२३) के हरेक बिरामी चङ्गाइ हुनु परमेश्वरको इच्छा हो?

यस पृष्ठलाई छाप्नुहोस्

नयाँ नियममा बिरामी परेका चारओटा उदाहरणहरूलाई हेरौं:

१) २ कोरिन्थी १२:७-१०

पावल एउटा पीडादायी ("काँडा") शारीरिक ("शरीरमा") रोगले ग्रस्त थिए। शरीरमा रहेको उक्त काँडा आफूबाट हटोस् भनी पावलले प्रभुलाई तीन पटक विन्ती गरे तर परमेश्वरले सोअनुसार गर्नुभएन। परमेश्वरले यसभन्दा उत्तम कार्य गर्नुभयो। उहाँले पावललाई आफ्नो अनुग्रह प्रशस्त छ भन्ने कुरा सिकाउनुभयो, परमेश्वरको अनुग्रहले उनलाई त्यस्तो शारीरिक कष्ट समेत सहन सक्ने क्षमता दिन्छ भन्ने कुराको बोध गराउनुभयो। आफ्नो सर्व-पर्याप्‍त अनुग्रहको बोध गराउन कहिलेकाहीँ परमेश्वरले दुःख-बिमार वा पीडा आउन दिनुहुन्छ।

२) फिलिप्पी २:२५-३०

एपाफ्रोडीटस बेसरी बिरामी परे, यहाँसम्म कि उनी मृत्युको मुखैमा पुगे। उल्लेखनीय कुरा के भने पावलले आफ्नो यस विश्वासयोग्य भाइलाई चङ्गाइ गरेनन्। बरु परमेश्वरले उनीमाथि कृपा गर्नुभयो र उठाउनुभयो।

३) १ तिमोथी ५:२३

"अब उसो पानी मात्र पिउने नगर, तर तिम्रो पेटका लागि, साथै घरीघरी भइरहने तिम्रा बिमारीहरूका कारणले अलि-अलि दाखमद्य प्रयोग गर।" तिमोथीको पेटको कमजोरी थियो जसको कारण उनी बारम्बार बिरामी पर्ने गर्थे। पावलले उनलाई कुनै चङ्गाइकर्ताकहाँ जान सल्लाह दिएनन्, न ता उनलाई उनका शारीरिक कमजोरीहरू पाप वा विश्वासको कमीका कारण हुन् भने। पावलले केवल एउटा सामान्य औषधी उपचारको सल्लाह दिए। [पावलले तिमोथीलाई मात लाग्ने रक्सी नभएर अङ्गुरको रस पिउनलाई सल्लाह दिएको हुन सक्छ भन्ने यहाँ देखिन्छ। व्याकरणका विद्वान आथनेयस (Athenaeus, 280 AD) ले यसरी लेखेका छन्: "उसले गुलियो दाखरस लेओस्, पानीसँग मिसाएर वा गरम गराएर, विशेष गरी प्रोटोपोस भनिने खाले, त्यो गुलियो लेस्बियन गलुकस, पेटको लागि लाभदायक हुने भएकोले; किनकि गुलियो दाखरस [oinos] ले टाउकोलाई भारी बनाउँदैन" (Athenaeus, Banquet 2,24). प्राचीन लेखोटहरूमा पेटको समस्याहरूका लागि कण्वीकरण नभएको (unfermented) दाखरस प्रयोग गर्न सिफारिश गरिन्थ्यो भन्ने कुराको यो एउटा उदाहरण हो।]

४) २ तिमोथी ४:२०

"एरास्टस कोरिन्थमा रहे; तर ट्रोफिमसलाई मैले मिलेटसमा बिरामी अवस्थामा छोडेको छु।" ट्रोफिमसको आत्मिक समस्या (पाप, विश्वासको कमी) थियो भन्ने त्यहाँ कुनै सङ्केत छैन, तर उनको एउटा शारीरिक समस्या भने थियो, तर पावलले उनलाई चङ्गाइ गरेनन्। यस जीवनमा कहिलेकाहीँ आफ्ना सन्तानहरू बिरामी हुनु नै परमेश्वरको इच्छा हुन्छ, तर आउनेवाला जीवनमा भने कहिल्यै त्यसो हुन्न (प्रकाश २२:४)

विगतका कतिपय भक्तजनहरूलाई विचार गर्नुहोस् त, जोहरू रोगी थिए अथवा कुनै गम्भीर शारीरिक दुर्बलताले पीडित थिए। उदाहरणको लागि: जोन क्याल्भिन (John Calvin) वातरोगबाट ग्रस्त थिए, साथै उनलाई बेसरी टाउको दुख्‍ने समस्या थियो र उनको शरीर कमजोर थियो। फेनी क्रस्बी (Fanny Crosby) अन्धी थिइन्। रबर्ट मुरे मक्शेन (Robert Murray McCheyne) ज्यादै रोगी भएकाले ३० वर्षको उमेरमा मरे। जर्ज म्यूलर (George Müller) को विश्वास पक्कै पनि कमजोर थिएन, तर जीवनभर उनले शारीरिक दुर्बलताहरू र रोग-बिमारहरूको सामना गर्नुपर्‍यो। उनको टाउकोको समस्या थियो र एउटा सिपालु शल्य-चिकित्सकको हातबाट उनको शल्यक्रिया गरिनुपर्‍यो। भक्तिपूर्वक जिउने विगतका कुनै पनि विश्वासीको जीवनी पढ्नुहोस्, झण्डै प्रत्येककै सवालमा परमेश्वरले उनीहरूलाई कुनै निश्चित शारीरिक कष्टहरू भोग्न दिनुभएको पाउनुहुनेछ।

कतिपय क्यारिज्म्याटिक व्यक्तिहरूको धारणाअनुसार, यदि तपाईं बिरामी हुनुहुन्छ भने तपाईं परमेश्वरको इच्छाभन्दा बाहिर हुनुहुन्छ। उदाहरणका लागि, केनेथ हेगन जुनियर (Kenneth Hagan Jr.) लेख्‍छन्: "परमेश्वरको इच्छा नै आफ्ना सन्तानहरू पूर्ण स्वस्थतामा जिऊन् भन्ने हो भन्ने मेरो विश्वास हो…आफ्ना सन्तानहरूलाई चङ्गाइ गर्नु सधैं नै परमेश्वरको इच्छा हो।" [मलाई जुलाई १६, १९८७ मा केनेथ हेगनद्वारा लेखिएको पत्रबाट] यस्ता व्यक्तिहरूलाई केही प्रश्‍न गर्न हामीलाई कर लाग्छ: के तपाईंहरूमध्ये कसैकसैले चश्मा लगाउनुहुन्छ (केनेथ हेगनले त लगाउँछन्)? के तपाईंहरूमध्ये कसैकसैलाई रूघाखोखी लाग्ने गर्छ? के तपाईंहरूमध्ये कोहीले सिटामोल वा अन्य दुखाइ हटाउने ने ओषधी खाने गर्नुहुन्छ? सबभन्दा महत्त्वपूर्ण प्रश्‍न त, के तपाईंहरू मर्नुहुन्छ?

उदाहरणका लागि चङ्गाइकर्ता ओरल रबर्टस् (Oral Roberts) लाई विचार गरौं। उनले एक पटक आफ्नै खरबौं-डलरको सिटि अफ फेथ (City of Faith) अस्पताललाई छाडेर आफ्नो आँखाको शल्यक्रिया गराउन उनी क्यालिफर्निया गए। होइन, उनी किन एउटा चङ्गाइकर्ताकहाँ गएनन्, वा उनले किन आफैलाई चङ्गाइ गरेनन्? साथै, यदि विश्वासद्वाराको चङ्गाइ (faith healing) साँच्ची नै हुने हो भने खरबौं डलरको अस्पताल किन चाहियो? प्रभु येशू लगायत प्रेरितहरूले त सयौंलाई यस्ता कुनै अस्पताल बिना नै चङ्गाइ गरे।

२४) के नयाँ नियमले "सुख-समृद्धिको सुसमाचार" (PROSPERITY GOSPEL) को शिक्षा सिकाउँछ?

यो शिक्षा आज प्रायः सुनिने अति प्रचलित र आकर्षक सन्देश हो, अर्थात् यदि तपाईंले ख्रीष्टलाई विश्वास गर्नुभयो भने तपाईंलाई स्वस्थलाभसम्पत्तिलाभ हुनेछ। यसको मतलब तपाईंलाई शारीरिक स्वस्थलाभ र भौतिक उन्नति हुनेछ। तपाईंको शरीर रोगबिमारबाट स्वतन्त्र हुनेछ र तपाईंको बैंक खाता भरिभराउ हुनेछ। तर वास्तवमा यस प्रकारको शिक्षाबाट साँच्चै आर्थिकलाभ उठाउनेहरू चाहिँ ती झूटा शिक्षकहरू मात्र हुन्छन्, अर्थात् "सुख-समृद्धिको सुसमाचार" का प्रचारकहरू।

स्वस्थलाभ र सम्पत्तिलाभको सुसमाचार

"जति सुनेपनि फरक पर्दैन — हामी स्वस्थ हुनु र हामीले यस जीवनमा असल-असल कुराहरू पाउनु परमेश्वरको इच्छा हो भन्ने कुरा हामीलाई बारम्बार सम्झना गराइन आवश्यक छ" (केनेथ हेगन)।

येशूको सेवाकार्य गरीब थियो भन्ने विश्वासको बारेमा केनेथ कोपल्याण्ड (Kenneth Copeland) यसो भन्छन्: "त्यो त हास्यास्पद कुरा हो। येशू गरीब हुनु असम्भव कुरा हो! पुरानो नियमको समयदेखि नै परमेश्वरले, उहाँको साथमा सिद्ध र सीधा चालमा चल्नेहरूलाई भौतिक आशिषहरूको प्रतिज्ञा गर्नुभयो। यदि परमेश्वरले येशूलाई आर्थिक आशिष दिन विफल हुनुभएको भए परमेश्वरले स्वयम् आफ्नै वचनलाई तोड्नुहुनेथ्यो" (करिज्मा, सेप्टेम्बर १९९०)।

ख्रीष्टमा भरोसा गर्नेहरूको आत्मिक उन्नति हुन्छ भन्ने कुरा साँचो हो। उनीहरू आत्मिकमा सफल हुन सक्छन् र आफ्नो प्राणमा स्वस्थलाभ पाउन सक्छन्। उनीहरूले ख्रीष्टमा पाइने हरेक आत्मिक आशिषको उपभोग गर्न सक्छन् (एफेसी १:३)। उनीहरू उहाँमा धनवान हुन सक्छन् (२ कोरिन्थी ८:९)। तर परमेश्वरले आफ्नो सन्तानहरूलाई यस जीवनमा हट्टाकट्टा शारीरिक स्वास्थ्य र भौतिक, आर्थिक उन्नतिको कहिल्यै प्रतिज्ञा गर्नुभएन।

वास्तवमा पूरै नयाँ नियमको शिक्षाअनुसार परमेश्वरका जनहरू त दुःख र कष्ट भोग्नेहरू हुनेछन्, काटिन लगिइरहेका भेडाहरूझैं हुनेछन् (रोमी ८:१८,३५-३६) भन्ने छ। उनीहरूले संसारबाट घृणा र सतावट पाउनेछन् (यूहन्ना १५:१८-२०)। संसारमा उनीहरूलाई संकष्ट र थिचोमिचो हुनेछ (यूहन्ना १६:३३)। ख्रीष्टमा भक्तिपूर्वक जिउने सबै नै सतावटमा पर्नेछन् (२ तिमोथी ३:१२) र प्रत्येक ख्रीष्टियनले ख्रीष्टको असल सिपाहीलेझैं दुःख उठाउनुपर्छ (२ तिमोथी २:३)। सुख-समृद्धिको सुसमाचारको विरुद्धमा सबभन्दा राम्ररी छोटकरीमा व्यक्त गरिएको पावलको जवाफ सायद १ थेस्सलोनिकी ३:३-४ नै हो —

"यी कष्टहरूद्वारा कोही पनि ढलपल नहोस् भनेर; किनकि तिमीहरू आफै जान्दछौ, हामी यसैका निम्ति ठहराइएका छौं। किनकि साँच्चै तिमीहरूसँग रहँदा, 'हामीले कष्ट भोग्नुपर्छ' भनी हामीले तिमीहरूलाई पहिल्यै भनेका थियौं; र यस्तै भयो पनि, अनि तिमीहरूले पनि जान्दछौ।"

प्रेरित पत्रुस समृद्धिको सुसमाचारको बारेमा अनजान थिए जब उनले भने, "चाँदी र सुन त मसँग छैन" (प्रेरित ३:६)! पावल प्रेरित पनि यस शिक्षाको बारेमा अनजान थिए। उनले विश्वासीहरूलाई गरिबजस्ता र केहि नहुनेजस्ता भनी बयान गरेका छन् (२ कोरिन्थी ६:१०)!

२५) के डाक्टरकहाँ जानु अनात्मिक बन्नु हो?

संयुक्त राज्य अमेरिकाको इन्डियाना राज्यको एउटा विषम क्यारिज्म्याटिक समूह ("द ग्लोरी बार्न") ले विश्वासीहरू कहिल्यै डाक्टरकहाँ जान हुन्न बरु चङ्गाइ पाउन परमेश्वरमा भरोसा राख्‍नुपर्छ भनेर सिकाए। बच्चा जन्माउने समयमा डाक्टर वा नर्सको मदत नपाएको हुनाले कोही गर्भवति महिलाहरूलाई साह्रो पर्‍यो र उनीहरूका बच्चाहरू मरे। समस्या अझ जटिल बन्यो जब यस समूहका सदस्यहरूले परमेश्वरसित यी मरेका बच्चाहरूका निम्ति प्रार्थना गर्न थाले। स्थानीय समाचार माध्यमले यी घटनाहरूलाई सार्वजनिक बनाइदिए। फलस्वरूप ख्रीष्टको नामलाई ठूलो शर्ममा पार्ने काम भयो। गलत शिक्षाको कारण गलत अभ्यास भएको थियो।

"तर येशूले त्यो सुनेर तिनीहरूलाई भन्नुभयो: "निरोगीहरूलाई होइन, तर रोगीहरूलाई डाक्टरको खाँचो पर्दछ" (मत्ती ९:१२)।

निरोगी र स्वस्थ व्यक्तिहरूलाई डाक्टर वा वैद्यको खाँचो पर्दैन। यसको तात्पर्य रोगीलाई डाक्टर चाहिन्छ नै भन्ने हो। भन्ने हो भने, सुसमाचारको एउटा पुस्तक समेत लेख्‍ने पावलका एक सहकर्मी एक डाक्टर थिए:

"प्रिय वैद्य लूका र डेमासले तिमीहरूलाई सलाम पठाउँदै छन्" (कलस्सी ४:१४)।

२६) के ख्रीष्ट र प्रेरितहरूले चङ्गाइ गर्न सक्थे?

प्रभु येशू ख्रीष्टले मानिसहरूका हरेक किसिमको बिमार र हरेक किसिमको रोगलाई निको पार्नुभयो:

"अनि येशू तिनीहरूका सभाघरहरूमा शिक्षा दिँदै, राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूमा भएका सबै प्रकारको रोग र सबै किसिमको शारीरिक दुर्बलता निको पार्दै सारा गालीलभरि घुम्नुभयो। अनि उहाँको कीर्ति सिरियाभरि फैलियो; र किसिम-किसिमका रोग र पीडाहरूले सताइएका सबै बिरामी मानिसहरूलाई, दुष्ट आत्मा लागेकाहरू, छारे रोग लागेकाहरू र पक्षघात भएकाहरूलाई तिनीहरूले उहाँकहाँ ल्याए; अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो" (मत्ती ३:२३-२४)।

प्रभुले आफ्ना चेलाहरू (प्रेरितहरू) लाई "हरेक रोग र हरेक शारीरिक दुर्बलता निको पार्ने अधिकार दिनुभयो" (मत्ती १०:१)।

प्रेरित पावलले गजब प्रकारले निको पार्ने काम गर्न सके:

"अनि परमेश्वरले पावलका हातद्वारा विशेष प्रकारका सामर्थ्यका कामहरू गर्नुभयो; यहाँसम्म कि उनको शरीरबाट रुमालहरू वा गम्छाहरू बिरामीहरूकहाँ लगिन्थे, र रोगहरूले तिनीहरूलाई छोड्थे, र दुष्ट आत्माहरू तिनीहरूबाट निस्कन्थे" (प्रेरित १९:११-१२)।

२७) के आधुनिक "चङ्गाइकर्ताहरू" (Faith Healers) ले चङ्गाइ गर्न सक्छन्?

विलियम ए नोलेन (William A. Nolen) नाम गरेको एकजना नामुद डाक्टरले क्याथरिन कूलम्यान (Kathryn Kuhlman) नाम गरेकी एक चर्चित चङ्गाइकर्ताको अवलोकन गरे। शुरूमा उनलाई शंकै थियो तरैपनि प्रमाण भेटिएको खण्डमा विश्वास गर्न तयार पनि थिए। उनका केही टिप्पणीहरूलाई यहाँ उतारिएको छ:

सुश्री कूलम्यान कहिलेकाहीँ श्रोतागणतर्फ फर्केर हेर्थिन् र भन्थिन्, "यहाँ एकजना ब्रेस (brace, अड्याउने चीज) लगाउने व्यक्ति छ—खुट्टाको ब्रेस—तपाईंलाई अबदेखि उसो त्यो ब्रेस चाहिँदैन। त्यसलाई फुकालिदिनुस्। आउनुस् र आफ्नो चङ्गाइलाई दाबी गर्नुस्।" ब्रेसको नाम लिएर बोलाएको पहिलो पटकमा कोही अगाडि आएन। अन्तमा एउटी भर्खरकै राम्री युवती मञ्चमाथि आइन्। उनले आफ्नो खुट्टाको ब्रेसलाई हातले हल्लाउँदै देखाउँदैथिइन् र उभिरहेकीथिइन्। उनी यौटाचाहिँ सद्दे र अर्कोचाहिँ सुकेको खुट्टामा उभिरहँदा उनको पुट्ठाको हाड (pelvis) एकातिर नराम्ररी ढल्केको देखिन्थ्यो।

क्याथरिन कूलम्यानले उनलाई सोधिन्, "कति भयो यो ब्रेस लगाएकी?" "तेह्र वर्ष। सात वर्षमा पोलियो लागेदेखि।" "अब तिमी निको भयौ। अबदेखि उसो त्यो तिमीलाई चाहिँदैन। तिमीले त्यसलाई फुकालिसकेकी छौ।" "हो", तिनले भनिन्। "मैले प्रभुमा विश्वास राखेकी छु। मैले प्रार्थना गरेकी छु, र उहाँले मलाई निको पार्दैहुनुहुन्छ।" सबैले ताली बजाए। युवती रोइन्।

उक्त दृश्य मेरो आँखामा पूर्णतया बीभत्स थियो। युवतीको खुट्टा दस मीनेट अगाडि जत्तिकै सुकेकै थियो। अहिले उनी दस हजार जनसमुदायसामु उभिएर प्रभुलाई—र अप्रत्यक्ष रूपमा क्याथरिन कूलम्यानलाई—प्रशंसा दिँदैथिइन्, एउटा चङगाइको निम्ति जुन चङ्गाइ भएकै थिएन न ता हुनेवाला नै थियो। उक्त घडीको भावोन्माद (hysteria, विकृत उत्तेजना) हराइसकेपछि, तेह्र वर्षदेखिको ब्रेसलाई फेरि—बाँकी जीवनभरिकै लागि भनेर—लगाउनै परेपछि त्यस युवतीको मनमा कस्तो लाग्ला, मैले अनुमान गर्न सक्थें।

अन्तमा एउटा भजन र अन्तिम आशीर्वादपछि प्रदर्शनी सकियो। पाङ्ग्रे मेचमा रहेका साह्रै निर्बल रोगीहरू पांङ्ग्रे मेचमै थिए। उनीहरू त्यहाँबाट निस्कँदै गर्दा आफ्ना अपाङ्ग बाल-बालिकाहरूलाई पाङ्ग्रे मेचमा गुडाउँदै एलभेटरतिर लग्दैगरेका बाबुआमाहरूको आँखामा मैले आँसु देख्दा मेरो मनमा यो देख्‍न त क्याथरिन कूलम्यान पनि मसँगै त्यहाँ हुनुपर्ने भन्ने लाग्यो। आशा भङ्ग भएका ती रोगीहरू र बाबुआमाहरूले कति पीडा भोग्दै छन् भन्ने कुरा क्याथरिन कूलम्यानलाई वास्तवमा थाहै छैन भन्ने मलाई लाग्यो। उनलाई थाह होला भनेर मैले विश्वास गर्न सकिनँ।

मञ्चबाट ओर्लँदै गरेका "चङ्गाइको दाबी" गर्नेहरूमध्येबाट अनुपरीक्षण (follow-up study) मा सहभागी हुन चाहने प्रत्येकको नाम, ठेगाना, फोन नम्बर र रोगको विवरण टिपोट गर्न मैले दुईजना कानूनी सहायकहरूलाई खटाएको थिएँ। ८२ जनाको नाम मिल्यो। कार्यक्रमको केही हप्‍तापछि, आइतवार जुलाई १४ का दिन मिनियापोलिस शहरमा आउन र आफ्नो अनुभव बताउन सूचीमा नाम भएको हरेकलाई पत्र पठाएर निमन्त्रणा दिइयो। २३ जना उपस्थित भए। मैले उनीहरू प्रत्येकसित त्यसपछिका महिनाहरूमा व्यक्तिगत अन्तर्वार्ता लिनका निमित्त बन्दोबस्त गरें।

निजहरूसित कुराकानी गर्दा, म यथासम्भव इमानदार, समझदार र निष्पक्ष रहने प्रयास गरें, तर मैले आफ्नो चिकित्सकीय ज्ञान र व्यावहारिक बुद्धि (common sense) लाई पन्छाउन सकिनँ। निजहरूले बताएका सबै कुरालाई मैले ध्यानपूर्वक सुनें, र त्यहाँ कुनै आश्चर्यकर्म भएको थियो कि भन्ने कुराको समर्थन गर्न सक्ने प्रत्येक सम्भावनालाई अनुसन्धान गरें। अध्ययनले मलाई एउटै निष्कर्षमा पुग्न बाध्य गरायो: चङ्गाइ कार्यक्रममा आफूहरूले चङ्गाइको दाबी गरी पछि मिनियापोलिसमा आई सो कुराको पुनः समर्थन जनाउने बिरामीहरूमध्ये एउटैले पनि वास्तवमै अलौकिक ढङ्गबाट (miraculously) कुनै कुराबाट चङ्गाइ पाएका थिएनन्। [William A. Nolen, M.D., "In Search of a Miracle," McCall's Magazine, September 1974. डाक्टर नोलेनले आफ्नो खोजीका परिणामहरूलाई इन सर्च अफ अ मिराकल ("आश्चर्यकर्मको खोजीमा") भन्ने पुस्तकमा पनि प्रकाशित गर्नुभएको छ।]

वर्षौंदेखि संसारकै सर्वोत्तम चङ्गाइकर्ता (faith healer)  मानिएका क्याथरिन कूलम्यानसम्बन्धी क्यारिज्म्याटिक लहरका मित्र रिचार्ड कबीडोले यसरी लेख्‍छन्:

उनी रोगको नाम लिन्छिन्—निको हुन नसक्ने क्यान्सरदेखि लिएर एलर्जीहरू सम्म समेट्ने जुनसुकै रोग हुन सक्छ (यद्यपि अङ्गच्छेदित (amputated) हातखुट्टा कहिल्यै पुनः देखा पर्दैनन्; दाँतहरू अलौकिक ढङ्गमा सुनले भरिन्नन्)—अनि आफू चङ्गाइ भएको लाग्नेलाई मञ्चमा उभिएर गवाही दिन अगाडि बोलाउँछिन्। (तालिमप्राप्‍त कार्यकर्ताहरूले चङ्गाइको प्रमाणीकरण गर्न अघिबाटै यथासम्भव छानबिन गर्दछन्।) पुष्टिकरणका निमित्त अनुरोध गर्न सकियोस् भनेर मञ्चमा अक्सर डाक्टरहरू हुने गर्छन्; र चङ्गाइको पुष्टिकरणका निमित्त सबैलाई आ-आफ्नै डाक्टरकहाँ जान जोडसँग आग्रह गरिन्छ। कतिपय व्यक्तिहरूले गवाही ता दिन्छन् तर निको भएका भने हुँदैनन्; अरूहरूलाई चाहिँ केही सुधार भएको बुझिन्छ तर फेरि पछि त्यो बल्झिन्छ; सम्भवतः उपस्थितमध्ये धरैजसोले चङ्गाइ पाएकै हुँदैनन्। [Richard Quebedeax, The New Charismatics, page 86.]

२८) आधुनिक "चङ्गाइकर्ताहरू" ले आफ्ना असफल प्रायसहरूको स्पष्टिकरण कसरी दिन्छन्?

"चङ्गाइ गर्न हामीसित शक्ति नभएको होइन; बिरामी व्यक्तिको विश्वासको कमीले हो!" कुनै सिप नलागेपछि, बिरामीकै दोष!

२९) के ख्रीष्ट र प्रेरितहरूले पर्याप्‍त विश्वास गर्नेहरूलाई मात्र चङ्गाइ गरे?

मत्ती १२:१५ मा ठूला-ठूला भीड प्रभु येशूका पछि लागे र, उनीहरूसँग विश्वास होस् या नहोस्, "उहाँले ती सबैलाई निको पार्नुभयो"। प्रेरित ५:१६ मा रोगीहरूको एउटा ठूलो जमातलाई प्रेरितहरूकहाँ ल्याइएको थियो, "अनि तिनीहरू सबै निको पारिए"। विश्वासको शर्तबिना नै यी चङ्गाइहरू सबैलाई प्राप्‍य थियो। एउटै बिरामी निराश भई फर्कनुपरेन।

प्रेरित ३:१-८ मा जन्मैदेखिको लङ्गडोको चङ्गाइको उल्लेख गरिएको पाउँछौं। त्यस माग्नेले पत्रुसको हातबाट केही पैसा पाउने आशा गरेको थियो। चङ्गाइ हुन्छु भन्ने कुरा त उसको कल्पनाभन्दा बाहिरको कुरा थियो। आफू निको पारिन्छु भन्ने विश्वास त उसँग पक्कै पनि थिएन। पत्रुसले केही पैसा देलान् भन्ने सम्म उनले विश्वास गरे होलान् (पद ५) तर पत्रुसले उनलाई निको पार्लान् भनेर उनले विश्वास गरेका थिएनन्। परमेश्वरबाटको उक्त अलौकिक चङ्गाइ कार्यको, त्यस व्यक्तिको विश्वास वा अविश्वाससित कुनै सरोकार थिएन। [यस आश्चर्यकर्मको सन्दर्भमा प्रेरित ३:१६ मा उल्लेख गरिएको विश्वासले पत्रुसको ख्रीष्टमाथिको विश्वासलाई जनाएको हुनुपर्छ, लङ्गडोको विश्वासलाई होइन।]

प्रेरित २०:९-१२ मा पावलले एउटा व्यक्तिलाई सबैभन्दा गम्भीर रोगबाट चङ्गाइ गरेको पाउँछौं, अर्थात् मृत्युबाटै। यहाँ एक युवा वास्तवमै मरिसकेका थिए। निश्चय नै मरिसकेको व्यक्तिले विश्वास गर्न सक्दैन! "उसको विश्वासको कमीले गर्दा मैले उसलाई मृत्युबाट बिउँताउन सकिनँ" भनी कुनै आधुनिक चङ्गाइकर्ताले भन्नु त हास्यास्पद हुन्छ। यसले एउटा रोचक प्रश्‍न उब्जाउँछ: यदि आधुनिक चङ्गाइकर्ताहरूसित ख्रीष्ट र प्रेरितहरूसितको जस्तै चङगाइ-शक्ति छ भने, किन उनीहरू मरेकालाई बिउँताउँदैनन्?

३०) ख्रीष्ट र प्रेरितहरूका चङ्गाइका आश्चर्यकर्महरू कस्ता खाले थिए?

१) तुरुन्तै चङ्गाइ

प्रभु येशूले एउटा कोरीलाई छुनुभयो, अनि तुरुन्तै उनी आफ्नो कोर रोगदेखि शुद्ध भए (मत्ती ८:३)। येशूले दुई अन्धाका आँखाहरू छुनुभयो, अनि तुरुन्तै ती आँखाहरू देख्‍ने भए (मत्ती २०:३४)। पत्रुसले एउटा लङ्गडोलाई उनको दाहिने हातलाई समातेर जुसुक्क उठाए, अनि तुरुन्तै उनका खुट्टा र गोलीगाँठाहरूले शक्ति पाए र उनी उफ्रँदै कुद्‍ने भए। पुनःस्वास्थ्य लाभ प्राप्‍तिको लागि लामो समयको वा अन्य उपचारको त्यहाँ कुनै आवश्यकता थिएन।

२) सिद्ध र पूर्ण चङ्गाइ

"अनि जब त्यस ठाउँका मानिसहरूले उहाँलाई चिने, तब तिनीहरूले वरिपरिका सबै इलाकाहरूमा पठाए, र सबै बिरामीहरूलाई उहाँकहाँ ल्याए; अनि उहाँको वस्त्रको किनार मात्र भए पनि छुन पाऔं भनी तिनीहरूले उहाँलाई विन्ती गरे; अनि जतिले छोए, ती एकदम निको भए" (मत्ती १४:३५-३६)।

"अनि उहाँकै नामले, उहाँको नाममाथि राखिएको विश्वासद्वारा तपाईंहरूले देख्‍नुभएको र चिन्नुभएको यी मानिसलाई बलियो बनायो; अनि उहाँद्वाराकै विश्वासले यिनलाई तपाईंहरू सबैजनाका सामु यो सिद्ध स्वास्थ्य दिएको छ" (प्रेरित ३:१६)।

यसको तुलनामा क्याथरिन कूलम्यानको कार्यक्रममा चङ्गाइको दाबी गर्ने युवतीको सम्बन्धमा डाक्टर नोलेनको अवलोकनलाई विचार गर्नुहोस् त—एउटा सद्दे खुट्टामा र अर्को छोटो, सुकेको खुट्टामा उभिँदा पुठ्ठाको हाड नराम्री ढल्केको बयान छ। यसैलाई सिद्ध र पूर्ण चङ्गाइ त भनिँदैन होला!

३) सबका सब चङाइ

"तर यो कुरा थाह पाएर येशू त्यहाँबाट निस्कनुभयो; अनि ठूला-ठूला भीड उहाँका पछि लागे; अनि उहाँले ती सबैलाई निको पार्नुभयो" (मत्ती १२:१५)।

"अनि चारैतिरका शहरहरूबाट बिरामी मानिसहरूलाई र अशुद्ध आत्माहरूद्वारा सताइएकाहरूलाई लिएर एउटा भीड पनि यरूशलेममा भेला भयो; अनि तिनीहरू सबै निको पारिए" (प्रेरित ५:१६)।

४) नकार्न नसकिने चङ्गाइ

"तब एकजना दुष्ट आत्मा लागेको, अन्धा र गुँगा मानिस उहाँकहाँ ल्याइयो; अनि उहाँले त्यसलाई निको पार्नुभयो, यहाँसम्म कि त्यस अन्धा र गुँगा मानिस बोल्यो र देख्‍यो पनि। अनि सबै मानिसहरू छक्क परे, र भने: "के यहाँ नै दाऊदका पुत्र हुनुहुन्न र?" तर फरिसीहरूले यो सुनेर भने: "यस मानिसले दुष्ट आत्माहरूको शासक बेल्जेबुलद्वारा बिना दुष्ट आत्माहरू निकाल्दैन" (मत्ती १२:२२-२४)।

प्रभुका शत्रुहरूले उक्त आश्चर्यकर्मलाई नकार्न सकेनन्। त्यसैले उनीहरूले उक्त महान् आश्चर्यकर्म परमेश्वरको शक्तिले नभएर शैतानको शक्तिले गरिएको हो भनेर उहाँलाई आरोप लगाए।

"अनि निको पारिएको मानिसलाई उनीहरूसँगै उभिरहेको देखेर तिनीहरूले यस कुराको विरोधमा केही भन्न सकेनन्… "यी मानिसहरूलाई हामी के गरौं? किनकि उनीहरूद्वारा साँच्ची नै एउटा प्रसिद्ध चिन्ह गरिएको छ, यो यरूशलेमका सारा बासिन्दाकहाँ प्रकट भएको छ; र यो हामी इन्कार गर्न सक्दैनौं" (प्रेरित ४:१४,१६)।

यी मानिसहरू प्रेरितहरू र उनीहरूका सन्देशलाई घृणा गर्थे तर उनीहरूद्वारा गरिएको यस उल्लेखनीय आश्चर्यकर्मलाई उनीहरूले इन्कार गर्नै सकेनन्।

५) अतिदर्शनीय चङ्गाइ

लङ्गडा उफ्रँदै छन्, अन्धा देख्‍ने भएका छन्, कोरीहरू शुद्ध भएका छन्, दुष्टात्मा लागेकाहरू मुक्त भएका छन्, काटिएको कान तुरुन्तै जोडिएको छ र मरेका समेत बिउँताइएका छन्! मत्ती ११:५ अनुसार यस्ता अतिदर्शनीय चिन्हहरूले येशू साँच्ची नै मसीह हुनुहुन्छ भन्ने प्रमाण दिए:

"अन्धाहरूले दृष्टि पाउँछन्, लङ्गडाहरू हिँड्छन्, कोरीहरू शुद्ध पारिन्छन्, बहिराहरूले सुन्छन्, मुर्दाहरू बिउँताइन्छन्, र गरिबहरूलाई सुसमाचार सुनाइन्छ" (मत्ती ११:५, सन्दर्भलाई हेर्नुहोस् र यशैया ३५:५-६ सित तुलना गर्नुहोस्)।

३१) आधुनिक "चङ्गाइकर्ताहरू" का "आश्चर्यजनक" उपचारहरू कस्ता छन्?

१) शङ्कास्पद "चङ्गाइ"

एक प्रतिष्ठित र परचित चङ्गाइकर्ताको चङ्गाइ कार्यक्रमको छानबिन गरी प्रस्तुत गरिएको डाक्टर नोलेनको लेखलाई हामीले माथि नै उल्लेख गरिसक्यौं (#२७ मा हेर्नुहोस्)। मानौं कुनै एउटा चिकित्सकले ख्रीष्ट र प्रेरितहरूद्वारा चङ्गाइ गरिएकाहरूको जाँचपड्ताल गरे। मानौं कुनै एउटा चिकित्सकले लाजरसलाई उसको मृत्युको चार दिन पछाडि जाँच गरे! मानौं कुनै एक नेत्र विशेषज्ञले बर्तिमैलाई उसको आँखाले देख्‍ने भएपछि जाँच गरे! मानौं एउटा हाडजोर्नी विशेषज्ञले जन्मैदेखिको लङ्गडो उफ्रँदै गरेको हेर्न पाए (प्रेरित ३)! मानौं एउटा कानको विशेषज्ञले मालखसलाई उसको च्वाट्टै काटिएको कानलाई निको पारिएपछि जाँच गरे (लूका २२:५०-५१)! के यी आश्चर्यकर्महरूलाई शङ्का गर्ने कुनै ठाउँ हुन्थ्यो होला?

२) नियन्त्रित वातावरणमा गरिएका "चङ्गाइ"

"तर अनौठो कुरो के छ भने, चङ्गाइको वरदान भएको दाबी गर्नेहरू आफ्नो पाल, तम्बु वा टीभी कक्षभन्दा बाहिर कहिल्यै निस्केका देखिन्नन्। आफ्ना वरदानलाई उनीहरूले सदैव नियन्त्रित वातावरणभित्र अर्थात् उनीहरूकै इच्छाअनुसारको व्यवस्थापित मञ्चमा, उनीहरूकै समयतालिकामा, अभ्यास गरेको देखिन्छ। हैन, अस्पतालकै ठूला-ठूला भीडहरूका बीचमा उक्त चङ्गाइको वरदान प्रयोग गरिएको किन सुनिँदैन? यी चङ्गाइकर्ताहरूले आफ्ना वरदानलाई भारत र बङ्गलादेश जस्ता देशहरूमा किन प्रयोग गरिरहेका छैनन्? बाहिर बाटो-बाटोमै रोग-बिमारले ग्रस्त भएका मानिसहरू भेटिने स्थानहरूमा किन उनीहरू देखा पर्दैनन्? [John MacArthur, Jr., The Charismatics, p.134.]

३) निराशाजनक "चङ्गाइ"

चङगाइका निमित्त ख्रीष्ट वा प्रेरितहरूकहाँ आउने कोही पनि निराश भई फर्केनन्। तर हामीसँग डाक्टर नोलेनको यो टिप्पणी छ:

पाङ्ग्रे मेचमा रहेका साह्रै निर्बल रोगीहरू पांङ्ग्रे मेचमै थिए। उनीहरू त्यहाँबाट निस्कँदै गर्दा आफ्ना अपाङ्ग बाल-बालिकाहरूलाई पाङ्ग्रे मेचमा गुडाउँदै एलभेटरतिर लग्दैगरेका बाबुआमाहरूको आँखामा मैले आँसु देख्दा मेरो मनमा यो देख्‍न त क्याथरिन कूलम्यान पनि मसँगै त्यहाँ हुनुपर्ने भन्ने लाग्यो। आशा भङ्ग भएका ती रोगीहरू र बाबुआमाहरूले कति पीडा भोग्दै छन् भन्ने कुरा क्याथरिन कूलम्यानलाई वास्तवमा थाहै छैन भन्ने मलाई लाग्यो। उनलाई थाह होला भनेर मैले विश्वास गर्न सकिनँ। [William A. Nolen, M.D., "In Search of a Miracle," McCall's Magazine, September 1974.]

एउटा प्रतिष्ठित चङ्गाइकर्ताको सेवाकार्यको मूल्याङ्कन गर्ने क्रममा क्यारिज्म्याटिक लहरका मित्र रिचार्ड कबीडोले निष्कर्षमा भन्छन्,

"सम्भवतः उपस्थितमध्ये धरैजसोले चङ्गाइ पाएकै हुँदैनन्।" [Richard Quebedeax, The New Charismatics, page 86.]

अलौकिक चङ्गाइको आशा गरिरहेकाहरूलाई यो त निश्चय पनि त्यति उत्साहपूर्ण मूल्याङ्कन होइन।