खुशीको खबर हुँदाहुँदै पनि कसरी चुप बस्ने?

यस पृष्ठलाई छाप्नुहोस्

उत्तरी राज्य इस्राएलको राजधानी सामरियालाई अरामीहरूले घेरा हालेका थिए (२ राजा ६:२४)। सशस्त्र सेनाहरूद्वारा घेरिएको हुनाले, कुनै पनि खाना तथा अन्य उपभोग्य सामग्रीहरू भित्र्याउन सकिएको थिएन र अवस्था छिट्टै भयावह बन्दै थियो। खानेकुराको यति अनिकाल पर्‍यो कि गधाको एउटा टाउको (गधाको शरीरको सबैभन्दा अखाद्य अङ्ग) को निम्ति चाँदीको ठूलै रकम तिरिन्थ्यो। भोकाएका देशवासीहरूलाई चराको सुलीहरू धरि बिक्री गरिन्थ्यो (२ राजा ६:२५)। सबैभन्दा भयङ्कर डरलाग्दो कुरा त्यसबेला भयो जब दुईजना स्त्रीहरूले आफ्‍नै छोराहरूको हत्या गर्ने र तिनका मासु खाने सल्लाह गरे जसको बारेमा इस्राएलका दुष्ट राजाले थाहा पाए (२ राजा ६:२८-२९; लेवी २६:२९; व्यवस्था २८:५३ सित तुलना गर्नुहोस्)। यस घटनाले हामीलाई यो सम्झना गराउँदछ कि त्यस्तै परिस्थिति आइपर्दा एउटा मानिसको नीच-अधम हृदयले गर्न सक्ने कुराको कुनै सिमा नै छैन।

अब चारजना कोरीहरू शहरको मूलढोकाको पस्‍ने ठाउँमा थिए (२ राजा ७:३)। तिनीहरूले आफ्‍ना विकल्पहरूको लेखाजोखा गरे। यदि तिनीहरू शहरमै बसे भने तिनीहरू निश्चय नै बिस्तारै भुखमरीको कारणले पीडादायी मृत्यु मर्नेथिए। यदी तिनीहरूले शहर छोडे भने सायद शत्रुहरूको हातबाट तिनीहरू मर्नेथिए, तर कमसेकम पनि यो चाहिँ तरवारद्वारा शीघ्र किसिमको मृत्यु हुनेथियो (२ राजा ७:४)। शत्रुको छाउनीमा राती गुप्त तवरले छिरेर केही खाना चोर्न सक्ने सम्भावना कमै थियो। “हामी कुनै न कुनै प्रकारले मर्नुनै छ, त्यसैले कमसेकम प्रयास गर्नु उपयुक्त होला।” जब तिनीहरू छाउनीमा आए, छाउनी खाली भएकोमा तिनीहरू आश्चर्यचकित परे। परमेश्वरले अचम्म तरिकाले अरामी सेनाहरूलाई हो-हल्लाहरू सुन्ने तुल्याउनुभयो जसले तिनीहरूलाई सम्पूर्ण खानाहरू र सरसामानहरू त्यहीँ छोडेर आफ्‍नो ज्यान जोगाएर भाग्न बाध्य तुल्यायो (२ राजा ७:५-७)। शुरुमा चार कोरीहरूले स्वार्थपूर्ण व्यवहार गरे। शत्रुको छाउनीभरि भेटिएका प्रशस्त खानाहरूले तिनीहरूले आफ्‍नै भोक मेटाए। त्यसपछि तिनीहरूले भविष्यमा आफैलाई धनवान् बनाउने आशाले छाउनीबाट अरू सम्पत्तिहरू लिएर लुकाए।

तर केही बेरमै तिनीहरूले आफ्‍नो स्वार्थीपनालाई महसुस गरे, आफ्‍नो विचार बदले, र आफ्‍ना सहदेशवासीहरूको बारेमा विचार गरे: “तब तिनीहरूले एक-अर्कालाई भने: हामीले ठीक काम गरिरहेका छैनौं, आजको दिन शुभ-समाचारको दिन हो; तर हामी चुपै लागिरहेका छौं। हामी बिहान उज्यालो होउन्जेल पर्खिरह्यौं भने हामीमाथि कुनै विपत्ति आपइर्ला; यसकारण अब आओ, हामी गएर राजाको घरानालाई बताइदिऔं!” (२ राजा ७:९)। हामीसँग धेरै प्राणहरू बचाउन सक्ने शुभ-समाचार छ। हामी कसरी चुपै लागिरहन सक्छौं? कसरी हामी यसको विषयमा शान्त भएर रहन सक्छौं? ती कोरीहरूले उचित कार्य गरे। तिनीहरू शहरभित्र गए र शुभ-समाचार घोषणा गरिदिए। फलस्वरूप प्राणहरू बाँचे।

आज मानिसहरू भोकले मर्दैछन्। उनीहरूलाई जीवनको रोटीको बेसरी खाँचो छ (यूहन्ना ६:३५)। हामीहरू, जसले परमेश्वर कृपामय वा भलो हुनुहुन्छ भनी चाखेका छौं (भजनसङ्ग्रह ३४:८; १ पत्रूस २:३) र जसले स्वर्गबाट आएको रोटीले तृप्त भएकाछौं; हामीसँग सुसमाचार छ जुन अरूहरूले सुन्न एकदम खाँचो छ। हामी कसरी चुपै लागिरहन सक्छौं? हामी कसरी शान्त भएर रहन सक्छौं? हामी कसरी मौन भई रहन सक्छौं? “किनकि मैले सुसमाचार प्रचार गरेँ भने पनि मसित गर्व गर्नुपर्ने कुरा केही छैन; किनकि यो ता मैले गर्नु खाँचै छ; अँ, मैले सुसमाचार प्रचार गरिनँ भनेचाहिँ मलाई धिक्कार छ!” (१ कोरिन्थी ९:१६)।

यदि तपाईं चिकित्सकीय अनुसन्धानकर्ता हुनुभएको भए र तपाईंले क्यान्सर रोगको औषधी पत्ता लगाउनुभएको भए, के तपाईं यसबारे चुप रहनुहुनेथ्यो, कि तपाईंले सारा संसारलाई बताउनु हुनेथ्यो? ख्रीष्टमा विश्वास गर्नेहरू एउटा रोगको बारेमा जान्दछन् जुन क्यान्सर भन्दा धेरै खराब छ: “हृदय ता सबै कुराहरूभन्दा बढी छली हुन्छ, र त्यो असाध्य दुष्ट (निको नहुने गरी रोगी) हुन्छ; कसले त्यो जान्न सक्छ र?” (यर्मिया १७:९)। यसको मानवीय उपचार छैन, तर ईश्वरीय उपचार भने छ, जुनचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा पाइन्छ। अहो! हामी पापहरूमा हराइरहेको समयमा हामीलाई शुभ समाचार सुनाउन इच्छुक भएको व्यक्ति वा व्यक्तिहरूका निम्ति हामी परमेश्वरप्रति कत्ति-कत्ति धन्यवादी छौं। बेसरी (पापको) रोगले ग्रस्त रहेका हाम्रा वरिपरिका मानिसहरूलाई यो सुसमाचार सुनाउनको निम्ति परमेश्वरले हामीलाई साहस र हिम्मत प्रदान गर्नुभएको होस्।

जीवन छोटो छ
मृत्यु निश्चित छ
रोगचाहिँ पाप रहेछ
औषधीचाहिँ ख्रीष्ट हुनुहुन्छ!