एक बर्ष मुनिको बच्चालाई सिकाउने तीनओटा कुराहरू (भाग १)

यस पृष्ठलाई छाप्नुहोस्

ज्योति नेपाल

पहिलो, "हुँदैन"


शब्द: "हुँदैन"; अर्थ: "त्यो छुनु हुँदैन"; कसरी सिकाउने: "हुँदैन" भन्दै अविभावकले बच्चाको हातमा सानो लठ्ठी वा कलम वा हातैले हिर्काउने (जुनबेला बच्चाले छुनु नहुने कुरालाई छुन्छ)।

उदाहरण

बच्चाहरू छिट्टै बिजुलीको तारतिर आकर्षित हुन्छन्। भित्तामा तार जोड्ने ठाउँमा उनीहरूलाई औँला घुसार्न मन लाग्छ, बिजुलीको तारलाई मुखमा हालेर टोक्न मन लाग्छ। यो उनीहरूको एउटा अत्यन्तै खतरनाक बानी हो। एक बर्ष मुनिको बच्चालाई आफ्नो ज्यान जोगाउनलाई चासो हुँदैन, मृत्यु के हो, उसलाई थाहा छैन र डर पनि छैन। आफ्नो बच्चालाई रक्षा गर्ने काम आमा बुबाको हो। धेरैजसो बुबाहरू दिनभरि नै बाहिर काममा गएका हुन्छन्, त्यसैले बच्चाको शारीरिक सुरक्षाको जिम्मा प्रायः आमाकै काँधमा पर्छ।

के एउटा सानो बच्चाले आमाको आज्ञा पालन गर्न सम्भव छ र? के कुनै ७-८ महिनाको बच्चाले "हुँदैन" भन्ने शब्द बुझ्न र मान्न सम्भव छ र? अवश्य सम्भव छ। तपाईंको बच्चालाई सुरक्षा दिने ज्यादै राम्रो तरिका तपाईं अब सिक्न लाग्दैहुनुहुन्छ।

यो उमेर (७-८ महिना) का बच्चाहरूले जे पाए त्यही मुखमा हाल्ने गर्छन्। के बिस्कुट, के मुसा मार्ने औषधी, उनीहरूले स्वाट्टै टिपेर मुखमा राखिहाल्छन्। अब हामी हेरौं, हर्केकी आमाले कसरी यो खतरनाक बानीको सामना गर्छिन्।

हर्के खाटमा बसिरहेको छ। उसको एउटा दाँत उम्रिसकेको छ र दोस्रो पनि उम्रन लागेकोले उसको गिजा चिलाइरहेको छ। खाट छेउको भित्तामा बिजुलीको तार झुण्डिरहेको देखेर हर्केले त्यसलाई तानेर मुखमा हालेर टोक्न थाल्छ। हर्केकी आमा आफ्नो छोराभन्दा ज्यादै बाठी भएकी हुनाले छिन-छिनमा आफ्ना आँखा छोरातिर लगाउने गर्छिन्। छोरा के गरिरहेको छ, कहाँ छ, कोसँग छ, तिनलाई सधैं थाहा हुन्छ। हर्केले तार तानेको देखेर उनले मौकाको फाइदा उठाएर आफ्नो छोरोलाई उसको जीवनको पहिलो महत्त्वपूर्ण पाठ सिकाउने निर्णय गर्छिन्। टेबुलबाट लामो सिसा कलम टिपेर तिनी छोराको छेउमा आइपुग्छिन् र तारलाई सङ्केत गर्दै हर्केलाई "हुँदैन" भन्छिन्। तर हर्केको कानमा "हुँदैन" भन्ने शब्दको आजसम्म कुनै अर्थ छैन। उसलाई के मतलब! अब हर्केकी आमाले "हुँदैन" भन्ने शब्दको अर्थ आफ्नो छोरालाई बुझाउनु पर्छ। यो सानो उमेरको बालकले केवल ३ ओटा कुरा बुझ्न सक्छ। १) भोक (भोक लागे रुन्छ)। २) दुखाइ (उसलाई दुख्यो भने रुन्छ)। ३) रमाइलोको महसुस (काउकुती लाग्यो भने हास्छ, आमा बुबाले उसलाई बोकेर यता उता हिँडाउँदा ऊ शान्त हुन्छ, खाटमा सुताउने बित्तिकै रुन्छ--बोक्ने बानी सजिलोसँग लाग्छ।)

"हुँदैन" को अर्थ बच्चाको लागि यो हो--"तिमीले यो छोयौ भने तिमीलाई दुखिहाल्छ है!" (तार छोयौ भने, बुबाको चस्मा छोयौ भने, स्टोभ छोयौ भने, चियाको ग्लास इत्यादी छोयौ भने तिमीलाई दुखिहाल्छ!)

हर्केकी आमाले मुखले मात्र "हुँदैन" भन्दाखेरि हर्केले बुझेन, तार उसको हातमा अझै पनि छ। हर्केकी आमाले फेरि एक चोटी "हुँदैन" भन्छिन् र साथ-साथै हर्केको सानो, मायालाग्दो हातमा (तार समाइराखेको हातमा) एक चोटि दु;ख्‍ने गरी हिर्काउँछिन्। हर्के छक्कै पर्छ, शायद ऊ रुन्छ पनि, र तार उसले छोड्छ। तर हर्केकी आमा जान्दछिन्, "मेरो छोराले अझै पनि यो कुरा बुझिसकेको छैन।" अब तिनले हर्केलाई त्यहीँ खाटमा छोड्‍‍छिन् र अलिक परबाट उभेर हेर्छिन्। "छोराले अब के गर्छ?" भनेर। हर्केको बिचार? गिजा अझै चिलाइरहेकै छ। एक मिनेट नबित्दै उसले "हुँदैन" को दुखाइ बिर्सेर तारको मीठो स्वाद सम्झन्छ। हर्केको मसिनो हात तारतिर लम्कन्छ। तारलाई छुने बित्तिकै उसले आमाको "हुँदैन!" भन्ने आवाज सुन्छ। ऊ झस्किन्छ तर तारलाई आफ्नो मुठीमा समाइराख्छ। हर्केकी आमा त्यसपछि फेरी "हुँदैन!" भन्छिन् र छोराको हातमा कलमले दु:ख्‍ने गरी हीर्काउँछिन्। हर्केले तार छोड्छ। तर अझै पनि उसले राम्रोसँग "हुँदैन" को पाठ सिकेको छैन। हर्के कुरा छिटो अलिक नबुझ्ने बच्चा भएको हुनाले उसले आधा घण्टा भित्रमा त्यहीँ बसेर त्यही तारलाई दसचोटि छुन पुग्छ र दसै चोटि उसले हात दुखेको महसुस गर्छ। त्यस पछि ऊ थाक्छ र तन्नालाई तान्नतिर लाग्छ।

यतिखेर तपाईंको मनमा एउटा प्रश्न उठ्यो होला शायद: "हर्केकी आमाले किन उसलाई खुरुक्क उचालेर भुइँमा राखिनन् अथवा बाहिर लगिनन्? तिनले छोरालाई अर्को ठाउँमा नसारे तापनि कम-से-कम तारलाई भित्ताबाट थुतेर अन्यत्र किन नसारेकी? किन आफ्नो प्यारो छोरालाई रुवाउनु पर्‍यो? यसको जवाफ यो हो कि हर्केकी आमाले हर्केलाई रिसको झोंकमा पिटेकी होइनन्। उनको एउटा विशेष उद्देश्य थियो त्यहाँ। चाहे आफ्नो कोठामा बस्दा होस्, चाहे अर्काको कोठामा भेटघाटको लागि जाँदा होस् उनले आफ्नो छोरालाई खराबी र खतराबाट जोगाउन चाहन्छिन्। हर्केले "हुँदैन" भन्ने बुझ्यो र मान्यो भने दैनिक जीवन कत्ति सजिलो हुनेछ भन्ने उनले बुझेकी छिन्! कत्ति पीरहरूबाट उनी मुक्त हुन सक्छिन्!"पल्लो घरमा एउटा बच्चाले पुरी पकाउने तेल आफूमाथि खन्याउँदा उसको शरीर डरलाग्दो गरी पोलेको थियो। ८ महिनासम्म ऊ अस्पतालमा बस्नुपर्‍यो, कसो मरेन! मेरो छोराले पनि त्यस्तै गर्ला फेरि।" यस्ता फिक्रीहरूबाट हर्केकी आमा मुक्त हुन चाहन्छिन् र उनको छोरालाई २ बर्षको उमेरमा होइन तर ८ महिनाको उमेरमै अनुशासनमा राख्‍न थालेकी छिन्। नियालेर हेर्नुहोस्, यस आमाको बुद्धि!

हर्केलाई "हुँदैन" को पहिलो पाठ सोमबार बिहान सिकाइयो। त्यसपछि दिउँसो आमा किनमेल गर्न जाँदा ऊ पनि आमासँग गयो। बेलुका बुबा घर आउनुभएपछि आमा खान पकाउनतिर लागिन् र हर्के बुबासँग खाटमा बस्यो। फेरि ऊ तारतिर आकर्षित भयो। आमाले पकाउने काम छोडेर छोराको हात हिर्काउन आइन्, "हुँदैन!" भन्दै। बुबालाई चित्त बुझेन। यत्रो सानो बच्चाले यस्तो कुरा बुझ्न सक्दैन भन्ने उहाँको धारणा थियो। त्यसैले "होस्, छोड्देऊ, बरु तिमीसँगै भुइँमा बसोस् न," भनेर आमाचाहिँलाई भन्नुभयो। हर्केकी आमा ज्यादै बुद्धिमति भएकी हुनाले उनले श्रीमानको आज्ञा मानिन् र छोरालाई आफ्नो साथमा राखिन्।

भोलिपल्ट बिहान बुबा घरबाट हिँड्नुभएपछि हर्केको तालिम फेरि शुरु हुन्छ। तार छुने बित्तिकै "हुँदैन" को साथ-साथ उसले हातमा पिटाइ खान्छ। पाँच चोटि छुन्छ, र पाँचै चोटि पिटाइ खान्छ। बल्ल तल्ल उसको मनमा केही छिर्न थालेको जस्तो छ। तारमा आँखा लगाउँछ। त्यसको मीठो स्वाद होइन, तर हात दुखेको उसलाई याद आउँछ। मैले तार छोएँ भने मेरो हात दुख्छ भन्ने कुरा प्रमाणित गर्न ऊ फेरि आफ्नो हात अगाडि बढाउँछ, "हुँदैन" भन्ने आवाज सुन्छ र तारलाई समाउनुको सट्टा उसको हात त्यत्तिकै हावामै रोकिन्छ! हर्केकी आमा मनमा अत्यन्तै खुशी भई छोरालाई मुवाइ खान्छिन्। "अहो, मेरो ज्ञानी छोरा!" भन्दै उसको प्रशंसा गर्छिन्। यो पाठ प्रथम पटक सफल भएको देख्दा उनी रमाउँछिन् र छोरालाई बोकेर बारीतिर साग टिप्नलाई जान्छिन्।

यदि तपाईंले पनि तपाईंको बच्चालाई "हुँदैन" सिकाउन यस्तै दृढ निर्णय गर्नुभयो भने, तपाईं सफल बन्न सक्नुहुन्छ। कम्तीमा एक-दुई हप्‍ता लाग्छ यदि तपाईंले दिन-दिनै माथि उल्लेख भएबमोजिम अभ्यास गर्नुहुन्छ भने।