विवेकको प्रबन्ध

यस पृष्ठलाई छाप्नुहोस्

(पतनदेखि जलप्रलयसम्म)

अघिल्लो पाठमा हामीले मानिस पापमा पतन भएको कुराको अध्ययन गर्यौं। निर्दोष आदमको हातमा परमेश्वरले एउटा अति सरल आज्ञा सुम्पिनुभयो जुन आज्ञाको पालना गर्न आदम विफल भए। आदमको अनाज्ञाकारिता रोमी ५:१९ मा उल्लेख छ, "किनकि जसरी एउटा मानिसले _______ _______ गरेकोले धेरैजना पापी बनिए।" आदम पापमा पतन भएकाले के कस्ता परिणामहरू आए (अघिल्लो पाठमा हेर्नुहोस्?

दोस्रो प्रबन्धलाई "विवेकको प्रबन्ध" भनिन्छ। यस प्रबन्धको प्रारम्भदेखि उसो मानिस निर्दोष छैन। मानिस पतन भएको छ, एक पापी प्राणी बनेको छ जसलाई परमेश्वरको अनुग्रहको ठूलो खाँचो छ (हेर्नुहोस्, उत्पत्ति ६:८)। विवेकको प्रबन्ध पतनदेखी प्रलयसम्म (जलप्रलयसम्म) रहन्छ।

१. प्रारम्भमा मानिसको अवस्था

आदमलाई के नाम गरेको रूखको फल खान मनाही गरिएको थियो (उत्पत्ति २:१७)? ________________________________________। उत्पत्ति ३ अध्यायमा शैतान हव्वालाई परीक्षा गर्न आयो। परमेश्वरले आदम र हव्वालाई खासै भलाइ गर्नुभएको छैन अनि उनीहरू कुनै असल कुराबाट बञ्चित हुनुपरेको छ भन्ने झूटो विचारलाई हव्वाको हृदयमा रोप्न चाहन्थ्यो शैतानले। उत्पत्ति ३:५ मा, उनीहरूले प्रतिबन्धित फल खाए भने उनीहरूले तीनओटा कुराहरू प्राप्‍त गर्नेछन् भनेर शैतानले हव्वालाई बतायो:

  1. "तिमीहरूका ________ _____________"
  2. "तिमीहरू ____________जस्तै हुनेछौ"
  3. तिमीहरूले "असल र ________को ज्ञान" पाउनेछौ

त्यस फल खाएर आफूहरूलाई फाइदा हुन्छ भनी उनीहरूले सोचेको शैतान चाहन्थ्यो, तर परमेश्वरले बताइसक्नुभएको थियो कि त्यसो गर्दा उनीहरूलाई नोक्सानी हुन्छ (उत्पत्ति २:१७)। परीक्षा भन्ने कुरा एउटा मुसा पक्रने खोर वा माछा मार्ने बल्छी जस्तै हो। खोरभित्रको चारो मुसालाई लोभलाग्दो देखिन्छ अनि बल्छीको गड्यौंला माछालाई खाऊँ-खाऊँ लाग्दो देखिन्छ। मुसा र माछा दुवैलाई चारो खाएर केही पाउँछु भन्ने लाग्छ तर आखिरमा उसले गुमाउँछ! हव्वा पासोमा परीन् र नोक्सानी भोगिन्!

कुन पदमा आदम र हव्वाले प्रतिबन्धित फल खाएको उल्लेख छ? उत्पत्ति ३:____। उत्पत्ति ३:७ मा हामी आदम र हव्वाले फल खाएको लगत्तै पछिको उनीहरूको अवस्थाको बारेमा सिक्दछौं:

"अनि दुवैका _______ _______, र ‘नाङ्गै पो रहेछौं’ भनी तिनीहरूले _______ _______। अनि अञ्जीरका पातहरू गाँसेर आफ्ना निम्ति तिनीहरूले वस्त्र बनाए" (तुलना गर्नुहोस्, उत्पत्ति २:२५)।

आदम र हव्वालाई उनीहरूले पाप गरेका छन् भनेर के परमेश्वरले भन्नु आवश्यक थियो कि उनीहरू आफैले त्यो जाने? ______________________________। आदम र हव्वालाई एउटा कुरा तुरुन्तै थाह भयो (उत्पत्ति ३:७)! आफूहरूले खराब गरेको र असल गर्न विफल भएको उनीहरूलाई थाह भयो। पवित्र परमेश्वरको सामु उनीहरूलाई आफ्नो पापपूर्ण र लाजपूर्ण अवस्थाको चेतना भयो। उनीहरूलाई आफ्नो विफलता र पापको महसुस भयो। उनीहरू यसबारे अनभिज्ञ थिएनन्। उनीहरूका आँखा खुले अनि उनीहरूलाई आफ्नो पापको ज्ञान भयो। गलती भयो भनेर उनीहरूलाई थाह थियो।

ढीलो भइसकेपछि मात्र आदम र हव्वाले आफ्नो निर्णयको मूर्खता देखे। उनीहरूले आफूले गुमाएको सुख र पाएको दुःख देखे। आफूहरूले असल गर्न चुकेको र खराब गर्न पुगेको उनीहरूले देखे। परमेश्वरलाई खराबको बारेमा पूरा ज्ञान छ, तर खराबको अनुभव भने एक छेउ पनि छैन। आदम र हव्वाले भने अनुभव गरेर नै खराबको बारेमा सिके। पाप गर्न अगाडि आदमलाई खराबको ज्ञान थिएन।

एउटा सानो बच्चाको विचार गर्नुहोस् जसलाई उसका बाबु-आमाले चुलोको आगोलाई नछुनू भनी घरीघरी कडा चेताउनी दिएका छन्। तरैपनि एक दिन उसले आगोलाई छुन जान्छ र उसलाई पोल्छ। अब ऊ जान्दछ, आगोलाई नछुँदा कति राम्रो हुन्छ र छुँदा कति नराम्रो हुन्छ! उसले आगोलाई नछोएसम्म र पोलेको अनुभव नगरेसम्म सो जानेको थिएन। त्यसरी नै आदम र हव्वाले असल र खराब के हो, पाप नगरेसम्म जानेका थिएनन् (उत्पत्ति ३:२२ मा हेर्नुहोस् – "________ र ________को ज्ञान जान्ने")।

विवेक के हो?

आदम र हव्वाको उदाहरणबाट हामी सिक्छौं, परमेश्वरले मानिसलाई उसले पापपूर्ण काम गर्‍यो कि सही काम गर्‍यो भनी जान्न सक्न एउटा क्षमता दिनुभएको छ। के ठीक हो, के बेठीक हो भन्ने संवेदनशीलता वा चेतना हरेक व्यक्तिको हुन्छ। यो क्षमता यस्तो कुरा हो जसलाई परमेश्वरले मानिसभित्र मानिसकै भलाइको लागि राखिदिनुभएको छ। आफ्नो जीवनमा कुनै कुरा बेठीक हुन गयो भने मानिसले त्यो जानोस् र त्यसलाई सच्याओस् भन्ने परमेश्वरको इच्छा हो। मानिसले जब पाप गर्छ वा गलती गर्छ, उसलाई अप्ठ्यारो महसुस भएको, उसमा दोषको भावना उत्पन्न भएको परमेश्वर चाहनुहुन्छ। यदि पाप गरेर मानिसलाई असल नै महसुस हुनेभएको भए त ऊ समस्याको समाधानतर्फ कहिल्यै लाग्ने थिएन!

परमेश्वरले हामीलाई दिनुभएको हाम्रो शरीरको विचार गरौं। परमेश्वरले हाम्रो शरीरमा केही त्यस्ता सूचकहरू राखिदिनुभएको छ जसले शरीरमा गडबडी आउँदा त्यसको सूचना हामीले प्राप्‍त गर्दछौं। ती सूचक हुन् हाम्रा शरीरका नसाहरू। शरीरको स्वस्थ्यमा कुनै गडबडी आउँदा वा शरीरमा घाउचोट लाग्दा हामीलाई त्यसको संवेदना हुन्छ! हामीलाई दुख्छ! नसाहरू मानिसका निम्ति लाभदायक हुन् कि हानिकारक? पीडाको अनुभव कसैलाई मन पर्दैन तर वास्तवमा परमेश्वरले राखिदिनुभएका यी नसाहरूका निम्ति हामी धन्यवादी हुनुपर्छ। मानौं, आगोमा हात हाल्दा पोलेको महसुस भएन भने तपाईंको हात डढेर नष्ट हुनेथ्यो। तर त्यसो हुन पाउँदैन किनकि हातका नसाले मस्तिष्कलाई तुरुन्तै यस्तो सूचना पठाउँछ, "आत्था! हात तुरुन्त आगोबाट झिक! दुख्यो!" नसा नभएका भए आफ्नै जिब्रोलाई खानेकुरा सँगसँगै आफैले चपाएर खान समेत बेर लगाउँदैन्थ्यौं हामीले! तर नसाहरूले राम्ररी काम गरिरहेका हुनाले त्यस्तो हुन पाउँदैन। झुक्किएर जिब्रो टोक्न पुगौंला तर तुरुन्त हामीलाई दुखेको अनुभव हुन्छ र फलस्वरुप फेरि टोक्नदेखि होसियार हुन्छौं। शरीरमा गडबडी हुँदा हामीलाई थाह भएको परमेश्वर चाहनुहुन्छ।

हाम्रो प्राणमा गडबडी आउँदा पनि हामीले जानेको परमेश्वर चाहनुहुन्छ। परमेश्वरले मानिसलाई विवेक दिनुभएको छ। शरीरका निम्ति नसाहरू भएजस्तै प्राणको निम्ति विवेक राखिएको छ। गडबडी आउँदा विवेकले हामीलाई त्यसको सूचना दिन्छ। जब हामी पाप गर्दछौं तब विवेकले नराम्रा भावनाहरू उत्पन्न गर्दछ। हामीले गलती गर्यौं भन्ने महसुस हुन्छ र आफू दोषी भएको अनुभव हुन्छ। पशुको विवेक हुँदैन। पशुलाई असल र खराबको कुनै ज्ञान हुँदैन। तिनीहरू परमेश्वरले उनीहरूभित्र राखिदिनुभएका जन्मजात गुण (instinct) अनुसार जिउँछन् अनि मानिसले दिएका तालिमअनुसार चल्न पनि सक्छन् तर मानिसको जस्तो विवेक तिनीहरूको हुँदैन। एउटा कुकुरले आफूले खान नहुने कुरा खाइदियो भने वा बैठक कोठामा फोहोर गरिदियो भने त्यसलाई दोषको महसुस हुँदैन (यद्यपि त्यस्ता कुरा गर्दा दण्डको डर मान्न तालिम पाएको हुनसक्छ)।

विवेक मानिसमा भएको त्यो क्षमता हो जसले आफूलाई न्याय गर्छ। आदमले पाप गरेपछि परमेश्वर आएर "तिमीले पाप गरेका छौ र तिमीले यो कुरा जानेको म चाहन्छु" भनेर भन्नुपरेन किनकि आदमलाई त्यो थाह भइसकेको थियो। आदमले आफैलाई न्याय गर्न सक्थे – "आदम, तिमी दोषी छौ! तिमीले पाप गर्यौ र परमेश्वरको आज्ञा भङ्ग गर्यौ!" उत्पत्ति ३:७ मा हामीले सिक्यौं कि आदमलाई आफ्नो पापको विषयमा राम्ररी चेतना थियो।

गाडीको रातो बत्ती

विवेक परमेश्वरले मानिसभित्र राखिदिनुभएको एउटा "चेताउनी प्रणाली" (warning system) जस्तै हो। केही गडबड भएको छ र त्यसलाई सच्यानुपर्छ भन्ने कुराको चेताउनी यसले दिन्छ।

विवेकलाई कतिपय मोटर गाडीको ड्याशबोर्डमा हुने रातो बत्तीसित तुलना गर्न सकिन्छ। त्यस्तो बत्ती, मोटरको इन्जिन् अधिक मात्रामा तातेको, वा ब्रेक बिग्रेको आदि जस्ता समस्याको चेताउनी चालकलाई दिनलाई राखिएको हुन्छ। रातो बत्ती पिलिक-पिलिक बल्न थाल्नुको अर्थ त्यहाँ कुनै समस्या उत्पन्न भएको छ जसलाई समाधान गरिनुपर्छ भन्ने हो। बुद्धिमानी चालकले त्यो चेताउनीअनुसार समस्या समाधान गर्नतर्फ लाग्छ। गाडीको हुड खोलेर ऊ तुरुन्त काम गर्न थाल्छ!

मूर्ख चालकले भने यसो भन्ला, "यो रातो बत्ती पिलिक-पिलिक गरिरहेको मलाई मनै पर्दैन। यसले मलाई हैरान पार्‍यो!" अनि एउटा हथौडी लिएर त्यसलाई हिर्काउँछ! तर त्यसले समस्या समाधान गर्छ त? त्यो त नसाबिना आगो छुनु जस्तै हो! मूर्ख चालक गाडी चलाउँदै अघि बढ्ला र त्यो रातो बत्ती नबलेकोले ऊ खुशी समेत होला तर केही समयपछि त गाडीको इन्जिन् बेसरी तात्तिएर चल्दै नचल्ने बन्छ! रातो बत्ती उसको शत्रु होइन मित्र थियो भनेर उसले महसुस गर्न सकेन।

कति मानिसहरु पनि आफ्नो विवेकमाथि "हथौडी" लगाउँछन्! जब विवेकले सताउन थाल्छ समस्या समाधान नगरी उनीहरू विवेकले उत्पन्न गराएका ती नराम्रा भावनाहरूलाई दबाउने प्रयास गर्छन्। रातो बत्तीलाई हथौडीले हिर्काउनु जस्तै हो यो। उनीहरू औषधि खान्छन्, लागु पद्धार्थ सेवन गर्छन्, रक्सी पिउँछन्, करेन्ट लगाएर (shock treatment) शान्त हुन खोज्छन् तर यी कुनै पनि कुराले समस्या समाधान गर्न मदत पुर्याउँदैनन्। आदमले रक्सी खाएका भए उनलाई त्यत्ति दोष महसुस हुनेथिएन होला, आफूलाई ठीकै लाग्न सक्थ्यो होला, तर उसको समस्या जस्ताको त्यस्तै रहेनथ्यो!

रातो बत्तीलाई मुड्कीले बारम्बार हिर्काउने गरियो भने एक दिन त्यो बत्तीले कामै नगर्न सक्छ। बिग्रेर त्यसले आफ्नो संवेदनशीलता गुमाउन सक्छ। फ्यान बेल्ट बिग्रेर गाडीको इन्जिन् बेसरी तात्तिएला तर त्यसबेला बल्नु पर्ने रातो बत्ती बल्दैन। बाइबलले बताउँछ मानिसको विवेक पनि कामै नगर्ने बन्न सक्छ। १ तिमोथी ४:२ – जसले कपट्याइँको कारणले झूट बोल्छन्; जसको ________ चाहिँ तातो फलामले डामिएको हुन्छ।" "डामिनु" को अर्थ हो प्रचण्ड तापले पोलिनु। मान्छेको विवेक पाप र गलतीले डामिएपछि त्यसले उसलाई उसको गलतीको बारेमा कायल पार्न सक्दैन, उसलाई न्याय गर्दैन। विवेक यति डढिसकेको हुन्छ कि त्यसले ठीक सूचनाहरू दिँदैन। त्योचाहिँ त्यो रातो बत्ती जस्तै हुन्छ जो गाडीमा त्रुटी हुँदा पनि बल्दै बल्दैन।

जोख्ने तराजु

विवेकलाई तराजुसित तुलना गर्न सकिन्छ। विवेक आफैलाई न्याय गर्ने तराजुजस्तै हो। हामीले आफ्ना कामकाज, बोलीवचनलाई जोख्नुपर्छ। कुनै काम गर्नु अघि, कुनै कुरा बोल्नु अघि हामीले एउटा न्याय-फैसला गर्नुपर्छ: यो ठीक हो या बेठीक? यो गर्न हुन्छ कि हुँदैन? साथै कुनै काम गरेपछि वा कुनै कुरा बोलेपछि विवेकले न्याय-फैसला गर्छ: त्यो ठीक थियो कि बेठीक थियो? त्यो मैले गर्न हुन्थ्यो कि हुँदैनथ्यो? सही जवाफ पाउनलाई हामीसित एउटा अचुक तराजु चाहिन्छ।

तराजुले ठीकसँग जोख्न सक्छ कि सक्दैन भन्ने कुरा त्यसमा प्रयोग गरिने ढकको विश्वासयोग्यतामा भर पर्छ। मानौं ढकमा "५०० ग्राम" भनेर लेखिएको छ तर त्यसको वजन ४०० ग्राम मात्र छ। तराजु बराबर हुँदा त्यहाँ वास्तवमा कति ग्राम नून हुन्छ? ________ ग्राम। तपाईंसित ४०० ग्राम मात्र नून हुन्छ तर तपाईं सोच्नुहुन्छ आफूसित ५०० ग्राम नून छ। यसले समस्या निम्त्याउँछ।

विवेक एउटा तराजुजस्तै हो। त्यसले ठीकसँग जोख्न सक्न त्यसलाई सत्यताको सठीक मापदण्ड आवश्यक पर्छ। विवेकलाई ठीक र बेठीक सम्बन्धी ठीक-ठीक जानकारी वा सूचना छैन भने त्यसले ठीकसँग जोख्न सक्दैन। त्यसले कुनै बेठीक कुरालाई ठीक भनेर न्याय गर्ला र कुनै ठीक कुरालाई बेठीक भनेर न्याय गर्ला। विवेक आफूसित भएको सूचनाकै भरमा मात्र काम गर्न सक्छ। तराजुको ढक ठीक छ भने मात्र त्यसले ठीकसँग जोख्न सक्छ। एक व्यक्ति जति परमेश्वरको वचन सिक्छ र बुझ्छ त्यति नै उसको विवेकरूपी तराजु पनि ठीक हुँदैजान्छ।

सामान्यतया विवेकले राम्रै काम गर्छ

परमेश्वरले ठीक र बेठीक सम्बन्धी आधारभूत ज्ञान मानिसभित्र राखिदिनुभएको छ। मानिसले आफूभित्र भएको यो ज्ञानको आधारमा आफ्नो व्यवहारको न्याय गर्नुपर्छ। मानिसको विवेक कत्तिको ठीक छ भन्ने कुरा उससित भएको असल र खराबको ज्ञानमा भर पर्छ।

परमेश्वरले इस्राएलीहरूलाई १० आज्ञा (प्रस्थान २०) र साथै अरू व्यवस्थाहरू पनि दिनुभयो जसद्वारा उनीहरूले ठीक र बेठीक जान्न सक्थे। हत्या गर्नु, चोर्नु, लोभ गर्नु (अर्काको कुरा आफ्नो बनाउन चाहनु) बेठीक हो भनी उनीहरू जान्दथे किनकि उनीहरूका लिखित व्यवस्थाले यी कुराहरूको विरुद्धमा जनाउ दिएका थिए।

तर परमेश्वरको लिखित व्यवस्था नै नपाएका मानिसहरूको सम्बन्धमा हामी के भनौं? असल र खराब के हो भनी उनीहरू जान्दछन् त? ठीक र बेठीक छुट्टयाउन के सक्छन् उनीहरू? यी प्रश्नका आश्चर्यपूर्ण उत्तर रोमी २:१४-१५ मा छ। पावल अन्यजातिका विषयमा लेख्दै छन् -- "जससँग व्यवस्था छैन (रोमी २:१४)।" यी मानिसहरूले १० आज्ञा कहिल्यै देखेका छैनन्। तर रोमी २:१५ ले बताउँछ कि अन्यजातिहरूले "आफ्नै __________मा व्यवस्थाको काम _________ देखाउँछन्; तिनीहरूको ________ले पनि गवाही दिन्छ, र तिनीहरूका विचारहरूले आपसमा दोषी ("तिमी दोषी छौ! तिमीले बेठीक गर्यौ!") वा निर्दोष ठहराउँछन् ("तिमी दोषी छैनौ! तिमीले ठीक गर्यौ!")।"

यी पदहरूमा हामी सिक्छौं, आफूसित लिखित व्यवस्था नभएका मानिसका हृदयभित्र परमेश्वरले ठीक र बेठीकको ज्ञान राखिदिनुभएको छ। ठीक गर्दा उनीहरूको विवेकले उनीहरूलाई समर्थन दिन्छ। बेठीक गर्दा उनीहरूको विवेकले उनीहरूलाई दोषी ठहर्याउँछ। उनीहरूको विवेक ("प्राणका नसाहरू") ले राम्रै काम गर्छ।

आफूसित लिखित व्यवस्था नभएर पनि ठीक र बेठीक जान्ने दुईजना व्यक्तिको उदाहरण हेरौं:

१. अबीमेलेक, एक अन्यजाति राजा

उत्पत्ति २६:६-११ मा इसहाक र अबीमेलेकको बारेमा पढ्छौं। अबीमेलेक एक पलश्ती राजा थिए। उनी एक अन्यजाति थिए जोसँग १० आज्ञा थिएन, बाइबल थिएन।

इसहाकले त्यस मानिसलाई आफ्नो पत्‍नी रिबेकाचाहिँ आफ्नो ___________ हुन् (उत्पत्ति २६:७) भनेर झूट बोले। अबीमेलेकले पछिबाट रिबेका इसहाककी पत्‍नी रहेछिन् भनेर थाह पाए र उनी ज्यादै चिन्तित भए। यदि उनका मानिसहरूमध्ये कसैले रिबेकालाई आफ्नो पत्‍नी बनाउन लगेका भए त्यो त व्यभिचार हुनेथ्यो! एउटा पुरुषले कहिल्यै पनि एक विवाहित स्त्रीलाई लिनुहुँदैन! व्यभिचार गलत हो भनेर के यी राजाले जान्दथे (उत्पत्ति २६:१०-११)? ___________। उनले मुक्ति पाएका थिएनन्, उनीसित १० आज्ञा थिएनन् तर व्यभिचार गलत हो भनी उनी जान्दथे! व्यवस्थाका कामहरू उनको हृदयमा लेखिएको थियो अनि उनको विवेकले एक विवाहित स्त्रीलाई लिने काम दोषयुक्त काम हो भनेर न्याय गर्‍यो।

२. मेलिटा (वा माल्टा) का आदिवासीहरू

प्ररित २८:१-६ मा हामी मेलिटा भनिने टापुमा बस्ने केही आदिवासीको बारेमा पढ्छौं जसले पावल र पावलसित भएका अरू व्यक्तिहरूलाई दया देखाए। यी व्यक्तिहरू मुक्ति नपाएका व्यक्ति थिए जोसित १० आज्ञाको प्रतिलिपि थिएन। उनीहरू परमेश्वरको लिखित व्यवस्था सम्बन्धी अनभिज्ञ थिए तर व्यवस्थाका कामहरू उनीहरूको हृदयमा लेखिएको थियो। कुन पशुले पावललाई हातमा टोक्यो (प्रेरित २८:३)? _____________। यो देखेर ती आदिवासीले भने, "यो मान्छै पक्कै _____________ रहेछ" (प्रेरित २८:४)। हत्या गर्नु खराब हो, बेठीक हो भनी यिनीहरू जान्दथे र साथै हत्याराहरू मृत्युदण्डको योग्य हुन्छन् भन्ने पनि जान्दथे! पावलले उचित दण्ड पाउँदै छन् भनी उनीहरू सोच्दथे। तर केही बेरपछि पावलको विषयमा आफूहरूको धारण गलत रहेको उनीहरूले महसुस गरे (प्रेरित २८:५-६), तर असल र खराबको विषयमा उनीहरूको धारणा भने सही थियो। हत्या गर्नु खराब हो भनी उनीहरू जान्दथे किनकि उनीहरूको हृदयहरूमा व्यवस्थाको कामहरू लेखिएको थियो!

चाहे यहूदी (जोसँग पुरानो नियम व्यवस्था प्रत्यक्षरूपमा छ), चाहे अन्यजाति (जोसँग पुरानो नियम व्यवस्था छैन), सबै मानिसहरू आफ्ना कामहरूका लागि परमेश्वरका सामु जिम्मेवार छन् किनकि परमेश्वरले सबै मानिसलाई असल र खराबको ज्ञान प्रकट गरिदिनुभएको छ।

कहिलेकाहीँ विवेकले ठीक काम अलिक गर्दैन

गाडीको रातो बत्तीको फेरि विचार गरौं। त्यो बत्ती कारणवश तारहरू शट भएर बल्न थाल्दा चालकलाई त्यहाँ गाडीमा केही त्रुटी भयो भन्ने लाग्छ। हुड खोलेर हेर्दा सबै ठीक छ। समस्या गाडीको होइन, बत्तीको रहेछ।

विवेक पनि अलिक ठीक काम नगर्ने हुन सक्छ। १ कोरिन्थी ८:१-८ अनुसार कोरिन्थका कतिपय विश्वासी जनहरू सोच्थे कि मूर्तिहरूलाई चढाइएका कुरा खानु गलत हो। उनीहरूको विवेक ____________ (१ कोरिन्थी ८:७) थियो अनि उनीहरूलाई थप ज्ञानको आवश्यकता थियो। त्यो काम आफै गलत थिएन तर उनीहरूलाई त्यो गलत छ भन्ने लाग्थ्यो अनि त्यो काम गर्दा उनीहरूको विवेकले उनीहरूलाई दोषी ठहर्याउँथ्यो र फलस्वरूप उनीहरूलाई दोष महसुस हुन्थ्यो।

कतिपय मानिसहरूलाई पशु मार्नु गलत हो भन्ने लाग्छ। किरालाई कुल्चन पुग्दा वा झींगा मार्दा उनीहरूलाई नराम्रो लाग्छ। उनीहरूलाई त्यस्तो लाग्न पर्दैनथ्यो तर विवेक कमजोर भएको हुनाले उनीहरूलाई त्यस्तो लाग्छ। अर्को व्यक्तिले सुँगुर मार्ला रे तर उसलाई कुनै अप्ठ्यारो महसुस हुँदैन (पशुप्रति अनावश्यक निर्दयी बन्नलाई नभएर सही अभिप्रायले उनले त्यसलाई मारेका हुन् भने)।

टार्ससका शाऊल (पावल) को विवेकले उसलाई गलत सूचनाको आधारमा त्यसैअनुरूपको सङ्केत दिँदै थियो। ख्रीष्टियनहरूलाई सतावट दिनु ठीक काम हो भनी उनी सोच्थे (प्रेरित २६:९-११)। ख्रीष्टियन विश्वासी जनहरूको विरुद्धमा युद्ध गर्नु परमेश्वरकै सेवा गर्नु बराबर सम्झन्थे उनी (तुलना गर्नुहोस् यूहन्ना १६:२)! पछिबाट पावलले सही ज्ञान पाए (प्रेरित ९) र आफू कहाँसम्म गलत रहेछु भन्न कुरा महसुस गरे!

तर प्रायःजसो परिस्थितिमा मानिसलाई ठीक र बेठीक थाह हुन्छ अनि उनीहरूका विवेकले उनीहरूलाई सही सङ्केत नै दिन्छ। आदम, हव्वा र तिनका सन्तानका राम्रैसित काम गर्ने विवेक थिए। ठीक र बेठीक राम्ररी छुट्टयाउन सक्ने संवेदनशीलता थियो उनीहरूको।

२. मानिसको जिम्मेवारी

मानिसलाई असल र खराबको ज्ञान भयो (उत्पत्ति ३:२२)। ज्ञानको साथ-साथै जिम्मेवारी पनि थपिन्छ। मानिस आफूसित भएको ज्ञानअनुसार जिउन जिम्मेवार ठहरियो। मानिस, असल गर्न र खराब नगर्न जिम्मेवार भयो। मानिसले आफ्नो विवेकले समर्थन गरेको काम गर्नुपर्थ्यो र दोषी ठहर्याएको काम गर्न हुँदैनथ्यो।

उत्पत्ति ४:२-५ लाई अध्ययन गरौं। कुन मानिसले असल गर्‍यो (दाँज्नुहोस्, हिब्रू ११:४)? _________। कुन मानिसले खराब गर्‍यो (दाँज्नुहोस्, १ यूहन्ना ३:१२)? ___________। कयिनले गलत गरेपछि ऊ रिसायो र निराश भयो (उत्पत्ति ४:५)। यी नराम्रा भावनाहरू उसको विवेकले उत्पन्न गरेका थियो अनि उसले ती सङ्केतलाई चेताउनीको रूपमा लिनुपर्थ्यो। उसको जीवनमा त्रुटी थियो र उसले त्यसलाई सच्याउनुपर्थ्यो।

परमेश्वर कयिनकहाँ आउनुभयो र उसलाई आफ्नो त्रुटी सच्याउने मौका दिनुभयो (उत्पत्ति ४:६-७)। कयिनका सामु दुई विकल्प थिए। उसले "जे ______ छ त्यो" गर्न सक्थ्यो (उत्पत्ति ४:७), वा उसले ठीक काम नगर्न सक्थ्यो (उत्पत्ति ४:७)। ऊ जे ठीक छ त्यो गर्नलाई जिम्मेवार थियो। ठीक गर्न विफल भएको खण्डमा पाप (उसको पापी स्वभाव) एउटा जंगली पशुजस्तै उसमाथि झम्टेर उसलाई नष्ट पार्न ढोकैमा ढुकिबस्नेथ्यो! कयिनले ठीक गर्‍यो कि खराब गर्‍यो (उत्पत्ति ४:८-९? ________________। कयिनले परमेश्वरको चेताउनीलाई वास्ता गरेन र उसले आफ्नो विवेकको चेताउनीलाई पनि वास्ता गरेन।

३. मानिसको विफलता

उत्पत्ति अध्याय ६ मा जलप्रलय अगाडिका मानिसको दुःखदायी विफलताको बारेमा पढ्छौं। पृथ्वीमा कुन कुरा "बढी" भएको थियो (उत्पत्ति ६:५)? _________________________। साथै हामी सिक्छौं पृथ्वी _______ (बिग्रेको अवस्था) भएको र ____________ले भरिएको थियो (उत्पत्ति ६:११)। यो भ्रष्टता एक-दुई ठाउँमा मात्र सीमित नभएर व्यापक थियो, "किनकि पृथ्वीमा भएका ______ मानिसहरूले आफ्ना चालचलन _______ पारिसकेका थिए (उत्पत्ति ६:१२)।"

ती दिनहरू निकै अन्धकारपूर्ण थिए तर त्यहाँ केही उज्यालो पनि थियो। त्यहाँ केही थोरै व्यक्तिहरू थिए जसले ठीक गरे र जसले परमेश्वरमा विश्वास गरे। हिब्रू ११:४-७ मा हामी तीनजनाको नाम उल्लेख भएको पाउँछौं जो त्यस समयावधिभित्र जिउँदथे र जसले परमेश्वरलाई खुशी पारे:

  1. _________________________ (हेर्नुहोस्, उत्पत्ति ४)
  2. _________________________ (हेर्नुहोस्, उत्पत्ति ५)
  3. _________________________ (हेर्नुहोस्, उत्पत्ति ६)

ती दिनहरूमा त्यहाँ केही भक्तजनहरू थिए, तर धेरै थिएनन्। यहूदा १४-१५ मा भक्तजन हनोकले त्यसबेलाका मानिसलाई गरेका प्रचारका शब्दहरू उल्लेख छ। पद १५ मा "अभक्ति" भन्ने शब्द कतिपटक उल्लेख छ? ________। हनोक, एक ज्यादै भक्तिपूर्वक जिउने मानिस थिए जो ज्यादै भक्तिहीन संसारमा जिउँदथे!

४. परमेश्वरको इन्साफ

यति भ्रष्ट भएको त्यो संसारमाथि ल्याउनुभएको परमेश्वरको इन्साफ के थियो (उत्पत्ति ७:११,१२,२३)? ______________________________________। उक्त इन्साफबाट उम्कनेहरू कतिजना थिए (१ पत्रुस ३:२० र २ पत्रुस २:५)? _________। यो प्रबन्धको अन्तमा त्यहाँ केवल _____जना मानिस बाँकी रहे! के त्यस्तो इन्साफ (विश्वव्यापी जलप्रलय) फेरि कहिल्यै दोहोर्याइनेछ (उत्पत्ति ९:११,१५-१६)? ________________।

विवेकको प्रबन्धको अन्त भए तापनि विवेकको अन्त भएको छैन

विवेकको प्रबन्धको अन्त भएको छ तर मानिस विवेकको अधीनमा जिइरहनुपर्छ। यस पृथ्वीमा इतिहासको जुनै समयमा पनि जिउने मानिससित विवेक हुन्छ। हरेक प्रबन्धअन्तर्गत (आज पनि) मानिस असललाई पछ्याउन र खराबलाई त्याग्न जिम्मेवार हुन्छ। अय्यूबले त्यो गरे (अय्यूब १:१)। आज हामीलाई त्यसै गर्न आज्ञा दिइएको छ (रोमी १२:९ र १ पत्रुस ३:११)। हुन त, विवेक नै हाम्रो पथप्रदर्शक भएको परमेश्वर चाहनुहुन्न। परमेश्वरको वचन (बाइबल) हाम्रो पथप्रदर्शक हो। असल के हो, खराब के हो, हामीलाई बाइबलले बताउँछ। हामीले पछ्याउनुपर्ने बाइबल हो। येशूले भन्नुभयो, "तपाईंको वचन _______ छ" (यूहन्ना १७:१७)। तराजुलाई सम्झनुहोस्। तराजुमा सत्यतारूपी ढक लगाउनुपर्छ अनि ठीक र बेठीकलाई झन् झन् सठीक रूपमा तौलन सक्नेछौं। एक व्यक्तिको विवेक परमेश्वरको वचनले आलोकित भएको छ भने परमेश्वरले समर्थन गरेको कुरालाई उसको विवेकले पनि समर्थन गर्छ र परमेश्वरको वचनले दोषी ठहर्याएको कुरालाई उसको विवेकले पनि दोषी ठहर्याउँछ। अर्को शब्दमा भन्ने हो भने त्यसले ठीक-ठीक सङ्केत दिन्छ। तराजु अचूक बन्दछ।

रोमी १४:२२ अनुसार "धन्य" (सुखी) व्यक्ति त्यो हो "जसले आफूले स्वीकार गरेको कुरामा आफूलाई दोषी ठहर्याउँदैन।" आफ्नो विवेकले दोषी ठहर्याएको काम गर्नु सदा जोखिमपूर्ण हो। विवेकले हरियो बत्तीको सङ्केत दिँदा मात्र त्यो काम गर्नुहोस्। रातो बत्तीको सङ्केत वा पहेंलै बत्तीको सङ्केत (सावधान!) दिँदा समेत त्यो काम गर्नुहुँदैन, "किनकि हरेक कुरा, जो _____________बाटको होइन, त्यो पाप हो।" यो पदको तात्पर्य यो हो, आफूले जे गलत हो भनी विश्वास गरिएको छ त्यो काम गर्नु एक व्यक्तिको लागि ज्यादै जोखिमपूर्ण कुरा हो। विवेकले दिएका सङ्केतहरूलाई बेवास्ता गर्नु खतरा हो। कुनै परिस्थितिमा विवेक कमजोर भएको हुनाले त्यसले गलत सङ्केतहरू दिन सक्छ। परमेश्वरको वचनबाट थप ज्ञान र प्रकाश पाएर यो सच्चिइन्छ। जुन कुरा गलत भनी ठानिएको थियो त्यो पछिबाट गलत नभएको ठहरिन सक्छ वा जुन कुरा सही भनी ठानिएको थियो त्यो पछिबाट गलत भएको ठहरिन सक्छ। यो नियम सदा पछ्याउनुहोस्: आफूले गलत भनी विश्वास गरेको काम कहिल्यै नगर्नुहोस्! आफूले ठीक भनी विश्वास गर्नुभएको काम सधैं गर्नुहोस्!

तपाईंको विवेकले ठीकसँग लेखाजोखा गर्न कत्तिको सक्छ? ठीक र बेठीक सम्बन्धी तपाईंको संवेदनशीलता कत्तिको छ? ठीक र बेठीकलाई जोख्नुपर्दा (जुन काम हामी दिनहुँ गर्नुपर्छ) तपाईंको तराजु कत्तिको ठीकसंग काम गर्छ? ठीक के हो, बेठीक के हो भनेर पत्ता लगाउन के तपाईं बाइबल पढ्दैहुनुहुन्छ? ठीकसँग लेखाजोखा गर्न सकोस् भनेर तपाईंले आफ्नो तराजुलाई सत्यता र ठीक-ठीक ज्ञानले सुसज्जित पार्दैहुनुहुन्छ? सानो बच्चाले ठूलो मान्छेले जस्तै लेखाजोखा गर्न सक्दैन। सानो बच्चाले पसलबाट चकलेट लेला र उसलाई कुनै दोष महसुस नहोला। त्योभन्दा ठूलो बालकले सो गर्दा उसको विवेकले उसलाई सम्भवत: सताउला किनकि त्यो गर्नु गलत हो भनी उसले जान्दछ।

हाम्रो तराजु अचुक तराजु होस् अनि जे ठीक हो भनेर जान्दछौं त्यो गर्न र जे खराब हो भनी जान्दछौं त्यो नगर्न हामी ध्यानपूर्वक लागिरहौं ।