एक वर्ष मुनिको बच्चालाई सिकाउने तीनओटा कुराहरू (भाग २)

यस पृष्ठलाई छाप्नुहोस्

ज्योति नेपाल

दोस्रो, "आऊ"


शब्द: "आऊ"; कसरी सिकाउने: इनाम दिएर

उदाहरण

जब परमेश्‍वरले "त्यो रूखको फल नखानू" भनेर आदम र हव्वालाई आज्ञा दिनुभयो, तिनीहरूले उक्त आज्ञाको विपरित काम गरे। आज पनि हाम्रा बच्चाहरू स्वभावैले आफ्ना बाबुआमाले दिनुभएका आज्ञाहरूको ठीक विपरित काम गर्छन्। कयौं चोटि बालक सडकतर्फ दौडिरहेको र बालकको पछि-पछि उसको आमा कराउँदै दौडिरहेको मैले देखेको छु। ठूला-ठूला ट्रकहरू सडकमा कुदिरहेका हुन्छन् तर त्यो बालकलाई केही डर हुँदैन। आमाको मुटु डरले कामिरहेको हुन्छ। "आऊ, बाबु, आऊ!" भन्दै तिनी चिच्याउँछिन्। तर बाबु आफै फर्केर आउँदैन किनभने उसको आमाले उसलाई तालिम दिएकी छैनन्, अनुशासनमा राखेकी छैनन्।

के एक बर्षमुनिको बच्चालाई बोलाईंदा ऊ आउनु सम्भव छ र? अवश्‍य छ। यदि तपाईंको बच्चा बामे सर्न वा हिँड्न सक्छ भने ऊ पक्कै पनि "आऊ" भन्ने शब्द बुझ्न र मान्न सक्छ। तर उसले आफ-से-आफ यो मान्नेछैन। तपाईंले उसलाई दिनहुँ तालिम दिनुपर्छ। तपाईंले तालिम लगातार दिनुभएको खण्डमा दुई हप्‍ताभित्रमा तपाईंले "आऊ" भन्दा उसले राम्रोसँग मान्नेछ। तब तपाईं एक भिन्नै प्रकारको आमा हुनुहुनेछ जसले अबदेखि उसो बच्चाको पछि-पछि रिसाउँदै, डराउँदै, चिच्याउँदै कहिल्यै दौडनु पर्नेछैन।

डेनी केनस्टन अमेरिकाको पेन्सिल्भेनियामा बस्नुहुन्छ जहाँ उहाँ एक मण्डलीको एल्डर हुनुहुन्छ। उहाँकी श्रीमतीको नाम ज्याकी हो। उहाँहरूका ४ जना छोरी र ४ जना छोरा छन्। ती मध्य ३ जनाको विवाह भइसकेको छ। डेनी केनस्टनका सबै छोराछोरी आज्ञाकारी, मेहनती र प्रभुमा खुसी छन्। डेनी भन्नुहुन्छ, "मेरा छोराछोरीहरूले मेरो हृदयलाई आनन्दित तुल्याएका छन्। यदि तपाईंले आफ्ना छोराछोरी हुर्काउने क्रममा परमेश्‍वरले दिनुभएको तरिका अपनाउनुहुन्छ भने तपाईंले आफ्नो घरमा फिक्री र बेमेल होइन तर आराम पाउनुहुनेछ।"

डेनीले बच्चालाई "आऊ" र अन्य विषयहरू कसरी सिकाउनुहुन्छ? सो उहाँले बताउनुभएको छ। "हाम्रो परिवारमा हाम्रा एक बर्ष मुनिका छोराछोरीलाई बिशेष तालिम दिन्छौं। उनीहरू बामे सर्न थालेपछि हामी "हुँदैन" भन्ने शब्द सिकाउँछौं। उनीहरू हिँड्न थालेपछि हामी "आऊ" भनेको मान्न सिकाउँछौं। यी कुराहरू सिकाउँदा हाम्रो लक्ष्य हो आज्ञा पालन। यदि उनीहरूले सानै उमेरदेखि साना कुराहरूमा हाम्रा आज्ञा पालन गर्न सिक्छन् भने उनीहरू जवान भएपछि ठूला र गम्भिर कुराहरूमा हाम्रा आज्ञा पालन गर्नेछन् र परमेश्‍वरको आज्ञा पालन गर्नेछन्।

"हाम्री छोरी हन्ना सानै थिई, हिँड्न थालेकी थिई, र मैले उसलाई "आऊ" को तालिम दिन थालें। मैले उसलाई बोलाएँ, "आऊ, हन्ना, बुबाकहाँ आऊ!" शुरू शुरूमा उसलाई रमाईलो लाग्यो। ऊ आयो अनि मैले उसको प्रशंसा गरें। "आहा! तिमी कत्ति ज्ञानी!" त्यसपछि उसलाई अलिक पर राखेर फेरि बोलाएँ। दिनैपिच्छे समय- समयमा मैले यस्तै गरें--उसलाई बोलाएँ, ऊ आयो, अनि मैले उसको प्रशंसा गरें। उसको लागि यो एउटा रमाइलो खेल जस्तै भयो। तर एक दिन मैले उसलाई बोलाउँदा खेरि ऊ आइन। ऊ खेलिरहेकी थिई र खेलौनालाई छोडेर मकहाँ आउन उसलाई मन लागेन। यस्तो परिस्थिति आउँदा मैले के गर्नुपर्छ भनेर पहिल्यै मेरो मनमा निर्णय गरिसकेको थिएँ। मैले हन्नालाई बोलाउँदा ऊ आइन, त्यसैले मैले उसको तिघ्रामा एक चोटि हिर्काएँ। र फेरि मैले उसलाई बोलाएँ, ऊ आयो भने उसको प्रशंसा गर्न तयार थिएँ, ऊ आइन भने उसलाई अलिकता पिट्न तयार थिएँ। ४-५ दिन नियमित रूपमा यसरी अभ्यास गरेपछि मेरी छोरीलाई बोलाउँदा ऊ तुरुन्तै आउन थाली।

"एक चोटि परिवारमा हामी खाना खान बसेका थियौं। हाम्री कान्छी छोरीलाई खाना मीठो लागिरहेको थिएन र ऊ खान मानिरहेकी थिइन। मनमनै मैले सोचें, 'यस्तै मौका मैले खोजिरहेको थिएँ। अब छोरीलाई थालमा जे छ त्यो खानु पर्छ भनेर सिकाउन सक्छु। उसलाई मीठो लागे पनि नलागे पनि आमाले जे पकाउनुभएको छ, छोरीले गनगन नगरीकन खानु पर्छ। भविष्यमा ऊ मिसनरी बन्नु परमेश्वरको योजना हुन पनि सक्छ। त्यसबेला ऊ जहाँ पनि जान र जे-जस्तो अवस्थामा पनि जिउन तयार हुनुपर्छ। यदि उसलाई नौलो खानेकुरा घीन लाग्छ भने र उसले मीठो मात्रै खान खोज्छ भने ऊ कसरी मिसनरी हुन सक्छे र? त्यसैले म उसलाई आजदेखि नै सिकाउँछु थालमा जे छ त्यही खान।' रिसको झोंकमा मैले छोरीले नमीठो खाओस् भन्ने इच्छा गरेको थिइनँ। म रिसाएको थिइनँ, रिसमा म कहिले पनि नानीहरूलाई तालिम दिन्नँ। यस्ता सबै तालिमहरू दिनुमा मेरो एउटा निश्चित उद्घेश्य छ। मेरा छोराछोरीहरू आ-आफ्नो इच्छाअनुसार होइन तर परमेश्‍वरको इच्छाअनुसार चल्न र जिउन सिक्नुपर्छ।"

हितोपदेश २९:१५ "छडी र हप्कीले बुद्घि दिन्छन्, तर छाडा छोडिएको बालकले आफ्नी आमालाई शर्ममा पार्छ।"

हितोपदेश २९:१७ "आफ्नो छोरालाई ताडना देऊ, र उसले तिमीलाई विश्राम दिनेछ, अँ उसले तिम्रो मनलाई आनन्दित तुल्याउनेछ।"