प्रार्थना

यस पृष्ठलाई छाप्नुहोस्

डेविड क्लाउड

पद कण्ठ: एफेसी ६:१८; कलस्सी ४:२; याकूब ५:१६; १ यूहन्ना ३:२०-२२

ख्रीष्टिय जीवनमा प्रार्थना जत्तिकै महत्त्वपूर्ण कुरा अर्को छैन। प्रार्थना बाइबलमा ५०० भन्दा बढी पटक उल्लेख भएको छ।

प्रार्थनाले परिवर्तन ल्याउँछ र प्रार्थनाबिना कुनै परिवर्तन आउँदैन: एउटै आत्मा बँचाइदैन, एउटै प्रचार आशिषित बन्दैन, एउटै दाम्पत्य जीवन विजयी बन्दैन, एउटै छोरा वा छोरी ठीकसँग हुर्काइँदैन, एउटै मण्डली परमेश्वरको इच्छामा खडा रहिरहन सक्दैन।

हामीले प्रार्थना गर्न सिक्नुपर्छ (लूका ११:१)

प्रार्थना भनेको आफ्नो असमर्थतालाई स्वीकार गर्नु हो र आफूलाई परमेश्वरको भरोसामा सुम्पनु हो। प्रार्थना भनेको कृपा प्राप्‍त गर्नु र खाँचो परेको घडीमा सहायता पाउनलाई अनुग्रह प्राप्‍त गर्नु हो (हिब्रू ४:१६)।

प्रार्थना प्रभावकारी हुनलाई त्यसमा निम्न सरल तर अनिवार्य तत्त्वहरू हुनु खाँचो छ:

१) प्रार्थना आराधनामय हुनुपर्छ (लूका ११:१-२)। येशूले आफूले सिकाउनुभएको "नमूना प्रार्थना" (model prayer) मा यस कुरालाई जोड दिनुभयो। यसको तात्पर्य हरेक प्रार्थनाको सुरुमा सधैं आराधनाको लामो भाग हुनुपर्छ भन्ने होइन, तर प्रार्थीले आफू अनन्तका सृष्टिकर्ता, सर्वोच्च महामहिमको नजिक जाँदैछु भन्ने कुरालाई सधैं ध्यानमा राख्‍नुपर्छ। प्रार्थना हल्का, आधा-मनको क्रियाकलाप हुनुहुँदैन।

२) प्रार्थना पाप-स्वीकारसहित हुनुपर्छ (भजनसङ्ग्रह ६६:१८; १ यूहन्ना ३:२०-२२)। हामी परमेश्वरकहाँ आउने तरिका आफ्ना पापहरू स्वीकार गर्दै हो। यसद्वारा हामी कृपा प्राप्‍त गर्छौं र हामी असल विवेकसित प्रार्थना गर्न सक्छौं र हाम्रा प्रार्थनालाई परमेश्वरसम्म पुग्ने बाटो खुल्दछ।

३) प्रार्थना उत्सुक हुनुपर्छ (याकूब ५:१७; कलस्सी ४:१२)। हतारिएको, आधा-मनको, ध्यान अन्तैतिर लागेको प्रार्थना धेरै प्रभावकारी हुँदैन।

४) प्रार्थना नियमित हुनुपर्छ (रोमी १:९)। विश्वासीले दैनिक प्रार्थनाको समय निकाल्ने बानी बसाल्नु आवश्यक छ जुनबेला ऊ प्रभुसित भेट गर्दछ र आफ्नो निम्ति र अरूका निम्ति प्रार्थना गर्दछ। अन्तर्विन्तीको माने अरूका लागि प्रार्थना गर्नु हो।

५) प्रार्थना जागरूक हुनुप्रछ (एफेसी ६:१८)। यसले अन्तर्विन्तीको प्रार्थनालाई जनाउँछ। प्रार्थनाद्वारा हामीले अरूहरूका आत्मिक जीवनलाई पहरा दिन सक्छौं वा देखरेख गर्न सक्छौं।

६) प्रार्थना अटल हुनुपर्छ (कलस्सी ४:२; १ थेस्सलोनिकी ५:१७)। पवित्र शास्त्रमा पटकपटक जोड दिइएको, प्रभावकारी प्रार्थनाको एउटा अति महत्त्वपूर्ण पक्ष यही हो। प्रार्थनामा हामी अटल हुनुपर्छ भन्ने कुराको महत्त्वमाथि जोड दिनलाई येशूले दुईटा दृष्टान्तहरू सिकाउनुभयो: अधर्मी न्यायकर्ताको दृष्टान्त (लूका १८:१-५) र रोटीको खाँचो परेको मान्छेको दृष्टान्त (लूका ११:५-१०)।

७) प्रार्थना सुमधुर दाम्पत्य जीवनसित सँगसँगै मिलेर जानुपर्छ (१ पत्रुस ३:७)। आफ्नो पत्‍नीसित ईश्वरीय ढङ्गले व्यवहार नगर्ने पतिको प्रार्थनाको जीवनमा परमेश्वरको सामर्थ्य हुँदैन।

८) प्रार्थना अरूहरूसँग आवद्ध भएर गरिनुपर्छ (रोमी १५:३०; २ कोरिन्थी १:११; कलस्सी ४:३; १ थेस्सलोनिकी ५:२५; २ थेस्सलोनिकी ३:१)। पावलले अरू विश्वासीहरूसँग बारम्बार आफ्नो निम्ति प्रार्थनाको माग गरेका छन्। प्रेरित भएर पनि, अझ प्रभुलाई आमने-सामने देखेर पनि उनले अन्तर्विन्तीको खाँचो देखे भने हामीलाई झन् कति बढ्ता गरी यसको खाँचो पर्छ! प्रार्थनाको सम्बन्धमा मसित कुराकानी गर्नुहुँदा मेरी बज्यूले आफ्ना विशेष खाँचोहरूमा अरूहरूसित सँगै प्रार्थना गर्नु प्रभावकारी हुन्छ भन्ने कुरामा जोड दिनुभयो।

९) प्रार्थना बेला बखत उपवाससहित गरिनुपर्छ (मत्ती ६:१७-१८; १७:२१)। त्ती १७:२१ को सन्दर्भमा येशूले एकजना दुष्टात्मा लागेको केटोको विषयमा कुरा गर्दै हुनुहुन्थ्यो। चेलाहरूलाले दुष्टात्मालाई हटाउन नसक्नुको कारण उपवास नबसेकोले हो भनी येशूले बताउनुभयो। विशेष गरी आत्मिक लडाइँमा दुष्टात्माहरूको किल्लाहरू भत्काउनका लागि उपवाससहितको प्रार्थना उपयोगी हुन्छ।

उपवासको बारेमा मलाई बताउने पहिलो व्यक्ति मेरी आमापट्टिकी बज्यू जुलिया पोलोक हुनुहुन्थ्यो। मत्ती ६:१७-१८ को कुरा गर्दै यस प्रतिज्ञालाई उहाँले आफ्नो जीवनमा पटकपटक प्रमाणित गर्नुभएको कुरा मलाई बताउनुभयो। उहाँका पति एउटा ब्याप्टिस्ट मण्डलीमा डिकन हुनुहुन्थ्यो। विवाह गर्नुभन्दा अगाडिदेखि नै उहाँले रक्सी पिउन पूरै छोडिसक्नुभएको थियो। एक दिनको कुरा थियो, उहाँ विगतमा आफूसँग पिउने एकजान पूरानो साथीसित एउटा घरको छानामाथि काममा सँगै पर्नुभएछ। कुराकानीको क्रममा आखिरमा "एक गिलास मात्र" पिउनलाई भनेर उहाँ राजी बन्नुभयो। एक गिलास भन्दाभन्दै दुवैले थुप्रै गिलास पिए र यति माते कि ठूलो स्वरले गाउन थाले र छानाबाट औजारहरू समेत जथाभाबी फ्याँक्न थाले। प्रहरी बोलाइएपछि उनीहरू जबरजस्ती थानामा लगिए। अब जुलियाले डिकन पोलोकलाई थानाबाट छुटाउनुपर्ने भयो! उहाँले एकदमै पछुतो मान्नुभयो र यस्तो कहिल्यै नदोहोर्‍याउने प्रतिज्ञा आफ्नी पत्‍नीसित गर्नुभयो र मण्डलीका सामु उभिएर बेसरी क्षमा याचना गर्नुभयो र मण्डलीले उहाँलाई क्षमा दियो। तर उक्त घटनाले जुलियालाई स्तब्ध पार्‍यो र फेरी पनि श्रीमान कतै परीक्षामा परेर लड्नुहोला कि भन्ने उहाँलाई डर भइरह्यो किनकि आफ्ना बुबा र ससुरा दुवैजना पियक्कड हुनुभएको कुराको उहाँलाई सम्झना आयो। त्यसैले यस खराबीमाथि श्रीमानले पूर्ण विजय पाएको कुराको निश्चयता आफूलाई नमिलेसम्म उहाँका लागि उपवाससहित प्रार्थना गरिरहने उहाँले अठोट गर्नुभयो। कति लामो समयसम्म भनेर बताउनुभएको जस्तो मलाई लाग्दैन तर धेरै दिनसम्म उहाँ उपवास बस्नुभयो। उहाँले मीठा-मीठा भोजनहरू तयार गर्नुहुन्थ्यो अनि विहान, दिउँसो र बुलुकीको खाने बेलामा श्रीमान मन्रोले भन्नुहुन्थ्यो, "आऊ न जुलिया, हामी बसेर अलिकति खाऊँ न," तर उहाँले जवाफ दिनुहुन्थ्यो, "मेरो फिक्री नगर्नुहोस्, मन्रो।" अन्तमा, परमेश्वरले श्रीमानलाई विजय दिनुभयो भन्ने कुराको आफ्नो हृदयमा शान्ति मिलेपछि उहाँले उपवास बस्न छोड्नुभयो र श्रीमानले बाँकी जीवनभरि एक थोपा रक्सी पिउनुभएन।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course - 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो "एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू" शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9851-055734, 9818-399206; मूल्य: नेरू ३०० मात्र।