Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

विश्वासी जन र मद्यपान

यस पृष्ठलाई छाप्नुहोस्

डेविड क्लाउड

कण्ठ गर्नुपर्ने पद: हितोपदेश २०:१; २३:१९-२१; १ कोरिन्थी १०:३२-३३; १ थेस्सलोनिकी ५:२२

परिचय

१) ख्रीष्टको नाम धारण गर्ने धेरैजसो व्यक्तिहरू संयमी भएर मद्यपान गर्दा हुन्छ भन्ने कुरामा विश्वास गर्छन्। यो कुरा रोमन क्याथोलिकहरू (Roman Catholics), ओर्थोडक्सहरू (Orthodox), लुथरनहरू (Lutherans) र इमर्जिङ्ग इभान्जेलिकल (Emerging Evangelical) चर्चकाहरूको सवालमा साँचो छ। उदाहरणको लागि, "Listening to the Beliefs of Emerging Churches: Five Perspectives" भन्ने किताबमा मद्यपानको आनन्दको बारेमा दर्जनौं पटक उल्लेख गरिएको छ। लेखकहरू हुन्, कारेन वार्ड (Karen Ward), मार्क ड्रिस्कोल (Mark Driscoll), जोन बर्क (John Burke), डान किम्बल (Dan Kimball) र डग प्याजिट (Doug Pagitt)। उनीहरू इश्वरशास्त्रीय छलफल गर्न भट्टीहरूमा भेटघाट गर्छन्, र उनीहरू बियर बनाउने तरिकाहरू एकअर्कासँग सट्टापट्टा गर्ने गर्छन्।

२) बाइबलमा "दाखमद्य" भन्ने शब्द एक प्रजातीय शब्द (generic term) हो। त्यसैले विशिष्ट शब्दको जस्तै यसको एउटै अर्थ हुँदैन। कतिपय ठाउँमा यसको अर्थ अङ्गुरको ताजा जुस (दाखरस) हन्छ; कतिपय ठाउँमा यसको अर्थ रक्सीयुक्त मद्य (alcoholic wine, मदिरा) हुन्छ।

निम्न पदहरूले "दाखमद्य" भन्ने शब्दको माने अङ्गुरको ताजा जुस हुन सक्छ भनेर प्रमाणित गर्छ: व्यवस्था ११:१४; २ इतिहास ३१:५; नहेम्याह १३:१५; हितोपदेश ३:१०; यशैया ६५:८। रक्सीबिहीन दाखमद्य (Non-alcoholic wine) लाई कतिपय ठाउँमा "दाखको फल" (मत्ती २६:२९) को संज्ञा दिइएको छ।

डाक्टर ब्रुस ल्याकिले भन्नुभयो, "बाइबलमा यदि 'दाखमद्य' भन्ने शब्द रक्सीयुक्त मद्यलाई जनाउन प्रयोग गरिएको छ भने सन्दर्भले त्यो सधैं छर्लङ्ग पार्छ। ती सन्दर्भहरूमा परमेश्वरले त्यसको खराब असरको चर्चा गर्नुहुन्छ र त्यसको विरुद्धमा चेताउनी दिनुहुन्छ। उदाहरणको लागि उत्पत्ति ९ लाई लिन सकिन्छ जहाँ जलप्रलय पश्चात् नूहको अनुभवलाई बयान गरिएको छ। २१ पदले भन्छ, 'अनि तिनले दाखमद्यबाट पिए, र मत्त भए; अनि आफ्‍नो पालभित्र तिनले आफूलाई नाङ्गा तुल्याए।' प्रष्टै, यहाँ दाखमद्यको माने मद्य वा मदिरा हो।"

मदिरा प्राकृतिक उत्पादनको वस्तु होइन; यो मान्छेबाटको उत्पादन हो। अङ्गुरको जुस प्राकृतिक तवरले किण्वीकरण भई रक्सीयुक्त बन्न त बन्छ तर त्यो छिट्टै सिर्का (vinegar, भिनिगर) मा परिणत हुन्छ। त्यो रक्सीयुक्त अवस्थामा रहिरहँदैन। Bible Wines and the Laws of Fermentation नामक पुस्तकले मद्य बनाउनलाई के कस्ता कुराहरू आवश्यक छन् भन्ने कुराको बयान गर्दछ।

तसर्थ, येशूले पानीलाई "दाखमद्य" मा परिणत गर्नुहुँदा (यूहन्ना २:१-११) र प्रेरित पावलले तिमोथीलाई उसको पेटको लागि अलि-अलि "दाखमद्य" प्रयोग गर्नलाई सल्लाह दिँदा (१ तिमोथी ५:२३), त्यहाँ रक्सीयुक्त दाखमद्यकै कुरा गरिएको हो भन्ने होइन। (यस बारेमा थप जानकारी पाउन "Did Jesus Make Alcoholic Wine?" (अङ्ग्रेजी) पढ्नुहोस्।

नयाँ नियमको विश्वासी जन रक्सीयुक्त पेय पदार्थहरूदेखि पूर्णरूपमा अलग रहनुपर्छ भनेर बाइबलले सिकाउँछ भन्ने कारणहरू निम्न प्रकारका छन्:

१) दाखमद्यले गिज्याउँछ र मानिसलाई ठग्छ भनेर बाइबलले चेताउनी दिन्छ (हितोपदेश २०:१)।

रक्सीयुक्त पेय पदार्थहरूलाई सीमित मात्रामा पिउँदा हुन्छ भन्ने भनाइ तर्कसङ्ग भए जस्तै सुनिन्छ, तर आफूहरू पियक्कड नै बन्नलाई अघि सरेकाहरू पियक्कडहरू धेरैजना हुँदैनन्। झूटो सावित गर्न नसकिने तथ्य यो हो कि जसले पिउँदै पिउँदैन ऊ कहिल्यै मात्नेछैन र ऊ निश्चय पनि पियक्कड बन्नेछैन।

ब्रुस ल्याकिको भनाइसित हामी सहमत छौं, "मद्यले कसरी ठग्छ? ठीक जसरी आज मानिसहरूले त्यसको वकालत गर्दैछन्, अर्थात् थोरै पिएर केही हानि हुँदैन अरे। धेरै पिउनु खराब हो भनेर सबैले स्वीकार गर्छन्। मदिरा कम्पनीहरू समेतले हामीलाई पिएर गाडी नचलाउनुहोस् भनिरहेका छन्, तर थोरै पिउनु ठीकै हो भन्ने उनीहरूको जिकीर छ। तर, त्यही कुरा नै भ्रमात्मक कुरा हो। कति थोरै पिउने भन्ने कुरा कसलाई थाह छ र? विज्ञहरूको अनुसार प्रत्येक व्यक्ति फरक हुन्छ। एकजनालाई एक घुट्कीले मात लाग्न सक्छ भने अर्कोलाई लाग्न त्योभन्दा धेरै चाहिन्छ। एउटै व्यक्तिको पनि फरक अवस्थाहरूमा मदिराप्रति उसको फरक प्रतिक्रिया हुन्छ, जस्तो कि उसले कति खानेकुरा खाएको छ आदि। त्यसैले 'अलिकतिले केही हानि गर्दैन' भन्ने कुरा भ्रम हो, र यसद्वारा ठगिएको व्यक्ति बुद्धिमान् होइन।!"

नूहले आफू मत्त हुने नै योजना बनाए होला जस्तो मलाई लाग्दैन न ता आफ्‍नो नातीमाथि त्यत्रो समस्या ल्याऊँला भनेर नै उनले सोचेका थिए -- जुन समस्या आजको दिनसम्म पनि जारी छ -- हो, मद्यले गिज्याउँछ।

मेरो आमापट्टिको हजुरबुबा पुस्तौंदेखि पियक्कडहरूको पूर्ख्यौलीमा जन्मनुभएको थियो र मेरो हजुरआमाले विवाह गर्नुभन्दा पहिला उहाँलाई एक थोपा रक्सी नछुनलाई प्रतिज्ञा गराउनुभएको थियो, अनि उहाँले त्यसरी प्रतिज्ञा गर्न मान्नु पनि भयो। तर एक दिनको कुरा थियो, उहाँ र अर्को सिकर्मी एउटा घरको छानामाथि काममा गर्दै हुनुहुन्थ्यो अनि त्यो अर्को व्यक्तिले उहाँलाई "जिब्रो शीतल पार्न" एक चुस्को मात्र पिउनलाई मनाएछन्। अनि दुवैजना बेसरी मातेछन् र थानामा पुर्‍याइएछन् जब कि मेरो हजुरबुबा एउटा ब्याप्टिस्ट मण्डलीमा डिकन हुनुहुन्थ्यो! उहाँले एकदमै पछुतो मान्नुभयो र उहाँ पुनस्थापित हुनु पनि भयो अनि त्यसपछि उहाँले अर्को थोपा फेरि पिउनुभएन तर मदिराले गिज्याउँछ भन्ने कुराको यो डरलाग्दो प्रमाण थियो।

मद्यमा ठग्ने र बिगार्ने क्षमता छ। त्यसलाई आफ्‍नो वशमा राख्‍ने सकिने हो कि त्यसले आफूलाई वशमा ल्याउने हो कसैले जान्न सक्दैन। हितोपदेश २०:१ को निर्देशनले मलाई यो बताउँछ कि बुद्धिमानी मानिसले त्यसलाई आफूबाट अलग्गै राख्‍नेछ।

तलको बुद्धिमानी भनाइ जोन पेटन (John Paton) को हो जो नयाँ हिब्रडिज (New Hebrides) मा मिसनरी थिए (१८९१):

"मद्यपान कसरी सीमित मात्रामा गर्न सकिन्छ भनेर सिकाउने संयम समाजहरू (Temperence Societies) वास्तवमा सफल भएका छैनन् बरु परमेश्वरको अनुग्रहले मद्यपान गर्नदेखि पूर्णरूपमा अलग बस्नु नै यसको एकमात्र औषधि हो र बच्ने उपाय हो भन्ने कुरामा म सानै छँदा अवलोकनबाट विश्वस्त भएको हुँ। मद्यको जति मात्रा एकजनाको लागि संयमपूर्ण ठानिन्थ्यो त्यो अर्कोलाई मताउन सक्ने मात्रा हुन सक्थ्यो; अनि जति पनि व्यक्तिहरू पियक्कड छन् तिनीहरू पूरै परहेजमा बस्नेहरूका बीचबाट आएका हुँदैनथे तर संयमी भई पिउनेहरू वा त्यसरी पिउन प्रयास गर्नेहरूको बीचबाट आएका हुन्थे। संयम समाजका मानिसहरूलाई मैले अरू नपिउनेहरूको सामु पिइरहेको देखेको थिएँ जोहरू पछि गएर पियक्कड बने अनि त्यस बारेमा आफूहरू दोषी छैनौं भनेर उनीहरू कसरी सोच्न सक्छन् होला भनेर मैले कहिल्यै बुझ्न सकिनँ; साथै एकताका संयम समाजहरूको जोडदार वकालत गर्ने मण्डलीका सेवकहरू र अरूहरूलाई उनीहरूको कथित संयमबाट पतन भएर पियक्कड बनेको पनि देखेको छु। तसर्थ जुनसुकै पनि लागु पदार्थको सम्बन्धमा मेरो जीवनभर मैले यो कुरा निर्विवाद रूपमा देखेको छु कि एकमात्र समझदारपूर्ण संयम भनेको तिनीहरूलाई पेय पदार्थको रूपमा प्रयोग गर्नेदेखि पूर्णरूपमा अलग बस्नु हो र तिनलाई केवल औषधिको रूपमा मात्र प्रयोग गर्नु हो, अनि त्यो पनि अधिकतम सतर्कतासाथ किनकि ती एकदम नीचता र अनैतिकताका भ्रमात्मक र अस्वस्थ्यकर विष हुन्।"

बाइबलले मात्न निषेध गरेको छ भनेर इमर्जिङ्ग चर्चकाहरू समेत सहमत छन्, तर उनीहरू र उनीहरूका पिउने मित्रहरू कहिल्यै "अलिकति" पनि मात्नेछैनन् भनेर के तिनीहरूले ग्यारेन्टी दिन सक्छन् र? उनीहरूले पियक्कड बन्न कसैलाई पनि परीक्षामा पार्नेछैनन् भनेर के तिनीहरूले ग्यारेन्टी दिन सक्छन् र? अहँ, सक्दैनन्, किनकि "दाखमद्यले गिज्याउँछ।"

२) रक्सीयुक्त पेय पदार्थबाट टाढा बस्नुपर्छ किनकि त्यो अन्य थुप्रै खराबीहरू र खतराहरूसित आवद्ध छ (हितोपदेश २३:१९-२३, २९-३५)।

आफ्‍ना बाबुआमाको कुरा सुन्नू र सत्यता किन्नू र त्यसलाई नबेच्नू भनेर बाबुले छोरालाई दिइरहेको जोडदार आग्रहका साथ यो खण्ड शुरु हुन्छ (हितोपदेश २३:२२-२३)। आफ्‍नो सारा हृदय र बल र जीवनलाई त्यसप्रति उन्मुख गराएर "सत्यता किन" र शैतानको कुनै पनि रित्तो र भ्रमात्मक प्रलोभनको सट्टामा "त्यसलाई नबेच" भन्दै बाबुले आफ्‍नो छोरालाई अर्ती दिँदैछ। यसले एक व्यक्तिलाई "सामाजिक मद्यपान" (social drinking) लाई प्रोत्साहन गर्ने नाचगान, भट्टिहरू, रात्री-क्लबहरू जस्ता सांसारिक क्रियाकलापहरू र स्थानहरूको प्रलोभनदेखि जोगाउनेछ।

पियक्कडलाई गरीबी हुन्छ (हितोपदेश २३:१९-२१)। हितोपदेशले युवकलाई पियक्कडहरू र घिचुवाहरूको सङ्गतदेखि टाढा बस्न सल्लाह दिन्छ किनकि ती कुराहरू गरीबीसित आवद्ध छन्। यो निश्चित छ ती कुराहरूले आत्मिक गरीबी ल्याउँछन् र प्रायः आर्थिक गरीबी पनि ल्याउँछन्।

पियक्कड श्राप, शोक र झगडाहरूले पीडित हुन्छ (हितोपदेश २३:२९)। समाजका धेरैओटा श्रापहरू रक्सीधोकाइका प्रतिफल हुन्। जस्तै, तोडिएका वैवाहिक सम्बन्धहरू, गुमेका मित्रताहरू, सामाजिक इज्जतबाटका पतनहरू, आर्थिक नोक्सानिहरू, गाडी तथा हवाई दुर्घटनाहरू, अपराधहरू, छुरी धसाइहरू, गोली हनाइहरू, बिग्रेका बाल्यावस्थाहरू, किशोरी गर्भाधारणहरू, टाट पल्टाइहरू, र आत्महत्याहरू। मेरो एकजना जिजुबाजे धनी मान्छे हुनुहुन्थ्यो जसका दुईटा रेष्टुरेन्ट एण्ड बार थिए र उहाँ बेसरी पिउनुहुन्थ्यो। एकदिन उहाँ आफ्‍नो दामी क्याडिल्याक गाडीमा चढेर एउटा शवगृहमा जानुभयो, आफ्‍नै कञ्चटमा पिस्तोल तेर्साउनुभयो र आफ्‍नै ज्यान लिनुभयो।

पियक्कडले मुख बजाउँछ (हितोपदेश २३:२९)। रक्सीले मातेको मान्छे अर्थहीन कुराहरू र मूर्ख कुराहरू बोल्छ।

पियक्कडलाई बिनाकारणै चोटहरू लागेका हुन्छन् (हितोपदेश २३:२९)। ऊ जान्दैन आफू कहाँ थिएँ वा आफूले के गरेँ र कसरी उसलाई चोटहरू लागे। त्यो झगडा वा दुर्घटना वा लोटाइको उसलाई सम्झना हुँदैन। मेरो ससुराले एलेस्कामा एक रात गाडी ठोक्काउनुभयो जब उहाँ एउटा पुल पार गर्नुभएपछि अगाडिको मोडमा नकाटीकन सीधै हाँक्नुभयो। ढलपल गरी धर्मराउँदै बाटोमा हिँडिरहेको उहाँलाई भेटियो र आफूलाई के भयो भन्ने कुराको समेत उहाँलाई अत्तोपत्तो थिएन।

पियक्कडका आँखाहरू राता हुन्छन् (हितोपदेश २३:२९)। उसको शरीरमै असर परेको हुन्छ। उसका आँखामा असर परेको हुन्छ; उसका मृगौलाहरूमा असर परेको हुन्छ; उसको कलेजोमा असर परेको हुन्छ; उसको मस्तिष्कमा असर परेको हुन्छ।

पियक्कडका आँखाले पराई स्त्रीहरूलाई हेर्छन् (हितोपदेश २३:३३)। यो चाहिँ रक्सीधोकाइसित कसरी अनैतिकतको निकट सम्बन्ध हुन्छ भन्ने कुराको बयान हो। पियक्कडका नैतिक संवेदनशीलता शिथिल बन्छन् र ऊ खुकुलो चरित्रका स्त्रीहरूप्रति आकर्षित हुन्छ। भनिन्छ, "मदिरा अभिलाषाको आगोको इन्धन हो"।

पियक्कडको हृदयले टेढा कुराहरू बक्छ (हितोपदेश २३:३३), जस्तै श्रापहरू, तीता बोलीहरू, निन्दाहरू र फोहोर ठट्टादिल्लगीहरू।

पियक्कड लापरवाही बन्छ र ऊ मूर्ख प्रकारले निडर हुन्छ (हितोपदेश २३:३४)। समुद्रको बीचमा तैरिरहँदा वा समुद्रमा हिँडिरहेको जहाजको मस्तुलको टुप्पामा बस्दा ऊ पल्टेर निदाउन चाहन्छ। ठूलो समुद्री जहाजको बीचको मस्तुल २०० सम्म फीट अल्गो हुन सक्छ। पियक्कड मातेको बेलामा गाडी चलाउँछ वा हवाइजहाज हाँक्छ; ऊ व्यस्त राजमार्गको बीचमा हल्लिँदै हिँड्छ; अरूबेला नजिक पनि नगइने होहल्ला मच्चिरहेको भट्टीभित्र ऊ पस्छ; जङ््गी मान्छेहरूलाई ऊ कुस्ती खेल्ने चुनौती दिन्छ। २०१० सालको जुलाइ महिनामा मातेको एकजना अष्ट्रेली नागरीक एउटा निकुञ्जभित्र छिरेर १५-फुटको गोहीमाथि चढ्न खोजेछ र खुट्टामा एउटै मात्र टोकाइ खाएर अचम्मसाथ बाँचेछ। पियक्कड पैसा खर्च गर्न लापरवाह गर्छ। ऊ नैतिकतामा लापरवाह गर्छ। गलत सङ्गतसित लापरवाहसाथ यताउता हिँड्छ। उसले अमूल्य सम्बन्धहरू र मित्रताहरूलाई लापरवाहसात मिल्काउँछ।

पियक्कडलाई दुख्नुपर्ने ठाउँमा दुख्दैन ("तिनीहरूले मलाई हिर्काए, तर म बिरामी भइनँ; तिनीहरूले मलाई कुटे, तर त्यो मैले थाहै पाइनँ", हितोपदेश २३:३५)। उसको मात लागेको मुद्राबाट नउठेसम्म पियक्कडलाई आफ्‍नो रक्सीधोकाइको मूर्खताले निम्त्याएको पीडाप्रति उसको होसहवास हुँदैन।

पियक्कड अनौठो प्रकारले दास बनाइएको हुन्छ ("म कहिले बिउँझूँ? म फेरि त्यसको खोज गर्नेछु", हितोपदेश २३:३५)। एउटा रक्सीधोकाइको घटना बित्न पाएको छैन ऊ फेरि त्यसैको खोजी गर्न चाहन्छ। रक्सीले उसको स्वास्थ्यलाई खत्तम पारिसके तापनि र उसको दाम्पत्य जीवनलाई भताभुङ्ग पारिसके तापनि र उसको पेशालाई चक्नाचूर पारिसके तापनि, ऊ सितिमिति पिउन छोड्दैन। "यो एउटा गहिरो र साँघुरो खाडल हो जसबाट निस्कन करीब असम्भव छ; त्यसैले त्यसको छेउबाट दूर रहनु बुद्धि हो। यस पापको दिशामा एक कदम मात्र पनि चाल्नदेखि होसियार! किनभने त्यसदेखि कदम फर्काउन यति गाह्रो छ कि "फर्क!" भनेर चिच््याउने विवेकलाई धरी त्यसले भ्रष्ट पारिसकेको हुन्छ र त्यस अवस्थामा परमेश्वरको अनुग्रहलाई परित्याग गरिसकिएको हुन्छ" (म्याथ्यू हेनरी)।

३) बाइबलले विश्वासी जनलाई कुनै पनि कुरामा अरूलाई ठेस नखुवाउन आज्ञा गर्दछ (१ कोरिन्थी १०:३२-३३)।

मुक्ति पाएको केही महिना पछि मैले चुरोट छोडेँ तर चुरोट आफैमा खराब कुरा हो भन्ने विचारले मैले त्यसलाई छोडेको थिइनँ न ता त्यो ‍स्वास्थ्यको लागि हानिकारक छ भन्ने विचारले नै; तर यो अरूहरूलाई ठेस खुवाउने कुरा हो भन्ने कुरा बुझेर नै मैले चुरोट छोडेको थिएँ। म आफ्‍नो साक्षी दोषरहित भएको चाहन्थे ताकि परमेश्वरले मलाई प्रयोग गर्न सक्नुभएको होस् र उहाँले मलाई अनन्त फल दिनुभएको होस्। मैले कसैलाई ख्रीष्टको बारेमा बताउन खोज्दा उसले मेरो पाकेटमा एक बट्टा चुरोट देखेर मेरो कुरा सुन्न नचाहने बनेको वा उसको ध्यान सुसमाचारदेखि अन्यत्र खिँचिएको म चाहदैनथेँ।

चुरोटको सवालमा त्यो साँचो हो भने, अनि हो पनि, त्यसोभए रक्सीयुक्त पेय पदार्थको बारेमा यो झनै साँचो हो। विश्वासी भएर पिउनु हुँदैन ‍भन्ने कुरा धेरैजना अविश्वासीहरूले नै सोच्दछन्। कतिपय ख्रीष्टियानहरूले आफ्‍नो निम्ति अपनाएको मानदण्डभन्दा अविश्वासीहरूले ख्रीष्टियानहरूका निम्ति राखेको मानदण्ड उच्च छ। अमेरकाको यूटालाई विचार गर्नुहोस्, जहाँ मर्मनहरूले समेत रक्सीयुक्त पेय पदार्थ पिउनु गलत हो भनेर विश्वास गर्छन्! ती मर्मनहरूले मद्यपान गर्ने गैर-मर्मन ख्रीष्टियानहरूलाई कसरी हेर्छन् होला त?

विश्वासीले आफ्‍नो जीवनदेखि मद्यपान हटाउनुपर्छ भन्ने कारणको रूपमा आफूले गरेको मद्यपानले कसैलाई ठेस खुवाउला कि भन्ने सम्भावना मात्र पनि पर्याप्‍त छ, अनि आजको समाजमा त्यो सम्भावना ज्यादै ठूलो छ। मासु खाँदा कसैलाई ठेस लाग्छ भने र उसको साक्षीको निम्ति हानिकारक छ भने पावल यस वर्तमान संसारमा कहिल्यै मासु नखान समेत तत्पर थिए (१ कोरिन्थी ८:१३) जब कि मासु खानु त कुनै अवैध काम होइन। झन् बढ्ता गरी एक विश्वासीले रक्सीयुक्त पेय पदार्थलाई परित्याग गर्न तयार हुनुपर्ने हो जब कि त्यो ज्यादै संदिग्ध कुरा हो र त्यसमा आफैलाई र अरूलाई हानि पुर्‍याउने शक्ति छ (जुनचाहिँ मासुमा छैन)!

४) बाइबलले विश्वासीलाई दुष्टताको हरेक रूपमा अलग बस्न आज्ञा गर्छ (१ थेस्सलोनिकी ५:२२)।

यो त धेरै कुरालाई समेट्ने ज्यादै फराकिलो अर्ती हो। रक्सीयुक्त पेय पदार्थ आजको समाजमा भयङ्कर दुष्टता र श्रापको रूपमा देखा परेको छ। ती गाडी दुर्घटनाहरूलाई विचार गर्नुहोस्, स्वास्थ्यको नाश र अकालका मृत्युहरूलाई विचार गर्नुहोस्, व्यभिचारहरू, अश्लीलताहरू, पारपाचुकेहरू, बेवास्ताको शिकार बनेका बाल‍बच्चाहरू, दुर्व्यवहारका शिकार बनेका पत्नीहरू, खेर गएका पैसाहरू, ती जुवाहरू, ती निन्दाहरू, ती सत-प्रतिशत मूर्खताहरूलाई विचार गर्नुहोस्। बियर र रक्सीका ती विज्ञापनहरूलाई हेर्नुहोस्, कसरी तिनले कामवासनालाई र गैरजिम्मेवारीपनलाई निर्लज्ज प्रकारले प्रदर्शन गर्छन्।

२०१० सालको अप्रिल महिनाको एउटा रिपोर्टअनुसार, रूसमा भोड्का पिउने काम एउटा महामारी नै बनेको छ। एकजना मामुली रूसीले वार्षेनी १५ देखि १८ लिटर कडा मद्य पिउने गर्छ जसले औसतमा प्रत्याशित आयुलाई एक दशकले घटाउँछ। रूसी पुरुषको प्रत्याशित आयु ६१.८ वर्ष मात्र छ। जनवरी २००५ मा बेलायतको रोयल कलेज अफ फिजिसियनहरूले राष्ट्र मदिरा-सम्बन्धित समस्याहरूको महामारीले ग्रस्त छ भनेर चेताउनी दियो जुन महामारीले देशभरि उपद्रव र रोगहरूको वृद्धि गराउँदैछ (The Telegraph, Jan 3, 2005)। यही महामारी विश्वभरि नै दनदनती सल्किरहेको छ।

आज यदि कुनै कुरालाई दुष्टताको रूप मान्न सकिन्छ भने त्यो रक्सीयुक्त पेय पदार्थ नै हो, र बाइबलले हामीलाई दुष्टताको हरेक रूपबाट अलग बस्नुपर्छ भन्ने सल्लाह मात्र दिएको छैन; यसले हामीलाई त आज्ञा नै गरेको छ!

५) आजको दाखमद्यमा भएको र बाइबलकालीन दाखमद्यमा भएको रक्सीको मात्राको बीचमा उल्लेखनीय भिन्नता छ।

बाइबलकालीन दाखमद्य सामान्यतया पन्यालो हुन्थ्यो। त्यो भनेको म सेनामा हुँदा त्यहाँ बूट क्याम्पमा पिउन पाइने दुई प्रतिशत बियर जस्तै हुन्थ्यो।

"आजका धेरैजना मद्यपान गर्ने ख्रीष्टियानहरूले नयाँ निमयमा उल्लेखित दाखमद्य हिजआजकै दाखमद्य जस्तै थियो भनेर मानिलिएका हुन्छन्। तर यो धारणा गलत हो। वास्तवमा आजको दाखमद्य बाइबलीय परिभाषाले कडा मद्य (strong drink, मदिरा) हो र त्यसैले त्यो बाइबलमा निषेधित छ। … प्राचीन समयका अविश्वासीहरूले समेत आजका कतिपय ख्रीष्टियानहरूको जस्तो मद्यपान पिउने गर्दैनथे" (Norman Geisler, Focus in Missions, Sept, 1986)।

"आजको दुईटा मार्टिनीमा रहेको मद्य बराबरको दाखमद्य पिउने हो भने बाइबलमा उल्लेखित दाखमद्य (तीन भाग पानी र एक भाग दाखमद्य) को त बाइस गिलास पिउनुपर्ने हुन्छ" (Robert Stein, Ibid.)।

निष्कर्ष

१) येशूले रक्सीयुक्त दाखमद्य पिउनुभयो वा बनाउनुभयो भनेर हामी विश्वास गर्दैनौं। सर्वप्रथम, पूजाहारीहरू र राजाहरूलाई रक्सीयुक्त पेय पदार्थ पिउन निषेधित थियो (लेवी १०:९; हितोपदेश ३१:४-५), अनि येशू दुवै पूजाहारी र राजा हुनुहुन्छ। दोस्रो कुरा, दाखमद्यले गिज्ज्याउँछ भनेर बाइबलले चेताउनी दिन्छ (हितोपदेश २०:१) अनि येशू मानिसहरूलाई गिज्ज्याउन आउनुभएको होइन। तेस्रो कुरा, दाखमद्य (अर्थात् दाखरस) को आश्चर्यकर्मको प्रतिफलले देखाउँछ कि येशूले रक्सीयुक्त दाखमद्य बनाउनुभएको थिएन (यूहन्ना २:११)। यस आश्चर्यकर्मले ख्रीष्टले पवित्र मसीहको रूपमा आफ्‍नो महिमा प्रकट गर्नुभयो जसको फलस्वरूप चेलाहरूले उहाँमाथि विश्वास गरे। यदि उहाँले दाखरस नभएर रक्सीयुक्त दाखमद्य बनाउनुभएको हो भन्ने अर्थमा त्यसलाई लिने हो भने त्यसको मतलब त उहाँले मातेकाहरूलाई झनै रक्सीले मताउने काम गर्नुभएको ठहरिन्थ्यो!

२) इस्राएलीहरूलाई कुनै अवसरहरूमा कडा मद्य पिउन अनुमति थियो भन्ने कुरा साँचो हो (व्यवस्था १४:२६), तरैपनि आज उहाँका जनहरूका निम्ति यो परमेश्वरको इच्छा हो भन्ने चाहिँ होइन। विश्वासीलाई जिउने नियम नयाँ नियममा अझ उच्च मानदण्डको छ। जस्तो कि, मोशाको व्यवस्थामा बहुविवाह गर्न छुट थियो तर नयाँ नियममा कतै पनि त्यस्तो प्रबन्ध गरिएको छैन।

३) ख्रीष्टियानलाई रक्सीयुक्त पेय पदार्थ पिउनलाई कुनै आवश्यकता नै छैन। त्यसले उसको जीवनमा कुनै मूल्य थप्दैन।

४) हामी खतरापूर्ण धरापहरूले भरिएको संसारमा हिँडिरहेका छौं (१ पत्रुस ५:८)। हाम्रा भयङ्कर आत्मिक शत्रुहरू छन्: संसार, शरीर र शैतान। आत्मिक शिथिलता ल्याउने र हामीलाई हानि ल्याउन सक्ने कुनै पनि कुराबाट अलग बस्नु बुद्धिमानी हो।

५) हामी भयङ्कर सत्यत्याग (apostasy) को घडीमा बाँचिरहेका छौं (२ तिमोथी ४:३-४)। इमर्जिङ्ग चर्चले मद्यपान गर्न मन पराउनुको कारण यो हो कि तिनीहरू स्वतन्त्रताको धाक दिन्छन् र पावलको भविष्यवाणीले भनेजस्तै आफ्‍नै अभिलाषाहरू अनुसार जिउँछन्। उनीहरूको उदाहरणलाई पछ्याउनु मूर्खता हो।

विश्वासी जन र मद्यपान सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. बाइबलमा दाखमद्य भन्ने शब्द एक _______________________ शब्द हो।
  2. "दाखमद्य" भन्ने शब्दले ताजा अङ्गुरको जुसलाई जनाउन सक्छ भनेर प्रमाणित गर्ने दुईटा पदहरू बताउनुहोस्।
  3. बाइबलको कुनै पनि खण्डमा दाखमद्य भन्ने शब्दले अङ्गुरको रस (दाखरस) लाई जनाउँदैछ कि रक्सीयुक्त पेय पदार्थलाई जनाउँदैछ भनेर हामीले कसरी छुट्ट्याउन सक्छौं?
  4. नयाँ नियमको ख्रीष्टियानले मद्यपानलाई पूरै त्याग्नुपर्छ भनेर हामीले विश्वास गर्नुको पाँच कारणहरू के-के हुन्?
  5. कुन पदले दाखमद्यले गिज्ज्याउँछ र ठग्छ भनेर सिकाउँछ?
  6. कसैले कहिल्यै पिउँदैन भने के ऊ कहिल्यै पियक्कड बन्छ?
  7. रक्सीयुक्त पेय पदार्थहरू कसरी भ्रमात्मक छन्?
  8. हितोपदेशको कुन अध्यायले मद्यपानससित सम्बन्धित सबै दुष्टताहरूलाई बयान गर्दछ?
  9. हामीले अरूहरूलाई ठेस खुवाउनुहुँदैन भन्ने बाइबलको चेताउनीको माने के हो?
  10. दुष्टताको हरेक रूपबाट अलग बस्न विश्वासीलाई बाइबलको कुन पदेले सिकाउँछ?
  11. बाइबलकालीन दाखमद्य र आधुनिक समयको रक्सीयुक्त दाखमद्यमा के फरक छ?
  12. येशूले रक्सीयुक्त दाखमद्य बनाउनुभएको होइन भनेर हामीले विश्वास गर्नुको तीनओटा कारणहरू के-के हुन्?
  13. सत्यलाई परित्याग गरेका ख्रीष्टियानहरू आफ्‍नै अभिलाषाहरू अनुसार जिउनेछन् भनेर चेताउनी दिने बाइबलको खण्ड कुन हो?

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course - 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो "एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू" शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9851-055734, 9818-399206; मूल्य: नेरू ३०० मात्र।


पृष्ठ संशोधन मिति: Friday 30-Nov-12
WordofTruth.com.np © 2017