ख्रीष्टमा हुर्काइ र विजयी जीवन (#२)

यस पृष्ठलाई छाप्नुहोस्

डेविड क्लाउड

पद कण्ठ: यूहन्ना १५:४; एफेसी ४:२२-२४; फिलिप्पी ३:१३-१४; १ यूहन्ना १:९

ख्रीष्टियन हुर्काइका "चाबीहरू" नयाँ नियमभरि पाइन्छन् तर तल उल्लेखित बुँदाहरू तीमध्ये केही प्रमुख हुन्। यस पाठमा हामी पहिलो चारओटालाई हेर्नेछौं: ख्रीष्टमा रहनु, पुरानो मानिसलाई फाल्नु र नयाँलाई पहिरहनु, पाप स्वीकार गर्नु र निशानातिर दगुर्नु।

ख्रीष्टमा रहनु (यूहन्ना १५:१-१०)

साँचो ख्रीष्टियन जीवन एउटा धर्म होइन। यो केवल नियमहरू र रीतिहरूको सँगालो होइन; यो त बौरिउठ्नुभएको ख्रीष्टसितको व्यक्तिगत सम्बन्ध हो। उहाँलाई व्यक्तिगत रूपमा चिन्नेहरू र उहाँसित दिन-दिनै सङ्गति गर्दै हिँड्नेहरू, उहाँको सेवा गर्नेहरू र उहाँबाट सिकिरहनेहरूले नै आत्मिक विजयको अनुभव गरिरहेका हुन्छन्। यसैलाई "ख्रीष्टमा रहनु" भनिन्छ। यदि विश्वासीले ख्रीष्टलाई बिर्सन्छ र उसले आफ्नो जीवन ख्रीष्टसितको वास्तविक सङ्गतिबाट अलग भएर व्यतित गर्छ भने ऊ आत्मिक खतरामा हुन्छ।

फल फलाउनु (पद २), अझ फल फलाउनु (पद २) र धेरै फल फलाउनु (पद ८) नै विश्वासीको लागि परमेश्वरको इच्छा हो भन्ने कुरामा यूहन्ना १५:१-१० मा येशूले जोड दिनुभयो। हामी बढिरहेको हुनुपर्छ र यो बढ्ने कामचाहिँ ख्रीष्टमा रहने कामको प्रतिफल हो।

उहाँको वचन पालन गर्नु नै उहाँमा रहने मूल उपाय हो भन्ने कुरा येशूले सिकाउनुभयो (यूहन्ना १५:७,१०)। ख्रीष्टमा रहनु भनेको 'मिस्टिकल' (mystical, गोप्य आध्यात्मिक शक्तिसम्बन्धीको) कुरो होइन जसलाई हाल व्यापकरूपमा फैलिरहेको कन्टेम्प्लेटिभ धारणा (contemplative philosophy) ले अँगालेको छ। यो एउटा भावना होइन, ऐन्द्रिय (sensual) अनुभव होइन। यो "आत्माद्वारा पराजित" (overcome by the Spirit) हुनु होइन, अन्यभाषा बोल्नु होइन, भुइँमा लड्नु होइन, भावन्मत्ततापूर्वक हाँस्नु होइन, प्रभावशाली सङ्गीतले ढुमुनिनु होइन, ध्यानद्वारा विचारमग्न अवस्थामा प्रवेश गर्नु होइन, मैन बत्तीहरू र धूपले प्रभावित बन्नु होइन। यो त उहाँको वचनलाई आदर गर्दै र पालना गर्दै ख्रीष्टसित सङ्गति गर्दै उहाँसँग हिँड्नु हो।

पुरानो मानिसलाई फाल्नु र नयाँलाई पहिरनु (एफेसी ४:२२-२४)

यस खण्डमा ख्रीष्टियन जीवनलाई एउटा वृद्धि हुँदै जाने विषयको रूपमा प्रस्तुत गरिएको छ। योचाहिँ पुरानो मानिस अर्थात् हामीले आदमबाट वंशानुगत रूपमा प्राप्‍त गरेको पापी स्वभावलाई फाल्दै जाने र नयाँ मानिस अर्थात् ख्रीष्टलाई पहिरँदै जाने प्रक्रिया हो। यो काम कसरी गरिन्छ भन्ने कुरा पावलले पछिल्ला पदहरूमा खुलस्त पार्दछन्। पुरानो मानिसलाई फाल्नु भनेको झूट बोल्न छोड्नु र रिसको सामना गर्नु र चोर्न छोड्नु र कुवचन र अरू त्यस्तै थुप्रै कुरा हटाउनु हो (एफेसी ४:२५-२९)। नयाँ मानिसलाई पहिरनु भनेको सत्य बोल्नु र अर्काको खाँचोमा दिनु र उन्नती गराउने बोली बोल्नु र अरू त्यस्तै कुराहरू गर्नु हो (एफेसी ४:२५-२९)।

यी उच्च र पवित्र मानदण्ड हुन् जोचाहिँ मोशाको व्यवस्थाका भन्दा गहिरा र चौडा छन्। झूट बोल्न छोड्नु भनेको हर हिसाबमा र हर परिस्थितिमा इमान्दार हुन सिक्नु हो। भ्रष्ट मनुष्य हृदय, पुरानो मान्छे, यस्तो छ कि त्यसले झूट बोल्ने र देखावटी व्यवहार गर्ने हजारौं तरिका छन्। मुखबाट कुनै कुवचन निस्कन नदिनु, सबै तीतोपना, क्रोध, रिस, कलह, निन्दा हटाउनु भनेको उदकको उच्च मानदण्ड हो।

पाप स्वीकार गर्नु (१ यूहन्ना १:५-१०)

फेरि हामी देख्छौं, विश्वासीले पाप गर्न सक्छ र पाप गर्छ पनि। तर पाप गर्नु भनेको अन्धकारमा हिँड्नु हो, उज्यालोमा हिँड्नु होइन। जब हामी पाप गर्छौं, उहाँसित सङ्गतिमा फेरि पुनःस्थापित हुनलाई परमेश्वरले हामीलाई उपाय दिनुभएको छ र त्यो उपाय हो स्वीकार। पाप स्वीकारले मलाई उज्यालोमा राख्‍छ र परमेश्वरसँग सङ्गतिमा राख्छ। उहाँ ज्योति र पवित्रता हुनुहुन्छ र उहाँ पाप र अन्धकारसँग सङ्गति गर्नुहुन्न। उहाँ मसँग अन्धकारमा सङ्गति गर्दै हिँड्नुहुन्न। यदि म उहाँसँग सङ्गति गर्न चाहन्छु भने म उहाँसँग ज्योतिमा हिँड्नुपर्छ।

पाप स्वीकार गर्नु भनेको मैले गरेको कामको विरुद्धमा म परमेश्वरसित सहमत हुनु हो। योचाहिँ म आफ्नो पापको निम्ति कुनै बाहाना नबनाउनु हो। बाहाना बनाउनु र अरूलाई दोष्याउनुचाहिँ आदमको तरिका हो। हाम्रो पहिलो बुबा आदमले आफ्नो पापको निम्ति आफ्नी पत्‍नीलाई दोष्याए र तिनले सर्पलाई दोष्याई। यिनै गैर-बुद्धिमानी पाइलालाई पछ्याउने स्वाभाविक झुकाव हामीमा छ। हामी हाम्रो पापको लागि आफ्नो राष्ट्रियतालाई दोष्याउँछौं, हाम्रो उमेरलाई दोष्याउँछौं ("म जवानै छु" वा "म वृद्ध छु"), हाम्रो लिङ्गलाई दोष्याउँछौं, हाम्रो पृष्ठभूमिलाई दोष्याउँछौं, हाम्रो परिस्थितिलाई दोष्याउँछौं, अरू थुप्रै कुराहरूलाई। जस्तै, यदि म आफ्नी पत्‍नीसँग रिसाएँ र तीतो बने भने त्यो त पाप हो, तर परमेश्वरको नजरमा मैले गल्ती गरेको छु भनेर स्वीकार गर्नु भन्दा बाहाना बनाउनु नै सजिलो हुन्छ र बरु पत्नीलाई वा अन्य कुरालाई दोष्याउनु सजिलो हुन्छ; जस्तै, त्यो दिन मलाई धेरै समस्या परेको दिन थियो वा श्रीमतिले कुरै बुझ्दिएन आदि। अथवा यदि मैले झूट बोलेँ भने मैले बाहानाहरू बनाउँदै यसरी भन्न सक्छु, "कहिलेकाहिँ त सबैले झूट बोल्छ नि।" अथवा मैले मेरा बाबुआमाको आज्ञापालन गरिनँ र उहाँहरूलाई अनादर गरेँ भने, मैले बहाना बनाउँदै यस्तो भन्न सक्छु कि उनीहरू ज्यादै कडा छन् वा उनीहरू कपटी छन्। तर अर्कोतिर बरु मैले परमेश्वरको सामु "मैले पाप गरेँ" र "यो खराब हो" भनेर सहमत हुन सक्छु। यदि मैले आफ्नो पापको लागि बहाना बनाएँ भने म ज्योतिमा नभई अन्धकारमा हिँडिरहेको हुन्छु र परमेश्वरसँग मेरो सङ्गति हुँदैन।

हाम्रा पापहरू उहाँलाई स्वीकार गर्‍यौं भने उहाँले हामीलाई क्षमा गर्नुहुन्छ र शुद्ध पार्नुहुन्छ भनेर परमेश्वरले प्रतिज्ञा गर्नुहुन्छ। हामीलाई क्षमा गर्न उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ किनकि ख्रीष्ट हाम्रा पापहरूका लागि मर्नुभयो।

परमेश्वरले हामीलाई कतिपटकसम्म क्षमा दिनुहुन्छ? हामीले जतिपटक स्वीकार गर्‍यौं त्यति नै पटक उहाँले क्षमा दिनुहुन्छ। हामीले पाप गर्दै र स्वीकार गर्दै, पाप गर्दै र स्वीकार गर्दै गरेको देखेर के उहाँ झर्को मान्नु हुन्न र? अहँ, हामीसित उहाँको प्रतिज्ञा छ उहाँले हरेक पटक क्षमा दिनुहुन्छ र शुद्ध पार्नुहुन्छ। यदि कसैले हाम्रो विरुद्धमा पाप गर्‍यो भने हामीले उसलाई ४९० पटकसम्म क्षमा दिनुपर्छ भनेर येशूले सिकाउनुभयो (मत्ती १८:२१-२२)। यदि हामीले त्यतिपटकसम्म क्षमा दिनुपर्छ भन्ने अपेक्षा गरिन्छ भने, परमेश्वरले झन् कति बढ्ता गरी क्षमा दिनुहुन्छ! स्मरण होस्, परमेश्वरका कृपाहरू हरेक बिहान नयाँ हुन्छन् (विलाप ३:२३), त्यसैले तपाईं जुरुक्क उठ्नुहोस् र ताजा कृपाहरू प्राप्‍त गर्नुहोस् (हिब्रू ४:१६) र अगाडि बढ्नुहोस्!

स्वीकारले हाम्रो सम्बन्धलाई परमेश्वरसँग ठीक-ठाक पार्छ। यसले हामीलाई ज्योतिमा राख्‍छ। यो विजयको मार्ग हो। यसले पापको भूमरीलाई थाम्छ। हामीले जब पाप गर्छौं, हामी निरुत्साहित बन्नुहुन्न, हताश बन्नुहुन्न; हामीले त्यसलाई इमान्दारपूर्वक स्वीकार गर्नुपर्छ र क्षमा दिने परमेश्वरको प्रतिज्ञालाई दाबी गर्नुपर्छ र हाम्रो आत्मिक जन्म-अधिकारमा खडा हुनुपर्छ (एफेसी १:३)।

निशानातिर दगर्नु (फिलिप्पी ३:१३-१४)

हामीले आफ्नो पाप स्वीकार गरेपछि हामीले त्यसलाई पछाडि राख्‍नुपर्छ र त्यसैमा मन लगाइरहने परीक्षामा पर्नुहुँदैन र परमेश्वरले क्षमा दिनुभएको छैन कि भनेर डराउनु हुँदैन। त्यसो गर्नाले ख्रीष्टियन जीवनलाई कुँजो बनाउँछ। पापलाई पछिल्तिर राख्‍ने तरिका चाहिँ आफ्नो आँखालाई लक्ष्यमाथि अर्थात् परमेश्वरको सिद्ध इच्छा पूरा गर्ने काममाथि लगाइराख्‍नु हो। अगाडि हेरिराख्नुहोस्, पछाडि होइन। जब परमेश्वरले हामीलाई पापदेखि कायल पार्नुहुन्छ, उहाँले त्यसो गर्नुको उद्देश्य हामीलाई स्वीकार गराउनलाई र शुद्ध पार्नलाई र विजयमा डोर्‍याउनलाई हो तर जब शैतानले हामीलाई दोष लगाउँछ त्यसलेचाहिँ हामीलाई निरुत्साहित पार्नलाई र हामीलाई निल्नालाई त्यसो गर्छ।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course - 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो "एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू" शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9851-055734, 9818-399206; मूल्य: नेरू ३०० मात्र।