Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

उपवास

यस पृष्ठलाई छाप्नुहोस्

डेविड क्लाउड

कण्ठ गर्नुपर्ने पदहरू: मत्ती ६:१६-१८; १७:२१

बाइबलीय उपवास भनेको कुनै निश्चित आत्मिक समस्या वा खाँचोमाथि विशेष ध्यान दिन सक्नलाई खानेकुरा र शायद अन्य न्यायोचित सुखसुविधाबाट समेत आफूलाई बञ्चित गर्नु भन्ने बुझिन्छ। यसको अभ्यास पापको स्वीकार र प्रार्थनाको साथसाथै गरिन्छ।

उपवास सम्बन्धी चेतावनीहरू

१) बाइबलीय उपवास देखाउनलाई गरिने कुरा होइन (मत्ती ६:१६-१८)। कपटपूर्ण धर्मलाई परमेश्वर घृणा गर्नुहुन्छ जुन कुरा भनेको परमेश्वरको सामु साँचो पवित्रता रहित भएर पनि मानिसका सामु पवित्र देखा पर्ने मानिसको प्रयास हो। यस खण्डमा मानिसहरूका सामु आत्मिक देखा पर्न खोज्नलाई गरिने खालको उपवासलाई ख्रीष्टले हप्काउँदै हुनुहुन्छ। सही ढङ्गले गरिने खालको उपवासको अभ्यासकै उहाँले उपहास गर्नुभएको चाहिँ होइन। वास्तवमा, आफ्‍ना चेलाहरू उपवास बस्छन् भन्ने कुरालाई उहाँले त्यत्तिकै मानिलिनुभएको देखिन्छ। उहाँले "यदि तिमीहरू उपवास बस्दछौ" भन्नुभएन, बरु "जब तिमीहरू उपवास बस्दछौ" भन्नुभयो। अनि उहाँले बाइबलीय उपवास बस्नेहरूले परमेश्वर पिताबाट खुल्लमखुल्ला इनाम पाउनेछन् भन्ने सुन्दर र निश्चित प्रतिज्ञा दिनुभयो।

२) बाइबलीय उपवास एउटा रित्तो धार्मिक रीति होइन (लूका १८:१२)। यस पदको अभिव्यक्ति चाहिँ एउटा फरिसीको हो जसले आफूलाई परमेश्वरको सामु धर्मी ठहराउनलाई धर्मको अभ्यास गर्दैथियो। नियमित समयावधिहरूमा ऊ उपवास बस्नेगर्थ्यो। तर, बाइबलमा कतैपनि त्यस किसिमको अभ्यास गर्नुपर्छ भनेर सिकाइएको छैन। उपवास भनेको हप्ता-हप्‍तामा, वा महिना-महिनामा वा प्रभु-भोजको अगाडि, आदि बसिने एउटा रीति होइन। उपवास वास्तवमा कुनै विशेष खाँचो आइपर्दा र पवित्र आत्माले अगुवाइ गर्नुहुँदा अभ्यास गरिने कुरा हो।

३) बाइबलीय उपवास शारीरिक स्वास्थ्यको लागि होइन। विभिन्न किसिमका उपवासहरूले स्वास्थ्यको उन्नति गर्ला वा नगर्ला, तर बाइबलमा उपवास बस्नलाई यस्तो उद्देश्य अघि सारिएको कहिल्यै छैन। शारीरिक फाइदाको लागि उपवासको महत्त्वलाई जोड दिने ख्रीष्टिय किताबहरू छ्यास्छ्यासती भेटिन्छन्, तर यो बाइबलीय उपवास होइन। उपवास स्वास्थ्यको लागि राम्रो कुरा हो या होइन हामी भन्न सक्दैनौं, अनि स्वास्थ्यको लागि उपवास बस्नु गलत हो वा ठीक हो पनि भन्न सक्दैनौं। हामी केवल यति भन्दछौं कि बाइबलले उपवासलाई स्वास्थ्यको सम्बन्धलाई जोडेर बताएको छैन।

४) बाइबलीय उपवास एउटा रित्तो सन्न्यासी अभ्यास होइन (कलस्सी २:२०-२३)। उपवासले पवित्र बनिन्छ भनेर विश्वास गर्ने कतिपय झूटा शिक्षकहरूले पावलको समयमा उपवासको अभ्यास गर्दैथिए। एउटा नियमावली ("नछोओ, नचाख, हातमा नलेओ") लाई पालन गरेर मुक्ति र पवित्रता प्राप्‍त गरिन्छ भनेर उनीहरूले सिकाउँथे। रोमन क्याथोलिक सन्न्यास प्रणाली (Roman Catholic monasticism) ले यस भ्रमलाई अँगालेको हो। ती क्याथोलिक सन्न्यासीहरू स्वर्गमा पुग्ने "सिँढी चढ्ने" र परमेश्वरको नजिक पुग्ने लक्ष्यमा समाजबाट बिलकुलै पृथक बसे र आफैलाई पिट्ने, भोकभोकै बस्ने, ननुहाउने र लुगै नफेर्ने जस्ता अरू थुप्रै कुराहरू गरे। तर यो एक झूटा सुसमाचार हो। मुक्ति परमेश्वरको अनुग्रहले पाइने दामबिनाको वरदान हो र पवित्रता र आत्मिक विजय सन्न्यासी अभ्यासबाट नभएर विश्वासीभित्र अन्तरवास गर्नुहुने पवित्र आत्माको सामर्थ्यमा सरल नयाँ नियम विश्वासप्रतिको आज्ञापलानद्वारा हो। उपवास ख्रीष्टिय जीवन र सेवकाइको महत्त्वपूर्ण भाग हो, तर आत्मिकता भन्ने कुरा शरीरलाई कष्ट दिएर र विभिन्न रीति तथा खानपीन सम्बन्धी नियमहरू पालन गरेर हासिल गरिन्छ भनेर सोच्नदेखि हामी होशियार बस्नुपर्छ। साँचो आत्मिकता भनेको येशू ख्रीष्टसितको ठीक सम्बन्ध र सङ्गति हो।

५) उपवासले प्रार्थनाहरूको जवाफ मिल्नेछ भनेर ग्यारेन्टी दिन्छ भन्ने छैन। २ शमूएल १२ मा दाऊदले आफ्‍नो बच्चाको ज्यान जोगाइयोस् भनेर परमेश्वसित उपवाससहित प्रार्थना गरे जुन बच्चा बातशेबासितको उसको व्यभिचारको सम्बन्धबाट गर्भाधारण भएको थियो। उक्त अवसरमा परमेश्वरले दाऊदको उपवासलाई आदर गर्नुभएन। यसले हामीलाई यो सम्झाउँछ कि उपवास आत्मिक लडाइँमा एउटा महत्त्वपूर्ण अभ्यास भए तापनि त्यसले परमेश्वरबाट हामीले चाहिरहेको कुरा प्राप्‍त नै गर्छौं भन्ने ग्यारेन्टी दिँदैन। उपवाससहितको प्रार्थनाले धेरैपटक खोजिरहेकै जवाफ प्राप्‍त गराउँछ तर त्यसको ग्यारेन्टी भने छैन। प्रार्थनाको जवाफ दिने कुरामा परमेश्वर सदैव सार्वभौम हुनुहुन्छ र हामी सधैं उहाँको इच्छामा सुम्पिएको हुनुपर्छ।

६) उपवास व्यवस्थाजस्तो बाध्यताको कुरा होइन तर स्वतन्त्रताको। यो व्यक्तिगत कुरा हो। ख्रीष्टिय जीवन र सेवकाइमा उपवास महत्त्वपूर्ण र उपयोगी कुरा हो तर यो आज्ञा गर्न सकिने कुरा होइन र अरूहरूको आत्मिक अवस्थाको न्याय गर्नलाई प्रयोग गरिने कुरा पनि होइन।

उपवासको महत्त्व

पुरानो र नयाँ नियमका केही सकारात्मक उल्लेखहरूबाट उपवासको महत्त्व देख्‍न सकिन्छ। पवित्रशास्त्रमा उपवासको बारेमा ३० भन्दा बढी सकारात्मक उदाहरणहरू, आज्ञाहरू र निर्देशनहरू भेटिन्छन्।

न्यायकर्ता २०:२६--युद्धमा विजय हुन इस्राएलीहरू उपवास बसे
१ शमूएल १:६-७--एउटा छोरा पाउन हन्ना उपवास बसिन्
१ शमूएल ७:६--पश्चात्ताप गर्दा इस्राएलीहरू उपवास बसे
१ शमूएल ३१:१३--याबेश-गिलादका मानिसहरू शाऊलको निम्ति शोक मनाउँदा उपवास बसे
२ शमूएल १:१२--दाऊद र उनका मानिसहरू शाऊल, योनातान र मारिएका इस्राएलीहरूका निम्ति शोक मनाउँदा उपवास बसे
२ शमूएल १२--दाऊद आफ्‍नो बच्चाको निम्ति कृपा माग्दै उपवास बसे
१ राजा २१:२७--आहाब कृपा पाउन उपवास बसे
२ कोरिन्थी २०:३--यहोशापात र इस्राएल सहायता र सुरक्षा पाउन उपवास बसे
एज्रा ८:२१-२३--एज्रा र यहूदीहरू सहायता र सुरक्षा पाउन उपवास बसे
नहेम्याह १:४--नहेम्याह शोक मनाउँदा र सहायता चाहँदा उपवास बसे
नहेम्याह ९:१-२--इस्राएलीहरू शोक मनाउँदा र पश्चात्ताप गर्दा उपवास बसे
एस्तर ४:१६--एस्तर र उनका साथीहरू विजय पाउन उपवास बसे
एस्तर ९:३--विजयको पछाडि उपवासले भूमिका खेलेको थियो भनेर यहाँ उल्लेख गरिएको छ भजनसङ्ग्रह ३५:१३-१४--प्रार्थना र शोकसहित उपवास
भजनसङ्ग्रह ६९:१०-११--प्रार्थना र शोकसहित उपवास
यशैया ५८:६-८--परमेश्वरलाई खुशी पार्ने उपवास
यर्मिया ३६:९--इस्राएलीहरू कृपा पाउन उपवास बसे
योएल १:१४; २:१२,१५--परमेश्वरले उपवास बस्न र पश्चात्ताप गर्न आज्ञा गर्नुभयो
योना ३:५--कृपा पाउन निनवेकाहरू पश्चात्ताप गरे र उपवास बसे
दानियल ९:३--दानियल बुद्धिका निम्ति उपवास बसे
मत्ती ४:२--उजाडस्थानमा परीक्षा गरिँदा येशू उपवास बस्नुभयो
मत्ती ६:१७-१८--पिताले उपवासमाथि आशिष दिनुहुन्छ भनेर येशूले प्रतिज्ञा गर्नुभयो
मत्ती १७:२१--कतिपय शैतानिक किल्लाहरू भत्काउनलाई उपवास आवश्यक पर्छ
मर्कूस ९:२९--शैतानिक शक्तिहरूलाई जित्नलाई उपवास आवश्यक पर्छ
लूका २:३७--हन्नाले परमेश्वरको सेवा गर्ने क्रममा उपवास त्यसको एक भाग थियो
प्रेरित १३:२--एन्टिओकका सेवकहरूको सेवकाइको क्रममा उपवास त्यसको एक भाग थियो
प्रेरित १३:३--नियुक्ति कार्य उपवाससहित गरिन्थ्यो
प्रेरित १४:२३--नियुक्ति कार्य उपवाससहित गरिन्थ्यो
१ कोरिन्थी ७:५--वैवाहिक सम्बन्धबाट अलग रहनलाई एक मात्र सही कारण उपवास र प्रार्थना हो
२ कोरिन्थी ६:५--आफूलाई येशू ख्रीष्टको सेवकको रूपमा प्रमाणित गर्ने पावलको एउटा तरिका उपवास थियो
२ कोरिन्थी ११:२७--पावल बारम्बार उपवास बस्थे

उपवास सम्बन्धी उपर्युक्त उदाहरण तथा निर्देशनहरूलाई हलका सम्झन मिल्दैन। पवित्र शास्त्रका उदाहरणहरू तिनका आज्ञाहरू जत्तिकै महत्त्वपूर्ण हुन्छन् भनिएको छ -- १ कोरिन्थी १०:११; रोमी १५:४। प्रभु येशू ख्रीष्ट हाम्रो नमुना हुनुहुन्छ (१ पत्रुस १:२१), र उजाडस्थानको परीक्षाको घडीमा उहाँले बस्नुभएको उपवास हाम्रो निम्ति नमुना हो जसरी गेत्सेमनीमा उहाँका परीक्षाका घडीका प्रार्थनाहरू हाम्रा निम्ति नमुना हुन्। साथै पावल प्रेरितको अनुसरण गरिनुपर्छ भनेर हामीलाई बताइएको छ (फिलिप्पी ३:१७; ४:९) र पावलले हाम्रा सामु बारम्बार उपवास बस्ने नमुना छोडेका छन् (२ कोरिन्थी ११:२७)।

उपवासको प्रमुख उद्देश्य

उपवास आत्मिक युद्धको एक अनिवार्य अङ्ग हो भनेर प्रभु येशूले बताउनुभयो, अनि शैतानिक किल्लाहरूको विरुद्धमा युद्ध गर्नेहरूलाई यो कुरा वास्तविक हो भनेर थाह छ (मत्ती १७:१८-२१)! साँच्ची नै त्यहाँ त्यस्ता शैतानिक किल्लाहरू छन् जसलाई प्रार्थना र उपवास बिना कुनै पनि कुराद्वारा जित्न सकिन्न।

हामी उपवास बस्नुपर्ने केही अवसरहरू के‍-के हुन्?

शैतानिक किल्लाहरूमाथि विजय हुनलाई बाहेक निम्न अवसरहरूले पनि उपवासको माग गर्दछन्:

  1. बेसरी परीक्षित हुँदा उपवास बस्नुहोस् (मत्ती ४:२)।
  2. बुद्धिको उत्कट चाहना हुँदा उपवास बस्नुहोस् (दानियल ९:३)।
  3. परमेश्वरको सहायता र सुरक्षाको खाँचो पर्दा उपवास बस्नुहोस् (एज्रा ८:२१-२३; २ इतिहास २०:३; यर्मिया ३६:९)।
  4. हेर्दा असम्भव देखिने परिस्थितिहरूमाथि विजय चाहँदा उपवास बस्नुहोस् (एस्तर ४:१०-१७; ९:३१; नहेम्याह १:४)।
  5. पश्चात्ताप, पाप‍-स्वीकार र पुनर्जागरणका विशेष समयहरूमा उपवास बस्नुहोस् (योएल १:१४; २:१२; २:१५; नहेम्याह ९:१-२)।
  6. नयाँ सेवकाइको प्रारम्भ गर्दा र परमेश्वरको वचन घोषणा गर्न र आत्मिक शत्रुहरूसँग युद्ध गर्न प्रस्थान गर्दा उपवास बस्नुहोस् (प्रेरित १३:२-३; १४:२३)।
  7. आत्मिक सेवकाइमा लागिपर्दा उपवास बस्नुहोस् (२ कोरिन्थी ६:५; ११:२७)।

उपवास सम्बन्धी एउटा उत्साहपूर्ण प्रतिज्ञा (मत्ती ६:१७-१८)

प्रभु येशू ख्रीष्टले उपवास सम्बन्धी एउटा निश्चित प्रतिज्ञा दिनुभयो। ठीक तरिकामा ठीक कारणले कसैले उपवास बस्दा--"गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई खुल्लमखुल्ला इनाम दिनुहुनेछ।" यो प्रतिज्ञा बाइबलमा भएका सबभन्दा सुन्दर प्रतिज्ञाहरूमध्ये एक हो र यसलाई सजिलै बिदा गर्न सकिन्न। यदि उपवास महत्त्वपूर्ण कुरा नभएको भए परमेश्वरले यस्तो प्रतिज्ञा गर्नुहुने थिएन। ख्रीष्टले सही किसिमको उपवास बस्ने कामलाई कहिल्यै निरुत्साहित पार्नुभएन। गलत अभ्यासको उहाँले दोष देखाउनुभयो र त्यसलाई सच्च्याउनुभयो तर आत्मिक उपवासलाई उहाँले कहिल्यै निरुत्साहित पार्नुभएन। भन्नुपर्दा, उहाँले आफ्‍ना चेलाहरूले उपवास बस्छन् भन्ने कुरालाई त्यत्तिकै मानिलिनुभएको छ।

परमेश्वरले किन उपवासको माग गर्नुहुन्छ?

यस प्रश्‍नलाई हामी पूर्णरूपमा जवाफ दिन शायद सक्दैनौं, तर उपवासले हृदयको गम्भीरतालाई प्रमाणित गर्दछ भन्ने कुरा चाहिँ हामी जान्दछौं (हिब्रू ११:६)।

परमेश्वरले मानिसका हृदयहरू देख्नुहुन्छ तर बाइबलले भन्दछ उहाँ हृदयको चाहनाको खुल्ला प्रमाणको माग गर्नुहुन्छ -- योएल २:१२, ""

यो कुरा अब्राहामले इसाहकलाई बलि चढाएको कुरामा देखिन्छ। अब्राहामले आज्ञा पालन गर्नेछ र आफ्‍नो प्रिय छोरालाई चढाउनेछ भनेर परमेश्वर जान्नुहुन्थ्यो, तर अब्राहामले वास्तवमै उक्त कार्य गरेर देखाएको परमेश्वर चाहनुहुन्थ्यो। इसाहकलाई बलि चढाउन भनी अब्राहामले छुरी उठाइसकेपछि मात्र परमेश्वरले भन्नुभयो, "त्यस केटामाथि आफ्‍नो हात नबढाऊ, र त्यसलाई केही नगर; किनकि अब म जान्दछु - तिमी परमेश्वरको डर मान्दा रहेछौ, किनभने तिम्रो छोरालाई, तिम्रो एकमात्र छोरालाई पनि तिमीले मबाट रोकेर राखेका छैनौ" (उत्पत्ति २२:१२)।

प्रार्थनाका विषयहरूमा परमेश्वरप्रतिको हाम्रो हृदयको उत्कटता र इमानदारीता देखिने एउटा प्रमाण उपवास हो। उपवास जस्ता कुराहरू आवश्यक छैनन् किनकि परमेश्वरले हाम्रो हृदय जान्नुहुन्छ भनेर हामी भनौंला तर अब्राहाम र उनको छोराको घटना जस्ता उदाहरणहरूले परमेश्वर हाम्रो विश्वास र उत्कटताको प्रमाण माग्नुहुन्छ भन्ने देखाइरहेका छन्।

बाइबलीय उपवास कति लामो हुन्छ?

बाइबलले उपवास बस्नलाई कुनै समय अवधि तोकेको छैन। दानियलले २१ दिनसम्म उपवास बसे। एस्तर र मर्दकै ३ दिन ३ रात उपवास बसे। प्रभु येशू ख्रीष्ट उजाडस्थानमा ४० दिनसम्म उपवास बस्नुभयो। तर मानिसहरूले कति दिन उपवास बसे भनेर प्रायः बाइबलले बताउँदैन। जस्तै, यरूशलेमसम्मको यात्रा शुरु गर्न अगाडि एज्राले कति समय उपवास बसे भनेर हामीलाई बताइएको छैन (एज्रा ८:२१-२३)।

उपवास, पवित्र आत्माको अगुवाइमा गरिने व्यक्तिगत स्वतन्त्रताको विषय हो। त्यो एक वा एकभन्दा बढी छाकको उपवास हुन सक्छ जुन चाहिँ उक्त घडीको खाँचो र परमेश्वरको अगुवाइबमोजिम गर्न सकिन्छ। रोमी १४ ले यस किसिमको कुराको गरिरहेको छ जहाँ भनिएको छ, "कसैले एउटा दिन अर्को दिनभन्दा ठूलो मान्दछ; अर्कोले सबै दिन एकनास ठान्दछ। हरेक आफ्‍नै मनमा पूरा निश्चित होस्" (रोमी १४:५)।

बाइबलीय उपवास के हो?

बाइबलीय उपवासमा निम्न आधारभूत तत्त्वहरू हुन्छन्:

  1. खानेकुरा तथा न्यायोचित शारीरिक सुखविलासका कुराहरूबाट अलग रहनु (मत्ती ४:१-२; १ कोरिन्थी ७:५)।
  2. प्रार्थना (मत्ती १७:२१)। बाइबलीय उपवास जहिले पनि प्रार्थना र परमेश्वरसितको सङ्गतिलाई बढी ध्यान दिने कामसित जोडिएको छ। प्रार्थनाबिनाको उपवास बाइबलीय उपवास होइन।
  3. पापहरूको स्वीकार (दानियल ९:३-६; पूरै अध्याय हेर्नुहोस्)। उपवासका बाइबलीय उदाहरणहरू प्रायः विशेष पश्चात्ताप र पाप स्वीकारका समयहरूसित सम्बद्ध छन्।
  4. संसारका दुष्ट कुराहरूदेखि अलग रहनु र परमेश्वरको नजिक जानु (याकूब ४:४-१०)। शैतानको सामना गर्ने काम यस खण्डको सन्दर्भ हो। यहाँ आत्मिक युद्धको कुरा गरिँदैछ जो नै उपवासको मुख्य उद्देश्य हो। शैतानलाई जित्न विश्वासीले आफूलाई दुष्टताबाट शुद्ध पार्नुपर्छ र ऊ परमेश्वरको नजिक जानुपर्छ।

उपवास बस्नलाई बाइबलले कडा वा अलचिलो नियमहरू तोकेको छैन। दानियलको २१ दिनको उपवासमा हामीलाई बताइएको छ, "पूरा तीन हप्ता पूरा नहोउन्जेल मैले न स्वादिष्ट भोजन खाएँ, न मासु; अनि दाखमद्य मेरो मुखमा पसेन, अनि मैले आफूमाथि तेल लगाउँदै लगाइनँ" (दानियल १०:३)। यसको मतलब दानियलले केही न केही त खाएको बुझिन्छ, तर स्वादिष्ट भोजन खानदेखि भने उनी अलग रहे।

परमेश्वरले उपवास सम्बन्धी निश्चित निर्देशनहरू नतोक्नुभएको हुनाले, यसको अभ्यास एक व्यक्ति र प्रभुको बीचको व्यक्तिगत मामिला हुनुपर्छ। जस्तै, बच्चाको आमाले पटक्कै खान छोड्नु बुद्धिमानी हुँदैन किनकि तिनी मात्र नभई तिनको शिशु पनि उक्त खानेकुरामा निर्भर रहेको हुन्छ। मधुमेह जस्ता स्वास्थ्य समस्या भएकाहरू उपवास सम्बन्धी होशियार हुनुपर्छ। परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ, "म तिमीलाई शिक्षा दिनेछु; अनि तिमीले कुन मार्गमा चल्नुपर्ने हो, सो तिमीलाई सिकाउनेछु; म मेरो आँखाले तिमीलाई अगुवाइ गर्नेछु" (भजनसङ्ग्रह ३२:८)। यो प्रतिज्ञाले उपवासलाई पनि समेट्छ। परमेश्वरले नै मलाई कहिले उपवास बस्ने, कति लामो बस्ने र कुन-कुन कुरादेखि अलग बस्ने भनेर सिकाउनुहुनेछ।

उपवास बस्नलाई कडा नियमावली नभए तापनि मैले एउटा कुरालाई जोड दिनुपर्छ कि प्रभावकारी हुनलाई एक बाइबलीय उपवासमा केही गम्भीरताको तत्त्व हुनैपर्छ। साँझको खानेकुरा छोडेर बिहानसम्म उपवास बस्नु गम्भीर उपवास होइन। एक छाक छोड्नु गम्भीर उपवास होइन। आफू दुई दिनसम्म दूधबाट बनाएको पेय पद्धार्थ पिउँदै उपबास बसेको कुरा एकजना जवान पास्टरले मलाई बताए। त्यसलाई एक गम्भीर उपवास मान्न सकिन्न! यो त दानियलको उपवासको ठीक उल्टो हो। उनले त कुनै स्वादिष्ट भोजन खाएनन्, तर दूधले बनेको मिल्क शेक त एक हिसाबले स्वादिष्ट भोजन मात्रै मान्न सकिन्छ! मेरो धारणामा एक पूर्ण दिनको उपवासभन्दा कमको उपवासलाई बाइबलीय उपवासको संज्ञा दिन थाल्न पनि सकिन्न।

उपवास सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. बाइबलीय उपवास के हो?
  2. उपवास सम्बन्धी यहाँ दिएका ६ ओटा चेतावनीहरू के‍-के हुन्?
  3. फरसीहरू किन उपवास बस्थे?
  4. स्वास्थ्यको लागि उपवास बस्ने बारेमा बाइबलले कत्तिको बताएको छ?
  5. कलस्सी २:२०-२३ मा पावलले चेतावनी दिएका झूटा शिक्षकहरूको झूटा सुसमाचार के थियो?
  6. के उपवासले निजको प्रार्थनाहरूको जवाफ मिल्नेछ भन्ने ग्यारेन्टि दिन्छ?
  7. बाइबलमा उपवास सम्बन्धी कतिओटा उदाहरणहरू र निर्देशनहरू पाइन्छन्?
  8. पावलले कत्तिको उपवास बसे?
  9. उपवासको प्रमुख उद्देश्य के हो?
  10. उपवास बस्नुपर्ने अरू सात अवसरहरू के-के हुन्?
  11. कुन खण्डमा येशूले उपवास सम्बन्धी उत्साहपूर्ण प्रतिज्ञा दिनुभयो?
  12. बा‍इबलीय उपवास कति लामो हुन्छ?
  13. बाइबलीय उपवासका चार तत्त्वहरू के-के हुन्?

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course - 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो "एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू" शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9851-055734, 9818-399206; मूल्य: नेरू ३०० मात्र।


पृष्ठ संशोधन मिति: Wednesday 07-Nov-12
WordofTruth.com.np © 2017