Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

हडबडे पत्रुस

यस पृष्ठलाई छाप्नुहोस्

येशूका बाह्र चेलाहरूको बारेमा विचार गर्नुपर्दा हामीलाई प्रायः पत्रुसकै पहिला याद आउँछ। मत्ती १०:१-४ मा बाह्र चेला वा प्रेरितका नाम उल्लेख छन्। सूचीमा कसको नाम पहिला छ? _________। सुसमाचारका चार पुस्तकहरू (मत्ती, मर्कूस, लूका र यूहन्ना) पढ्दा, पत्रुस अरू चेलाहरू भन्दा अग्रस्थानमा रहेको पाइन्छ। कुनै कुरा बोल्नु पर्‍यो भने प्रायः पत्रुस नै पहिला हुन्थे। कुनै कुरा बोल्नै नपर्दा समेत पत्रुस बोल्नमा पहिला हुन्थे। बोल्नमा मात्र उनी पहिला थिएनन्, गर्नमा समेत उनी नै पहिला हुन्थे।

पत्रुस सधैं कामकुरामा हाम फाल्न छिटो थिए। तर बुद्धिमानी व्यक्तिले हेरेर मात्र हाम फाल्छ।पौडी खेल्ने पोखरीमा फाल हाल्नु अघि, पहिला त्यहाँ पर्याप्त पानी छ कि छैन भनेर हेर्नु राम्रो हुन्छ। पत्रुसको चाहिँ पहिला हाम फाल्ने र पछिबाट मात्र हेर्ने बानी थियो। हवाइजहाजबाट फाल हाल्नु अगाडि आफूसित प्यारासूट छ कि छैन, र त्यो ठीक अवस्थामा छ कि छैन भनेर हेर्नु बुद्धिमानी हो। पत्रुस हवाइजहाजको युगमा जन्मेका भए सायद उनी फाल हालेपछि मात्र आफूसित प्यारासूट छ कि छैन भनी हेर्नेथिए होलान्!

कति पटक पत्रुस पहिला बोल्थे अनि पछिबाट मात्र विचार गर्थे। कहिलेकाहीँ उनले ठीक कुरा बोल्थे, कहिलेकाहीँ उनले बेठीक कुरा बोल्थे। जोडा मिलाउनुहोस्:


बाइबलले भन्छ, हामी “सुन्नामा छिटो, __________मा ढिलो, रिसाउनामा ढिलो” (याकूब १:१९) हुनुपर्छ। यसको मतलब हामीले आफ्नो गतिलाई अलिक सुस्त बनाउनुपर्छ अनि बोल्नु अघि वा कुनै काम गर्नु अघि विचार गर्नलाई समय लिनुपर्छ। बोल्न र गर्नलाई पत्रुस छिटो थिए कि ढिलो? ________

पत्रुसको जस्तै स्वभाव भएकालाई बयान गर्ने एउटा शब्द छ: हडबडे। हडबडे त्यो हो जसले एक्कासी आफ्नो आवेगमा वा अकस्मात् आफ्नो भावनामा, आफूले गर्न लागेको कुराको सोच विचारै नगरी त्यस कुरामा हाम फाल्छ।

निम्न शब्द-सूचीलाई हेर्नुहोस्। यींमध्ये आधाजस्तो शब्दले एउटा हडबडे, आवेगी व्यक्तिलाई बयान गर्दछ। बाँकी छओटा शब्दले चाहिँ ठीक विपरित स्वभावको व्यक्तिलाई बयान गर्दछ। पत्रुस जस्तै हडबडे स्वभावको व्यक्तिलाई बयान गर्ने शब्दहरूलाई गोलो चिन्ह लगाउनुहोस्:


के तपाईंले कुनै बेला सोच विचारै नगरी झ्वाट्ट केही काम गर्नुभएको छ? त्यसरी अपर्झट काम गर्नाले समस्या पनि आइपर्‍यो कि?के तपाईंले हतपतमा बोलेर पछिबाट पछुताउनुभएको छ? आफ्नै छिटो बोलीले तपाईंलाई कहिल्यै समस्यामा पारेको छ?

कहिलेकाहीँ कुनै काम झट्टै गर्नुपर्ने पनि हुन्छ। एउटा सानो बालक शहरको व्यस्त सडकमा निस्केर गएको देख्‍नुभयो भने तपाईंले के गर्नुपर्छ? पाँच मीनेटसम्म सोचेर बस्ने र? आफू पढ्ने ठाउँमा शिक्षकले वा काम गर्ने ठाउँमा मालिकले गरिनुपर्ने कुनै काम अह्राउनुभयो भने तपाईंले के गर्नुपर्छ? “खै म जाऊँ कि नजाऊँ; मलाई विचार गर्न दस मीनेट दिनुहोस्” भन्ने? होइन, आज्ञापालन गर्न हामी छिटो हुनुपर्छ, तुरुन्तै गर्नुपर्छ! खाँचोमा परेकालाई मद्दत गर्न र खतरामा परेकालाई मद्दत गर्न हामी छिटो हुनुपर्छ। कसैले तपाईंलाई “के तपाईं ख्रीष्टियन हुनुहुन्छ?” भनेर प्रश्‍न गर्दा त्यसको जवाफ दिन तपाईंलाई एक हप्‍ता लाग्नु नपर्ने हो! प्रभु येशू हाम्रो मुक्तिदाता र प्रभु हुनुहुन्छ भनी स्वीकार गर्न हामी छिटो हुनुपर्छ (रोमी १०:९-१०)। अरू कस्ता-कस्ता अवस्थामा काम गर्न वा बोल्नलाई हामी छिटो हुनुपर्छ?

हडबडे व्यक्ति धेरै पटक गलत प्रकारले छिटो हुन्छ। ऊ बढ्ता छिटो हाम फाल्छ। उसले हाम फाल्नु अघि हेर्न सिक्नु खाँचो छ। उसले ठीक प्रकारले आफ्नो गतिलाई घटाउन सिक्नुपर्छ र आफ्नो मनमा झट्ट केही गर्ने इच्छा आउनेबित्तिकै सो गरिहाल्नुहुँदैन। पत्रुसले यो सिक्नु खाँचो थियो र हामीलाई पनि खाँचो छ।

आउनुहोस्, पत्रुसबाट सिकौं। पत्रुसले आफ्ना गल्तीहरूबाट अनमोल पाठहरू सिके। प्रभुले ती कुराहरू आफ्नो वचन बाइबलमा लेखाउनुभयो ताकि हामी पनि यी पाठहरू सिक्न सकौं। पत्रुसको हडबडे स्वभावलाई दर्शाउने उनका जीवनका केही घटनाहरूलाई हेरौं।

१) पत्रुस पानीमाथि हिँड्छन् (मत्ती १४)

मानौं तपाईंलाई पहाडी भेकको खोला तर्ने बानी छैन। एक दिन वर्षायाममा यात्रा गर्ने क्रममा घुँडासम्म आउने खहरे खोला तर्नुपर्ने भयो। खोलाको कुनचाहिँ ठाउँबाट तर्नु सुरक्षित होला भनेर अरू यात्रुहरूले विचार गर्दै गर्दा तपाईंचाहिँ जुत्तासुत्ता फुकालेर, लुगासुगा माथि सारेर फटाफट खोलाभित्र पसिहाल्नुभयो। खोलाको बीचमा पुगेपछि खोलाको धारले तपाईंलाई पल्टाउला जस्तै गर्‍यो, र तपाईं गुहार माग्न थाल्नुभयो, “अरे, अरे, अरे मलाई त खोलाले बगाउँछ कि क्या हो!” के तपाईं यस्तै गर्नुहुन्छ? पत्रुस त्यहाँ भएका भए उनले सायद यस्तै गर्नेथिए।

अरू भने अलि सुस्त छन्, अलि विचार गर्छन् र सतर्क हुन्छन्। तिनीहरूले सायद यसरी सोच्छन्, “खोला कहाँबाट तर्ने होला? ढुङ्गामा चिप्लेर लडिएला कि? लडिहालेँ भने के गर्ने? खोलाले बगाउला कि? तर्नु त पर्‍यो नै तर अरू नै पहिला कसरी तर्दा रहेछन् हेरौं।” तपाईं नि? यस्ता कुराहरूमा तपाईं छिटो हुनुहुन्छ कि ढिलो? साहसी हुनु राम्रो हो? किन? सतर्क हुनु राम्रो हो? किन? साहसको साथसाथै सतर्कता अपनाउनु अझै राम्रो हो?

पत्रुसको साहस ठूलो थियो तर उनमा कति पटक सतर्कताको कमी थियो। मत्ती १४:२४-२७ पढ्नुहोस्। चेलाहरू झिसमिसे उज्यालो हुनु अघि समुद्रको बीचको आँधीबेहरीमा सङ्घर्ष गर्दै छन्। एक्कासी तिनीहरू एकजनालाई पानीमाथि हिँड्दै गरेका देख्‍छन्। तिनीहरूले पहिला त यो कुनै “आत्मा” वा भूत होला भनी ठान्छन्, तर येशूले तुरुन्तै आफूलाई चिनाउँदै भन्नुहुन्छ, “म हुँ, _________!” (मत्ती १४:२७)।

उहाँलाई चिनेपछि मुख खोल्नमा पहिला को भए (मत्ती १४:२८)? _________। उनले के गर्न चाहे? ____________________________________। अरू कुनै चेलालाई यस्तो विचार आएको थिएन! यदि तपाईं त्यो डुङ्गामा हुनुभएको भए, के तपाईंले पत्रुसले जस्तै भन्नुहुन्थ्यो होला? डुङ्गाको सुरक्षा छाडेर पानीमा उत्रनुहुन्थ्यो? याद गर्नुहोस्, त्यसबेला आँधीबेहरी चलिरहेकै थियो (हेर्नू: पद ३२)। पत्रुस शान्त तलाउमाथि उत्रेका होइनन्!

के पत्रुस पानीमाथि हिँड्न थालिहाले कि पहिला प्रभुको अनुमति पाउनलाई पर्खे (मत्ती १४:२८-२९)? __________________________। कति पटक मान्छेलाई समस्या आइपर्छ किनकि उसले परमेश्वरले नअह्राउनुभएको काम गर्न खोज्छ। पत्रुस यस कुरामा निर्दोष थिए। प्रभुले उनलाई आज्ञा नगर्नुभएसम्म पानीमाथि उत्रनु हुन्न भन्ने सम्मचाहिँ पत्रुसलाई थाहा थियो।

ठूलो साहस र विश्वासका साथ पत्रुस डुङ्गाबाट पानीमा उत्रे। पत्रुस हडबडे थिए, कुनै पनि काम गर्नलाई छिटो। उनले सोच्नलाई एकछिन समय लिएका भए सायद उनले आफ्नो मन बदल्नेथिए! प्यारासूट बोकेर फाल हाल्न लागेकाहरूको एउटा समूहलाई विचार गरौं। उनीहरू माथि आकाशमा छन् अनि हवाइजहाजको ढोका खोलिन्छ। को पहिला फाल हाल्ने? उनीहरू यसबारेमा जति सोच्छन् फाल हाल्ने रहर उनीहरूलाई त्यति नै कम हन्छ। तिनीहरूमध्ये कतिजना त घचेटिनुपर्ने हुन्छन् नत्र ता तिनीहरू कहिल्यै हाम फाल्ने छैनन्।

तर पत्रुसलाई कसैले घचेट्नु परेन! उनले पाइला चालिहाले अनि पछिबाट विचार गर्न थाले। अनि जब पत्रुसले विचार गर्न थाले उनले बेठीक प्रकारले विचार गर्न थाले। उनले ब_______को (मत्ती १४:३०) र छालहरूको विचार गर्न थाले र एक्कासी उनको हृदयभित्र विश्वास बसिरहेको ठाउँलाई त्रासले कब्जा गर्‍यो र उनी ड_______ (मत्ती १४:३०)। त्रासविश्वास मिलेर बस्न सक्दैनन्। एउटा आउनेबित्तिकै अर्को भाग्नुपर्छ! पत्रुसले विश्वासमा शुरु गरेका थिए (उनका प्रथम पाइलाहरू) तर उनी त्रासमा टुङ्गिन पुगे र प्रभुले उनलाई बचाउनुपर्‍यो। जसरी सुरु गरेका थिए पत्रुस त्यसरी ने अघि बढ्नुपर्थ्यो।

पत्रुसले जीवनमा धेरै पटक भूलमा पाइला चाले र गल्ती गरे र लडे तर उनलाई उठाउन प्रभु सधैं तयार हुनुहुन्थ्यो। पत्रुसले आफ्नो मूर्खतामा गलत पाइला चाले तरैपनि त्यसबाट सिक्नलाई उनी तयार थिए त्यसैले उनी बुद्धिमानी नै थिए। हाम्रा भूल र हारहरूबाट सिक्न परमेश्वरले हामीलाई सहायता गर्नुभएको होस्।

२) पत्रुस प्रभुलाई हप्‍काउँछन् (मत्ती १६)

तपाईं पढ्ने कक्षामा के त्यस्तो विद्यार्थी कोही छ जो आफ्नो हात उठाउन प्रायःजसो पहिला हुन्छ? शिक्षकका प्रश्‍नका जवाफ आफूले सधैं दिन सक्ने भन्ने उसलाई लाग्छ र आफ्नो हात उठाउन र बोल्न ऊ सधैं छिटो हुन्छ। के तपाईं यस्तै हुनुहुन्छ कि हात उठाउनमा ढिलो हुनुहुन्छ? कोही विद्यार्थी लज्जालु र नबोल्ने खालका हुन्छन् र आफ्ना हात कहिल्यै उठाउँदैनन् र शिक्षकले उनीहरूलाई कहिल्यै नसोधोस् भनेर मनमनै सोच्छन्। के यो राम्रो हो?

पत्रुस प्रभु येशू ख्रीष्टका एक चेला अथवा विद्यार्थी थिए। अरू चेलाहरूसँगै जीवनको क्लासमा बस्ने क्रममा हात उठाउनमा सधैंजसो उनी नै पहिला हुन्थे।बोल्न र जवाफ दिनमा सधैंजसो उनी पहिला हुन्थे। उनका जवाफ कहिलेकाहीँ ठीक हुन्थे तर अरू बेला उनका जवाफ पूरै गलत हुन्थे।

मत्ती १६:१५ मा प्रभु येशूले सबै चेलाहरूलाई एउटा प्रश्‍न सोध्नुभयो। जवाफ दिन को पहिला भए (मत्ती १६:१६)? __________। के उनको जवाफ ठीक थियो? __________। पत्रुसले कसरी ठीक जवाफ दिन सकेका थिए (मत्ती १६:१७)? _______________________________________

पत्रुसको यो राम्रो जवाफको लगत्तै पछि प्रभुले आफूमाथि आउन लागेका कुराहरूको बारेमा एउटा ज्यादै महत्त्वपूर्ण घोषणा गर्नुभयो (हेर्नू: मत्ती १६:२१)। उक्त घोषणापछि बोल्नमा को पहिला भए (मत्ती १६:२२)? _________। त्यसबेला गुरुभन्दा चेला बढी जान्ने भइरहेका थिए? _________। पत्रुसले आफ्ना गुरुको कुरालाई स्वीकारे कि काटे?_______। परमेश्वरले हामीलाई मन नपर्ने वा हामीले बुझ्न नसक्ने कुनै कुरा भन्नुहुँदा सबभन्दा राम्रो उपाय हो चूप बस्नु अथवा प्रार्थनामा यसरी भन्नु, “प्रभु, म धेरै बुझ्दिन, तर म यति जान्दछु, तपाईं बुझ्नुहुन्छ र तपाईं जे गर्नुहुन्छ असल गर्नुहुन्छ। मेरो इच्छा होइन प्रभु, तपाईंको इच्छा पूरा होस्!” के पत्रुसले यसरी भने? _____________

पत्रुसले जब ठीक जवाफ दिन सकेका थिए, उसलाई कसको मद्दत मिलेको थियो (मत्ती १६:१६-१७)? _____________________। पत्रुसले जब बेठीक जवाफ दिएका थिए, उसलाई कसको मद्दत मिलेको थियो (मत्ती १६:२२-२३)? ______________। शैतान हाम्रो हडबडे स्वभाव र सोचविचारै नगरी बोलेका शब्दहरूको फाइदा उठाउन तत्पर छ। बोल्नै नपर्ने कुराहरू बोल्नलाई हामी बढ्ता चाँडो छौं।

उहाँले दुःख भोग्नुपर्छ र मारिनुपर्छ भन्ने कुरा प्रभुले बताउनुभयो तर यो कुरा सुनेर पत्रुसले प्रभुलाई हप्काउन थाले। प्रभुले पत्रुससित धैर्य गर्नुभयो र उनलाई उनका भूलहरूबाट सिक्ने मौका दिनुभयो। पछिबाट पत्रुसको धारणा बिलकुलै बदलिएको पाइन्छ। “पत्रुसको पहिलो पत्र” ले उनलाई ख्रीष्टका कष्ट र मृत्यु अति नै प्रिय र बहुमूल्य थिए भन्ने तथ्य स्पष्ट पार्छ। पत्रुसको पहिलो पत्रमा ख्रीष्टका कष्ट र मृत्यु पत्रुसका निम्ति प्रिय थिए भन्ने पदहरू भेट्टाउन सक्नुहुन्छ? ____________________________________

३) भन्नुपर्ने कुरा आफूले नजान्दा (मर्कूस ९)

के तपाईं त्यस्तो परिस्थितिमा पर्नुभएको छ जब तपाईं आफूले के बोल्नुपर्ने हो नै जान्नुहुन्न? त्यस्तो बेला कसो गर्नु उचित हुन्छ? के बोल्ने भनेर थाहा नहुँदा प्रायः केही नबोल्नु राम्रो हुन्छ। झट्टै कुनै मूर्ख वा विचारहीन बोली बोलिहाल्नुभन्दा केही नबोल्नु नै उत्तम हो।

पत्रुसलाई एक पटक त्यस्तो परिस्थिति आइपर्‍यो जब उनले आफूले के बोल्नुपर्ने हो जानेनन् (मर्कूस ९:२-६)। आफ्नै आँखाले उनले प्रभु येशूको रूप परिवर्तन भएको देखे साथै उनले प्रभुसँग एलिया र मोशा प्रकट भएका देखे। बाइबलले बताउँछ, “के _________ पर्नेथ्यो, तिनले _____________” (मर्कूस ९:६)। पत्रुसको मनोभाव यस्तो थियो भन्ने देखिन्छ: “के बोल्ने मलाई थाहा छैन तर म बोल्छु!” पत्रुसले ठीक त्यस्तै गरे। उनको मुखबाट एउटा हतपतको मूर्ख बोली निस्केर आयो (हेर्नू: मर्कूस ९:५)। पत्रुसको बोलीमा कम्तीमा दुईटा त्रुटी भेटिन्छ: (१) मोशा र एलियालाई प्रभुकै बराबरीमा राख्नु उनको त्रुटी थियो। पापरहित परमेश्वरको सिद्ध पुत्रको बराबरीमा एउटा मान्छेलाई (संसारमा ऊ जतिसुकै सर्वोत्तम भए पनि) कदापि राख्‍नुहुन्न; (२) पर्वतमै बस्न चाहनु उनको अर्को त्रुटी थियो किनकि त्यो न पत्रुसको निम्ति न ता ख्रीष्टको निम्ति परमेश्वरको इच्छा थियो; ख्रीष्टको निम्ति त परमेश्वरको इच्छा थियो पर्वतबाट झर्नु र उहाँको पाइलाहरू क्रूसतिर लम्काउनु। टिप्पणी: पत्रुसले यसबाट पनि सिके र जीवनको अन्ततिर उनले रूप-परिवर्तनको घटनाको बारेमा केही कुराहरू बताए जो एकदम सही थिए (२ पत्रुस १:१६-१९)

आफूले बोल्नुपर्ने कुरा पत्रुसले जानेनन् तर उनले बोलेर छाडे। उनी चूप बसेका भए उत्तम हुनेथ्यो। भन्नुपर्ने कुरा नजान्ने व्यक्तिको सम्बन्धमा कसैले यसरी भनेका छन्: “यदि उसले बोल्दै बोलेन भने मान्छेले ऊ लाटा हो कि भनी ठान्नेछ तर बोलिहाल्यो भने ऊ लाटा नै रहेछ भन्ने पक्का हुनेछ!” के भन्ने, कहिले भन्ने, कसरी भन्ने, सो अनुसार गर्न परमेश्वरले हामीलाई मद्दत गर्नुभएको होस्।

४) प्रभुलाई पाउ धुन दिने कि नदिने (यूहन्ना १४)

यूहन्ना १३ अध्यायमा हडबडे पत्रुस बोल्नमा दुई-दुई पटक हतार गरेको र दुवै पटक गल्ती बोलेको पाइन्छ। हडबडेहरू कति पटक विषमतालाई पक्रन्छन्। तिनीहरू कि त एक छेउ कि त अर्को छेउतिर हान्निन्छन्। बीचको सन्तुलनतालाई भेट्टाउन उनीहरू सकिरहेका हुँदैनन्।

प्रभु येशूले पाउ धुलाइद्वारा एउटा आत्मिक सिद्धान्तको चित्रण दिन चाहनुहुन्थ्यो; आफ्नो पाप स्वीकार गर्ने विश्वासीको पापलाई उहाँले कसरी क्षमा गर्नुहुन्छ भन्ने कुराको चित्रण थियो त्यो (हेर्नू: १ यूहन्ना १:९)। यूहन्ना १३:४-८ पढ्नुहोस्। के पत्रुस तुरुन्तै बोलिहाले? ______________। प्रभुले उनका पाउ धुनुभएका के पत्रुसले चाहे? ____________। उनले भने, “तपाईं मेरा पाउ ___________ धुन पाउनुहुनेछैन (यूहन्ना १३:८)।” पत्रुसले बढ्ता चाँडो बोले! एउटा महत्त्वपूर्ण आत्मिक पाठ सिक्ने अवसर थियो त्यो: फोहोर खुट्टा भएका विश्वासीसित प्रभु येशूको कुनै भाग (सङ्गति, सहभागिता) हुन सक्दैन! हाम्रो जीवनमा कुनै पाप छ भने तबसम्म परमेश्वरसित हाम्रो सङ्गति हुन सक्दैन जबसम्म हामी १ यूहन्ना १:९ अनुसार धोइनका निम्ति उहाँकहाँ जाँदैनौं। त्यसैले पत्रुसको भनाइ गलत र मूर्ख थियो। त्यो त एउटा विश्वासीले यसरी भन्नु बराबर थियो, “प्रभु, तपाईंको सामु म आफ्नो पाप स्वीकार गर्न मान्दिनँ, धोइनका लागि तपाईंकहाँ आउन मान्दिनँ।”

अब यूहन्ना १३:९ पढ्नुहोस्। पत्रुसको धारणा कस्तो थियो भने कि त “मलाई सबै चाहिन्छ” कि त “मलाई केही चाहिँदैन”। अब उनी पूरै नुहाइन चाहन्छन्! पत्रुस येशूद्वारा शिरदेखि पाउसम्मै धोइन चाहन्छन्। पहिला उनी धुलाइ पटक्कै चाहन्नन् अब उनी पूरै शरीर धोइएको चाहन्छन्! फेरि पनि पत्रुस बोल्नमा छिटो भए, गल्ती बोल्नामा छिटो। हरेक विश्वासी शुद्ध छ (यूहन्ना १३:१०) अनि हरेक विश्वासीले मुक्तिको स्नान पाइसकेको छ। विश्वासी जनका सबै पाप धोइसकिएका र क्षमा गरिसकिएका छन्! विश्वासीले प्रभुसित सङ्गति कायम राख्नलाई आफ्ना पापहरूलाई स्वीकार गर्ने काम गरिरहनुपर्छ तर उसले फेरि दोहोराएर मुक्ति पाउन खाँचो छैन। पत्रुसको दोस्रो भनाइ गलत र मूर्ख थियो। त्यो त एउटा विश्वासी जनले यसरी भन्नु बराबर थियो, “प्रभु, म एक ख्रीष्टियन भएर पाप गरें त्यसैले तपाईंले मलाई फेरि दोहोराएर मुक्ति दिनुहोस्!” के यसरी भन्नु उचित हुन्छ?

पत्रुसका गलत भनाइहरूलाई सच्च्याउनुहुँदै हामीलाई ख्रीष्टियन जीवनको बारेमा र एउटा विश्वासीले आफ्नो जीवनमा पाप गर्न पुग्दा उसले के गर्नुपर्छ भन्ने कुराको बारेमा प्रभुले यहाँ महत्त्वपूर्ण शिक्षा दिनुभएको छ।

५) “म कहिल्यै त्यसो गर्नेछैनँ, प्रभु!” (मत्ती २६)

कसैले बुद्धि पुर्‍याएर भनेका छन्, “कहिल्यै भनेर कहिल्यै नभन्नू है!” जो ठोकुवा दिँदै कुनै कुरा कहिल्यै नगर्ने प्रण गर्दछन् कति पटक तिनीहरू नै त्यही कुरा गर्न पुगेका हुन्छन्! हेर्नू: १ कोरिन्थी १०:१२

मत्ती २६:३१-३५ पढ्नुहोस्। प्रभु सबै चेलाहरूसित बोल्दै हुनुहुन्थ्यो तर कुनचाहिँ चेला बोल्नमा छिटो भए? __________। उनले आफूले कुनचाहिँ कुरा कहिल्यै नगर्ने घोषणा गरे (पद ३३ र ३५)? _____________________________________। के पत्रुसले त्यो काम गरे जुन उनले कहिल्यै नगर्ने घोषणा गरेका थिए? _______। के तपाईंले आफ्ना बाबुआमालाई वा अरूलाई आफूले कुनै कुरा कहिल्यै नगर्ने प्रण गर्नुभएको छ जुन कुरा पछिबाट तपाईंले गर्नुभएको छ?

महत्त्वपूर्ण कुरा यो हो, हाम्रो निर्धक्कता सही प्रकारको निर्धक्कता हुनुपर्छ। पत्रुसको आफैंमा ठूलो निर्धक्कता (आत्मविश्वास) थियो तर उनले आफैलाई अडाइराख्‍न सकेनन्। परमेश्वरले हामीलाई कहिल्यै धोका दिनुहुन्न तर कति पटक हामी आफैले आफैलाई धोका दिन्छौं! निम्न कुराहरूलाई विचार गर्नुहोस्:

  1. “म केही गर्न सक्दिनँ!” यो व्यक्तिको कुनै किसिमको पनि निर्धक्कता छैन।
  2. “म सब गर्न सक्छु!” यो व्यक्तिको निर्धक्कता आत्म-केन्द्रित छ (पत्रुसको जस्तै)।
  3. फिलिप्पी ४:१३ पढ्नुहोस्। यस व्यक्तिको निर्धक्कता ख्रीष्ट-केन्द्रित छ।

तपाईंको निर्धक्कता कस्तो किसिमको छ?

६) तरवार चलाउन छिटो (यूहन्ना १८)

क्रूसमा टँगाइनु अघि प्रभु येशू रातको समयमा पक्राउ पर्नुभएको थियो। कुनचाहिँ चेला साहसी भई प्रभुलाई बचाउन हतारिए (यूहन्ना १८:१०)? _________। के प्रभुलाई पत्रुसको मद्दत आवश्यक थियो (मत्ती २६:५३)? _________। के पत्रुसभन्दा स्वर्गदूतको फौज शक्तिशाली हुन्छ? ________। हामी पत्रुसको साहस र जोशलाई मान्छौं तर खेदको कुरा, उनको त्यो जोश विचारहीन जोश थियो (“ज्ञानबिनाको जोश”) अनि उनको साहस केही बेरमै कायरतामा परिणत भयो (हेर्नू: यूहन्ना १८:१७)।

प्रभु पत्रुससित धैर्य गर्नुभयो र उनलाई कहिल्यै त्याग्नुभएन। करिब ५३ दिन पछि पत्रुसले फेरि अर्को तरवार लिए र ख्रीष्टका शत्रुहरूको विरुद्धमा चलाए अनि त्यसबेला भने उनी सफल भए। त्यसबेला उनको तरवारले एउटा कान मात्र काट्ने काम गरेन। त्यसबेला उनको तरवारले हजारौं मानिसका हृदयहरूलाई छेड्ने काम गर्‍यो। यसबारे प्रेरित २:१४, ३६, ३७, ४१ मा पढ्नुहोस्। प्रेरित २:३७ मा “छेँडियो” शब्दको अर्थ हो “रोपियो, घोचियो”। ती मानिसका “मुटु चुरचूर” भए। पत्रुसले प्रयोग गरेको तरवारलाई हिब्रू ४:१२ ले बयान गरेको छ। त्यो तरवार कुनचाहिँ तरवार थियो? ______________________

७) हाम फाल्न तयार (यूहन्ना २०-२१)

अरू दुईटा उदाहरणलाई हेरौं जहाँ पत्रुसको हडबडे स्वभाव झल्किन्छ। पहिलोचाहिँ यूहन्ना २० मा पाइन्छ जहाँ पत्रुस र यूहन्ना प्रभु बौरिउठ्नुभएकै बिहान चिहानमा हेर्न गएका थिए। यूहन्ना र पत्रुस दुवै चिहानतर्फ दगुरे। कुनचाहिँ चेला छिटो दगुरे (यूहन्ना २०:४)? ___________। के उनी चिहानभित्र पसे (यूहन्ना २०:५)? ____________। यूहन्ना चिहानको ढोकामा निहुरिएर विचार गर्दै हेरिरहेका थिए। केही बेरमै पत्रुस आइपुग्छन्।के पत्रुस पनि चिहानको ढोकामा विचार गर्दै निहुरिएर हेर्छन्? ____________। उनले के गर्छन् (यूहन्ना २०:६)? _____________________________। पत्रुस सधैं हाम फाल्न तयार थिए!

पछि सातजना चेलाहरू गालीलको समुद्रमा एउटा डुङ्गामा चढेर माछा मार्न गएका थिए। बौरिउठेका प्रभु बिहान सबैरै समुद्रको किनारमा देखा पर्नुभयो। मनन गरी बस्ने संवेदनशील स्वभावका चेला यूहन्ना येशूलाई चिन्न पहिला भए (यूहन्ना २१:७)। उहाँ को हुनुहुँदो रहेछ भनेर थाहा पाउनेबित्तिकै पत्रुसले के गरे (यूहन्ना २१:७)? ___________________________________। पत्रुसले अलिकति पनि समय खेर फालेनन्। उनी सधैं हाम फाल्न तयार थिए!

* * * * * *

हतार गराइ र हडबडले समस्या निम्त्याउँछ। पत्रुसको जीवनमा यो कुरा बारम्बार पुष्टि भएको पायौं। तर अर्कोतिर पत्रुस यस्ता व्यक्ति हुन् जसको अनुसरण गरिनुपर्छ। प्रभुको निम्ति कदम चाल्ने, उहाँको निम्ति बोल्न तयार हुने दाजुभाइहरू, दिदीबहिनीहरू र जवान व्यक्तिहरूको हामीलाई खाँचो छ। प्रभुको सेवा गर्न आफूलाई अर्पण गर्ने व्यक्तिहरूको खाँचो छ। काम गर्नलाई तत्पर भएका व्यक्तिहरूको खाँचो छ – परमेश्वरको इच्छा पूरा गर्न, ख्रीष्टको आज्ञापालन गर्न तत्पर व्यक्तिहरू! उहाँले हामीलाई दिनुभएको सामर्थ्य, जोश र बलको निम्ति परमेश्वरलाई धन्यवाद चढाऔं अनि होशियारपूर्वक, सतर्क र शान्त भई हाम्रो सारा बल हाम्रा निम्ति आफ्नो सर्वस्व दिनुहुने मुक्तिदाता र प्रभुको निम्ति खर्च गरौं!


पृष्ठ संशोधन मिति: Monday 14-Feb-11
WordofTruth.com.np © 2017