सुसमाचार कसरी प्रस्तुत गर्ने?

यस पृष्ठलाई छाप्नुहोस्

हामी सुसमाचार कसरी प्रस्तुत गरौं?

व्यक्तिगत लाभको आधारमा कि व्यक्तिगत खाँचोको आधारमा?
रोमी १:१८ को एक टिप्पणी

"किनभने सत्यलाई अधर्ममा दबाइराख्‍ने मानिसहरूका सबै अभक्ति र अधर्मको विरोधमा स्वर्गबाट परमेश्वरको परमेश्वरको क्रोध प्रकट भएको छ" (रोमी १:१८)

"परमेश्वरको क्रोध" -- अधिकांश धार्मिक परिवेशहरूमा परमेश्वरको क्रोधको विषयलाई बेवास्ता गरिएको पाइन्छ। परमेश्वरको प्रेमलाई प्रायः उल्लेख गरिए तापनि परमेश्वरको क्रोधको कुरा भने बिरलै गरिन्छ। सुसमाचारलाई प्रस्तुत गर्दा "राम्रो खबर" बताउनु अघि "नराम्रो खबर" बताउनुपर्छ भनी पावल जान्दथे। हामीलाई परमेश्वरको धार्मिकता चाहिएको छ (रोमी १:१७) तर हामीले पाउनु पर्ने त परमेश्वरको क्रोध हो (पद १८)। मुक्ति पाउन तयार हुनु अघि एउटा मान्छेले मुक्तिको निम्ति आफ्नो खाँचो देख्‍नुपर्ने हुन्छ। लुका ५:२७-३२ पढ्नुहोस्। खाँचो नपरेसम्म मान्छे त्यत्तिकै डाक्टरकहाँ जाँदैन। आफूलाई खाँचोमा परेको पापीको रूपमा नदेखेसम्म एउटा मान्छे मुक्तिदाताकहाँ आउँदैन।

"अभक्ति र अधर्म" -- हामी वास्तवमा कहाँसम्म भक्तिहीन र अधर्मी रहेछौं भन्ने कुरा रोमीको पुस्तकको पहिलो तीन अध्यायहरूबाट सिक्न सकिन्छ! हामी परमेश्वरको क्रोधको योग्य छौं भन्ने कुरा यी अध्यायहरूबाट सिक्नेछौं!

परमेश्वरले आफ्नो धार्मिकताको तराजुमा हलुका भेटिने सबै कुरालाई न्याय गर्नुपर्ने हुन्छ र तिनीहरूमाथि आफ्नो क्रोध खन्याउनुपर्ने हुन्छ। परमेश्वरको सिद्ध धार्मिकताको तराजुमा जोखिँदा तपाईं कस्तो भेटिनुहुन्छ -- योग्य कि अयोग्य? १) एक मात्र साँचो धर्मी मानिस येशू ख्रीष्टसित तुलना गरिँदा के तपाईं योग्य भेटिनुहुन्छ? २) परमेश्वरको धर्ममय व्यवस्था (विशेष गरी दस आज्ञा) को तुलनामा के तपाईं योग्य भेटिनुहुन्छ? यी सबै आज्ञाहरूलाई के तपाईंले पूर्ण रूपमा पालन गर्नुभएको छ? यदि हामी परमेश्वरका सामु र आफैसित पनि इमानदार भयौं भने, हामी कुनचाहिँ निष्कर्षमा आउनैपर्ने हुन्छ (रोमी ३:१०)?

टिप्पणी: पावलले कसरी सुसमाचार प्रस्तुत गरे भन्ने कुरामा राम्ररी ध्यान दिनु महत्त्वपूर्ण छ। उनले अधर्मी तथा भक्तिहीनहरूका विरुद्धमा परमेश्वरको क्रोध स्वर्गबाट आउँदै गरेको कुराबाट शुरु गर्दछन्! हामीलाई परमेश्वरको सुसमाचारको कति टड्कारो खाँचो परेको छ भन्ने कुरा सबैले बुझून् भनेर पावलले "राम्रो खबर" प्रस्तुत गर्नु अगाडि "नराम्रो खबर" प्रस्तुत गर्दछन्। सुसमाचार प्रस्तुत गर्ने त्यहाँ मूलतः दुइटा तरिका छन्: १) व्यक्तिगत लाभको आधारमा (सुसमाचारले मलाई के कस्तो लाभ हुन्छ? ख्रीष्टियन हुनुमा के कस्ता फाइदाहरू छन्? के सुसमाचारले मलाई सुख मिल्नेछ? सफलता मिल्नेछ? सन्तुष्टि मिल्नेछ? आदि); २) व्यक्तिगत खाँचोको आधारमा (मानिस पवित्र परमेश्वरको क्रोध र दण्डमुनि असहाय र आशारहित अवस्थामा छ, यसकारण उसलाई मुक्तिको खाँचो छ नत्र भने ऊ अनन्त दण्डमा जानेछ)।

सुसमाचार आज प्रायः व्यक्तिगत लाभको आधारमा प्रस्तुत गरिएको पाइन्छ। त्यसरी सुसमाचार प्रस्तुत गरिएको उदाहरणस्वरूप एउटा पर्चामा लेखिएको लेखिएको कुरालाई हेरौं:

"तपाईं एउटा रमाइलो, स्वतन्त्र र भरिपूर्ण खाले जीवन जिउन चाहनुहुन्छ, होइन र? ठीक छ! म तपाईंजस्तै व्यक्तिसँग कुरा गर्न चाहिरहेको छु। मेरो पनि तपाईंको जस्तै चाहना छ।

तपाईं भन्नुहोला, "अरे, मेरो जस्तै चाहना तपाईंलाई पनि? तपाईं त ख्रीष्टियन भन्ठान्या!"

हो, म ख्रीष्टियन हुँ। तर मान्छेमा हुने आधारभूत इच्छाहरू मसँग पनि छन् -- सन्तुष्टि, सुख, स्वतन्त्रता आदि इत्यादि। अनि यी सबै कुराहरू मैले मेरो सबैभन्दा प्रिय मित्र येशू ख्रीष्टमा प्राप्‍त गरें। मेरो अनुभवमा ख्रीष्टियन हुनु वर्तमानकै लागि लाभदायक कुरा हो। स्वर्ग र नरक छँदै छैनन् भने पनि (हुन त ती दुवै छन्), म त ख्रीष्टियन नै बन्नेथिएँ। किन? किनकि मलाई थाह छ ख्रीष्टियन जीवन सबैभन्दा उत्तम जीवन हो। यो जीवन मात्र जिउन लायक जीवन हो।"

अब यी कुराहरू साँचो हुन् भनेर हामीले स्वीकार त गर्नुपर्छ। सन्तुष्टि, सुख, स्वतन्त्रता तथा अन्य थुप्रै हितकर कुराहरू सबै ख्रीष्ट येशूमै पाइन्छन् र निश्चय पनि ख्रीष्टियन जीवन मात्रै जिउन लायक जीवन हो। तर के हामीले सुसमाचारलाई यो आधारमा प्रस्तुत गर्नु पर्ने हो त? के पावलको तरिका यही थियो? मुक्ति नपाएका धेरै-धेरै मानिसहरू आफूहरू ज्यादै सुखी छौं भन्ने ठान्दछन्। उनीहरू जीवनसित तुलनात्मक हिसाबमा सन्तुष्ट नै हुन्छन्, उनीहरूका काम-कुरा राम्रै चलिरहेका हुन्छन् र आफूले गरिरहेको काम-कुरामा उनीहरू खुशी नै हुन्छन्। आफ्नो जीवन शैलीसित उनीहरू सन्तुष्ट हुन्छन् र उनीहरूलाई ख्रीष्टियन बन्न विवश पार्ने त्यस्तो कुनै कुरा देख्दैनन्। "तिमीलाई यसैमा खुशी लाग्छ भने ख्रीष्टियन हुनु तिम्रो लागि राम्रै कुरा हो", उनीहरू भन्छन्, "तर मलाई ठीकै छ र म जसरी जिइरहेको छु त्यसमा म खुशी नै छु।" उनीहरूले ख्रीष्टको निम्ति आफ्नो खाँचोलाई देख्‍न सकिरहेका छैनन्।

उदाहरण: मानौं कुनै अस्पतालले तपाईंलाई सम्पर्क गर्दै यसरी निम्तो दिए: "के तपाईं भोलि यहाँ आएर शल्यक्रिया गर्न चाहनुहुन्छ? हामी आजकल त्यति व्यस्त नभएको हुनाले हाम्रो स्टाफलाई व्यस्त राख्‍न काम चाहिएको छ। हामी तपाईंलाई चिरफार गर्नेछौं र सबै जाँच गर्नेछौं र फेरि जस्ताको त्यस्तै सिलाइदिनेछौं। तपाईंलाई यसले फाइदा गर्नेछ। चार पाँच दिनपछि आफूलाई गजब भएको तपाईंलाई महसुस हुनेछ! तपाईंलाई स्वास्थ्यलाभ हुनेछ! जीवनमा नपाएको कुरा तपाईंले पाउनुहुनेछ! हामीलाई शल्यक्रिया गर्न मात्र दिनुहोस् र यी सबै कुराले लाभान्वित बन्नुहोस्।" के तपाईं जानुहुन्थ्यो होला? किन जानुहुन्नथ्यो? तर मानौं डाक्टरहरूले तपाईंलाई तपाईंको शरीरभित्र एउटा घातक क्यान्सर फैलिन थालेको छ र त्यसलाई चाँडै काटेर फालिएन भने त्यसले तपाईंलाई मार्नेछ भन्ने कुरा बताए। के अब तपाईं शल्यक्रिया गर्न राजी हुनुहुनेथ्यो? किन?

उनीहरूको ठूलो खाँचो छ भन्ने कुरा मानिसहरूले देख्‍नै पर्छ। ख्रीष्टमा प्रदान गरिएको मुक्तिको कति ठूलो खाँचो उनीहरूलाई छ भन्ने कुरा मानिसहरूले देख्‍नै पर्छ। रोमीको पहिलो तीन अध्यायहरू पढ्नुभएपछि तपाईंले आफ्नो हृदयभित्र एउटा घातक क्यान्सर (पाप) लागेको रहेछ र आफूलाई निको पार्न तपाईंले गर्न सक्ने केही पनि कुरा छैन रहेछ भन्ने कुरा तपाईंले महसुस गर्नुहुनेछ। एउटै उपाय ख्रीष्टमा रहेछ ("जीवन छोटो छ, मरण निश्चित छ, मृत्यु पापले ल्यायो, मुक्ति ख्रीष्टमा छ!")

अर्को एउटा कुरा: यदि मानिसहरू व्यक्तिगत लाभको आधारमा ख्रीष्टकहाँ आए भने उनीहरू गलत कारणले पनि आएका हुन सक्छन्। येशू हामीलाई हाम्रा ________ बाट (मत्ती १:२१) मुक्त गर्न आउनुभएको हो, न कि हाम्रो अशान्ति वा एक्लोपना वा असफल जीवन शैलीबाट। यी अन्य कुराहरू त हृदयभित्रको आधारभूत समस्याको केवल सतही लक्ष्यणहरू मात्र हुन्: पापको कारणले मानिस आफ्नो सृष्टिकर्तासित ठीक सम्बन्धमा छैन। यो आधारभूत समस्याको समाधान भएपछि त्यसभन्दा गौण सतही समस्याहरू पनि समाधान हुनेछन्। दुःखको कुरा, वास्तविक ठूलो समस्या कुनचाहिँ हो भनेर अधिकांश मानिसहरू अनभिज्ञ छन्। जुन कुराको बारेमा उनीहरू सबैभन्दा कम वास्ता गर्छन् त्यही कुराकै बारेमा सबैभन्दा बढी वास्ता गरिनुपर्थ्यो: अर्थात्, पापको समस्याको बारेमा!