Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

भक्तिको रहस्य (#१)

यस पृष्ठलाई छाप्नुहोस्

इसाई जीवन जिउने कसरी?

पास्टर जेम्स डेलनी

[निम्न प्रवचन सेप्टेम्बर १८, २००७ मा मीडलटाउन बाइबल चर्चको संयोजकत्वमा आयोजित न्यू इङगल्याण्ड बाइबल कन्फरेन्समा प्रस्तुत गरिएको थियो। पास्टर डेलनीले यस प्रवचनमा चर्चा गर्नुभएका कुराहरू प्रत्येक विश्वासीका लागि अति नै महत्त्वपूर्ण छन्।]

"अनि हेर, स्वर्गबाट एउटा आवाज आयो, जसले भन्यो: 'यिनी मेरा प्रिय पुत्र हुन्, जससँग म अत्यन्तै प्रसन्न छु।'" (मत्ती ३:१७)

पिताले आफ्नो पुत्रलाई प्रेम गर्नुहुन्छ। ख्रीष्टियन जीवन बुझ्नलाई यो तथ्य बुझ्न अनिवार्य छ। आफ्नो एकमात्र अद्वित्तीय पुत्रलाई पिताले कत्तिको प्रेम गर्नुहुन्छ भन्ने कुरालाई, अर्थात् त्यस प्रेमको चौडाइ र गहिराइलाई, पूरै अनन्तकालमा समेत पूर्ण रूपमा जानेर नसकिने कुरा हो। पुरानो नियमका कतिपय बलिदानहरूले पुत्रको व्यक्तित्व र कार्य पितालाई मीठो बास्ना दिने कुरा थियो भन्ने तथ्यलाई दर्शाउँथे। पुत्रले सधैं पितालाई खुशी पार्ने कुराहरू गर्नुभयो (यूहन्ना ८:२९)। पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ अनि पुत्रलाई कुनै न कुनै रूपमा दर्शाउने जुनसुकै कुरा पनि उहाँको निम्ति अति नै मनपर्दो हुने बताइएको छ। उहाँको पुत्रजस्तै देखिने, पुत्रजस्तै सुनिने, पुत्रजस्तै बोल्ने, पुत्रजस्तै हिँड्ने, यहाँसम्म कि उहाँको पुत्रको जस्तै बास्ना आउने कुराले समेत पितालाई एकदमै प्रसन्न तुल्याउँदछ।

पिताले हामीभित्र हुनुहुने आफ्नो पुत्रको हरेक अभिव्यक्तिलाई मन पराउनुहुन्छअचम्म, अचम्मको कुरा के भने, पिताले वर्तमान युगको विश्वासीलाई आफ्नो पुत्रभित्र राख्‍नुभएको छ र आफ्नो पुत्रलाई चाहिँ हामीभित्र। विश्वासद्वारा हामी ख्रीष्टसित अद्‍भुत रीतिले एउटा यस्तो एकत्व र घनिष्टतामा जोडिएका छौं, सम्भवत: यसलाई हामीले कहिल्यै पूर्ण रूपमा बुझ्न सक्नेछैनौं। हामी उहाँको शरीरभित्र बप्‍तिस्मा गरिएका छौं। हामी उहाँको मृत्यु, बौरिउठाइ र स्वर्गारोहणमा ख्रीष्टसित जोडिएका छौं... र उहाँसँगै स्वर्गमा बसालिएका छौं। यस अद्‍भुत सत्यताको परिणामहरूको बखान त गरेर साध्य छैन र जति गरे पनि अत्युक्ति हुँदैन। यो त हाम्रो युगको महिमा नै हो।

वास्तवमा, "ख्रीष्ट तिमीहरूभित्र" (कलस्सी १:२७) नै भक्तिपूर्ण ख्रीष्टियन जीवन हो। ख्रीष्टियन जीवन यही हो –हामीभित्र बास गर्नुहुने ख्रीष्टकै जीवन हाम्रो मरणशील शरीरद्वारा देखिनु। फिलिप्पी १:२१ मा पावलले लेखे, "मेरो निम्ति जिउनु ख्रीष्ट हो।" फेरि कलस्सी ३:४ मा उनले लेखे, "ख्रीष्ट जो हाम्रो जीवन हुनुहुन्छ।" उहाँ, जससँग पिता प्रसन्न हुनुहुन्छ, हामीभित्र नै हुनुहुन्छ र उहाँ नै हाम्रो नयाँ जीवन हुनुहुन्छ! यो सत्यतालाई विश्वासैद्वारा ग्रहण गरिनुपर्छ। विश्वास भन्नाले परमेश्वरले लिखितम दिनुभएको आफ्नो वचनको प्रकाशलाई साँचो मानिलिनु। अन्य उपायले यो उदेकको सत्यतालाई जान्न सकिन्न। यस्तो प्रबन्ध कसैको चित्तमा पनि आउन सक्ने कुरो थिएन। तर यही सत्यतालाई परमेश्वरले आफ्नो वचनमा प्रकट गर्नुभएको छ।

ख्रीष्टियन जीवनको लक्ष्य ख्रीष्ट हामीमा बनिनु हो। रोमी ८:२९ अनुसार "किनभने जसलाई उहाँले पहिले नै जान्नुभएको थियो, उनीहरूचाहिँ आफ्नै पुत्रको रूपमा ढालिऊन् भनेर उहाँले उनीहरूलाई पहिले नै ठहराउनु पनि भयो।" संसारको उत्पत्तिभन्दा अघिदेखि नै परमेश्वरको यही योजना थियो। उक्त योजना प्रत्येक साँचो विश्वासीको जीवनमा पूरा हुने नै छ किनकि "जसले तिमीहरूमा एउटा असल काम शुरू गर्नुभएको छ, उहाँले येशू ख्रीष्टको दिनसम्म त्यो पूरा गर्नुहुनेछ" (फिलिप्पी १:६)। गलाती ४:१९ मा प्रेरित पावलद्वारा लिखित वचनलाई ध्यान दिऔं: "हे मेरा साना नानीहरूहो, जबसम्म ख्रीष्ट तिमीहरूमा बनिनुहुन्न, तबसम्म म फेरि तिमीहरूका निम्ति प्रसूति-वेदनामा हुन्छु।" "बनिनु" भनेर अनुदित शब्द (मोर्फोओ, μορφοω) ले भित्री वास्ताविकतालाई बाहिरपट्टि अभिव्यक्त गर्ने कार्यलाई जनाउँछ भनेर ग्रीक भाषाविद श्री केनेथ वीस्ट (Kenneth Wuest) ले टिप्पणी गर्नुभएको छ। हामीभित्र भएको ख्रीष्टको जीवन बाहिर प्रकट गरिनुपर्छ। निम्न खण्डहरूलाई विचार गर्नुहोस्:

२ कोरिन्थी ४:१०-११ -- "येशूको जीवन पनि हाम्रो शरीरमा प्रकट होओस्... येशूको जीवन पनि हाम्रो मरिजाने शरीरमा प्रकट होओस्।"

रोमी १३:१४ -- "तर येशू ख्रीष्टलाई पहिर; अनि कुकामनाहरू पूरा गर्नालाई शरीरका लागि कुनै प्रबन्ध नगर।"

२ कोरिन्थी २:१४ -- "अब परमेश्वरलाई धन्यवाद होओस्, जसले ख्रीष्टमा हामीलाई सधैं विजयी बनाउनुहुन्छ, र हरेक ठाउँमा हामीद्वारा आफ्नो ज्ञानको मीठो बास्ना प्रकट गर्नुहुन्छ।"

१ कोरिन्थी २:१६ -- "हामीसँग ख्रीष्टको मन छ।"

फिलिप्पी २:५ -- "ख्रीष्ट येशूमा जुन मन थियो, त्यही मन तिमीहरूमा पनि होओस्।"

वचनले हामीलाई यो बताउँछ – विश्वासी जन ख्रीष्टजस्तै देखियोस्, ख्रीष्टको रूपमा ढालियोस्, उसले ख्रीष्टलाई पहिरोस्, वस्त्रलाई झैं उहाँलाई पहिरोस्, ख्रीष्टको मन भएको हतियार भिरोस् (१ पत्रुस ४:१) र ख्रीष्टको बास्ना समेत बोकेको होस्। साँच्चै, ख्रीष्ट हामीमा बनिनुहुँदै छ। पितालाई प्रसन्न तुल्याउने कुरा केवल यही हो: तपाईंभित्रको उहाँको प्रिय पुत्र ख्रीष्ट। आफ्नो प्रिय पुत्रलाई हामीमा देख्‍नुहुँदा पिता प्रसन्न बन्नुहुन्छ।

पिताले पाप स्वभावको हरेक अभिव्यक्तिलाई घृणा गर्नुहुन्छ। ख्रीष्टियन जीवन बुझ्नलाई यो तथ्य पनि बुझ्न अनिवार्य छ। परमेश्वरले पाप स्वभावलाई घृणा गर्नुहुन्छ। पुत्रलाई पिताले गर्नुहुने प्रेमको गहिराइलाई जसरी हामी पूरै जान्न सक्दैनौं, त्यसरी नै पाप स्वभावलाई पिताले गर्नुहुने घृणाको गहिराइ पनि हामी पूरै जान्न सक्दैनौं। पाप स्वभावलाई हामीले गर्ने घृणा त्यसलाई पिताले गर्ने घृणाभन्दा अतुलनीय रूपमा घटी हुन्छ। परमेश्वरले पाप स्वभावको हरेक अभिव्यक्तिलाई घृणा गर्नुहुन्छ। परमेश्वरले पाप स्वभावको रूपलाई घृणा गर्नुहुन्छ; उहाँले पाप स्वभावको स्वरलाई घृणा गर्नुहुन्छ; उहाँले पाप स्वभावको गन्धलाई घृणा गर्नुहुन्छ। उहाँले पाप स्वभावको सोच्ने तरिकालाई घृणा गर्नुहुन्छ। उहाँले पाप स्वभावको तर्कलाई घृणा गर्नुहुन्छ। उहाँले पाप स्वभावको कार्यशैलीलाई घृणा गर्नुहुन्छ, त्यसको चल्ने तरिका, त्यसको हिँड्ने तरिकालाई घृणा गर्नुहुन्छ। उहाँले त्यसको स्वार्थी स्वभावलाई घृणा गर्नुहुन्छ। उहाँले त्यसको धूर्त्याइँछललाई घृणा गर्नुहुन्छ। तर उहाँले आफूलाई आत्मिक वा भक्त देखाउन खोज्ने पाप स्वभावको अभिव्यक्तिलाई विशेष गरी घृणा गर्नुहुन्छ। भक्तिको बाह्यावरण पहिरेको पाप स्वभावलाई उहाँ घृणा गर्नुहुन्छ। भ्रष्ट पाप स्वभावले आफूलाई भक्तिको भेषमा प्रस्तुत गर्न मन पराउँछ, तर त्यसको साँचो शक्तिलाई, अर्थात् पवित्र आत्माको शक्तिलाई, इन्कार गर्दछ र आत्माको सट्टा शरीरलाई स्थानापन्न गराउँदछ। सड्दै गरेको लाशको दुर्गन्ध भन्दा बढी वाकवाक लाग्ने र घीनलाग्दो अर्को कुरा प्रकृतिमा नपाइनुको कारण त्यहाँ हुनुपर्दछ। के यसमा परमेश्वरबाटको कुनै पाठ नहोला? परमेश्वरको सामु कुनै बाह्यावरणले कुहिएको शरीरको दुर्गन्धलाई ढाकछोप गर्न सक्दैन। भ्रष्टपूर्ण शरीरले काढ्ने गन्ध यति उग्लेको हुन्छ कि यसलाई ढाकछोप गर्नै सकिन्न। त्यो हटाइनुपर्दछ – परमेश्वरको तरिकाले।

भ्रष्ट र शारीरिक स्वभाव जब हाम्रो मरणशील देहहरूमा सक्रिय बन्दछ, तब परमेश्वरको निम्ति मीठो बास्ना दिने सुगन्ध हुँदैन त्यहाँ। त्यसले वमनेच्छाको गन्ध काढ्दछ। वचनले शरीरको बारेमा के बताउँदछ, विचार गरौं:

उत्पत्ति ६:१२ -- "सबै" मानिसहरू "भ्रष्ट" भएका थिए र पूरै नाश गरिन योग्य भएका थिए। विश्वास गर्न हामीलाई गाह्रो लाग्ला, तर यो साँचो थियो।

रोमी ३:१०-१२ -- "असल गर्ने कोही छैन, एउटै पनि छैन।"

रोमी ७:१८ -- "मेरो शरीरभित्र कुनै असल कुराले वास गर्दैन।"

रोमी ७:५ -- शरीरले "मृत्युका निम्ति फल" फलाउँदछ।

रोमी ८:७ -- "किनभने शरीरमा मन लगाउनुचाहिँ परमेश्वरसँग दुस्मनी गर्नु हो।"

गलाती ५:१७ -- "शरीरले आत्माको विरोधमा अभिलाषा गर्दछ" - सधैं "यिनीहरू एक-अर्काको विरोधमा छन्।"

हाम्रो पाप स्वभावलाई परमेश्वरले कतिसम्म घृणा गर्नुहुन्छ भनेर विश्वास गर्न हामीलाई गाह्रै पर्छ। त्यसबेला हामी आफ्नो अविश्वास प्रकट गरिरहेका हुन्छौं जुनबेला हामी त्यस पाप स्वभावलाई त्यो "त्यति नराम्रो छैन" जस्तै देखाउनलाई उपायहरू खोज्छौं, त्यसलाई "सुटेड-बुटेड" पार्छौं, बेसी दुर्गन्ध नआओस् भनी त्यसलाई ढाकछोप गर्छौं। तर परमेश्वरलाई कहिल्यै छल्न सकिन्न। कडा मुक्काले किचिक्कै पारिएझैं हामीलाई अनुभूति तब हुन्छ जब "मेरो शरीरभित्र कुनै असल कुराले वास गर्दैन," र मेरो शरीर पितालाई घीनलाग्दो छ भनेर अन्तमा महसुस गर्न पुग्दछौं।

परमेश्वरको वचनले हामीलाई पतित, भ्रष्ट, मानवीय स्वभावप्रतिको परमेश्वरको घृणाको गहिराइको बारेमा प्रशस्तै चेताउनी नदिएको होइन। तर त्यसअनुसार सोच्नु हाम्रो निम्ति अस्वभाविक कुरा हो। यस विषयमा हाम्रो विचार परमेश्वरको विचारसित सहमतिमा साँच्चै आउनलाई समय लाग्छ, प्रायः वर्षौंको समय। स्वभावैले, एउटा विश्वासीले यस शरीरमा केही न केही गडबड छ भनेर उसले तुरन्तै चाल पाउँदछ, तरैपनि परमेश्वरले जस्तै त्यो पूरै रद्दी छ भनेर त्यसको विरुद्ध फैसला गर्न उसलाई गाह्रै पर्छ। हाम्रो शरीरमा कुनै असल कुरा छैन भन्ने परमेश्वरको निष्कर्षमा ईश्वरीय प्रकाश बेगर हामी कहिल्यै पुग्न सक्ने थिएनौं। हामी सबैमा त्यस्तो एउटा प्रवृत्ति छ जसअनुसार हामी यस शरीरको कुनै अंशलाई जोगाउन खोज्छौं, अर्कै रूपमा त्यसलाई प्रस्तुत गर्न खोज्छौं, "सुटेड-बुटेड" पार्न खोज्छौं र त्यसलाई परमेश्वरकहाँ अर्पण गर्न खोज्छौं। परमेश्वरले आफ्नो वचनमा भन्नुभएको कुरा सुनेर हामीलाई ताजुप लाग्छ; उहाँको वचन हाम्रो स्वभाविक विचारधाराको विपरित दिशामा दौडिरहेको छ। हाम्रो मन परमेश्वरको वचनको जलले प्रशस्त गरी भिजिइएको छैन भने, यस शरीरसम्बन्धी परमेश्वरको मुल्याङ्कनले भिजिएको छैन भने, हाम्रो हेराइ भ्रमपूर्ण हुन्छ, हामी आफूलाई नापभन्दा ठूलो देख्छौं।

यिनै कुराले यस युगको विश्वासी जनलाई एउटा गम्भीर दुविधामा पारेको हुन्छ। हामीभित्र ख्रीष्टको बास त छ जसलाई पिताले प्रेम गर्नुहुन्छ। तर हामीभित्र शरीरको बास पनि छ, अर्थात् आदमबाट सरी आएको त्यो पतित पाप-स्वभाव जसलाई पिताले घृणा गर्नुहुन्छ। कुनै पनि घडीमा यी दुइटामा एउटाचाहिँ हाम्रा मरणशील शरीरहरूद्वारा प्रकट भइरहेका हुन्छन्। जतिसुकै राम्रो लक्ष्य राखे तापनि परमेश्वरको वचनमा प्रकट गरिएअनुसारको पाप स्वभावको सामना गर्ने परमेश्वरको उपायको बारेमा यदि हामी अनजान छौं भने, हाम्रो प्रयास विफल हुनेछ। पाप स्वभावको समस्या समाधान सम्बन्धी रहेको उहाँको आफ्नो विस्तृत योजनालाई परमेश्वरले आफ्नो वचनमा प्रकट गर्नुभएको छ। नयाँ जन्मद्वारा पाइएको नयाँ स्वभावको कारण असलको "इच्छा गर्नेचाहिँ" आफूसित "हाजिर" (रोमी ७:१८) भएर पनि "जे असल छ, त्यसलाई पूरा गर्नेचाहिँ" (रोमी ७:१८) कसरी हो सो जान्नु नै पर्छ नत्रता हामीले विजयको अनुभव गर्नेछैनौं।

साँचो भक्तिको जीवन अनुभव गर्ने एउटै उपाय हो रहस्यको ईश्वरीय प्रकाशद्वारा, अर्थात् परमेश्वरले भक्तिको जीवनको रहस्यलाई खुलाइदिनुभई प्रकट गरिनुदिनुभएर। यस्तो योजना आँखाले कहिल्यै देखेको थिएन, न कानले कहिल्यै सुनेको थियो न ता मानिसको चित्तमा कहिल्यै उब्जिएको थियो। केवल वचनमा रहेको ईश्वरीय प्रकाशको माध्यमद्वारा हामी परमेश्वरका यी गहीरा कुराहरू जान्न सक्दछौं। भक्तिको जीवनका लागि परमेश्वरको योजना अन्तर्गत रहेको कुरा हो – भक्तिको रहस्य


पृष्ठ संशोधन मिति: Monday 10-Oct-11
WordofTruth.com.np © 2017