आफ्नो पैसाको सम्बन्धमा कसरी बुद्धिमान हुने?

यस पृष्ठलाई छाप्नुहोस्

भाग २

डेविड क्लाउड

पद कण्ठ: हितोपदेश ६:९-११; ११:१५; २३:२०-२१; एफेसी ४:२८; हिब्रू १३:५-६

१) परमेश्वरलाई पहिलो स्थान दिनुहोस् र आफ्ना खाँचोहरू पूरा गरिन उहाँमाथि भरोसा राख्‍नुहोस् (मत्ती ६:३१-३३)

यदि विश्वासीले परमेश्वरलाई पहिलो स्थान दिन्छ भने सबै कुरा मिलेर आउँछ, तर यदि उसले आफैलाई पहिलो स्थानमा राख्‍छ भने सबै कुरा भताभुङ्ग भएर जान्छ!

  1. परमेश्वरलाई पहिलो स्थान दिनु भनेको परमेश्वरको आज्ञा मान्नु हो। यसको माने मेरो आफ्नो कामकुरालाई भन्दा परमेश्वरको कामकुरालाई प्राथमिकता दिनु हो; आफूलाई खुशी पार्नुभन्दा परमेश्वरलाई खुशी पार्नु हो। विश्वासीले मण्डलीको सवालमा परमेश्वरलाई पहिलो स्थान दिनुपर्छ। म नयाँ विश्वासी हुँदा मैले माण्डलिक सभालाई छोड्न बाध्य गराउने कुनै पनि काममा हात नहाल्ने निर्णय गरेँ (हिब्रू १०:२५)। विश्वासीले पैसाको सवालमा आफ्नो आम्दानीको पहिलोफल परमेश्वरलाई दिएर परमेश्वरलाई पहिलो स्थान दिनुपर्छ। विश्वासीले बाइबलको सवालमा दिनको पहिलो भागलाई बाइबल अध्ययन र आराधना गर्नलाई अलग गरेर र परमेश्वरको वचन झन्-झन् राम्ररी सिक्नलाई हरेक मौका लिएर परमेश्वरलाई पहिलो स्थान दिनुपर्छ। साथै विश्वासीले पेशा र मित्रताहरू र विवाह आदि जस्ता आफ्ना निर्णयहरूमा पनि परमेश्वरलाई पहिलो स्थान दिनुपर्छ।
  2. परमेश्वरलाई पहिलो स्थान दिनुको माने परमेश्वरमाथि भरोसा गर्नु हो। यसको माने उहाँका प्रतिज्ञाहरू विश्वास गर्नु र उहाँलाई शङ्का नगर्नु हो। मैले उहाँको आज्ञा मान्नुपर्छ अनि त्यसपछि मैले उहाँले मेरो वास्ता गर्नुहुन्छ र मेरा कामकुराहरू मिलाउनुहुनेछ भनेर उहाँमाथि भरोसा गर्नुपर्छ।
  3. परमेश्वरलाई पहिलो स्थान दिनु भनेको धैर्य गर्नु र प्रभुको बाटो हेर्नु हो (भजनसङ्ग्रह २७:१४; हितोपदेश २०:२२)। हामीले धैर्य गर्नुपर्छ भनेर परमेश्वरले माग राख्‍नुभएको छ; यो एउटा ठूलो आत्मिक नियम हो। परमेश्वरको इच्छा र योजनामा कामकुराहरू रातारात हुँदैनन्। हाम्रो विश्वास साँचो छ कि छैन भनेर उहाँले हाम्रो जाँच गर्नुहुन्छ। परिस्थिति जस्तोसुकै कठिन भए पनि हामी आफ्ना कर्तव्यहरूमा विश्वासयोग्य हुनुपर्छ र अगाडि बढिनैरहनुपर्छ।

२) कडा परिश्रम गर्नुहोस् (हितोपदेश ६:६-११)

हितोपदेशको पुस्तक व्यावहारिक बुद्धिको पुस्तक हो, र यसले बारम्बार अल्छिपनाको विरुद्धमा चेताउनी दिन्छ। परमेश्वरले कडा परिश्रमलाई आशिष दिनुहुन्छ र अल्छिपनालाई उहाँ घृणा गर्नुहुन्छ। उहाँले हामीलाई कमिलाबाट सिक भन्नुहुन्छ। कमिलाबाट सिक्न सकिने केही पाठहरूलाई विचार गरौं:

  1. कमिला निगरानीबिना काम गर्छ र विश्वासीले पनि दिनको शुरुदेखि दिनको अन्तसम्म उसलाई हेरिरहने कोही नभए पनि वा उसलाई घरिघरि घच्घचाउने कोही नभए पनि विश्वासयोग्य भएर ख्रीष्टको सेवा गर्नुपर्छ।
  2. कमिलाले मौका हुँदैमा काम गर्छ र "राम्रो दिन" कहिले आउला भनेर पर्खी बस्दैन। त्यस्तै, विश्वासीले पनि "दिन छँदै" काम गर्नुपर्छ र पछि गरूँला भन्दै कामलाई पन्साउनुहुँदैन।
  3. कमिला अरू कमिलाहरूसित तालमेल मिलाई काम गर्छ। प्रत्येक कमिलाले आफ्नो भाग गर्छ, र त्यस्तै गरी प्रत्येक विश्वासीको पनि माण्डलिक शरीरभित्र आफ्नै विशिष्ट सेवाकार्य हुन्छ।
  4. कमिला त्यति सानो भएर पनि र तुलनामा महत्त्वहीन देखिए तापनि उसले काम गर्छ। हाम्रो जीवनमा र मण्डलीमा यो हाम्रो उदाहरण हुनुपर्छ। सबैभन्दा सानो व्यक्ति र सबैभन्दा सरल काम पनि यदि परमेश्वरको निम्ति भनेर गरिन्छ भने त्यो उहाँको दृष्टिमा मूल्यवान् हुन्छ।

अरू थुप्रै हितोपदेशहरूले अल्छि हुने कुराको विरुद्धमा चेताउनी दिन्छ किनकि पापी मानव स्वभाव अल्छिपनातिर नै झुक्न खोज्छ (हितोपदेश १०:४-५; १२:२४; १४:२३; १५:१९; १९:१५; २०:४,१३; २१:२५-२६; २४:३०-३४; २६:१४; २७:२३-२७)।

३) इमान्दार हुनुहोस् (एफेसी ४:२८)

परमेश्वर पवित्र र न्यायी हुनुहुन्छ र उहाँ बेइमानीलाई घृणा गर्नुहुन्छ। तर हामी पापीहरू हौं र हामी पापपूर्ण संसारमा बाँचिरहेका छौं, र अनेकौं तरिकामा हामीलाई बेइमानी हुनलाई परीक्षा आउँछ -- ठग्न, चोर्न, कुरा बङ्ग्याउन, काममा पूरा बल नलगाउन, घुस खान, र अन्य तरिकाले हाम्रा व्यवहारहरूमा अन्यायी हुन। हामीले यस्ता प्रलोभनहरूलाई इन्कार गर्नुपर्छ र यस अन्धकारपूर्ण संसारमा ख्रीष्टका राजदूहरूका रूपमा इमान्दार हुनुपर्छ। परमेश्वरले सत्यवादितालाई आशिष दिनुहुन्छ र बेइमानीलाई न्याय गर्नुहुन्छ।

४) अरूलाई दिन र सहायता गर्न सिक्नुहोस्

लूका ६:३८; गलाती ६:१०; एफेसी ४:२८; रोमी १२:१३; १ तिमोथी ६:१८; हिब्रू १४:१६

विश्वासीसँग दिनलाई तत्पर खालको हृदय हुनुपर्छ, कञ्जुसी र आफ्नो बारेमा मात्र विचार गर्ने खालको होइन। जो परमेश्वरलाई पहिलो स्थान दिन सिक्छन् र प्रभुको कामका निम्ति दसौं अंशहरू र भेटीहरू दिन्छन् र अरूलाई सहायता गर्न सिक्छन्, तिनीहरूको नै यस जीवनमा फलिफाप हुन्छ किनभने तिनीहरूसित परमेश्वरको आशिष हुन्छ।

५) सांसारिक मानिसहरूको पछि नलाग्नुहोस् (हितोपदेश १२:११; २३:२०-२१)।

मूर्ख मानिसहरू ती हुन् जो पैसाको सठीक प्रयोग गर्न जान्दैनन्, जसको गवाही राम्रो छैन, जसले आफूहरू आर्थिक व्यवहारहरूमा बुद्धिमानी नभएको प्रमाण दिइसकेका छन्, जो पापपूर्ण मार्गहरूमा हिँडिरहेका छन्। सांसारिक मित्रहरू सच्चा मित्र होइनन् भनेर उडाउ पुत्रले सिक्यो। तिनीहरू तपाईंलाई प्रेम गर्दैनन्; तिनीहरू तपाईंसित भएका चीजहरूलाई प्रेम गर्छन्। तिनीहरू तपाईंलाई केवल प्रयोग गर्न चाहन्छन्। अनि मूर्ख मानिसहरूको पछि लाग्नेहरू बुद्धिमानी बन्दैनन् बरु प्रायः आफ्नो आम्दानीलाई खेर फाल्न पुग्छन् र अवसरहरूलाई मिल्काउन पुग्छन् (१ कोरिन्थी १५:३३)। म जवान हुँदा मलाई यस्तै भएको हो। मैले पाउन सक्ने शिक्षा मैले हासिल गर्न सकिनँ र आफूलाई उचित ढङ्गले विकास गर्न सकिनँ किनभने म मूर्खहरूको भीडको पछि लागिरहेको थिएँ। खेर फालिएको समयलाई पश्चात्ताप गरे पनि फिर्ता पाउन सकिन्न।

६) छिटो सम्पत्ति‍-आर्जनको प्रतिज्ञाको पछि नलाग्नुहोस् (हितोपदेश १३:११; २१:५)

यदि कुनै पनि आर्थिक कारोवार सुन्दैमा यति आकर्षक सुनिन्छ कि त्यो "साँचो होला त" भन्ने मनमा लाग्छ भने, त्यो साँचो होइन पनि!

७) ऋण लिने र दिने बारेमा होशियार हुनुहोस् (हितोपदेश ६:१-५)

योचाहिँ विचार नपुर्‍याईकन ऋण लिने र करार बाँध्ने सम्बन्धमा दिइएको चेताउनी हो।

गलती भएको महसुस भएमा त्यसबाट निस्कने उपाय खोज्‍नुहोस् (जस्तै, मगनी, व्यापारिक साझेदारिता, जागिर, पढाइ)। यदि तपाईंको दायित्व पक्का गरिसकिएको छ भने, करार पूरा गर्नु तपाईंको जिम्मेवारी हो, तर सम्भव भएसम्म त्यसबाट आफू निस्कनलाई सकेसम्म केही न केही गर्नु बुद्धिमानी हुन्छ, जस्तै, विचार नपुर्‍याईकन लिइएको ऋण छिटो तिर्नलाई दुई-दुईटा काम गर्नुपर्ला।

जसले ऋण लिन्छ ऊ दास बन्छ (हितोपदेश २२:७)। एक आर्थिक दायित्व भनेको मानिस र परमेश्वरको सामु एउटा गम्भिर करार हो। आफूले तिर्न सक्ने कुरा पक्का नगरीकन ऋण नलिनुहोस्। २ राजा ४:१ मा एकजना अगमवक्ताको परिवार कति नराम्रो समस्यामा परेको कुरालाई विचार गर्नुहोस्। जब हामी आफ्नो वचन दिन्छौं तब त्यो पूरा गर्न परमेश्वरले हामीलाई जिम्मेवार भएको ठान्नुहुन्छ। हामीले सत्य बोल्नुपर्छ भन्ने उहाँको माग छ (जकरिया ८:१६; एफेसी ४:१५)। हामी आफूले दिएका प्रतिज्ञाहरूले बाँधिएका हुन्छौं, चाहे त्यो वैवाहिक करार होस् वा बेपारको करार होस्। अमेरिकामा कुनै-कुनै विश्वासीका बारेमा मलाई थाहा छ जसले ऋणबाट उम्कनलाई सरकारको शरण लिन पुगेका छन् (टाट उल्टेको भनेर) तर त्यो ख्रीष्टियन तरिका होइन। कुनै-कुनै परिस्थितिमा आपसी कुराकानीद्वारा करारको भुक्तानी अवधिलाई लम्ब्याउन आवश्यक पर्न सक्छ, तर ऋण भनेको चुक्ता गर्नैपर्छ।

विशेष गरी खराब शर्तमा ऋण लिनु बुद्धिमानी होइन। एकजना साथी हाल सालै बैङ्कमा कर्जा लिने विषयमा बुझ्न जानुभएको थियो। बैङ्कले २०% ब्याज लिने रे, साथै कर्जाको २०% रकम बैङ्कमै सञ्चय गरी त्यसको समेत ब्याज तिर्नुपर्ने रे! यहाँ मानिसहरूले ३०% ब्याज तिर्नुपर्ने व्यक्तिगत कर्जा लिने गर्छन् जसको साथसाथै विभिन्न जरीवाना र शुल्कहरू पनि तोकिएका हुन्छन्। यस्ता करारहरूमा सहमत हुनेहरू मूर्ख हुन्। परमेश्वरले हाम्रा खाँचोहरू पूरा गरिदिने र उहाँको आज्ञा पालन गरेको खण्डमा उहाँले हाम्रो लागि बाटो खोलिदिने प्रतिज्ञा गर्नुभएको छ, त्यसैले हामीले उहाँमाथि भरोसा गर्नुपर्छ र आवेगमा सोच विचारै नपुर्‍याई मूर्ख निर्णयहरू गर्नुहुँदैन। यस्तो गर्नु भनेको विश्वासले होइन अविश्वासले काम गर्नु हो, तर विनाविश्वास परमेश्वरलाई खुशी पार्नु असम्भव छ (हिब्रू ११:६)।

उधारो दिने विषयमा होशियार हुनुहोस्। कसैलाई उधारो दिने समय पनि हुन्छ (भजनसङ्ग्रह ३७:२६; लूका ६:३५), तर उधारो माग्ने जोसुकैलाई दिनु बुद्धिमानी होइन। उधारो दिने काम सुझबुझले गर्नुपर्छ (भजनसङ्ग्रह ११२:५)। अपरिचित व्यक्तिलाई उधारो नदिनुहोस् (हितोपदेश ११:१५)। अल्छि मान्छे वा कडा परिश्रममा नलागिरहेको मान्छेलाई उधारो नदिनुहोस् (२ थेस्सलोनिकी ३:१०)। राम्रो गवाही नभएको, भर पर्न नसकिने व्यक्तिलाई उधारो नदिनुहोस् (हितोपदेश २५:१९; लूका १६:१०)। पैसाको सवालमा बुद्धिमानी भएको प्रमाणित नभएको व्यक्तिलाई पैसा सापट नदिनुहोस्। नराम्रो गरी ऋणमा डुबिरहेको व्यक्तिलाई पैसा सापट नदिनुहोस्। खराब चरित्र (जस्तै, ढाँट्ने, चोर्ने, ऋणदातादेखि भाग्ने, आफ्नो ख्रीष्टियन जीवनमा अविश्वासयोग्य) हुनेलाई पैसा सापट नदिनुहोस्। अरूलाई खराब गर्न टेवा दिनु भनेको उनीहरूको खराब कामहरूमा सहभागी बन्नु हो (१ तिमोथी ५:२२; २ यूहन्ना १०-११; प्रकाश १८:४)।

८) असल सल्लाह लिनुहोस् (हितोपदेश १९:२०; २४:६)

ठूला-ठूला आर्थिक निर्णयहरू आफू एक्लैले नगर्नुहोस्; पास्टरहरू र बाबुआमाहरू र मण्डलीका उमेर खाएका पाको पवित्रजनहरू जस्ता बुद्धिमानी व्यक्तिहरूसित असल सल्लाह लिनुहोस्। आर्थिक मामिलाहरूमा बुद्धिमानी भएको प्रमाणित भएकाहरूसित सल्लाह लिनुहोस्। तपाईं युवा हुनुहुन्छ भने आफ्नै साथीभाइहरूसित सल्लाह नलिनुहोस्; उमेर खाएका, बढी बुद्धि भएकाहरूकहाँ जानुहोस्।

९) आर्थिक मामिलाहरूमा अविश्वासीहरूसित एउटै जुवामा ननारिनुहोस् (२ कोरिन्थी ६:१४)

यसले नातागोतालाई पनि समेट्छ। एउटा नयाँ विश्वासी यस्तो कुरामा जेलिएको छ भने उसले आफूलाई त्यस्ता जुवादेखि छिटो भन्दा छिटो निकाल्न जे गर्न सकिन्छ गर्नुपर्छ ताकि ऊ ख्रीष्टको सेवा गर्न स्वतन्त्र बनोस्।

१०) आफूसित जे छ त्यसमा धन्यवादी बन्नुहोस् र त्यसलाई प्रयोगमा ल्याउनुहोस् (हितोपदेश १२:२७); काम नगरी बस्नलाई बहाना नबनाउनुहोस् (हितोपदेश २०:४; २२:१३)

आफूसित नभएको कुराको फिक्री नगर्नुहोस्; जहाँ हुनुहुन्छ त्यहीँबाट शुरु गर्नुहोस् र आफूसित जे छ त्यसलाई आफ्नो क्षमताले भ्याएसम्म प्रयोग गर्नुहोस्, र परमेश्वरले तपाईंलाई आशिष दिनुहुनेछ र अरू थप प्रबन्ध गर्नुहुनेछ। परमेश्वरसित बुद्धि माग्नुहोस्।

आत्मिक क्षेत्रमा उही सिद्धान्त काममा आउँछ। बाइबलको बारेमा सबै कुरा नजानेसम्म प्रभुको सेवा गर्नलाई र मानिसहरूलाई ख्रीष्टको बारेमा बताउनलाई पर्खेर बस्ने होइन; आफू जहाँ हुनुहुन्छ त्यहीँबाट शुरु गर्नुहोस्। बाइबल अध्ययन गर्नलाई दराजभरी किताब नभएसम्म पर्खेर बस्ने होइन; आफूसँग जे छ त्यहीँबाट शुरु गर्नुहोस्। आफूसँग जे छ त्यसलाई प्रयोग गर्नुहोस् र परमेश्वरले त्यसको वृद्धि गरिदिनुहुन्छ। आज मैले के गर्नुपर्छ भनेर आफूलाई जति थाहा छ त्यसमा विश्वासयोग्य बन्नुहोस् र परमेश्वरले भोलि तपाईंलाई अझ अरू ढोकाहरू खोलिदिनुहुनेछ।

धेरैजना विश्वासीहरू प्रभुको सेवा गर्नुको सट्टा बहानाहरू बनाउँछन्। उनीहरू यो बहानामा वा त्यो बहानामा मण्डली सभाहरूमा विश्वासयोग्य भएर उपस्थित हुँदैनन्। उनीहरू यो बहानामा वा त्यो बहानामा मण्डलीमा आफूले गर्न सक्ने कुनै एउटा सेवाको भागमा लाग्दैनन्। के भन्ने भनेर जान्दिनँ भन्दै वा डरले वा आफ्नो जातले गर्दा वा आफू अनपढ भएकोले भन्दै उनीहरू सुसमाचार सुनाउँदैनन्। आफ्नो आँखा राम्ररी नदेख्‍ने भएकोले वा राम्ररी पढ्न आउँदैन भन्दै वा पढ्नै आउँदैन भन्दै उनीहरू बाइबल पढ्दैनन्। आखिरमा पढ्न सिक्नलाई त्यति गाह्रो कुरा पनि होइन, र प्रत्येक विश्वासीले जस्तोसुकै उपाय अपनाएर भए पनि बाइबल पढ्ने उपाय निकाल्नुपर्छ। सामान्य समझ भएको जोकोहीले पनि पढ्नलाई सिक्न चाहन्छ भने उसले पढ्न सिक्न सक्छ, तर बहाना बनाउनेहरूले जीवनमा कहिल्यै प्रगति गर्नेछैनन्।

११) परमेश्वरले जे दिनुहुन्छ त्यसमा सन्तोष गर्नुहोस् (हिब्रू १३:५-६)।

अझ कमाउनलाई कडा परिश्रम गर्नु गलत होइन, र वृद्धि गर्नलाई सञ्चय गर्नु र वृद्धि गरिदिनुहोस् भनेर परमेश्वरसित माग्नु गलत होइन, तर आफूसँग नभएसम्म खर्च गर्नु बुद्धिमानी होइन। आफूसित जे छ त्यसमा जब सन्तोष गर्नुहुन्छ, तपाईं परमेश्वरमाथि भरोसा राख्‍न सक्नुहुन्छ र तपाईंले मान्छेको डर मान्नुपर्नेछैन। लोभ-लालच गर्दै, जहिले पनि अझ धेरैको लालसा गर्दै जिउनु गलत हो। परमेश्वरले लोभ मूर्तिपूजाजस्तै हो भन्नुहुन्छ (कलस्सी ३:५)। जो धनी हुन चाहन्छ ऊ भयङ्कर आत्मिक खतरामा छ (१ तिमोथी ६:६-१०)।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course - 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो "एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू" शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9851-055734, 9818-399206; मूल्य: नेरू ३०० मात्र।