१-चार्ली कोल्सन-युद्ध ढोलक बजाउने केटो

यस पृष्ठलाई छाप्नुहोस्

परमेश्वरले, उहाँको कृपामा मेरो जीवनमा दुई वा तीनपटक मेरो हृदयलाई छुनुभयो, र मेरो परिवर्तनभन्दा पहिले दुई पटक म बेस्सरी कायल भएको थिएँ।

अमेरिकी युद्धको बेला म संयुक्त राष्ट्रको सेनामा चिकित्सक थिएँ, र गेट्टीसबर्गको युद्ध पछि त्यहाँ थुप्रै सयौं घाइते सेनाहरू अस्पतालमा थिए, जसमध्ये अठ्ठाइस जना यति सख्त घाइते थिए कि तिनीहरूलाई मेरो उपचार तुरुन्तै चाहिएको थियो; कसैको खुट्टाहरू काटिनुपर्ने थियो, कसैका हातहरू, र अरूहरूका दुवै हात र खुट्टा। पछिल्लो चोटि ल्याइएकाहरू मध्ये एकजना ठिटो थियो जोचाहिँ केवल तीन महिनादेखि मात्र सेवामा भर्ती भएको थियो, र सेनामा काम गर्नको लागि निकै कलिलो भएको हुनाले युद्ध ढोलक बजाउने (drummer boy) को सूचीमा राखिएको थियो। जब मेरो सहायक चिकित्सक र मेरो एकजना परिचारकले उसको अङ्ग विच्छेद गर्नुअघि उसलाई क्लोरोफोर्म (chloroform वा बेहोस् पार्ने रसायन) दिने इच्छा गरेका थिए, उसले आफ्नो मुख अर्कोतिर फर्काएर सकारात्मक तरिकाले नै त्यो लिन इन्कार गरिदिएछ। उक्त परिचारकले यो चिकित्सकको हुकुम हो भनेर भन्दा उसले यसो भनेछ, “चिकित्सकलाई मकहाँ पठाइदिनुहोस्”।

म उसको खाटको छेऊमा आएर उसलाई भनें: “जवान भाइ, तिमीले क्लोरोफर्म लिन किन इन्कार गर्यौ? जब मैले तिमीलाई युद्ध भूमीमा भेट्टाएको थिएँ, तिमी यति सख्त घाइते भइसकेको थियौ कि तिमीलाई बोकेर ल्याउनु बेकार जस्तो देखिएको थियो, तर जब तिमीले ती ठूला निला आँखाहरू उघार्यौ मैले कतै तिम्री आमाले त्यो समयमा तिनको छोराको बारेमा सोचिरहेकी होलिन् भन्ने सोचेँ। तिमी त्यहिँ युद्ध भूमीमै मरेको मैले चाहिनँ, त्यसैले तिमीलाई यहाँ लिएर आउने आज्ञा दिएँ, तर अब तिमीले क्लोरोफर्मबिना अपरेशन सहनलाई तिमी निकै शिथिल भइसकेको छौ किनभने तिम्रो धेरै रगत बहिसक्यो, त्यसैकारण तिमीलाई क्लोफर्म दिने मलाई अनुमति देऊ।”

उसले आफ्नो हात मेरो हातमा राख्यो, र मेरो अनुहारतर्फ हेर्दै भन्यो, “डाक्टर, सन्डे स्कूलको एउटा आइतबारको साँझ, जब म साँढे नौ वर्षको थिएँ, मैले प्रभु येशू ख्रीष्टलाई मेरो व्यक्तिगत मुक्तिदाताको रुपमा स्वीकार गरेँ। मैले त्यसघडि उहाँलाई भरोसा गर्न सिकेँ, त्यस दिन यता मैले सँधै नै उहाँलाई भरोसा गर्दै आइरहेको छु, र म जान्दछु म उहाँलाई अहिले पनि भरोसा गर्न सक्छु। उहाँ मेरो सामर्थ्य र मेरो आड हुनुहुन्छ; तपाईँले मेरो हात र खुट्टा काट्नुहुँदा उहाँले मलाई सहायता गर्नुहुनेछ।”

त्यसपछि उसलाई अलिकति ब्र्याण्डी मद्य (brandy) दिने अनुमति उसले मलाई दिन्छ कि भनी मैले उसलाई सोधेँ। फेरी उसले जवाफ दिँदै मेरो अनुहारमा हेर्यो, “डाक्टर, जब म पाँच वर्षको थिएँ मेरी आमा मेरो छेऊमा घुँडा टेकेर मेरो घाँटीमा अङ्गालो हाल्नुभयो र भन्नुभयो, “चार्ली, तिमीलाई कहिल्यै पनि कडा पेय पदार्थको स्वाद थाह नहोस् भनेर अब म प्रभु येशूलाई प्रार्थना गर्दैछु। तिम्रो प्यारो बुबा मतवाला भएर मर्नुभयो, र मतवालाको चिहानमा पुग्नुभयो, र मैले परमेश्वरलाई प्रतिज्ञा गरेकि थिएँ, कि यदि तिमी हुर्कनु उहाँको इच्छा हो भने, तिमीले अरु जवान मानिसहरूलाई त्यो तीतो कचौराको बारेमा चेतावनी दिनुपर्छ।” म अहिले सत्र वर्षको भएँ, तर मैले कहिल्यै पनि चिया र कफीभन्दा कडा पेय पदार्थ कुनैपनि चाखेको छैन, र जब हरेक सम्भावनामा म, मेरो परमेश्वरको उपस्थितिमा जाने वाला छु, के तपाईंले मलाई ब्र्याण्डी गन्हाउनेगरी पठाउनुहुन्छ?”

त्यो ठिटाले मलाई हेरेको नजर म कदापि बिर्सने छैन। त्यो समयमा मैले येशूलाई घृणा गर्दथेँ, तर उक्त ठिटाले उसको मुक्तिदातालाई देखाएको इमान्दारीलाई मैले आदर गरेँ, र जब उसले उहाँलाई अन्तिम सम्मै प्रेम गरेको र भरोसा गरेको देखेँ, त्यहाँ केहि-न-केहि थियो जसले मेरो हृदयलाई छोयो, र मैले त्यो केटाको निम्ति यस्तो काम गरेँ जुन काम मैले कहिल्यै कुनै सेनाको निम्ति गरेको थिइनँ—उसले प्रचारकलाई (chaplain) भेट्न चाहन्छ कि भनी मैले उसलाई प्रश्न गरेँ। “अहो! हुन्छ नि हजुर!” जवाफ यस्तो थियो।

जब प्रचारक आर— आउनुभयो, उहाँले त्यो बालकलाई पालमा हुने गरेको प्रार्थना सभामा प्राय: भेटेको हुनाले झट्टै चिन्नुभयो, र उसको हात समात्नुभयो, अनि भन्नुभयो, “अहो, चार्ली, तिमीलाई यो दु:खद अवस्थामा देख्नुपरेकोले म एकदम दु:खी छु।”

“अहो, म त एकदम ठीक छु, हजुर” उसले जवाफ दियो। “डाक्टरले मलाई क्लोरोफर्म लिने प्रस्ताव दिनुभयो, तर मैले इन्कार गरेँ, त्यसपछि उहाँले मलाई ब्र्याण्डी दिने इच्छा गर्नुभयो, त्यो पनि मैले इन्कार गरिदिएँ, र अब, यदि मेरो मुक्तिदाताले मलाई बोलाउनुभयो भने, म तयार छु, र म उहाँकहाँ ठीक हृदय लिएर जान सक्छु।”

“तिमी मर्दैनौ होला, चार्ली” प्रचारकले भन्नुभयो, “तर यदि परमप्रभुले तिमीलाई बोलाउनु भयो भने, तिमी उहाँकहाँ गएपछि तिम्रो लागि मैले गरिदिन सक्ने केहि छ कि?”

“प्रचारकज्यू, कृपया तपाईंको हात मेरो सिरानीमनि हाल्नुस् र मेरो सानो बाइबल निकाल्नुहोस्, त्यसमा तपाईंले मेरी आमाको ठेगाना भेट्टाउनुहुनेछ। कृपया यो उहाँलाई पठाइदिनुहोस्, र एउटा पत्र लेखिदिनुहोला, अनि उहाँलाई यो पनि भनिदिनुहोस् कि मैले घर छोडेको दिनदेखि परमेश्वरको वचनबाट थोरै खण्ड मात्र पनि नपढि एक दिन पनि बिताएको छैन, र चाहे म सेनाको चलतीमा होऊँ, वा युद्ध भूमीमा, वा अस्पतालमा, मेरी प्रिय आमालाई परमेश्वरले आशिष दिनुभएको होस् भनी दिनहुँ प्रार्थना गरिरहेको छु।”

“तिम्रो लागि गरिदिनुपर्ने अरू केहि छ त, मेरो बाबु?” प्रचारकले भन्नुभयो।

“हस्, कृपया स्याण्ड्स स्ट्रीट सन्डे स्कूल, ब्रूकलीन, न्यू योर्कको निरीक्षकलाई पत्र लेखिदिनुस्, र उहाँलाई भनिदिनुस् कि उहाँको कोमल शब्दहरू, धेरै प्रार्थनाहरू, र उहाँले मलाई दिनुभएको ठीक सल्लाहलाई मैले कहिल्यै पनि बिर्सेको छैन; तिनीहरूले युद्धका मेरा सबै खतराहरूमा, र अहिले, मेरो मृत्युको घडिमा मलाई पछ्याइरहेका छन्, म मेरो प्यारो बुढा निरीक्षकलाई आशिष दिनुभएको होस् भनी म मेरो मुक्तिदातासँग विन्ती गर्दछु; त्यति मात्रै हो।”

मतर्फ फर्केर उसले भन्यो: “अब, डाक्टर, म तयार छु, र म तपाईंलाई प्रतिज्ञा गर्दछु कि यदि तपाईंले मलाई क्लोरोफर्म दिनुभएन भने तपाईंले मेरो हात र खुट्टा मबाट काट्नुहुँदा म चिच्च्याउने धरि छैन।”

मैले प्रतिज्ञा गरेँ, तर पहिले अर्को कोठामा गएर आफैंलाई हतोत्साहित नबनाइ मेरो कर्तव्य पूरा गर्न थोरै मद्य नलिइ चक्कु आफ्नो हातमा लिएर उक्त अपरेशन गर्नलाई ममा साहस थिएन। मासु काट्दाहुँदि चार्ली कोल्सन चिच्च्याउँदै चिच्च्याएन, तर जब मैले त्यस बालकको हड्डी अलग गर्न आरा लिएँ, त्यस बालकले सिरानीको एउटा कुना आफ्नो मुखभित्र हाल्यो, र उसले बरबराइरहेको यी शब्दहरूमात्र मैले सुन्न सक्थेँ, “हे येशू, धन्य येशू, अब मेरो छेऊमा उभिनुहोस्!” उसले उसको प्रतिज्ञा पूरा गर्यो, र चिच्च्याउँदै चिच्च्याएन।

त्यस रात म सुत्नै सकिनँ, जतातर्फ फर्किए तापनि मैले ती कोमल नीला आँखाहरू देख्थेँ, र जब मैले मेरा आँखा बन्द गरेँ, “धन्य येशू, अब मेरो छेऊमा उभिनुहोस्!” भन्ने शब्दहरू मेरो कानमा गुञ्जिरह्यो।

रातको बाह्र र एक बजेको बीचमा मैले आफ्नो ओछ्यान छोडेँ र अस्पताल भ्रमण गर्न गएँ, जुनचाहिँ आपत्कालिन अवस्थामा मलाई नबोलाइए सम्म मैले कहिल्यै गर्ने गर्थिनँ, तर त्यस बालकलाई हेर्ने मेरो इच्छा व्यग्र भएको थियो। त्यहाँ म आइपुगेपछि आशारहित अवस्थाका सोह्रजनाको मृत्यु भयो, र शव-घरमा लगियो भनी परिचारकद्वारा मलाई जानकारी गरियो।

“चार्ली कोल्सनलाई कस्तो छ? के मृतकहरू मध्येमा ऊ पनि पर्छ?” मैले प्रश्न गरेँ।

“पर्दैन, हजुर” परिचारकले जवाफ दियो; “ऊ त सानो मायालु बालकझैँ सुतिरहेको छ।”

जब म ऊ सुतिरहेको ओछ्यान नजिक आइपुगेँ, एकजना नर्सले मलाई जानकारी दिइन् कि करिब ९ बजेतिर जवान इसाई संघका दुईजना सदस्यहरू अस्पतालमा भजनहरू गाउन र वाचन गर्न आएका थिए। उनीहरूलाई प्रचारक आर— ले साथ दिइरहेका थिए। उनीहरूले चार्ली कोल्सनको खाटछेऊमा घुँडा टेके अनि मीठो र प्राणलाई उत्तेजित पार्ने प्रार्थना गरे, त्यसपछि उनीहरूले “येशू प्राणको शरणस्थान” भनिने भजन गाए, जुन भजन चार्ली कोल्सनले पनि गाएछ। त्यस्तो बालकले, जो यस्तो भयानक पीडामा थियो, कसरी गाउन सकेछ भन्ने कुरा मैले बुझ्न सकिनँ।

त्यो प्रिय बालकको हात र खुट्टा काटेको पाँच दिनपछि उसले मलाई बोलाइ पठायो, अनि त्यस बेला पहिलो सुसमाचार प्रचार मैले सुनेको उहिबाट थियो। “डाक्टर,” उसले भन्यो, “मेरो समय आइपुगेको छ, अर्को सुर्योदय मैले देख्न पाउँछु जस्तो मलाई लाग्दैन, तर, परमेश्वरलाई धन्यवाद होओस्, म जानको निम्ति तयार छु, र म मर्नु भन्दा पहिले मप्रतिको तपाईंको दयाको निम्ति म तपाईंलाई मेरो सम्पूर्ण हृदयले धन्यवाद दिन चाहन्छु। डाक्टर ज्यू, तपाईं यहूदी हुनुहुन्छ—तपाईं येशूमा विश्वास गर्नुहुँदैन; के तपाईं, कृपया यहिँ उभिएर, म मेरो जीवनको अन्तिम घडीमा मेरो मुक्तिदातामा भरोसा गर्दै मरेको हेरिदिनुहुन्छ?”

मैले त्यहिँ बस्ने कोशिश गरेँ, तर सकिनँ, किनभने जुन येशूलाई घृणा गर्न मलाई सिकाइएको थियो, त्यहि येशूको प्रेममा आनन्द मनाउँदै एकजना ख्रीष्टियन जवानको मृत्यु भएको त्यहाँ उभिएर हेर्ने ममा हिम्मत थिएन। त्यसैले म हत्तारिँदै त्यो कोठाबाट निस्किएँ। करिब बीस मिनटपछि मेरो व्यक्तिगत कोठामा दुवै हातले आफ्नो मुख ढाकिरहेको अवस्थामा मलाई भेट्टाउने परिचारकले यसो भन्यो, “डाक्टर ज्यू, चार्ली कोल्सनले तपाईंलाई भेट्न चाहनुहुन्छ।”

“मैले उसलाई भर्खर भेटेको हुँ,” मैले जवाफ दिएँ, “र म फेरी उसलाई हेर्न सक्दिनँ।”

“तर, डाक्टर ज्यू, तर ऊ मर्नुभन्दा अगाडि फेरी एकचोटी तपाईंलाई भेट्नैपर्छ भनी उसले भन्दैछ”। मैले उसलाई हेर्ने, सहानुभूतीका शब्दहरू दिने, र उसको मृत्युसम्म पर्खने मनस्थिति बनाएँ, तर कम्तीमा पनि येशूको बारेमा उसको कुनै पनि शब्दले आफूलाई प्रभाव पार्न नदिने मैले निधो गरेको थिएँ। जब म अस्पताल भित्र पुगेँ ऊ तिव्र गतिमा शिथिल भइरहेको मैले देखेँ, यसैले म उसको खाटको छेऊमा बसेँ। उसको हात समाउन बिन्ति गर्दै उसले भन्यो, “डाक्टर ज्यू, म तपाईंलाई प्रेम गर्छु किनभने तपाईं एक यहूदी हुनुहुन्छ; मैले यो संसारमै भेट्टाएको सबैभन्दा मिल्ने साथि पनि यहूदी नै हुनुहुन्थ्यो।”

मैले सोधेँ, “को हो र ऊ?”

उसले जवाफ दियो, “येशू ख्रीष्ट, जसलाई म मर्नुभन्दा अगाडि तपाईंलाई चिनाउन चाहन्छु, र डाक्टर ज्यू, मैले जे तपाईंलाई भन्न गइरहेको छु, यो तपाईंले कहिल्यै पनि बिर्सनुहुँनेछैन भनी के तपाईं मलाई प्रतिज्ञा गर्नुहुन्छ?”

मैले प्रतिज्ञा गरेँ, र उसले भन्यो, “पाँच दिन अगाडि, जब तपाईंले मेरो हात र खुट्टा काट्दै हुनुहुन्थ्यो, मैले प्रभु येशू ख्रीष्टलाई तपाईंको आत्मा बचाइदिनु भएको होस् भनी प्रार्थना गरेको थिएँ।”

ती शब्दहरू मेरो हृदयमा निकै गहिरो गरी पस्यो। यो कसरी हो भनी मैले बुझ्नै सकिनँ, जब म उसलाई अति साह्रो पीडा दिइरहेको थिएँ, उसले आफ्नो बारेमा सबै बिर्सेर, र अरू कुनै पनि कुराको बारेमा नसोचेर, कसरी ती मुक्तिदाता र मेरो नबदलिएको अवस्थाको बारेमा सोच्न सक्छ। मैले उसलाई यति मात्र भन्न सकेँ, “ठीक छ, मेरो प्यारो बाबु, तिमी छिट्टै पूरै ठीक हुनेछौ।” यति भनेर मैले उसलाई छोडेर गएँ, र बाह्र मिनटपछि ऊ निदायो, “येशूको अङ्गालोमा सुरक्षित।”

युद्धको समयमा मेरो अस्पतालमा सयौं सेनाहरू मरे, तर केवल एकजनालाई मैले कबरस्थानसम्म पछ्याएँ—ऊ चार्ली कोल्सन, युद्ध ढोलक बजाउने केटो थियो, र म उसको दफन हेर्न करिब ५ किलोमिटर यात्रा गरेर गएँ। मैले उसलाई नयाँ वर्दी पहिर्याउन, र अधिकृतहरू राख्ने बाक्सामा राखेर त्यसमाथि संयुक्त राष्ट्र अमेरिकाको नयाँ झण्डा ओडाउन लगाएँ।

मृत्युको शय्यामा भएको त्यस बालकका शब्दहरूले ममा साह्रै गहिरो छाप पार्यो। पैसाको कुरा गर्ने हो भने म त्यस समय धनी थिएँ, तर मैले ख्रीष्टको बारेमा चार्लीले झैं सोच्न सक्नको निम्ति मैले मसँग भएको सबै पैसा दिनेथिएँ, तर त्यो भावना पैसाले किन्न सकिँदैन। चार्ली कोल्सनको मृत्युको केहि महिनासम्म त्यस प्रिय बालकले भनेका शब्दहरूबाट मैले छुटकारा पाउन सकिनँ। ती शब्दहरू मेरा कानमा गुञ्जिरहे, तर संसारिक अधिकृतहरूको सङ्गतमा भएको हुनाले, बिस्तारै मैले चार्ली कोल्सनले उसको मृत्युको शय्यामा गरेको प्रचार बिर्सँदै गएँ, तरैपनि त्यस्तो व्यग्र पीडाहरूमा पनि उसको उदेकको धीरजलाई, साथै त्यस येशूमा, जसको नाम त्यस समयमा मेरो निम्ति घृणा र निन्दा सरह थियो, उसको सहज भरोसालाई मैले कहिल्यै पनि बिर्सन सकिनँ।

दस वर्षको लामो अन्तरालसम्म मैले एउटा कट्टर यहूदीले झैँ सम्पूर्ण घृणासहित ख्रीष्टको बिरुद्ध लडिरहेँ। जब एकदिन परमेश्वरले उहाँको कृपामा मलाई एकजना ख्रीष्टियन हजामको सम्पर्कमा ल्याउनुभयो, त्यस व्यक्तिले परमेश्वरतर्फको मेरो परिवर्तनको निम्ति दोस्रो भाँडाको रुपमा आफैंलाई प्रमाणित गर्नुभयो।

अमेरिकन युद्धको अन्तिममा मलाई निरिक्षक चिकित्सक हुन र ग्याल्भेस्टोन, टेक्सास अवस्थित एक सैनिक अस् पतालको जिम्मा लिन खटाइएको थियो। एकदिन निरिक्षणात्मक भ्रमणबाट वासिङ्ग्टनतर्फ फर्किँदा, न्यू योर्कमा केहि घण्टा विश्राम लिन म रोकिएँ। खाना खाइसकेपछि म तल सैलुन तिर ओर्लिएँ (सैलुनहरू प्राय: संयुक्त राष्ट्रको हरेक ठूला होटलहरूसँगै जोडिएका हुन्छन्)। त्यहाँ भित्र पस्ने बित्तिकै विभिन्न रङ्गहरूमा सुन्दरतासाथ सजाइएका सोह्र ओटा बाइबलका पदहरू देखेर म दङ्ग परेँ। सैलुनभित्र कुनै एउटा कुर्सीमा बसेपछि सोझै मेरो पछिल्तिर, भित्तामा झुण्डिएको एउटा सुचना देखेँ, जसमा यस्तो लेखिएको थियो—

“कृपया यस कोठामा कसम नखानु होला”
मेरो मुखमा ब्रश दल्न सुरु गर्न नपाउँदै हजामले मसँग येशूको बारेमा पनि कुरा गर्न थाल्नुभयो। तिनले यति आकर्षक र प्रेमिलो तरिकामा कुरा गरे कि मेरा पुर्वाग्रहहरू निशस्त्र भए, र म बढ्दो उत्सुक्तासाथ तिनले भनेका कुराहरूलाई सुन्न थालेँ। तिनले कुरा गरिरहँदा, “चार्ली, युद्ध ढोलक बजाउने ठिटो”, जसको मृत्यु भएको दश वर्ष भइसकेको भए तापनि, मेरो मस्तिष्कमा उर्लिन थाल्यो। त्यस हजामका शब्दहरू र तौरतरिकाहरूबाट यति सन्तुष्ट भएँ कि तिनले मेरो दाह्री खुर्किन नभ्याउँदै मैले तिनलाई मेरो कपाल पनि काटिदिन आग्रह गरेँ, यद्यपि त्यहाँ भित्र छिर्दा ममा त्यस्तो कुनै विचार वा मनसाय थिएन। मेरो कापल काटिरहँदाको पूरै समयमा तिनले मलाई दृढतापूर्वख ख्रीष्ट प्रचार गरिनै रहे, र ऊ आफैं यहूदी नभए तापनि, म त्यो बेला भएझैं तिनी पनि एकसमय ख्रीष्टदेखि टाढा थिए।

मैले ध्यान दिएर सुनेँ, हरेक शब्दहरूमा मेरो चासो पनि यतिसम्म बढिरहेको थियो कि जब तिनले मेरो कपाल काट्ने काम सिद्ध्याए तब मैले भनेँ, “हजाम दाजु, अब तपाईंले मलाई श्याम्पू पनि लगाइदिन सक्नुहुन्छ”, वास्तवमा, मैले उसको व्यवसायले एकजना व्यक्तिको निम्ति एकपटकमा गर्नसकिने सबै सेवाहरू गर्ने अनुमति दिएँ। तर, त्यहाँ सबै कुराहरूको अन्त्य हुन्छ, र मेरो समय पनि थोरै भएको हुनाले त्यहाँबाट निस्कने तयारी गरेँ। मैले मेरो बिल चुक्ता गरेँ, हजामलाई तिनको विचारहरूको निम्ति धन्यवाद दिएँ, र भनेँ, “म अबको रेलमा जानै पर्छ।” यद्यपि तिनी अझै सन्तुष्ट भएका थिएनन्। यो फेब्रूअरीको साह्रै चिसो समय थियो, र जमीनमा वरफ भएकोले सडकमा हिँड्न केहि जोखिमपूर्ण बनाएको थियो। होटेलबाट रेल स्टेशनसम्म जम्मा दुई मिनटको दुरी थियो, र उक्त दयालु हजामले मसँग स्टेशनसम्म हिँड्नको लागि प्रस्ताव राखे। मैले तिनको प्रस्तावलाई एकैपटकमा सहर्ष स्वीकार गरेँ, अनि सडकमा नपुग्दै तिनले मलाई लड्नबाट जोगाउन मेरो पाखुरामा आफ्नो पाखुरा राखे। हाम्रो गन्तव्यसम्म आइपुग्दा तिनले थोरै मात्र कुरा गरे, तर जब हामी स्टेशन आइपुग्यौं तिनले यसो भन्दै आफ्नो मौनतालाई तोडिदिए, “अपरिचित दाजु, मैले आफ्नो यति प्रिय विषयमा तपाईंसँग कुरा गर्न किन रोजेँ भनी तपाईंले बुझ्नु भएको छैन होला। जब तपाईं मेरो पसलमा आउनुभयो, तपाईंको अनुहारबाट तपाईं एक यहूदी हुनुहुँदोरहेछ भनी मैले देखें।”

तिनले यी “प्रिय मुक्तिदाता”को बारेमा मसँग कुरा गर्न निरन्तरता दिए, र कुनै यहूदी तिनको सम्पर्कमा आए भने, उनलाई एकजनाको बारेमा परिचय दिन, आफ्नो जिम्मेवारी हो भनी महसुस गरेको बताए, जो यस संसारको निम्ति र आउनेवाला संसारको निम्ति तिनको अति प्रिय मित्र हुनुहुन्थ्यो। तिनको मुहार दोस्रो पटक हेर्दा, मैले तिनको गालाहरूमा आशुहरू बगिरहेको देखेँ, र तिनी एकदमै गहिरो मनोभावमा डुबेका थिए। मैले यो बुझ्ने सकिनँ, कसरी यो मानिस, जो मेरो निम्ति पूरै अपरिचित थिए, मेरो भलाइको यति गहिरो चासो लिएको र मसँग कुरा गर्दाहुँदि आँशु पनि झारेको हो।

मैले बिदाइको निम्ति आफ्नो हात अघि बढाएँ। तिनले मेरो हात आफ्नो दुवै हातमा राखे र नम्रतासाथ दबाए, आँशु अझै पनि तिनको मुहारबाट तप्किरहेको थियो, र यसो भने, “अपरिचित दाजु, यदि तपाईं यो विषयमा सन्तुष्ट हुनुहुन्छ भने, यदि तपाईंले मलाई तपाईंको कार्ड वा नाम दिनुहुन्छ भने, म तपाईंलाई प्रतिज्ञा गर्दछु, ख्रीष्टियन मानिस भएको ओहदाले, अर्को तीन महिनासम्म म राती मेरा प्रार्थनाहरूमा तपाईंको नाम लिएर प्रार्थना नगरी विश्राम लिन ढल्कनेछैनँ। र अब मेरो मुक्तिदाताले तपाईंलाई पछ्याउनुभएको होस्, तपाईंलाई बाधा दिनुभएको होस्, र तपाईंले उहाँलाई जसरी मैले उहाँलाई भेट्टाएको छु, त्यसरी नभेट्टाउञ्जेल तपाईंलाई विश्राम नदिनुभएको होस्, एकजना अमूल्य मुक्तिदाता, र तपाईंले बाटो हेरिरहनुभएको मसीह।”

मैले तिनको ध्यान र तिनको विचारको निम्ति तिनलाई धन्यवाद दिएँ, र मेरो कार्ड तिनलाई थमाए पछि, भनेँ, [मलाई डर लाग्छ कि सायद खिल्ली उडाउँदै], “म कुनै पनि समयमा ख्रीष्टियन बन्ने त्यहाँ केहि खतरा छैन।”

त्यसपछि तिनले मलाई आफ्नो कार्ड थमाएर यसो भने, “यदि परमेश्वरले तपाईंको निम्ति मेरो प्रार्थनाको जवाफ दिनुभयो भने, के तपाईंले मलाई कुनै लेखोट वा चिठ्ठी पठाउनुहुनेछ?” मैले अविश्वाससाथ हाँस्दै जवाफ दिएँ, “हुन्छ, भइहाल्छ नी”। तर परमेश्वरले उहाँको अनुग्रहमा उक्त हजामको प्रार्थनाको जवाफ अर्को ४८ घण्टा भित्र दिनुहुनेछ भनेर मैले सपनामा पनि सोचेको थिइनँ। मैले हृदयबाट नै तिनीसँग हात मिलाएँ र भनेँ, “गुड बाई;” तर बाहिरबाट बेवास्ताको रूप देखाए पनि, मेरो हृदयमा तिनले गहिरलो प्रभाव पारेका छन् भनी मैले महसुस गरेँ। उनको व्यवहारको क्रमले पनि यो देखाउँछ।

यो सबैलाई थाह भएकै कुरा हो, अमेरिकी रेलमार्ग ढुवानी चाहिँ सामान्य अङ्ग्रेजी रेलमार्ग ढुवानीभन्दा लामो हुन्छ। यसमा ६०-८० जना मानिस बस्न मिल्ने एउटा मात्र डिब्बा हुन्छ। मौसम निकै चिसो भएको हुनाले, यस रेलमा यात्रीहरू धेरै थिएनन्—म चढेको डिब्बा आधा मात्र ओगटिएको थियो। मैले आफैंले थाह नपाइकन, दश देखि पन्ध्र मिनटभित्र, डिब्बाको सबै खाली सीटहरूमा बस्न भ्याइसकेको थिएँ।

कुनै ठोस वस्तुबिना त्यति थोरै समयमा छिटो-छिटो मेरो सीट परिवर्तन गरेको हुनाले यात्रीहरूले मलाई शंकाको नजरले हेरे। मेरो तर्फमा, त्यो समयमा मेरो हृदयमा केहि खराबी थियो जस्तो मलाई लाग्दैन, यद्यपि मेरो अनौठो चालहरूको उचित कारण म दिन सक्दिनँ। अन्त्यमा, सुत्छु भन्ने दृढ संकल्पसाथ म त्यस डिब्बाको कुनाको एउटा खाली सीटमा गएर बसेँ। मैले मेरा आँखाहरू बन्द गरेको घडी, मैले आफैंलाई दुई आगोहरूको बिचमा भएको महसुस गरेँ। एकापट्टी त्यहाँ न्यू योर्कको ख्रीष्टियन हजाम थियो, र अर्को पट्टी गेट्टीसबर्ग (Gettysburg) को युद्ध ढोलक बजाउने ठीटो। दुवैजनाले मसँग येशूको बारेमा कुरा गरिरहेका थिए, जसको नामलाई म घृणा गर्दथेँ। मैले यी दुवै कुराहरू असम्भव भएको महसुस गरेँ, निदाउन र मेरो मस्तिष्कबाट यी दुई विश्वासयोग्य ख्रीष्टियनहरूले पारेको प्रभाव, जसमध्ये एउटाले मलाई केहि घण्टा अगाडि मात्र बिदाइ गरेको थियो, जबकी अर्कोको मृत्यु भएको झण्डै दश वर्ष भइसकेको थियो, र यसरी नै म सङ्कटमा र म रेलमा भएको सम्पूर्ण समयहरूमा दुविधामा परिरहेँ।

वासिङ्ग्टन (Washington) आइपुगेपछि मैले बिहानीको खबरपत्रिका किनेँ, र सुरुमा नै डा. रेनकिन (Dr. Rankin) को मण्डलीमा (वासिनङ्ग्टनको सबैभन्दा विशाल मण्डली) पुनरुज्जीवन सेवा (Revival Service) हुने घोषणामा मेरो ध्यानाकर्षण भयो। मैले अरू खबर पढ्नुभन्दा पहिले नै त्यस घोषणा सन्देशले मलाई “त्यो मण्डलीमा जाऊ” भनेझैं लाग्यो। म कहिल्यै पनि ईश्वरीय सेवा हुँदा मण्डलीमा पसेको थिइनँ, र अन्य समयहरूमाचाहिँ, त्यस्तो विचार धरि शैतानबाटको हो भनी मैले खिसी गर्ने गर्दथेँ। म बालक हुँदा मेरो बुबाले म रब्बी बन्नुपर्छ भनी सोच राख्नुहुन्थ्यो। त्यसैले मैले उहाँलाई म कहिल्यै पनि “येशू, ती धूर्त मानिस”लाई परमेश्वरको रूपमा उपासना गरिने स्थानमा जानेछैन, र त्यो नाम भएको कुनै पनि पुस्तक पढ्ने जमर्को गर्नेछैनँ भनी प्रतिज्ञा गरेको थिएँ, र त्यो प्रतिज्ञालाई मैले त्यस घडीसम्म विश्वासयोग्यतापूर्वक पालन गरिरहेको थिएँ।

अघि भर्खर मैले बताएको पुनरुज्जीवन सेवा (Revival Service) को सवालमा चाहिँ, यो लेखिएको थियो कि त्यस शहरका विभिन्न मण्डलीहरूबाट एककृत रूपमा भजन गाउने समूह हुनेछ, जसले प्रत्येक सेवाहरूमा गाउनेछ। सङ्गीतको उग्र प्रेमी भएको हुनाले, त्यस कुराले मेरो ध्यान आकर्षण गर्यो, र त्यस रात उक्त मण्डलीको पुनरुज्जीवन सेवा (Revival Service) मा सहभागी हुन मैले त्यस सङ्गीतलाई आफ्नै निम्ति बहाना बनाएँ। म उपासकहरूले भरिएको भवनभित्र पसेपछि, एकजना स्वागतकले, निश्चय पनि मेरो सुनौलो एपलेट (epaulettes—सैनिक वा प्रहरी अधिकृतको कुममा लगाउने बिल्ला— मैले मेरो वर्दी परिवर्तन गरेको थिइनँ) देखेकोले मलाई अगाडिको कुर्सीमा लगेर राखे, जुनचाहिँ दुवै बेलायत र अमेरीकामा प्रख्यात प्रचारकको ठीक अगाडि थियो। मधुर गायनले म मुग्ध भएँ, तर प्रचारकले बोल्न थालेको पाँच मिनट पनि नबित्दै, कसैले तिनलाई म को हुँ भनी बताएको हुनुपर्छ भन्ने निश्कर्षमा म आइपुगेँ, किनभने तिनले मलाई नै आफ्नो औंला ठड्याइरहेछन् जस्तो मलाई लागेको थियो। तिनले मलाई हरिरहे, र हरेक समय उनले आफ्नो मुठी मतर्फ हल्लाइरहेको जस्तो देखिन्थे। यो सबैको बाबजुदपनि, तिनले भनेको कुराहरूमा मलाई निकै चासो लाग्यो। तर त्यति मात्र थिएन, मेरा कानहरूमा अझै पनि ती पुराना प्रचारकहरूको शब्दहरू गञ्जिरहेका थिए—न्यू योर्कको ख्रीष्टियन हजाम र गेट्टिसबर्ग (Gettysburg) को युद्ध ढोलक बजाउने ठिटो—एकातिर प्रचारकको कुरालाई पनि ध्यान दिइरहेको थिएँ, र मैले मेरो मस्तिष्कमा ती दुई प्रिय मित्रहरूले आ-आफ्नो सन्देश दोहोर्याइरहेको सफा सँग देख्न सक्थेँ। प्रचारकको शब्दहरूमा झन्-झन् चासो बढ्दै जाने क्रममा, मैले मेरो अनुहारमा आँशु चुहिरहेको अनुभव गरेँ। यो कुराले मलाई झस्कायो, र म एक कट्टर यहूदी भएको हुनाले, कुनै ख्रीष्टियन चर्चमा आँशु झार्नु बच्चाको काम जस्तो हुन्छ भनी लाज मान्न थालेँ। मैले यस्तो ठाउँमा आँशु झारेको पहिलो पल्ट थियो।

मैले यो भन्न छुटाएछु कि त्यस सेवाक क्रममा, जब प्रचारकले मलाई हेरिरहेको थियो, सायद उसले अरू कसैलाई पो औंल्याएको हो कि जस्तो लागेर मैले मेरो पछाडी त्यो मान्छे को रहेछ भनी जान्नलाई मोडिएँ। तर आश्चर्यको कुरा, समाजको हरेक वर्गका झण्डै २००० भन्दा बेसी मानिसहरूले मलाई नै हेरिरहेको जस्तो लाग्यो। म त्यहि घडि निश्कर्षमा आइपुगेँ, त्यो पुरै जमातमा यहूदी त म एकजना मात्र रहेछु, र खराब समूहमा रहेछु भन्ने सोचेर मलाई मनबाट नै बाहिर निस्कने इच्छा जाग्यो। वासिङ्ग्टनमा दुवै यहूदी र अन्यजातिद्वारा राम्री परिचित भएको हुनाले, मेरो मस्तिष्कमा यस्तो विचार पलायो: वासिङ्ग्टन खबर पत्रिकामा यस्तो कसरी पढिएला, “डा. रोस्भ्याली (Dr. Rossvally), एक यहूदी, पुनरुज्जीवन सेवा (Revival Service) मा उपस्थित भएका थिए, जुनचाहिँ उनी प्राय: गइरहने गरेको यहूदी सभाघरभन्दा पाँच मिनट पनि टाढो छैन, र प्रचारको समयमा आँशु झारिरहनुभएको देखिनुभएको थियो”? आफैंलाई स्पष्टसाथ नदेखाउने चाहना गर्दै (किनभने त्यहाँ मेरो निम्ति चिरपरिचित अनुहारहरू थिए), आफ्नो आँशुहरू पुछ्नलाई मेरो रूमाल ननिकाल्ने मनस्थिती बनाएँ—ती आफैं सुकुन्; तर परमेश्वरलाई धन्यवाद होओस्, मैले ती लुकाउन सकिनँ, किनभने ती झन्-झन् छिटो बग्न थाले।