपनि तँदेखि बहने जरुवा पानी खानका लागि धेरै-धेरैजना तँमाथि निहुरिनेछन्। तिनीहरूले तेरो विषयमा केही विचार त गर्दैनन्। तरैपनि तेरो बाटोले तिनीहरूलाई दिएको त्यस जरुवा पानीको लागि के तिनीहरूले तेरो धनीलाई आशिष् दिँदैनन् र? मेरो बाँस, के तँ यस्तै हुनलाई इच्छा गर्छस्?" तब बाँसको कुरा सुन्नलाई म पवन बाँधी बसेँ।

"मेरा स्वामी, जे-जे मेरा छन्, ती सबै तपाईंदेखि नै छन्। तपाईंलाई मेरो खाँचो छ भने म आफ्नो जीवन खुशीसित इच्छा गर्दै तपाईंलाई दिहाल्छु। मेरो मरणको बाटोले मात्रै तपाईंले जरुवा पानी अरूलाई दिन सक्‍नुहुन्छ भने म मर्नलाई तयार छु। म तपाईंकै हुँ। मेरा स्वामीज्यूको इच्छाअनुसार मलाई लिएर आफ्नो काममा लगाउनुहोस्।"

अनि धनी आफैचाहिँको मोहोडा दयाले भरिएको ता थियो। तैपनि धनीले यति राम्रो बोटलाई लाग्‍ने बञ्चरो लिएर दोहोर्‍याई-दोहोर्‍याईकन हिर्काएर काटी भुइँमा लडायो। त्यसले केही विरोध गरेन तर त्यसको हँनाइँ सहनलाई आफूलाई दिहाल्यो मलीम शब्दले "हे मेरा स्वामी तपाईंको इच्छा अनुसार होस् भन्दै।" अनि धनीचाहिँले ऐलेसम्म बञ्चरो लिइरहेकै थियो। अनि लिङ्गो नछिनाउञ्जेलसम्म त्यसलाई हिर्काउँदैरह्यो अनि बोटले आफ्नो सुन्दरता अर्थात् आफ्ना पखेटा जस्ता हाँगाहरू जो त्यसका मुकुट हुन् सधैंको लागि हरायो। अब साँच्चीनै नाङ्गो र मुडुलो भयो। अनि धनी आफ्नो मोहोडाको प्रेमको ज्योति गहिरिएको भई जसै लडाइराखेको लिङगो टुक्रालाई आफ्नो काँधमाथि उठाई बोक्यो। तब त्यसका साथीहरू त्यसलाई पहाडमाथि टाढो-टाढो डाँडा हुँदो लग्यो भनेर विलाप गर्न लागे। तर बाँसको लिङ्गोले चाहिँ आफ्नो स्वामीको प्रेमको लागि आफूलाई सुम्पिदियो "मेरा स्वामीज्यू, तपाईंले जहाँ इच्छा गर्नुहुन्छ, मलाई उहीँ लैजानुहोस्" भनी मलीम शब्द गरी भन्दै। अब धनीचाहिँले त्यसलाई बोकेर एकान्त र सुन्ने ठाउँमा पुर्‍यायो। त्यहाँ पुगेर एकछिनसम्म विचार गरिरह्यो। त्यसपछि फेरि निर्दयालु लाग्‍ने हतियार आफ्नो हातमा लिएर लिङ्गोको मुटुमा पुग्‍नेगरी एक खेप हिर्कायो त्यसलाई आफ्नो जरुवा पानी लैजाने नल बनाउनका लागि। किनभने खालि लिङ्गोको मुटु फूटेको बाटोले मात्रै पानी नपाउने ठाउँमा बहेर जान सक्दथ्यो। लिङ्गो अझै पनि गनगनाएन तर मुटु फुटेको शब्दले बिस्तारै-बिस्तारै भन्यो, "हे मेरा स्वामी तपाईंको इच्छा पुरा होस्"। यसरी धनीचाहिँले फेरि प्रेमी मनले अनि दयालु मोहोडाले दुःख दिने हँनाइले हिर्कायो। अनि दुःख दिनदेखि थामिएन तर लाग्‍ने हतियारले राम्रो गरी आफ्नो काम गर्दैरह्यो, सबै रोकटोक ननकालिउञ्जेलसम्म। त्यसपछि मात्रै त्यसको धनीको मन सन्तोषित भयो।

तब त्यसले फेरि त्यसलाई बोकेर चोट लागेको र दुःख सहँदै गरेको गतमा वहाँसम्म लग्‍यो जहाँ त्यसले अहिलेसम्म जरुवा पानी उम्रँदै गरेको देखेको थिएन। वहाँ पुगेर त्यसले त्यो यसरी राख्‍यो अर्थात् त्यसको एक छेउ पानीको छेउमा पुग्‍ने गरी। अब जिउने पानीको मूल बहँदै त्यसको मुटुमा निर्दयालु हिसाबले पारिएको त्यसको मुटुका सबै घाउ-घाउदेखि छिर्दै-छिर्दै त्यसकै अर्को छेउपट्टिदेखि निस्की जानेसम्म गरी बही गयो। अनि बहँदाखेरि केही शब्द नगरी भित्र-भित्र बहँदै बाहिर बही निस्क्यो सदा सर्वदा नथामिँदै। तब धनीचाहिँ मुसु-मुसु हाँस्दै खुशी भयो।

त्यसपछि धनीचाहिँले फेरि अरू-अरू बोटलाई हेर्न लाग्यो। कोही-कोही लिङ्गोले दुःख भोग्‍न मानेन तर अरू-अरू कतिले चाहिँ खुशीसित आफू-आफूलाई उसको हातमा दिहाले -- "धनीज्यू, हामीहरू तपाईंमाथि भरोसा राख्दछौं। आफूले आफ्नो इच्छाअनुसार हामीहरूसित गर्नुहोस्" भन्दै। तब बाँसको धनीले बाँसको झाङ्ग-झाङ्गदेखि रोजी-रोजी काटेर बोक्दै लाँदै अघिल्लो बाँसको छेउमा पुर्‍यायो। वहाँदेखि एउटा-एउटा गरी राख्यो त्यही अघिल्लोजस्तै दुःख भोग्ने बाँसहरूलाई एकअर्कासँग गाँस्दै-गाँस्दै। अनि जसरी त्यसले ती गोटैपिच्छे बाँसलाई तिनको ठाउँ-ठाउँमा गरी गाँसेर राख्यो तब तिनको दुःख्दै गर्ने मुटुभित्र-भित्रबाट जरुवा पानी बहन थाल्यो। त यसैगरी त्यसको लाइन लामो-लामो हुँदै गयो अनि अन्तमा बाँसको नल पानी नभएको ठाउँसम्म पुग्यो। तब धेरै-धेरै समयदेखि तिर्खाले हैरान-हैरान परी मर्न आँटेका लोग्नेमान्छेहरू, स्वास्नीमान्छेहरू र केटाकेटीहरू समेतले आएर इच्छा पूर्णसम्म गरी पानी खाए। अनि तिनीहरूले यहाँ जरुवा पानी आएको भन्ने समाचार यता-यता उता-उता लगे, "अब यो ठाउँदेखि पानीको अनिकालको समय गयो! आओ, पानी खाओ!" भन्दै। त मान्छेहरूले आई-आईकन पानी खाए अनि तिनीहरूको जीवन नयाँ भयो।

धनीचाहिँ यो देखेर मनमा बडो खुशी भयो। त्यसपछि बाँसको धनीले आफ्नो बाँसको नलको छेउ-छेउमा गएर सोध्यो -- "ए मेरो बाँस, के तँ अब तेरो यो दुःख र एक्लोहुवाइदेखि नाराज छस्? अब के मोलको भइस्? अँ अब तेरो मोल यही हो अर्थात् अबदेखि तैँले जगतलाई आफूदेखि जिउँदो पानी दिँदैछस्, दिरहन्छस्।" बाँसले उत्तर दियो, "हे मेरा स्वामी, नाराज छैन हजार खेप छैन। मेरा दस हजार जीवन भए पनि कति खुशीसित म तपाईंलाई दिहाल्नेथिएँ। जस्तो आज मैले थाहा पाएँ यस थाहापवाइको लागि म तपाईंलाई खुशी पार्न गोहार पनि दिनेथिएँ।"

उपर्युक्त रचना सर्वप्रथम सन् १९१३ सालमा गंगा प्रसाद प्रधानद्वारा दार्जिलिङ्गको गोरखा प्रेसमा छापिएको हो। उक्त लेखलाई यहाँ उतार्दा केही हिज्जे तथा शब्दलाई तिनको हालको प्रचलित रूप दिने प्रयास गरिएको छ। प्रतिलिपिका संकलनकर्ता तथा प्रकाशक: सलोन कार्थक, पादरी गंगाप्रसाद प्रधानका उपलब्ध रचनावली, पृष्ठ ३७७-३९१, एकता बुक हाउस प्रा.लि., प्रधाननगर, सिलगढी, पश्चिम बङ्गाल (२००७)। माथिको बाँसको तस्वीर bamboogarden.com सित लिङ्क गरिएको छ।)

()
पृष्ठ संशोधन मिति: Sunday 03-Mar-13
WordofTruth.com.np © 2017