ओहोदा र अवस्था

यस पृष्ठलाई छाप्नुहोस्

डेविड क्लाउड

पद कण्ठ: एफेसी १:३; ५:८; हिब्रू १२:६-८

ख्रीष्टियन जीवनमा अर्को नित्तान्त आवश्यक कुरा ओहोदा र अभ्यासको बीचको भिन्नता बुझ्नु अर्थात् सम्बन्ध र सङ्गतिको भिन्नता बुझ्नु हो। यहाँ भन्न खोजिएको कुरा के हो भने एकातिर परमेश्वरको सामु विश्वासी जनको एउटा नयाँ ओहोदा र सम्बन्ध छ जुनचाहिँ अनन्त र सिद्ध र अपरिवर्तनीय छ र यो पूर्णरूपमा ख्रीष्टमा अडेको छ, तर अर्कोतिर यस वर्तमान संसारमा विश्वासी जनको एउटा अभ्यास वा हिँडाइ पनि छ जुनचाहिँ सिद्धभन्दा कमै छ र योचाहिँ उसको आज्ञाकारितामा निर्भर हुन्छ।

यस सत्यतालाई नबुझ्दा कैयन् ख्रीष्टियनहरू निराश बनेका छन् वा दुर्घटनाको शिकार समेत बन्न पुगेका छन्। यस्तै अनुभव प्रख्यात बाइबल टिप्पणीकार ह्यारी आइरनसाइड (Harry Ironside) लाई झण्डै भएको थियो। उसको ख्रीष्टियन जीवन साल्भेसन आर्मी (Salvation Army) को सदस्यको रूपमा निकै जोशका साथ सुरु भएको थियो। पापरहित सिद्धताको दोस्रो आशिष (second blessing of sinless perfection) यही जीवनमा अनुभव गर्न सकिन्छ भन्ने उनीहरूको शिक्षालाई विश्वास गर्दै ह्यारी उक्त अनुभव प्राप्‍त गर्न अगाडि बढे। उनी उपवास बसे, प्रार्थना गरे र आफूले जसरी जानेका थिए त्यसरी यत्‍नसित परमेश्वरको खोजी गरे। अन्तमा उनी कुनै जङ्गलमा पसे र जति दिन आवश्यक परे पनि त्यहाँ बस्ने अठोट गरे र उनले भन्ठानेका दोस्रो आशिष अनुभव गरे। उनी साल्भेसन आर्मीको सभामा फर्के र उभिएर "मैले प्राप्‍त गरेँ" भन्दै गवाही दिए। तर आफ्नो जीवनमा "पुरानो मान्छे" त अझै उपस्थित रहेछ भनेर उनले चाँडै नै महसुस गरे। उनी यति निराश बने कि उनको भताभुङ्ग मनस्थितिले गर्दा उनी अस्पतालमा भर्ना गरिए। अब उनले निर्णय गरे, म यो ख्रीष्टियन जीवनलाई बिर्सिदिन्छु किनकि यसले काम गर्दैन रहेछ [यो साँचो रहेनछ], तर उसलाई बाइबलीय पवित्रीकरणको ठीक-ठीक शिक्षा सिकाउनलाई परमेश्वरले उसँकहाँ दुईजना विश्वासीहरू पठाउनुभयो। तब उनले आफ्नो ख्रीष्टियन जीवनलाई सही जगमाथि बसाल्न सके र ख्रीष्टको एक ज्यादै फलदायी सेवक बन्न पुगे।

सम्बन्ध र सङ्गति

एक विश्वासीलाई ख्रीष्टको रगतले गर्दा परमेश्वरको परिवारभित्र पुत्रको रूपमा ग्रहण गरी सकिएको छ (गलाती ३:२६) र यो सम्बन्ध कहिल्यै बदलिनेछैन। यो त ठूलो मूल्य तिरेर किनिएको वरदान हो। परमेश्वरले विश्वासीलाई आफ्नो परिवारबाट कहिल्यै निस्कासन गर्नुहुनेछैन। तर अर्कोतिर यस वर्तमान संसारमा परमेश्वरसितको मेरो सङ्गतिचाहिँ म ज्योतिमा हिँडिरहेको छु वा छैन भन्ने कुरामा निर्भर रहन्छ। पहिलो यूहन्नाको पत्रको विषय नै परमेश्वरसित सङ्गतिमा हिँड्ने बारेमा हो (१ यूहन्ना १:५-७)। म अन्धकारमा हिँड्छु भने म सङ्गतिबाट बञ्चित छु, तर यसले मेरो सम्बन्धलाई बदल्दैन। परमेश्वरले आफ्ना सन्तानलाई अफाल्नुहुन्न; उहाँले तिनीहरूलाई सङ्गतिमा फर्काएर ल्याउनलाई तिनीहरूलाई छडी लगाउनुहुन्छ (हिब्रू १२:६-१०)।

सम्बन्ध र सङ्गतिलाई मानवीय सम्बन्धहरूद्वारा छर्लङ्ग पार्न सकिन्छ। म आफ्ना बाबुआमाको परिवारमा जन्मे र म एउटा छोरा हुँ। त्यसलाई कुनै पनि कुराले बदल्न सकेको छैन। त्यस्ता समयहरू नआएका होइनन् जब म अनाज्ञाकारी र मूर्ख बने र मेरो बुबालाई नाराज बनाएँ र ती घडीहरूमा हाम्रो आपसी सङ्गति राम्रो थिएन। मेरो बुबाले मलाई प्रेम गरी नै रहनुभयो र मसित सङ्गति गर्नलाई तिर्सना गर्नुभयो तर त्यो सम्भव हुनलाई मैले पश्चात्ताप नगरी हुँदैनथ्यो, उहाँलाई आदर नगरी हुँदैनथ्यो। परमेश्वरको परिवार पनि त्यस्तै हुन्छ।

ओहोदा र अभ्यास, दर्जा र हिँडाइ

यसलाई बयान गर्ने अर्को तरिका हो ओहोदा र अभ्यास अथवा दर्जा र हिँडाइ। एफेसीको पत्रलाई विचार गर्नुहोस्।

सुरुका तीन अध्यायहरूले विश्वासीको नयाँ ओहोदा वा ख्रीष्टमा भएको उसको दर्जालाई बयान गर्दछन् जब कि आखिरी तीन अध्यायहरूले यस संसारमा उसको अभ्यास वा हिँडाइलाई बयान गर्दछन्।

एफेसी १-३ मा चाबी शब्दावली हो "ख्रीष्टमा" (एफेसी १:१, ३, १०, १२, २०; २:६, १०, १३; ३:६, ११)। परमेश्वरको नजरमा विश्वासी ख्रीष्टमा छ। उसलाई क्षमा गरिएको छ, धर्मी ठहराइएको छ, छुटाइएको छ, पुत्रको रूपमा ग्रहण गरिएको छ र अनन्त जीवन दिइएको छ। विश्वासीलाई "स्वर्गीय स्थानहरूमा ख्रीष्टमा सबै आत्मिक आशिषहरूले आशिषित पारिएको छ" (एफेसी १:३)। यो नयाँ ओहोदा विश्वासीका कामहरूमा आधारित छैन। यो त ख्रीष्टमा दिइएको परमेश्वरबाटको सित्तैंको वरदान हो (एफेसी २:८-९)। ख्रीष्टको आफ्नै रगत यसको मूल्य थियो (एफेसी १:७)। तसर्थ, यो नयाँ ओहोदा पक्का छ, अपरिवर्तनीय छ।

अध्याय ४-६ मा विषय बदलिन्छ र तिनमा यस संसारमा हुँदा विश्वासीको अभ्यासको चर्चा गरिन्छ। चाबी शब्द हो "हिँडाइ" (एफेसी ४:१, १७; ५:२, ८, १५)। यस शब्दले ख्रीष्टियन जीवन जिउने कुरालाई जनाउँछ। विश्वासी आज्ञाकारी भई "हिँड्ने" काम गर्दैन भने प्रभुसित उसको सठीक सङ्गति भइरहेको हुँदैन। ऊ पापमा हिँड्छ भने उसले प्रभुलाई बेखुशी पार्छ र उसभित्र अन्तरवास गर्नुहुने पवित्र आत्मालाई शोकित पार्छ (एफेसी ४:३०)। तर उसले ख्रीष्टमा भएको उसको ओहोदालाई गुमाउँदैन। त्यो त सुनिश्चित छ, पक्का र अनन्त छ।

ख्रीष्टियन जीवनका यी दुई पक्षहरूलाई एफेसी ५:८ मा सँगसँगै प्रस्तुत गरिएको देख्‍न सकिन्छ। "अब" [अहिले नै] विश्वासी ज्योतिको सन्तान हो। यो वर्तमान सम्पत्ति र ओहोदा हो जुनचाहिँ ख्रीष्टको खर्चले किनियो र विश्वासैद्वारा सित्तैंमा वरदानस्वरूप प्राप्‍त गरियो। हामी ज्योतिका सन्तान भएका हुनाले हामी ज्योतिका सन्तानझैं हिँड्नुपर्छ। अर्को शब्दमा भन्ने हो भने, हामीले मुक्ति पाएकाले र हामीसँग अनन्त जीवन भएकोले र हामी परमेश्वरका सन्तान भएकाले हामी त्यसअनुसार हिँड्नुपर्छ।

निष्कर्ष

१) विश्वासीले यी कुरा बुझ्दैनन् भने, उसले पाप गर्न पुग्दा ऊ एकदम निराश बन्न सक्छ र अलमलमा पर्न सक्छ। नयाँ गरी जन्मेको परमेश्वरको सन्तानले उसको मुक्ति गुमाउन सक्छ भनेर विश्वास गर्नेहरूले पवित्र शास्त्रको यस सुस्पष्ट शिक्षालाई बुझेका हुँदैनन्।

२) विश्वासीको दैनिक हिँडाइले उसको ओहोदालाई कुनै असर पार्दैन भन्दैमा उसलाई पाप गर्न कुनै बाहना छैन। हामीले यसभन्दा अघिको पाठमा देखिसक्यौं, आफ्नो प्रभुसित सङ्गतिमा नहिँड्ने विश्वासीले कति ठूलो नोक्सानी भोग्नुपर्छ। साथै हामीले यो पनि अध्ययन गरिसक्यौं, मुक्तिको स्वीकार गर्ने व्यक्ति मुक्तिको भागीदार नहुन सक्छ।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course - 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो "एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू" शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9851-055734, 9818-399206; मूल्य: नेरू ३०० मात्र।