विश्वास

यस पृष्ठलाई छाप्नुहोस्

डेविड क्लाउड

पद कण्ठ: यूहन्ना ३:१६; ६:२८-२९; १४:६; प्रेरित १६:३०; एफेसी २:८-९

यी सुरुका दुई पाठहरूमा हामी मुक्तिको सवालमा मानिसको आफ्नो जिम्मेवारी के हो भन्ने विषयमा अध्ययन गर्दैछौं। हाम्रा सामु दुईटा कुरा छन्: पश्चात्ताप र विश्वास। पहिलो पाठमा हामीले पश्चात्तापको बारेमा अध्ययन गर्‍यौं, अब हामी विश्वासको बारेमा अध्ययन गर्नेछौं।

प्रेरित २०:२१

पहिलो पाठमा हामीले जसरी अध्ययन गरेका थियौं, पावलले आफ्ना प्रचारहरूमा मानिसहरूलाई परमेश्वरतर्फ मन फिराउनुपर्छ र येशू ख्रीष्टमाथि विश्वास गर्नुपर्छ भनेर आज्ञा गर्दथे। पापीले परमेश्वरतर्फ पश्चात्ताप गर्नुपर्छ किनकि उसले आफ्नो स्वेच्छाचारी जीवन र अनाज्ञाकारीताद्वारा आघात पुर्‍याएको परमेश्वरलाई हो। पापीले आफ्नो विश्वास येशूमाथि राख्‍‍नुपर्छ किनकि उहाँ नै हाम्रा पापका लागि मर्नुभएको हो।

मुक्ति दिलाउने खालको विश्वासका बारेमा निम्न तीनओटा महत्त्वपूर्ण प्रश्‍नहरूलाई विचार गर्नुहोस्:

मुक्ति दिलाउने खालको विश्वास कस्तो हुन्छ?

मुक्ति दिलाउने विश्वास भनेको केही ऐतिहासिक तथ्यहरूलाई दिमागले विश्वास गर्नु मात्र होइन भन्ने कुरा बुझ्नु अत्यावश्यक छ। जस्तै, पृथ्वीनारायण शाह एकिकृत नेपालका पहिलो राजा थिए वा महात्मा गान्धी भारतका नेता थिए वा दोस्रो विश्वयुद्धको समयमा जर्मनीका शासक हिटलर थिए भनेर हामी विश्वास त गर्छौं। तर यस्ता विश्वासहरूले जीवन परिवर्तन गराउँदैनन्। त्यही किसिमले येशू ख्रीष्ट पनि धेरै वर्ष अघि संसारमा हुनुहुन्थ्यो र उहाँले थुप्रै अचम्मका काम गर्नुभयो भनेर कतिले विश्वास त गर्छन् तर त्यस्तो विश्वासले उनीहरूको जीवनलाई परिवर्तन गराउँदैन। मुक्ति दिलाउने खालको विश्वास त्योभन्दा बेग्लै हुन्छ।

मुक्ति दिलाउने विश्वास एकचित्त विश्वास हो

येशू नै एक मात्र प्रभु र मुक्तिदाता हुनुहुन्छ भनेर बाइबलले बताउँछ: यूहन्ना १४:६, प्रेरित ४:१२ मा हेर्नुहोस्। मुक्ति पाउनलाई बाइबलले बताएजस्तै मैले येशू ख्रीष्ट नै एक मात्र प्रभु र मुक्तिदाता हुनुहुन्छ भनेर विश्वास गर्नैपर्छ। कतिले आफूले मानेका देवताका साथसाथै येशूलाई पनि राख्‍न खोज्छन्। उनीहरू अन्य प्रभुहरूलाई पनि विश्वास गर्दै येशूमा समेत विश्वास गर्न चाहन्छन्। यस्तो प्रकारले कसैले मुक्ति पाउन सक्दैन।

मुक्ति दिलाउने विश्वास भरोसापूर्ण विश्वास हो

बाइबलमा "विश्वास" शब्दको माने भरोसा गर्नु, भर पर्नु, कसैमा आश्रित बन्नु भन्ने हुन्छ। मुक्ति पाउनलाई निजले पूर्ण रूपले आफ्नो प्राणका लागि र आफ्नो अनन्त भविष्यका लागि प्रभु येशूमा आश्रित बन्नैपर्छ। निजले पापहरूको क्षमा पाउनका लागि र परमेश्वरका सामु धर्मी ठहराइनका लागि र स्वर्गमा पुर्‍याइनका लागि केवल येशूमा भर पर्नुपर्छ।

येशूमा भरोसा गर्नु भनेको नदी तर्नलाई डुङ्गामा भरोसा गर्नु जस्तै हो। डुङ्गालाई राम्ररी अवलोकन गर्दैमा तरिँदैन, त्यसको तारिफ गर्दैमा तरिँदैन। तपाईं डुङ्गामा नचढी हुन्न अनि सुरक्षासाथ पारीपट्टी पुर्‍याइनलाई त्यसमाथि भरोसा नगरी हुन्न। तपाईंका पापहरू हरण गरिन तपाईंले येशूमा विश्वास गर्नुभएको छ कि छैन? कतिजनाले येशूमा विश्वास गरेको छु भन्छन् तर पनि उनीहरू पहिलेका धार्मिक रीतिहरू गर्न छाड्दैनन्। उनीहरूले येशूमा खास भरोसा गरिरहेका छैनन् भन्ने कुराको प्रमाण दिँदैछन्। मुक्ति पाउन कुनै पनि त्यस्ता व्यर्थका रीतिहरू चाहिँदैनन् भन्ने कुरा येशूमा भरोसा गरेपछि हामीले महसुस गरेका हुन्छौं।

मुक्ति दिलाउने विश्वास पक्का विश्वास हो

मुक्ति पाउनलाई येशू नै प्रभु र मुक्तिदाता हुनुहुन्छ र उहाँले आफ्ना प्रतिज्ञाहरू मेरा निम्ति पूरा गर्नुहुनेछ भनेर म पूर्ण रूपले विश्वस्त हुनैपर्छ। साँचो मुक्ति भनेको "म-निश्चित-छु" भन्ने खालको विश्वास हो। येशूका सुरुका चेलाहरूको विश्वास यस्तै किसिमको थियो। यूहन्ना ६:६६-६९ ना पत्रुसको गवाही कस्तो थियो हेर्नुहोस्। साँचो रूपमा मुक्ति पाएको व्यक्तिको गवाही यस्तो हुन्छ। हामी पक्का हुन सक्ने कारण परमेश्वरका प्रतिज्ञाहरूले गर्दा नै हो (१ यूहन्ना ५:११-१३)। तर अर्कातिर "मैले मुक्ति पाउँला कि भन्ने आशा गरेको छु" भन्ने "विश्वास" गरेकाहरूको कुरालाई तुलना गर्नुहोस्; उनीहरूको भनाइको तात्पर्य यो हो कि उनीहरू पक्का छैनन्। एकपटक मैले एकजना नेपालीलाई भेटेँ जसले मलाई आफूलाई येशूमा ९९% विश्वास लागेको कुरा बताए। तर कुरा के भने, त्यतिले पुग्दैन! डुङ्गाको उदाहरणलाई विचार गर्नुहोस्: तपाईंले आफ्नो शरीरको १०० प्रतिशत वजनलाई नै डुङ्गामा सुम्पनुपर्छ, ९९ प्रतिशत सुम्पन्छु भन्न मिल्दैन!।

मुक्ति दिलाउने विश्वास विशुद्ध विश्वास हो

मुक्ति दिलाउने विश्वासलाई मानवीय कर्मसँग मिसाउन सकिन्न। एफसी २:८-१० लाई हेर्नुहोस्। बाइबलको सबैभन्दा महत्त्वपूर्ण खण्डहरूमध्येमा पर्छ यो। यसले सिकाउँछ, ख्रीष्टबाटको मुक्तिलाई एक व्यक्तिले सित्तैंको उपहारको रूपमा लिनुपर्छ, असल काम बापत पाइने इनामको रूपमा होइन। अनि परमेश्वरबाटको सित्तैंको मुक्तिको उपहारलाई ग्रहण गरेपछि हामी उहाँलाई कृतज्ञ हृदयले सेवा गर्दछौं। मुक्ति पाउनलाई म उहाँको सेवा गर्दिनँ; होइन, बरु मैले मुक्ति पाइसकेको हुनाले म उहाँको सेवा गर्दछु। उपहार त्यस्तो चीज हो जुनचाहिँ कसैले किन्छ र मलाई सित्तैंमा दिन्छ। हाम्रो मुक्ति किनिदिनुहुने येशू हुनुहुन्छ जसले त्यसका लागि आफ्नै मृत्युद्वारा, रगत बहाईकन मूल्य तिरिदिनुभयो। तपाईं येशू ख्रीष्टमा पाइने परमेश्वरबाटको सित्तैंको मुक्तिमा आज रमाहट गर्दै जिउँदैहुनुहुन्छ कि तपाईं अझै पनि मुक्तिलाई कमाउन खोज्दै हुनुहुन्छ?

मुक्ति दिलाउने विश्वास ग्रहण गर्ने विश्वास हो

मुक्ति दिलाउने विश्वासले येशूलाई प्रभु र मुक्तिदाताको रूपमा ग्रहण गर्दछ। मुक्ति दिलाउने विश्वासले येशूलाई केवल ऐतिहासिक व्यक्तिको रूपमा विश्वास गर्ने काम मात्र गर्दैन; त्यसले उहाँलाई पुकार्दछ र मुक्तिका निम्ति उहाँलाई विन्ती गर्दछ। यूहन्ना १:११-१२ र रोमी १०:१३ लाई हेर्नुहोस्। मुक्ति ख्रीष्टसितको एउटा व्यक्तिगत सम्बन्ध हो।

ख्रीष्टियन जीवनमा असल-असल कामहरूको के कस्तो स्थान छ त?

के ख्रीष्टमा विश्वास गर्नु भनेको मेरो ख्रीष्टियन जीवनमा मैले कुनै पनि असल-असल कामहरू गर्नु पर्दैन भन्ने हो? असल-असल कामहरूको के कस्तो स्थान छ?

फेरि हामी एफेसी २:८-१० लाई विचार गरौं।

हामीले आज्ञाकारी तथा पवित्र जीवनहरू व्यतित गरेको परमेश्वर चाहनुहुन्छ, तर यो चाहिँ मुक्ति पाइसकेपछि आउने कुरा हो। असल कामहरू मुक्तिका प्रतिफल हुन्, कारक होइनन्। असल कामहरू विश्वासीमा पवित्र आत्माद्वारा आउने कुरा हुन्।

एफेसीको पत्रमा विश्वासीले पालन गर्नुपर्ने झण्डै ९० ओटा आज्ञाहरू पाइन्छन्। यसमा पर्दछन् नम्र हुनु (एफेसी ४:१), सहनशील हुनु (एफसी ४:१), झूटलाई फाल्नु (एफेसी ४:२५), रिसलाई हटाउनु (एफेसी ४:२६), नचोर्नु (एफेसी ४:२८), कुनै कुवचन नबोल्नु (एफेसी ४:२९), दयालु हुनु (एफेसी ४:३२), क्षमाशील हुनु (एफेसी ४:३२), व्यभिचार र अशुद्धता हटाउनु (एफेसी ५:३), अन्धकारका कामहरूसँग कुनै सङ्गती नगर्नु (एफेसी ५:११), समयलाई खेर जान नदिनु (एफेसी ५:१६), परमेश्वरको इच्छा बुझ्नु (एफेसी ५:१७), दाखमद्यले नमातिनु (एफेसी ५:१८), पवित्र आत्माले भरपूर हुनु (एफेसी ५:१८), पत्‍नीहरू आफ्ना पतिहरूका अधीनमा सुम्पिइनु (एफेसी ५:२२), पतिहरू आफ्ना पत्‍नीहरूलाई प्रेम गर्नु (एफेसी ५:२५), नानीहरू आफ्ना बाबुआमाको आज्ञाकारी हुनु (एफेसी ६:१-३), बाबुआमाहरूले आफ्ना नानीहरूलाई तालिम दिनु र उनीहरूलाई रिस नउठाउनु (एफेसी ६:४), नोकरहरू आफ्ना मालिकप्रति आज्ञाकारी हुनु (एफेसी ६:५) र मालिकहरू आफ्ना नोकरहरूप्रति न्यायोचित व्यवहार गर्नु (एफेसी ६:९)।

विश्वासीहरूले परमेश्वरको इच्छाअनुसार आज्ञापालन गर्नुपर्ने केही असल कामहरू यी नै हुन् तर हामीले पहिले मुक्ति नपाएसम्म यी कुनै पनि कामहरू गर्न सक्दैनौं। हामी पहिला येशू ख्रीष्टद्वारा परमेश्वरसित मिलापमा आउनुपर्छ, हामीले हाम्रा पापहरूका क्षमा पाउनुपर्छ र पवित्र आत्मा हामीभित्र अन्तरवास गर्न आउनुपर्छ। त्यसपछि मात्र हामीले परमेश्वरलाई ग्रहणयोग्य तवरले सेवा गर्न सक्छौं।

के मुक्ति भनेको क्रमिक ढाँचाले प्राप्‍त हुने धार्मिक कुरो हो?

मुक्ति भनेको क्रमिक ढाँचामा प्राप्‍त हुने कुरा हो भन्ने सिद्धान्त एउटा व्यापक झूटा शिक्षा हो, तर बाइबलले बताउँछ यो त एउटा आश्चर्यकर्मरूपी परिवर्तनको अनुभव हो। येशूले सिकाउनुभएको कुरा यही थियो। हेर्नुहोस्, मत्ती १८:३ र यूहन्ना ३:३।

नयाँ जन्मको परिवर्तन एउटा लामो प्रक्रिया होइन; यो अलौकिक हुन्छ, यो जीवन-परिवर्तन गराउने घटना हो! अनि जुन घडी एउटा पापीले आफ्नो पापदेखि पश्चात्ताप गर्छ र येशूलाई आफ्नो एकमात्र मुक्तिदाताको रूपमा विश्वास गर्दछ त्यही नै घडी उसमा यो घटना घट्छ।

बाइबलमा हामीले यही कुरा पाउँछौं। प्रेरितको पुस्तकमा जति पनि व्यक्तिहरूले मुक्ति पाएका थिए उनीहरूले ख्रीष्टलाई ग्रहण गरेकै दिनमा मुक्ति पाएका थिए। यसमा पर्दछन्, पेन्टेकोस्टको दिनमा विश्वास गर्ने यहूदीहरू (प्रेरित २:४१), इथियोपियाइ नपुंसक (प्रेरित ८:३६-३९), कर्नेलियस र उनका घराना (प्रेरित १०:४४-४८), लिडिया (प्रेरित १६:१४-१५), र फिलिप्पीमा झ्यालखानाको हाकिम र उनका घराना (प्रेरित १६:३०-३४)।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course - 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो "एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू" शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9851-055734, 9818-399206; मूल्य: नेरू ३०० मात्र।