Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

यूसुफ दाजुहरूको परीक्षा गर्छन्: प्रथम परीक्षा

यस पृष्ठलाई छाप्नुहोस्

यूसुफ दाजुहरूको परीक्षा गर्छन्: प्रथम परीक्षा

(उत्पत्ति ४२)

इस्राएलका छोराहरू मिस्रमा नगएका भए तिनीहरूलाई के हुनेथ्यो (उत्पत्ति ४२:२)? ___________________________। याकूबले एक पटक आफ्‍नो प्यारो छोरालाई जिम्मा दिएर एक्लै पठाएका थिए (३७:१३-१४) तर पछि गएर बिन्यामिनलाई भने तिनका दसजना दाजुहरूसित पठाउन इन्कार गरे (४२:४)। याकूब किन यसरी बिन्यामिनको सुरक्षाको फिक्री गरे?

उत्पत्ति ४२:६,९ अनुसार यूसुफको पहिलो सपना पूरा भयो (उत्पत्ति ३७:७-८ सित दाँज्नुहोस्)। उत्पत्ति ३७:७-८ मा केवल दसजना दाजुहरू मात्रै सहभागी थिए, बिन्यामिन थिएनन्। उत्पत्ति ३७:९-१० सित दाँज्नुहोस्। परमेश्वरकै उद्देश्य पूरा भएको हो भनी यूसुफ जान्दथे।

यूसुफले आफ्‍ना दाजुहरूलाई तुरून्तै चिने तर तिनीहरूले उनलाई चिनेनन्। करीब बीस बर्ष अघि तिनीहरूले यूसुफको लबेदालाई लिई बाबु याकूबलाई छल गरेका थिए (३७:३२-३३) तर अब यूसुफको सामु उनीहरू आफै छलिए र आफ्‍नै भाइलाई चिन्न सकेनन्। तिनीहरूले उनलाई किन चिन्न सकेनन्? कारण धेरै समय बितिसकेको थियो। अब यूसुफ सत्र वर्षको केटो थिएनन्। उनको पदवी, पोशाक अनि भाषा समेत बेग्लै भइसकेको थियो (४२:२३)। जसको बारेमा तिनीहरूले

“उनी छैनन्" भनी भन्दै थिए (४२:१३), ठिक त्यही व्यक्तिसँगै आफूहरूले बातचीत गरिरहेका छौं भनी एक छेउ पनि तिनीहरूले शंका गरेका थिएनन्।

आफ्‍ना दाजुहरूलाई चिनेपछि, यूसुफले तिनीहरूसित कडा व्यवहार गरे र कठोर कुरा गरे (४२:७)। के यूसुफले आफ्‍ना दाजुहरूसित तिनीहरूले आफूसित पहिले गरेको जत्तिकै नराम्रो व्यवहार गरे (३७:२०-२७)? ____________। ती दाजुहरूले डाहा र घृणाले भरिएर यूसुफसित एक समय कठोर व्यवहार गरेका थिए। यूसफले भने प्रेम र वास्ताले भरिएर तिनीहरूसित कडा व्यवहार गरे। बास्तवमा, यूसुफ होइन, परमेश्वर आफैंले यूसुफद्वारा तिनीहरूसित कडा व्यवहार गर्दैहुनुहुन्थ्यो। उनीहरूसित यस्तो कडा व्यवहार गरिन किन आवश्यक थियो?

तिनीहरूले आफ्‍नो ठूलो पाप र दुष्ट काम कहिल्यै स्वीकार गरेका थिएनन्।

तिनीहरूले आफूले गरेको खराब कामको विषयमा कहिल्यै पश्चात्ताप गरेका थिएनन्।

तिनीहरूले अझै पनि आफ्‍नो पापलाई लुकाउन र ढाकछोप गर्न छोडेका थिएनन्।

तिनीहरूले आफ्‍ना बाबुलाई आफूले गरेको काम कहिल्यै स्वीकार गरेका थिएनन्।

तिनीहरूले आफ्‍नो पापको विषयमा गर्नु पर्ने व्यवहार कहिल्यै नगरेको कारण परमेश्वरले अब व्यवहार गर्न थाल्नुभयो।

ठिक यसरी नै परमेश्वर आफ्‍ना जनहरूसँग व्यवहार गर्नुहुन्छ (१ कोरिन्थी ११:३१-३२)। यूसुफका दाजुहरूले त्यस देशका यस अधिपतिका कडा पक्ष मात्र देख्न सक्थे। तर त्यहाँ उनको अर्को पक्ष पनि थियो, कोमल र प्रेमीलो, जो उनीहरू देख्न सक्दैनथे (४२:२४; ४३:३०:३१)।

त्यसरी नै कष्ट र दुःखमा पर्दा वा हप्की खानुपर्दा, परमेश्वर कठोर र कडा हुनुहुन्छ भनी हामी सोच्दछौं। हामीलाई ताडना दिनुपर्दा उहाँले बोक्नुपरेको पीडा हामी बुझदैनौ। टाढिनुभएझैं गरी हामीसोग कडा व्यवहार गर्नुहुँदा हाम्रो परमेश्वरको कोमल हृदय कति ठूलो शोकले भरिन्छ भनी हामी जान्दैनौं। (एफ.बी. मायर्स)।

यूसुफले आफ्‍ना दाजुहरूलाई राम्ररी चिन्थे। मार्ने मतो गरेका ती दुष्टहरूले उनलाई आखिरमा दासत्वका निम्ति बेचेका थिए। यी मानिसहरूलाई आफ्‍नो इच्छाअनुसार जे पनि गर्नालाई यूसुफसोग सारा अधिकार थियो। यस्तो परिस्थितिमा एउटा मानिसको स्वभाविक प्रतिक्रिया प्रायः कस्तो हुन्छ? बदला लिने? साटो फेर्ने? खराबीको बदला खराबी गर्ने? “तिनीहरूले मलाई जस्तो गरेका थिए, म पनि त्यस्तै गर्छु"? के यूसुफले त्यसरी व्यवहार गरे?

आफ्‍नो विरुद्धमा नराम्रो व्यवहार गर्ने र खेदो गर्नेप्रति एउटा विश्वासीको प्रतिक्रिया कस्तो हुनुपर्छ? हेर्नुहोस् रोमी १२:१४, १७-२१; १ पत्रुस ३:९।

जब यूसुफले आफ्‍ना दाजुहरूलाई जासुसी गर्न आएको आरोप लगाए, तब तिनीहरूले तुरून्त जवाफ दिए, “होइन, हे प्रभु . . . हामी __________________ मानिसहरू हौं" (४२:९-११)। हामी झूटा कुरा गर्दैनौं, हामी दस-भाइ इमान्दार मानिसहरू हौं भनी तिनीहरूले जवाफ दिए। तर यूसुफको बारेमा आफ्‍ना बाबुबाट तथ्य कुरा लुकाइराखेका हुनाले तिनीहरू बास्तवमा इमान्दार थिएनन् (३७:३१-३३)। यूसुफले अब तिनीहरूको एउटा जाँच गर्छन् − अर्थात् तिनीहरूलाई आफ्‍नो इमान्दारिता प्रमाणित गर्ने मौका दिन्छन् (४२:१४-२०)। के तिनीहरू जाँचमा सफल होलान्?

तिनीहरू जब मिस्रमा आइपुगे, ती दसजना दाजुभाइहरूमाथि एकपछि अर्को समस्या आइपर्‍यो। तिनीहरूलाई आरोप लगाइयो (४२:९,१२,१४), परीक्षा गरियो (४२:१५-१६) अनि कैदखानामा हालियो (४२:१७,१९)। यी सब तिनीहरूमाथि किन आइपर्‍यो? के तिनीहरू निर्दोष र इमान्दार मानिसहरू थिए? के तिनीहरू यस्ता संकष्टहरू भोग्‍नका योग्य थिए? आफ्‍ना हृदयहरूमा तिनीहरू राम्ररी जान्दथे, आफूहरूले पाउनु पर्ने नै दुःख तिनीहरूले पाइरहेका थिए। करीब बीस वर्षको लामो अन्तरालपछि मात्र (यूसुफ अब कम्तीमा ३७ वर्ष पुगेका थिए), तिनीहरूले आफ्‍नो दोषलाई स्वीकार गरे, “हाम्रो भाइको विषयमा हामी साँच्चै __________ छौं।" (४२:२१)। शयद अहिलेसम्म तिनीहरूले आफूहरूले गरेको पापको परिणामबाट हामी उम्क्यौं भनी सोचेका थिए होलान्; तर हाय, सानो भाइ खाडलमा हुँदाको त्यो दिनलाई सम्झँदा यूसुफको चित्कारहरूले तिनीहरूको हृदयहरूलाई घोँच्न थाल्योः “उसले हामीलाई टुटी-टुटी विन्ती गर्दा हामीले उसको प्राणको व्यथा देख्यौं, तर हामीले सुनिदिएनौं; यसैकारण यो ______________ हामीमाथि आएको छ" (४२:२१)। “हामीले उनलाई व्याकुल गरायौं, अब हामी आफै व्याकुल भएका छौं।! यूसुफलाई गरेको दुर्व्यवहारअनुसारकै फल अब हामीले भोगिरहेका छौं!"

यो एउटा आत्मिक तथ्य हो: दुष्टका पापहरूले प्रायः कुनै दिन तिनीहरूलाई नै सताउँछ। अध्ययन गर्नुहोस्, हितोपदेश २६:२७; २८:१०; भजनसंग्रह ७:१५-१६; उपदेशक १०:८; ओबद्याह १५; योएल ३:४; गलाती ६:७; तुलना गर्नुहोस्, मत्ती ७:२। यूसुफलाई दासत्वको निम्ति बच्ने तिनीहरूको पापले आखिरमा सारा इस्राएलका सन्तानहरू ४०० वर्षसम्म दासत्वमा पुर्‍यायो। तर यसमै पनि आफ्‍नो जातिको निम्ति परमेश्वरको अनुग्रहपूर्ण योजना पूरा हुन गयो (उत्पत्ति १५:१२-१४)।

रूबेन याकूबका जेठा छोरा थिए। यूसुफले किन तिनलाई कैद गरेनन् (उत्पत्ति ४२:२२-२४; तुलना गर्नुहोस्, ३७:२१-२२, २९-३०)? बरू माहिलो छोरा शिमियोनलाई बाँधियो। हामीलाई थाहा छ, रूबेनले यूसुफलाई बचाउन खोजेका थिए (यूसुफको माया लागेर नभई बाबुप्रति आफ्‍नो जिम्मेवारी छ भनी ठानेकोले)। त्यसैले सम्भवतः माहिलो शिमियोनले नै यूसुफ विरुद्ध अपराध गर्नालाई नेतृत्व गरेका थिए। अधिपतिले तिनीहरूको बीचबाट अपराधमा प्रमुख भूमिका खेल्ने व्यक्तिलाई नै कैद गरेको देख्दा शायद ती दाजुहरू छक्क परे होलान्।

आफ्‍ना बोराहरूभित्र आफैले तिरेका पैसा फेला पर्दा ती दाजुहरू झनै व्याकुल बने। फेरि पनि आफ्‍नै विवेकहरूद्वारा तिनीहरू दोषी ठहरिएको र परमेश्वरले तिनीहरूलाई त्यो जघन्य अपराधको बदला दिइरहनुभएको महसुस गरेः “__________________ले हामीसि गर्नुभएको यो के कुरा हो?" (४२:२८)। अर्को पटक मिस्रमा फर्केर जानुपर्दा त्यहाँका अधिपतिले तिनीहरूको विरुद्धमा बोल्नलाई मौका पाउने भए। यी “इमान्दार मानिसहरू"लाई चोरको आरोप आइपर्ने भयो! यी सब कुराहरू सुन्नुपर्दा याकूबले पनि सहन सकेनन (४२:२९-३८)। छोराहरूको खबरअनुसारका अप्रिय देखिने घटनाक्रममा परमेश्वरको योजना उनले पनि देख्न सकेनन्।

परिस्थितिहरू नकारात्मक देखापर्दा पनि परमेश्वर सकारात्मक काम गरिरहनुहुन्छ! यस कुराको सबभन्दा ठूलो प्रमाण हो: कलवरीको क्रूस। मानिसको पाप चरमबिन्दुमा पुगेको इतिहासकै सबभन्दा अन्धकारपूर्ण दिनलाई, परमेश्वरले विश्वास गर्नेहरूको निम्ति सबैभन्दा ठूलो आशिषमा परिणत गर्न सक्नुभयो!

याकूब हताश भई भने, “यी सब कुराहरू मेरो ____________ छन्!” (४२:३६)। परमेश्वरले हामीलाई रोमी ८:२८ मा के भन्नुभएको छ? ___________________

दोश्रो परीक्षा (उत्पत्ति ४३-४४)

कति समयसम्म अनिकाल पर्ला भनी याकूब र उनका छोराहरूले जान्न सक्दैनथे, त्यसैले बाँच्नका लागि उनीहरूलाई अन्नको फेरि खाँचो पर्‍यो। वृद्ध बाबुको इच्छालाई छोराहरूले स्वीकारे अनि याकूबले बिन्यामिनलाई साथमा लिएर जान अन्तमा अनुमति दिए जो अब करीब २३ वर्षका जवान थिए।

जेठो छोरा रूबेनले आफ्‍नै दुइटा छोराहरूलाई जमानी राखी बिन्यामिनको निम्ति पूरै जिम्मेवारी आफैले लिन तत्पर बने (४२:३७-३८)। तर, धेरै वर्षअघि तिनले यूसुफलाई बाबुकहाँ सुरक्षासाथ फर्काउन सकेनन्। अन्तमा यहूदाले बिन्यामिनको निम्ति आफैं जमानी बसी सम्पूर्ण जिम्मेवारी लिए। बिन्यामिन सुरक्षासाथ फिर्ता ल्याइनेछन् भन्ने guarantee थियो। यूसुफ विरुद्धको अपराधमा यहूदाले कुन भूमिका खेलेका थिए (३७:२६-३७)?


पृष्ठ संशोधन मिति: Wednesday 08-Jul-15
WordofTruth.com.np © 2017