आफ्नो पैसाको सम्बन्धमा कसरी बुद्धिमान हुने?

यस पृष्ठलाई छाप्नुहोस्

भाग १ - दसौं अंश

डेविड क्लाउड

पद कण्ठ: हितोपदेश ३:९-१०; मलाकी ३:१०; लूका ६:३८; २ कोरिन्थी ९:६-७

बाइबलले पैसाको बारेमा धेरै कुरा बताएको छ; येशूका धेरैओटा प्रवचनहरू यही विषयमा थिए; मान्छेको हृदय उसको सम्पत्तिसित बाँधिएको हुन्छ भनेर उहाँले सिकाउनुभयो।

दसौं अंशको अभ्यास गरेर (मलाकी ३:८-११)

दसौं अंश, जसको माने आफ्नो आम्दानीको कम्तीमा १०% परमेश्वरलाई दिने कुरालाई जनाउँछ, परमेश्वरलाई आदर गर्ने र यस खाँचोमा डुबेको संसारमा उहाँको महान् कामलाई टेवा पुर्‍याउने एउटा तरिका हो। परमेश्वरले यसमाथि आशिष दिने प्रतिज्ञा गर्नुभएको छ, अनि कयौं विश्वासीहरूले आफूहरू आफ्नो आम्दानीको १००% मा जिउन खोज्नु भन्दा ९०% (अथवा ८०% इत्यादि) मा जिउँदा बढी उत्तम हुन्छ भनेर पत्ता लगाएका छन्।

  1. दसौं अंशको अभ्यास मोशाको व्यवस्थाभन्दा पहिलादेखिको हो। दसौं अंश दिने पहिलो व्यक्ति अब्राहाम थिए (उत्पत्ति १४:१८-२०)। उनले व्यवस्था पालन गर्नलाई भनेर दसौं अंश दिएका थिएनन्; उनले परमेश्वरलाई उहाँको प्रतिनिधि राजा/पूजाहारी मेल्किसदेकद्वारा आदर गर्नलाई दसौं अंश दिए। याकूबले दसौं अंश दिने अभ्यासलाई निरन्तरता दिए (उत्पत्ति २८:२०-२२)। त्यसैले हामी देख्दछौं दसौं अंश दिने अभ्यास व्यवस्थाबाट शुरु भएको होइन। योचाहिँ परमेश्वरका जनहरूले शुरुदेखिनै बुझ्दै आएको सिद्धान्त हो।
  2. व्यवस्थाअन्तर्गत दसौं अंश दिने अभ्यास हुन्थ्यो। मोशाको व्यवस्थाअन्तर्गत त्यहाँ वास्तवमा दोहोरो दसौं अंश थियो। इस्राएलीहरूले आफ्नो सबै आम्दानीको १०% दिनुपर्थ्यो (गन्ती १८:२४-२८; नहेम्याह १०:३८), साथै तिनीहरूले वार्षिक चाडहरूमा भेटीहरू ल्याउनुपर्थ्यो (जसलाई दोस्रो वा चाडको दसौं अंशा भनिन्थ्यो) (व्यवस्था १४:२२-२५)। साथै तिनीहरूले गरिबहरूलाई पनि दिनुपर्थ्यो (प्रस्थान २३:११; लेवी १९:१०; २३:२२)।

मलाकी ३:८-१२

  1. परमेश्वरले भन्नुहुन्छ, दसौं अंश आफै राख्‍नेहरूले उहाँलाई लुटेका हुन्। यसको कारण यो थियो कि मोशाको व्यवस्थाअन्तर्गत परमेश्वरले दसौं अंश दिनुपर्छ भन्ने आज्ञा दिनुभएको थियो र त्यसमाथि उहाँकै स्वामित्व हुन्थ्यो। पुरानो नियमकै दसौं अंश नयाँ नियमको विश्वासीले दिनुपर्छ वा पर्दैन भन्ने मान्यता जुनसुकै भए तापनि, यो निश्चित कुरा हो कि मण्डलीमा विश्वासीको धेरै आर्थिक जिम्मेवारीहरू हुन्छन् र तिनलाई पूरा गर्न विफल हुनु भनेको परमेश्वरलाई लुट्नु हो।
  2. परमेश्वरले दसौं अंश दिनेहरूलाई आशिष दिने प्रतिज्ञा गर्नुहुन्छ। विश्वासीले परमेश्वरलाई नदिईकन आफ्नो आम्दानीको १००% मा जिउन खोज्नुमा भन्दा दसौं अंशहरू र भेटीहरू दिएर र आफूसँग बाँकी भएकोमा जिउँदा नै उसले आफ्नो जीवन व्यवहार बढी उत्तम भएको पाउनेछ। यो बढी उत्तम किन छ भने किनकि मेरो जीवनमा परमेश्वरको आशिषबिना जिउनुभन्दा उहाँको आशिषसहित जिउनु बढी उत्तम हो। उहाँले "म तिमीहरूका निम्ति खाइदिनेलाई हप्‍काउनेछु" भन्नुको माने हाम्रो पैसा लुटिन सक्ने त्यस्ता कुराहरू हुनदेखि उहाँले रोक्नुहुन्छ भन्ने हो। यसको माने दसौं अंश दिनेहरूलाई कहिल्यै सङ्कष्ट आइपर्नेछैन भनेको होइन, उनीहरूको छाना कहिल्यै चुहिने हुँदैन भनेको होइन अथवा उनीहरूको मालसामान कहिल्यै टुटफुट हुँदैन वा उनीहरूको बालबच्चा कहिल्यै बिरामी हुँदैनन् भनेको होइन। यसको माने त्यहाँ अरू थुप्रै कुराहरू छन् जो नत्र ता हुन सक्थे तर जुनचाहिँ परमेश्वरको आशिषको कारणले हुन पाउनेछैनन्।
  3. दसौं अंशहरू परमेश्वरको भण्डार-घरभित्र ल्याइनुपर्छ। पुरानो नियममा भण्डार-घर भनेको यरूशलेममा भएको मन्दिर थियो। आज मण्डली परमेश्वरको घर हो (१ तिमोथी ३:१५)। सबभन्दा शुरुको प्रथम मण्डलीमा मानिसहरूले आफ्ना दानहरू ल्याए र तिनलाई अगुवाहरूको पाउमा राखिदिन्थे (प्रेरित ४:३४-३५)। यही नै आज हाम्रो लागि नमुना हो। मण्डलीको त पुरानो नियमको मन्दिरको भन्दा धेरै नै काम छ। मण्डलीलाई सुसमाचार पृथ्वीको छेउसम्म प्रचार गर्नलाई आज्ञा दिइएको छ (मत्ती २८:१८-२०)। यो त ज्यादै खर्चिलो अभियान हो, अनि यसको खर्च परमेश्वरका जनहरूले व्यहोर्नुपर्ने हुन्छ। सुसमाचारका प्रचारकहरूलाई मण्डलीहरूद्वारा टेवा दिइनुपर्छ (१ कोरिन्थी ९:१४; तीतस ३:१३-१४; ३ यूहन्ना ५-८)।

हितोपदेश ३:९-१०

  1. बाबुआमाले आफ्ना छोराछोरीहरूलाई दसौं अंश दिन सिकाउनुपर्छ। पहिलो पदलाई विचार गर्नुहोस् जहाँ यस अध्यायमाचाहिँ एउटा बाबुले आफ्नो छोरालाई दिएका निर्दैशनहरू छन् भन्ने देखिन्छ। बाबुआमाले आफ्ना छोराछोरीहरूलाई दसौं अंश दिन सिकाउन सक्दैनन् जबसम्म उनीहरू आफैले त्यो सिकेका छैनन्। बाबु वा आमाले जब आफ्नो नानीलाई दसौं अंश दिन सिकाउँछ उसले पहिला उसलाई अलिकति पैसा हरेक हप्‍ता भेटी उठाइँदा त्यहाँ राख्‍नलाई दिन्छ। जब बालक वा बालिकाले आफ्नै पैसा कमाउन थाल्छ, त्यो जतिसुकै थोरै किन नहोस्, बाबुआमाले उसलाई त्यसको १०% परमेश्वरलाई दिनलाई सिकाउँछ। बालककालदेखिनै दसौं अंश दिने बानी बसालियो भने ठूलो हुँदा त्यसलाई निरन्तरता दिन सजिलो हुन्छ।
  2. दसौं अंशचाहिँ "आफ्नो सबै उब्जनी (आम्दानी)" बाट दिइनुपर्छ। यसको मतलब जब-जब हामीले कुनै पैसा कमाउँछौं वा प्राप्‍त गर्दछौं त्यसबाट हामीले प्रभुलाई त्यसको दसौं अंश दिनुपर्छ।
  3. दसौं अंश दिनेहरूलाई आशिष दिने परमेश्वरको प्रतिज्ञा छ। यो प्रतिज्ञा पवित्रशास्त्रमा दोहोराइएको छ किनभने परमेश्वरले यो कुरा पक्का हो भनेर जोड दिन चाहनुहुन्छ। हामी परमेश्वरको वचनमा भरोसा गर्न सक्छौं!
  1. दिने सम्बन्धमा नयाँ नियमका केही खण्डहरू

लूका ६:३८

येशूले यहाँ दिने सम्बन्धीमा एउटा अचम्मको प्रतिज्ञा गर्नुभयो। उहाँले तोकेर दसौं अंशकै बारेमा नभएर सामान्यरूपमा दिने विषयमा कुरा गरिरहनुभएको छ। परमेश्वर हर्षसाथ दिनेलाई मन पराउनुहुन्छ। यो यस्तो कुरा हो जसको उहाँले ख्याल राख्‍नुहुन्छ र प्रशस्त गरी आशिष दिनुहुन्छ।

१ कोरिन्थी १६:१-२

यस खण्डमा हामी देख्‍छौं शरुका मण्डलीका विश्वासीहरूले हप्‍ताको पहिलो दिनमा भेला हुँदाखेरि सङ्कलन कार्य गर्ने गर्थे। यहाँ उल्लेखित सङ्कलनचाहिँ पावलले यरूशलेममा भएका ख्रीष्टियनहरूका लागि उठाइरहेका थिए किनकि त्यसबेला उनीहरूलाई अनिकालको कारणले दुःख भइरहेको थियो (रोमी १५:२६)। यस अवसरमा पनि पावलले उनीहरूलाई "परमेश्वरले फलिफाप गराउनुभएअनुसार" दिनलाई सिकाए। यसको माने दिने कामचाहिँ आनुपातिक ढङ्गले हुनुपर्थ्यो। यो दसौं अंशको जस्तै सिद्धान्त हो। जसले बढी कमाउन सक्छन्, उनीहरूले बढी दिन्छन्।

२ कोरिन्थी ९:६-७

यो पनि फेरि उही विशेष सङ्कलनको कुरा हो जुन पावलले यरूशलेमका विश्वासीहरूका लागि उठाउँदैथिए।

हामी देख्छौं कि यस्ता भेटीहरू स्वेच्छापूर्ण भेटी हुन्, यसको माने प्रत्येक विश्वासीले कति दिने भन्ने बारेमा आफ्नै निर्णय गर्दछ (२ कोरिन्थी ९:७)।

पावलले उनीहरूको दिने कामलाई आशिष दिनुहुनेछ भनेर प्रतिज्ञा गरे।

  1. दसौं अंश दिने काम विश्वासैद्वारा गरिनुपर्छ

प्रभावकारी ढङ्गले दसौं अंश दिने एउटै मात्र उपाय भनेको विश्वासैद्वारा यसको अभ्यास गर्नु हो। हामीले कठिनाइका घडीहरूमा समेत परमेश्वरको प्रतिज्ञाहरूलाई विश्वास गर्नुपर्छ। अनि हामीले सम्झना गर्नुपर्छ कि परमेश्वरले विश्वासको जाँच गर्नुहुन्छ, त्यो साँचो छ कि छैन भनेर हेर्न र त्यसलाई अझ प्रबल बनाउन (याकूब १:२-४)। धेरै पटक जब एउटा विश्वासीले दसौं अंश दिन थाल्ने निर्णय गर्दछ तब उसको निर्णयको जाँच गर्नलाई उसलाई केही आर्थिक समस्या आउँछ।

जोन आर राइसले बीसौं शताब्दिको शुरुतिरको टेक्सासको एक काइकेनदाल नाम गरेका प्रचारकको चर्चा गर्छन्। उनी प्रचार कार्यमा त्यस इलाकाको ठाउँ-ठाउँमा पालैपालो फन्को मार्दै घुम्ने गर्थे र उसले पाउने सङ्कलित भेटीहरू ज्यादै थोरै थिए, यतिसम्म कि उसको ठूलो परिवारलाई समस्या थियो। एक सालको कुरा हो एकजना धनी व्यापारी उक्त इलाकामा आएछन् र विभिन्न मण्डलीहरूमा आफ्नो गवाही बाँडेछन् र काइकेनदालले उसलाई पाहुना सत्कार गरेछन् र आफ्नो बग्गीमा एउटा सभादेखि अर्को सभामा उनलाई डोर्‍याएछन्। विभिन्न कुरामध्येमा त्यस व्यापारीले विश्वासीहरूलाई दसौं अंश दिनलाई चुनौती दिएछन्। एक दिन बग्गीमा चढेर जाँदै गर्दा व्यापारीले प्रचारकलाई दसौं अंश दिनुपर्छ भन्ने बारेमा विश्वास गर्नुहुन्छ कि हुन्न भनेर सोधेछन्।

तिनले जवाफ दिए, "गर्छु, दसौं अंश दिन म चाहन्छु, तर म ज्यादै गरीब छु र मलाई मेरो ठूलो परिवार स्याहार्नुपरेको छ।"

व्यापारीले जवाफ दिए, "म तपाईंलाई एउटा प्रस्ताव राख्छु। तपाईंले यदि एक सालभरि दसौं अंश दिने गर्नुभयो भने, म तपाईंलाई ग्यारेन्टी दिन्छु। उक्त सालको कुनै पनि समयमा यदि तपाईंले आफ्नो आर्थिक जिम्मेवारी पूरा गर्न नसक्नुभएको आफूलाई पाउनुभयो भने र के गर्ने कसो गर्ने भयो भने खालि मलाई सम्पर्क गर्नुहोस् र आवश्यक रकम म तपाईंलाई पठाइदिनेछु। म एउटा धनी मानिस हुँ र म आफूले बोलेको वचन पूरा गर्ने मानिस हुँ।"

काइकेनदालले उत्साही भई जवाफ दिए, "हुन्छ, म खुशीसाथ तपाईंको यो प्रस्तावलाई स्वीकार गर्छु।"

प्रचारकले आफूले स्वीकारेअनुसार विश्वासयोग्य रीतिले दसौं अंश दिन थाले तर उसले कहिल्यै पनि ती व्यापारीलाई सम्पर्क गर्नुपरेन। बाह्र महिनाको अन्तमा पुगेर प्रचारकले यस कुरालाई मनन गर्दैथिए। परमेश्वरले उनलाई त्यस साल प्रशस्त गरी आशिष दिनुभएको थियो र उनका सबै खाँचोहरू पूरा गरिदिनुभएको थियो। मानिसहरूले उसलाई भेटीहरूमा पहिलाभन्दा कयौं गुणा धेरै दिएका थिए, अनि उनको परिवारले थुप्रै विशेष आशिषहरू अनुभव गरेका थिए। यी कुराहरूलाई जब उनले विचार गरिरहेका थिए तब एक्कासी उनको हृदयलाई एउटा पीडाले पक्र्यो। किनकि उसलाई यो महसुस भयो कि उनले एउटा व्यापारी मान्छेको वचनमाथि भरोसा गरेका थिए तर त्यो भन्दा पनि ठूला-ठूला प्रतिज्ञाहरू गर्ने जीवित परमेश्वरको वचनमाथि भरोसा गर्न उनी चाहेका थिएनन्!

  1. हो, दसौं अंश दिनुपर्छ भन्ने आज्ञा मोशाको व्यवस्थामा जस्तै गरी नयाँ नियममा छैन तर...
    1. सम्झना गर्नुहोस्, दसौं अंश मोशाको व्यवस्थाभन्दा पहिलादेखिको अभ्यास हो। अब्राहामले आफू व्यवस्थाको अधीनमा भएकाले दसौं अंश दिएका थिएनन्; उनले दसौं अंश दिए किनकि उनले परमेश्वरलाई आदर गर्न चाहन्थे र परमेश्वरको काम (जसको प्रतिनिधित्व मल्किसदेकले गर्दैथिए) मा योगदान दिन चाहन्थे। यो नयाँ नियमका विश्वासीहरूलाई असल उदाहरण हो, किनकि हामी विश्वासद्वारा अब्राहामका सन्तान हौं (रोमी ४:१६-१७)।
    2. पुरानो नियमचाहिँ हाम्रो उदाहरणका लागि दिएको थियो (रोमी १५:४; १ कोरिन्थी १०:११)। पावलले नयाँ नियमका विश्वासीहरूले प्रचारकहरूलाई र प्रचार कार्यलाई टेवा दिनुपर्छ भनेर सिकाउनलाई पुरानो नियमको दिने प्रणालीलाई अधिकारस्वरूप प्रयोग गरे (१ कोरिन्थी ९:८-१४)।
    3. आफ्ना जनहरू दिने खालका मानिसहरू होऊन् भन्ने कुरा ख्रीष्टले प्रस्टै व्यक्त गर्नुभएको उहाँको इच्छा हो (लूका ६:३८)। "दसौं अंश दिनुपर्छ" भन्ने कुरामा विश्वास नगर्ने कतिपयहरूलाई मैले भेटेको छु जो कञ्जुस छन्। मण्डलीमा उनीहरूले आफ्नो उचित अभिभारा बोक्दैनन्। कञ्जुस्याइँ र कसिएको मुठ्ठी एउटा परमेश्वरको सन्तानको वास्तविक चरित्र होइन। दसौं अंश व्यवस्थाको कुरा हो भनेर तपाईंले यदि विश्वास गर्नुहुन्छ भने तापनि, यस वर्तमान संसारमा परमेश्वरको कामको खाँचोहरूको प्रसङ्गमा तपाईंले आफ्नो आम्दानीको ९०% भन्दा भाग आफ्नै निम्ति राख्‍नलाई त तपाईंलाई शर्म लाग्नुपर्ने हो। वर्तमान समयमा दसौं अंश दिने नियम छैन भनेर विश्वास गर्नेहरूमध्येमा सबै नै कञ्जुस हुँदैनन् भन्ने कुरा पनि म यहाँ थप्नलाई ढिलो गर्न चाहन्न। वास्तवमा म कतिलाई चिन्छु जसले आफ्नो आम्दानीको ३०%, ४०%, ५०% समेत प्रभुलाई दिन्छन्।
    4. विश्वासीका थुप्रै आर्थिक दायित्व अर्थात् कर्तव्यहरू छन्। महान् आज्ञा एउटा दायित्व हो। सुसमाचारलाई सबै जातिका सबैजनालाई पुर्‍याउन हामीलाई आज्ञा गरिएको छ (मर्कूस १६:१५; प्रेरित १:८)। यसलाई ख्रीष्टको "महान् आज्ञा" भनिन्छ किनकि नयाँ नियममा यसलाई पाँच-पाँच पटक दोहोराइएको छ, र यसरी यसको महत्त्वलाई जोड दिइएको छ। विश्वव्यापी रूपमा सुसमाचारको प्रचार कार्यचाहिँ ख्रीष्टको मृत्युसँग सम्बन्धित छ यसमा कि मानिसको पापको निम्ति भएको ख्रीष्टको वेदना वा दुःखभोगाइ प्रभावहीन हुन्छ यदि सुसमाचारको घोषणा गरिँदैन भने (लूका २४:४६-४७)। विश्वव्यापी सुसमाचार अभियान ज्यादै खर्चिलो कार्य हो। यस कामलाई अघि बढाउन प्रत्येक विश्वासीलाई आफूले जे गर्न सक्छ त्यो गर्नुपर्ने दायित्व छ, र यसअन्तर्गत आफै सुसमाचार सुनाउनु हो, प्रार्थना गर्नु हो, दिनु हो। प्रचारकहरूलाई र मिसनरीहरूलाई टेवा दिनु एउटा दायित्व नै हो (१ कोरिन्थी ९:१४; फिलिप्पी ४:१५-१७; तीतस ३:१३-१४; ३ यूहन्ना ५-८)। मण्डली पनि एउटा दायित्व नै हो। यस वर्तमान युगमा यो नै परमेश्वरको घर र सत्यको खाँबो र जग हो (१ तिमोथी ३:१५)। यो नै विश्वव्यापी सुसमाचार प्रचारको केन्द्र हो (प्रेरित १३:१-४)। यसैकारण मण्डलीको काममा आर्थिक रूपमा टेवा दिनु हरेक विश्वासीको दायित्व हो ताकि यसले यस खाँचोमा डुबिरहेको संसारमा परमेश्वरले दिनुभएको कार्यलाई पूरा गर्न सकोस्।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course - 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो "एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू" शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9851-055734, 9818-399206; मूल्य: नेरू ३०० मात्र।