Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

सामुदायिक शासन पद्धति कि एल्डर शासन पद्धति?

यस पृष्ठलाई छाप्नुहोस्

(Congregational Rule Versus Elder Rule)

माइरन जे. हाउटन, टीएच.डी.

आजका अधिकांश बाइबलीय ब्याप्टिस्ट मण्डलीहरू एउटा त्यस्तो किसिमको संस्थागत पद्धतिलाई पछ्याउँछन् जसमा नेतृत्व गर्ने काम पास्टरले आफ्नो उदाहरणीय जीवनद्वारा र परमेश्वरको वचनको प्रचारद्वारा गर्दछन् तर जसमा निर्णय गर्ने कामचाहिँ मण्डली जमातले गर्दछ।

यस अवधारणालाई सन् १८९४ मा एडवर्ड टी. हिस्कोक्स (Edward T. Hiscox) द्वारा लिखित दि न्यू डाइरेक्टरी फर ब्याप्टिस्ट चर्चेज् (The New Directory for Baptist Churches) शीर्षक गरेको उनको महत्त्वपूर्ण पुस्तकमा राम्ररी व्यक्त गरिएको पाइन्छ [जसलाई Principles and Practices for Baptist Churches शीर्षक राखी पुनः छापिएको छ]। हिस्कोक्स् भन्छन्,

"सिङ्गो मण्डली-समुदायको सक्रियतामा शासन पद्धतिलाई कार्यान्वयन गरिन्छ, र प्रधानता कुनै एकजनाको स्वामित्वमा रहन्न, तर सबैले बराबर अधिकारको आनन्दमय अभ्यास गर्दछन्; र राय सम्बन्धित विषयवस्तुको सवालमा बहुमतको राय नै मान्य हुन्छ।

"पास्टरले मण्डली-समुदायमाथि त्यस्तो किसिमको मात्र नियन्त्रणको अभ्यास गर्दछ जस्तो उनको औपचारिक तथा व्यक्तिगत प्रभावको हैसियतले (अर्थात् समुदायको शिक्षक, अगुवा र ईश्वरीय कानूनहरूको व्याख्याताको हैसियतले) उनलाई अनुमति मिल्दछ। प्रभाव पार्ने व्यक्तिको हैसियतले उनी सर्वोपरि हुन्छन् तर अधिकारमा उनी सर्वोपरि हुँदैनन्। प्रश्‍न-मामिलाको निर्णय गर्नु पर्दा उनको मत एउटै मात्र गनिन्छ। आफूले दिएका सल्लाहका नैतिक बलद्वारा, सत्यता र कर्तव्य सम्बन्धी आफूले दिएका निर्देशन र अगुवाइद्वारा र साथै दुवै आराधना र कामकाजमा बुद्धिमानीपूर्वक मण्डलीलाई सञ्चालन गर्ने कामद्वारा नै उनले शासन गर्दछन्। माण्डलिक मामिलामा डिकनहरूको प्राधिकारपूर्ण (authoritative) वा अधिनायकीय (dictatorial) नियन्त्रण अझ न्यून हुन्छ। प्रशासनिक मामिलाहरू मण्डली-समुदायका सामु ल्याइन्छन् र तिनीहरूद्वारा नै निर्णय गरिन्छन्" [पृष्‍ठ १४४ र १४५]।

प्रश्‍न उठ्छ: यदि यो शासन पद्धति सही हो भने नयाँ नियममा किन शासन गर्ने एल्डरहरू भनेर उल्लेख गरिएको छ त?

सामुदायिक शासन (Congregational Rule)

यहाँ कुनै गलत सम्झाइ नहोस्! नयाँ नियममा मण्डली-समुदाय नै निर्णय गर्ने निकाय थियो। कुनै पनि अभावग्रस्त विधवाको बेवास्ता नगरियोस् भन्ने हेतुले जब त्यहाँ जिम्मेवार व्यक्तिहरू खटाइनुपरेको थियो, सारा समुदायले त्यस्ता व्यक्तिहरूलाई चुन्ने काम गरे [प्रेरित ६:५]। ती व्यक्तिहरूलाई प्रेरितहरूले चुनेनन्। प्रेरितहरूले मण्डली-समुदायको रोजाइलाई अनुसमर्थन गरे [प्रेरित ६:३-६]। यो उल्लेखनीय छ किनकि उक्त अनुसमर्थन कार्यलाई जनाउन प्रेरितहरूले प्रयोग गरेका शब्द [तेस्रो पदमा, "नियुक्त"] त्यही शब्द हो जुनचाहिँ तीतस १:५ मा एल्डरहरूलाई नियुक्त गर्ने तीतसको सेवाकार्यलाई बयान गर्न प्रयोग भएको छ। जसरी प्रेरित ६ मा प्रेरितहरूले छनोट कार्य गरेनन् त्यसरी नै तीतसले पनि छनोट कार्य गरेनन् बरु सम्बन्धित मण्डली-समुदायहरूले छनोट गरेकालाई नियुक्त गरी केवल अनुसमर्थन गरे।

विश्वासमा कमजोर भाइहरूलाई ग्रहण गर्नू भनेर पावलले रोमका पवित्र जनहरूलाई लेखे, अगुवाहरूलाई होइन [रोमी १४:१]। कोरिन्थको मण्डलीमा एकजना सदस्य खुल्लमखुल्ला अनैतिक जीवनमा हिँडिरहेको छ भन्ने कुरा जब पावलले थाहा पाए, तब उक्त अनैतिक व्यक्तिलाई उनीहरूको बीचबाट निकालियोस् भनेर उनले स्वयम् विश्वासीहरूलाई सम्बोधन गरे, मण्डलीका अगुवाहरूलाई होइन [१ कोरिन्थी ५:१-१३]। कोरिन्थले अभ्यास गरेको मण्डली अनुशासन [यही मामिलाको सम्बन्धमा होस् या अन्य] लाई पावलले यसरी बयान गर्दछन्, "धेरैजना [अक्षरशः "बहुसङ्ख्यक"] बाट जो दण्ड दिइयो" [२ कोरिन्थी २:६]। त्यसो हो भने एल्डरहरूको शासन भन्नाले हामीले के बुझ्नुपर्ने हो?

एल्डर शासन (Elder Rule)

हरेक मण्डलीमा अगुवाहरूले गर्ने शासनको बयान गर्नलाई दुईटा ग्रीक शब्द प्रयोग भएका छन्। पहिलो शब्द हिब्रू १३:७,१७ र २४ मा भेटिन्छ र यसको अर्थ हुन्छ "नेतृत्व गर्नु, अगुवाइ गर्नु" ["lead, guide", A Greek-English Lexicon of the New Testament, Bauer, Gingrich and Danker, second edition, page 343]। नेतृत्वको प्रसङ्गमा बाहेक यसको अर्थ, "सोच्नु, विचार गर्नु" भन्ने पनि हुन्छ। यस नेतृत्व र अगुवाइ कार्यको यथार्थ प्रकृति हिब्रू १३:७ मा देख्‍न सकिन्छ। अगुवाहरूले परमेश्वरको वचन सुनाएर र ईश्वरीय जीवनमा हिँडेर ["उनीहरूको चालचलन" द्वारा] अगुवाइ गरे। नेतृत्व गर्नु र अगुवाइ गर्नु के हो भन्ने कुरा बुझेपछि, आफ्ना अगुवाहरूलाई सम्झना गर्न [हिब्रू १३:७], उनीहरूको आज्ञापालन गर्न [हिब्रू १३:१७] र उनीहरूलाई अभिवादन गर्न [हिब्रू १३:२४] विश्वासीहरूलाई खासै समस्या नहुनुपर्ने हो।

दोस्रो शब्द १ थेस्सलोनिकी ५:१२, १ तिमोथी ३:४,५,१२ र १ तिमोथी ५:१७ मा भेटिन्छ। यसको अर्थ हुन्छ, "शीर्ष, अगाडिपट्टि हुनु, शासन गर्नु, निर्देशन दिनु, समाल्नु, सञ्चालन गर्नु" साथै "फिक्री गर्नु, वास्ता राख्‍नु, मद्दत प्रदान गर्नु" [A Greek-English Lexicon of the New Testament, page 707]।

एल्डरले शासन गर्नु भनेको वास्तवमा के हो त्यसलाई स्पष्‍टतया दर्शाउने पवित्रशास्त्रको खण्‍ड हो १ तिमोथी ५:१७। यहाँ पावल प्रेरित एउटा तुलना गर्दैछन्। उक्त तुलनालाई यस पदमा तीनओटा शब्दद्वारा जनाइएको छ: [१] राम्ररी: कति एल्डरहरूले राम्ररी शासन गर्थे। यसको तात्पर्य अरू एल्डरहरूले शासन मात्र गरे तर त्यसमा उत्कृष्टता देखाएनन् भन्ने हो; [२] दुईगुणा: राम्ररी शासन गर्ने एल्डरहरू दुईगुणा आदरका योग्य मानिनुपर्थ्यो। १ तिमोथी ५ मा "आदर" भन्ने शब्दले आर्थिक पारिश्रमिकलाई समेटेको देखिन्छ [हेर्नू: पद ९, १० र १६ को प्रकाशमा पद ३ लाई]; यसर्थ राम्ररी शासन गर्ने एल्डरहरूलाई उदारतापूर्वक आर्थिक पारिश्रमिक दिनलाई ध्यान पुर्‍याइनुपर्थ्यो; [३] परिश्रम: कति एल्डरहरू परमेश्वरको वचन प्रचार गर्न र सिकाउनलाई कडा मेहनत गर्थे। यसको तात्पर्य अरू एल्डरहरूले प्रचार कार्य र सिकाउने कार्यमा उत्कृष्टता देखाएनन् भन्ने हो। परमेश्वरको वचनमा कडा मेहनत गर्नेहरू दुईगुणा आदरको योग्य मानिनुपर्थ्यो। लेन्स्की [The Interpretation of St. Paul's Epistles to the Colossians, to the Thessalonians, to Timothy, to Titus and to Phileom, pages 681-682] भन्छन्, "विशेष गरी जसले वचन र शिक्षाको सम्बन्धमा कडा मेहनत गर्छन्" भन्नाले कोही-कोही एल्डरहरूको सिकाउने काम नै हुँदैनथ्यो भन्ने होइन किनभने सबै एल्डरमा उक्त क्षमता हुनैपर्थ्यो र यसर्थ त्यसलाई प्रयोग गर्न उनीहरू जिम्मेवार थिए (३:२)। तर स्वभावैले, कोही-कोहीले आफ्नो कामको यस जिम्मेवारीमा जोश देखाउँथे अनि थकित र शिथिल हुनेसम्म गरी कडा मेहनत गर्थे। यिनीहरू पर्याप्‍त रूपले दुईगुणा आदरका योग्य हुन्थे।" भिन्सेन्ट [Word Studies in the New Testament] ले १ तिमोथी ५:१७ माथि टिप्पणी गर्छन्, "शासन गर्ने काममा उत्तिकै क्षमता वा दक्षता नदेखाउने एल्डरहरूसित यहाँ तुलना गरिएको छ। शासन गर्ने र सिकाउने दुई वर्गका एल्डरहरू हुन्छन् भन्ने रिफर्म्ड परिकल्पना (Reformed theory) लाई यस खण्डले कदापि समर्थन गर्दैन।"

यदि यो व्याख्या सही हो भने (अनि म विश्वास गर्छु सही नै हो), राम्ररी शासन गर्नुको परिभाषा वचन र शिक्षामा परिश्रम गर्नु हो, न कि अन्तिम निर्णायकको भूमिका निर्वाह गर्नु; उक्त कार्य मण्डली-समुदायलाई सुम्पिएको छ। व्यवहारमा, प्रबल पास्टरीय नेतृत्व र सामुदायिक (congregational) शासनले सँग-सँगै काम गर्नुपर्छ। प्रथमतः पास्टरले विश्वासीहरूलाई परमेश्वरको वचन प्रचार गरेर र सिकाएर नेतृत्व गर्दछ। आफ्नो पास्टरले प्रचार गरेका र सिकाएका कुराहरूलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा मण्डली सदस्यहरूले मत प्रदान गर्दैनन्। उनी तिनीहरूका निरीक्षक हुन्, देखरेख गर्ने हुन्। स्पष्ट गरी भन्नुपर्दा, उनी नै मण्डली-समुदायलाई अगुवाइ गर्न परमेश्वरबाट बोलाइएका व्यक्ति हुन्। जब मण्डली-समुदायले कुनै पुरुषलाई आफ्नो पास्टरको रूपमा निम्त्याउनलाई मत प्रदान गर्दछ, तिनीहरूले उनलाई आफ्नो पास्टर हुन भाडामा लिएका हुँदैनन्; बरु उनी तिनीहरूका पास्टर हुन परमेश्वरबाट बोलाइएका हुन् भन्ने कुरालाई तिनीहरूले औपचारिक रूपमा स्वीकार गरेका हुन्छन्। प्रचार र शिक्षालाई आफ्नो उदाहरणीय जीवनको नमुनाद्वारा प्रबल पार्नुपर्ने जिम्मेवारी पास्टरीय नेतृत्वमा समावेश छ। मण्डलीको उद्देश्य पूरा गर्नलाई आफूले उचित ठानेका लक्ष्यहरू र कार्ययोजनाहरूको रूपरेखा पास्टरले मण्डली-समुदायका सामु राख्दै मण्डलीका लागि आफ्नो दर्शन बताउँदा पास्टरीय नेतृत्वका शिक्षण तथा नैतिक पक्षहरू त्यहाँ सँग-सँगै प्रस्तुत हुनु स्वभाविक हो। मण्डली-समुदायले ती लक्ष्य तथा कार्ययोजनाहरूलाई अपनाउन औपचारिक मत प्रदान गर्ला वा नगर्ला, तर एउटा कुरा स्पष्ट छ, तिनमा सफलता प्राप्‍त गर्नलाई ती लक्ष्यहरू दिलोज्यानले स्वीकार गरिनु आवश्यक पर्छ र साथै ती कार्ययोजनाहरूमा उत्साहपूर्ण सहभागिताको आवश्यकता पर्छ।

(लेखकको अनुमतिले उहाँको अङ्ग्रजी लेख Congregational Rule Versus Elder Rule बाट नेपालीमा अनुदित र यस वेबसाइटमा प्रकाशित)

Myron J. Houghton, Th.D.
Faith Baptist Theological Seminary
1900 NW Fourth Street, Ankeny, Iowa 50023, USA


पृष्ठ संशोधन मिति: Monday 23-May-11
WordofTruth.com.np © 2017