एक वर्ष मुनिको बच्चालाई सिकाउने तीनओटा कुराहरू (भाग ३)

यस पृष्ठलाई छाप्नुहोस्

ज्योति नेपाल

तेस्रो, "बस"


शब्द: "बस"; त्यसको अर्थ: "तिमी मेरो काखमा बस्नुपर्छ र मैले भनेपछि मात्रै तिमी ओर्लन पाउँछौ।" सिकाउने तरिका: बल लगाएर

उदाहरण

हामी विश्‍वासी आमाहरूको माझमा एउटा ठूलो समस्या जारी छ। प्रत्येक शनिवार हामी चर्च जान्छौं तर आधा सङ्गती नसकिँदा हामी बाहिर निस्कनु पर्छ किनभने छोरा वा छोरी चक-चके छन्, एक घण्टा चुप लागेर बस्न सक्दैनन्। "बिस्कुट खाने" भन्छन्, "चाउ-चाउ दिनुस्" भन्छन्, "ममी, सु आयो" भन्छन्, भजन किताब च्यात्‍न खोज्छन्, हाँस्छन्, हल्ला गर्छन्, अनेक गर्छन्। हुन त एक बर्ष मुनीको बच्चाले "ममी, नबसौं, घर जाऊँ, खेल्न जाऊँ, मलाई यहाँ बस्न दिक्क लाग्यो" भनेर शब्दले भन्न सक्दैन। तर ऊ रून सक्छ। धेरैजसो बच्चाहरू दूध खाउञ्जेल शान्त भएर बस्छन्, कोही बच्चाहरू सङ्गतीमा निदाउँछन्, तर कति त आमाको काखमा एक छिन् बस्न सक्दैनन्। यस समस्याको समाधान गर्ने एक सजिलो उपाय छ। त्यो हो, बच्चालाई शान्त भएर बस्नलाई दैनिक तालिम दिने।

तपाईंले आफ्नो कोठामा गएर शनिवारको सङ्गतीको लागि आइतबारदेखि तयार गर्न थाल्नुपर्छ। तपाईंको बच्चा ८ महिनादेखि एक बर्षसम्मको छ भने उसले यस पाठलाई राम्रोस‍ँग सिक्न सक्नेछ। कुनै एउटा ठाउँमा पहिले आफूलाई बसाल्नुहोस् -- खाटमा, भुइँमा, आँगनमा, जहाँ बसे पनि हुन्छ -- र बच्चालाई काखमा लिनुहोस्। बच्चालाई दूध नखुवाउनुहोस् किनकि यो दूध खुवाउने समय होइन तर "बस" भन्ने कुरा सिकाउने समय हो। बच्चा तपाईंको काखमा त्यसरी ५ मिनेट बस्न मान्छ होला, दस मिनेट बस्ला, तर त्यसपछि ऊ ओर्लन खोज्नेछ। तपाईंले उसलाई समातिराख्‍नुपर्छ, १५ मिनेटसम्म ओर्लन दिनुहुँदैन। उसको हातमा एउटा खेलौना दिनुभए हुन्छ, तर बिस्कुट नदिनुस्, चक्लेट नदिनुस्, "बाबु, बस, म मीठाई किनिदिन्छु" भनेर नभन्नुस्। गाली पनि नगर्नुस्। ऊ ओर्लन खोज्दा तपाईंले बलियो गरी काखमा समाइरहनु पर्छ। उसलाई हिर्काउनु पर्दैन, इनाम दिनु पर्दैन। "ममी तिमीभन्दा धेरै बलियो हुनुहुन्छ, उहाँको इच्छानुसार तिमीले गर्नुपर्छ" भन्ने कुरा तपाईंले यसरी तपाईंको बच्चालाई बुझाउनुपर्छ। ऊ ओर्लन नपाउँदा रूनेछ। ठीक छ। रून दिनुस् तर ओर्लन चाहिँ नदिनुस्। "बाबु, नरोऊ, नत्रभने ऊ त्यो कुखुराले तिमीलाई टोक्छ" जस्ता कुराहरू गरेर मूर्ख नबन्नुस्! बच्चालाई मूर्ख कुरा गरेर भुलाउनुपर्दैन, केवल काखमा समाइराख्‍नुपर्छ। ऊ रून्छ, चिछ्याउँछ, झगडा गर्छ भने पनि १५ मिनेट नबितुञ्जेल उसलाई नछोड्नुस्। तर एक चोटि मात्रै यस्तो तालिम दिनुभएर यसबाट केही फाइदा हुँदैन। तपाईंले प्रत्येक दिन, दुई हप्‍तासम्म यसरी बच्चालाई कम्तीमा १५-१५ मिनट काखमा राख्‍नुपर्छ। अनि त्यसपछि मात्रै उसले महसुस गर्नेछ, "ए, मैले जति झगडा गरे पनि ओर्लन नपाइने रहेछ।" झगडा गरेर उसलाई फाइदा हुँदैन भने ऊ झगडा गर्न छोड्छ। तर यदि झगडा गरेर ऊ ओर्लन पाउँछ भने उसले झगडा गर्ने बानी बसाल्छ।

"बस" को सन्दर्भमा एकदुई कुराहरू: सङ्गती बस्दा बच्चालाई दूध खुवाउनु हुँदैन भन्न खोजिएको होइन। तालिम दिने बेलामा मात्रै नखुवाउनोस्। सङ्गतीमा जति खुवाए पनि हुन्छ। सङ्गतीमा बिस्कुट खुवाए पनि हुन्छ। तर याद गर्नुहोस्, चर्च भवन चाहिँ एउटा विशेष ठाउँ हो, तपाईंको कोठा जस्तो होइन, त्यसैले सकेसम्म चाउ-चाउ र चिउराजस्तो खानेकुरा नखुवाउनोस् किनभने त्यसले कार्पेटलाई फोहोर पार्छ। अर्को सल्लाह: बच्चालाई जथाभावी पिसाब फेर्न नदिनुहोस्। एक बर्ष मुनिको बच्चालाई कपडा लाइदिनुस् र कपडामाथि प्लास्टिकले बेर्नुभयो भने उसले पिसाब फेर्दा उसको बाहिरी लुगा भिज्दैन, चर्च भवनको भुइँ पनि चिसो हुँदैन। बच्चाहरूलाई चर्च भवनको कार्पेटमा पिसाब फेर्न दिनुहुन्छ भने त्यो परमेश्‍वरलाई अनादर गरेको जस्तै हो। बच्चाहरू कार्पेटमा पिसाब फेर्छन् भने कार्पेट गन्हाउँछ, नयाँ मानिसहरू सङ्गतीमा आउँदा उनीहरूलाई घीन लाग्छ। सङ्गती गर्ने कोठालाई सफा राख्‍नलाई हामी सकभर प्रयास गरौं। यसरी हामी परमेश्‍वरलाई आदर गरौं। साथै, सङ्गती गर्ने बेलामा हाम्रा नानीहरूलाई पहिल्यै तालिम दिएर अनुशासनमा राखौं। यसो गरेमा हामी आफै पनि वचन सुन्न पाउँनेछौं, अरूहरूले पनि शान्त वातावरणमा प्रभुको वचन सुन्न पाउनेछन्।

लेखको समाप्‍त तर अभ्यासको शुरू.....


"बच्चा अनुशासनहीन हुनु रोगजस्तै डरलाग्दो कुरा हो... त्यसको उपचार तपाईं अविभावक आफैले गर्नुपर्छ।"