- मण्डली इतिहासबाट केही पाठहरू - सीजर कि ख्रीष्ट? (अध्याय २)
- प्रकाशको पुस्तकका सात मण्डलीहरू (अडियो)
- मण्डली इतिहासबाट केही पाठहरू - पत्रुस कि चट्टान? (अध्याय १)
- बाइबल कि सपना-दर्शन (योएल २)
- विकृत ईसाई सङ्गीतको आवाज (अडियो)
- असल ख्रीष्टिय सङ्गीतका बाइबलीय सिद्धान्तहरू (अडियो)
- यूहन्नाको पहिलो पत्र (अडियो)
- ड्रग्सदेखि ख्रीष्टसम्म - एउटा परिवर्तित जीवन (भिडियो)
- ख्रीष्टियन सतावटको एक ऐतिहासिक झलक (अडियो)
फिलिप र बार्थोलोमाइ
अध्याय १ देखि अध्याय ४ सम्मको अध्ययनलाई फर्केर हेर्दा
यहाँसम्म हामीले बाह्रमध्ये चारजना चेलाहरूको अध्ययन गर्यौं: पत्रुस, अन्द्रियास, याकूब र यूहन्ना। यी चारजना चेलाका नामहरू लिएर निम्न २० ओटा प्रश्नहरूको जवाफ लेख्नुहोस्-
- कुन चेला प्रथम शहीद बने (अर्थात् आफ्नो विश्वासको निम्ति मारिए)? ______________
- कुन चेला शहीदको रूपमा मरेनन् तर वृद्धावस्थामा मरे? _____________
- कुनचेला कुनै पनि कामकुरा गर्न प्रायः पहिला हुन्थे? _____________
- पत्रुसका भाइ को थिए? _____________
- यूहन्नाका दाजु को थिए? _____________
- कुन चेला पानीमाथि हिँडे? _____________
- "गर्जनका पुत्रहरू" को थिए? ______________________
- कसले प्रभुलाई तीन पटक इन्कार गरे? _____________
- "प्रेमका प्रेरित" को थिए? _____________
- कुन कुन चेलाहरू मछुवा थिए? ___________________________________
- कुन चेलाले नयाँ नियमका पाँचओटा पुस्तकहरू लेखे? _____________
- कुन तीनजना चेलाहरू "भित्री समूह" का थिए? _____________
- कुन चेला सबभन्दा भित्री घेरा अन्तर्गतका थिए? _____________
- कसले पेन्टेकोस्टको दिनमा प्रचार गर्दा करिब ३००० मानिसहरूले मुक्ति पाए र बप्तिस्मा लिए? _____________
- कुन चेला प्रभुको सबभन्दा नजिकमा रहने गर्थे? _____________
- जब्दीका छोराहरू को को थिए? ________________________
- येशूको मृत्युको घडीमा कुन चेला क्रूसकै फेदीमा थिए? ______________
- कुन चेलाले मालकसका कान च्वाट्टै काटिदिए? _____________
- पत्रुसलाई प्रभुमा ल्याउने चेला को थिए? _____________
- "येशूले प्रेम गर्नुभएको चेला" को थिए? _____________
फिलिप
बाह्रचेलाका सबै नामावलीहरूमा फिलिपको नाम सधैं कुन स्थानमा उल्लेख छ (मत्ती १०:२-३; लूका ६:१३-१४; मर्कूस ३:१६-१८; प्रेरित १:१३)? ठीक जवाफमा चिन्ह लगाउनुहोस्:
(क) चौथो
(ख) छैठौं
(ग) पाँचौं
(घ) सातौं
यो फिलिप र प्रेरित ६:५, प्रेरित ८ र प्रेरित २१:८ मा उल्लेखित अर्को फिलिपका बीच अलमल नहोस्। यस पाठमा हामीले अध्ययन गर्न लागेका फिलिपलाई प्रेरित फिलिप भनिन्छ (मत्ती १०:२-३)। प्रेरित अध्याय ८ मा पाइने फिलिपलाई _____________ फिलिप (हेर्नुहोस् प्रेरित २१:८) भनिन्छ। दुवैले प्रभुलाई प्रेम गर्थे र विश्वासयोग्य भई प्रभुको सेवा गरे!
फिलिप प्रभुलाई भेट्दछन्
फिलिपको पहिलो उल्लेख यूहन्ना अध्याय १ मा पाउँछौँ। फिलिप कुन ठाउँका बासिन्दा थिए (यूहन्ना १:४४)? _________________________। यो गालिल समुन्द्रको किनारमा रहेको एउटा सानो माझी बस्ती थियो (बाइबलको मानचित्रमा हेर्नुहोस्)। अरू कुन कुन चेलाहरू यही गाउँबाटका थिए (यूहन्ना १:४४)?
यूहन्ना १:४३ मा हामी येशूले फिलिपलाई चेला हुन बोलाउनुभएको समयको बारेमा सिक्दछौँ। येशूले फिलिपलाई भेट्टाउनुभयो र भन्नुभयो, "मेरो ___________ ___________ (यूहन्ना १:४३)!" के फिलिपले त्यसो गरे होलान्? _____________। फिलिपलाई येशूले भेट्टाउनुभएको कुरो साँचो हो (यूहन्ना १:४३) तर फिलिपले पनि येशूलाई भेट्टाएका हुन्। यूहन्ना १:४५ मा फिलिपले भने, "हामीले उहाँलाई _________________ छौं।" फिलिप एक खोजी गर्ने व्यक्ति थिए! उनले मसीहको खोजी गर्दै थिए। के फिलिपले आफूले खोजेको कुरा भेट्टाए? ______________। परमेश्वरलाई खोज्नेहरूले परमेश्वरलाई भेट्टाउँछन् – "यदि उहाँलाई ______________ भने तिमीले उहाँलाई ______________" (१ इतिहास २८:९)। के तपाईं एक खोजी गर्ने व्यक्ति हुनुहुन्छ? के तपाईं प्रभु येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाता र परमेश्वरको रूपमा भेट्टाउन चाहनुहुन्छ?
फिलिपले नथनएललाई भेट्टाउँछन्
येशूले फिलिपलाई भेट्टाउनुभयो (पद ४३) अनि फिलिपले येशूलाई (पद ४५)! फिलिपले येशूलाई भेट्टाएको लगत्तै उनले अर्को व्यक्तिलाई भेट्टाउन चाहे (हेर्नुहोस् यूहन्ना १:४५)। फिलिपले एउटा ठूलो कुरा पत्ता लगाएका थिए अनि उनले यसलाई आफ्नो साथी नथनएलसित बाँड्न चाहे। धेरै हिसाबमा फिलिप अन्द्रियासजस्तै थिए (हेर्नुहोस् यूहन्ना १:३५-४१)। अन्द्रियासले प्रभुलाई भेट्टाएपछि छिटो छिटो गई ______________ लाई बताइदिए (यूहन्ना १:४१)। फिलिपले प्रभुलाई भेट्टाएपछि छिटो छिटो गई _____________लाई बताइदिए (यूहन्ना १:४५)।
अन्द्रियास र फिलिपबाट हामी दुइटा महत्त्वपूर्ण पाठहरू सिकौं-
पाठ १ - हामीले ख्रीष्टलाई भेट्टाउनु खाँचो छ; उहाँसित हाम्रो व्यक्तिगत भेट हुनु खाँचो छ।
कतिपय व्यक्तिहरू हप्तैपिच्छे चर्चघर गए तापनि र समय-समयमा आफ्ना बाइबलहरू पढे तापनि तिनीहरूले ख्रीष्टलाई वास्तवमा भेट्टाएका हुँदैनन् अनि उहाँलाई व्यक्तिगत रूपमा चिनेका हुँदैनन्। येशू ख्रीष्ट तपाईंको जीवनमा आउन चाहनुहुन्छ अनि उहाँले आफूलाई तपाईंकहाँ ज्यादै वास्तविक रूपमा प्रकट गर्न चाहनुहुन्छ। उहाँ ढोकैमा उभिएर ढकढकाउँदै हुनुहुन्छ (प्रकाश ३:२०)। तपाईंले गर्नुपर्ने काम के हो? त्यो कसरी गरिन्छ? के तपाईंले सो गर्नुभयो?
बेन्जामीन फ्रयाङ्कलीनले कहिल्यै कसैसित पनि टेलिफोनको आश्चर्यपूर्ण आविष्कारलाई बाँडन सकेनन्। किनकि उनले कहिल्यै टेलिफोनको आविष्कार गरेनन्! करिब १०० वर्षपछाडि अलेक्जान्डर ग्राहाम बेलले टेलिफोनको आविष्कार गरे! कुनै पनि व्यक्तिले आफूले नै नभेट्टाएका वा आविष्कार नगरेका कुरालाई अरूसित बाँड्न सक्दैनन्। एक व्यक्तिले पहिला त आफ्नै निम्ति ख्रीष्टलाई भेट्टाउनुपर्छ अनि मात्र उसले उहाँलाई अरूहरूसित बाँड्न सक्दछ। पत्रुसकहाँ जानु अघि अन्द्रियासको जीवनमा एउटा उदेकको घटना घटिसकेको थियो। नथनएलकहाँ जानु अघि फिलिपको जीवनमा एउटा उदेकको घटना घटिसकेको थियो। के तपाईंको जीवनमा कुनै उदेकको घटना घटेको छ? के तपाईंले एक उदेकको व्यक्ति (दाँज्नुहोस् यशैया ९:६) लाई भेट्नुभयो? के तपाईंले उहाँलाई एक उदेकको मुक्तिदाता र मित्र र प्रभु को रूपमा भेट्टाउनुभयो?
पाठ २ - हामीले भेट्टाएको कुरा अरूसित बाँड्नुपर्छ।
अन्द्रियासले पत्रुसलाई आफूले भेट्टाएको कुरा बताए (यूहन्ना १:४१)। फिलिपले नथनएललाई आफूले भेट्टाएको कुरा बताए (यूहन्ना १:४५)। के तपाईंले कसैलाई तपाईंले भेट्टाउनुभएको कुरा बताउनुभएको छ? तपाईंले अवश्य पनि ख्रीष्टलाई व्यक्तिगत र वास्तविक रूपमा कहिल्यै नभेटेका व्यक्तिहरू चिन्नुहुन्छ। तिनीहरूले येशू वास्तवमा को हुनुहुन्छ र उहाँले तिनीहरूका लागि के गरिदिनुभयो भन्ने कुरा कहिल्यै पत्ता लगाएका छैनन्। यी मानिसहरूलाई तपाईंले कसरी मद्दत गर्न सक्नुहुन्छ? उनीहरूकहाँ जानुहोस् र तपाईंले के भेट्टाउनुभयो सो बताइदिनुहोस्!
फिलिप पवित्र शास्त्रहरूसँग राम्ररी परिचित थिए। परमेश्वरले आफ्नो वचनमा भन्नुभएको कुरालाई उनले राम्ररी जान्दथे। यूहन्ना १:४५ मा उनले भने, "हामीले उहाँलाई भेट्टाएका छौँ, जसको विषयमा _____________ ले व्यवस्थामा लेखे, र _________________________ ले लेखे अर्थात् यूसुफका पुत्र, नासरतका येशूलाई।"
मोशाले आउनेवाला मसीहको बारेमा लेखे। सम्भवतः फिलिपले व्यवस्था १८:१५-१९ को महत्त्वपूर्ण खण्डलाई विचार गर्दै थिए। यस खण्डको पद १८ मा उल्लेखित महान् अगमवक्ता प्रभु येशू ख्रीष्ट नै हुनुहुन्छ।
भविष्यवक्ताहरूले आउनेवाला मसीहको बारेमा लेखे। फिलिप पुरानो नियमका भविष्यवाणीका थुप्रै खण्डहरूसित परिचित थिए जसमा आउनेवाला मुक्तिदाता तथा राजाको उल्लेख छ (जस्तै; मीका ५:२; यशैया ९:६-७; यशैया ४०:३-५; यर्मिया २३:५-६ आदि)। सम्पूर्ण पुरानो नियम ख्रीष्टको आगमनको प्रतिक्षामा थियो। फिलिपले यो कुरा बुझेका थिए र बाइबलले बताएको व्यक्तिलाई आफूले भेट्टाएँ भन्ने कुरामा उनी निश्चित थिए।
हामीले भेट्टाएको ख्रीष्ट बाइबलले नै उल्लेख गरेको ख्रीष्ट हुनुहुन्छ भनी हामीले निश्चय गर्नु जरूरी छ। कतिपय व्यक्तिहरू आफूहरूले ख्रीष्टलाई भेट्टायौँ भनी सोच्दछन् तर उनीहरूले भेट्टाएका ख्रीष्ट बाइबलका ख्रीष्ट होइनन्। त्यो त उनीहरूले आफ्नै कल्पनामा सृजेको ख्रीष्ट हो (जस्तै, भारत र नेपालमा आएर वेद र योगाको अध्ययन गरे भन्ने कथित "ख्रीष्ट")। मानिसहरूले चर्चा गरेका ख्रीष्ट बाइबलको ख्रीष्टसँग मेल खाँदैनन् भने उनीहरूले वास्तविक येशू ख्रीष्टलाई भेट्टाएका छैनन्।
फिलिपलाई येशूले जाँच्नुहुन्छ
यूहन्ना ६:५ मा येशूले फिलिपलाई के प्रश्न सोध्नुभयो? ________________________________________? उहाँले जे गर्न लाग्नुभएको थियो सो उहाँलाई अघिबाटै _________ थियो (यूहन्ना ६:६)। एउटा ठूलो आश्चर्यकर्मद्धारा उहाँले यी मानिसहरूलाई खुवाउनुहुनेछ भनी उहाँ जान्नुहुन्थ्यो। फिलिपको विश्वास जाँच्नलाई येशूले उक्त प्रश्न गर्नुभएको थियो।
यतिका धेरै मानिसहरूका निम्ति खाना किनेर खुवाउने भन्ने कुरा के फिलिपलाई सम्भव लाग्यो (यूहन्ना ६:७)? _____________। दुई सय दिनारको रोटी तिनीहरूमध्ये हरेकले थोरै-थोरै लिए तापनि तिनीहरूका निम्ति पर्याप्त हुनेथ्यो र (यूहन्ना ६:७)? _____________। दुई सय दिनार ठूलै रकम थियो। चाँदीले बनेको रोमी सिक्कालाई दिनार भनिन्थ्यो। एउटा सरदर ज्यालादारीले एक दिनको ज्याला बराबर एक दिनार पाउँथ्यो। दुई सय दिनार कमाउन एकजनाले झण्डै _____________ दिन काम गर्नुपर्थ्यो। एक दिनको काम बापत तपाईं वा तपाईंको बुबाले कति रकम कमाउनुहुन्छ? त्यसलाई २०० ले गुणन गर्नुभयो भने फिलिपले कति धेरै पैसाको कुरा गरिरहेका थिए भन्ने कुरा तपाईंले अनुमान लगाउन सक्नुहुनेछ!
उनले आफ्नो प्रभुमाथि कति थोरै विश्वास राखेका थिए भन्ने कुरा फिलिपको जवाफले देखाउँछ। फिलिपले यसो भन्नुपर्थ्यो: "प्रभु! यतिका धेरै मानिसलाई किनेर खाना खुवाउनु त हाम्रो लागि असम्भव छ। यदि तपाईं यी मानिसहरूलाई खुवाउन चाहनुहुन्छ भने तपाईंले नै केही न केही गर्नुपर्छ। एउटा अलौकिक काम नै गरिनु आवश्यक छ। त्यसो गर्न हामी त सक्दैनौँ तर तपाईं सक्नुहुन्छ। तपाईंले विवाह भोजमा दाखरसको प्रबन्ध गर्न सक्नुभयो (यूहन्ना २) र तपाईंले रोगीहरूलाई निको पार्न सक्नुभयो (यूहन्ना ६:२)। यसैकारण यस विशाल जमातलाई खुवाउन पनि तपाईं सक्नुहुन्छ। यी मानिसहरूका भलाईका निम्ति जे आवश्यक छ त्यसको लागि म तपाईंमै भरोसा गर्नेछु।" प्रभुका निम्ति कुनै कुरा कठिन छैन भनी फिलिपले सिक्नु खाँचो थियो। अभावलाई पूरा गर्न प्रभुलाई कुनै समस्या छैन।
फिलिप अर्को पाठ सिक्छन्
यूहन्ना १२:२०-२२ र यूहन्ना १४:६-९ मा पनि फिलिपको उल्लेख छ। पछिल्लो खण्डमा चाहिँ येशूले पिताकहाँ आउने र पितालाई चिन्ने विषयमा कुरा गर्दैहुनुहुन्थ्यो (यूहन्ना १४ का ६-७ पदहरू हेर्नुहोस्)।
यो सुनेर फिलिपले भने, "प्रभु, ______________________________________, अनि यही हाम्रा निम्ति पर्याप्त हुन्छ" (यूहन्ना १४:८)। फिलिपको चाहना असल थियो। उनी पितालाई चिन्न चाहन्थे। उनी पितालाई देख्न चाहन्थे। तर फिलिपले एउटा ज्यादै महत्त्वपूर्ण कुरा बुझ्न सकेका थिएनन्। येशू ख्रीष्टलाई वास्तविक रूपमा चिनेको व्यक्तिले कसलाई समेत चिनेको हुन्छ (यूहन्ना १४:७)? ______________। ख्रीष्टलाई देख्नेले _____________ पनि देखिसेको हुन्छ (यूहन्ना १४:९)! फिलिप पिता प्रकट गराइएको चाहन्थे तर पिता प्रकट गराइसकियो भन्ने कुरा फिलिपले बुझ्न सकेका थिएनन्! परमेश्वर पितालाई प्रकट गर्नुहुने र चिनाउनुहुने येशू ख्रीष्ट नै हुनुहुन्छ!
शायद फिलिप कुनै आश्चर्यपूर्ण चमत्कारसहित परमेश्वर प्रकट हुनुभएको आफ्नै आँखाले देख्न चाहन्थे। उनी थप प्रकाशको खोजी गर्दैथिए तर आवश्यक पर्ने प्रकाश पूर्णरूपमै उनलाई दिइसकेको छ भनी उनलाई बुझ्न खाँचो थियो जुन प्रकाश चाहिँ येशू ख्रीष्टमा पाइन्छ।
आज पनि त्यस्ता मानिसहरू छन् जो थप प्रकाशको खोजी गरिरहेका छन्। परमेश्वरले आफूलाई तिनीहरूकहाँ विशेष-विशेष प्रकारले प्रकट गर्नुभएको र आफूलाई चिनाउनुभएको तिनीहरू चाहन्छन्। तिनीहरू विशेष दर्शन देख्न, विशेष सपना देख्न वा परमेश्वरबाट कुनै अन्य विशेष तरिकाले सन्देश प्राप्त गर्न चाहन्छन् (जस्तै, कथित "अन्य भाषा" मा बोलेर आदि)। आफूहरूसँग भएको प्रकाश नै पर्याप्त छ भन्ने कुरा तिनीहरूले बुझ्नु आवश्यक छ! तिनीहरूको आवश्यकता भनेको केवल बाइबलको प्रकाश हो! परमेश्वरले आफूलाई खुलस्तै प्रकट गर्नुभएको छ। बाइबलद्धारा नै हामी येशू ख्रीष्टलाई चिन्दछौँ। येशू ख्रीष्टलाई चिनेर नै हामी परमेश्वर पितालाई चिन्दछौँ (यहन्ना १४:७)। हामीलाई नयाँ प्रकाशको खाँचो छैन, बरू हामीले परमेश्वरले हामीलाई दिइसक्नुभएको प्रकाशमा नै ध्यान दिनु खाँचो छ!
फिलिपको आखिरी जीवन
बाइबलले फिलिपको बारेमा धेरै बताउँदैन। यी पाठहरूमा हामीले फिलिपको चर्चा गरिएका सबै पदहरूलाई उल्लेख गरिसक्यौँ।
ऐतिहासिक परम्पराले बताए अनुसार, फिलिपले एशिया माइनर (हालको टर्की) मा सुसमाचार प्रचार गरे र आफ्नो अधिकांश समय सम्भवतः फ्रिगिया नाउँ गरेको क्षेत्रमा बिताए (बाइबलको मानचित्रमा हेर्नुहोस्)। युसेबियस् नामक प्राचीन इतिहासकारले उनलाई "एशियाका महान् ज्योति" को उपनाम दिएका छन्। फिलिपले नथनएललाई प्रभुमा ल्याए र निश्चय पनि उनले आफ्नो जीवनभरिमा अन्य थुप्रै व्यक्तिहरूलाई ख्रीष्टमा ल्याए ।
फिलिपको मृत्यु सम्बन्धी हामीलाई धेरै कुरा थाहा छैन, तर उनी एक इसाई शहीदकै रूपमा मरे भन्ने हामीलाई प्रायः निश्चय छ। उनी "______________ सम्म विश्वासयोग्य" (प्रकाश २:१०) थिए!
बार्थोलोमाइ
बाह्रचेलाका चारै ओटा नामवलीमा बार्थोलोमाइको नाम उल्लेख छ (मत्ती १०; मर्कूस ३; लूका ६; प्ररित १) तर नयाँ नियमले बार्थोलोमाइको केही बताउँदैन। सम्भवतः यूहन्ना अध्याय १ को नथनएल बार्थोलोमाइ नै हुन्। यो निष्कर्ष निकाल्नुमा निम्न कारणहरू छन्-
- नयाँ नियमको समयमा एउटै व्यक्तिको दुइटा नाम हुनु सामान्य मानिन्थ्यो। उदाहरणको लागि, महसुल उठाउने मत्तीलाई लेवी भनेर पनि बोलाइन्थ्यो। (मत्ती ९:९ मा हेर्नुहोस् र लूका ५:२७ र त्यसपछिका पदहरूसित तुलना गर्नुहोस्)।
- मत्ती, मर्कूस र लूकामा बार्थोलोमाइको नाम उल्लेख छ तर नथनएलको नाम कतै उल्लेख छैन।
- फिलिप र नथनएल असल मित्रहरू थिए भन्ने कुरा यूहन्ना १ अध्यायमा देख्न सकिन्छ। वास्तवमा नथनएललाई येशूकहाँ डोर्याउने फिलिप नै थिए। सुसमाचारका अन्य पुस्तकहरूमा बार्थोलोमाइको नाम सधैं फिलिपको नामपछि भेटिन्छ। (मर्कूस ३:१६-१७; मत्ती १०:२-३; लूका ६:१४ र त्यसपछिका पदहरू)।
- यूहन्ना २१:२ र १४ मा बाइबलले नथनएल येशूका बाह्रचेला मध्येका एक थिए भन्ने सङ्केत दिएको जस्तै देखिन्छ। "नथनएल" भन्ने नाम बाह्र चेलाको कुनै पनि नामावलीमा नभेटिएकोले उक्त व्यक्तिको अर्को पनि नाम हुनपर्थ्यो भन्ने देखिन्छ। सबभन्दा मिल्न सक्ने नामचाहिँ बार्थोलोमाइ नै देखिन्छ।
बार्थोलोमाइ र नथनएल एउटै व्यक्ति हुन् भनी हामी पुर्णरूपमा निश्चय गर्न सक्दैनौँ। माथिका कारणहरूले यो ज्यादै सम्भव छ भन्ने देखिन्छ। यदि ती दुई एउटै व्यक्ति होइनन् भने बाइबलले बार्थोलोमाइको बारेमा केही पनि नबताएको ठहरिन्छ (नामवलीमा सूचित गर्नु बाहेक)। यदि ती दुई एउटै व्यक्ति हुन् भनेचाहिँ यूहन्ना अध्याय १ ले यस व्यक्ति अर्थात् नथनएलका बारेमा केही कुराहरू बताएको पाउँछौ:
नथनएलले येशूलाई भेट्छन्
नथनएल बाइबल जान्ने व्यक्ति थिए। पुरानो नियम शास्त्रको उनलाई राम्रो ज्ञान थियो। यसैकारण उनले भने, "के _____________बाट कुनै ______________ कुरा आउन सक्छ?" (यूहन्ना १:४६)। मसीह (इस्राएलका मुक्तिदाता तथा राजा) नासरत शहरबाट आउनेछन् भनेर लेखिएको कुनै पनि पुरानो-नियमको खण्ड उनी जान्दैनथे। शायद त्यसबेला उनले मीका ५:२ को महान् भविष्यवाणीलाई याद गर्दै थिए जसअनुसार इस्राएलका राजा बेथलेहेमबाट आउनुपर्थ्यो। तर "नासरतका येशू" उक्त भविष्यवाणी बमोजिम नै बेथलेहेमा जन्मनु भएको थियो भन्ने कुरा नथनएललाई थाहा भइसकेको थिएन!
नथनएलका शङ्काहरू आफ्नै ठाउँमा थिए तरै पनि उनी एक इमान्दार र खुल्ला विचारका मानिस भएकाले उनी आफ्नो नेभराको रूखलाई छाडेर फिलिपको पछि लागे। येशूले नथनएललाई भन्नुभएको सबभन्दा पहिलो कुरालाई टिप्पणी गरौं: "हेर साँच्चै एउटा इस्राएली, जसमा ______________ छैन" (यूहन्ना १:४७)। "छल" शब्दको अर्थ हुन्छ "कपट, धोका"। येशू यो भन्दैहुनुहुन्थ्यो, नथनएल एउटा छलकपट गर्ने व्यक्ति होइन। नथनएलको हृदय इमान्दार, निष्कपट र खुल्ला थियो। प्रतिज्ञा गरिएको मसीहको आगमनको बाटो हेरिरहने त्यस समयका यहूदीहरूमध्ये उनी एक थिए।
नथनएल यी शब्दहरू सुनेर छक्क परे। उनले सोधे, "तपाईंले मेरो बारेमा जम्मै कुरा कसरी जन्नुभयो" (दाँज्नुहोस्, यूहन्ना १:४८)? येशूले दिनुभएको जवाफ झनै छक्कलाग्दो थियोः "फिलिपले तिमीलाई बोलाउनुभन्दा पहिले, तिमी _____________को रूखमनि हुँदा नै मैले तिमीलाई _____________" (यूहन्ना १:४८)। येशूले नथनएललाई देख्नुभयो यद्यपि येशू त्यहाँ प्रत्यक्षरूपमा हुनुहुन्नथ्यो! उनी भर्खरै जहाँबाट आएका थिए त्यही ठाउँको दृश्य येशूले बयान गर्नुभएको सुनेर नथनएल तीनछक परे! फिलिपले नथनएलसँग बोल्नु अघि नै येशूलाई नथनएलको बारेमा जम्मै कुरा थाहा थियो! येशू वास्तवमा को हुनुहुन्छ भनी नथनएललाई विश्वस्त तुल्याउन के यस कुरा नै पर्याप्त ठहरियो (हेर्नुहोस्, यूहन्ना १:४९)? _____________
येशू नथनएलको बारेमा सब जान्नुहुन्थ्यो। उहाँ नथनएलका विचारहरू जान्नुहुन्थ्यो! उहाँ नथनएल कहाँ छन् भनी जान्नुहुन्थ्यो! नथनएल कस्ता व्यक्ति हुन् भनी उहाँ पूर्णरूपमा जान्नुहुन्थ्यो! आज पनि यो साँचो छ। प्रभु हाम्रो बारेमा सब जान्नुहुन्छ! तपाईंले आफूलाई जतिको चिन्नुहुन्छ त्यो भन्दा बढ्ता उहाँले तपाईंलाई चिन्नुहुन्छ! उहाँले तपाईंको बारेमा, तपाईंका विचारहरूको बारेमा सब जान्नुहुन्छ। उहाँले तपाईंका समस्या, शङ्का र फिक्रीहरूका बारेमा सब जान्नुहुन्छ।
हामी डाक्टरकहाँ जाँदा उनलाई हाम्रो बारेमा सकेसम्म धेरै जानकारी होस् र हामीलाई मद्दत गर्न सकोस् भन्ने चाहन्छौँ। प्रभु येशू हाम्रो प्राणको महान् डाक्टर हुनुहुन्छ! उहाँ हाम्रो बारेमा सब जान्नुहुन्छ, हामीभित्रको समस्या जान्नुहुन्छ। हामीभित्र उहाँको उदेकको काम गरिनालाई हामीले उहाँमा भरोसा गर्नुपर्छ।
नथनएल, सुधार्न सकिने, खुल्ला विचारका मानिस थिए। शुरूमा येशू सम्बन्धी उनको विचार गलत थियो (यूहन्ना १:४६) तर येशूले उनीसित बोल्नुभएपछि उनले तुरून्तै आफ्नो विचार बदले (यूहन्ना १:४८-४९)। परमेश्वर, हामीमा त्यस्तो खुल्ला हृदय भएको चाहनुहुन्छ जुन हृदय सत्यको प्रकाशमा आफ्नो गलत विचारलाई बदल्न राजी हुन्छ।
नथनएलको आखिरी उल्लेख यूहन्ना २१:२ मा पढ्छौँ जहाँ उनी छजना अन्य चेलाहरूसितै माछा मार्न गएका थिए। त्यसबेला येशू उनीहरूकहाँ देखा पर्नुभएको थियो (यूहन्ना २१:४)।
उनको बारेमा बाइबलले अन्य थप कुरा नबताए तापनि यस कुरामा हामी निश्चित छौं, उनले जीवनको अन्तसम्मै येशू "परमेश्वरको _____________ र इस्राएलका ______________" हुनुहुन्छ भन्ने कुरा प्रचार गरे (यूहन्ना १:४९)। उनले पनि शहीदको मुकुट पाउनेछन् (प्रकाश २:१०)!




