भक्तिको रहस्य (#३)

यस पृष्ठलाई छाप्नुहोस्

बाइबलका केही चाबी खण्डहरू

"ख्रीष्टको वचनले तिमीहरूभित्र प्रशस्त गरी वास गरोस्; भजन, स्तुतिगान र आत्मिक गीतद्वारा सारा बुद्धिसित एक-अर्कालाई सिकाओ र सम्झाओ, अनुग्रहसाथ आफ्ना हृदयहरूमा प्रभुका निम्ति गाओ" (कलस्सी ३:१६)।

यस खण्डमा ख्रीष्टको वचन भन्नाले परमेश्वरको वचन भन्ने बुझिन्छ जुन वचन पूरै ख्रीष्टको बारेमा हो। यो कुरा विशेष गरी कलस्सीको पुस्तकमा देखिन्छ। हामीले उहाँलाई चिन्न सकौं भनेर नै परमेश्वरको वचन हामीलाई दिइएको हो। ख्रीष्टको वचन हृदयमा प्रशस्त गरी बास गर्दा यसले निजको हिँडाइ, बोली, व्यवहार र चरित्रलाई प्रभावित पार्दछ भनेर यस खण्डमा हामीलाई बताइएको छ। परमेश्वरको वचनले यस्तो प्रकारले नियन्त्रण गर्ने प्रभाव पार्दछ भनिएको छ सन्दर्भअनुसार कि यसको फलस्वरूप हृदयमा गीत गुञ्जिन्छ, त्यहाँ अनुग्रह र धन्यवाद हुन्छ साथै सुखी र सन्तुलित ख्रीष्टियन परिवार हुँदछ (कलस्सी ३:१६-२२)।

त्यस अर्थमा पवित्र आत्माको भरपूरीसित यसको अर्थ मिल्दोजुल्दो छ। एफेसी ५:१८-२० को समानन्तर खण्डलाई विचार गरौं:

यसको सामर्थ्य: पवित्र आत्माको भरपूरी (पद १८)… (भरपूरी; प्रभावमुनि हुनु; नियन्त्रित हुनु; बाह्य व्यवहारको बदलि हुनु)

यसको नतीजा: भजन र आत्मिक गीतहरू (पद १९) र धन्यवाद (पद २०)… ख्रीष्टियन परिवार सम्बन्धी शिक्षाहरू… (पद २२-२३)।

कलस्सी र एफेसीका यी खण्डहरू समानन्तर खण्डहरू हुन् र तिनका सन्दर्भहरू झण्डै उस्तै छन्। फरक यति मात्र छ: एफेसीले विश्वासीभित्र उसलाई नियन्त्रण गर्न अन्तरबास गर्नुहुने आत्माको शक्तिलाई जोड दिएको छ भने कलस्सीले चाहिँ विश्वासीभित्र उसलाई नियन्त्रण गर्न अन्तरबास गर्ने वचनको शक्तिलाई। यसर्थ, हृदयमा ख्रीष्टको वचन प्रशस्त गरी बास गर्नु र हृदय पवित्र आत्माले भरपूर हुनु, समानन्तर कुराहरू हुन्। यी दुवैले बयान गरेका भलोपूर्ण नियन्त्रण-शक्ति (controlling influence) ले विश्वासीको जीवनमा उस्तै-उस्तै नतीजा ल्याउँदछन्: हृदयमा गीत; धन्यवाद; सुखी र सन्तुलित परिवार आदि। एउटा विश्वासी जति बढी समय र जति निरन्तर रूपमा आत्माले भरपूर हुँदछ, उति नै छिटो ऊ परिपक्व बन्दै जानेछ। जति बढी गहिरो र प्रशस्त गरी ख्रीष्टको वचनले हृदयलाई भिजाउँदछ, त्यति नै बढी यसले हाम्रो जीवनलाई नियन्त्रण गर्नेछ अनि त्यही अनुपातमा हामी ख्रीष्टको रूपमा बढ्दै जानेछौं र साँचो, भक्तिपूर्ण जीवन अनुभव गर्नेछौं।

सबै विश्वासीहरू पवित्र आत्मामा उत्तिकै समर्पित हुन चाहन्नन्, त्यसैले सबैको जीवनमा उत्तिकै फल भेटिँदैन: कतिमा ३० गुणा, कतिमा ६०, कतिमा ९० गरी त्यहाँ मात्राको भिन्नता भेटिन्छ। गुणात्मक हिसाबमा पनि त्यहाँ भिन्न-भिन्न श्रेणीहरू भेटिन्छन्: अल्प-घृतांश (पातलो) दूधदेखि लिएर बाक्लो, तरैतरको क्रिम। सबै साँचा विश्वासीहरू ख्रीष्टलाई प्रेम त गर्छन् नै, ख्रीष्टको वचनलाई प्रेम गर्छन् नै। ख्रीष्टको वचनले सबै विश्वासीहरूको हृदयमा कुनै न कुनै मात्रामा बास गरेको त हुन्छ नै। तर यो स्पष्ट छ, वचनलाई प्रेम गर्ने सवालमा, कति विश्वासीहरूको प्रेम अरूको भन्दा बढ्ता गहिरो र खँदिलो हुन्छ… कुनै पनि एउटा समयमा तुलना गर्दा। कोही वचनको सतहमा छप्ल्याङ्ग छुप्लुङ्ग खेल्छन्; अरू भने सीधै गहिरो डुबुल्की मार्छन्। कोही अलिकति स्वाद चाख्छन्; अरू भने त्यसको निम्ति भोकाउँछन् र खर्लप्पै निल्छन्। ख्रीष्टको वचन हामीभित्र प्रशस्त गरी बास गरोस् भन्ने आज्ञाको तात्पर्य अलिकति-अलिकति चाखोस्, कहिलेकाहिँ-कहिलेकाहिँ चाखोस् भन्ने होइन, त्योभन्दा बढ्ता हो। प्रशस्त गरी (richly) को माने ज्यादा, धेरै, प्रचुर; मानौं भल बग्ने गरी परमेश्वरको वचनको तृष्णा हुनु र परमेश्वरको वचनलाई खानु। कहिलेकहिँ, अलिअलि चाख्‍नाले यहाँ उल्लेखित आशा गरिएका फलहरू फलाउन सक्नेछैन।

ख्रीष्टको वचनको प्रशस्तताचाहिँ हाम्रो इच्छाको मामला हो। वचन हामीभित्र प्रशस्त गरी बास गरोस् भन्ने यो एउटा आज्ञा हो, त्यसैले आज्ञापालन गर्नु हाम्रो जिम्मेवारी हो। यसको मागअनुसार आफ्नो छनोट-क्षमता (will) लाई काममा ल्याई हामीले रोज्नुपर्ने हुन्छ। परमेश्वरको वचनको लागि समय अलग गर्न हामीले रोज्नुपर्ने हुन्छ। यसलाई कुनै कुराले पन्छाउन वा प्रतिस्थापन गर्न नदिन हामीले अठोट गर्नुपर्ने हुन्छ। यी सबै हाम्रै छनोटले हुने काम हुन्। हामीले जब कुनै कुराको मूल्य, आवश्यकता, जरूरी, महत्त्व वा वजन देख्छौं त्यसको लागि समय अलग गर्ने उपाय पनि हामी खोज्नेछौं। त्यसको निम्ति तृष्णा हुनेछ। हाम्रा जीवनहरूका लागि परमेश्वरको वचनको महत्त्व छ भन्ने कुरामा कुनै शङ्कै छैन।

यूहन्ना १७:१६-१९ -- हामी वचनले पवित्र पारिँदछौं।

यूहन्ना १५:३ -- हामी वचनले शुद्ध पारिँदछौं।

प्रेरित २०:३२ -- हामी वचनद्वारा निर्माण गरिन्छौं।

एफेसी ५:२६ -- ख्रीष्टले मण्डलीलाई वचनद्वारा पवित्र पार्नहुन्छधुनुहुन्छ

२ तिमोथी ३:१६-१७ -- परमेश्वको जन सिद्ध बनाइयोस् भनेर वचन दिइएको हो।

१ पत्रुस २:२ -- हामी वचनद्वारा बढ्दछौं

२ कोरिन्थी ३:१८ -- हामी वचनद्वारा बदली गराइन्छौं।

ख्रीष्टको वचन हामीभित्र प्रशस्त गरी बास गर्नलाई समय लाग्छ। बाइबलको कुनै पदलाई कण्ठ गर्न दुई-चार मीनेट मात्र लाग्ला। त्यसको सत्यता हृदयभित्र राम्ररी स्थापित हुन र हृदयको अभिन्न अङ्ग बन्न, भित्रसम्म घुस्न, गहिरो र बलियो गरी जरा बसालिन र हृदयमा प्रशस्त गरी बास गर्न समय लाग्छ। तर त्यसो भइसकेपछि त्यसले हामीलाई परिवर्तन गराउनेछ। वचनको सुर र धुनअनुरूप हामी ईश्वरीय विचारअनुसार सोच्न थाल्नेछौं र हाम्रो हृदयमा एउटा नयाँ गीत हुनेछ र हामी त्यसैको लय-लयमा हिँड्न थाल्नेछौं। ख्रीष्टको वचन प्रशस्त गरी बास गरेको हृदय सन्तुष्ट हन्छ, भिजेको र भरिएको हुन्छ र अरू पाउन त्यो मुहानमा धाइरहेनछ। उसले अन्य ठाउँमा गई आफ्नो तृष्णा मेट्न खोज्ने सम्भावना उसमा कमै छ। अन्तरबास गरिरहेको वचनको मीठास र प्रशस्तताले उसभित्र त्यसको निम्ति अरु तृष्णाको सृजना गर्दछ। ख्रीष्ट र ख्रीष्टको वचन हाम्रा हृदयहरूमा स्थायी बसोबास गर्न थालेपछिको हामीसँगको प्रशस्त जीवनले जस्तै अन्य कुनै पनि कुराले हामीलाई सन्तुष्टता दिन सक्दैन।

"तर नढाकिएको चेहराले प्रभुको महिमा ऐनामा जस्तै हेर्दै-हेर्दै हामी सबैजना, प्रभुद्वारा, जो आत्मा हुनुहुन्छ, एक महिमादेखि अर्को महिमामा सर्दै त्यही रूपमा बदलिँदै जान्छौं" (२ कोरिन्थी ३:१८)।

नढाकिएको चेहरा लिएर मोशा पर्वतमाथि परमप्रभुका सामु खडा भए (प्रस्थान ३४:२९)। परमेश्वरको उपस्थितिमा बसेको कारणले उनको चेहरा उज्जवल बन्यो। परमेश्वरको उपस्थितिमा बस्दाहुँदि त्यसले मोशामाथि ठूलो काम गर्‍यो। तर अरू मानिसहरू भने परमेश्वरको उपस्थितिमा आउन सकेनन्। उनीहरू त्यसो गर्न डराए। मोशाको चेहरा चम्किरहँदा उनीहरू उनको सामु आउन समेत डराए (प्रस्थान ३४:३०)। मोशाले त्यस महिमाको अलिकति स्वाद चाख्‍न पाए जुन महिमा पछिबाट नयाँ करारको रगतद्वारा परमेश्वरसित सम्बन्धमा गाँसिने प्रत्येक व्यक्तिले नै अनुभव गर्ने पाउने कुरा थियो।

२ कोरिन्थी ३:१८ मा आज हामीले प्रभुको महिमालाई नढाकिएको चेहराले हेर्न पाउनु हाम्रो अहोभाग्य हो भन्ने कुरालाई प्रकट गरिएको छ। ख्रीष्टको रगतले गर्दा हामी परमेश्वरकहाँ महापवित्रस्थानभित्र प्रवेश गर्न सक्छौं -- त्यस भित्री पवित्रस्थानमा जहाँ हामी ख्रीष्टसित सङ्गति गर्न सक्छौं (हिब्रू १०:१८-२२)। हामी यस्तो प्रकारले परमेश्वरको नजिकमा जान सक्छौं जुनचाहिँ पुरानो करारको पवित्र जनका लागि असोचनीय कुरा हुन्थ्यो: अर्थात् पूर्ण रूपमा शुद्ध पारिएको विवेकको साहस वा निर्धक्कताका साथ। उक्त पवित्र स्थानभित्र पस्न हामीलाई दिइएको छ… परमेश्वरकै उपस्थितिमा पस्न र उहाँको महिमालाई हेर्न

हामी उहाँको महिमा "ऐनामा जस्तै" हेर्दछौं। यस ऐनाले परमेश्वरको वचनलाई जनाउँदछ। याकूबले पनि परमेश्वरको वचनलाई ऐनासित तुलना गरेका छन् (याकूब १:२२-२३)। परमेश्वरको वचनले ऐनाले जस्तै दुरुस्त प्रतिबिम्बन गर्न सक्दछ। हामीले परमेश्वरको महिमालाई ऐनामा जस्तै स्पष्टै प्रतिबिम्बित भएको देख्‍न सक्छौं। जसरी मोशा पर्वतमाथि चढेर परमेश्वरलाई देख्‍न सके… उहाँको आवाज सुन्न सके… उहाँको सन्देशलाई ध्यान दिन सके… उहाँको व्यक्तित्वको आभास गर्दै र उहाँको महिमामा अचम्भित् हुँदै, डराउँदै र काम्दै खडा हुन सके, त्यसरी नै हामी पनि परमेश्वरको वचन पढ्दै र स्वर्गको भित्री पवित्रस्थानमा जीवित वचनसित सङ्गति गर्दै त्यस्तै अनुभव गर्न सक्छौं।

परमेश्वरको उपस्थितिमा बसेको हुनाले मोशा बदलिए। उनको चेहरा उज्यालो भयो। यो व्यवस्था पालनको नतीजा थिएन। यो त मोशाले परमेश्वरको उपस्थितिमा रहेर उहाँको महिमालाई हेर्ने कामको नतीजा थियो। त्यसैले उनी बदलिए। सारा महिमाका परमेश्वरको उपस्थितिमा रहेर प्रभावित नहुनु असम्भव कुरा हो। जिउँदो वचनको पन्नाहरूमा परमप्रभुको महिमालाई हेर्दाहुँदि हामीलाई बदली गर्ने परमेश्वरको वचनको प्रभावशाली कार्यको चित्रणस्वरूप उक्त घटनालाई पावलले यहाँ उल्लेख गरेका हुन्। जब हामी हेर्छौं, हामी "बदलिँदै जान्छौं"। २ कोरिन्थी ३:१८ मा "बदलिँदै जान्छौं" भनेर अनुवाद गरिएको शब्द रोमी १२:२ मा वचनमा विश्वासीको मन नयाँ हुँदै जाँदा वचनले ल्याउने बदलीको कार्यको बयान गर्नलाई प्रयोग गरिएको छ। २ कोरिन्थी ३:१८ ले विश्वासीहरू "त्यही रूपमा" बदलिँदै जाने कुराको बयान गरेको छ, अर्थात् ख्रीष्टको रूपमा… उहाँका नैतिक सद्‍गुणहरूमा… उहाँको वचनको ऐनामा प्रतिबिम्बित परमेश्वरको महिमाकै रूपमा। पर्वतमाथि येशूको रूप परिवर्तनको घटना (मत्ती १७:२) लाई यही शब्दले बयान गरेको छ। आफू, भित्रपट्टि जे हुनुहुन्थ्यो, त्यो (ईश्वरीय ज्योति) निस्केर बाहिरपट्टि चम्किन थाल्यो। त्यस्तै गरी हामीमा पनि: भित्रपट्टि हामी जे छौं, त्यो ( हामीभित्र हुनुहुने ख्रीष्ट) हामीमा वचनको बदली गर्ने सामर्थ्यको कार्यको फलस्वरूप बाहिरपट्टि ज्योतिर्मय हुनेछ।

यो बदली हुने कार्य विस्तारै हुँदै जाने प्रक्रिया हो: एक महिमादेखि अर्को महिमामाहामी बचाइन्छौं, धर्मी ठहराइन्छौं, नयाँ गरी जन्माइन्छौं, मिलाप गराइन्छौं, छुटकारा गराइन्छौं -- सबै समयको एकै घडीमा, तुरुन्तै। तर पवित्रीकरण (sanctification) को र परिपक्वताको वृद्धि (growth) को प्रक्रियालाई जीवनभरको समय लाग्छ। हामी क्रमिक रूपमा ख्रीष्टको रूपमा बदली गराइन्छौं, महिमाको एक चरणदेखि अर्को चरण हुँदै। विश्वासीले जब-जब परमेश्वरको वचनमा समय बिताउने काम, ख्रीष्टको मनन गर्ने काम, उहाँसित सङ्गति गर्ने काम, उहाँमा आफूलाई सुम्पिने काम, उहाँको महिमालाई हेर्ने काम गरिरहन्छ, तब-तब उक्त बदली हुने कार्य अघि बढ्दै जान्छ। त्यहाँ, वचनमा, हामी ख्रीष्टको महिमालाई हेर्दछौं। तर स्मरण रहोस्, हामी यो शिक्षाको महिमा वा त्यो शिक्षाको महिमालाई हेर्नलाई त्यहाँ जाने गर्दैनौं। हामी प्रभु येशूको महिमालाई हेर्दछौं। ख्रीष्टियन विश्वास (Christianity) एकजना व्यक्तिसितको सम्बन्ध हो… एउटा पुस्तक मात्र होइन। त्यो सम्बन्ध उहाँको उपस्थितिमा आउने काम र त्यहाँ रहिरहने कामद्वारा गहिरो रूपमा विकास हुँदछ। यो एकजना व्यक्तिसितको प्रेमको सम्बन्ध हो र यो परमेश्वरको वचनद्वाराको सम्बन्ध हो।

मोशाको चेहराको तेज विस्तारै विलिन हुँदै गयो। उनको तेज मेटिनेवाला थियो। तर विश्वासीको जीवनभित्रको तेज भने सधैं बढ्दै जाने तेज हो! यो त महिमाको एउटा चरणदेखि अर्को चरण हुँदै महिमामा बढ्दै जानेछ जब हामी वचन (the LOGOS) लाई समयको क्रममा झन् झन् बेसी प्रशस्त गरी आफ्ना हृदयहरूमा बास गर्न दिन्छौं। एउटा महिमादेखि अर्को महिमामा बढ्दै जानु सामान्य नियम (NORM) हो तरैपनि यो आफसेआफ हुने कुरा भने होइन। हाम्रो पक्षको जिम्मेवारी भनेको सहभागी हुनु हो: वचनमा समय दिनु। परिपक्वतामा बढ्न समय लाग्छ। दिनहुँ नै परमेश्वरको वचनमा समय बिताउँदै, बिताउँदै हाम्रा मनहरू नयाँ-नयाँ हुँदै जानुपर्छ नत्रता सुन्नलाई हृदयको कान बाक्लो बन्न थाल्नेछ। बदली हुने कार्य केवल एउटा पुस्तक पढेर मात्र हुने होइन। वचन पढ्ने क्रममा ख्रीष्टसित सङ्गति गर्दाहुँदि बदली हुने हो। हामी प्रभु येशूकै पाउमा बस्नु पर्ने हुन्छ! तब बदली हुने कार्य अघि बढ्दछ।

यस बदली हुने कार्य प्रभुको आत्माद्वारा हुने कार्य हो। यदि हामी ख्रीष्टसितको सङ्गतिमा वचनद्वारा सहभागी हुन्छौं भने, परमेश्वरको आत्माले हामीलाई अवश्य पनि बदली गराउनुहुनेछ। बदलीको कार्य अलौकिक कार्य हो। यो त हामीभित्र ख्रीष्ट बनिनु भएको होस् भनेर काम गर्नुहुने र हामीद्वारा ख्रीष्टको रूपको फल प्रकट गराउनुहुने आत्माको सेवाकार्य हो। पवित्र आत्माले परमेश्वरको सन्तानलाई परमेश्वरको महिमाको निम्ति परमेश्वरको पुत्रको रूपमा बदली गर्नलाई परमेश्वरको वचनलाई प्रयोग गर्नुहुन्छ। भक्तिको जीवन अलौकिक कुरा हो: यो त हामीभित्र परमेश्वरकै काम हो।

अनि यो त हाम्रो लागि कस्तो अचम्मको आशिष हो! प्रस्थानको पुस्तकमा उल्लेखित घटनामा केवल मोशा मात्र लाभान्वित भए। तर यहाँ नोट गरियोस्: "हामी सबैजना" (२ कोरिन्थी ३:१८)। हामी ख्रीष्टियनहरू सबैजना नै उहाँको वचनमा एउटा विशेष किसिमले प्रभुको महिमालाई हेर्न र परमेश्वरकै उपस्थितिमा रहेर लाभान्वित बन्न सक्छौं… स्वर्गीय महापवित्रस्थानभित्र रहेर। महापवित्रस्थानभित्र जान हामी सबैलाई बाटो खुला गरिएको छ। परमेश्वरको उपस्थितिमा बस्नलाई मोशा आफूले चाहेको समयमा पर्वतमाथि चढेर जान सक्दैनथे, तर हामी भने उहाँको वचनद्वारा परमेश्वरको उपस्थितिमा सबै समयहरूमा प्रवेश गर्न सक्छौं। त्यसो गर्नाले हाम्रो जीवनहरू बदली हुन्छन्। भक्तिको जीवन ख्रीष्टको रूपमा बदली भएको जीवन हो। त्यो जीवनले नै अन्तरबास गर्नुहुने ख्रीष्टको झिवणलाई प्रकट गर्नेछ। हाम्रा जीवनले तब शरीर वा पाप स्वभावको दुर्गन्ध काढ्नेछैन… तर ख्रीष्टको मीठो बासनाको सुगन्ध फैलाउनेछ… तपाईंभित्र अन्तरबास गर्नुहुने ख्रीष्टको जीवन। अनि त्यही जीवनले नै जसले परमेश्वर पितालाई खुशी पार्दछ। उहाँ आफ्नो पुत्रको प्रत्येक अभिव्यक्तिमा प्रसन्न बन्नुहुन्छ।

"किनकि परमेश्वरको वचन जिउँदो, प्रभावशाली र कुनै दुईधारे तरवारभन्दा पनि लाग्ने हुन्छ; जसले प्राण र आत्मालाई, जोर्नी-जोर्नी र मासीलाई पनि अलग-अलग पार्ने गरी छेंड्छ, र हृदयका विचार र मनसायहरू खुट्ट्याउने हुन्छ" (हिब्रू ४:१२)।

हृदयमा प्रशस्त गरी वास गरिरहेको र विचार र हृदयलाई बदली गरिरहेको वचनले विश्वासीलाई प्राणीक कुरा (पाप स्वभावले राज्य गर्ने प्राकृतिक, सांसारिक (earthly) क्षेत्र) र आत्मिक कुराका बीच भिन्नता छुट्ट्याउने क्षमता प्रदान गर्दछ। शरीर (पाप-स्वभाव) अत्यन्तै धूर्त छ। कसरी-कसरी त्यसले प्राकृतिक कुरालाई आत्मिक कुराको रूपमा प्रतिस्थापन गर्न सक्दछ। हृदयभित्र वचन प्रशस्त गरी बास गरिरहेको छैन भने, विश्वासीले समेत प्राकृतिक कुराबाट आत्मिक कुरालाई छुट्ट्याउन सक्नेछैन।

प्राणीक कुरा र आत्मिक कुराका बीचमा भिन्नता देख्‍न कठीनाइ हुन सक्छ भन्ने सम्बन्धमा सार्डिसमा भएको मण्डली (प्रकाश ३:१) एउटा राम्रो उदाहरण हो। सार्डिसमा भएको मण्डली जीवित छ भन्ने "नाम" (मर्यादा, reputation) चाहिँ थियो। त्यहाँ थुप्रै कार्यक्रमहरू र क्रियाकलापहरू थिए र ती सबै नै उनीहरूको बीचमा ख्रीष्टको जीवनको अभिव्यक्ति हुन् भन्ने कुराको मान्यता सफलरूपमा प्राप्‍त भइसककेको थियो। उक्त मण्डलीका धेरैजना सदस्यहरू आफ्ना जीवन जिइरहेका थिए र परमेश्वरको सेवा गरिरहेका थिए र अरू सबै मण्डलीहरूले यो मानिलिएका थिए कि उनीहरूले देखिरहेका क्रियाकलाप आत्माले भरपूर भएका स्वस्थ पवित्र जनहरूले भक्तिको जीवन जिएर अन्तरबास गर्नुहुने ख्रीष्टको जीवनलाई प्रकट गरिरहेका कुराको अभिव्यक्ति हुन्।

तर त्यहाँ खास कस्तो किसिमको कुरा चलिरहेको थियो भन्ने कुरा परमेश्वरले देख्‍न सक्नुहुन्थ्यो। मानिसले देख्‍न नसक्ने कुरा उहाँले देख्‍नुभयो: उनीहरूको धार्मिक क्रियाकलापको वास्तविक स्रोत: अर्थात्, शरीर (पाप स्वभाव)। यसकारण उहाँको निष्कर्ष यो थियो, उनीहरू "मरेका" छन्। परमेश्वरले देख्‍नुभएको कुरा ख्रीष्टको जीवनको अभिव्यक्ति थिएन -- तर पतित, भ्रष्ट शरीरको अभिव्यक्ति… छलपूर्ण, धूर्त, आत्मिकताको भेषमा शरीर, जोश र समर्पणसहित।

उल्लेख्य कुरा के भने यो कुरा जान्ने त्यहाँ कोही नभएजस्तो देखिन्छ! मण्डलीहरूका बीचमा उनीहरूको भव्य मान मर्यादा थियो। उनीहरू ख्रीष्टियन जीवनकै जिउँदो केन्द्र भनी कहलिएका थिए, देखासिकी गरिनुपर्ने उच्च मानप्राप्‍त मण्डली, जब कि वास्तविकतामा भने उनीहरूका सबै क्रियाकलापहरू आत्मिक रूपमा जीवनरहित थिए। आत्मिक रूपमा मरेको शरीरको क्रियाकलाप थिए ती। यसको तात्पर्य उनीहरू खराब कुराहरूमा लागिरहेका थिए भन्ने होइन। यसको मतलब यति हो, परमेश्वरको निम्ति भनिने उनीहरूको क्रियाकलापहरूको स्रोत खोज्दा त ती आत्माद्वारा उत्पादित, अभिप्रेरित थिएनन्, तर भलो मनसायकै, जोशिलो, धार्मिक शरीरद्वारा उत्पादित, अभिप्रेरित थिए। यस्तै दयनीय अवस्था थियो लाओडिसियामा भएको मण्डलीको (प्रकाश ३:१४-२२)। ख्रीष्ट उनीहरूको माझमा हुनुहुन्नथ्यो तर कसैलाई पनि त्यसको ख्याल थिएन। उहाँबिना नै सबै कामकुरा नियमित रूपमा चलिरहेकै थियो, शरीरद्वारा चलिरहेको थियो।

कसरी हो, शरीरको क्रियाकलाप र व्यस्तताले भक्तिको जीवनको नामको मान्यता प्राप्‍त गर्न सक्दो रहेछ। अन्य मण्डलीहरूको छुट्ट्याउन सक्ने क्षमता (discernment) को बारेमा यो त्यति प्रशंसनीय कुरा होइन जब परमेश्वरले मरेको भनी जनाउनुभएको मण्डलीले मानिसहरूको बीचमा भने जीवित रहेको नाम कमाउनु। पार्थिव घेराभित्र मण्डलीको काममा व्यस्त, जोशिलो, र सक्रिय भइरहेका विश्वासीहरू स्वर्गीय स्थानहरूमा ख्रीष्टमा रहिरहने (abiding in Christ) आत्मिक विचारधाराका मानिस हुन् नै भन्न सकिन्न। त्यसैले उनीहरूको क्रियाकालपको स्रोत ख्रीष्टको बौरिउठाइको सामर्थ्यभन्दा अर्कै थियो। क्रियाकलापका लागि विश्वासीका सम्भावित स्रोतहरू केवल दुइटा मात्र छन्: शरीर, जसले मृत्युका निम्ति फल फलाउँछ… वा आत्मा जो जीवन हुनुहुन्छ। सार्डिसमा, शरीरकै प्राधान्यता रहेको थियो… तर कसैलाई सो थाह थिएन। यो आज हाम्रो लागि ठूलो चेताउनी हो।

यो कस्तो दृश्य! यहाँ हामी देख्छौं एउटा ठूलो, सफल, बढ्दै गरेको, व्यस्त इभान्जेलिकल मण्डली, परमेश्वरका निम्ति क्रियाकलाप र कार्यक्रमको थुप्रोले व्यस्त, हुन सक्छ उनीहरूको सफलताको देखासिकी गर्नलाई अरू मण्डलीहरूलाई उनीहरूले सेमिनारहरू प्रदान गरिरहेका छन्, र अरू मण्डलीहरूका आँखामा यो मण्डली एउटा जीवनले भरिएको मण्डलीको नामले एकदम चर्चित छ। तरैपनि परमेश्वरको मूल्याङ्कन भने मानवीय विचार र मानवीय दृष्टिकोणको ठीक विपरति छ। परमेश्वरले त यो मरेको छ भन्नुभयो। स्वर्गबाट उहाँले सार्डिसको शहरमा रहेको मण्डलीलाई हेर्नुहुँदा उहाँले त्यहाँ आफ्नो प्रिय पुत्रको जीवन देख्‍नुभएन। पुत्रबिना भक्तिको जीवन सम्भव छैन। उहाँबिना हामी केही पनि गर्न सक्दैनौं। तसर्थ, उहाँको नाममा सम्पन्न सबै क्रियाकलापहरू केवल काठ, घाँस, पराल मात्र थिए… उहाँको दृष्टिमा कुनै मूल्य नभएको कुरा। उनीहरूका ती सबै क्रियाकलाप देखेर परमेश्वर प्रसन्न हुनुहुन्नथ्यो… मानिसका सामु उनीहरूले पाएको मान-इज्जत उहाँको लागि के-के न जस्तो थिएन। वास्तविक कुरा, उनीहरूको क्रियाकलापको स्रोत धार्मिक शरीर (religious flesh) थियो: र शरीर (पाप-स्वभाव) लाई परमेश्वरले घृणा गर्नुहुन्छ, त्यसले जेसुकै गरोस्, त्यो जस्तोसुकै देखा परोस् वा मानिसका सामु जतिसुकै आदर गरियोस्।

उक्त मण्डली ख्रीष्टियन जीवनको एउटा एकदमै आधारभूत तथ्यकै विषयमा अनजान थियो: भक्तिपूर्ण ख्रीष्टियन जीवन विश्वासीभित्र हुनुहुने ख्रीष्टको जीवनको प्रकट हुवाइ हो। दुःखको कुरा, त्यहाँ जीवनै थिएन, र (झन् ठूलो समस्या) उनीहरू सो कुरा जान्दैनथे। परमेश्वर र उहाँको वचनको अज्ञानतामा उनीहरूले मानवीय क्रियाकलाप, सेवा र जोशलाई जीवन भन्ठाने। "मबाट अलग रहेर तिमीहरूले केही पनि गर्न सक्दैनौ" भन्ने येशूको भनाइ नै नजानेको जस्तै गरी उनीहरू कामकुरा गर्दै थिए। सार्डिसको मण्डलीको स्थापना हुनुभन्दा धेरै अघि नै येशूले उक्त कुरा भन्नुभए तापनि उनीहरूलाई त्यो कुरा थाहै थिएन जस्तो देखिन्छ।

सार्डिसमा सामूहिक तहमा देखिएको अज्ञानता व्यक्तिगत तहमा अनगिन्ती पटक विश्वासीहरूकमा पाइन्छ। भक्तिको जीवन जिउनलाई परमेश्वरको योजनाको अज्ञानताको फलस्वरूप सधैं यस्तो नतीजा उत्पन्न हुन्छ: विश्वासीहरू परमेश्वरको मापदण्ड अनुसार जिउन र परमेश्वरलाई मन पर्ने बलिदान चढाउनलाई सकेसम्म प्रयास गर्छन्… यो महसुसै नगरिकन कि हाम्रो शरीरमा कुनै असल कुराले बास गर्दैन र हाम्रो पुरानो मान्छेले परमेश्वरलाई चढाउन सक्ने कुनै पनि कुरा उहाँलाई प्रसन्नलाग्दो हुनेछैन। धेरै, धेरै नै पटक, शरीरको क्रियाकलापलाई भक्तिको जीवनको रूपमा मान्यता दिइन्छ। शरीरले परमेश्वरलाई चढाउने जुनसुकै कुरा -- मानिसका सामु त्यो जतिसुकै उच्च मानप्राप्‍त किन नहोस् -- उक्त शारीरिक बलिदान जतिसुकै सुटेड-बुटेड किन नहोस् -- त्यसको कुनै पनि अंश परमेश्वलाई ग्रहणयोग्य हुन सक्दैन।

यसकारण, यी सबैलाई वारपार काटेर छुट्ट्याउन सक्न हामीलाई परमेश्वरको वचन चाहिन्छ, कुन कुरा नक्कली, देखावटी, शारीरिक हो भनेर प्रकट गरिदिन, ता कि हामीद्वारा ख्रीष्टको जीवन -- साँचो जीवन -- प्रकट होओस्। आफ्ना हृदयहरूमा परमेश्वरको वचन प्रशस्त गरी बास गरिरहेकाहरूले आफ्ना ज्ञानेन्द्रियहरू अभ्यस्त भइरहेको पाउनेछन्। उनीहरूले सडेको लाश र ख्रीष्टको मीठो बासनाको बीचको गन्धको भिन्नता छुट्ट्याउन सक्छन्। पिताले शरीरको दुर्गन्धलाई घृणा गर्नुहुन्छ; तर उहाँ आफ्नो पुत्रमा प्रसन्न हुनुहुन्छ। बाह्य रूप जतिसुकै मिल्दोजुल्दो देखिए तापनि, उहाँको प्रिय पुत्रको जीवनभन्दा कमसल कुनै पनि कुरा पितालाई कहिल्यै पनि चित्त बुझ्न सक्दैन।

भक्तिको जीवन भनेको ख्रीष्ट तपाईंभित्र जिउनु हो ("ख्रीष्ट तिमीहरूभित्र" नै भक्तिको जीवन हो)। क्रूसको वचनले हामीलाई सिकाउँछ, शरीर (पाप-स्वभाव) सित व्यवहार गर्ने परमेश्वरको माध्यम के हो। ख्रीष्टको रहस्यको वचनले हामीलाई हामीभित्र आफ्नो पुत्रलाई प्रकट गर्ने परमेश्वरको योजनाको शिक्षा दिन्छ। हाम्रो हृदयमा प्रशस्त गरी बास गर्ने ख्रीष्टको वचनले हाम्रो विचार, हृदय र हिँडाइमाथि नियन्त्रणकारी प्रभाव जमाउँछ। उहाँको वचनको ऐनामा प्रभुको महिमालाई हेर्ने काम हामीमा बदली ल्याउने पवित्र आत्माको कार्यको लागि अनिवार्य छ। दुईधारे तरवारको रूपमा वचनले हामीलाई प्राणीक कुरा र आत्मिक कुराको बीचमा भिन्नता देख्‍न सक्ने बनाउन सक्छ। शुरू देखि अन्तसम्म नै भक्तिको जीवनको लागि परमेश्वरको वचन चाहिन्छ नै।