Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

पोपसित हातेमालो (भाग ५)

यस पृष्ठलाई छाप्नुहोस्

सिर्फ "हुन्न" भन्न सिक्नुहोस्

रोमन क्याथोलिकवादसित घनिष्ट बन्नुपर्छ भन्ने धारणाका समर्थकहरूद्वारा खुलेआम बेवास्ता भइरहेका स्पष्ट बाइबलीय सिद्धान्तहरूलाई हामी विचार गरौं:

झूटा शिक्षा सिकाउनेहरूलाई ग्रहण होइन परित्याग गरिनुपर्छ। पावलले गलातीका मण्डलीहरूका बीच फैलिएका गम्भीर सैद्धान्तिक पथभ्रष्टताहरूको सामना गरे। उनले ती पथभ्रष्टताहरूलाई ज्यादै प्रखर रूपमा सामना गरे। तिनीहरूको शिक्षालाई परित्याग गरिनुपर्थ्यो। तिनीहरू "श्रापित" थिए (गलाती १:८)। प्रेरित पत्रुस डराएर तिनीहरूको भ्रमात्मक लचिलोपनलाई सम्मान दिन पुग्दा पावल भन्छन्, "मैले आमनेसामने उनलाई विरोध गरें; किनकि उनी दोषी ठहरिएका थिए" (गलाती २:११)। न ता ती यहूदीकरणवादीहरू (Judaizers) सित न तिनका "इभान्जेलिकल" मतियारहरूसित "नवीन अन्तर्दृष्टि" छ भन्ने वा तिनीहरू "विश्वासी-पूजाहारीको रूपमा आ-आफ्ना अधिकारलाई अभ्यास गर्दैछन्" भन्ने अवधारणा पावलको थियो। उनले तिनीहरूको शिक्षालाई घातक र खतरनाक कुराको रूपमा हेर्दथे र उनले त्यसलाई उदाङ्गो पार्नलाई धेरै कष्ट गरे।

सत्य-तथ्यहरूलाई हामी नियालेर हेरौं। रोमन क्याथोलिक चर्चका चाबी शिक्षाहरू असंदिग्ध रूपमा झूटा शिक्षाहरू हुन्। ती शिक्षाहरू परमेश्वरको वचनद्वारा समर्थित छैनन्। तसर्थ प्रभुमा विश्वासयोग्य हुन चाहनेहरूको प्रतिक्रया कस्तो हुनुपर्छ त? "यदि कोही तिमीहरूकहाँ आउँछ र यही शिक्षा ल्याउँदैन भने त्यसलाई आफ्नो घरभित्र स्वागत नगर, न ता त्यसलाई सलाम भन; किनकि जसले त्यसलाई सलाम भन्छ, ऊ त्यसका दुष्ट कामहरूको भागी बन्छ" (२ यूहन्ना १०,११)। झूटा शिक्षा सिकाउने कामलाई परमेश्वरले "दुष्ट काम" को संज्ञा दिनुभएको छ भन्ने कुरालाई ख्याल राख्‍नुहोस्। त्यो शिक्षा शिष्ट व्यक्तित्व भएको, सद्‍भावी र सन्तोषप्रद धार्मिक शिक्षकहरूको माध्यमद्वारा आउन सक्छ। कतिपय रोमन क्याथोलिक अगुवाहरू "राम्रा" मान्छे हुन्छन् जोहरू ख्रीष्ट र ख्रीष्टले गर्नुभएको कार्यको चर्चा गर्छन्। तरैपनि हामी मूल विषयदेखि बरालिनुहुन्न। मूल विषय भनेको यही हो: के तिनीहरूले नयाँ नियममा भएका शिक्षाहरू सिकाउँदैछन्? यदि छैनन् भने हामीले उनीहरूलाई अस्वीकार गर्नुपर्छ।

मुक्ति पाउनका निम्ति गलत उपायमा भरोसा राख्‍नेहरूलाई "ख्रीष्टियन दाजुभाइ-दिदीबहिनीहरू" को रूपमा हेरिनुहुन्न। गलातीहरूलाई लेख्दाखेरि पावलको मुख्य जोड यस कुरामा थियो: यदि कसैले ख्रीष्टको विशुद्ध सुसमाचारमा कुनै पनि किसिमको सुकर्मलाई थप-थाप गरी सुसमाचारलाई बिगार्दछ भने, त्यो व्यक्तिलाई अस्वीकार गरिनुपर्छ। "तर हामीले वा स्वर्गबाटको कुनै दूतले पनि, हामीले तिमीहरूलाई प्रचार गरेको सुसमाचारबाहेक अर्को कुनै सुसमाचार तिमीहरूलाई सुनायो भने त्यो श्रापित होओस्। जस्तो हामीले पहिले भन्यौं, त्यस्तै अब म फेरि भन्दछु - कुनै मानिसले, जुन सुसमाचार तिमीहरूले ग्रहण गरेका छौ, त्योभन्दा बेग्लै सुसमाचार तिमीहरूलाई सुनायो भने त्यो श्रापित होओस्" (गलाती १:८-९)। गलाती यहूदीकरणवादीहरू के गर्दै थिए? तिनीहरू भन्दै थिए, केवल विश्वासद्वारा मात्र मुक्ति पाउनु सम्भव छैन। सुकर्महरू पुण्यकारी हुन्छन् र मुक्ति कमाइनलाई ती अनिवार्य छन्। रोमको शिक्षा ठीक यही शिक्षा हो भनेर हामीले अघिबाट नै हेरिसक्यौं। मार्टिन लुथर (Martin Luther) लगायत अन्य सुधारवादीहरू (Reformers) ले रोमले सुसमाचारलाई बिगारेको छ भनेर विरोध गरेदेखि आजसम्म पनि त्यो बदलिएको छैन। तिनीहरूले सजिलै ठगिने इभान्जेलिकलहरूलाई विश्वास दिलाउने किसिमले कुरा गर्न सिकेका छन् तर यस कुरामा तिनीहरूले आफ्नो आधारभूत शिक्षाको एउटा विन्दु पनि बदलेका छैनन्। मार्टिन लुथर आफू क्याथोलिक सन्यासी (monk) छँदै रोम गए र "हे स्वर्गमा हुनुहुने हाम्रा पिता" (pater noster) आदि जप्दै-जप्दै र पर्गेटरी (purgatory) का आत्माहरूका निम्ति प्रार्थना गर्दै कथित "पिलातसका सिँढीहरू" (scala santa) चढे। यी सुकर्महरूद्वारा त्यस पिडादायी स्थान अर्थात् पर्गेटरीदेखि पीडित आत्माहरूलाई छुटकारा दिलाउने उनले आशा गरे। यस्ता धारणाहरू उनले कहाँबाट सिके? रोमन क्याथोलिक चर्चका शिक्षाहरूबाट! तिनीहरू आजसम्मै यी कुराहरू सिकाइरहेका छन्।

के स्वर्ग पुग्नका लागि आफ्ना वा अरूका सुकर्महरूमा भरोसा गरिरहेका व्यक्तिहरूलाई बाइबलीय आधारमा ख्रीष्टको शरीरका अङ्गहरू, नयाँ जन्म साँच्चै पाएका व्यक्तिहरूको रूपमा हेर्न सकिन्छ? तर कसैको भनाइ यस्तो होला, के कोही-कोही क्याथोलिकहरूले मुक्ति पाएका हुनु सम्भव छैन र? अवश्य त्यो सम्भव हुन सक्छ, तर केही कुराहरूलाई ध्यानमा राखिनु आवश्यक पर्छ:

  1. त्यस्ता व्यक्तिहरूको सङ्ख्या क्याथोलिकहरूको कूल सङ्ख्याको दाँजोमा ज्यादै न्यून हुनुपर्छ।
  2. साँच्ची नै नयाँ-जन्म पाएको व्यक्ति, पवित्र आत्माद्वारा सिकाइएको व्यक्ति, त्यस्तो सत्यत्यागी (apostate) संस्थाको अँगालोभित्र धेरै लामो अवधिसम्म रहन सक्नेछैन।
  3. रोमन चर्चभित्र त्यस्ता व्यक्तिहरूको उपस्थिति चाहिँ चर्चको औपचारिक शिक्षाहरू स्वीकारयोग्य हुनुपर्छ भन्ने कुराको सङ्केत कदापि होइन।

अति नै खुकुला (liberal) प्रोटेस्टेन्ट मण्डलीका सदस्यहरू बीच नयाँ-गरी जन्मेका व्यक्तिहरू भेटिन्छन् तर यस कुराले उनीहरू आवद्ध भएको प्रणालीको सत्यत्याग (apostasy) लाई माफि दिँदैन। उनीहरू निस्केर आउनुपर्छ साथै रोमनवादसित अझै पनि आवद्ध रहेका विश्वासीहरूले पनि त्यसै गर्नुपर्छ। अति खेदको कुरा यो छ कि बिल्ली ग्राहाम (Billy Graham) जस्ता अगुवाहरूले यसबारे सुझाव माग्ने क्याथोलिकहरूलाई आफ्नो चर्च छोड्नुहुँदैन बरू त्यसैमा रहेर त्यसलाई सुधार्न खोज्नुपर्छ भनेर बताउने गर्छन्। मूल कुरा त यो छ। यदि एकजना व्यक्तिले आफ्नो मुक्तिका लागि केवल ख्रीष्टले पूरा गरिसक्नुभएको काममाथि मात्र भरोसा गरिरहेको छैन भने त्यो व्यक्ति ख्रीष्टियन होइन। हामी "आफैले गरेका धर्मका कामहरूद्वारा होइन, तर उहाँकै कृपाअनुसार" (तीतस ३:५) मुक्ति पाउँदछौं। ख्रीष्टको बलिदान, पूर्ण र सिद्ध छ र त्यसलाई न बारम्बार दोहोर्‍याइन्छ न त्यसको नक्कल गर्न सकिन्छ। "तर यी व्यक्ति ता पापहरूका निम्ति एउटै बलिदान सदाका निम्ति चढाएर परमेश्वरको दाहिने हाततर्फ बस्नुभयो" (हिब्रू १०:१२)। उहाँ "बस्नुभयो" भन्ने तथ्यले उहाँले गर्नुभएको कार्य पूरा भइसकेको छ भन्ने कुरालाई जोड दिन्छ। पुरानो नियमका पूजाहारीहरू आफ्ना कर्तव्य कार्यान्वयन गर्ने क्रममा कहिल्यै बस्दैनथे। किनकि उनीहरूले जहिले पनि केही न केही गर्न बाँकी नै हुन्थ्यो। ख्रीष्टले गर्नुपर्ने काम चाहिँ कुनै बाँकी छैन। उहाँले सबै पूरा गरी भ्याइसक्नुभयो। उहाँले सिद्ध्याउनुभएको काममा मानवीय सुकर्महरू थप‍-थाप गर्न खोज्नु उहाँलाई अपमान गर्नु हो र साथै उहाँको कार्य सम्बन्धी सिकाइएको बाइबलको शिक्षालाई इन्कार गर्नु हो।

हाम्रो समाजलाई नैतिक सङ्कटबाट उद्धार गर्ने लक्ष्य राख्‍दैमा परमेश्वरको वचनका सुस्पष्ट शिक्षाहरूलाई उल्लङ्घन गर्न मिल्दैन। "अमेरिका नैतिकरूपमा टाट पल्टिएको छ। यहूदी-इसाई नीतिशास्त्र (Judeo-Christian morality) को सम्पदामा विश्वास गर्ने हामीहरू सबै सँगै खडा हुनुपर्छ। हामी अनावश्यक सैद्धान्तिक भिन्नताहरूले विभाजित हुनुहुँदैन।" आज धेरै इभान्जेलिकलहरूको तर्क यही छ। कतिपय रोमन क्याथोलिक अगुवाहरू पनि यो कुरा फुकिरहेका छन्। क्रिश्चियानिटी टुडे (Christianity Today) मा प्रकाशित "व्हाइ क्यान्ट वी वर्क टुगेदर?" (Why Can't We Work Together? अर्थात् किन हामी सँगै मिली काम नगर्ने?) शीर्षक गरेको लेखमा क्याथोलिक वकिल विलियम बेन्टली बलको तर्क यही नै थियो। लेखको सारांशमा भनिएको छ: सुपरिचित क्याथोलिक वकिल क्याथोलिक तथा इभान्जेलिकलहरूलाई बढ्दो धर्मनिरपेक्षवादको विरुद्धमा सहकर्मी बन्न आग्रह गर्दछन्।"1 उक्त लेखमै उनका आधारभूतवादी ग्राहकहरूले उनले येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गरेका छन् कि छैनन् भनी बललाई प्रायः सोध्ने गरेको बताउँछन्। उनको जवाफले नयाँ जन्म सम्बन्धी एक सामान्य क्याथोलिकको भयङ्कर अज्ञानतालाई प्रकट गर्दछ। बल भन्छन्: "मेरो प्यारिशको नाउँ आखिरमा Sacred Heart of Jesus हो -- जो आफैंमा एउटा मर्मपूर्ण आदरभावले भरिएको वाक्यांश हो। कम्युनियन (Communion, क्याथोलिक म्यासमा लिइने रोटी र कचौरा) लिँदा नै हामीले येशूको बास्तविक शरीर र रगत ग्रहण गर्दछौं भन्ने हाम्रो विश्वास हो।"2 देखिहाल्नुभयो, यहाँ एक शिक्षित, रोमन क्याथोलिक सदस्यले आफूले बारम्बार चर्चको पवित्र संस्कार (holy sacrament, म्यासको रोटी) लाई लिने गरेको हुनाले आफूलाई ख्रीष्टलाई ग्रहण गरेको भनी ठान्दछन्। किन क्याथोलिकहरूलाई सुसमाचार सुनाइनुपर्छ भन्ने कुराको आधारस्वरूप यो भन्दा प्रभावशाली गवाही के हुन सक्छ र? तर ठीक यही कुरा इभान्जेलिकल अगुवाहरूले हामीलाई गर्नु हुँदैन भन्दैछन्। हालका यस्तो गञ्जागोल दिनहरूमा परमेश्वरले आफ्नो मण्डलीमाथि कृपा गर्नुभएको होओस्!

के नैतिक गिरावटदेखि समाजलाई उद्धार गर्ने लक्ष्यले इभान्जेलिकलहरूलाई रोमनवादको निर्लज्ज झूटा सिद्धान्तहरूप्रति आँखा बन्द गर्न, कट्टर तथा सक्रिय रोमन क्याथोलिकहरूलाई साँचो विश्वासीको संज्ञा दिन र तिनीहरूसँग सामूहिक आराधनामा संलग्न हुन छुट दिन्छ र? हाम्रो समाजमा नैतिकताको स्तरलाई सुधार्नका निम्ति हामीले महत्त्वपूर्ण र बृहत् सैद्धान्तिक भिन्नताहरूलाई न्यूनीकरण गर्न हुन्छ र? धेरैको विचारमा हामीले त्यसै गर्नुपर्छ भन्ने छ। यो धारणा, अघि उल्लेखित नर्मन गाइस्लरको धारणामा झल्कन्छ जो दुवै डालस सेमिनरी (Dallas Seminary) र लिवर्टी यूनिभर्सिटी (Liberty University) मा अध्यापन गराइसक्नुभएको हुनाले एक परिचित इभान्जेलिकल इश्वरशास्त्री हुनुहुन्छ। इभान्जेलिकलहरू र रोमनवादीहरूका बीचको सम्बन्धको सवालमा उहाँको मूल्याङ्कनको सार यस विषयमा उहाँसित लिइएको एउटा अन्तर्वार्ताको शीर्षकले दिन्छ: "इफ वी डोन्ट ह्याङ्ग टुगेदर, वी आर गोइङ्ग टु ह्याङ्ग सेपरेटली" ("If we don't hang together, we're going to hang separately" अर्थात् "यदि हामी एकजुट भएनौं भने हामी अलग-अलग्गै नष्ट हुनेछौं")।3

पवित्र शास्त्रबाट यो स्पष्ट छ - मण्डलीको मुख्य काम समाज-सुधार होइन तर पवित्र जनहरूलाई "एकैचोटी सदाका निम्ति सुम्पिएको विश्वास" (यहूदा ३) लाई जारी राख्‍नु र त्यसलाई फैलाउनु हो। सामाजिक विकृतिहरूलाई सुधार्नका निम्ति हामी अरूहरूसँग सहकार्य गर्दैछौं भन्ने तर्कको आधारमा हामीले सुविवेकमा परमेश्वरको वचनका सत्यताहरूलाई परित्याग गर्न, सम्झौता गर्न वा हेरफेर गर्न सक्दैनौं। मानव जीवनको अलङ्घ्यता (sanctity of human life) को पक्षमा खडा हुने र गर्भपतनको विरोध गर्ने ती रोमन क्याथोलिकहरूका निम्ति हामी खुसी छौं। तरैपनि, उनीहरूले त्यो अडान लिँदैमा हामी रोमन चर्चका डरलाग्दा पथभ्रष्टताहरूप्रति आँखा चिम्लन र तिनका समर्थकहरूलाई साँचो विश्वासीहरूको संज्ञा दिन सक्दैनौं। ख्रीष्टलाई साँच्ची नै आदर गर्ने पास्टर "आफूले पाएको शिक्षामुताबिक विश्वासयोग्य वचन बलियोसँग पक्रेर खाँटी शिक्षाद्वारा विरोधीहरूलाई अर्ती दिन र कायल गराउन सक्ने हुनुपर्छ" (तीतस १:९)। यस पदमा केही महत्त्वपूर्ण तत्त्वहरू पाइन्छन्:

  1. खाँटी शिक्षा महत्त्वपूर्ण छ र त्यो सिकाइनुपर्छ।
  2. खाँटी शिक्षालाई विरोध गर्ने व्यक्तिहरू हुन्छन्।
  3. खाँटी शिक्षालाई दृढतापूर्वक कायम राखिनुपर्छ र यसको विपरितका प्रणालीहरूको रोकथाम गर्नुपर्छ।

रोमन क्याथोलिकहरू खाँटी शिक्षा सिकाउँदैनन्। तसर्थ तिनीहरूलाई प्रतिरोध गरिनुपर्छ र तिनीहरूका झूटा शिक्षाहरूको भन्डाफोर गरिनुपर्छ।

रोमन क्याथोलिकवादलाई ख्रीष्टियन विश्वासको एउटा औचित्यपूर्ण अभिव्यक्ति (valid expression) को रूपमा समर्थन गर्नुको तात्पर्य अनगिन्ती क्याथोलिकहरूलाई अनन्त नरकको दण्डाज्ञा सुनाउनु बराबर हो। केवल विश्वासद्वारा अनुग्रहले मुक्ति पाइन्छ भनेर क्याथोलिक सिद्धान्तले समर्थन गर्दैन भनेर हामीले अघि नै हेरिसक्यौं। मुक्ति पाउनलाई विश्वासमा सुकर्महरू अनिवार्य शर्तको रूपमा थप्ने काम रोमनवादले गर्दछ। क्रिश्चियानिटी टुडेले लिएको एक अन्तर्वार्तामा आफ्नो इभान्जेलिकल पाठकवर्ग नरिसाओस् भनेर विद्यमान मुद्दाहरूको यताउती होशियारपूर्वक नाँच्ने प्रयास जेसुइट इश्वरशास्त्री एभरी डुल्स (Jesuit theologian Avery Dulles) ले गरेका छन्। तरैपनि मुक्ति सम्बन्धी इभान्जेलिकलहरू के विश्वास गर्छन् र रोमन क्याथोलिकहरूले के विश्वास गर्छन् भन्ने कुराको बीचमा विशाल अन्तरहरू छन् भनेर उनले समेत स्वीकार गर्दछन्। "धर्मी ठहराइने" (justification, धर्मीकरण) विषयमा बताउँदा डुल्स भन्छन्, "धर्मी ठहरिएपछि एक व्यक्ति थप अरू धर्मी ठहरिन सम्भव छ" [धर्मीकरण र पवित्रीकरण बीचका भिन्नतालाई धमिल्याउने कार्य]। साथै उनले भन्छन्, "अनुग्रहमा लागिरह्यौं भने हामीले मुक्ति कमाउन सक्छौं...हामीले मुक्ति पाइसक्यौं भनेर अर्थात् हामी नष्ट हुन नै सक्दैनौं भनेर हामी गर्व गर्दैनौं...त्यसैले हामी मुक्ति पाउने आशा गर्छौं...पूर्णरूपमा हुने निश्चयता होइन यो।"4 रोमन चर्चकै एक अग्रज इश्वरशास्त्रीबाट आएको कति दुःखलाग्दो गवाही यो। उहाँले मुक्ति पाउनु होला भन्ने हामीले आशा मात्र गर्न सक्छौं। तैपनि अग्रवर्ती इभान्जेलिकल आवाजहरू रोमन क्याथोलिकवाभित्र कुनै झूटा शिक्षा छैन भनेर हामीलाई सुनाउँदैछन्।

रोमन क्याथोलिकहरूलाई कुन कुराको खाँचो छ? ख्रीष्टले आफ्नो सुसम्पन्न कार्यद्वारा प्रदान गर्नुभएको उदेकको मुक्तिको बारेमा सुन्न नै उनीहरूलाई खाँचो छ। परमेश्वरको वचनका प्रतिज्ञाहरूमा आड लिइकन मुक्तिको पूर्ण निश्चयता पाउन सम्भव छ भन्ने कुरा उनीहरूलाई सुन्न खाँचो छ। कथित "पवित्र संस्कारहरू" (holy sacraments) द्वारा मुक्ति पाइने नभई पूरोहितको हस्तक्षेपबिना केवल विश्वासद्वारा त्यो पाइन्छ भन्ने कुरा उनीहरूलाई सुन्न खाँचो छ। इभान्जेलिकलहरूले रोमन क्याथोलिकहरूलाई मुक्ति पाइसकेका व्यक्तिहरूको रूपमा हेर्न थाले भने उनीहरूले उनीहरूलाई सुसमाचार प्रदान गर्न छाड्नेछन् र यसरी उनीहरूलाई अनन्त नरकका लागि त्यागिदिनेछन्। आज इभान्जेलिकल अगुवाहरूले प्रतिपादन गरिरहेको "नयाँ थिअलजी" ("New Theology") को यो ज्यादै गम्भीर भावार्थ हो।

देश-विदेशमा सुसमाचार प्रचार गर्ने प्रयत्‍नमाथि यो नयाँ अडानले भयङ्कर ठूलो असर पार्नेछ। हाम्रा थुप्रै आधारभूतवादी मिसनरीहरू क्याथोलिकहरूको बाहुल्य भएको मुलुकहरूमा परिश्रम गर्दछन् जहाँ वर्षौंदेखि अधिकांश विश्वास गर्नेहरू रोमन क्याथोलिक चर्चबाट परिवर्तित भई आएकाहरू छन्। के अब हामी यी व्यक्तिहरूलाई सुसमाचार सुनाउने प्रयासलाई छाडौं? हामी के भनौं ती व्यक्तिहरूलाई जसले रोमन क्याथोलिकवादलाई छाडिसके, कति त ठूलो मूल्य चुकाएर? के हामी उनीहरूलाई भनौं कि हामी भूलमा परेका रहेछौं र उनीहरू जुन मण्डलीमा जन्मेका र हुर्केका थिए त्यो आखिरमा वास्तवमै एक नयाँ नियम अनुरूप मण्डली रहेछ भनेर? यस्तो स्वीकारोक्तिले कत्रो गञ्जागोल ल्याउनेथ्यो। के हामीले शताब्दियौंको समय खेर फाल्यौं त र प्रभुको पैसाबाट कयौं करोडौं डलर खेर फाल्यौं त - ती व्यक्तिहरूलाई मुक्तिमा ल्याउन प्रयास गरेर जब कि उनीहरूले मुक्ति पाइसकेका थिए?

विरोधशमन (conciliation) को यस अभियानमा प्रतिविम्बित इभान्जेलिकल एकतावाद (evangelical ecumenism) परमेश्वरको वचनप्रति वफादार हुन प्रयासरत स्थानीय मण्डली लगायत संस्थाहरूका निम्ति एक धराप बन्नेछ। वर्तमान "इभान्जेलिकल एकतावाद" को धेरैजना समर्थकहरूको प्रतिष्ठाको कारण धेरैजना इसाईहरू उनीहरूले भनेका कुराले प्रभावित बन्नेछन्। उनीहरूको विचारधारा इसाई सञ्चार माध्यमद्वारा लोकमान्य बनाउने कामको थालनि भइसकेको छ। कलेज तथा सेमनरीहरूका जवान विद्यार्थीवर्ग यस अवधारणाले सङ्क्रमित पारिनेछन्। बाइबलीय सत्यताका निम्ति पहरेदार बन्न खोजिरहेका पास्टर तथा अगुवाहरूले बढ्दो दवावको समाना गर्नुपर्नेछ। उनीहरूलाई बखेडियाहरूको रूपमा हेरिनेछन् र उनीहरूलाई अचाक्ली लडाकु तथा प्रेमरहित आत्मा भएका भनी दोष्याइनेछन्। साथै यो नयाँ दृष्टिकोणको बारेमा सुन्ने रोमन क्याथोलिकहरू (उनीहरूका अगुवाहरूले यी कुरा चारैतिर फुक्न थालेपछि उनीहरूले पक्कै पनि सुन्नेछन्), सुसमाचारप्रति झन् झन् कठोर बन्नेछन् र उनीहरूलाई प्रचार गर्नेहरूप्रति उनीहरू झन् झन् विरोधी बन्नेछन् किनकि उनीहरू भन्नेछन्, 'हामी हराएका छैनौं। हामी ख्रीष्टको शरीरका अङ्ग हौं। तिमीहरूका आफ्नै अगुवाहरूले त्यसो भन्दछन्। हामीलाई सुसमाचार प्रचार गरिनु आवश्यक छैन।"

क्याथोलिकहरू सच्चा बाइबल विश्वासीहरूभन्दा फरक छैनन् भन्ने भान इभान्जेलिकलहरूलाई परोस् भन्ने हेतुले र उनीहरूलाई यो धारणा अँगाल्न लाउन क्याथोलिकहरूले के विश्वास गर्छन् भन्ने कुरालाई उनीहरूका अगुवाहरूले चलाकिपूर्ण शब्द-चयन गरी रचिएका अभिव्यक्तिहरू दिने गरेका छन्। एउटा क्याथोलिक खबर पत्रिकामा "बाइबलीय आधारभूतवाद: हामी कसरी प्रत्युत्तर दिऔं?" (Biblical Fundamentalism: How Should We Respond) शीर्षक गरेको लेखमा यस्तै खालको अभिव्यक्ति छापिएको थियो: पूरोहीत रेमण्ड ब्राउनले आधारभूतवादीहरूले प्रायः सोध्ने गरेका दसओटा प्रश्नहरूको प्रत्युत्तर दिएका थिए। ती प्रत्युत्तरहरूमा शब्द-चयन यस्तो किसिमले गरिएको छ कि क्याथोलिक शिक्षासित गहिरोसँग परिचित नभएकाहरूले तिनलाई सकारात्मक रूपमा लिने देखिन्छ।"5 यस्ता लेखहरू निसन्देह दुवै पक्षका प्रतिनिधिहरूद्वारा अरू छापिनेछन्। गञ्जागोलको वृद्धि र निरन्तरता नै यसको परिणाम हुनेछ।

  1. William Bentley Ball, "Why Can't We Work Together?" Christianity Today, July 16, 1990, p. 22.
  2. Loc. cit.
  3. Op. cit., Interview with Norman Geisler.
  4. "America's Catholics: What They Believer," Christianity Today, November 7, 1986, p. 27.
  5. Raymond Brown, "Biblical Fundamentalism: How Should Catholics Respond?" St. Anthony Messenger, June 1950.

यी पृष्ठहरू डा. अर्नेस्ट पिकरिङ्गको Holding Hands with the Pope - The Current Evangelical Craze बाट नेपालीमा रूपान्तर गरिएका हुन्।


पृष्ठ संशोधन मिति: Tuesday 11-Oct-11
WordofTruth.com.np © 2017