Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

व्यवस्थाको प्रबन्ध

यस पृष्ठलाई छाप्नुहोस्

(सीनै पर्वतदेखि कल्वरी डाँडासम्म)

व्यवस्थाको प्रबन्धको शुरूआत त्यसबेला भयो जुनबेला परमेश्वरले इस्राएलका सन्तानहरूलाई मोशाद्वारा व्यवस्था दिनुभयो (प्रस्थान १९-२०)। अनि जुनबेला क्रूसमा ख्रीष्टको मरण भयो र पन्टेकोस्टको दिनमा मण्डलीको शुरूआत भयो त्यसबेला व्यवस्थाको प्रबन्धको अन्त भयो (मत्ती २७ र प्रेरित २)। तसर्थ, यस प्रबन्धले लगभग १,५०० वर्षको समयावधिलाई समेट्यो। यसैबेला पुरानो नियमका अधिकांश पुस्तकहरू लेखिए। साथै यसैबेला इस्राएलका सन्तानहरू एउटा जातिको रूपमा विकास भए र उनीहरू विभिन्न ऐतिहासिक समयकालहरू भएर गए:

इस्राएलको इतिहास
(व्यवस्था अन्तर्गत)

मोशादेखि क्रूससम्म

  • उजाडस्थानको यात्राहरूको समयकाल
  • यहोशूको नेतृत्वमा देश कब्जा गरेको समयकाल
  • न्यायकर्ताहरूको समयकाल
  • राजाहरूको समयकाल
  • कैदहरूको समयकाल (आसिरियन र बेबिलोनीहरूद्वारा)
  • देशमा पुन:स्थापनाको समयकाल (यरुबाबेल, एज्रा र नहेम्याहको नेतृत्वमा)
  • सुसमाचारका चार पुस्तकहरू (मत्ती, मर्कूस, लूका, यूहन्ना) ले समेटेको समयकाल

व्यवस्था अन्तर्गत जिएका केही महत्त्वपूर्ण व्यक्तिहरू यस प्रकार थिए: मोशा, यहोशू, शिमशोन, शमूएल, राजा शाऊल, दाऊद, सोलोमन, एलिया, एलिशा, यशैया, दनियल, इजिकिएल, एज्रा, नहेम्याह, बप्‍तिस्मा दिने यूहन्ना र अरूहरू। बाइबलका पन्नाहरूमा पढ्दा भेटिने प्रायः व्यक्तिहरू व्यवस्थाको प्रबन्धअन्तर्गत जिउने व्यक्तिहरू नै थिए।

१. प्रारम्भमा मानिसको अवस्था

परमप्रभुले इस्राएलका सन्तानहरूका निम्ति कुनचाहिँ महान् कार्य गरिदिनुभयो (प्रस्थान २०:२)? _________________________________________________। इस्राएलका सन्तानहरू मिश्रदेशमा करिब ४०० वर्षसम्म कमारा-कमारीहरू थिए (उत्पत्ति १५:३)। परमेश्वरले आफ्नो जातिलाई छुटकारा दिनुभयो, उनीहरूको उद्धार गर्नुभयो र उनीहरूलाई एउटा ठूलो आश्चर्यकर्मद्वारा त्यस देशदेखि बाहिर निकाल्नुभयो (प्रस्थान १४ पढ्नुहोस्)। इस्राएलका सन्तानहरूले परमेश्वरको सामर्थ्य र महानतालाई विशिष्ट रूपमै देख्न पाए (प्रस्थान १४:३०-३१)। उहाँले आफ्ना जनहरूको हेरचाह गर्न सक्नुहुन्छ भन्ने कुराको प्रमाण परमेश्वरले अचम्म तरिकाले दिनुभयो। लाल समुद्रको आश्चर्यकर्मले यसलाई पूर्ण रूपमा प्रमाणित गर्‍यो!

इस्राएलका सन्तानहरू परमेश्वरमाथि भरोसा गर्न र परमेश्वरका प्रतिज्ञाहरूमाथि विश्वास गर्न जिम्मेवार थिए भन्ने कुरा हामीले आखिरी पाठमा सिकेका थियौं। प्रस्थान ३:८ र १७ मा परमेश्वरले मोशालाई दिनुभएको एउटा प्रतिज्ञा पाउँछौं। के परमेश्वरले इस्राएलका सन्तानहरूलाई मिश्रदेशबाट बाहिर निकाल्ने प्रतिज्ञा दिनुभयो? ____________। के परमेश्वरले इस्राएलका सन्तानहरूलाई प्यालेस्टाइन भूमि (कनानीहरूको देश) भित्र ल्याउने प्रतिज्ञा दिनभयो?_____________। यस प्रतिज्ञाअनुसार इस्राएलका सन्तानहरू प्रतिज्ञाको देशभित्र नै पस्नेवाला थिए कि उनीहरू उजाडस्थानमा मर्नेवाला थिए? _______________________________________।

तसर्थ, इस्राएलका सन्तानहरूले दुइटा कुराहरूलाई याद राख्‍नुपर्थ्यो:

  1. परमेश्वरले तिनीहरूलाई देशभित्र ल्याउने प्रतिज्ञा गर्नुभयो (प्रस्थान ३:६,१७)।
  2. परमेश्वरले आफ्ना जनहरूको हेरचाह गर्न सक्नुहुन्छ भन्ने कुराको प्रमाणित गर्नुभयो
    (प्रस्थान १४ – उनीहरूलाई लाल समुद्र पार गराउनुभएको परमेश्वरको उद्धारको महान् कार्य)।

प्रस्थानको पुस्तकमा पढ्दैजाँदा, हामी सिक्छौं, यस्तो प्रतिज्ञा गर्नुहुने र यस्तो सामर्थ्य देखाउनुहुने परमेश्वरमाथि भरोसा गर्न इस्राएलका सन्तानहरू विफल भए। इस्राएलको अविश्वासको निम्न उदाहरणहरूलाई विचार गरौं:

१) प्रस्थान १५:२२-२६ (लाल समुद्र पार गरेको केवल तीन दिन पछि):

तीतो पानीको समस्या!

यस समस्याको समाधानका लागि के इस्राएलका सन्तानहरूले प्रभुमाथि भरोसा गरे? परमेश्वरले उनीहरूको हेरचाह गर्नुहुनेछ भनी के तिनीहरूले विश्वास गरे? परमेश्वरले उनीहरूको हेरचाह गर्नुहुनेछ भनी उनीहरूले परमेश्वरलाई धन्यवाद दिए कि प्रभुको विरुद्धमा गनगन गरे?

२. प्रस्थान १६:१-१५ (लाल समुद्र पार गरेको करिब एक महिना पछि):

खानाको अभावको समस्या!

इस्राएलका सन्तानहरूले परमेश्वरलाई भरोस गरे कि गनगन गरे? उनीहरूलाई प्रतिज्ञाको देशभित्र परमेश्वरले ल्याउनुहुनेछ भनी उनीहरूले परमेश्वरको प्रतिज्ञालाई विश्वास गरे (पद ३)?

३. प्रस्थान १७:१-७:

पानीको अभावको समस्या!

परमेश्वरले उनीहरूलाई पानीको प्रबन्ध गर्न सक्नुहुन्छ भनेर के इस्राएलका सन्तानहरूले विश्वास गरे? परमेश्वरले उनीहरूलाई प्रतिज्ञाको देशभित्र ल्याउनुहुनेछ भनी विश्वास गरे कि उनीहरूले आफूहरू उजाडस्थानमा मारिनेछौं भनेर फिक्री गरे (पद ३)? परमेश्वर उनीहरूको बीचमा हुनुहुन्छ र उहाँले उनीहरूका सबै खाँचोहरू पूरा गरिदिन सक्नुहुन्छ भनी उनीहरू के विश्वस्त थिए (पद ७)?

सीनै पर्वतमा इस्राएल

मिश्रदेशबाट निस्केका तेस्रो महिनामा इस्राएलका सन्तानहरू सीनै पर्वतको फेदमा आइपुगे (प्रस्थान १९:१-२)। यसै ठाउँमा परमेश्वरले इस्राएलका सन्तानहरूलाई आफ्नो व्यवस्था र आज्ञाहरू दिन लाग्दै हुनुहुन्थ्यो। सीनै पर्वतमा आइपुगेपछि आफ्ना जनहरूका निम्ति परमेश्वरको एउटा सन्देश थियो। प्रस्थान १९:४ का आखिरी तीन शब्दहरू के हुन्? ___________________________________। परमेश्वरले मिश्रीहरूलाई के गर्नुभयो भनी इस्राएलका सन्तानहरूले देखेका थिए (प्रस्थान १४:३०-३१)। परमेश्वरले तीतो पानीलाई गुलियो पारिदिनुभएको इस्राएलका सन्तानहरूले देखेका थिए (प्रस्थान १५:२५)। परमेश्वरले उजाडभूमिको बीचमा खानेकुरा प्रबन्ध गरिदिनुभएको इस्राएलका सन्तानहरूले देखेका थिए (प्रस्थान १६:११-१५)। परमेश्वरले चट्टानबाट पानी दिनुभएको उनीहरूले देखेका थिए (प्रस्थान १७:६)। उनीहरूका गनगनाइ र अविश्वासका बाबजुद पनि परमेश्वर अनुग्रहीकृपालु हुनुभएको उनीहरूले देखेका थिए! उनीहरूले परमेश्वरको सामर्थ्य र महानता बारम्बार प्रकट गरिएको देखेका थिए!

प्रस्थान १९:५ मा परमेश्वरले इस्राएलका सन्तानहरूसित एउटा सम्झौता वा करार बाँध्न लाग्नुभएको देख्छौं। यसलाई कहिलेकाहीँ मोशाको करार भन्ने गरिन्छ (किनभने त्यसबेला मोशा इस्राएलका अगुवा थिए)।

उक्त करारका शर्तहरूलाई हामी विचार गरौं। प्रस्थान १९:५-६ अनुसार यदि इस्राएलका सन्तानहरूले करारको शर्त पालना गरे भने परमेश्वरले उनीहरूलाई विशेष तरिकाले आशिष दिने प्रतिज्ञा गर्नुभयो – "यदि तिमीहरूले मेरा कुरा साँच्चै नै __________ र मेरो करार ___________ गर्यौ भने" (प्रस्थान १९:५)। इस्राएलीहरूले आज्ञा पालन गरे भने परमेश्वरले आशिष दिनुहुनेथ्यो।

के इस्राएलका सन्तानहरू यस करारका शर्तहरू पालन गर्न इच्छुक थिए? के उनीहरूले करारको आफ्नो पक्षलाई पूरा गर्न इच्छुक थिए (हेर्नुहोस् प्रस्थान १९:८)? _______________।

आत्मविश्वासको खतरा

प्रस्थान १९:८ मा सारा मानिसहरूले भने, "परमप्रभुले भन्नुभएका सबै कुराहरू _______ __________ ___________।" पछि उनीहरूलाई मोशाले परमेश्वरका कानूनहरू दिनुभएपछि पनि के उनीहरूले यही कुरा भने (प्रस्थान २४:३)? __________। प्रस्थान २४:७ मा ती मानिसहरूले भने, "परमप्रभुले भन्नुभएका सबै कुरा हामी ___________ र _____________ हुनेछौं।"

यी मानिसहरूसित आफैमा बढ्ता विश्वास भएको देखिन्छ। आफैमा उनीहरूसित प्रभुको आज्ञा पालन गर्ने शक्ति छैन भनेर यी मानिसहरूले महसुस गर्न सकेनन्। व्यवस्था ५:२७-२९ लाई विचार गरौं। इस्राएलका सन्तानहरूसित एउटा हृदयको समस्या थियो (पद २९)। उनीहरूले बोलेका शब्दहरू (पद २८) उनीहरूको हृदयसित (पद २९) मेल खाँदैनथ्यो। उनीहरू प्रत्येकसित एउटा पापी र विद्रोही हृदय थियो। प्रत्येकसित नै आज्ञा नमान्ने झुकाव भएको हृदय थियो।

इस्राएलका सन्तानहरूले आफ्ना हृदयहरू कति पापी छन् भनी महसुस गर्नुपर्नेथ्यो। उनीहरूलाई व्यवस्था दिनुभन्दा अगाडि नै परमेश्वरले इस्राएलका सन्तानहरूलाई उनीहरूले उहाँका आज्ञाहरू कत्तिको पालन गर्दा रहेछन् भनी एउटा जाँच दिनुभएको थियो। प्रस्थान १६ मा परमेश्वरले आफ्ना जनहरूलाई मन्ना बटुल्ने सम्बन्धमा केही सामान्य नियमहरू दिनुभएको थियो। एउटा नियमचाहिँ प्रस्थान १६:१९ मा पाइन्छ: बिहानसम्म मन्ना नराख्नू। के उनीहरूले यस सरल नियमको पालना गरे (प्रस्थान १६:२०)? ____________। अर्को नियम थियो: विश्रामदिनमा मन्ना नबटुल्नू (प्रस्थान १६:२२-२६)। के उनीहरूले यस सरल नियमको पालना गरे (प्रस्थान १६:२७)? ____________। यसबाट उनीहरूले आफ्नो हृदयको बारेमा के महसुस गर्नुपर्नेथ्यो (हेर्नुहोस् प्रस्थान १६:२८)? _____________________ ___________________________________________________।

प्रस्थान १९:८ (अनि प्रस्थान २४:३,७ मा) इस्राएलका सन्तानहरूले बेग्लै तरिकाले जवाफ दिनुपर्नेथ्यो। उनीहरूले, भनौं, यस प्रकारले भन्नुपर्नेथ्यो:

"परमप्रभु, हामीले तपाईंका आज्ञाहरू पालन गर्न सक्दैनौं। हाम्रा हृदयहरू दुष्ट छन्, विद्रोही छन् र पापी छन्। हामी आफैमा आज्ञापालन गर्ने शक्ति छैन। हामीले मन्ना बटुल्ने सम्बन्धी दुइटा सरल नियमहरू पनि पालन गर्न सकेनौं। तपाईंले हामीलाई सहायता गर्नुभएन भने र हामीलाई क्षमता दिनुभएन भने हामी निश्चय विफल हुनेछौं। प्रभु हामी सक्दैनौं। तपाईंले हामीलाई सहायता गर्नुपर्छ!"

एकातिर आफैमा विश्वास गर्नु (आत्मविश्वास) गलत हो भने अर्कोतिर विश्वासै नहुनु पनि गलत हो। यताउता गर्ने घडीको पेन्डुलमलाई विचार गर्नुहोस्। हामी यी दुई विषमताहरूतिर जानुहुँदैन:

 


 

ख्रीष्टको सहायता र शक्तिबिना एउटा विश्वासी जनले कत्तिको गर्न सक्छ (यूहन्ना १५:५)? ____________________। इस्राएलका सन्तानहरूले यसरी भन्नुपर्नेथियो, "परमप्रभुबिना उहाँले आज्ञा गर्नुभएका यी कुनै पनि कुराहरू हामीले गर्न सक्दैनौं। उहाँले हामीलाई सहायता गर्नुभयो र हामीलाई शक्ति दिनुभयो र हाम्रो हृदयहरूमा काम गर्नुभयो भने मात्रै हामी सो गर्न सक्नेछौं।" पढ्नुहोस, मर्कूस १४:२९-३१ र मर्कूस १४:६६-७२। पत्रुससित परमेश्वर-केन्द्रित विश्वास थियो कि आत्म-केन्द्रित विश्वास थियो? _____________________________।

परमेश्वरले दिनुभएका व्यवस्थाहरू

परमेश्वरले इस्राएलका सन्तानहरूको हातमा नियमहरूको एक विशेष संगालो सुम्पिनुभयो। विश्वको कुनै पनि जातिलाई यस किसिमको जिम्मेवारी दिइएको थिएन (पढ्नुहोस्, व्यवस्था ४:५-८)। परमेश्वरले आफ्नो जातिलाई मोशाको व्यवस्थाअन्तर्गत ६१३ ओटा आज्ञाहरू (यहूदी गणनाअनुसार) दिनुभयो। यी आज्ञाहरूले जीवन र जीवनका क्रियाकलापहरूका सबै पक्षहरूलाई समेटेका छन्। यीमध्ये सबैभन्दा परिचित र महत्त्वपूर्ण आज्ञाहरूलाई दस आज्ञा भनिन्छ अनि यो प्रस्थान २० अध्याय (साथै व्यवस्था ५ अध्याय) मा पाइन्छ। परमेश्वरले दिनुभएका अरू आज्ञाहरू पढ्न प्रस्थान २१-२३ अध्यायहरूमा पढ्न सक्नुहुन्छ।

याद गरौं, मानिसहरूलाई आज्ञाहरू दिनुभएको पहिलो पटक सीनै पर्वतमा नै त होइन। परमेश्वरले आदमलाई कुन आज्ञा दिनुभएको थियो (उत्पत्ति २:१७)? _________________________ _______________________________________________। के परमेश्वरले जलप्रलयपछि नूह र उनका सन्तानहरूलाई कुनै आज्ञाहरू दिनुभयो (उत्पत्ति ९:१-७)? _____________। के परमेश्वरले अब्राहामलाई कुनै आज्ञाहरू दिनुभयो (उत्पत्ति १७:९-१२)? _______________। सीनै पर्वतमा उनीहरूलाई व्यवस्था दिइनुभन्दा पनि अघि के इस्राएलका सन्तानहरूलाई कुनै आज्ञाहरू दिइएको थियो (प्रस्थान १५:२६ र प्रस्थान १६:२८)? ____________।

परमेश्वरले केही नियमहरू सीनै पर्वतभन्दा अगाडि पनि दिनुभएको थियो तर सीनै पर्वतमा भने परमेश्वरले आफ्नो जातिलाई नियमहरूको एउटा विशेष संगालो नै दिनुभयो जसलाई परमेश्वरले "मेरो करार" (प्रस्थान १९:५) भन्ने संज्ञा दिनुभयो। यस संगालोमा दस आज्ञा पनि पर्थ्यो साथै जीवनका सबै पक्षहरूलाई समेट्ने थुप्रै अरू नियम-विनियमहरू पनि यसमा समावेश थिए।

हामीले यो पनि बुझिराख्‍नुपर्छ, व्यवस्था इस्राएल जातिलाई मात्र दिइएको थियो जुन जातिलाई परमेश्वरले मिश्रदेशदेखि बाहिर निकाल्नुभयो (प्रस्थान १९:३; २०:२)। परमेश्वरको व्यवस्था मिश्रीहरूलाई दिइएन, न ता कनानीहरूलाई न ता बेबिलोनीहरूलाई न ता अन्य कुनै जातिलाई। परमेश्वरले यस करार मोशासित र ______________सित बाँध्नुभयो (प्रस्थान ३४:२७)। विभिन्न नियमहरू र आज्ञाहरू समावेश भएको यस विशेष संगालो एउटा ज्यादै विशेष जातिलाई दिइयो, अर्थात् इस्राएललाई। अरू कुनै जातिसित यस्तो व्यवस्था थिएन (व्यवस्था ४:८)। साथै हेर्नुहोस्, रोमी ९:४।

२. मानिसको जिम्मेवारी

परमेश्वरले आफ्नो पवित्र व्यवस्थाहरू इस्राएलको हातमा सुम्पिनुभएको थियो। इस्राएलको ठूलो जिम्मेवारी थियो: उनीहरूले परमेश्वरको ________ सुन्नुपर्थ्यो र परमेश्वरको __________ पालन गर्नुपर्थ्यो (प्रस्थान १९:५)। व्यवस्था ६:१- अनुसार इस्राएलका सन्तानहरूको जिम्मेवारी के थियो? _______________________________________________________________________।

मोशाको करारका शर्तहरू अनुसार इस्राएलका सन्तानहरू आज्ञाकारी भएमा आशिषित हुन्थे र अनाज्ञाकारी भएमा श्रापित हुन्थे। यो कुरा सबभन्दा प्रस्ट व्यवस्था अध्याय २८ मा देखिन्छ:

 


 

परमेश्वरले इस्राएलका सन्तानहरूलाई यी सबै आज्ञाहरू किन दिनुभयो (व्यवस्था ६:२४ पढ्नुहोस् र ठीक जवाफलाई चिन्ह लगाउनुहोस्)?

  1.  
    1. उनीहरूलाई दुःख होस् भनेर
    2. उनीहरूले भार बोकोस् भनेर
    3. उनीहरूको निरन्तर हित होस् भनेर
    4. उनीहरू श्रापित होस् भनेर

हामीले यो याद राख्‍नुपर्छ, इस्राएलका सन्तानहरू व्यवस्थालाई आंशिकरूपमा मात्र नभएर पूर्ण रूपमा पालन गर्न जिम्मेवार थिए। व्यवस्था ६:२ मा "सबै" भन्ने शब्द छ? ________। व्यवस्था २८:१ र १५ मा "सबै" भन्ने शब्द छ? परमेश्वरले इस्राएलका सन्तानहरूलाई व्यवस्था दिनुहुँदा उनीहरूले भने, "परमप्रभुले भन्नुभएका ________ कुराहरू हामी पालन गर्नेछौं" (प्रस्थान १९:८ र प्रस्थान २४:३,७)। परमेश्वर आंशिक आज्ञापालन (कुनै आज्ञा पालन गर्ने तर कुनै पालन नगर्ने) चाहनुहुन्नथ्यो तर उहाँ पूर्ण आज्ञापालन (सबै पालन गर्ने) चाहनुहुन्थ्यो। के परमेश्वरले आजका विश्वासीहरूबाट पनि पूर्ण आज्ञापालनको माग गर्नुहुन्छ (मत्ती २८:२०)? ________________।

विफल भएको खण्डमा के गर्ने?

(येशू ख्रीष्टले बाहेक) कुनै पनि मानिसले व्यवस्थालाई सिद्धरूपमा पालन गर्न सक्नेछैन भनेर परमेश्वर जान्नुहुन्थ्यो। मानिसहरू मध्येका सबैभन्दा असल मानिस पनि विफल हुनेछन्, अनाज्ञाकारी हुनेछन् र पाप गर्नेछन् भनी परमेश्वर जान्नुहुन्थ्यो। तसर्थ, पापको सम्बन्धमा मानिसले के गर्नुपर्छ भनेर सम्बन्धित आज्ञाहरू पनि व्यवस्थामा समावेश गरिएका थिए। जस्तै, पुरानो नियमका समयहरूमा (मोशाको व्यवस्था अन्तर्गत) मानिसहरूलाई बलिदानका लागि पशुहरू ल्याउन भनी भनियो (लेवी १-५ अध्यायहरू हेर्नुहोस्)। इस्राएलका सन्ताहरू परमेश्वरका निर्देशनहरूलाई राम्ररी पालन गर्न र ठीक खालको बलिदानका लागि ठीक खालको पशु ल्याउन जिम्मेवार थिए। उनीहरूले पाप गरेको खण्डमा के गर्नुपर्छ भनेर आफ्नो जातिका लागि परमेश्वरले महत्त्वपूर्ण नियम-विनियमहरू तोक्नुभएको थियो।

आजका विश्वासी जनहरूका लागि पनि यो साँचो छ। जब हामीले पाप गर्छौं, हामीले के गर्नुपर्छ भनेर परमेश्वरले प्रस्टै तोक्नुभएको छ। विश्वासी जनले पाप गर्दा १ यूहन्ना १:९ अनुसार उसको जिम्मेवारी के हो? _______________________________________। हामीले कुनै पशु बलिदान लिएर कुनै वेदीमा ल्याउनुपर्दैन किनकि ख्रीष्ट बलि भइसक्नुभयो र उहाँ नै सिद्ध बलिदान हुनुहुन्छ। तरैपनि परमेश्वरको आज्ञाअनुसार हाम्रा पापहरू स्वीकार गर्ने काम भने हामीले गर्नैपर्छ। यदि हामीले हाम्रा पापहरू स्वीकार गर्यौं भने परमेश्वरले के गरिदिनुहुने प्रतिज्ञा गर्नुभएको छ (१ यूहन्ना १:९)? ___________________________________________________________।

३. मानिसको विफलता

इस्राएल जातिले परमेश्वरको व्यवस्थालाई पालन गरे कि गरेनन्? इस्राएलीहरूले भनेका थिए, "परमप्रभुले भन्नुभएका सबै कुराहरू हामी पालन गर्नेछौं!" उनीहरूले साँच्ची नै यसै गरे कि गरेनन्? यर्मिया ३१:३२ मा हामी सिक्छौं कि उनीहरूले यस करारलाई भङ्ग गरे! उनीहरू व्यवस्था पालन गर्न विफल भए।

इस्राएल जातिको इतिहास एउटा लामो दुःखद् अभिलेखको रूपमा पाउँछौं जसमा यस जातिले व्यवस्थालाई लगातार र लज्जाजनक हिसाबले भङ्ग गरेको कुराको बारम्बार उल्लेख छ।

इस्राएलका सन्तानहरूले परमेश्वरको व्यवस्थालाई कति छिट्टै भङ्ग गरे! परमेश्वरको आज्ञा उल्लङ्घन गर्न उनीहरूले कुनै समय खेर फालेनन्। उनीहरूले दस आज्ञालाई मोशा सीनै पर्वतबाट झर्न नपाउँदै भङ्ग गरे। यस दुःखद् घटना प्रस्थान ३२:१-६ मा उल्लेख छ (प्रस्थान २०:३-५ सित तुलना गर्नुहोस्)। त्यस जघन्य पाप पश्चात् परमेश्वरले भन्नुभयो, "तिनीहरूलाई जुन मार्गमा हिँड्ने आज्ञा मैले दिएको थिएँ, त्यसबाट तिनीहरू यति ________ अर्कोतिर लागेका छन्" (प्रस्थान ३२:८)।

न्यायकर्ताको समयहरूमा इस्राएलका सन्तानहरूले परमेश्वरको व्यवस्थाको पालना गरेनन्, तर "ती दिनमा इस्राएलमा कुनै राजा थिएन, र हरेक मानिसले _________ ________मा जे ठीक लाग्यो त्यही गर्दथ्यो" (न्यायकर्ता २१:२५)। राजाहरूको प्रायःजसो समयहरूमा इस्राएलीहरूले अरू देवताहरू (मूर्तिहरू) को सेवा गरे। उनीहरूले परमेश्वरको व्यवस्थालाई बेवास्ता गरे। "परमप्रभुले तिनीहरूलाई ‘तिमीहरूले यस्तो गर्नु _________’ भन्नुभए तापनि तिनीहरूले _______________को पूजा गरे" (२ राजा १७:१२)। २ राजा १७:७-१९ पढेर इस्राएलको विफलता देख्न सकिन्छ (विशेष गरी पद १५ र १९)।

पछि गएर इस्राएलका सन्तानहरूले सबैभन्दा ठूलो अपराध गरे। उनीहरूले आफ्नै मसीह प्रभु येशू ख्रीष्टलाई क्रूसमा टाँगे (प्रेरित २:२२-२३ र १ थेस्सलोनिकी २:१५)। दुःखको कुरा के थियो भने परमेश्वरको व्यवस्थालाई पालन गर्दैछौं भन्ने मानिसहरू नै यस अपराधका दोषी थिए! जस्तै, यूहन्ना १८:२८ मा हामी देख्छौं पिलातस साँचो परमेश्वरलाई स्वीकार नगर्ने एक अन्यजाति भएकाले यी यहूदीहरू उनको दरवारमा खुट्टा टेक्न चाहँदैनथे। तर यही यहूदीहरू नै ती थिए जसले ख्रीष्टलाई क्रूसमा टँगाउन भरमग्दुर प्रयास गर्दैथिए। यो त एउटा बैंक लुटेरा जस्तो हो जसले बैंकभित्रको भुइँमा फोहोर नलागोस् भनेर आफ्नो खुट्टालाई जुत्ता पुछ्ने म्याटमा राम्ररी पुछ्दछ तर बैंकभित्र पसेर उसले बैंकको कर्मचारीलाई गोली ठोकेर रू ३०,००,००० लाई पोको पारेर भाग्दछ! येशूले यस्ता मानिसहरूलाई मत्ती २३:२३-२४ मा बयान गर्नुभयो। उनीहरू आफ्नो चियामा सानो भुसुना भेट्टाउँदा निकै खिन्न बन्दछन् र मेहेनतसाथ त्यसलाई छानेर निकाल्छन्। तर चियामा सिङ्गो ऊँट भेट्टाउँदा भने उनीहरू आँखा चिम्लेर त्यसलाई ग्वाम्मै निल्छन्! पिलातसको दरवारमा पस्नु भनेको त्यो सानो भुसुनाजस्तै हो र ख्रीष्टलाई क्रूसमा टाँग्नु भनेको ऊँटजस्तै।

अब यसको मतलब प्रत्येक यहूदी नै व्यवस्था पालन गर्न विफल भए भन्ने होइन। त्यहाँ परमेश्वरमा विश्वास गर्ने यहूदीहरू पनि थिए जसलाई परमेश्वरले आफ्नो व्यवस्था र आज्ञाहरू पालन गर्न उनीहरूलाई चाहिने सहायता र सामर्थ्य दिनुभयो। यसरी नै बप्‍तिस्मा दिने यूहन्नाका बाबु-आमाले व्यवस्थालाई पालन गरेका थिए (हेर्नुहोस् लूका १:५-६) यद्यपि उनीहरूले त्यसलाई सिद्धरूपमा पालन गरेनन्। तरैपनि समग्रमा इस्राएलका सन्तानहरूले परमेश्वरको पवित्र व्यवस्थालाई पालान गर्न विफल भए।

४. परमेश्वरको इन्साफ

परमेश्वरको व्यवस्थालाई पालन नगर्दा परमेश्वरको श्राप आउनैपर्छ भन्ने सत्यतालाई हामीले हेरिसक्यौं (व्यवस्था २८:१५)। इस्राएल जातिलाई ठीक यही हुन गयो। व्यवस्था २८:१६-२६ मा उल्लेखित थुप्रै श्रापहरू यस जातिमा बास्तवमै पर्न गएका छन्। इस्राएल जातिमाथि परेका तीनओटा ठूला-ठूला इन्साफहरू यी थिए:

१. अश्शूरी कैद (Assyrian Captivity), ई.पू. ७२२

उत्तरमा रहेका इस्राएलका दस कुलहरू शक्तिशाली अश्शूरी सेनाद्वारा निर्वासन र कैदमा लगिए। २ राजा १७:३-६ मा पढ्नुहोस्। यस इन्साफ आउनुको कारण: २ राजा १७:७-१८।

२. बेबिलोनी कैद (Babylonian Captivity), ई.पू. ६०५ (ई.पू. ५८६ मा मन्दिर ध्वस्त)

दक्षिणमा रहेको यहूदा राज्य शक्तिशाली बेबिलोनी सेनाद्वारा निर्वासन र कैदमा लगिए। २ राजा २५:१-११ मा पढ्नुहोस्। यस इन्साफ आउनुको कारण: २ इतिहास ३६:१४-१७।

३. रोमीहरूद्वारा यरूशलेमको विनाश, ई.सं. ७०

यरूशलेम शहर र मन्दिर रोमीहरूद्वारा नष्ट गरियो अनि यहूदीहरू संसारभरि छरपुष्ट भएर गए। मत्ती २३:३८; २४:१-२। यस इन्साफ आउनुको कारण: मत्ती २३:३७; २७:२३-२५ र यूहन्ना १:११।

हामीलाई परमेश्वरका आज्ञाहरू

आजका विश्वासी जनहरूलाई मोशाको व्यवस्था पालन गर्नलाई भनिएको छैन। इस्राएलका सन्तानहरूलाई दिइएको आज्ञाहरूको संगालोको पालना गर्न भनी हामीलाई भनिएको छैन। तर त्यहाँ तोकिएका आज्ञाहरू छन् जसको पालना गर्नलाई परमेश्वरले हामीलाई दिनुभएको छ। परमेश्वरले आफ्नो वचनमा दिनुभएका आज्ञाहरूलाई तपाईं के गर्दै हुनुहुन्छ? एउटा विश्वासी जनले आफूले येशूलाई साँच्ची नै प्रेम गर्दछु भनेर कसरी प्रमाण दिन सक्छ (यूहन्ना १४:१५,२१,२३)? ______________________ ________________________।

एकजना व्यक्ति ख्रीष्टको मित्र साँच्ची नै कसरी हुन सक्दछ (यूहन्ना १५:१४)? ____________ ___________________________________। यदि येशू ख्रीष्ट साँच्ची नै मेरा प्रभु हुनुहुन्छ भने मैले के गर्नुपर्छ (लूका ६:४६)? ___________________________________________। हाम्रा एक अति असल प्रभु हुनुहुन्छ जसले हाम्रो आज्ञाकारिताको अपेक्षा गर्नुहुन्छ!

एफिसी अध्याय ४ मा केही आज्ञाहरू भेट्टाउन सक्नुहुन्छ? एफेसी अध्याय ५ मा? १ थेस्सलोनिकी अध्याय ५ मा?

पहिला कुनचाहिँ आज्ञा तपाईंले पालन गरेको परमेश्वर चाहनुहुन्छ (१ यूहन्ना ३:२३) – यस पदको पहिलो भागमा हेर्नुहोस् र प्रेरित १६:३१ सित तुलना गर्नुहोस्)? ________________________ _____________________________________। के तपाईंले यस आज्ञालाई पालन गर्नुभयो?

धेरै हिसाबमा हामी इस्राएलका सन्तानहरू जस्तै छौं। हाम्रा हृदयहरू पापी र विद्रोही छन्। हामीमा परमेश्वरको वचनलाई र परमेश्वरका आज्ञाहरूलाई पालन नगर्ने झुकाव छ। विश्वासी जनहरूको सवालमा पनि यो कुरा साँचो छ। परमेश्वरको सहायता र शक्तिबिना हामी आज्ञाकारी जीवन बिताउन सक्ने नै थिएनौं। हामीलाई इच्छुक बनाउन र परमेश्वरको आज्ञा पालन गर्न र उहाँको शुभइच्छा पूरा गर्न हामीलाई क्षमता दिनलाई हामीभित्र काम गर्नुहुने को हुनुहुन्छ (फिलिप्पी २:१३)? ___________। उहाँबिना हामी केवल विफल मात्र हुन सक्छौं तर उहाँद्वारा हामी सफल नभई छाड्दैनौं! "मलाई शक्ति दिनुहुने ख्रीष्टद्वारा म सबै कुराहरू गर्न सक्छु (फिलिप्पी ४:१३)।"

परमेश्वरले हामी प्रत्येकलाई ______________ नानीहरूझैं भएर (१ पत्रुस १:१४) हिँड्न सहायता गर्नुभएको होस्!

 


पृष्ठ संशोधन मिति: Tuesday 13-Apr-10
WordofTruth.com.np © 2017