Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

भक्तिको रहस्य (#२)

यस पृष्ठलाई छाप्नुहोस्

भक्तिको रहस्य र परमेश्वरको वचन

एक अर्थमा, वर्तमान युगको विश्वासीका लागि परमेश्वरको वचन नै ख्रीष्टको रहस्यको प्रकाश हो।

नयाँ नियमका पत्रहरूको मूलधारा (major theme) हरू मध्येमा यस रहस्य सम्बन्धीका सत्यताहरूको सँगालो एउटा मुख्य विषयवस्तुको रूपमा प्रस्तुत गरिएको छ, अर्थात् ख्रीष्ट र ख्रीष्टको शरीरसँग सम्बन्धित सत्यताहरू — जुन सत्यताहरू बितेका युगहरू र पुस्ताहरूमा रहस्यमा (गोप्य) राखिएका थिए, तर अहिले मानिसका सन्तानहरूलाई प्रकट गरिएका छन्। १ तिमोथी ३:१६ मा पावलले ख्रीष्ट हामीभित्र हुनुहुन्छ भन्ने रहस्यको सत्यता र भक्ति (पद १६) तथा चालचलन (पद १५) सितको यस सत्यताको सम्बन्धको चर्चा गर्छन्। मानव शरीरमा आफ्नो पुत्रलाई प्रकट गर्नु नै परमेश्वरको योजना रहेछ। उक्त योजना एक त उहाँको देहधारण (incarnation) मा येशू ख्रीष्टमा पूरा भयो; र यस कुरालाई ख्रीष्टको शरीर अर्थात् मण्डलीमा पूरा गर्ने परमेश्वरको योजना छ; र साथै यस कुरालाई ख्रीष्टको शरीरका प्रत्येक अङ्गहरूमा पनि पूरा गर्ने परमेश्वरको योजना छ। ख्रीष्टको शरीरको अस्तित्व र यसको बनोट (यहूदी र अन्यजातिबीच समानता हुने कुरा) समेत रहस्यमा (गोप्य) रहेको थियो। यसको जन्म रहस्य थियो; र्‍याप्चरद्वारा हुने यसको प्रस्थान रहस्य थियो। ख्रीष्टसितको यस किसिमको नयाँ सम्बन्ध रहस्य थियो जसरी उहाँले पछि प्रकट गरिदिनुभयो: "तिमीहरू ममा र म तिमीहरूमा।" आज भक्तिको जीवनको आधार नै यस रहस्य हो, अर्थात् ख्रीष्टको शरीरका एक-एक अङ्गहरूद्वारा मानव शरीरमा भित्र बास गर्नुहुने ख्रीष्टको जीवन प्रकट गरिनु।

"उनीहरूकहाँ परमेश्वरले, अन्यजातिहरूको बीचमा यो रहस्यको महिमाको धन के हो, सो प्रकट गर्न चाहनुभयो: 'महिमाको आशा ख्रीष्ट तिमीहरूभित्र' नै रहस्य हो" (कलस्सी १:२७)।

यो रहस्यको महिमा भन्नाले ख्रीष्टसँगको यस नयाँ सम्बन्धको बारेमा रहेको सत्यताको तेजिलो चमक भन्ने बुझिन्छ। त्यस महिमाको धन भन्नाले त्यसको सबैभन्दा मूल्यवान र उत्तम भाग भन्ने बुझिन्छ, अर्थात् यो रहस्यको चम्किलो चमकको सबभन्दा तेजिलो भाग! पावल घोषणा गर्छन्, ख्रीष्ट तिमीहरूभित्र हुनु नै यस महिमापूर्ण रहस्यको सबैभन्दा बहुमूल्य भाग हो! यो रहस्यका अनेक पाटाहरू छन् अनि ख्रीष्टसँगको विश्वासीहरूको नयाँ सम्बन्ध नै ती सबै पाटाहरूको केन्द्र हो: उहाँसितको हाम्रो सम्मिलीकरण (identification), हाम्रो र्‍याप्चर, शरीर (मण्डली) मा यहूदी र अन्यजातिको समानता… यी सबै यस महिमापूर्ण रहस्यका पाटाहरू हुन्। तर यस महिमापूर्ण रहस्यको सबैभन्दा बहुमूल्य भाग चाहिँ हामीभित्र ख्रीष्ट बास गर्नुहुन्छ भन्ने सत्यता हो।

यस युगमा भक्तिको जीवनको आकृति आमूल रूपमा परिवर्तित भएको छ भन्ने कुरा ख्रीष्ट हामीभित्र बास गर्नुहुन्छ भन्ने तथ्यले देखाउँछ। यो त जीवन जिउने पूर्णतया नयाँ नियम हो, जसलाई पुरानो नियमका पवित्र जनहरूले कहिल्यै कल्पना समेत गरेका थिएनन्। जीवन जिउने यो नियम व्यवस्था अन्तर्गतको जोकोहीको जस्तोसुकै अनुभवभन्दा पनि अत्यन्तै उत्कृष्ट छ। उहाँचाहिँ भित्र बास गर्नुहुन्छ भन्ने तथ्यले भाँडो भित्रबाट शुरु भएर बाहिरसम्म शुद्ध पारिँदै छ भन्ने कुरा देखाउँछ। धर्मले चाहिँ भाँडोलाई बाहिरबाट शुरु गरेर भित्र शुद्ध पार्ने प्रयास गर्दछ… तर धर्मले भित्रपट्टिलाई सफा पार्न सक्दैन, त्यसैले बाहिरपट्टिलाई सफा राख्‍नमा नै त्यो सन्तुष्ट रहन पुग्छ। त्यो त भक्तिको केवल बाह्य भेष मात्र हो… चुना पोतेको बराबर…जुनचाहिँ भित्रसम्म कहिल्यै पुग्दैन। पाप स्वभावलाई ढाकछोप गर्ने प्रयास हो यो। धर्मले भाँडोको भित्रपट्टिलाई फोहोर नै राख्दछ…दोषी नै राख्दछ। यसले कबरको बाहिरपट्टिलाई सफा गर्दछ र सिँगार्दछ, तर भित्रपट्टि भने त्यो मृतकका हड्डीले भरिएको हुन्छ। त्यो आत्मिकरूपमा मरेको हुन्छ। ख्रीष्टियन जीवन बिलकुलै भिन्न कुरा हो। यसको शुरुआतमै अर्थात् साँचो विश्वासको घडीमै ख्रीष्ट हामीभित्र बास गर्न आउनुहुन्छ। अनि भित्र बास गर्ने उक्त जीवनचाहिँ विश्वासीको क्रमानुसार परिवर्तनको जमानत हो जुन परिवर्तन भित्रपट्टिबाट शुरु भएर बाहिरसम्म प्रकट हुन्छ। ख्रीष्ट हामीहरूमा बनिँदैहुनुहुन्छ…विस्तारै, मन्द गतीमा, प्रायः चालै नपाई, तर निश्चय नै

ख्रीष्टको रहस्य नै ख्रीष्टियन जीवन (व्यवहार) को आधारशिला हो। भक्तिको रहस्यचाहिँ भक्तिपूर्वक जिउने बिलकुलै नयाँ व्यवस्थापन हो, र यस प्रबन्धको विशेषता नै हो। "ख्रीष्ट तिमीहरूभित्र" हुनु नै भक्तिमय ख्रीष्टियन जीवन हो, अर्थात् विश्वासीभित्र बास गर्नुहुने ख्रीष्ट नै भक्तिमय ख्रीष्टियन जीवन हो। योभन्दा कम वा योभन्दा अन्य कुरा नकली हो… शरीरको धोकापूर्ण काम हो… जसलाई पिताले घृणा गर्नुहुन्छ।

त्यसैले, एक अर्थमा, यस युगका विश्वासीहरूलाई परमेश्वरको वचनचाहिँ यस रहस्यको प्रकाश हो – सबै यसका हाँगाबिँगासहित… परमेश्वरले आफ्नो पुत्रलाई हामीमा कसरी प्रकट गर्ने योजना गर्नुभयो भन्ने कुरा समेत। इसाई समूहहरूमा जुन नापमा यस सत्यतालाई बेवास्ता गरिन्छ वा हलका ठानिन्छ, त्यतिकै नापमा भक्तिको जीवन पनि दुर्गम बन्छ। यस रहस्य २००० वर्षअघि प्रकट गरिएको थियो, तरैपनि कतिपय समूहहरूमा यस सत्यतालाई कुनै "नयाँ" कुरा भनी एकातिर पन्छाइने गरिन्छ। पवित्रीकरणको ईश्वरीय तरिका कुनै नयाँ उपकल्पना होइन। अहँ, ब्रेदरेनहरू (Plymouth Brethren) यसका रचनाकार होइनन्…न ता केजिक (Keswick Convention) काहरू… न ता डालस (Dallas Theological Seminary) वा मूडी (Moody Bible Institute) वा गहन जीवन कन्फरेन्स (deeper life conference) का ईश्वर-शास्त्रीहरू। ती कुनैबाट आएको होइन यो। यो त त्यस महिमापूर्ण रहस्यकै एउटा पाटा थियो, जुनचाहिँ परमेश्वरको विचार र हृदयमा लुकेर बसेको थियो, पवित्र आत्माद्वारा खोजिएको थियो, र नयाँ नियमका पवित्र प्रेरित तथा भविष्यवक्ताहरूकहाँ प्रकट गरियो, र पत्रहरूमा अभिलेख गरियो, र आत्माले भरिएका विश्वासीहरूको विचार तथा हृदयहरूमा पवित्र आत्माद्वारा प्रकाशित गरिन्छ… तिनीहरूकहाँ प्रकाशित गरिन्छ, जो उहाँको इच्छा पालन गर्न चाहन्छन्। यो त सीधै बाइबलबाटकै हो। यसलाई बुझ्न र प्रयोगमा ल्याउन वचनमा धेरै मेहनत गर्न आवश्यक पर्छ… र यो मणीहरूभन्दा बढी मूल्यको छ। यस रहस्यको महिमाको धनलाई नै यदि हामी हलका ठान्छौं भने परमेश्वरले हामीमाथि दया गरून्!

अर्को अर्थमा, परमेश्वरको वचनचाहिँ क्रूसको वचन हो। (१ कोरिन्थी १:१८)

क्रूसचाहिँ पाप स्वभावको सामना गर्ने परमेश्वरको प्रणाली हो। क्रूसमा ख्रीष्टसितको हाम्रो सम्मिलीकरण (identification) नै हामी जस्ता बचाइएका पापीहरूले प्रभुको सामु पाप स्वभावको कलङ्कबिना भक्तिपूर्वक जिउन सक्ने एकमात्र उपाय हो। क्रूसचाहिँ पापहरूको क्षमा (धर्मीकरण, justification) उपलब्ध गराउने परमेश्वरको उपाय हुनुको साथसाथै हामीभित्र बास गर्ने पाप स्वभावको सामना गर्ने (पवित्रीकरण, sanctification) उहाँको प्रणाली हो। क्रूसमा ख्रीष्टसितको हाम्रो सम्मिलीकरणबिना, हाम्रो जीवन र सेवाकार्यले पाप स्वभावको दुर्गन्ध काढ्नेथ्यो[पाप स्वभाव सुटेड-बुटेड देखिएला, धर्मपरायण देखिएला, तरैपनि त्यो पाप स्वभाव नै हो, र त्यो परमेश्वरका सामु घीनलाग्दो नै रहन्छ।]

भक्तिपूर्वक कसरी जिउने भन्ने बारेमा परमेश्वरको वचनका शिक्षाहरूमा क्रूस नै केन्द्रीय कुरा रहेको पाइन्छ। पावलले १ कोरिन्थी १:१८ मा ("कुरा" = वचन; लोगोस, λογος) उल्लेख गरेजस्तै, ख्रीष्टियन सन्देशलाई संक्षेपमा "क्रूसको वचन" भन्न सकिन्छ। क्रूस नै केन्द्रीय कुरा हो। हाम्रो पाप स्वभावप्रति परमेश्वरको धारणा कस्तो छ, क्रूसले बताउँछ। पाप स्वभाव परमेश्वरलाई घीनलाग्दो हुन्छ, र क्रूसको वचन मानव पाप‍ स्वभावलाई घीनलाग्दो हुन्छ… किनकि पाप स्वभावको निम्ति क्रूसको सन्देश भनेको मृत्यु हो।

आफ्नो मृत्यु र बौरिउठाइको घोषणा गर्नुहुँदा स्वयम् येशू ख्रीष्टको मुखबाट निस्केको क्रूसको वचनप्रति पत्रुसको प्रतिक्रिया कस्तो थियो, विचार गर्नुहोस् त (मत्ती १६:२१-२३)। पत्रुसले प्रभुलाई हप्काए। (कल्पना गर्नुहोस् त!) "यस्तो नहोस्, प्रभु! तपाईंमाथि यो कुरा कुनै रीतिले परिआउनेछैन!" यो क्रूसलाई – मुक्ति र पवित्रीकरणको परमेश्वरको सन्देशलाई – यस विषयमा परमेश्वरको प्रकाशलाई शारीरिक, पार्थिव, मानवीय विचार पद्धतिद्वारा अस्वीकार गरियो… पत्रुस जस्तो मान्छेद्वारा समेत। (शारीरिक विचारधाराले क्रूसलाई पन्छाउनै खोज्छ।) पत्रुसले परमेश्वरका कुराहरूलाई होइन तर मानिसहरूका कुराहरूलाई ध्यान दिँदै छन् भनी येशूले टिप्पणी गर्नुभयो। पत्रुस मानिसहरूले जस्तै विचार गर्दैथे – पतित, भ्रष्ट पाप स्वभावको प्रभुत्वमुनि रहेका पार्थिव मानिसहरूले जस्तै… जुनचाहिँ परमेश्वरलाई गन्हाउँछ।

तर हेर्नुहोस् त कसरी पत्रुसको शारीरिक विचारलाई भक्ति र प्रेमको भेषले ढाकछोप गरिएको थियो। "प्रभु, तपाईंप्रति मेरो प्रेम अति गहिरो भएकोले… म तपाईंको अति वफादार भक्त भएकोले, तपाईंमाथि यो कुरा म कुनै रीतिले परिआउन दिनेछैन!" मानवीय मनोभाव र जोशलाई प्रायशः भक्ति भनी ठानिन्छ, तर प्रभु येशूलाई झुक्क्याउन सकिन्न। उहाँले कुहिएको पाप स्वभावले दुर्गन्ध काढेको थाह पाउन सक्नुहुन्थ्यो। पत्रुसको प्रेम र भक्तिको सतहमुनि रहेको खास जरो देख्‍न सक्नुहुन्थ्यो उहाँ। उहाँले भन्नुभयो, "हे शैतान, मेरो पछिल्तिर जा!" शैतानले विश्वासीहरूलाई मानवीय सोचाइतर्फ… प्रेम र भक्तिको भेषलाई पहिरँदै भ्रष्ट पाप स्वभावको जराबाट उम्रेको विचारधारा र मनोभावहरू प्रकट गर्ने दिशातर्फ मोडिन प्रभावित पार्दछ। हेर्नुहोस् त, कसरी यसले वर्तमान इसाईजगत (Christendom) ले पहिरेको भक्तिको बाहिरी भेषको बयान गर्दछ। बाहिरी आवरण जतिसुकै प्रभावकारी देखिए तापनि, उद्‍गार र मनोभावहरू प्रेम र भक्तिले जतिसुकै ओतप्रोत भएको सुनिए तापनि, प्रभुले सतहमुनिको शारीरिक मानवीय विचारधाराको गन्ध थाह पाउन सक्नुहुन्छ।

यहाँ छ एउटा अचम्मको कुरा। पतित मानवीय पाप स्वभाव परमेश्वरलाई यति घृणित र वाक्कलाग्दो भएर पनि त्यसले एउटा मानिसमा कुनै न कुनै किसिमले आफूलाई परमेश्वरप्रतिको प्रेम, भक्ति र समर्पणता जस्तोको रूपमा प्रस्तुत गर्न सक्छ… पत्रुस जस्ता व्यक्तिहरूमा समेत यो हुन सक्छ, जोहरूले त जान्नुपर्नेथ्यो भन्ने हामीलाई लाग्ला। अनि पाप स्वभावको गन्ध परमेश्वरलाई यति साह्रै वाक्कलाग्दो भएर पनि… त्यसलाई परमेश्वरकहाँ चढाउनेहरूलाई भने कुनै दुर्गन्धको आभास नहुँदो रहेछ। यसको कारण त पाप स्वभावको हृदय सबैभन्दा छली र त्यसलाई निको नहुने रोग लागेकोले हो। त्यसलाई कसले जान्न सक्छ र? पाप स्वभावप्रति परमेश्वरको धारणा कस्तो छ, वचनले हामीलाई बताउँछ। साथै पाप स्वभाव कति धूर्त, छली र चलाख छ, त्यो पनि वचनले बताउँछ। यसो हुनाले हामी विश्वासीहरू एउटा कुरामा सावधान हुन आवश्यक छ, हाम्रो सोचाइमा अन्य कुरालाई भन्दा एउटा कुरालाई सधैं अग्रस्थानमा राख्‍न जरुरी छ: हाम्रो हिँडाइ सेवाको श्रोत के हो? थाह भएकै कुरा हो, हाम्रै जीवनकालभित्र इसाईजगतमा "इसाई राज्यहरू" (evangelical empires) निर्माण भएका छन्… परमेश्वरकै महान् कार्यहरू भनी ठानिएका राज्यहरू… परमेश्वरका समर्पित जनहरूद्वारा निर्मित… प्रभावशाली… महत्त्वपूर्ण… सफल… तर पछि पत्ता लाग्दा भने सबै नै शरीरद्वारा निर्मित: काठ, घाँस र पराल। सेवाकार्यमाजस्तै व्यक्ति-व्यक्तिका जीवनहरूमा पनि यस्तै हुन सक्छ। ख्रीष्टको न्यायआसनले प्रकट गर्नेछ हाम्रो काम कस्तो किसिमको रहेछ… कति धेरै वा कति प्रभावशाली वा कति ठूलो रहेछ भन्ने होइन, तर कस्तो किसिमको। इभान्जेलिकल र क्यारिज्म्याटिक समूहहरूमा जस्तै आधारभूतवादी (fundamental) समूहहरूमा पनि यस्तै हुन सक्छ। हाम्रै नजिककाहरूमा पनि शरीरअनुसारको… मानवीय महत्त्वाकाङ्क्षामा… शारीरिक विचारधारामा… राजनैतिक… र व्यापारिक कार्यशैयलीको अभ्यास भइरहेको हुन सक्छ… विश्वासको सार (doctrinal statement) जतिसुकै ठोसरूपमा आधारभूतवादी भए तापनि… अथवा बाहिरी भेष जतिसुकै आधारभूतवादी देखिए तापनि त्यसले फरक पार्ने होइन… परमेश्वरले पाप स्वभावको दुर्गन्ध चाल पाउनुहुन्छ त्यो जहाँसुकै होस्। अनि उहाँले त्यसलाई अन्य समूहहरूमा जत्तिकै आधारभूतवादी समूहहरूमा पनि त्यत्तिकै घृणा गर्नुहुन्छ।

पाप स्वभावसित व्यवहार गर्ने परमेश्वरको एउटै तरिका छ: त्यो हो क्रूस। पाप स्वभावसित व्यवहार गर्ने मानिसको शारीरिक, पार्थिव, प्राकृतिक तरिका हो त्यसलाई सुधार गर्नु, सुटेड बुटेड पार्नु, हेर्दा राम्रो देखाउनु, नवीकरण गर्नु, त्यसमा जोश भर्नु, त्यसलाई विकसित रूप दिनु, संस्कृति, मर्यादापूर्ण ढाँचा र धर्मले ढाक्नु… अनि त्यसलाई परमेश्वरमा समर्पण गर्नु। आउनुहोस्, यसलाई हामी स्वीकार गरौं: यस किसिमको सोचाइ हामी सबैभित्र हुन्छ नै। हाम्रो शरीरभित्र कुनै असल कुराले बास गर्दैन भन्ने कुरालाई स्वीकार गर्न हामीलाई कति गाह्रो छ। पक्कै पनि हामीमा जोगाउन लायक, सुधार्न सकिने केही न केही हुनुपर्छ भनेर हामी ठान्न चाहन्छौं। तरैपनि रोमी ८:३ ले बताएअनुसार परमेश्वरले पाप स्वभावलाई सुधार गर्ने प्रयास गर्नुहुन्न। उहाँले त्यसलाई मृत्यु दण्डको लायक भनी दोषी ठहराउनुभयो। गलाती ५:२४ ले बताउँछ, विश्वासीको सवालमा शरीर, त्यसका कामना र अभिलाषाहरूसहित, क्रूसमा टाँगिसकियो। त्यसको हामीमाथिको शक्ति र अधिकारबाट हामी अलग पारिएका छौं जसको फलस्वरूप हामी अब त्यसको अधिकारमुनि आफूलाई सुम्पिनुपर्दैन। शरीर (त्यसको मानवीय विचार, सफलताहरू, धारणाहरू, उर्जा, प्रयत्‍नहरू, लक्ष्यहरू, महत्त्वकांक्षाहरू, पार्थिव मान्यताहरू; आदम र यस पार्थिव संसारसित जोड्ने हाम्रो पतन, शारीरिक मानव स्वभावका सबै कुराहरू) को सवालमा परमेश्वरको उपाय हो, क्रूस। यो योजना मानिसको हृदयबाट कहिले पनि उब्जने सक्ने योजना थिएन तर उहाँको वचनमा परमेश्वरको आत्माद्वारा प्रकट गरिएको योजान यही हो। त्यहाँ क्रूसमाथि परमेश्वरले हाम्रो पुरानो मानिससित व्यवहार गर्नुभयो (रोमी ६:६)। त्यहाँ क्रूसमाथि परमेश्वरले हाम्रो पाप स्वभावसित व्यवहार गर्नुभयो (रोमी ८:३)। त्यहाँ क्रूसमाथि परमेश्वरले हाम्रा एक-एक पापहरूसित व्यवहार गर्नुभयो (१ कोरिन्थी १५:३)। जताबाट हेर्नुहोस्, शरीरको सवालमा परमेश्वरको उपाय क्रूस नै हो। हाम्रो पतित मानव स्वभाव, पाप र पापहरू, दुवै जरा र फल, क्रूसमा ठोकिनुपर्‍यो। हामी क्रूसमा गर्व गर्दछौं।

पवित्र जनहरूलाई प्रचार गरिँदा हाम्रा प्रवचनमा जुन नापमा क्रूसलाई न्यूनीकरण गरिन्छ त्यही नापमा विश्वासीहरू आफ्नो पाप-स्वभावसित सङ्घर्ष गर्नलाई उनीहरूकै शक्तिको भरमा छोडिन्छन्…आफ्नो पाप-स्वभावलाई क्रूसमा टाँग्ने प्रयासमा…त्यसलाई क्रूसमा टाँगिसकिकियो भनी विश्वास गर्नुको सट्टा। हराएकाहरूलाई सुसमाचार प्रचार गरिँदा क्रूसको न्यूनीकरण गरियो भने मुक्तिको प्रबन्धलाई हेरफेर गर्न पुगिन्छ। पवित्र जनहरूलाई वचनको शिक्षा दिइँदा क्रूसको न्यूनीकरण गरियो भने पवित्रीकरणको प्रबन्धलाई हेरफेर गर्न पुगिन्छ। परमेश्वरको वचनको सन्देश नै क्रूसको वचन हो…सारा वचन नै ख्रीष्ट, उहाँको क्रूसको मृत्यु, उहाँसित क्रूसमा भएको हाम्रो मृत्युमा केन्द्रित छ। यसकारण, यो हामीलाई मन नपर्ला, तर पाप स्वभावको सामना गर्ने परमेश्वरको एउटै उपाय छ, त्यो हो: क्रूस। पाप स्वभावको दुर्गन्धको समाधान गरिनैपर्छ -- अहमलाई हटाइनैपर्छ र त्यसलाई क्रूसमै छाडिनुपर्छ अनि तब मात्र त्यसको सट्टामा हामीभित्र बास गर्नुहुने ख्रीष्टको मीठो बासना प्रकट हुन सक्छ।

इसाई जगतमा हुने शिक्षण तथा प्रवचनका सेवाकार्यहरूमा कुन कुरालाई जोड दिइनुपर्छ भन्ने सवालमा त्यहाँ उलटपुलट गराउन हाम्रो विरोधी शैतान व्यस्त रहेको पाइनु कुनै अचम्मको कुरा होइन। वचनले त हामीलाई भक्तिपूर्ण जीवनको महिमापूर्ण रहस्यको भेद खुलाउँदछ… तर प्रायःजसो इसाई समुदायहरूबीच भने यस केन्द्रीय सत्यता बेवास्ताको धूलोले ढाकिएको छ। कतिपय समुदायहरूमा, सुसमाचार प्रचारको सेवाकार्यमा र हराएकाहरूलाई मुक्ति पाउने उपाय बताइँदा क्रूसलाई सठीक रूपमा जोड दिइएको पाइन्छ… तरैपनि पवित्र जनहरूलाई ख्रीष्टियन जीवन जिउने उपाय बताइँदा भने क्रूसलाई न्यूनीकरण गरिएको पाइन्छ। "ख्रीष्ट तपाईंहरूको लागि मर्नुभयो" भनेर प्रचार गर्नलाई जोशिला यिनै मित्रहरूले… हामी उहाँसँगै मर्‍यौं भन्ने कुरालाई बेवास्ता गरेको देखिन्छ। यस सत्यतालाई पछिल्लो स्थान दिइन्छ। तर, क्रूसमा टाँगिएको जीवनबेगर भक्तिको जीवन सम्भवै छैन। वचन नै रहस्यको प्रकाश हो। साथै वचन क्रूसको वचन हो। बगाललाई साँच्चै खुवाउने हो भने… र भक्तिको जीवनका लागि परमेश्वरको योजनालाई प्रकट गर्ने हो भने, हामीले हाम्रा शिक्षण कार्यमा यी दुई धाराहरूलाई केन्द्रीयस्थानमा राख्‍नैपर्छ… ख्रीष्टसितको सम्बन्धको रहस्यलाई… र क्रूसको केन्द्रीयस्थानको सत्यतालाई। अर्को शब्दमा भन्ने हो भने, हामीले ख्रीष्ट र उहाँ टाँगिनुभएको कुरालाई जोड दिनुपर्छ।


पृष्ठ संशोधन मिति: Monday 10-Oct-11
WordofTruth.com.np © 2017