Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

बताउन मन रमाउँछ

यस पृष्ठलाई छाप्नुहोस्

मेरो व्यक्तिगत गवाही

प्रदेश श्रेष्ठ

परमेश्वर को हुनुहुन्छ र उहाँप्रति मेरो व्यक्तिगत जिम्मेवारी के हो भन्ने बारेमा मैले कहिल्यै गम्भीर भएर सोचेको थिइनँ। तर मेरो जीवनमा एउटा यस्तो दिन आयो जब मलाई आफ्नो सृष्टिकर्ता परमेश्वरको बारेमा सोच्न कर लाग्यो। २०३९ सालको भदौ महिनाको कुरा हो जब म अमेरिकाको न्यू मेक्सिको राज्यको सेन्ट प्याट्रिक्स् अस्पतालमा सरुवा रोगीलाई राखिने एउटा विशेष कक्षको शैयामा सिकिस्त बिरामी परेर नाजुक अवस्थामा पस्रिरहेको थिएँ। डाक्टरहरूले मेरो रोग बल्ल-तल्ल पत्ता लगाएछन्; रोगको औषधी त रहेछ तर त्यस औषधीको रियाक्सनले एका-दुई मान्छे मर्न सक्छन् भनेर डाक्टरले मलाई बताए।

आफू छाँगोबाट खसेजस्तै लाग्यो। औषधि लिने निर्णय त गरें तर त्यस रात मलाई निद्रा लागेन। मेरो मनमा एउटै मात्र प्रश्‍न खेलिरह्यो – म मरें भने म कहाँ पुग्छु होला? १८ वर्षको उमेरमा पहिलो पटक आफ्नो जीवनलाई नियाँलेर हेरें, आफूले आफैलाई जाँचें। तब मेरो विवेक पोल्न थाल्यो किनकि अहिलेसम्म मैले आफूलाई "राम्रो मान्छे" भनी ठानेको थिएँ तर अब भने मैले आफूलाई अन्तस्करणमा दुष्ट्याइँले ग्रस्त भएको पाएँ। स्वर्ग र नरक छ भने म नरकमा पुग्नेछु भन्ने मलाई लाग्यो।

मेरो धार्मिक पृष्ठभूमि

मेरो जन्म नेपालको तनहूँ जिल्लाको बन्दीपुर बजारमा भएको हो। घरमा हिन्दू चाडपर्व राम्ररी मनाइन्थ्यो। आमाले घरमा पित्तलका मूर्तिहरूको सामु नित्य पूजा-आजा गर्नुहुन्थ्यो र सानो छँदा उहाँको मुखबाट राम, कृष्ण आदिको कथा म खूब चाख लिएर सुन्ने गर्थें।

बुबाले मलाई काठमाण्डौंको सेन्ट जेवियर्स नामक रोमन क्याथोलिक धर्म मान्ने प्रायः गोरा पादरीहरूद्वारा सञ्चालित विद्यालयमा भर्ना गरिदिनुभयो। उक्त विद्यालयलाई प्रायः सबैले "इसाई विद्यालय" भन्ने गर्दछन्। त्यहाँ पढेको हुनाले मलाई इसाई धर्म कस्तो हुन्छ थाह छ जस्तो लाग्थ्यो। तर, बास्तवमा त्यहाँ हामीलाई न रोमन क्याथोलिक धर्मको बारेमा सिकाइयो न बाइबल नै पढाइयो। बाइबलको "दस आज्ञा" लाई भने कण्ठ गराइयो तर त्यो पनि परिवर्तित रूपमा किनभने "मूर्तिपूजा नगर्नू" भन्ने दसमध्ये दोस्रो आज्ञालाई सिकाइएन। त्यसैले इसाई धर्म हिन्दू धर्मजस्तै रहेछ भनेर मलाई लाग्नु स्वभाविक थियो। मरियमको मूर्ति र प्रत्येक कक्षा कोठाको कालोपाटीमाथि सजाइएको काठको क्रूस, पादरीहरूले घाँटीमा झुण्ड्याएको क्रूसको माला नै इसाई मूर्तिहरू रहेछन् भन्ने मलाई लाग्थ्यो।

‍सेन्ट जेवियर्स विद्यालयमा नौं वर्षको पठन-पाठनको क्रममा मैले नैतिक शिक्षा नपाएको होइन (जसको निम्ति म कृतज्ञ छु) तर येशू ख्रीष्टको बारेमा भने एउटै कुरा पाइनँ। येशू पूर्ण रूपमा परमेश्वर हुनुहुन्छ र २००० वर्ष अगाडि मानव देहमा स्वर्गबाट संसारमा आउनुभयो र हाम्रा पापका निम्ति क्रूसमा मर्नुभई तेस्रो दिनमा बौरनुभयो भन्ने बाइबलको आधारभूत तथ्यहरू, अहँ, मैले सेन्ट जेवियर्समा कहिल्यै सुनिनँ। म बाइबलमा भएको मुक्तिको सु-सन्देशको बारेमा पूर्ण रूपमा अनभिज्ञ थिएँ। दस कक्षा पुगुञ्जेल मेरो अनिश्चित व्यक्तिगत विश्वास भनेको यस्तो थियो – मानिस लगायत प्रकृतिका थोकहरू कुनै ईश्वरद्वारा बनिएका होइन्, बरु त्यत्तिकै संजोगले हुन आए र शारीरिक मृत्युपछि मानिस अस्तित्वहीन बन्छ। तर परमेश्वरप्रति म जवाफदेही छु र मेरो ख्रीष्टरहित प्राण-आत्मा अनन्त नरकतिर जाँदै छ भन्ने वास्तविकता मलाई थाह थिएन।

पापको महसुस

अब राती अस्पतालको शैयामा मैले आफूलाई ईश्वररहित, आशारहित र एकलो महसुस गरें। अतितको सम्झना मात्र आइरह्यो। पढाइमा मेहनत गरेथें, सफल भएथें, छात्रवृत्ति पाएर अमेरिकामा अध्ययन गरिरहेको अब एक वर्ष भएको थियो। साथीहरू र शिक्षकहरूले मलाई प्रायः मन पराउँथें। आफ्नो बारेमा म प्रायः सन्तुष्ट थिएँ, भविष्य उज्यालो देख्थें।

तर अब मैले आफूलाई अर्कै देखें। मेरा पापहरू एक पछि अर्को गरी मेरो विरुद्धमा साक्षीको रूपमा खडा भए। विद्यालयमा हुँदा मैले जाँचमा चोरेको, पढाइको सफलतामा घमण्डले फुलेर भित्र-भित्रै सहकक्षीहरूलाई तुच्छ ठानेको, साथीहरूलाई मैले कैयौं पटक आफ्नो घर-घरानाको बारेमा फुर्ति लगाएर ढाँटेंको, मन-मनमैं जवानीका अभिलाषाहरूमा डुबेको, बेलाबखत चोरेको कुराहरू मैले सम्झना गरें। मैले यस्ता र अरू थुप्रै दुष्ट्याइँलाई कहिल्यै घृणा गरेको थिइनँ बरु अरूले चाल पाउलान् भन्ने डरले मेरो पापलाई ढाक्ने प्रयास गरेको थिएँ।

तर मैले तीभन्दा डरलाग्दा पापहरू घर परिवारमा गरें। मैले उच्च आदर गर्नुपर्ने बा-आमालाई आफूले अटेरी भएर, आफ्नै जिद्दी गरेर, कैयौं पटक दु:खित पारें। आफ्नै दाजुप्रति हृदयभरि घृणाको भावना बोकें। आफूले भनेजस्तो नहुँदा घरमा बा-आमा, दाजुहरूसित घमण्ड गरें, रिस गरें, झगडा गरें। एक पटक रिसले आगो भई चिच्याई-चिच्याई मलाई जन्माउनुहुने आमालाई धेरै बेर सरापें। यो सम्झँदा त आजसम्मै मेरो मुटु काँपेर आउँछ, आँखामा आँसु आउँछ। अनगिन्ति पापहरूले मलाई पोल्न थाल्यो। हिन्दू भगवानका मूर्तिहरूलाई ढोगेर, क्याथोलिक शिक्षकहरूको पाउमा हुर्के तापनि म सत्य र जीवित परमेश्वरलाई चिन्दिनँथें। यस आशारहित अवस्थामा मैले न कुनै हिन्दू भगवान्, न बुद्ध, न अल्लाहलाई नै पुकार्न सकें। मलाई येशू ख्रीष्टको समेत विचार आएन। सत्यको सवालमा म पूर्ण रूपमा अन्धकारमा थिएँ। "ईश्वर" मात्र भनेर मनले पुकार्‍यो। "यदि तपाईं हुनुहुन्छ भने, मलाई मर्न नदिनुहोस्। अबदेखि म असल बन्नेछु।"

यस्तो कबूल गरे तापनि बाइबलमा परमेश्वरले मानिसको हृदयको अवस्थाको बारेमा बताउनुभएको कुरा जान्दिनँथें। बाइबलमा लेखिएको छ "मानिसको हृदय सबैभन्दा छली हुन्छ र त्यसलाई निको नहुने रोग लागेको छ"। अहम-केन्द्रित नीच अस्तित्वबाट आफैले आफैलाई बदल्न असम्भव छ भनेर मैले सिक्न बाँकी नै थियो।

विस्तारै औषधीले काम गर्‍यो र मलाई सुधार भयो। मलाई डिस्चार्ज गरियो। तर म जति राम्रो भएँ त्यति नै मैले आफ्नो विवेकले महसुस गरेको गम्भीर कुराहरूलाई आफ्नो मनको एउटा कुनामा धकेलिँदिएँ। केही महिना पछि कसैले मेरो स्वस्थ्यको बारेमा सोध्दा "भाग्यले साथ दियो" भनेर मैले हल्का जवाफ दिएँ। सोध्नेले अनौठो प्रत्युत्तर दिए, "शायद भाग्यले होइन कि?"

सुसमाचारको ज्योति

ती दिनहरूमा म अमेरिकाको न्यू मेक्सिको राज्यस्थित आर्मण्ड ह्यामर यूनाइटेड वर्ल्ड कलेज नाम गरेको एउटा अन्तराष्ट्रिय कलेजमा अध्ययनरत थिएँ। संसारको करिब ५० भन्दा बढी देशको प्रतिनिधित्व गर्ने २०० जना मात्र विद्यार्थीहरू पढ्ने सानो कलेज थियो त्यो। सबैले सबैलाई चिन्थे। हामी १७ देखि १९ वर्षका थियौं।

त्यहाँको पढाइ अवधि दुई वर्षको थियो, सो पूरा भयो। तब संसारका विभिन्न देशका साथीहरूबाट सम्भवत: सधैंको निम्ति भनेर विदा हुनुपर्‍यो। हामीमध्ये दुई-चारजना क्याम्पसमै सानोतिनो काम गर्दै गर्मी बिदा कटाउँदै बस्यौं। कलेजको एकजना शना नाम गरेकी साथीको आमाले मलाई बेलाबखत चिठ्ठीपत्र पठाउने गर्नुहुन्थ्यो जो आजसम्म अमेरिकाको नेब्रास्का राज्यमा बसोबास गर्नुहुन्छ। "शायद भाग्यले होइन कि?" भन्ने उहाँ नै हुनुहुन्थ्यो।

एकदिनको कुरा हो, अरू बेलाजस्तै उहाँको एउटा पत्र आइपुग्यो। खामबाट पत्र झिकेर जोर्डन देशको साथीलाई पढेर सुनाउन थालें। यसरी पत्र पढेर सुनाउँदै गर्दा पत्रको एउटा ठाउँमा पुग्दा मैले अरू पढ्नै सकिनँ। त्यहाँ लेखिएको एउटा कुराले मेरो हृदयमा अनौठो प्रकारले छोयो, आँखाभरि आँसु आयो। त्यहाँ यस्तो लेखिएको थियो। गत आइतवारको दिन उहाँले इसाईहरूको सभा हुने चर्चघरमा एउटा यस्तो सामूहिक भजन गाइरहनुभएको रहेछ:

बताउन मन रमाउँछ रहस्य स्वर्गको
ख्रीष्ट येशूको महिमा अनि प्रेम प्रभु ख्रीष्टको
बताउन मन रमाउँछ, निश्चय यो सत्य छ
जसै नमेट्ने तृष्णा, यसैले मेट्दछ

बताउन मन रमाउँछ, कहानी उदेकको
सुनौला सपनाभन्दा अनमोल अचम्मको
बताउन मन रमाउँछ, मुक्ति पाएँ कस्तो
यसैले तिमीलाई म सुनाउँछु गीत यसको
बताउन मन रमाउँछ, यो गीत अनन्त मेरो
पुरानो त्यो कहानी, येशू र प्रेम उनको।

निसन्देह: उक्त भजन पहिले धेरै पटक गाइसकिएको थियो तर त्यस दिन ती शब्दहरूले उहाँको हृदयलाई घच्-घच्याएछ। गत हिउँदे विदामा उहाँको घरमा थुप्रिएका विदेशी विद्यार्थीहरूको सम्झना आएछ उहाँलाई, ती विद्यार्थीहरू जसले उहाँले चिन्ने मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई चिन्दैनथे, अनि उहाँलाई विशेष गरी मेरो सम्झना आएछ। उहाँले आफैलाई सोध्नुभएछ, “एकमात्र मुक्तिदाताको बारेमा बताउन के म साँच्चै रमाउँछु त?” यसरी उहाँ मलाई लेख्‍न र येशू ख्रीष्ट नै संसारको एकमात्र मुक्तिदाता हुनुहुन्छ भन्ने निश्चयताको बारेमा बताउन अभिप्रेरित हुनुभएछ। साथै, येशू ख्रीष्टमा व्यक्तिगत विश्वास नराख्‍ने म जस्ता व्यक्तिहरूसित उहाँको अनन्त र स्थायी सम्बन्ध हुन नसक्ने कुरा पनि उहाँले चिठ्ठीमा प्रेमपूर्वक थप्नुभएको कुरा मैले पढें। यी शब्दहरूले मलाई गहीरो प्रभाव पार्‍यो यद्यपि ती सबै कुरा बुझ्न सकिनँ। त्यसबेलासम्म कसैले पनि त्यस्ता कुराहरू त्यस प्रकारले मलाई व्यक्त गरेको थिएन।

हंगकंगको एकजना एनी नाम गरेकी चिनीयाँ साथीसित मेरो निकट सम्बन्ध थियो। उनको विचार बुझ्नलाई मैले पत्रको त्यस हरफलाई दुरुस्तै सारीकन पठाइदिएँ। छिट्टै उनको लामो पत्र आयो। शनाकी आमाले मलाई येशू ख्रीष्टको सु-समाचार सुनाउनुभएकोमा उनले खुशी व्यक्त गरीन्। उनले पनि मलाई येशूको सु-समाचार बताउन चाहेकी तर “प्रचार” गर्न आफू अयोग्य ठानेकीले चूप बसेकी कुरा बताइन्। साथै, उनले बताइन्, म ख्रीष्टियन बनेको खण्डमा मेरो हिन्दू परिवारसित मेरो सम्बन्ध बिग्रन सक्ने शंका लागेकोले उनी मलाई ख्रीष्टको बारेमा बताउन हिच्किचाएकी थिइन्। तर अब, उनले लेखिन्, ख्रीष्टको सुसमाचार मलाई नबताउन उनलाई विश्वस्त तुल्याउने त शैतान रहेछ। पत्रमा बाइबलका थुप्रै खण्डहरू उद्धरण गर्दै उनले मलाई परमेश्वरबाटको मुक्तिको उपाय बताइन्। उनले बताइन्, येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तिदाता भनी विश्वास गरेर परमेश्वरको प्रिय सन्तान बन्नु नै हामीप्रति उहाँको सदिच्छा हो किनभने यसैका लागि परमेश्वरका पुत्र येशू ख्रीष्ट स्वर्गबाट यस संसारमा आउनुभई, हाम्रा पापहरूका निम्ति क्रूसमा मर्नुभएर तेस्रो दिनमा बौरेर उठ्नुभयो। लिरोइ नाम गरेको सिङ्गापुरको अर्को ख्रीष्टियन साथीले विदाइको बेलामा उनलाई यसरी भनेको कुरा पनि उक्त पत्रमा एनीले लेखिन् -- "विछोडमा हामी दु:खित छौं, अनि यस संसारमा हाम्रो भेट फेरि कहिल्यै नहुन सक्छ। तरैपनि एउटा कुरा निश्चित छ -- म, तिमी र शना एक दिन स्वर्गमा अवश्य भेट हुनेछौं..."

उक्त पत्र पढेपछि मेरो मनमा हलचल मच्चियो। मेरो पहिलो प्रतिक्रिया यस्तो थियो, म एक हिन्दूलाई धर्म परिवर्तन गराउन खोज्ने कत्रो आँट यो केटीको? अनि हाम्रा त्यति धेरै मित्रहरूलाई एकातिर पन्छाएर, ऊ र उनका दुई ख्रीष्टयन मित्रहरू मात्रै स्वर्ग पुग्ने भनेर लेख्‍ने कत्रो दु:सहास?

तर, दिमाग ठण्डा भएपछि, एनी कस्ती व्यक्ति हुन् भन्ने कुरालाई स्मरण गर्दा, मैले यो महसुस गर्नैपर्‍यो, उनले यी सबै कुराहरू मेरै भलाइका निम्ति निस्वार्थ भावनामा लेखेकी हुन्।

मैले आफ्नो स्वाभाविक पापपूर्णताको महसुस प्रथम पटक यो भन्दा एक वर्ष अघि अस्पतालमा हुँदा गरेर त्यसलाई स्वीकार पनि गरेको थिएँ। अब साथीको पत्रमा बाइबलको प्रस्ट घोषणा पढें,

"किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमारहित हुनगएका छन्" (रोमी ३:२३)।

साथै, तत्कालै विश्वास नगरे तापनि त्यस पत्रमा सु-समाचारको अति सुन्दर शब्दहरू पढें,

"किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो; उहाँमाथि विश्वास गर्ने कोही पनि नष्‍ट नहोस् तर उसले अनन्त जीवन पाओस्" (यूहन्ना ३:१६)।

मेरी साथीले बताइन् कि परमेश्वरको प्रिय पुत्र, येशू ख्रीष्ट, क्रूसमा मर्नुभई हाम्रा पापहरूको दण्डको खातिर दुःख भोग्नुभयो र मूल्य चुक्ता गरिदिनुभयो र यदि हामीले येशू ख्रीष्टमा विश्वास गर्‍यौं भने हामीले आफू पापी भएको कारण भोग्नुपर्ने अनन्त दण्डबाट बच्नेछौं। यसको पुष्टि गर्दै बाइबलबाट यो उद्धरण गरिन्,

"पापको ज्याला मृत्यु हो तर परमेश्वरको अनुग्रहको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो" (रोमी ६:२३)।

रातको अबेरसम्म म सोचाइहरूमा डुबिरहें। मेरो मनमा सबभन्दा बढी खुलदुली ल्याउने चाहिँ त्यस पत्रमा उद्धृत गरिएको बाइबलको एउटा यस्तो वाक्य थियो:

"जसले पुत्रमाथि विश्वास गर्छ उसँग अनन्त जीवन हुन्छ: र जसले पुत्रमाथि विश्वास गर्दैन उसले जीवन देख्‍नेछैन तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ" (यूहन्ना ३:३६)।

मेरो मनमा विचारहरूको द्वन्द चल्न थाल्यो: एकातिर, बाइबल कसरी साँचो हुन सक्ला र, जब कि नेपालमा करोडौंले येशू भन्ने नामधरि सुनेका छैनन्। अर्कोतिर, यदि बाइबल साँचो नै हो भने मैले आफ्ना पापहरूका लागि अनन्त दण्ड भोग्नै पर्नेछ। एकातिर, बाइबल साँचो हुन सक्ने सम्भावनालाई म स्वीकार गर्न चाहिनँ भने अर्कोतिर बाइबल, आखिरमा, साँचो हुन सक्ने सम्भावनलाई पन्छाउन पनि सकिनँ। यही नै हो भन्न मसित वास्तविक सत्य-तथ्यको ज्ञान थिएन, "विश्वास" गर्ने कुरा त परै जाओस्।

 

एकपछि अर्को गरी मभित्र थुप्रै प्रश्‍नहरू उठ्न थाले। येशू को हुन्? मैले उहाँमाथि विश्वास गर्नु पर्ने कारण के हो? उहाँमाथि विश्वास गर्नु भनेको के हो? ख्रीष्टियनहरू मात्र स्वर्ग जाने किन? हिन्दू, बौद्धमार्गी र मुसलमान किन जान नपाउने? येशू ख्रीष्ट को हुन्? के उनी हिन्दू किंवदन्तिका मानव-कल्पित भगवानहरू जस्तै हुन् कि उहाँ वास्तविक व्यक्ति हुन्? यदि बाइबल सत्य हो भने म साँच्चै नै हराएको छु र अनन्त दण्डको खतरामा छु। तर यो सत्य नै हो त? म कसरी पक्का गरी जानूँ?

येशू ख्रीष्टको बारेमा सत्य-तथ्य पत्ता लगाउने तीब्र इच्छाका साथ मैले सोधखोज गर्न थालें। तर, अचम्म, मैले जसलाई सोधे पनि जवाफ पाउन सकिनँ, कसैलाई मतलब समेत थिएन। अरे! ख्रीष्टियन धर्म त गोराहरूको धर्म भन्थे! खै त, म अमेरिकामा छु तर एउटै गोराले मलाई येशूको बारेमा बताउन सक्दैन! यो मेरो लागि औधी शिक्षामूलक बन्यो किनकि यसबाट मैले यो महसुस गर्न थालें कि अमेरिका लगायत पश्चिमेली संसारका सबै मानिसहरू ख्रीष्टियनहरू हुन् भन्ने मैले बोक्दै आएको धारणा त सरासर गलत रहेछ! मैले सोच्न थालें, "त्यसो भए इसाइत्व सम्बन्धी मैले अरू के कस्ता गलत धारणारूलाई साँचो ठान्दै आएको छु होला त?" खुल्दुली बढ्यो, अब मलाई नबुझी भएन।

एक दिन म क्याम्पसको पुस्तकालयभित्र छिरें। मलाई लाग्यो, कुनै न कुनै पुस्तकले मेरो प्रश्‍नहरूको उत्तर दिन सक्नु पर्ने हो। इन्साइक्लोपिडिया ब्रिटानिकाको मोटो एउटा ठेली पल्टाएँ, "धर्म र दर्शनशास्त्र" विषयलाई लिएर। एउटा लेख त्यहाँ पढेपछि म जीवनको प्रथम पटक निश्चित भएँ कि येशू ख्रीष्ट, किंवदन्ति नभएर, एक ऐतिहासिक व्यक्ति नै हुनुहुँदो रहेछ। अर्को दिन क्याम्पसको एउटा आवासलयको बैठक कोठामा कसैले फ्याँकेको बाइबल भेटियो। अर्को ठाउँमा यूहन्नाको सुसमाचारको पुस्तिका भेटियो। म पढ्न थालें किनकि एनीले पत्रमा बाइबल पढ्न सुझाव दिएकी थिई।

बेलाबखत क्याम्पसको ऐतिहासिक भवन हेर्नलाई मान्छेहरू आउँथे। एक दिनको कुरा हो, लास क्रूसेस शहरबाट आएका एक वयस्क जोडीलाई मैले भ्रमण गराउँदै थिएँ। भ्रमणको अन्तमा उनीहरूलाई विदा गरें। वयस्क जोडीले आफ्नो गाडीको ढोका खोलेपछि, पत्‍नी चाहिँले मलाई इशारा गर्दै बोलाइन्। भ्रमण गराए वापत पैसा नलिनू भनेर हामीलाई क्याम्पसको नियम बताइएको थियो। मनमनै सोच्दै गाडीतर्फ लम्कें, पक्कै पनि पैसा दिनलाई मलाई बोलाएकी हुन् – लिऊँ क्यारे। तर होइन रहेछ! उनले त एक प्याकेट पुस्तिकाहरू मेरो हातमा राखिदिइन् जुन पुस्तिकाहरू परमेश्वरकै बारेमा हुन् भनेर मैले थाह पाएँ। तिनलाई लिएर म नजिकैको एउटा क्याम्पस भवनभित्र छिरें र काम्दै गरेको हातहरूले पारदर्शी प्लास्टिकको खोललाई च्यातेर "मुक्तिको बाटो" शीर्षक भएको पुस्तिका निकालें। अब मलाई लाग्यो, म परमेश्वरदेखि भाग्न सक्दिनँ। उहाँले मलाई चारैतिरबाट घेर्नुभएको छ! दुई-तीन हप्‍ताकै अवधिभित्र यी सबै घटनाहरू घटे: नेब्रास्काबाट एउटा पत्र, हंगकंगबाट अर्को पत्र, बैठक कोठामा भेटिएको बाइबल र अब यी थप पुस्तिकाहरू, त्यो पनि अपरिचित व्यक्तिबाट जसलाई मेरो मनमा त्यही घडी चलिरहेको खुलदुलीको बारेमा केही थाह थिएन! तर अर्को मनले यसरी तर्क गर्न खोज्यो, यो केही होइन, संजोग मात्र हो।

करिब एक हप्‍तापछिको कुरा हो, उही लास क्रूसेस घर भएकी एउटी साथी आईन् र म र अर्को साथीलाई आफ्नो घरमा सँगै जान निमन्त्रणा गरिन्। लास क्रूसेस जाँदा मैले साथमा बाइबल, पुस्तिकाहरू र अर्को एउटा पुस्तक पनि लगें जुन पुस्तकचाहिँ मैले खूबै चाख लिएर पढ्न थालेको थिएँ। जश म्याकडोवेलद्वारा लिखित एभिडेन्स् द्‍याट डिम्यान्डस् ए भर्डिक्ट नामक उक्त पुस्तक शनाकी बुबाले मलाई गत हिउँदे बिदामै दिनुभएको थियो, तर त्यसमा के छ वास्तै थिएन, पढ्ने त कुरै भएन। तर आफ्नो मालमत्तासित यो भेटिएपछि मैले यसलाई ध्यानपूर्वक पढ्न थालें।

एक पछि अर्को गरी मेरा प्रश्‍नका सन्तोषजनक जवाफहरू यस पुस्तकबाट पाउन थाल्दा म छक्क परें। लास क्रूसेसको साथीको घरमा एक्लै हुँदा घण्टौंसम्म पढ्थें, सोच्थें। बाइबल प्राचीन लेखोट भएर पनि ऐतिहासिकरूपमा अचूक छ भनी म निश्चित भएँ। अब मैले जानें, करिब २००० वर्ष अगाडि प्यालेस्टाइनको यहूदिया प्रान्तमा पोन्तियस पिलातस राज्यपाल रहँदा येशू ख्रीष्ट, निर्दोष भएर पनि, एउटा रोमी क्रूसमा टँगाइनुभएको रहेछ। मैले यो पनि जानें आफू परमेश्वरको अनन्त पुत्र भएको प्रस्ट दाबी येशू ख्रीष्टले गर्नुभएको थियो। साथै यो पनि उहाँको दाबी थियो, मानव इतिहासको प्रत्येक व्यक्तिका पापको दण्ड पर्याप्‍त रूपमा तिर्ने एउटै उपायस्वरूप उहाँले आफ्नो प्राण बलिदानस्वरूप क्रूसमा अर्पण गर्ने हेतुले उहाँ अनादिदेखिको परमेश्वर हुनुभएर पनि मानिस बन्नुभई संसारमा आउनुभएको थियो। कुनै पनि व्यक्तिले आफ्नो पापको अनन्त दण्डदेखि बाँच्न सक्नलाई उहाँमाथि व्यक्तिगतरूपमा हृदयदेखि विश्वास गर्नुबाहेक अन्य विकल्प नरहेको उहाँको दाबी थियो।

अझ, अर्को कुराले म निकै प्रभावित भएँ, त्यो थियो इतिहासकै अद्वित्तीय घटना, अर्थात् येशू ख्रीष्टको शारीरिक बौरिउठाइ जुनचाहिँ उहाँको मृत्यु र दफनको तीन दिन पश्चात् भएको अद्‍भुत घटना थियो। महम्मदको पार्थिव शरीर चिहानमै अन्त भयो, कन्फुसियस बौरेर उठेनन्, गौतम बुद्धका शारीरिक अवशेषचाहिँ ठाउँ-ठाउँमा वितरण गरिए। तर उहाँको निश्चितरूपमा भएको मृत्यु र दफन पछाडि, येशू ख्रीष्ट पाँच सय भन्दा बढी प्रत्यक्षदर्शीहरूद्वारा देखिनुभयो, धेरैले उहाँलाई हातैले छोए, उहाँसित कुराकानी गरे। पक्कै पनि उहाँ एक धार्मिक गुरु र शिक्षक मात्र हुनुहुन्न। उहाँ बढी हुनुहुन्छ। यदि येशूले आफू परमेश्वरको बराबरी हुनुभएको कुरालाई प्रस्ट भाषामा दाबी गर्नुभएको हो भने उहाँलाई जतिसुकै महान् मानिसको संज्ञा दिए पनि त्यो त उहाँलाई झूटा भनी दोष्याउनु बराबर हुँदैन र? अनि कुनै पनि झूटा व्यक्तिलाई असल भन्न सकिन्न। त्यसैले उहाँले आफू जो हुँ भनी दाबी गर्नुभएको थियो सो हुनु नै पर्छ, किनकि येशूलाई झूटा भन्न कसले आँट गर्ला र? जति पढें त्यति नै मलाई लाग्यो, सत्य‍-तथ्यको प्रमाण यति सफा छ, सबै नै किन ख्रीष्टियन बन्दैनन् होला?

मेरा व्यक्तिगत प्रभु र मुक्तिदाता

 

लास क्रूसेसमा रहँदा, केही हप्‍ता अघि क्याम्पस भ्रमणमा आएका वयस्क जोडी, स्मोकि र मेरी ब्लान्टनको कुरा गर्दै मलाई उहाँहरूले आफ्नो र्‍याञ्चमा आएर मनोरञ्जनस्वरूप घोडा चढ्न निम्तो दिनुभएको कुरा मैले साथीहरूलाई बताएँ। फोन गरेपछि हामी र्‍याञ्चमा गयौं। घोडा चढ्ने रमाईलो भ्याएपछि श्रीमति ब्लान्टनले हाम्रो निम्ति तयार पार्नुभएको जलपान लिन बस्यौं। खानु अघि उहाँको पतिले प्रार्थना गर्नुभयो। आदरपूर्वक आफ्नो शिर निहुराईकन उहाँले प्रार्थना गर्नुभएको दृश्य म कहिल्यै विर्सन्नँ।

साथीको घरमा फर्केपछि, आफ्नो कोठामा गई अझ पढें। पुस्तकको पछाडिपट्टि एउटा प्रार्थना लेखिएको रहेछ। त्यहाँ व्यक्त गरिएजस्तै मैले पनि आफूलाई येशू ख्रीष्टको खाँचो महसुस गरेको एउटा पापीको रूपमा देखिरहेको थिएँ। त्यसबेला सम्ममा आफूमा आइसकेको परिवर्तन देखेर आफै छक्क परिरहेको थिएँ। परमेश्वर र येशू ख्रीष्ट र बाइबललाई मैले केही हप्‍ता अगाडिसम्म कति फरक तरिका सोच्ने गर्थें! बेलाबखत मैले पत्ता लगाउन थालेका कुराहरूबाट मेरा दुई मित्रहरूलाई बताउन खोज्थें। एक दिन दुवैजना मकहाँ आए। एउटाले भन्यो, "तिमी ख्रीष्टियन बन्न चाहन्छौ भने म फलानो चर्चसित सम्पर्क गराइदिन सक्छु।" उनी सायद ठट्टा गर्दै थिइन् (म जान्दिनँ) तर मैले यस प्रकारले जवाफ दिएँ, "मैले विश्वास गरिसकें। तिमीहरूले पनि विश्वास गर्नुपर्छ। बाइबलले भनेको सबै सत्य रहेछ।" उनले सोधी, "तिम्रो हिन्दू परिवारले यसलाई कसरी लिन्छ होला नि?" यो सुनेपछि मेरो आँसु थाम्न सकिनँ किनभने ख्रीष्टबिहीन भएकाले उहाँहरू अनन्त विनाशतर्फ लम्किरहनुभएको छ भन्ने कुरा मैले महसूस गरें।

एकातिर शोकित हुँदै तरैपनि अर्कोतिर बयान गर्न नसकिने आनन्दले आनन्दित हुँदै, त्यस रात मैले शनाकी आमालाई र हंगकंगकी एनीलाई कृतज्ञता व्यक्त गर्दै आफूले येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाता र प्रभुको रूपमा ग्रहण गरेको खबर लेखें। साथै मैले नेपालमा हुनुभएको मेरो परिवारलाई पनि प्रभु येशू ख्रीष्टलाई व्यक्तिगत रूपमा चिन्नु कति सुन्दर कुरा रहेछ भनेर लेखें। येशू ख्रीष्ट यस संसारमा स-शरीर आउनुभएको परमेश्वरको पुत्र हुनुहुन्छ जो मेरा लगायत सारा संसारका पापहरूका निम्ति मर्नुभयो र उहाँद्वारा परमेश्वरकहाँ आउने जतिलाई उहाँले पूर्ण रूपममा बचाउन सक्नुहुन्छ किनकि उहाँ मृत्युबाट बौरनुभई सदाका निम्ति जीवित हुनुहुन्छ। "बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउँदैन" (यूहन्ना १४:६)। आफ्नो बिस्तारामा पल्टँदै गर्दा मैले अब चिन्न थालेको मेरो स्वर्गमा बस्नुहुने पिता परमेश्वरसित कुरा गर्न थालें। यो मेरो लागि अति स्वभाविक कुरो थियो। उहाँले मेरो प्रार्थना सुन्दैहुनुहुन्छ भनेर मलाई पक्का थियो। म अति खुशी थिएँ। यस्तो अनुभव मैले पहिला कहिल्यै गरेको थिइनँ।

२०४० सालको श्रावण महिनाको त्यस दिनदेखि आजसम्म मैले थाह गर्दै आएको छु परमेश्वरको सन्तान हुनु भनेको के हो, र अनुग्रह र कृपाले मुक्ति पाउनु भनेको के हो। अनुग्रह, किनभने म केही पाउन योग्यको छैन, तर मैले सब थोक पाएको छु -- पापहरूको क्षमा, परमेश्वरको सन्तान हुने हक, परमेश्वरसित सङ्गति, अनन्त जीवन, स्वर्गमा अविनाशी सम्पत्ति अनि अरू थुप्रै, थुप्रै आत्मिक आशिषहरू! कृपा, किनभने म अनन्त दण्ड पाउन योग्य थिएँ तर उहाँले मलाई आउनेवाला परमेश्वरको क्रोधदेखि बचाउनुभएको छ किनकि जब येशू ख्रीष्ट क्रूसमा मर्नुभयो, उहाँले मेरो सट्टामा परमेश्वरको क्रोधको दण्ड भोग्नुभयो जुन दण्ड मैले भोग्नुपर्नेथ्यो। सारा संसारकै निम्ति मुक्तिदाता येशू मर्नुभएको हो, तपाईंको निम्ति पनि हो।

प्रिय मित्र, मैले कुनै "धर्म" पाएँ भन्दिनँ तर परमेश्वरसित एउटा वास्तविक र आशिषमय सम्बन्ध पाएको छु। तपाईंले पनि येशू ख्रीष्टलाई नियालेर हेर्नुभएकोहोस् जोबिना परमेश्वरसित ठीक हुने अरू कुनै उपाय छँदै छैन।

महान् प्रभु परमेश्वर
पवित्र तपाईंको नाम
अब गर्छौं जीवनको पलपलमा,
केवल तपाईंको प्रशंसा सम्मान।

पापको भारी बोकेका हामी
बाँच्ने कुनै आशा थिएन
तर तत्पर भयौ दण्ड भोग्न
स्वीकार गर्‍यौ त्यो श्रापति क्रूसलाई

छैन अब कुनै त्रास र डर
राखेका छौं हामीले ख्रीष्टमा भर।

-- आर नेपाल


पृष्ठ संशोधन मिति: Wednesday 08-Jun-11
WordofTruth.com.np © 2017