ख्रीष्टको महान् आज्ञा

यस पृष्ठलाई छाप्नुहोस्

डेविड क्लाउड

कण्ठ गर्नुपर्ने पदहरू: मत्ती २८:१८-२०; मर्कूस १६:१५; प्रेरित १:८

ख्रीष्ट बौरेर उठ्नुभएपछि उहाँले आफ्‍ना चेलाहरूलाई विश्वव्यापी रूपमा सुसमाचार प्रचार गर्नलाई सुम्पिनुभएको कामलाई महान् आज्ञा भन्ने संज्ञा दिइएको छ। यसलाई महान् आज्ञा भनिन्छ किनभने यो नयाँ नियममा पाँच-पाँच पटक दोहोर्‍याइएको छ (मत्ती २८:१८-२०; मर्कूस १६:१५; लूका २४:४४-४८; यूहन्ना २०:२१; प्रेरित १:८)। बाइबलमा कुनै पनि कुरा दुई उद्देश्यले दोहोर्‍याएर बताउने गरिन्छ। पहिलो, जोड दिने उद्देश्यले दोहोर्‍याइन्छ। धेरै पटक दोहोर्‍याउनुभएर उक्त आज्ञा महत्त्वपूर्ण छ भन्ने कुरा परमेश्वरले देखाउँदैहुनुहुन्छ। दोस्रो, शिक्षा दिने उद्देश्यले दोहोर्‍याइन्छ। प्रत्येक पटक महान् आज्ञा दोहोर्‍याइँदा थप शिक्षा दिइएको पाइन्छ। हामी यीमध्ये चारओटा खण्डहरूलाई अध्ययन गर्नेछौं:

मत्ती २८:१८-२०

१) यहाँ हामी महान् आज्ञाको अधिकार देख्दछौं (मत्ती २८:१८)। येशूसँग सारा अधिकार छ र जब हामी सुसमाचार प्रचार गर्दछौं त्यो उहाँकै अधिकारले गर्दछौं। तसर्थ कुनै पनि जाति वा राष्ट्रकहाँ जान र कुनै पनि व्यक्तिलाई उहाँको नाममा सुसमाचार सुनाउन हामीसँग अधिकार छ। "धर्म" भनेको व्यक्तिगत मामिला हो भन्ने सोंच धेरैको छ‍, तर येशूले त सुसमाचारको घोषणालाई हाम्रो जिम्मेवारी नै ठहराउनुभएको छ। बाइबलले बताउँछ कि नयाँ जन्म पाएको प्रत्येक व्यक्ति ख्रीष्टको राजदूत हो (२ कोरिन्थी ५:१७-२०)। हामी उहाँकै नाउँ र अधिकारमा जान्छौं।

२) साथै यहाँ हामी महान् आज्ञाको काममा कुन‍-कुन कुरा संलग्न हुनुपर्छ भन्ने कुरा पनि देख्दछौं (मत्ती २८:१९-२०)।

पहिलो, हामीले सुसमाचार प्रचार गर्नुपर्छ। "जाओ र … चेला बनाओ" लाई मर्कूस १६:१५ सित तुलना गर्दा यसले सुसमाचार प्रचार गर्ने कामलाई जनाउँदछ भन्ने कुरा हामी बुझ्दछौं। प्रत्येक मण्डलीले सुसमाचार प्रचारकहरू पठाउने काम गर्नुपर्छ र साथै मिसनरी (प्रचारक) हरूलाई सहायता गर्नुपर्छ।

दोस्रो, विश्वास गर्नेहरूलाई हामीले बप्‍तिस्मा दिनुपर्छ। बप्तिस्मा कुनै ऐच्छिक कुरा (अर्थात् लिए पनि हुने, नलिए पनि हुने कुरा) नभई आज्ञा नै हो। ख्रीष्टलाई मुक्तिदाताको रूपमा विश्वास गर्नेहरूका लागि आज्ञापालनको पहिलो कदम बप्‍तिस्मा हो।

तेस्रो, विश्वास गर्नेहरूलाई हामीले चेला बनाउनुपर्छ। कसैले मुक्ति पाएर बप्‍तिस्मा लिएपछि हाम्रो काम समाप्‍त हुँदैन। वास्तवमा त्यो त शुरु मात्र हो। हामीले उनीहरूलाई ख्रीष्टले आज्ञा गर्नुभएका सबै कुराहरू सिकाउनुपर्छ। यी आज्ञाहरू पवित्र शास्त्रको नयाँ नियममा छन्। यसो गर्नाले विश्वासीहरू विश्वासमा सुदृढ पारिन्छन् र झूटा शिक्षाहरूबाट जोगाइन्छन्। कुनै-कुनै शिक्षाहरू मात्र "सारभूत" (essential) छन् र बाँकी सारभूत छैनन् (non-essential) भन्ने र विभाजन ल्याउन सक्ने भएकाले तिनलाई जोड दिइनुहुन्न भन्ने व्यापक भूललाई यस खण्डले काट्छ। परमेश्वरका जनहरूलाई हामीले उहाँको वचनको एक-एक भागलाई पालन गर्न र आदर गर्न सिकाउनुपर्छ भनेर येशूले सिकाउनुभयो!

यो काम गर्न सक्नलाई एउटा मण्डली चाहिन्छ। महान् आज्ञा पूरा गर्नेहरू प्रेरितको पुस्तकमा मण्डलीहरू नै थिए भन्ने कुरा हामी त्यस पुस्तकमा देख्छौं। पावल र बर्नबास एन्टिओकको मण्डलीबाट पठाइएका थिए र तिनीहरूले यूरोपभरि धेरैओटा मण्डलीहरू शुरु गरे (प्रेरित १३-१४)। महान् आज्ञा पूरा गर्नलाई प्रत्येक मण्डली गम्भीर भई बाइबल तालिम दिने पाठशालाको रूपमा सक्रिय हुनुपर्छ। महान् आज्ञा भनेको ठूलो काम हो।

३) साथै यहाँ हामी महान् आज्ञाको साथसाथै दिइएको प्रतिज्ञा पनि देख्दछौं (मत्ती २८:२०)। काम हामीले गर्ने हो तर सामर्थ्य ख्रीष्टको हो। उहाँ हाम्रो साथमा हुनुहुन्छ। मिसनरी काम गर्न तल्लीन ख्रीष्टियन र मण्डलीको निम्ति यो एक विशेष प्रतिज्ञा हो।

मर्कूस १६:१५-१६

१) सुसमाचार हरेक राष्ट्र (जाति) लाई मात्र नभएर हरेक व्यक्तिलाई प्रचारिनुपर्छ। यो ज्यादै ठूलो काम हो र हरेक मण्डलीको मुख्य काम हो। यसको मतलब यो काम पूरा गर्नलाई प्रत्येक विश्वासीको आवश्यकता पर्छ।

यसले हामीलाई यो बताउँछ कि परमेश्वरले हरेक प्राणलाई प्रेम गर्नुहुन्छ र हरेक प्राणलाई बचाउन चाहनुहुन्छ जुनचाहिँ "सार्वभौम चुनाउ" (sovereign election) भन्ने क्याल्भिनवादी शिक्षाको विपरित छ।

यसले हामीलाई यो पनि सम्झना गराउँछ कि ख्रीष्टमा विश्वास राखेर बाहेक मुक्ति पाउने अन्य उपाय छैन। यदि अन्य उपाय भएको भए परमेश्वरले हामीलाई सुसमाचार हरेक व्यक्तिलाई यति ठूलो मूल्य चुकाएर प्रचार गर्न लाउनुहुनेथिएन।

२) बप्तिस्मा भनेको विश्वासीहरूको लागि हो, शिशुहरूको लागि होइन। बप्‍तिस्माको लागि आवश्यक कुरा विश्वास हो र त्यसैले शिशुहरू बप्तिस्माका उचित उम्मेदवार हुन सक्दैनन्। शिशु-बप्तिस्मा (infant baptism) एक झूटा शिक्षा थियो जुनचाहिँ नयाँ नियम पूरा भइसकेपछि र प्रेरितहरूको मृत्यु भइसकेपछि रचिएको थियो।

३) बप्‍तिस्मा भनेको मुक्तिपश्चात् मुक्तिको गवाही र प्रमाणस्वरूप लिइने कुरा हो। बप्तिस्मा नलिएकोले प्राण नरकको दोषी हुने होइन तर विश्वास नगरेकोले हो। "जसले विश्वास गर्दैन, त्यो दोषी ठहरिनेछ"। पावलले सिकाए, सुसमाचारले त मुक्ति दिन्छ (रोमी १:१६), तर बप्तिस्मा भनेको सुसमाचार त होइन (१ कोरिन्थी १:१७; १५:१-४)।

लूका २४:४४-४८

१) येशूले दुःख भोग्नु आवश्यक थियो किनभने पापीहरूले मुक्ति पाउने अरू उपाय थिएन (लूका २४:४६)। इसाईमत भनेको मैले परमेश्वरको निम्ति के गर्न सक्छु भन्ने होइन तर ख्रीष्टमा परमेश्वरले मेरो निम्ति के गरिदिनुभएको छ भन्ने हो।

२) पश्चात्ताप महान् आज्ञाको एउटा भाग हो (लूका २४:४७)। पश्चात्तापबिना पापहरूको क्षमा छैन। पश्चात्तापको माने झूटा ईश्वरहरूलाई परित्याग गरी परमेश्वरको अधिकारमुनि आफूलाई समर्पण गर्नु हो।

३) यस काममा सहभागी हुनु प्रत्येक विश्वासीको जिम्मेवारी हो (लूका २४:४८)।

प्रेरित १:८

१) यो काम मण्डलीको प्रमुख काम हो। प्रेरितको पुस्तकमा हामी यही कुरा देख्दछौं। शुरुका मण्डलीहरूले रोमी साम्राज्यका सामाजिक-राजनैतिक समस्याहरू समाधान गर्न ठूलाठूला योजना-परियोजनाहरू अपनाएनन्। तिनीहरूले सुसमाचार प्रचार गरे, विश्वासीहरूलाई चेलापनमा हुर्काए र नयाँ मण्डलीहरू स्थापना गरे।

२) पवित्र आत्माबिना हामीले केही पनि गर्न सक्दैनौं। हामी उहाँको सङ्गतीमा हिँड्नुपर्छ र हामीले उहाँको सामर्थ्यको खोजी गर्नुपर्छ। प्रार्थना भनेको यस कुराकै बारेमा हो, अर्थात् हामीलाई उहाँको दरकार छ भन्ने कुरा स्वीकार गर्नु र उहाँको सहायताको खोजी गर्नु हो। पवित्र आत्मा शुरुका विश्वासीहरूमाथि पेन्टेकोस्टको दिनमा आउनुभयो अनि त्यसबेला‍देखि उहाँले प्रत्येक विश्वासीलाई उसले ख्रीष्टमाथि विश्वास राखेकै घडीदेखि छाप मार्नुहुन्छ (एफेसी १:१२-१४)।

३) हाम्रो काम भनेको येशू ख्रीष्टलाई उचाल्नु हो। हामी उहाँका साक्षीहरू हुनुपर्छ। जब हामी मानिसहरूसित परमेश्वरका कुराहरू गर्दछौं त्यसबेला हामीले ख्रीष्टको बारेमा कुरा गर्नुपर्छ, मण्डली वा "इसाईमत" को बारेमा होइन।

४) महान् आज्ञा आफ्‍नै स्थानबाट शुरु हुन्छ र साथसाथै सारा विश्वसम्म नै आफूलाई फिँजाउँछ। यो काम मण्डलीहरूद्वारा पूरा हुन्छ जब उनीहरू आफ्‍नै समाज-समुदायहरूलाई ख्रीष्टमा ल्याउन खोज्छन् र साथै अन्य स्थानहरूमा भएका मिसनरीहरूलाई सहयोग गर्दछन्।

एकजना विश्वासीले महान् आज्ञा कसरी पूरा गर्न सक्छ?

  1. आत्मसमर्पण गरेर - महान् आज्ञा शुरु हुने यहाँबाट हो: "म यहाँ छु; मलाई पठाउनुहोस्! हे प्रभु, म के गरूँ - तपाईं के चाहनुहुन्छ?" हेर्नुहोस् यशैया ६:८; प्रेरित ९:६; रोमी १२:१।
  2. रीष्टसित सङ्गती गरेर - हामी प्रभुसित हिँड्दैनौं भने हामीले उहाँको बुद्धि वा सामर्थ्य वा अगुवाइ पाउनेछैनौं। उहाँको इच्छा पूरा गर्ने हामीसित कुनै चासो पनि हुनेछैन।
  3. वचन सिकेर - हामी उहाँको वचनमा अशिक्षित छौं भने हामी परमेश्वरद्वारा राम्ररी प्रयोग गर्न सकिनेछैनौं। मानिसहरूको प्रश्नका जवाफ दिनलाई हामीले बाइबल सिक्नुपर्छ। प्रभावकारी ढङ्गले साक्षी हुन, प्रार्थना आदि गर्न हामीले सिक्नुपर्छ।
  4. विश्वासयोग्य भएर - मिसनको मुटु भनेको मण्डलीहरू हुन् र मण्डलीहरू बलियो हुन सक्नलाई समर्पित, विश्वासयोग्य सदस्यहरूको खाँचो पर्छ।
  5. प्रार्थना गरेर - महान् आज्ञाको निम्ति चाहिने बुद्धि र सामर्थ्यको स्रोत यही हो। परमेश्वरका जनहरू प्रार्थनामा भिड्ने योद्धाहरू हुनुपर्छ, आफ्‍नै मण्डलीको लागि प्रार्थना गर्ने, अरू मण्डलीहरूका लागि प्रार्थना गर्ने, मिसनरीहरू, मुक्ति नपाएका नातागोताहरू, मुक्ति नपाएका साथीभाइहरू, पर्चा र व्यक्तिगत साक्षीद्वारा सुसमाचार सुनिरहेकाहरूको निम्ति प्रार्थना गर्नेहरू हुनुपर्छ। प्रार्थनाले परिवर्तनहरू ल्याउँदछ। मेरा प्रार्थनाहरूद्वारा कति-कति कुराहरू परिवर्तन हुँदैछन् त?
  6. दिएर - प्रभुको महान् आज्ञा एक बृहत् र खर्चिलो काम हो। के म ख्रीष्टको कामको निम्ति यस्तो प्रकारले दिने गर्दछु कि त्यसले उहाँप्रतिको मेरो प्रेमलाई प्रमाणित गर्दछ र सुसमाचारलाई संसारको अन्तसम्म फैलाउने काम गर्दैछ?
  7. गएर - नयाँ जन्म पाएको परमेश्वरको प्रत्येक सन्तान ख्रीष्टको राजदूत हो र ऊ प्रभुको बारेमा मानिसहरूलाई बताउन व्यस्त हुनुपर्छ, पर्चा बाँडिरहनुपर्छ र मण्डलीको प्रचार कार्यमा नियमित रूपमा सहभागी हुनुपर्छ।
  8. छोराछोरीलाई तालिम दिएर (हितोपदेश २२:६) - छोराछोरीहरू बुद्धिमानी बाबुआमाका ठोक्रोका काँडहरू हुन् जसलाई ख्रीष्टको सेवाको निम्ति तालिम दिइनुपर्छ (भजनसङ्ग्रह १२७:४-५)। ख्रीष्टिय बाबुआमाहरूले आफ्‍ना छोराछोरीहरूलाई यस्तो प्रकारले हुर्काउनुपर्छ ताकि यस जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको ख्रीष्ट र उहाँको काम हो भनेर उनीहरूले जानेका हुनेछन्। छोराछोरीहरूले आफ्‍ना बाबुआमाको जीवनमा कस्तो खालको उदाहरण देख्दैछन् त? बाबुआमाले आफ्‍नो छोराछोरीहरूलाई मिसनरी बन्न नियुक्त गर्न त सक्दैनन् किनभने त्यो त परमेश्वरको विशेष बोलावट हो, तर बाबुआमाले गर्न सक्ने भनेको आफ्‍ना छोराछोरीहरूलाई मिसनरी‍-मन भएको हुनलाई तालिम दिन सक्छन्।
  9. संसारबाट अलग भएर - सांसारिकपनले आत्मिक दर्शन र सामर्थ्यलाई नष्ट गर्दछ (१ पत्रुस २:११)।

यस वर्तमान दुष्ट संसारमा परमेश्वरको अनन्त पुत्रको नामलाई बोक्ने भाँडो हुन पाउनु भनेको ठूलो सौभाग्य हो। जीवन छोटो छ र परमेश्वरले हामीलाई दिनुभएको यस सुअवसरलाई मौका हुँदै सदुपयोग गर्नुपर्छ।

महान् आज्ञा सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. महान् आज्ञा के हो?
  2. महान् आज्ञालाई बयान गर्ने पाँचओटा खण्डहरू कुन-कुन हुन्? (पुस्तक र अध्याय मात्र)
  3. विश्वभरि सुसमाचार प्रचार गर्ने अधिकार ख्रीष्टियनहरूलाई किन छ?
  4. कुन खण्डले विश्वासी ख्रीष्टको राजदूत हो भनेर बताउँछ?
  5. महान् आज्ञा पालन गर्दा त्यसमा कुन तीनओटा कामहरू संलग्न हुन्छन्?
  6. महान् आज्ञा पूरा गर्नेहरूलाई येशूको प्रतिज्ञा के छ?
  7. सुसमाचार हरेक ______________________ लाई मात्र नभएर हरेक ______________________ लाई प्रचारिनुपर्छ।
  8. मर्कूस १६:१५-१६ ले बप्तिस्मा शिशुहरूको लागि होइन भनेर कसरी सिकाउँछ?
  9. येशूलाई दुःख भोग्नु किन आवश्यक थियो?
  10. पश्चात्ताप र पापहरूको क्षमा प्रचार गरिनुपर्छ भनेर येशूले आफ्‍ना जनहरूलाई आज्ञा दिनुभएको बाइबलको खण्ड कुनचाहिँ हो?
  11. विश्वासीले ख्रीष्टमाथि विश्वास गर्दाखेरि नै ऊ पवित्र आत्माले छाप मारिन्छ भनेर सिकाउने खण्ड कुन हो?
  12. विश्वासीले महान् आज्ञा पूरा गर्न सक्ने ९ ओटा तरिका कुन-कुन हुन्?
  13. यीमध्ये कतिओटा तपाईं आफैले अभ्यास गर्दैहुनुहुन्छ?

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course - 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो "एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू" शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9851-055734, 9818-399206; मूल्य: नेरू ३०० मात्र।