Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

पेन्टेकोस्टल पथको संक्षिप्‍त इतिहास

यस पृष्ठलाई छाप्नुहोस्

जर्ज जेलर

तीनओटा छालहरू

दोस्रो शताब्दीदेखि उन्नाइसौं शताब्दीसम्म भक्तिपूर्वक जिउने शास्त्रसम्मत विश्वासीहरूले अन्यभाषाहरूमा बोलेका भनिने कुनै ऐतिहासिक प्रमाण छैन। ती शताब्दीहरूमा अन्यभाषाहरूमा बोलेका भनिने घटनाहरू त छन्, तर प्रत्येक स्थितिमा अन्यभाषाहरूमा बोल्ने व्यक्तिहरू चाहिँ झूटा-शिक्षा समूहहरूमा आबद्ध रहेको पाइन्छ। यस लेखको बुँदा #१५ मा पढ्नुहोस्। दोस्रो शताब्दीका मन्टानसदेखि लिएर उन्नाइसौं शताब्दीका एडवर्ड इर्भिङ्गसम्म मण्डलीभित्रका "अन्यभाषाहरू" का घटनाहरूलाई कहिल्यै सकली इसाईमतको अंशको रूपमा स्वीकार गरिएको पाइँदैन। साथै हामीले यो पनि ध्यानमा राख्‍नुपर्छ, यी "झूटा-शिक्षा समूह" का हरूले एक किसिमको विकृत उत्तेजनाबाट उत्प्रेरित अर्थहीन बकबक बोलिरहेका थिए, प्रेरित अध्याय २ को जस्तो वास्तविक भाषाहरूमा होइन।

छाल #१ - पुरानो पेन्टेकोस्टल पथ

१९०१ मा संयुक्त राज्य अमेरिकाको टोपीका, क्यान्जास्‌स्थित बेथेल बाइबल कलेजमा आग्नेस अजमान (Agnes Ozman) ले, उनको शब्दमा, "आत्माको बप्‍तिस्मा" पाए र "अन्य भाषाहरू" मा बोले। त्यसपश्चात् उक्त अभ्यास संयुक्त राज्य अमेरिकामा होलीनेस् अभियान (Holiness movement) को अंशको रूपमा अघि बढ्यो। १९०६ मा लस एन्जलस क्यालिफोर्नियास्थित अजुसा स्ट्रीटमा अन्य भाषाहरू बोलिए। १९०१ र १९०६ का यी दुई घटनाहरूबाट नै पेन्टेकोस्टल सम्प्रदायहरूको उदय भयो जोहरू आज संसारमै छन् (असेम्बलिज् अफ गड अर्थात् एजी चर्चहरू आदि)।

छाल #२ - नव-पेन्टेकोस्टल पथ वा क्यारिज्म्याटिक जागृति

यसलाई कहिलेकाहीँ नव-क्यारिज्म्याटिक अभियान पनि भन्ने गरिन्छ। यसले केही वरदानहरूलाई, विशेषतः अन्यभाषाहरूलाई, विशेष जोड दिएकोले यो अभियान एकातिर पुरानो क्यारिज्म्याटिक, पेन्टेकोस्टल अभियान जस्तै नै थियो भने अर्कोतिर यसले साम्प्रदायिक सीमानाहरू र बाधकहरूलाई पार गर्न सक्नु यस अभियानको नयाँ पक्ष थियो।

१९६० मा क्यालिफोर्नियास्थित भ्यान नाइज (Van Nuys) मा एउटा डेनिस् बेनेट (Dennis Bennett) रेक्टर रहेका सेन्ट मार्क्स् नामक एउटा एपिस्कोपल चर्चमा आधुनिक क्यारिज्म्याटिक अभियानको उदय भयो। उक्त मण्डलीमा अन्यभाषाहरूको बोलीको ठूलो प्रस्फुटन भएको थियो। उक्त घटना यति महत्त्वको ठानियो कि दुवै टाइम र न्यूजविक पत्रिकाले यसबारे लेखे। त्यसपछि यो अभियान एपिस्कोपल चर्च र त्यसपछि लुथरनहरू र प्रेस्बिटेरियनहरू समेतका बीच आगो झैं सल्कियो।

चाँडै नै यो अभियानले विश्वविद्यालयहरूमा प्रवेश गर्‍यो। यसको शुरुआत संयुक्त राज्य अमेरिकाकै न्यू इङ्ल्याण्डमा भयो। १९६२ सालको अक्टोबर महिनामा येल यूनिभर्सीटी (Yale University) का इभान्जेलिक इन्टरभार्सीटी क्रिश्चियन फेलोशीपका सदस्यहरूका बीचमा ग्लोसोलालिया (अन्य भाषाहरू) को प्रस्फुटन `भयो। यस नव-पेन्टेकोस्टल जागृतिमा एपिस्कोपेलियनहरू, लुथरनहरू, प्रेस्बिटेरियनहरू, मेथोडिस्टहरू र एकजना रोमन क्याथोलिक समेत थिए। पाँचजना चाहिँ फाइ-बेटा-काप्पा (Phi Beta Kappa) का सदस्यहरू थिए र कोही चाहिँ क्याम्पसमा धार्मिक अगुवा थिए (चाँडै नै उनीहरूलाई "ग्लोसो येलिज्" भनेर जनाउन थालियो)। त्यसपछि यो अभियान डार्टम्यूथ कलेज (Dartmouth College) , स्टानफोर्ड यूनिभर्सीटी (Stanford University) र प्रिन्स्टन थिओलजिकल सेमिनरी (Princeton Theological Seminary) मा फैलियो।

यीभन्दा पनि बढी महत्त्वको घटना चाहिँ १९६७ मा घट्यो। सबै मार्गहरूले रोम नै पुर्‍याउँछन् (All roads lead to Rome) भन्ने भनाइ नै छ। ईस्टर विदाको अवसरमा, १९६७ सालको बसन्त ऋतुको याममा नोट्रे डेम (Notre Dame) इलाकामा करिब ३० जना जोशिला क्याथोलिकहरूले "पवित्र आत्माको बप्‍तिस्मा" पाएका थिए। १९६८ मा १००-१५० जना व्यक्तिहरू क्याथोलिक पेन्टेकोस्टल सम्मेलनमा भेला भए। १९६९ को सम्मेलनमा २५-३० जना पूजाहारीहरू सहित लगभग ४५० जना क्याथोलिक क्यारिज्म्याटिकहरू भेला भए। १९७० मा देखिएको वृद्धि झनै उल्लेख्य थियो। झण्डै १,३०० जना उक्त सम्मेलनमा भेला भए जसमा क्यानडाका क्याथोलिकहरू पनि थिए। १९७३ मा नोट्रे डेममा १० ओटा देशका क्याथोलिक सहभागीहरू सहित २२,००० क्याथोलिक क्यारिज्म्याटिकहरू भेला भए। १९७४ मा उक्त नोट्रे डेम सम्मेलनमा ३०,००० जनाको सहभागिता रहेको थियो। अन्तमा १९७५ मा रोममा आयोजित अन्तराष्ट्रिय सम्मेलनमा ५० ओटा देशका यात्रुहरू आए जहाँ पोप पावल छैठौं (Pope Paul VI) ले यस अभियानप्रति आफ्नो हार्दिक समर्थन रहेको जनाएँ। उक्त अभियान कवेल रोमन क्याथोलिक चर्चमा मात्र नभएर सबै प्रोटेस्टेन्ट सम्प्रदायहरूमा बेसरी वृद्धि भइरहेको थियो।

१९७७ को ग्रीष्म याममा क्यान्जास् सीटी क्यारिज्म्याटिक सम्मेलन सम्पन्न भएको थियो। यसमा पेन्टेकोस्टल अभियानका तीनैओटा उपशाखाहरूको उपस्थिति थियो: १) पुरानो पेन्टेकोस्टलहरू, २) प्रोटेस्टेन्ट क्यारिज्म्याटिकहरू, र ३) क्याथोलिक क्यारिज्म्याटिकहरू। आधुनिक इतिहासमा धेरैभन्दा धेरै "आत्मामा बप्‍तिस्मा" भएकाहरूको सबैभन्दा ठूलो सम्मेलन यही नै थियो। उक्त ५-दिने सम्मेलनमा झण्डै ५०,००० सहभागीहरू थिए। एक वक्ताले गर्वका साथ उक्त सम्मेलनलाई अमेरिकी इसाईमतको इतिहासको सबैभन्दा ठूलो र धेरैभन्दा धेरैलाई समेट्न सकेको सम्मेलन (most inclusive ecumenical conference) भएको भनेर घोषणा गरे। सहभागीहरूमा झण्डै आधा जति त रोमन क्याथोलिकहरू नै थिए।

१९७७ मा प्रकाशित एउटा पत्रिका (एपी) को लेखअनुसार त्यसबेला अमेरिकामा ५० लाख पुरानो पेन्टेकोस्टलहरू र ५० लाख नयाँ पेन्टेकोस्टलहरू गरेर जम्मा १ करोड क्यारिज्म्याटिकहरू थिए। तसर्थ यो नयाँ क्यारिज्म्याटिक अभियानको १७ वर्ष (१९६० देखि १९७७) भित्र नै ५० लाखको सङ्ख्यात्मक वृद्धि भयो! आज पनि यो अभियान एकदम जिउँदो र बढ्दो छ यद्यपि १९६० को दशक र १९७० को दशकको शुरुको जत्तिकै वृद्धिदर नहोला। जनवरी ७, १९८३ को क्रिश्चियानिटी टुडे अनुसार असेम्बली अफ गड (पेन्टेकोस्टल) सम्प्रदाय अमेरिकाको सबैभन्दा छिटो वृद्धि भइरहेको सम्प्रदाय हो। त्यसबेला असेम्बली अफ गडमा आबद्धहरूको सङ्ख्या १६ लाख थियो र छिटोछिटो वृद्धि हुँदै थियो।

नयाँ क्यारिज्म्याटिकहरू चरित्रमा अलगपनतावादीहरू नभएर सुधारवादीहरू हुन्। उनीहरू पुराना संरचनाहरूबाट अलग हुने इच्छा गर्दैनन्। बरु पुरानै मण्डलीहरूमा रहिरहेर आफ्नो निरन्तर उपस्थितिद्वारा ती मण्डलीहरूलाई भित्रबाट परिवर्तन गर्नका लागि उनीहरूलाई निर्देशन दिइन्छ। क्यारिज्म्याटिक जागरण (Charismatic Renewal) यसैलाई भनिन्छ।

छाल #३ चिन्ह चमत्कार अभियान

"तेस्रो छाल" (third wave) भन्ने वाक्यांशको प्रथम प्रयोग सी. पीटर वाग्नर (C. Peter Wagner) द्वारा १९८३ मा भएको हो:

ऐतिहासिक रूपमा हामी अब तेस्रो छालमा छौं भन्ने मलाई लाग्छ। पवित्र आत्माको कार्यगतिको पहिलो छाल पेन्टेकोस्टल अभियानको रूपमा यस शताब्दीको शुरुतिर प्रारम्भ भयो। दोस्रो छालचाहिँ १९५० को दशकमा ठूला सम्प्रदायहरूमा शुरु हुन गएको क्यारिज्म्याटिक अभियान थियो। १९८० को दशकमा म तेस्रो छाल देख्छु जसमा पेन्टेकोस्टलहरू र क्यारिज्म्याटिकहरूले अनुभव गरेको पवित्र आत्माको अलौकिक कार्यप्रति इभान्जेलिकलहरू तथा अन्य ख्रीष्टियनहरू पनि खुल्ला हुन थाले। झण्डै यो पूरै शताब्दीभरि देखिँदै आएको कुनै एउटा कुराको नयाँ छालमा हामी छौं भन्ने मलाई लाग्छ। [Peter Wagner, "The Third Wave?" Pastoral Renewal, July-August 1983, pages 1-5.]

यस अभियानलाई चिन्ह-चमत्कार अभियान (Signs and Wonders Movement) र भिन्यार्ड अभियान (Vineyard Movement) भनिन्छ। यो द्रुतगतिले वृद्धि हुँदै गरेको अभियान हो जसले दुवै क्यारिज्म्याटिक तथा गैर‍-क्यारिज्म्याटिक मण्डलीकाहरूलाई खिँच्दै छ। यस अभियानले "शक्ति प्रचार" ("power evangelism") लाई जोड दिन्छ जसमा सुसमाचारलाई अलौकिक चिन्ह र चमत्कारद्वारा व्याख्या र प्रकट गरिन्छ।

यस अभियानका अग्रजहरू मुख्य तीनजना छन्: १) जन विम्बर (John Wimber), सम्भवत: यस अभियानका सबभन्दा केन्द्रीय व्यक्तित्व हुन्। उनी भिन्यार्ड अर्थात् दाखबारी मण्डली अभियान (Vineyard church movement) का संस्थापक हुन् र उनले सी. पिटर वाग्नरसँगै फुलर सेमिनरी (Fuller Seminary) मा अध्यापन गराए। अध्यापनको शीर्षक थियो "चिन्ह, चमत्कार र मण्डली वृद्धि"। २) सी. पिटर वाग्नर फुलर सेमिनरी स्कूल अफ वर्लड मिसन्स्‌का एक प्राध्यापक थिए जहाँ जन विम्बरसँगै उनले अध्यापन गराए। ३) पावल कयिन (Paul Cain) एक प्रभावकारी आधुनिक अगमवक्ता हुन् जो विलियम ब्रानहाम (William Branham) का चेला हुन् जसलाई कयिनले "हाम्रो युगकै सबैभन्दा ठूला चङ्गाइकर्ता" र "सारा युगहरूमा सबभन्दा ठूला अगमवक्ता" भन्ने नाम दिए। ब्रानहाम भने परमेश्वरत्व र त्रिएकता सम्बन्धी गलत दृष्टिकोण राख्‍ने एक झूटा अगमवक्ता थिए।

चिन्ह-चमत्कार अभियानभित्र अन्य भाषा बोलिएको भेटिन्छ तर अन्य भाषाकै वरदानलाई पेन्टेकोस्टल र क्यारिज्म्याटिक अभियानमा जत्तिकै जोड दिइएको पाइँदैन। चिन्ह चमत्कार अभियान (Vineyard movement) ले वर्तमान समयका अगमवक्ताहरूको महत्त्वमाथि जोड दिँदै अगमवाणीको वरदान चङ्गाइको वरदानलाई जोड दिने गर्छ।

"पवित्र हाँसो" अभियान (Holy Laughter Movement)

[टिप्पणी: निम्न खण्ड Media Spotlight, P.O. Box 290, Redmond, WA 98073 द्वारा प्रकाशित आल्बर्ट जेम्स डेगर (Albert James Dager) द्वारा लिखित "पवित्र हाँसो" बाट उद्दरण गरिएको हो।]

थुप्रै मण्डलीहरूले आ-आफ्ना सभाहरूमा कुनै गम्भीर विधि पालन गरिँने क्रममा वा पुलपिटबाट प्रचार भइरहँदा समेत स्वतःस्फूर्त र अनियन्त्रित हाँसोहरूको प्रस्फुटन हुन गइरहेको कुराको खबर पठाउँदै छन्। कतिपयले ती सभाहरूमा अनियन्त्रित रूपले रुने, हर्षोन्मादले बेहोश भई भुइँमा लड्ने, र कुकुरका भुकाइ वा सिंहका गर्जन जस्ता पशुका आवाजहरू निकाल्ने गरेको खबर पठाउँदै छन्। कोहीचाहिँ मात लागेको जँड्याहाजस्तै सीधा हिँड्नै नसक्ने पाराले यता र उता हुत्तिन्छन्। छोटकरीमा, यी सबलाई "पवित्र हाँसो" भन्न थालिएको छ, किनकि हाँसो नै यसको सर्वप्रमुख चरित्रको रूपमा देखिएको छ।

प्रभु येशू वा प्रेरितहरूमध्ये कसैले पनि कुकुरजस्तै भुक्दै वा सिंहजस्तै गर्जँदै वा जँड्याहाजस्तै हुत्तिँदै वा अनियन्त्रित रूपमा हाँस्दै गरेको अनुमान समेत गर्न सकिन्न।

"पवित्र हाँसो" को एउटा खूब चर्चित विस्फोटन १९९४ मा टोरोन्टोमा भएको थियो। "उपासकहरू हाँस्छन्, रून्छन्, आर्तनादको आवाज निकाल्छन्, काँप्छन्, भुइँमा लड्छन्, र, कतिलाई वितृष्णा उत्पन्न गराउँदै, एक प्रकारको कोलाहल मच्चाउने कार्य समेत गर्दै छन् जसको आवाजचाहिँ जङ्गलको र पशुपालन केन्द्रको आवाजको मिसावट जस्तै सुनिन्छ। [Daina Doucet, "What is God doing in Toronto?" Charisma, February, 1995, page 20]

यस "पवित्र हाँसो" अभियानका एक अग्रज हुन् रड्नी मोर्गन हावर्ड-ब्राउन (Rodney Morgan Howard-Browne) …दक्षिण अफ्रिकाका एक हट्टाकट्टा, ६ फुट अग्ला क्यारिज्म्याटिक प्रचारक। १९७९ मा, १८ वर्षको उमेरमा, अझ गहिरो आत्मिक अनुभवको खोजीमा घण्टौंसम्म प्रार्थना गर्ने क्रममा, उनले परमेश्वरलाई चुनौती दिए: "कि त तपाईं यहाँ तल ओर्लेर मलाई छुनुहोस्, नत्र म त्यहाँ माथि उक्लेर तपाईंलाई छुनेछु।" एक्कासी, उनको सम्पूर्ण शरीरै आगो बलिरहे जस्तो उनलाई अनुभूति भयो। अनियन्त्रित भई उनी हाँस्न थाले। त्यसपछि उनी रोए अनि अन्य भाषाहरूमा बोल्न थाले। "म स्वर्गकै विद्युत स्रोतमा जोडिन पुगें", उनले पछिबाट लेखे। "अनि त्यस दिन देखि अरूहरूलाई पनि त्यसैमा जोडिदिने मेलाई इच्छा लागेको छ।" [Julia Duin, "Praise the Lord and pass the New Wine," Charisma, August, 1994, p.22]

"पवित्र हाँसो" को पछाडि रहेको धारणा यो हो: मण्डलीमा बस्दा किन निराश र दुःखी हुने, किन टाउको दुखाउने? बरु अलिकति रमाइलो किन नगर्ने? मरेका, जीवनरहित, उराठ लाग्दो मण्डलीहरूप्रतिको प्रतिक्रिया हो यो अभियान। मण्डली सभाको पछाडितिर बसिरहेको एकजनाको हृदयघात हुँदाको एउटा हास्यव्यङ्ग सुन्नमा आएको छ। इमर्जेन्सी चिकित्सकहरू दृश्यमा आइपुग्दाखेरि उक्त व्यक्ति बसेका बेन्चमा सबै नै सुतिरहेको अवस्थामा भेटिएकाले चिकित्सकहरूले हृदयघात हुने र अरू निदाइरहेकाहरूको बीचमा भिन्नता नै छुट्ट्याउन सकेनन् अरे। यदि सुतिरहनुको सट्टामा हाँसिरहेका भए बरु ती चिकित्सकहरूलाई मदत मिल्थ्यो अरे।

"पवित्र हाँसो" हुने सभाको एउटा उदाहरण: शुरुमा श्रोतागणका बीचबाट यहाँ-त्यहाँ लाटोकोसेरो कराएजस्तै एकदुइटा आवाज र हाँसोहरू निस्कन्छन्, तर त्यसबेला सम्म वातावरण तुलनात्मक रूपमा शान्त नै हुन्छ। केही समयको शिक्षणपछि, हावर्ड-ब्राउन एक पास्टरलाई अगाडि बोलाउँछन् जो गत रात मात्र आफू मानसिक हस्पिटलमा भर्ना हुन तयार भएको भन्ने कुरा गरेका थिए। यस रात उनलाई पवित्र आत्माको दोब्बर डोस (मात्रा) को प्रतिज्ञा गर्दै हावर्ड-ब्राउन आफ्ना हातहरू उक्त व्यक्तिमाथि राख्छन् अनि तुरुन्तै त्यस व्यक्ति भुइँमा लड्छन्।

त्यसपछि हावर्ड-ब्राउन आफ्नो एउटा खुट्टालाई त्यस व्यक्तिको पेटमाथि राख्छन् र उनी अब सदाका लागि बदली भएर जानेछन् भनी घोषणा गर्छन्। त्यहाँ कसैले सोध्छन्, "किन तपाईंले उसमाथि आफ्नो खुट्टा राख्‍नुभएको?" "उसमाथि हात राख्‍न मलाई निउरन मन नलागेकोले।" श्रोतागणबाट हाँसोको विस्फोटन हुन्छ र यस घडीपश्चात् सब कुराले गति लिन थाल्छ। त्यस व्यक्तिमाथि निउरेर उनी भन्छन्, "अघि बढ; तिम्रो भुँडीको फोका निस्कन देऊ।" ती व्यक्ति अलिक बेसी हाँस्छन्। "अझ!" उनी झन् बेसरी हाँस्छन्। "अझ!" उनी अझ बेसरी हाँस्न प्रयास गर्छन्। "अझ!" उनी जबरदस्ती हास्न थाल्छन् जसको आवाज क्वाँक क्वाँक जस्तो हाँसो सुनिन्छ। "अझ!" ती व्यक्तिले आफ्ना खुट्टाहरूलाई झ्वाट्ट माथि लग्छन् र साइकल चलाएजस्तै चलाउँदै हाँस्छन्, "हू! हू! हु!" हावर्ड-ब्राउन बताउँछन्, "यसलाई भनिन्छ पवित्र आत्माको कसरत।"

यस्तै खाले कुरा अरू व्यक्तिहरूलाई पनि त्यहाँ भइरहेको हुन्छ। उदाहरणका लागि, हावर्ड-ब्राउन एकजनालाई उसको खुट्टामा लात हान्दै भन्छन्, "तिम्रो भुँडीभित्रको आनन्द बाहिर फुटेर आउन दिनुपर्छ! प्रार्थना गर्न छोड, आनन्दलाई फुटेर निस्कन देऊ", आदि।

हावर्ड-ब्राउन प्रेरित २ मा पत्रुसलाई उद्दरण गर्छन्: "तपाईंहरूले सोच्नुभएझैं यिनीहरू मातेका होइनन्…" अगाडिको बेन्चका एक महिलामाथि उनले आफ्नो हात राख्‍छन् फलस्वरुप उनी छारे रोगीले जस्तै हातहरू हल्लाउँदै पटक पटक चिल्लाउँछिन्। यिनीचाहिँ एउटा पास्टरका पत्‍नी हुन् भन्ने उनले बताउँछन्।

उनले फेरि दोहोर्‍याउँछन्, "तपाईंहरूले सोच्नुभएझैं यिनीहरू मातेका होइनन्…", र त्यसपछि शुरु हुन्छ जँड्याहाको प्रदर्शनी: बेन्चमा बसिरहेकै बेला एकजना व्यक्तिले आफ्नो टाउको झ्वाट्ट पछिल्तिर लग्छन् र एउटा खुट्टाले हावामा लात हान्दै बेसरी हाँस्छन्। एक्कासि उनी आफ्नो आसनबाट फुत्त निस्कन्छन् र रेलगाडी जस्तै गरी साँघुरो घेरामा घुम्न थाल्छन्। त्यसपछि उनी हावर्ड-ब्राउनतिर फर्कन्छन्, एउटा खुट्टाले अघिल्तिर लात हान्छन् र प्ल्यात्त भुइँमा लड्छन्। अर्कोचाहिँ आफ्नो आसनबाट फुत्त निस्कन्छन्, उही रेलगाडीकै तमाशा देखाउँछन्, जथाभावी हात चलाउँछन् र भुइँमा पछारिन्छन्। एकछिनपछि पहिलो व्यक्ति उठ्छन् र आफ्नो अनुहारमा जँड्याहाको मुस्कान देखाउँदै मात लागेको जस्तै गरी यताउता हिँड्न थाल्छन्, हावर्ड-ब्राउनलाई सलाम ठोक्छन् र ढ्याप्प गर्दै आफ्नो आसनमा बस्न पुग्छन्। यो सब बनावटी भएको प्रस्टै देखिन्थ्यो तर हावर्ड-ब्राउन र दर्शकहरूले यसमा बेसरी मज्जा लिन्छन्।

बाँकी साँझभरि क्रियाकलापहरू यस्तै प्रकारले अघि बढ्छन्। हावर्ड-ब्राउन आफूलाई क्यारिज्म्याटिक जोशको "नयाँ मद्य" बाँड्ने "होली गोस्ट बार्टेन्डर" (पवित्र आत्मा पिलाउने भट्टी-मालिक) भनी जनाउन रूचाउँछन्। भौतिक किसिमले मात लाग्न सकिन्छ भने आत्मिक किसिमले पनि मात लाग्न सकिन्छ भन्ने उनी सिकाउँछन्। मानिसहरूलाई आत्मिक मात लगाउनु नै आफ्नो जीवनको उद्देश्य भएको उनले बताउँछन्।

एकपटक हावर्ड-ब्राउनले भने: "एक रात म नरकको प्रचार गर्दैथिएँ, र हाँसै-हाँसोले पूरै ठाउँ भरियो। नरक कस्तो ठाउँ हो भनेर मैले जति बताएँ त्यति बेसी उनीहरू हाँसे।" [Reported in the Calvary Contender, c/o Calvary Baptist Church, 1800 Sparkman Dr., Huntsville, Al 35816] मुक्ति पाएको प्रत्येक व्यक्तिले नरक कुनै हिसाबले पनि हाँस्ने विषय होइन भन्ने त जानेको हुनुपर्छ।

यी सभाहरूमा परमेश्वरको वचनबाट साँचो शिक्षा कमै सिकाइन्छ। अनि सिकाउने काम भयो भने पनि त्यसलाई हाँसोहरूले बीचमै काटिदिन्छ। एकजना क्यारिज्म्याटिक लेखकले भने, "श्रोतागणको ठूलो जमात नै कम्प छुट्ने गरी हाँस्ने कामले पुलपिलबाट भनिएको जुनसुकै कुरालाई पनि असान्दर्भिक तुल्याइदिन्छ भन्ने कुरा कसैले शङ्का गर्दैन।" [Reported in Calvary Contender, c/o Calvary Baptist Church, 1800 Sparkman Dr., Huntsville, Al 35816] आफ्नै स्थानिय मण्डलीको विचार गर्नुहोस्। परमेश्वरको वचन प्रचार हुने क्रममा पाँच-पाँच मीनेटमा मानिसहरू नियन्त्रणबिना र चर्को गरी हाँस्छन् भने त्यहाँ सिक्ने काम कत्तिको हुन सक्ला? यस्तो सर्कस जस्तो वातावरणमा पनि कुनै सिक्ने काम हुन सक्छ र?

सबै कुराहरू शिष्टतापूर्वक र क्रमअनुसार गरिऊन् भनेर परमेश्वरको वचनले बताएको छ। महिला र पुरषहरू भुइँमा पछारिँदै, मात लागेको जस्तै गर्दै, लाटोकोसेरो र पशुका आवाज निकाल्नु निश्चय पनि परमेश्वरको सभालाई सुहाउने शिष्टपूर्ण व्यवहार होइन (दाँज्नुहोस् १ तिमोथी ३:१५)। "पवित्र हाँसो" अपवित्र मात्र नभएर यसले परमेश्वरको नियमवद्ध क्रमलाई अलमल्याउँछ र त्यसको विरोध गर्दछ।


पृष्ठ संशोधन मिति: Monday 24-May-10
WordofTruth.com.np © 2017