जीवन परिवर्तन नभएको नामधारी ख्रीष्टियन

यस पृष्ठलाई छाप्नुहोस्

डेविड क्लाउड

प्रचारक: “महोदय, हामी परमेश्वरको खुशीको खबर सुनाउन आएका हौं। परमेश्वरसित तपाईंको सम्बन्धको बारेमा हामी केही कुरा सोध्न सक्छौं कि? के तपाईंले मुक्ति पाउनुभएको छ र के तपाईं स्वर्ग जाँदैहुनुहुन्छ?

नामधारी: “मुक्ति? अवश्य पनि मैले मुक्ति पाएको छु।”

प्रचारक: “तपाईंले आफ्‍नो मुक्तिको आशा कुन कुरामा आधारित बनाउनुभएको छ त?”

नामधारी: “केही समय अघि एकजना मित्रले मसँग येशूको बारेमा कुरा गर्नुभएको थियो र मैले पापीको प्रार्थना गरें र त्यस मित्रले मलाई केही पदहरू देखाएर मलाई भन्नुभयो कि म अब स्वर्गतिर जाँदैछु।”

प्रचारक: “अहो! हामीलाई यो कुरा सुनेर खुसी लाग्यो। के तपाईं अब परमेश्वरसँग हिँड्ने गर्नुहुन्छ?”

नामधारी: “खासै गर्दिनँ। म जसरी जिउनुपर्ने हो त्यसरी जिइरहेको त छैन होला सायद। तर त्यो त म र परमेश्वर बीचको कुरा हो। मैले आफूले गर्न सक्ने जति र मैले चिनेका धेरै मानिसहरूले जत्तिकै असल त गरिरहेकै छु। परमेश्वरको निम्ति जिउनु मलाई कति गाह्रो छ भन्ने कुरा तपाईं जान्नुहुन्न।”

प्रचारक: “के तपाईं नियमित रूपमा मण्डली जाने र परमेश्वरका जनहरूसित सङ्गति गर्ने गर्नुहुन्छ?”

नामधारी: “खासै गर्दिनँ, तर टि.भि. मा धार्मिक कार्यक्रमहरू हेर्ने गर्छु कहिलेकाहिँ। जे होस्, परमेश्वरसँग ठीक हुनलाई मान्छेलाई मण्डली जानुपर्छ भन्ने त छैन नि।”

प्रचारक: “तपाईंले मुक्ति पाउनु भएदेखि यता बाइबल त अवश्य पढ्नुहुन्छ होला नि।”

नामधारी: “म खासै धेरै बाइबल पढ्ने गर्दिनँ। मेरो आँखाको पनि समस्या छ अनि बाइबल मलाई त्यति अर्थपूर्ण पनि लाग्दैन।”

प्रचारक: “महोदय, हामी रुखो बन्न खोजेका त होइनौं, तर के तपाईंले साँच्ची नै मुक्ति पाउनुभएको छ र?

नामधारी: “सुन्नुहोस्, परमेश्वरसितको मेरो सम्बन्ध मेरो आफ्‍नै निजी मामिला हो। न्याय गर्नुहुँदैन भनेर बाइबलले भनेको छ नि, होइन र? मैले येशूमा र बाइबलमा तपाईंले गर्नुभए जत्तिकै विश्वास गर्छु र मसित कुरा गर्नुहुने त्यस मित्रले मैले मुक्ति पाएको छु र म स्वर्ग जाँदैछु भनेर भन्नुभएको थियो र उहाँले मलाई बाइबलबाट केही प्रतिज्ञाहरू पनि दिनुभएको थियो। म यसको बारेमा अरु कुरा गर्न चाहँदिनँ। त्यसमा पनि म अलिक व्यस्त नै छु। मेरो रोचक टेलिभिजन कार्यक्रम केही मिनटमै शुरु हुँदैछ र तपाईंले मेरो ढोका ढकढकाउनु भन्दा केही समय अघि मात्र फ्रिजबाट मैले चिसो बियर निकालेको थिएँ अब त तातो हुन थालिसक्यो होला।”

* * * * *

२ पत्रूस २:२०-२२ -– “किनकि प्रभु र मुक्तिदाता येशू ख्रीष्टको पहिचानद्वारा तिनीहरू संसारका अशुद्धताहरूबाट उम्केका छन्, तर फेरि ती कुराहरूमा फसे, र हारे भने तिनीहरूको पछिल्लो अवस्थाचाहिँ अघिल्लोभन्दा खराब हुन्छ। ... तर यस सत्य उखानमुताबिक तिनीहरूलाई भएको छ: "कुकुर फेरि आफ्‍नै छादपट्टि फर्क्यो, र नुहाइएको भुनी फेरि आहाल खेल्न फर्क्यो।”

१ यूहन्ना २:४ –- “जसले ‘म उहाँलाई चिन्छु’ भन्छ, तर उहाँका आज्ञाहरूचाहिँ पालन गर्दैन, त्यो झूट हो, र त्यसमा सत्य छैन।”

तीतस १:१६ -– “हामी परमेश्वरलाई चिन्छौं भनी तिनीहरू दाबी गर्छन्, तर कामहरूद्वारा चाहिँ तिनीहरूले उहाँलाई इन्कार गर्छन्; किनकि तिनीहरू घिनलाग्दा, अनाज्ञाकारी र हरेक असल कामका लागि निकम्मा छन्।”

मुक्ति पाएको दाबी गरेका तर आत्मिक परिवर्तनको अनुभव नै नगरेका यस्ता थुप्रै सङ्ख्यामा रहेका मानिसहरूको कारणले मुक्ति वास्तवमा के हो भनी जान्न मानिसहरूलाई कठिन हुन गएको छ। के ख्रीष्ट येशूमा भएको मुक्तिको केही अर्थ छ? के यसले कुनै फरक पार्छ?

नेपालमा र विश्वका अन्य ठाउँहरूमा यस्ता मानिसहरू थुप्रै सङ्ख्यामा छन् जोहरूले आफूले ख्रीष्टमा विश्वास गरेको दाबी त गर्छन्, तर परमेश्वर, परमेश्वरको पुस्तक, परमेश्वरका जनहरू र परमेश्वरको मार्गप्रति भने उनीहरू कुनै वास्ता देखाउँदैनन्।

प्रायः जसो तिनीहरूको बीचमा यस्तो किसिमको छाप परेको छ कि ख्रीष्ट उनीहरूका पापहरूको निम्ति मर्नुभएको कुरामाथि गरिएको उनीहरूको दिमागी स्वीकार नै स्वर्ग जाने टिकट हो। स्वर्ग भनेको आफू मरेपछि जानलाई एउटा असल स्थान हो भन्ने कुरामा उनीहरू सहमत छन्, र एकदिन त्यहाँ जान सकियोस् भन्ने हेतुले येशू उनीहरूको पापहरूको निम्ति मर्नुभएको कुरामा आफूहरूले विश्वास गरेको कुरा उनीहरूले बताउँछन्। तर यो बाहेक, आत्मिक कुराहरूमा उनीहरूको वर्तमान चासो भने थोरै छ वा भनौं, छँदैछैन।

माथिको उदाहरणमा प्रचारकले बाइबलको बारेमा कुराकानी गर्ने प्रयास गर्दा त्यस नामधारीलाई अल्छी लागेको वा रिस उठेको जस्तो देखियो। उसको ढोकामा प्रचारकले ढकढक्याउँनु अघि आफूले हेरिरहेको टेलिभिजन कार्यक्रमबाट सायद उसले आफ्‍नो ध्यान समेत नछोड्ला। त्यस नामधारी मिलनसार जस्तो देखिए तापनि उसको व्यवहारले प्रचारक यहाँबाट कहिले जाला अनि आराम पाऊँला भन्ने मनोभावलाई दर्शाइरहेको छ।

यस्तो किसिमको “विश्वासी” का नानीहरू र परिवार, सङ्गी साथीहरू, र छिमेकीहरूलाई मुक्तिको खास कुनै अर्थ रहेनछ भन्ने छाप बस्छ। अरुले हेर्दा मुक्ति त स्वर्ग जाने टिकटको ग्यारेन्टि दिने एक प्रकारको प्रार्थना मात्र रहेछ र वर्तमान दैनिक जीवनसँग यो कथित मुक्तिको कुनै पनि सरोकार रहेनछ भन्ने देखिन्छ। यो त भयङ्कर गलत सन्देश हो!

यस्तो खालको "विश्वास" मा पश्चात्तापको ठाउँ खै? क्रोधबाट भागेर ख्रीष्टकहाँ शरण लिन आउने कुरा खै (हिब्रू ६:१८)? मूर्तिहरूबाट परमेश्वरतर्फ फर्कने कुरा खै (१ थेस्सलोनिकी १:९)? नयाँ सृष्टि हुने कुरा खै (२ कोरिन्थी ५:१७)?

हामी छक्क पर्नु पर्दैन कि जहाँजहाँ यस्तो किसिमको रित्तो दाबीको बिगबिगी हुन्छ त्यहाँ मानिसहरू इसाईमतलाई खिसी गरिरहेका हुन्छन्। प्राय:जसो ख्रीष्टमा मुक्ति पाएझैं नक्कल गर्नेहरू, अवश्य पनि, ठट्टाका कारण नै हुन्।

त्यसैले झूटा शिक्षाहरूले निकै सफलता पाइरहेका कुरामा पनि हामी अचम्म मान्नु नै पर्दैन।

पश्चात्तापको बारेमा पनि अक्सर प्रचार भइरहेको छैन। मुक्ति भित्रबाट शुरु भएर बाहिरसम्म देखिने पवित्र आत्माद्वारा हुने परिवर्तन हो भनी देखाउने काम गरिएको छैन। परमेश्वरका कुराहरूको निम्ति कुनै जोश पैदा नगर्ने किसिमको "विश्वास" सित मानिसहरू सन्तुष्ट छन्। झूटा शिक्षकहरू आउँछन् र बाइबलले धर्मी जीवनको बारेमा धेरै बताएको तथ्य उनीहरूले देखाउँछन्। हुन त तिनीहरूले यस बारेमा ठीकै भनेका हुन्, तर परमेश्वरको सामु मानिसको धर्मीकरणको निम्ति कामहरूको स्थान छ भन्ने कुरामा तिनीहरू बिल्कुल गलत छन्।

मान्छेले आफ्‍नो जहाजलाई स्वर्गको सुरक्षित बन्दरगाहसम्म पुर्‍याउने दुई पतवारहरू विश्वास र कामहरू हुन् भन्ने भ्रमात्मक शिक्षा सिकाउन ती झूटा शिक्षाहरूलाई पृष्ठभूमि तब तयार भएको हुन्छ। पश्चात्तापबिनाको विश्वास पनि विश्वास हो भन्ने असन्तुलित शिक्षा व्यापक रूपमा मानिएकोले, विश्वासलाई भन्दा कामलाई बढी वा उत्तिकै महत्त्व दिएर आफ्‍नो झूटा शिक्षाहरूको खेती गर्न ती झुटा शिक्षकहरूलाई वातावरण तयार भएको हुन्छ।

त्यसैले सत्य बाइबलीय मुक्तिको सत्यतालाई बलियो गरी पक्रनु अत्यावश्यक भएको हामी देख्दछौं, जुन चाहिँ परमेश्वरतर्फको पश्चात्ताप र हाम्रो प्रभु येशू ख्रीष्टतर्फको विश्वास हो (प्रेरित २०:२१)। पवित्र शास्त्रहरूमुताबिक दुवै पक्षहरू आवश्यक छन्।

मुक्तिको पूर्ण बाइबलीय सन्देश प्रचार गर्नु कति धेरै जरूरी छ—कि पश्चात्ताप र पापहरूको क्षमा उहाँको नाममा हरेक जातिका बीच प्रचार गरिनुपर्छ (लूका २४:४७)। दुवै पक्षहरू सुसमाचारका नभई नहुने पाटाहरू हुन्। वास्तवमा यो हो "पूर्ण सुसमाचार" को माने, न कि पेन्टेकोस्टल अन्यभाषाहरू र ईश्वरीय चङ्गाइ!

मानिसहरूले मुक्ति पाएका र हराएकाहरू बीचको स्पष्ट भिन्नता देख्नु आवश्यक छ। मुक्तिको केही अर्थ छ भन्ने उनीहरूले सुन्न र देख्न आवश्यक छ; यसले भिन्नता ल्याउँछ। प्रभु येशू ख्रीष्टको क्रूस मानिसहरूलाई पाप र अपराधहरूबाट छुटकारा दिनालाई परमेश्वरको साधन थियो कि उहाँले “एउटा विशेष जातिलाई आफ्‍नै निम्ति शुद्ध” पार्न सक्नुभएको होस् भनेर – कुन अर्थमा शुद्ध? उनीहरू “असल-असल कामहरूमा जोशिलो” भएकोमा शुद्ध (तीतस २:१४)। क्रूसले नै भिन्नता ल्याउनुपर्छ।

भिन्नताको रेखा कोर्न, सत्यलाई झूटबाट अलग पार्नलाई सहायता गर्न यो अध्ययन तयार गरिएको छ।