परिपक्व र अपरिपक्व विश्वासीका बीच एक तुलनात्मक अध्ययन

यस पृष्ठलाई छाप्नुहोस्



एउटा विश्वासी परिपक्व बन्न सक्नलाई ऊ आत्मिक (अर्थात् एक स्वस्थ विश्वासी, पवित्र आत्माको भरपूरी अथवा नियन्त्रणमुनि जिउने विश्वासी) भएर मात्र पनि पुग्दैन; समय पनि लाग्छ। प्रभुमा हुर्कँदै, बढ्दै जानु भनेको समय लाग्ने कुरो हो। एउटा सानो बच्चा स्वस्थ होला तर परिपक्व ऊ निश्चय हुँदैन। परिपक्व बन्न र हुर्कन बच्चालाई समय लाग्छ। गलाती ६:१ ("तिमीहरू जो आत्मिक छौ") को तात्पर्य हुर्कन र बढ्न समय लाग्छ भन्ने हो। प्रभुमा नयाँ गरी जन्मेको एउटा बालक आत्मिक होला, तर गल्ती गर्ने कुनै भाइलाई सुधार्न सक्नलाई चाहिने परिपक्वता र हुर्काइमा ऊ घटी नै हुन्छ। ऊ आत्मामा हिँड्दै गर्‍यो र आत्मिक रूपमा स्वस्थ रहिरह्यो भने, कालान्तरमा उसले त्यस्तो काम पनि गर्न सक्नेछ।

एउटा विश्वासी ख्रीष्टमा हुर्कन र बढ्न नसकेमा ऊ आत्मिक रूपमा बालकै रहिरहन सक्ने खतरा छ। यो अति खेदजनक कुरो हो। पच्चीस वर्ष पुगेर पनि आफ्नो सरसफाइ आफै गर्न नसक्ने, दूधको बोतल चुसेर बस्ने एउटा मान्छेलाई देख्‍नुभयो भने तपाईंलाई कस्तो लाग्ला? दूध नयाँ जन्मेको बालकको लागि ज्यादै उपयुक्त पौष्टिक आहार त हो (१ पत्रुस २:२), तर युवावस्थामा पुगेर पनि दूधै मात्र पिउँछ भने त्यहाँ केही न केही गडबड छ भन्ने हामीलाई महसुस हुन्छ।

पावलले एकजना स्वस्थ, परिपक्व विश्वासीको बयान यसरी गरेका छन्:

"यही कारणले हामीले पनि यो कुरा सुनेको दिनदेखि तिमीहरूका निम्ति प्रार्थना गर्न र सारा बुद्धि र आत्मिक समझमा उहाँको इच्छा जान्ने ज्ञानले तिमीहरू भरिएका होओ भनी विन्ती गर्न छोडेका छैनौं; कि उहाँलाई पूरा प्रसन्न गराउनालाई तिमीहरू प्रभुको योग्य चालमा हिँड, हरेक असल काममा फलदार हुँदै जाओ, र परमेश्वरलाई चिन्ने ज्ञानमा बढ्दै जाओ; अनि आनन्दसितको सम्पूर्ण धीरज र सहनशीलताका निम्ति उहाँको महिमित सामर्थ्यअनुसार सारा शक्तिले बलवान् होओ" (कलस्सी १:९- ११)।