बाइबलको प्रमाण (भाग १)

यस पृष्ठलाई छाप्नुहोस्

डेविड क्लाउड

पद कण्ठ: प्रेरित १:३; १ कोरिन्थी १५:६; हिब्रू ११:६

बाइबल परमेश्वरको वचन हो भनेर मानिसले ग्रहण गर्नुपर्ने आखिरमा विश्वासैद्वारा हो। हिब्रू ११:६ लाई पढ्नुहोस्।

तर अर्कोतिर बाइबलीय विश्वास भनेको अन्धकारमा हामफाल्ने जस्तो अन्धो विश्वास होइन। यो त परमेश्वरले दिनुभएको अभिलेखमाथिको निर्धक्कता हो (रोमी १०:१७)। बाइबलका लेखकहरूले आफूहरूले चतुर्याइँसाथ कथिएका दन्त्यकथाहरू नभएर आधिकारिक प्रत्यक्षदर्शीका रूपमा "अनेकौं अचुक प्रमाणहरू" मा आधारित अभिलेख प्रस्तुत गरेका हौं भनेर हामीलाई ब्याख्या गरेका छन् (प्रेरित १:३; २ पत्रुस १:१६)।

बाइबलमाथि हाम्रो पूर्ण निर्धक्कता किन हुन सक्छ भन्ने केही वस्तुगत, समय-प्रमाणित कारणहरू यहाँ प्रस्तुत गरिन्छ:

१) ख्रीष्टको बौरिउठाइले बाइबल परमेश्वरको वचन हो भनेर प्रमाणित गर्दछ।

सयौं मानिसहरू ख्रीष्टको बौरिउठाइका गवाही थिए (१ कोरिन्थी १५:५-७)। यो कुरा पावलले ख्रीष्टको बौरिउठाइ भएको केवल २०-३० वर्ष पछाडि मात्र लेखेका हुन् जतिबेला धेरैजना प्रत्यक्ष गवाहीहरू अझ पनि जीवितै थिए। के उनीहरू सबैले झूट बोल्दैथिए त? पटक-पटक बौरिउठ्नुभएका ख्रीष्ट एकैचोटी धेरैजनाद्वारा देखिनुभएको थियो अनि एकपटक उहाँ ५०० जना भन्दा धेरै मानिसहरूद्वारा देखिनुभएको थियो। उहाँलाई देख्‍नेहरूले उहाँसँग कुरा गरे, उहाँलाई हातले समाते, उहाँसँग हिँडे, उहाँसँग खाना खाए (लूका २४:३६-४३)।

बौरिउठाइ हुनुभन्दा अघि प्रेरितहरू अधिकारीहरूदेखि डरले लुक्दैथिए (यूहन्ना २०:१९)। उनीहरूले आफ्नै आँखाहरूले बौरिउठ्नुभएका ख्रीष्टलाई देखेपछि उनीहरू साहसी र निडर बने र सुसमाचारका लागि आफ्नै ज्यानहरू समेत दिन तयार भए।

बौरिउठ्नुभएको ख्रीष्टलाई देख्‍नुभन्दा अघि पावलले ख्रीष्टियनहरूलाई घृणा गर्थे र सताउँथे, तर पछिबाट उनी तिनीहरूलाई प्रेम गर्ने भए र येशूको खातिर उनले आफ्नो मान-इज्जत र धन-सम्पत्ति समेत खुशीसाथ गुमाए।

यस्ता परिवर्तनहरू हुनुको पछाडि त्यहाँ एउटा भयङ्कर शक्तिशाली घटना भएकै थियो।

२) बाइबलको अद्वित्तीय संरचनाले यो परमेश्वरको वचन हो भनेर प्रमाणित गर्दछ।

बाइबल ४० जना बेग्लाबेग्लै लेखकहरूद्वारा लेखिएको हो जो लेखकहरू करिब १९ ओटा बेग्लाबेग्लै पेशाका मानिस थिए (गोठाला, सिपाही, किसान, मछुवा, महसूल सङ्कलक, डाक्टर, राजा, इत्यादि) र साथै उनीहरू करिब १६०० वर्षको अवधिभित्र जिउँदथे। त्यो भनेको लगभग ५० पुस्ता हुन आउँछ। बाइबलका अघिल्ला ३९ पुस्तकहरू करिब ११०० वर्षको अवधिभित्र हिब्रू भाषामा लेखिए। त्यसपछिको ४०० वर्षको अन्तरालमा शास्त्रको कुनै पनि खण्ड लेखिएन। त्यसपछि बाइबलका आखिरी २७ पुस्तकहरू करिब ५० वर्षको अवधिभित्र ग्रीक भाषामा लेखिए। लेखकहरू आपसमा मिलामतो गर्न सक्नेनै थिएनन् किनकि उनीहरू एउटै समयमा जिएका थिएनन्। तरैपनि अन्तिम नतीजा भने एउटा सिङ्गो रचना रहेको छ जसका खण्डहरू आपसमा ठ्याक्कै मिल खान्छन् र त्यहाँ कुनै अन्तर्विरोधहरू वा त्रुटीहरू छैनन्। सम्पूर्ण मानव इतिहासमै यो जस्तो कुनै अर्को पुस्तक छैन। कोहीकोहीले बाइबलमा त्रुटीहरू भेटिएको दाबी गरेका छन्, तर बाइबललाई मैले अध्ययन गर्दै आएको ३७ वर्ष भयो र प्रत्येक पटक जब मैले ती कथित त्रुटी वा अन्तर्विरोधलाई अध्ययन गरेको छु, तब मैले बाइबल नै सत्य रहेको र आलोचना गर्ने व्यक्तिचाहिँ गलत भएको भेट्टाएको छु। (Things Hard to Be Understood: A Handbook of Biblical Difficulties शीर्षक गरेको हाम्रो पुस्तकमा हेर्नुहोस्)।

३) बाइबलका लेखकहरूको निर्धक्कता र इमानदारिताले बाइबल परमेश्वरको वचन हो भनेर प्रमाणित गर्दछ।

बाइबलले गवाही दिन्छ, "परमेश्वरका पवित्र जनहरू पवित्र आत्माद्वारा प्रेरणा पाएर बोले" (२ पत्रुस १:२१), र बाइबलका लेखकहरूका जीवनहरूको अनुसन्धान गर्दा यस गवाहीको पुष्टि हुन्छ। यी मानिसहरू पवित्र, गम्भीर मानिसहरू थिए। उनीहरू जीवनको हरेक किसिमको पृष्ठभूमिबाटका थिए। उनीहरू असल नाम चलेका आत्मसंयमी मानिसहरू थिए। उनीहरूले कहेका अगमवाणीहरूले उनीहरूलाई धनवान् बनाउनु त परै जाओस्, कोहीकोही गरिब बनाइए र धेरैजना उनीहरूले अडान लिएका गवाहीका निम्ति बेसरी सताइए वा मारिए। बाइबलका अघिल्ला पाँच पुस्तकहरूका लेखक मोशाले उनले चाहेका भए फाराओका धर्मपुत्र रहेर करोडपतिको जीवन बिताउन सक्थे तर उनले परमेश्वरको सेवामा अत्यन्तै कष्टदायी जीवन बिताउन रोजे। बाइबलका थुप्रै लेखकहरूले यस्तै कसिमका निर्णयहरू गरे। उनीहरू कुनै हिसाबले पनि लोभ-लालच वा सांसारिक फाइदाबाट उत्प्रेरित भएका थिएनन्। उनीहरू सिद्ध मानिसहरू त थिएनन्, तर पवित्र मानिसहरू भने थिए। परमेश्वरको वचन बोल्नलाई उहाँले उनीहरूमाथि आफ्नो हात राख्‍नुभएको कुरा उनीहरू प्रत्येकले दाबी गरे। उनीहरूले बिताएका जीवनले र उनीहरूले पक्रेका गवाहीहरूले र उनीहरूले भोगेका मृत्युले समेत उनीहरू सत्य बोल्दैथिए भन्ने कुराको जोडदार गवाही दिन्छन्।

४) पूरा भएका भविष्यवाणीहरूले बाइबल परमेश्वरको वचन हो भन्ने प्रमाण दिन्छन्।

बाइबलको ठूलो भाग भविष्यवाणीहरूले ओगटेको छ जसमा धेरैजसो पूरा भइसके। ती भविष्यवाणीहरू किटानसहितका र विस्तृत किसिमका छन् र तिनका पूरा हुवाइमा अलिकति पनि तलमाथि छैन।

येशू ख्रीष्टको सम्बन्धमा गरिएका भविष्यवाणीहरू

येशूको पूरै जीवन उहाँ जन्मनुभन्दा सयौं वर्ष अगाडि लेखिसकिएको थियो। यी भविष्यवाणीले उहाँको जन्मस्थान (मीका ५:२), कन्याबाटको जन्म (यशैया ७:१४), पापरहित जीवन (यशैया ५३:९), आश्चर्यकर्महरू (यशैया ३५:५), उदेकको बोली (यशैया ५०:४), यहूदी जातिबाट इन्कार गरिनुहुने कुरा (यशैया ५३:२), उहाँको क्रूसीकरण (भजनसङ्ग्रह २२:१६), धनी मानिसको चिहानमा उहाँको दफन (यशैया ५३:९) र बौरिउठाइ (भजनसङ्ग्रह १६) लाई ठ्याक्कै बयान गरेका थिए।

इस्राएल सम्बन्धी भविष्यवाणीहरू

इस्राएलको अस्तित्वको निरन्तरता इतिहासकै सबभन्दा आश्चर्यजनक कहानीहरूमध्येमा पर्दछ अनि सो कुरालाई पवित्रशास्त्रमा ज्यादै विस्तृत रूपमा भविष्यवाणी गरिएको थियो।

इस्राएलको इतिहासको भविष्यवाणी मोशाद्वारा गरिएको थियो र व्यवस्थाको पुस्तकमा झण्डै ४००० वर्ष अगाडि अभिलेख गरिएको थियो। उहाँको व्यवस्थालाई भङ्ग गरेको खण्डमा इस्राएललाई आफ्नो भूमिबाट तिमीहरू "उखालिनेछौ" र "पृथ्वीको एक छेउदेखि पृथ्वीको अर्को छेउसम्म सबै जातिहरूको बीचमा तितरबितर" पारिनेछौ भनेर परमेश्वरले चेतावनी दिनुभएको थियो (व्यवस्था २८:६३-६४)। त्यहाँ यहूदीहरूलाई तिमीहरूले "कुनै चैन पाउनेछैनौ, न ता तिम्रो पैतालाले विश्रामा पाउनेछ; तर परमप्रभुले तिमीलाई त्यहाँ कामिरहने हृदय, धमिलो देख्‍ने आँखाहरू र मनको व्याकुलता दिनुहुनेछ; अनि तिम्रो जीवन तिम्रो सामु दोधारमा झुन्डिरहनेछ; दिनरात तिमीले डराउनुपर्नेछ; अनि तिम्रो जीवनको कुनै भरोसा हुनेछैन" (व्यवस्था २८:६५-६६) भनेर भविष्यवाणी गरिएको थियो।

यो त इस्राएलको पहिलो शताब्दीदेखि आजसम्मको इतिहासको हुबहु वर्णन हो। ७० ए.डी. मा जरनल तीतसको नेतृत्वमा रोमी सेनाहरूद्वारा यरुशलेमलाई ढालियो र १३७ ए.डी. मा बार कोखबारले नेतृत्व गरेको यहूदी विद्रोहको प्रत्युत्तरमा सम्राट हेड्रियनको आदेशमा यरुशलेम पूरै ध्वस्त पारियो। यहूदी मानिसहरू पृथ्वीको छेउसम्म तितरबितर पारिए र कतै विश्राम पाएनन्। तिनीहरू मुसलमानहरूद्वारा घृणित भए र ग्रीक ओर्थोडक्स तथा रोमन क्याथोलिक चर्चहरूद्वारा हजार वर्षसम्म सताइए। हिटलरको शासनले उनीहरूलाई निमिट्यान्न पार्ने प्रयास गर्‍यो। दोस्रो महा विश्वयुद्धपछि बेलायतले अरबीहरूलाई प्राथमिकता दिँदै यहूदीहरूलाई आफ्नो भूमिमा फर्कनदेखि रोख्‍न खोज्यो। आजको दिनसम्म पनि तिनीहरू घृणाको पात्र भएका छन्। झण्डै सिङ्गो संसार नै इस्राएलको विपक्षमा छ र सञ्चारमाध्यममा मध्यपूर्वको सङ्कट सम्बन्धीका खबरहरू प्रायः इस्राएल-विरोधी झुकावका नै हुन्छन्।

तर इस्राएल आफ्नो भूमिमा फर्केर आउनेछ र इस्राएल एक राष्ट्र भइरहनेछ भनेर बाइबल अगमवाणीले भविष्यवाणी गरेको थियो अनि सन् १९४८ सालमा ठीक यही कुरा भयो। यसभन्दा पहिले संसारकै इतिहासमा कुनै पनि जाति २००० वर्षसम्म विश्वभरि तितिरबितर पारिएपछि र सताइएपछि पनि एक राष्ट्रको रूपमा, आफ्नो प्राचीन भाषा जस्ताको तस्तै लिएर, फेरि एकिकृत भएको पाइँदैन।

बाइबल अगमवाणीले इस्राएलको पुनर्स्थापनालाई दुईटा चरणमा बयान गर्दछ। पहिला, इस्राएल आफ्नो भूमिमा परमेश्वरप्रति अविश्वासकै मनस्थिति लिएर फर्केनेछ। त्यसपछि त्यो विश्वासमा आउनेछ। इजिकिएल ३७ मा भएको अचम्मको अगमवाणीले इस्राएलको पुनर्स्थापनाका यी दुई चरणहरूलाई बयान गर्दछ। इस्राएललाई सुख्खा हड्डीहरूको रूपमा बयान गरिएको छ जो पद ४-६ मा बौराइनेछ। पद ११-१४ ले उक्त दर्शन इस्राएल आफ्नो भूमिमा पुनर्स्थापना गरिने र परमेश्वरतर्फको इस्राएलको पश्चात्तापको बारेमा हो भनेर बताएको छ। पहिला, ती हड्डीहरूलाई नसा र मासु प्रदान गरिएको छ, तर तिनमा जीवन हुँदैन, अनि त्यसपछि परमेश्वरले ती मरेका हड्डीहरूमा सास फुकिदिनुहुन्छ र ती जीवित पारिन्छन् (इजिकिएल ३७-४-६)।

यस अगमवाणीको पहिलो भाग पुरा भइसकेको छ। इस्राएल आफ्नो भूमिमा राष्ट्रको रूपमा १९४८ सालदेखि रहँदै आएको छ, तर इस्राएल त्यहाँ अविश्वास र आत्मिक मृत्युको अवस्थामा छ। इस्राएलले आफ्नो मसीहलाई इन्कार गरिनै रहेको छ। इस्राएलसित न मन्दिर छ, न बलिदान छ, न साँचो उपासना नै। तर इस्राएल बाइबलले भविष्यवाणी गरेजस्तै आफ्नो भूमिमा फर्केर आएको छ। सन् १८०० सालमा प्यालेस्टाइनमा केवल छ हजार यहूदीहरू मात्र थिए, तर सन् २००० भित्र त्यहाँ ५० लाख भन्दा धेरै यहूदीहरू भइसकेका थिए (John Ecob, Amillennialism Weighed and Found Wanting, p. 44-45).

महासङ्कष्टको समयमा परमेश्वरले इस्राएललाई पश्चात्ताप प्रदान गर्नुहुनेछ र तिनमा आत्मिक जीवन फुकिदिनुहुनेछ र त्यो जीवित पारिनेछ।

इस्राएलको अस्तित्वको निरन्तरता एउटा ज्यादै ठूलो आश्चर्यकर्म हो र बाइबल परमेश्वरको प्रेरणाद्वारा दिइएको हो भन्ने कुराको अकाट्य प्रमाण हो।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course - 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो "एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू" शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9851-055734, 9818-399206; मूल्य: नेरू ३०० मात्र।