अभिभावकहरूलाई सल्लाह

यस पृष्ठलाई छाप्नुहोस्

ख्रीष्टियन अभिभावकहरू, यी कुराहरूलाई ख्याल गर्नुहोस्। तपाईंकी छोरीको वस्त्र कस्तो छ? तपाईंकी छोरीको स्वभाव कस्तो छ? सांसारिक? कि ख्रीष्टको भक्ति गर्ने? घमण्डी, कि नम्र? भद्र, कि निर्लज्ज? उनका साथीहरूको स्वभाव कस्तो छ? "धोका नखाओ; खराब सङ्गतहरूले असल चरित्रहरू बिगार्छन्" (१ कोरिन्थी १५:३३)। स्पष्टसँग भन्नु पर्दा, ख्रीष्टलाई नचिनेका युवाहरू सैतानका सन्तान हुन्। यदि हाम्रा छोराछोरीहरू सैतानको सन्तानको अनुसार गर्छन् भने, के ख्रीष्ट त्यसमा प्रसन्न हुनुहुन्छ? यदि हाम्रा छोराछोरीहरू संसारमा युवाहरूले लगाएको जस्तै लाउँछन्, बोल्छन् र हिँड्छन् भने उनीहरू परमेश्‍वरका आशिषहरूबाट बञ्चित हुनेछन्।

आमाहरूको जिम्मेवारी भनेको संसारको दुष्टताबाट आफ्नो सन्तानलाई रक्षा गर्नु हो। संसारले - समाजले - तपाईंका छोराछोरीहरूलाई आकर्षण गर्ने हरेक उपाय रच्दैछ। धार्मिकताको मार्गबाट अन्धकारतिर उनीहरूलाई धकेल्ने अनेक प्रयासहरू भइरहेका छन्। आमाहरूले आफ्ना छोरीहरूलाई व्यवहारमा दोषरहित रहन र स्वभावमा सिद्ध रहनलाई उनीहरूलाई ख्रीष्टतिर डोर्‍याउनु पर्छ। हाम्रा छोराछोरीहरू त्यो मरेको पापपूर्ण पुरानो मानिसको देखासिकी गर्ने होइन तर ख्रीष्टको बौरीउठाइको सामर्थ्यमा हिँड्ने होऊन्!

१२-१३ बर्षको उमेर नभएसम्म केटीहरूले संसारको फेसन अपनाउन सक्छन्, केटाको लुगा पनि लगाउन सक्छन् भन्ने धेरैको विचार पाइन्छ। "मेरी छोरी सानै छ, अहिले जे लाए पनि हुन्छ। केही फरक पर्दैन होला। ऊ तरुणी भएपछि पाइन्ट लाउनुहुन्न भनेर सिकाउँला।" तर बुद्धिमति स्त्रीले भविष्यको लागि अहिलेदेखि नै सोच्छिन्।

एक जना आमाको गवाही: "मेरी छोरी १ वर्षको छँदा मैले उसलाई पाइन्ट लगाइदिन छोडेँ। उसलाई परमेश्‍वरको वचन अनुसार हुर्काउने निर्णय गरेँ। त्यसरी सानो हुँदादेखि नै उसलाई लामो-लामो, शरीर ढाक्ने लुगा लगाउने बानी लग्यो। ऊ तीन बर्ष छँदाको कुरा हो - पानी परेर लुगा रातीसम्म सुकेन। सुत्‍ने बेलामा मैले उसलाई उसको भाइको पाइन्ट लगाइदिएँ। तर मेरी छोरी रुन थाली। के भयो, किन रोएकी भनेर सोध्दा उसले भन, "पाइन्ट नलाउने! पाइन्ट नलाउने! केटीले केटाको लुगा लगाउनु हुँदैन!" उसलाई मैले मनाउनै सकिनँ। आखिर, महिलो फ्रक लगाएर खुसी भएर निदाई। वास्तवमा, यो मैले उसलाई दिएको तालिमको फल नै थियो। तालिम भन्नाले घण्टौंको शिक्षा होइन। खाली मैले भद्र पोशाक लगाइदिएर उसको जीवनमा एउटा असल बानी बसालेँ।" हाम्रा छोराछोरीहरू कलिलो हुँदा नै उनीहरूलाई धार्मिकतामा लालिम दिनुपर्छ भनेर बाइबलले हामीलाई निर्देशन दिन्छ। यदि तपाईंले आफ्नी छोरीलाई दुई बर्षको उमेरदेखि नै भद्र पोशाक लगाउनु र हरेक कुरामा परमेश्वको इच्छा खोज्न सिकाउनुहुन्छ भने, पछि उनको युवावस्थामा उनले भद्र पोशाक लगाउन रुचाउनेचछिन्। जुनसुकै कुरामा हामीले न ता साथीहरूलाई न समाजलाई खुसी पार्नु पर्छ - केवल हामीले परमेश्‍वरलाई खुसी तुल्याउनुपर्छ भनेर आफ्नी छोरी कलिलो शिशु हुँदादेखि नै सिकाउनुपर्छ। शुरुमा शब्दद्वारा उसलाई सिकाउने होइन तर व्यवहारद्वारा। अनि बिस्तारै, बिस्तारै "यहाँ अलिकति, त्यहाँ अलिकति" गरेर उसको जीवनमा भद्र व्यवहारको बाइबलीय जग बसाल्न सकिन्छ। ३ बर्षीया नानीले बुझ्न सकेको सत्यता तरुणी स्त्रीहरूले किन बुझ्न सक्दैनन्?

"यसकारण, तिनीहरूका बीचबाट निस्केर आओ र अलग होओ, प्रभु भन्नुहुन्छ। अनि अशुद्ध कुरा नछोओ र म तिमीहरूलाई ग्रहण गर्नेछु।" (२ कोरिन्थी ६:१७)

हराएका मानिसहरूको कुसङ्गतबाट हामी अलग रहेको परमेश्‍वर चाहनुहुन्छ!

आफ्नी छोरीलाई ८ बर्षको उमेरमा पाइन्ट, टि-शर्ट वा छोटो कुर्ता लगाउन दिइन्छ भने उसलाई १५ बर्षको उमेरमा झ्वाट्टै "त्यस्तो लुगा नलगाऊ" भनेर भन्नु ठीक होइन। त्यो आफूलाई दुःख दिने काम मात्रै हो किनभने तपाईंकी छोरीलाई त्यस्तै लुगा लगाउने बानी लागिसक्यो। त्यसबाट उसलाई छुटाउन खोज्नु टोक्ने कुकुरको नाक समाउनु जस्तै हो!

त्यसैले, आफ्नी सानी छोरीलाई भद्र, लामो पोशाक लगाइदिनुस् र समयमा नै उचित पहिरनको बारेमा सिकाउनुहोस्।

यो पृष्ठ नयाँ सृष्टि प्रकाशनको पुस्तिका बाइबलीय पहिरन - एक चुनौति! (पहिलो संस्करण २०६५) बाट प्रकाशकको अनुमतिले यहाँ समावेश गरिएको हो। प्रकाशकलाई Psalm40verse5@gmail.com मा सम्पर्क गर्न सकिन्छ।