पोपसित हातेमालो (भाग ३)

यस पृष्ठलाई छाप्नुहोस्

के चितुवाले आफ्नो छालाको थोप्ला बदलेको छ र?

के रोमन क्याथोलिक चर्च बदलिएको छ र? के बाइबल विश्वास गर्ने इसाईहरू रोमसित हातेमालो गर्न अब स्वतन्त्र छन् र? के हामीले आफ्नो "धर्मान्धता" लाई पन्छाएर बरू विशालहृदयतालाई धारण गरौं त?

सन् १९६२ मा पोप जोन XXIII ले रोमन क्याथोलिक चर्चको २१ औं एकतावादी परिषद (ecumenical council) को बैठक बोलाएका थिए। उक्त बैठकलाई शताब्दीकै सबभन्दा उल्लेखनीय धार्मिक जमघट मान्न सकिन्छ। रोमन क्याथोलिक चर्चलाई aggiornamento ("फेरि चम्किलो" पार्ने कार्य) गरिन तर्जुमा गरियो। चर्चलाई युगको बदलिँदो परिस्थितिहरूसँगै अनुकूल बनाइने निर्णय गरियो। चर्चप्रतिको संसारको धारणालाई सपार्नाका निम्ति अर्थात् चर्च विगतमा भन्दा सहिष्णु र खुल्ला छ भनी देर्शाउन थुप्रै संरचनात्मक, प्रक्रियात्मक तथा विधिगत हेरफेरहरू गरिए। उक्त ऐतिहासिक सभा सम्पन्न भएदेखि यता धेरै इभान्जेलिकलहरूले रोमन क्याथोलिक चर्च बाइबलविपरित भएको भनी उदाङ्गो गरिनुपर्ने संरचना नभएर, यो एक स्वीकारयोग्य वैधानिक चर्च भएको, पर्याप्‍त रूपमा बदलिएको, एक ग्रहणयोग्य धार्मिक सङ्गति भएको धारणा राख्दै आएका छन्।

तर उक्त धारणा साङ्घातिक तवरले त्रुटीपूर्ण छ। दोस्रो भ्याटिकन परिषद (Vatican Council II) ले क्याथोलिक चर्चको एउटै पनि आधारभूत सिद्धान्तलाई हेरफेर गरेन। धेरै वर्ष अगाडि बाल्टिमूरका आर्चबिशप, एक प्रतिष्ठित रोमन क्याथोलिक अगुवा, जेम्स कार्डिनल गिब्बन्स्‌ (James Cardinal Gibbons) ले भनेका थिए, "रोमन क्याथोलिक चर्चलाई सुधार्न सकिन्न… शिक्षाको सवालमा चर्च सुधारप्रति ग्रहणक्षम छैन। चर्च देहधारी परमेश्वरकै कार्य हो। तसर्थ, परमेश्वरका अन्य सबै कार्यहरू जस्तै यो पनि सुधारको घेराभन्दा बाहिर पर्दछ।"1 यो दोहोर्‍याइन आवश्यक छ कि कार्डिनल गिब्बन्सले सो कुरा शिक्षा बदल्ने कुराको सवालमा भन्दै थिए, कुनै अभ्यास वा आराधना-विधि बदल्ने कुराको सवालमा होइन। रोमन क्याथोलिक चर्चले आफू शिक्षामा कतै गलत भएको कुरा स्वीकार गरेको खण्डमा त्यसले चर्चको पूरै सैद्धान्तिक (theological) संरचनालाई तहसनहस पार्नेथ्यो। पोप अमोघ (infallible, गल्ती गर्न नै नसक्ने) छन् भन्ने धारणामाथि र "शिक्षा प्रतिपादक मण्डली" (teaching church) को अधिकार अविवाद्य र बन्धनकारी हुन्छ भन्ने शिक्षाको आधारशीलामाथि नै रोमन क्याथोलिक सिद्धान्त (theology) को सम्पूर्ण संरचना अडेको छ।

रोमका कुनै पूरोहीत, कार्डिनल वा अन्य अगुवाका मुखबाट फाट्टफुट्ट निस्केका अभिव्यक्तिहरूलाई रोमको औपचारिक अडान मानिँदैन। आज रोमन क्याथोलिक चर्चभित्र रहेका थुप्रै क्यारिज्म्याटिकहरू "इभान्जेलिकलहरूसित बढी मिल्दोजुल्दो भएको" र तिनीहरूले ऐतिहासिक रोमनवादसित नमिल्ने कतिपय धारणाहरू बोकेको कुरालाई ठूलो कुरा मानिएको छ। त्यो साँचो नै भए तापनि क्याथोलिक चर्चभित्र रहेका वैयक्तिक सदस्यहरूले नै चर्चको सैद्धान्तिक आधारलाई निर्धारण गर्दैन। रोमन क्याथोलिकवादले बाइबललाई वैयक्तिक रूपमा व्याख्या गर्ने अधिकारलाई स्वीकार गर्दैन यद्यपि प्रोटेस्टेन्टहरूले गर्छन्। आधिकारिक शिक्षण चर्चबाटै आउँदछ र त्यसलाई शताब्दियौंदेखि सङ्ग्रह गरिँदै आएको रोमन क्याथोलिक सिद्धान्तहरूको सँगालोभित्र समाविष्ट गरिन्छ।

चर्चको अमोघत्त्व (The infallibility of the Church)

रोमन क्याथोलिक चर्च स्वयम् परमेश्वरबाट नियुक्त गरिएको बाइबलको एक मात्र आधिकारिक अर्थ प्रकाशक (interpreter) हो भनेर रोमनवादले अडान लिन्छ। एउटा क्याथोलिक स्रोतको व्याख्या यस प्रकार छ: अमोघत्त्व (infallibility) को माने "त्रुटि हुन नसक्ने वा चुक्न नसक्ने, त्यसो हुनदेखि बञ्चित वा स्वतन्त्र रहेको; (विशेष गरी) सैद्धान्तिक (theological) मामलामा, ईश्वरको विशेष सहायताले यो एउटा अलौकिक विशेषाधिकार नै हो जसद्वारा ख्रीष्टको मण्डली आफ्नो विश्वास र व्यवहारमा कुनै पनि त्रुटि हुन सक्ने सम्भावनादेखि सुरक्षित राखिन्छ।"2

"एक्स् कथिड्रा" (ex cathedra = "चर्चको आधिकारिक शिक्षकको रूपमा पत्रुसको आसनबाट") बोल्दाखेरि पोप सिद्धान्त प्रतिपादन गर्ने परमाधिकारले सुसम्पन्न हुन्छन्। "पोपले जगतमा येशू ख्रीष्टको ठाउँ ओगटेको हुन्छ.... ईश्वर-प्रदत्त अधिकारद्वारा विश्वास र व्यवहारको सवालमा एक-एक पास्टर तथा उनका बगालमाथि पोपको सर्वाधिकार र पूर्णाधिकार हुन्छ। उनी ख्रीष्टका साँचो vicar ("भिकर", विकल्पमा काम गर्ने व्यक्ति) हुन्, सबै मण्डलीका शिर हुन्, सबै ख्रीष्टियनहरूका पिता र शिक्षक हुन्। उनी नै अमोघ शासक हुन्, शिक्षा-सिद्धान्तहरू (dogmas) का प्रवर्तक हुन्, परिषदहरूका कर्ता तथा न्यायकर्ता हुन्, जगतका निर्णायक हुन्, स्वर्ग र पृथ्वीका सर्वोच्च न्यायधीश हुन्, कसैद्वारा न्याय नगरिने सबैका न्यायधीश हुन्, पृथ्वीमा स्वयम् परमेश्वर हुन् (the judge of all, being judged by no one, God himself on earth)।"3

बप्‍तिस्मा

इसाई कहलिएका प्रायः समूहहरूले बप्‍तिस्मालाई "मण्डलीभित्र छिर्ने ढोका" को रूपमा हेर्ने गर्छन्। दोस्रो भ्याटिकन परिषद् (Vatican Council II) मा गैर-क्याथोलिकहरू [रोमन क्याथोलिक] चर्चका सदस्य हुन सक्ने तथ्यलाई स्थान दिएर रोमले मण्डलीको परिभाषालाई अलिकति खुकुलो बनाएको देखिन्छ भन्ने कुरालाई धेरै इभान्जेलिकलहरूले अचाक्ली महत्त्व दिएका छन्। तरैपनि क्याथोलिकहरूको बुझाइमा यो साँचो चर्च रोमको चर्चभित्र कायम रहेको हुन्छ भन्ने कुरालाई स्मरण गरिनु आवश्यक छ। रोमी अडानको औपचारिक घोषणा ट्रेन्ट क्याटाकिज्म (Trent Catechism) को अभिव्यक्ति अहिलेसम्म खडा नै छ: "शिशुहरू, बप्‍तिस्माको अनुग्रहद्वारा परमेश्वरतर्फ नवीकरण नभएसम्म, उनीहरूका बाबुआमा चाहे इसाई हुन् या नहुन्, अनन्त पीडा र विनाशका निम्ति जन्मेका हुन्छन्।"4 यस्तो किसिमको सिद्धान्तको त्रासको सामना गर्ने प्रयासमा क्याथोलिक शास्त्रीहरूले "लिम्बस इन्फन्टम" (Limbus Infantum) नाम दिइएको एउटा वासस्थानको सृजना गरेका छन् जहाँ बप्‍तिस्मा नपाइकन मरेका शिशुहरू रहन्छन्, स्वर्गबाट बञ्चित तर पीडाको चेतनाबिना।

बप्तिस्माले आत्मिक जीवन पाइन्छ (baptismal regeneration) भनेर क्याथोलिक चर्चले शुरुदेखि आजसम्मै अडान लिँदै आएको छ। बप्तिस्मा नै "आत्मिक जीवनभित्र पुर्‍याउने ढोका अर्थात् प्रवेश द्वार हो, जसद्वारा हामी ख्रीष्टका अङ्गहरू बन्दछौं ... बप्तिस्मा नै आत्मिक पुनर्जन्मको स्रोत हो।"5 यदि असल विवेक कायम राख्ने हो भने, आधारभूतवादी [बाइबल] विश्वासी (fundamentalist) हरू ले बप्तिस्माद्वारा इसाई बनिन्छ भनी विश्वास गर्ने चर्चलाई कसरी स्वीकार गर्न सक्छन् र कसरी त्यससित सहकार्य गर्न सक्छन् र? [मुक्ति बप्तिस्माले पाइन्न भन्ने तथ्यलाई बाइबलबाट बुझ्न यहाँ पढ्नुहोस्।]

मास (The Mass)

क्याथोलिक आराधनाको केन्द्रीय स्थान ओगटेको छ मास भनिने उत्सवले। कतिपय गैर-क्याथोलिकहरूको त्रुटी यसैमा छ कि उनीहरू मासलाई प्रभु-भोजसँग मिल्दोजुल्दो भएको ठान्छन्। त्यो होइन। [क्याथोलिक शिक्षाअनुसार]"पवित्र मास येशू ख्रीष्टको शरीर र रगतको बलिदान हो जुन शरीर र रगत रोटी र दाखमद्यको रूपमा वेदीमा उपस्थित भएका हुन्छन् र यसलाई जीवित र मरेका दुवैका निम्ति परमेश्वरकहाँ चढाइन्छ।"6 मास ख्रीष्टको मृत्युको केवल सम्झना मात्र होइन।

"मास वास्तवमै प्रायश्चितकारी बलिदान हो जसद्वारा प्रभुलाई रिझाइन्छ र ... जसले भूल गल्तीहरू र पापहरूको क्षमा दिलाउँछ....। अन्तमा, मासचाहिँ कलवरीको आर्जनलाई बितरण गर्ने परमेश्वरद्वारा नियुक्त गरिएको माध्यम हो। ख्रीष्टले संसारका निम्ति मुक्ति र पवित्रताका निम्ति आवश्यक सबै अनुग्रहहरू हासिल गर्नुभयो। तर यी आशिषहरू अलि-अलि गरी र लगातार गरी प्रदान गरिने कुरा हुन्...मूलतः मासको माध्यमद्वारा...। पूरोहीतचाहिँ अपरिहार्य हुन्छ किनभने आफ्ना शक्तिहरूद्वारा उसैले मात्र रोटी र दाखमद्यका तत्त्वहरूलाई ख्रीष्टको शरीर र रगतमा परिणत गर्न सक्दछ...। [मासको] बलिदान जति धेरै पटक चढाइन्छ उति नै धेरै उपलब्धिहरू बितरण गरिन्छ..."।7

यस्तो शिक्षाले ख्रीष्टको बलिदान-कार्य पूर्णरूपमा सिद्ध थियो भन्ने बाइबलीय शिक्षालाई ठाडै इन्कार गर्दछ। ख्रीष्ट "धेरैका पापहरू बोक्नाका निम्ति एकपल्ट बलि चढाइनुभयो" (हिब्रू ९:२८)। "तर यी व्यक्ति ता पापहरूका निम्ति एउटै बलिदान सदाका निम्ति चढाएर परमेश्वरको दाहिने हाततर्फ बस्नुभयो" (हिब्रू १०:१२)। यस्तो विश्वास राख्ने व्यक्तिहरूलाई "इसाई बन्धुहरू" मान्नु भनेको बाइबलीय सुसमाचारकै केन्द्रीय विश्वासलाई इन्कार गर्नु हो।

तप (सास्ती)

रोमन क्याथोलिक सिद्धान्त (theology) को एउटा मुख्य कुना ढुङ्गाचाहिँ तप (penance) को शिक्षा हो। "तप, पूरोहीतबाटको पापमोचनद्वारा बप्तिस्मा लिएपश्चात् गरिएका पापहरूको क्षमा हुने धार्मिक संस्कार (sacrament) हो।8 क्याथोलिक शिक्षाअनुसार, बप्तिस्माद्वारा बप्तिस्माको धार्मिक संस्कारलाई ग्रहण गर्नुभन्दा अघि गरिएका पापहरूको क्षमा मिल्दछ। तर, त्यसपश्चात् गरिएका पापहरूका निम्ति भने त्यहाँ स्वीकार, अनुतापको साथसाथै कुनै पनि माग गरिएको असल-असल कामहरूको सन्तोषजनक कार्यान्वयन गरिन आवश्यक पर्छ। यसरी एक रोमन क्याथोलिक सदस्य निरन्तर पूरोहीतकै बन्धनमा रहन्छ जसले मात्र उसलाई उसका पापहरूदेखि छुटकारा पाउन मदत गर्न सक्दछ।

मुक्ति

आफ्नो चर्चको शिक्षाहरूलाई मान्ने एक रोमन क्याथोलिकले आफ्नो मुक्ति पक्का हुने आशा कहिल्यै गर्न सक्दैन। ट्रेन्ट परिषद (Council of Trent) ले आफूसित अनन्त मुक्ति भएको दाबी गर्नेहरूमाथि श्राप लगायो। "एक पटक धर्मी ठहरिएको व्यक्तिले अनुग्रह गुमाउन सक्दैन भनेर यदि कसैले भन्छ भने... त्यो श्रापित होस्।"9 विश्वासद्वारा अनुग्रहले मुक्ति पाइन्छ भन्ने कुरालाई क्याथोलिकहरूले इन्कार गर्छन्। प्रोटेस्टेन्ट रेफर्मेशन (Protestant Reformation) मा यो नै एउटा मुख्य मुद्दा थियो। क्याथोलिकवाद अनुसार मुक्तिका लागि विश्वास र काम दुवै आवश्यक हुन्छन्। "तसर्थ असल-असल कामहरूकै कारण परमेश्वरले इनामस्वरूप अनन्त जीवन प्रदान गर्नुहुन्छ।"10

मुक्ति सम्बन्धी यस्ता धारणाहरूलाई पछिको रोमन क्याथोलिकवादले अस्वीकार गरेको छ भन्ने कसै-कसैलाई लागेको हुन सक्छ। तर होइन। क्याथोलिक शिक्षकहरूबाटको हालैको निम्न अभिव्यक्तिलाई सुन्नुहोस्:

"ख्रीष्टको मृत्युले 'प्रायश्चित तथा पुण्यहरू कमायो जोचाहिँ एउटा 'ढुकुटी' मा सञ्चय गरिएको छ जसमा 'कन्या मरियमका प्रार्थना तथा सुकर्महरू लगायत सबै सन्तहरूका प्रार्थना र सुकर्महरू थपिएका छन्...। अति प्राचीन समयदेखि चर्चमा पापीहरूको उद्धारका निम्ति सुकर्महरू परमेश्वरकहाँ अर्पण गरिँदै आएको छ...। साँच्ची नै पवित्र व्यक्तिहरूका प्रार्थना र सुकर्महरूद्वारा पश्चात्तापी जनको उद्धार हुन्थ्यो...। ख्रीष्टको पाइलाहरूलाई पछ्याउने क्रममा उहाँमाथि विश्वास गर्नेहरूले आफ्ना पापहरू र अरूका पापहरूका निम्ति प्रायश्चित गर्नाका निम्ति सधैं आफ्ना क्रूसहरू बोकेका छन्। परमेश्वरबाट मुक्ति प्राप्‍त गर्नाका निम्ति आफ्ना दाजुभाइहरूलाई मद्दत गर्न सक्छौं भनी उनीहरू विश्वस्त थिए।"11

यस्तो किसिमको सिद्धान्त नयाँ नियमको बिलकुल विपरित छ भन्ने कुरा प्रस्ट छ। तरैपनि यस तथ्यले एक परम्परागत रोमन क्याथोलिकलाई विचलित पार्दैन। आधिकारिक क्याथोलिक स्रोतबाट उद्‍धृत निम्न अभिव्यक्तिले यस कुराको कारण देखाउँछ:

"उसले कहाँबाट आफ्नो विश्वासको विषयवस्तु प्राप्‍त गर्दछ भनेर एक क्याथोलिक अनुयायीलाई प्रश्न गरिँदा उसको जवाफ यो हुन्छ: जिउँदो शिक्षण अधिकारबाट...। उक्त अधिकारचाहिँ वर्तमान पोप लगायत विशपहरूमा निहित रहेको हुन्छ जोहरूको कर्तव्य नै प्रकटित सत्यताको ज्ञानको सम्वर्धन गर्नु हो। यसरी सैद्धान्तिक प्रश्नहरूलाई व्यक्तिगत रूपमा छानविन गर्नुपर्ने आवश्यकतादेखि एक क्याथोलिक व्यक्ति स्वतन्त्र हुन्छ र चर्चको शिक्षा नै स्वयम् ख्रीष्टकै शिक्षा हो भन्ने शान्तमय निश्चिन्ततामा ऊ जिउन सक्दछ।"12

कुनै एउटा शिक्षा पवित्र शास्त्रमा भेट्टाउन नसकिएको खण्डमा एक रोमन क्याथोलिक विचलित बन्दैन। त्यसलाई मण्डलीको शिक्षण निकाय अर्थात् म्याजेस्टेरियम (magesterium) द्वारा आधिकारिक शिक्षाको रूपमा घोषणा गरिसकिएको छ भने त्यसलाई सकली भनेर ग्रहण गर्न सकिन्छ। यसलाई क्याथोलिकहरूले, विशेष गरी अमेरिकामा, व्यावहारिक तहमा चुनौती दिएका भए तापनि यो रोमको दृढ सिद्धान्तको रूपमा विद्यमान नै छ। स्मरण रहोस्, रोमन क्याथोलिक चर्चको अडान अनुयायीहरूको धारणाले परिभाषित गर्दैन, न ता पूरोहित वर्गको धारणाद्वारा नै, तर विशपहरू र पोपको निश्चित निर्देशन (directive) द्वारा परिभाषित हुन्छ।

  1. James Cardinal Gibbons. The Faith of Our Fathers, p. 73.
  2. P.J. Toner. "Infallibility," The Catholic Encyclopedia, 1910 Edition, VII, 790.
  3. New York Catechism.
  4. Trent Catechism.
  5. N. G. M. Van Doornick, S. Jelsma, and A. Van de Lisdonk. A Handbook of the Catholic Faith, edited by John Greenwood.
  6. Catechism of Christian Doctrine, "What Is The Holy Mass?"
  7. Pocket Catholic Dictionary, pp. 248-49.
  8. Baltimore Catechism, p. 300.
  9. Council of Trent, Canon 23.
  10. Van Doornick, et. al., op. cit., p. 217.
  11. Vatican II, Flannery's Edition, I, 64-66.
  12. Van Doornick, et. al., op. cit., p. 137.

यी पृष्ठहरू डा. अर्नेस्ट पिकरिङ्गको Holding Hands with the Pope - The Current Evangelical Craze बाट नेपालीमा रूपान्तर गरिएका हुन्।