जाँचेर हेर!

यस पृष्ठलाई छाप्नुहोस्

ख्रीष्टियनलाई जे गर्न मन लाग्छ उसले त्यो गर्न सक्छ भनेर पावलले बाइबलमा कहिले पनि सिकाएनन्। कुनै पनि कार्य वा व्यक्तिलाई आफ्नो जीवनमा निम्त्याउनुभन्दा पहिले विश्‍वासीले त्यो कार्य वा कुरा वा व्यक्तिको जाँच गर्नु पर्ने हुन्छ। चारओटा प्रश्‍नहरू यस प्रकारका छन् -

१) के यस कार्य वा कुरा वा व्यक्तिले मलाई त्यसको वशमा पार्छ? (म ख्रीष्टियन हुँ, त्यसैले मेरो शरीर ख्रीष्टको वशमा रहनुपर्छ।)
२) के यसो गर्नु/ लाउनु/ खानु/ हेर्नु/ सुन्नु उचित छ?
३) के यसद्वारा मेरो र अरु विश्‍वासीहरूको उन्नति हुन्छ?
४) के यसले गर्दा अरुहरूले ठेस खान्छ? यसद्वारा अरुहरूको आत्मिक जीवन कसरी प्रभावित हुन्छ?

जुन कार्यहरू परमेश्‍वरले उहाँको वचनमा मनाही गर्नुभएको छ, ती कार्यहरू गर्नु विश्‍वासीको लागि पाप हो। परमेश्‍वर अपरिवर्तनीय हुनुहुन्छ। तर मानिसचाहिँ परिवर्तनशील प्राणी हो र नयाँ-नायाँ पापपूर्ण कार्यहरू रच्नु मानिसको विशेषता हो। २००० बर्ष अगाडि जब बाइबलको नयाँ करार लेखियो, त्यसबेला टेलिभिजन वा च्यानल वा इन्टरनेटको सुरुआत भइसकेको थिएन। तर पनि यी नयाँ कुराहरूलाई (नयाँ-नयाँ फेसनहरूलाई पनि) बाइबलद्वारा आधुनिक विश्‍वासीहरूको जीवनको जाँच गर्‍यौं भने धेरै मण्डलीका सदस्यहरूको जीवनशैली बाइबलसँग मेल नखाने किसिमको भेटिन्छ।

बाइबलद्वारा आजकालका फेसनहरूको जाँच गर्छौं भने ती फेसनहरू विश्‍वासीको लागि अनुचित छन् भनेर सजिलै थाहा पाउन सक्छौं। पहिलो कुरा, ती फेसनहरूले दिदीबहिनीहरूलाई वशमा पार्छन्। सांसारिक फेसनको लत लागेर युवतीहरू ज्यादा समय र पैसा त्यसैमा खर्च गरिरहेका छन्। परमेश्‍वरको वचनलाई भन्दा धेरै उनीहरूले ती सांसारिक कुराहरूलाई प्रेम गर्छन्। परमेश्‍वरको इच्छा बमोजिम हिँड्नुपर्ने दिदीबहिनीहरू आज संसारको इच्छा अनुसार हिँडिरहेका छन्। यो त अचम्मको कुरा भयो!

दोश्रो कुरा, छाडा लुगा लगाउनु विश्‍वासीको लागि उचित छैन किनभने त्यस्तो पहिरनद्वारा अरु विश्‍वासीहरूको भलाइ हुन सक्दैन। त्यस्तो लुगा पवित्रतालाई सुहाउने लुगा होइन, किनभने छाडा लुगाले कुइच्छा, प्रवल वासना, र व्यभिचारको लागि बाटो खोल्छ। स्त्रीको छाडा लुगाको कारण पुरुषहरू ठेस खान सक्छन् र आत्मिक रूपमा बढ्न उनीहरूलाई बाधा हुन्छ। छाडा लुगा लगाउँदा स्त्रीले उन्नति होइन तर समाजमा, मण्डलीमा, र परिवारमा विकृति निम्त्याउँछिन्।

१ यूहन्ना २:१५-१७ र याकूब ४:४

"संसारलाई प्रेम नगर, न ता संसारमा भएका कुराहरूलाई नै। कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्यसमा हुँदैन। किनकि संसारमा भएका सबै कुराहरू - शरीरको अभिलाषा, आखाँहरूको अभिलाषा र जीवनको सेखी पिताबाटको होइन, तर संसारबाटको हो्।"

"हे व्यभिचारी र व्यभिचारिणीहरूहो, संसारसँगको मित्रता चाहिँ परमेश्‍वरसँगको शत्रुता हो भनी के तिमीहरू जान्दैनौ? यसकारण जो संसारको मित्र हुन चाहन्छ, उसले आफुलाई परमेश्‍वरको शत्रु बनाउँछ।"

यस वर्तमान संसारका मानिसहरू दुष्ट छन् र उनीहरू परमेश्‍वरको विद्रोही हुन्। यस संसारका शासकहरू (देखिने र नदेखिने) पनि परमेश्‍वरका विरुद्धमा छन्। संसार परमेश्‍वको शत्रु सैतानको अधीनमा रहेको हुनाले संसारलाई प्रेम गर्ने व्यक्तिले वास्तवमा परमेश्‍वरलाई प्रेम गर्दैन। यो कडा वचन हो, कठोर शब्द हुन् यी, र धेरै मानिसहरूले यस्तो शिक्षा पचाउन सक्दैनन्। तर यो मानिसको वचन वा शिक्षा होइन। बाइबलले नै हामीलाई यी कुराहरू सिकाएको छ। संसारको साथी परमेश्‍वर साथी होइन! यस कुरामा हामी ठेस नखाऔँ, धोकामा नपरौं! आज धेरैजसो चर्चहरूमा विश्‍वासीजनहरू संसारका साथी भई हिँडिरहेका छन्। सङ्गतीमा भजन गाउँछन्, जोशसाथ वचन सुनाउँछन्, आँसु बहाउँछन्, इत्यादी, तर हप्ताको ६ दिन चाहिँ उनीहरूले आफ्ना आँखा र कान नअघाउन्जेल संसारकै विचारहरूले आफ्नो मन भर्छन्। जब सिपाही लडाईंमा खटाइन्छ, तब के त्यो सिपाही आफ्नो शत्रुको सिद्घान्त र शिक्षा सुनेर बस्छ? तर कोही-कोही विश्‍वासीहरू परमेश्‍वरलाई हप्ताको चार-पाँच घण्टा दिएर बाँकी समय आफ्नो प्राणको शत्रुलाई दिइरहेका छन्। यसो गर्नुचाहिँ परमेश्‍वरको वचनको ठाडो उल्लङ्घन गर्नु हो। यसरी विश्‍वासीहरूको जीवनद्वारा येशूको प्रशंसा होइन तर बेइज्जत भइरहेको छ।

यस पुस्तिका पढ्ने दिदीबहिनीहरूको मनमा एउटा प्रश्‍न उठ्न सक्छ। "वास्तवमा, 'संसार' भनरको के हो, त?" "'संसारबाट अलग होओ' त भनिएको छ, तर कसरी? हावा-पानी, जमीनबाट अलग होओ भनेको हो कि? परिवारबाट अलग होओ भनेको हो कि?" होइन। परमेश्‍वरको वचनमा "संसार" ले संसारमा भएका दुष्ट कुराहरूलाई सङ्केत गर्छ। "दुष्ट कुरा" भन्नाले अनैतिक सङ्गीत, टेलिभिजन (किनभने त्यसमा प्रसारण हुने अधिकांश कार्यक्रमहरू अनैतिक र अभिलाषापूर्ण छन्), विभिन्न पत्रिकाहरू, भित्तामा टाँसिने अनैतिक तस्वीरहरू इत्यादी। त्यस्ता कुराहरू विश्‍वासीको कोठामा नहोऊन्! ती कुराहरूबाट अलग रहनुपर्छ। तर परमेश्‍वरको सृष्टिबाट अलग होओ भनेको होइन।

रोमी १२:१-२

"यसकारण भइहरूहो, परमेश्‍वरका कृपाहरूद्वारा म तिमीहरूलाई विन्ती गर्दछु: आफ्ना शरीरहरूलाई तिमीले पवित्र, परमेश्‍वरलाई मन पर्ने, जिउँदो बलिदानको रूपमा चढाइदेओ; यही तिमीहरूको उचित सेवा हो। अनि यस संसारसित एकनासे नहोओ, तर परमेश्‍वरको असल, ग्रहणयोग्य त‍र सिद्ध इच्छा के रहेछ, सो जाँचेर थाहा पाउनलाई आफ्नो मनको नयाँ हुवाइद्वारा तिमीहरू बदली हुँदै जाओ।"

यस खण्डअनुसार, यदि हामी हाम्रो जीवनमा परमेश्‍वरको इच्छा थाहा गर्न चाहन्छौं भने हामीलाई संसारबाट अलग हुनु आवश्यक छ। मुक्तिचाहिँ परमेश्‍वरबाटको उपहार हो र त्यो हामी सितैंमा पाउँछौं। जसरी कुनै परिवारमा एउटा बालकको जन्म हुन्छ - त्यस बालकले त्यस परिवारमा छोराको स्थान सित्तैमा पाउँछ। उसले त्यो स्थान आफै कमाएको होइन। तर जब ऊ बढ्दै जान्छ, उसको आमाबाबुलाई प्रसन्न तुल्याउनलाई उसले केही मेहनत गर्नुपर्छ, आज्ञाकारी हुनुपर्छ।

संसारबाट अलग हुनु भनेको संसारको देखासिकी नगर्नु हो - संसारको वशमा आफूलाई नसुम्पिनु - त्यसको सिद्धान्त र विचार अनुसार नहिँड्नु। जुन विश्‍वासीहरू वास्तवमा संसारबाट अलग छन् उनीहरू संसारको फेसन, मनोरञ्जन र मित्रतामा रमाउन सक्दैनन्।

कसरी बद्ली हुने? कसरी नयाँ हुने? कसरी परमेश्‍वरको इच्छा जान्ने? परमेश्‍वरको वचनद्वारा नै, किनकि यो "कुनै दुईधारे तरवारभन्दा पनि लाग्ने हुन्छ" (हिब्रू ४:१२)। पवित्र शास्त्र बाइबललाई पढेर, अध्ययन गरेर, र कण्ठ पारेर ख्रीष्टियनहरू परमेश्‍वरको मन बुझ्न सक्छन् र जीवनको हरेक क्षेत्रमा उहाँको निर्देशन पाउन सक्छन्। तर सांसारिक ख्रीष्टियन नबढेको बालकझैं कमजोर भइरहन्छ र उसको जीवनमा बुद्धिको कमी हुन्छ। ( तपाईंलाई सल्लाहको खाँचो परेमा, सांसारिक ख्रीष्टियनकहाँ नजानुहोस्!) जो परमेश्‍वरको वचनको ज्ञानले भरिएका छन्, उनीहरूको ज्ञानेन्द्रियहरू "काममा परी-परीकन दुवै असल र खराब छुट्टयाउनका निम्ति अभ्यस्त भएका हुन्छन्" (हिब्रू ५:११)। लुगाको सन्दर्भमा पनि परिपक्क्व वा बलियो विश्‍वासी असल र खराब छुट्याउन सक्ने हुन्छ।

तर सल्लाह लिँदा पनि होशियार हुनुपर्छ। किनभने आजभोलि यस्ता धेरै मण्डलीका अगुवाहरू हुनुहुन्छ जो विश्‍वासीहरूलाई खाँटी शिक्षा वा बाइबलको कडा शिक्षा दिन चहानुहुन्न। ती व्यक्तिहरूको शिक्षामा ध्यान दिनेहरूको बयान २ तिमोथी ४:३-४ मा दिइइको छ, "किनकि यस्तो समय आउनेछ, जब तिनीहरूले खाँटी शिक्षा सहनेछैनन्, तर चिलाउने कानहरू भएका हुनाले आफ्नै अभिलाषाहरू अनुसार तिनीहरूले आफ्ना कानहरू सत्यताबाट फर्काउनेछन् र दन्त्यकथाहरूतिर लगाउनेछन्।" विश्‍वासीहरू संसारबाट अलग रहनु पर्दैन भन्ने धेरै अगुवाहरूको विचार बाइबलमा आधारित नभएको हुनाले त्यो केवल एउटा दन्त्यकथा मात्र हो! परमेश्‍वरलाई खुसी पार्ने प्रचारकले खाँटी शिक्षा दिन हिच्किचाउनेछैन। "वचन प्रचार गर; समयमा र असमयमा तयार बस; सारा सहनशिलता र शिक्षाले दोष देखाइदेऊ, हप्काऊ, अर्ती देऊ" (२ तिमोथी ४:२)।

संसारबाट अलग रहने विश्‍वासीले संसारका खराब कुराहरूलाई आफ्नो घरमा निम्त्याउँदैन! ख्रीष्टियन अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई संसारबाट अलग राख्‍न सकभर प्रयास गर्नुपर्छ। संसारले हाम्रा छोराछोरीलाई सिकार बनाउन खोजिरहेको छ! घरभित्र पस्ने हरेक चीजलाई ख्रीष्टियन अभिभावकले जाँच्नु पर्छ, चाहे त्यो पत्रिका, सीडी, सङ्गीत, फिल्म, पुस्तक, भिडियो गेम् वा छिमेकीका छोराछोरीहरू किन नहोस्। जुन कुराहरूद्वारा परमेश्‍वरको पवित्रता झल्किँदैन, ती कुराहरूलाई इन्कार गर्नुपर्छ।

धार्मिकतामा आफ्ना छोराछोरीहरूलाई तालिम दिने जिम्मेवारी परमेश्‍वरले अभिभावकहरूलाई दिनुभएको छ। त्यसैले उचित काम, बानी र व्यवहार के हो भनेर आमाबाबुले आफ्ना बालबालिकाहरूलाई सिकाउनुपर्छ। विश्‍वासी अभिभावकहरूले आफ्ना छोराछोरीलाई सांसारिक मनोरञ्जन, सांसारिक पोशाक, सांसारिक साथीहरू र विचारहरूबाट अलग पार्नुपर्छ। शैतानको बन्धनबाट यदि हामी साँचै हाम्रा छोराछोरीहरूलाई जोगाउन चाहन्छौं भने गम्भीरतापूर्वक हामीले यस जिम्मेवारीलाई बहन गर्नैपर्छ।

स्कूलको प्रभाव

"तिमी ठूलो मान्छे बन्नुपर्छ, धेरै पढ्नुपर्छ, धेरै पैसा कमाउनुपर्छ" भनेर सबैले बालबालिकालाई सम्झाउने गर्छन्। प्रायजसो विश्‍वासीहरूको पनि यस्तै विचार होला। दुःख कसले भोग्न चाहन्छ र? सुखी जीवनको कल्पना कसले पो गर्दैन? तर, प्रिय विश्‍वासी दिदीबहिनीहरूहो, आज संसारको अवस्था सदोम र गमोराको अवस्था जस्तै छ (उत्पत्ति १९ अध्याय)। स्कूल र कलेजले तपाईंका छोराछोरीहरूलाई कस्तो प्रशिक्षण दिन्छ भन्ने बारेमा सयौं पानाको पुस्तक लेख्‍न मन लाग्दा-लाग्दै हामी आफूलाई नियन्त्रण गर्दै यति मात्र भन्नेछौं: १) स्कूलको ड्रेसले तपाईंको छोरीलाई निर्लज्ज लुगा लगाउन सिकाइरहेको छ (प्रायजसो पाइन्ट वा हाफ स्कर्ट लगाउनुपर्छ)। २) स्कूलका साथीहरूले तपाईंकी छोरीलाई फिल्म, रक सङ्गीत, र केटाहरूलाई मन पराउन सिकाइरहेका छन्। ३) स्कूलका सर मिसहरूले (जसले परमेश्‍वरलाई चिन्नुभएको छैन) बाइबलका सत्यताहरूलाई शङ्का गर्न सिकाइरहेका छन्। ४) स्कूलका पुस्तकहरूले तपाईंकी छोरीलाई दन्त्यकथाहरू सिकइरहेका छन्। (ईश्‍वर छैन, पृथ्वी आफै हुन आएको हो, समलिङ्गीहरूको व्यवहार उचित छ, इत्यादी)।

सायद माथि उल्लेखित कुराहरूले तपाईंलाई निराश पारेका छन्। "यो त अति नै भयो, नि। बच्चालाई स्कूलै पठाउनु नहुने रे! के लेखेको होला यस्तो?" तर तपाईंलाई तर्साउने हेतुले हामीले यस्ता कुराहरू लेखेका होइनौं। केवल यो विचार टक्राउन चाहन्छौं। - परमेश्‍वर सामर्थी र विश्‍वासयोग्य हुनुहुन्छ। तपाईंले विश्‍वासको कदम चालनुहुन्छ भने (मनमा मात्रै होइन तर व्यवहारमा पनि) तब परमेश्‍वरले काम गर्नुहुन्छ। परमेश्‍वरले तपाईंलाई विकल्पहरू देखाउनुहुन्छ। सयौं अभिभावकहरूले यही साक्षी दिन सक्छन्। तर कुनै पनि विकल्प देखापरेन भने, नि? वास्तवमा, गरिब तर परमेश्‍वरको प्रेमले भरिपूर्ण हुनुचाहिँ धनी तर परमेश्‍वरबाट टाढा हुनुभन्दा उत्तम हो।

यो पृष्ठ नयाँ सृष्टि प्रकाशनको पुस्तिका बाइबलीय पहिरन - एक चुनौति! (पहिलो संस्करण २०६५) बाट प्रकाशकको अनुमतिले यहाँ समावेश गरिएको हो। प्रकाशकलाई Psalm40verse5@gmail.com मा सम्पर्क गर्न सकिन्छ।