येशूको प्रार्थनाको जीवन

यस पृष्ठलाई छाप्नुहोस्

आइभान फ्रेन्च

प्रार्थना भन्ने विषयवस्तुको अध्ययन गर्ने हो भने हामीले येशूको अभ्यास र शिक्षालाई अवलोकन गर्नु अत्यन्तै जायज देखिन्छ; किनकि --

पहिलो, उहाँले जुन विषयलाई छुनुहुन्छ, उहाँ त्यसको सर्वोत्कृष्ट शिक्षक ठहरिनुहुन्छ। प्रार्थनाको विषयमा उहाँका भन्ने कुरा धेरै छन्।

दोस्रो, उहाँ हरेक विश्वासीका लागि नमुना हुनुहुन्छ। यदि हामी थोरबहूत गम्भीरतामा उहाँको अनुसरण गर्न चाहन्छौं भने, हामीले उहाँको प्रार्थनाको निरन्तर तथा नियमित अभ्यासलाई अवलोकन गर्नैपर्ने हुन्छ।

तेस्रो, पवित्र जीवनको जड नै ख्रीष्टस्वरूप (Christlikeness) अर्थात् ख्रीष्टजस्तै बनिँदैजानु हो (१ यूहन्ना २:६; रोमी ८:२८,२९)। कुनै पनि ख्रीष्टियनलाई ख्रीष्टस्वरूपमा अघि बढेको मान्न सकिन्न जसले आफ्नो जीवनमा प्रार्थनालाई प्रशस्त ठाउँ दिँदैन।

आफ्नो सेवाकार्यको अवधिभित्र येशूले पन्ध्र पटक प्रार्थना गर्नुभएको कुरा सुसमाचारीय पुस्तकहरूमा उल्लेखित छ। प्रत्येकलाई हामी संक्षेपमा हेरौं।

१) उहाँको बप्तिस्मामा (लूका ३:२१)

  1. प्रार्थनामा पर्खँदै गर्नुहुँदा नै उहाँले पवित्र आत्माको अभिषेक प्राप्‍त गर्नुभएको। हेर्नू: यशैया ४२:१; यशैया ६१:१; प्रेरित १०:३८; मत्ती १२:२८।
  2. येशूको जीवनमा यो अत्यन्तै महत्त्वपूर्ण घडी थियो। उहाँ नासरतको आफ्नो दुर्बोध र अपरिचित घरबाट निस्केर सामर्थ्यका वचन र कार्यले रङ्गिने आफ्नो मसीह-सेवाकार्यमा उत्रन लाग्दै हुनुहुन्थ्यो। त्यसैले उहाँले प्रार्थना गर्नुभयो।
  3. एउटा साङ्केतिक घटना, हेर्नू: प्रेरित ४:२३-३३ (विशेष गरी पद ३१)। प्रार्थनाले सामर्थ्यलाई जन्माउँछ !

२) कपर्नहुममा व्यस्त हुनुभएको एउटा दिनको लगत्तैपछि (मर्कूस १:३५; लूका ४:४२)

  1. त्यस दिन शहरमा उहाँले सभाघरको सेवामा सिकाउने काम गर्नुभएको थियो, त्यहाँ उहाँलाई एकजना दुष्टात्मा लागेको मान्छेले बीचैमा अवरोध दिएको थियो, त्यसलाई उहाँले निको पार्नुभयो, पछि पत्रुसकी सासुलाई निको पार्नुभयो, र रोगी र दुष्टात्मा लागेका थुप्रैसित उहाँ व्यस्त हुनुभयो।
  2. तर भोलिपल्ट बिहान अबेरसम्म सुत्‍नुको सट्टा उहाँ प्रार्थना गर्नालाई सबैरै उठ्नुभयो।
  3. चेलाहरूले उहाँलाई भेट्टाए र एउटा विशाल भीड उहाँसित भेट्नलाई पर्खिरहेको छ भनेर जब उहाँलाई बताइयो, उहाँ अझ अरू गाउँ तथा शहरहरूमा पनि जानुपर्छ भनेर जवाफ दिनुभयो।
  4. यहाँ हामीले सिक्नुपर्ने पाठहरू छन्:
    1. दिन जति व्यस्त हुन्छ, प्रार्थनाको त्यति नै बढी खाँचो हुन्छ।
    2. हामीले प्रार्थनाको शान्त स्थानमा नै त्यस दिनका लागि "स्वर्गीय हुकुमहरू" प्राप्‍त गर्न सक्छौं।
    3. प्रार्थनाले दर्शन वा दृष्टिलाई निर्मल पार्छ, कर्तव्यलाई परिभाषित गर्छ, आत्मालाई मृदु बनाउँछ, अठोटलाई प्रबल बनाउँछ।

३) भीडको ठेलमठेलमा (लूका ५:१६)

  1. "अनि उहाँ सुनसान ठाउँहरूमा जानुहुन्थ्यो, र प्रार्थना गर्नुहुन्थ्यो।"
  2. यो वाक्यरचनाले उहाँका व्यस्त दिनहरू कस्तो किसिमको आदतले भिजेको थियो भन्ने सङ्केत दिन्छ।
  3. मानिसको भीड लाग्दा प्रार्थना गर्ने अवसर कम हुन्थ्यो तर त्यसको आवश्यकता झन् बढी हुन्थ्यो त्यसैले मौका पाउने बित्तिकै उहाँ भीडबाट अन्यत्र जानुभई प्रार्थनामा समय बिताउनुहुन्थ्यो।
  4. हाम्रो जीवनमा बाहिरबाट जति चापाचाप आइपर्छ त्यति नै बढी प्रार्थनाको समय नछोट्टिनका लागि डाही बनी सचेत रहनुपर्छ। प्रार्थना निराशाको विरुद्धमा सुरक्षा हो।

४) बाह्रजनालाई चुन्नुअगाडि (लूका ६:१२)

  1. "ती दिनहरूमा…" ती दिनहरू यस्ता थिए:
    1. भीडहरूका बीच लोकप्रियता
    2. फरिसीहरूको बढ्दो दुश्मनी
    3. उहाँको विशाल आत्मिक भवन अर्थात् मण्डलीको जग-ढुङ्गा हुनलाई चुन्ने काम (हेर्नू: एफेसी २:२०; प्रकाश २१:१४; मत्ती १६:१८)।
  2. रातभरि प्रार्थनामा जागो रहँदाको सुनसानमा परमेश्वर पिताले येशूलाई बाह्रजना "दिनुभयो" (हेर्नू: यूहन्ना १७:६,९,११,१२)।
  3. हामीले सिक्नुपर्ने पाठहरू:
    1. महत्त्वपूर्ण निर्णयहरू गर्नु अगाडि धेरै प्रार्थना गर्नुपर्छ।
    2. प्रार्थना गर्दा परमेश्वरसित सङ्गति पनि गरिन्छ। येशूले त्यत्रो समय माग्ने काम मात्र गरिरहनुभएको थियो भन्ने कुरो अकल्पनीय छ।
    3. येशू ख्रीष्टको हरेक साँचो स्थानीय मण्डलीले पदाधिकारीहरू चुन्ने, पास्टर नियुक्त गर्ने जस्ता काम गर्नुपर्दा यो नमुनालाई पछ्यानुपर्छ। काम गर्नु अगाडि सधैं लामो समयहरू प्रार्थनामा बिताइनुपर्छ।

५) पाँच हजारलाई खुवाउनुभएपछि र पहिलाकै परीक्षाको फेरि सामना गर्नुपर्दा (मत्ती १४:२२,२३; मर्कूस ६:४५,४६; यूहन्ना ६:१५)

  1. पहाडमाथि यस रात के भएको थियो राम्ररी ध्यान दिनुहोस्:
    1. उहाँले बप्तिस्मा दिने यूहन्नाको मृत्यु भयो भन्ने खबर पाउनुभयो -- एक भावनामय घडी (मत्ती १४:१२)
    2. एकलै हुन र आराम लिन उहाँ तलाउको उत्तर-पूर्वी तटमा जानुभयो तर भीड उहाँको पछिपछि आयो (मत्ती १४:१३)।
    3. उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो (मर्कूस ६:३४) र तिनीहरूका बिरामीहरूलाई निको पार्नुभयो (मत्ती १४:१४) - यसरी नै बाँकी दिन बिताउनुभयो र त्यसपछि वृद्धिको एउटा सामर्थी आश्चर्यकर्मद्वारा सारा जमातलाई खुवाउनुभयो।
    4. उहाँका उदेकलाग्दा आश्चर्यकर्मले उत्तेजित भएर उनीहरू उहाँलाई आफ्नो राजा बनाउन खोज्दछन् (यूहन्ना ६:१५)।
    5. उहाँले आफ्ना चेलाहरूलाई तलाउपारि पठाउनुभयो र प्रार्थना गर्नालाई पहाडको एकान्तमा जानुभयो (मत्ती १४:२३)।
  2. उहाँले के प्रार्थना गर्नुभयो हामीले अड्कल मात्र लाउन सक्छौं। यसो हेर्दा त्यसमा निम्न कुरा समावेश भए होलान्: परीक्षाबाटको छुटकाराको लागि धन्यवाद, शारीरिक र मानसिक नवीकरणका लागि विन्ती, र तलाउमा यात्रा गरिरहेका त्रसित चेलाहरूको विश्वासलाई हौसला दिन सक्नका लागि सामर्थ्य। (साथै उहाँले पानीमाथि-माथि हिँड्न र पत्रुसलाई पनि त्यसो गराउन सक्नलाई विशेष सामर्थ्य पनि प्राप्‍त गर्नुभएको थियो कि?)

६) सिजरिया फिलिप्पीमा (लूका ९:१८)

  1. यहाँ भएको कुनचाहिँ अनौठो अभिव्यक्तिले ध्यानलाई आकर्षण गर्दछ?
  2. अरूहरू उपस्थित हुँदा पनि उहाँलाई पितासित एक्लै हुन सम्भव गराउने आत्माको एकान्तताको अभ्यास गर्न उहाँ जान्नुहुन्थ्यो।
  3. "यी कतिपय आखिरी घटनाहरूले यस्तो सङ्केत दिएको जस्तो देखिन्छ कि उहाँले उनीहरू (बाह्रजना) लाई उहाँसितको त्यो गुप्त सामर्थ्यको आकर्षणका निम्ति उहाँ जस्तै तृषित बनाउन चाहनुभएको थियो" (गोर्डन, २२०)।

७) रूप परिवर्तन हुँदा (लूका ९:२९)

  1. प्रार्थना गरिरहनुहुँदा उहाँको रूप बदलियो।
  2. यसले कुनै कुराको सङ्केत दिँदैछ (हेर्नू: रोमी १२:२; २ कोरिन्थी ३:१८)। विश्वासीको जीवन विस्तारै विस्तारै रूपान्तरण हुने काममा प्रार्थनाको कुनै भूमिका छैन र?

८) सत्तरीजना फर्केर आएपछि (लूका १०:२०,२१)

  1. योचाहिँ एक किसिमको उद्‍गारको प्रार्थना (ejaculatory prayer) थियो अर्थात् एकाएक गरिएको प्रार्थना।
  2. यहाँ उहाँको हृदयको आनन्द प्रस्फुटित भएको देखिन्छ। उहाँ सधैं पिताको उपस्थितिको अनुभूति गर्नुहुन्थ्यो र उहाँसित बोल्नु उहाँको लागि एकदमै स्वाभाविक कुरो थियो।

९) जब उहाँको प्रार्थना गराइले चेलाहरूको इच्छालाई जगायो (लूका ११:१)

  1. निःसन्देह उनीहरू प्रार्थना गर्ने मानिस थिए, तर उनीहरूले येशूको प्रार्थना गराइमा यस्तो गुण भएको महसुस गरे कि उनीहरूलाई आफूहरू प्रार्थनाको बारेमा केही नजान्नेहरू रहेछौं भन्ने लाग्यो।
  2. "प्रभु, हामीलाई प्रार्थना गर्न सिकाउनुहोस्" भन्ने उनीहरूको अनुरोधले गर्दा प्रभुले "दृढतापूर्वक माग्ने छेमेकी" को दृष्टान्त बाट शिक्षा दिने मौका लिनुभयो।

१०) लाजरसलाई पुनर्जीवित पार्नुहुँदा (यूहन्ना ११:४१,४२)

  1. चिहान भएको ठाउँमा आइपुग्नु अगावै उहाँले एकलै प्रार्थना गर्दै हुनुहुन्थ्यो भन्ने कुराको यहाँ सङ्केत दिइएको छ र त्यहाँ हुन गएका घटनाहरू उहाँको प्रार्थनाकै जवाफस्वरूप घटेका हुन्।
  2. येशूको प्रार्थनाको जीवनका यी विभिन्न घटनाहरूलाई नियालेर हेर्दा उहाँले आफ्ना सामर्थ्यका कामहरू पवित्र आत्माको सामर्थ्यमा गर्नुभएको थियो भन्ने कुरा स्पष्ट हुन आउँछ जुन सामर्थ्य उहाँले प्रार्थनाद्वारा प्राप्‍त गर्नुहुन्थ्यो।

११) जब कोही ग्रीक खोजकर्ताहरू उहाँकहाँ ल्याइए (यूहन्ना १२:२७,२८)

  1. योचाहिँ उद्‍गारको प्रार्थना थियो - विश्वासी र अविश्वासी दुवैका बीचमा प्रस्फुटन भएको उहाँको गहीरो भावनाको अभिव्यक्ति।
  2. उहाँले पितासित राख्नुभएको मागले उहाँको वास्तविक मनुष्यत्वलाई झल्काएको छ। डरलाग्दो मृत्युको सम्भावना देखेर झस्किनु मनुष्य स्वभावका लागि पूर्णतयाः स्वाभाविक कुरा हो, पाप होइन।
  3. उहाँले आफूलाई तुरुन्तै पिताको अधीनतामा सुम्पनुभएको कुराले प्रार्थनाको अन्तिम लक्ष्य देखाउँदछ जुन हो परमेश्वरको महिमा।
  4. स्वर्गबाट आएको पिताको जवाफले प्रार्थनामा राखिएका मागहरूले साँच्ची नै वस्तुगत परिणामहरू ल्याउन सक्छन् भन्ने कुराको प्रमाण दिएको छ र त्यसलाई प्रकट गरेको छ।

१२) पत्रुसको निम्ति गरिएको उहाँको अन्तर्विन्ती (लूका २२:३१,३२)

  1. यहाँ उहाँको प्रार्थनाको आदतहरूमध्येको एउटा कुरा झल्केको पाइन्छ। उहाँले पत्रुसको निम्ति नाम लिएर प्रार्थना गरिरहनुभएको रहेछ। उहाँ अर्काका लागि अन्तर्विन्ती गर्ने गर्नुहुन्थ्यो।
  2. आज पनि बौरिउठ्नुभएका प्रभुको प्रार्थनाको सेवाकार्यको मुटु अन्तर्विन्ती हो (हेर्नू: हिब्रू ७:२५; रोमी ८:३४)।
  3. यस प्रार्थनाको जवाफ पक्कै पनि मिल्यो। त्यस रात पत्रुसको साहस टुटे तापनि उसको विश्वास भने टुटेन।

१३) उहाँको महापूजाहारीय प्रार्थना (यूहन्ना १७)

  1. वास्तवमा "प्रभुको प्रार्थना" यसलाई भन्न मिल्छ। उहाँको मृत्यु हुनु अगाडिको रातमा येशूले गर्नुभएको प्रार्थना हो यो। ठीक कुन ठाउँमा उहाँले यो प्रार्थना गर्नुभयो सो अनिश्चित छ तर त्यो यरुशलेम र गेतसेमनीको बीचको ठाउँ हुनुपर्छ भन्ने बुझिन्छ।
  2. यो प्रार्थनालाई तीन खण्डमा सजिलै विभाजन गर्न सकिन्छ: प्रभुले आफ्नो निम्ति, आफ्ना प्रेरितका निम्ति र आफ्नो भावी मण्डलीका निम्ति प्रार्थना गर्नुहुन्छ।
    1. ख्रीष्टले आफ्नो निम्ति गर्नुभएको प्रार्थना (पद १-५)
      1. विन्ती: "तपाईंको पुत्रको महिमा गर्नुहोस्...मेरो महिमा गर्नुहोस्" (पद १,५)
      2. उद्देश्य: "र तपाईंका पुत्रले पनि तपाईंको महिमा गरून्" (पद १)
      3. आधार: उहाँले पूरा गर्नुभएको कार्य (पद २-४)
    2. ख्रीष्टले आफ्ना प्रेरितका निम्ति गर्नुभएको प्रार्थना (पद ६-१९)
      1. विन्ती: "रक्षा गर्नुहोस्" (पद ११,१५), संसारका शत्रुदेखि, अर्थात् पाप र शैतानदेखि। "पवित्र पार्नुहोस्" (पद १७)। पवित्र पार्ने माध्यम परमेश्वरको वचन हो।
      2. उद्देश्य: एकता (पद ११) र आनन्द (पद १३)। (दाँज्नुहोस् यूहन्ना १५:११)
      3. आधार: परमेश्वरसितको सम्बन्ध (पद ६-८, १०) र संसारसितको सम्बन्ध (पद ११)। यसैको कारण उनीहरूलाई ईश्वरीय संरक्षणको खाँचो पर्छ (तुलना गर्नुहोस्: यूहन्ना १५:१८)
    3. ख्रीष्टले आफ्नो मण्डलीको लागि गर्नुभएको प्रार्थना (पद २०-२६)
      1. विन्ती: उनीहरू जीवनमा (पद २१) र वासस्थानमा (पद २४) एक होऊन्
      2. उद्देश्य: वर्तमान समयमा (पद २१,२३), "र...संसारले विश्वास गरोस्"; र भविष्यमा (पद २४) "र...मेरो महिमा तिनीहरूले देखून्"
      3. आधार: पितासितको ख्रीष्टको एकता (पद २१-२३) र ख्रीष्टको निम्ति पिताको प्रेम (पद २४,२५)
  3. सारांशमा, ख्रीष्टले तीनओटा कुराका लागि प्रार्थना गर्नुभयो: (१) आफ्नो महिमाकरणका लागि, (२) प्रेरितका संरक्षणका लागि र (३) सबै विश्वासीहरूलाई एक बनाइनका लागि

१४) गेत्समनीको बगैँचामा (मत्ती २६:३६-४६; मर्कूस १४:३२-४२; लूका २२:४०-४६)

  1. यूहन्ना १७ को प्रार्थनाको चरित्र शान्त छ भने गेत्समनीको तीव्र, किनकि पहिलोचाहिँ अन्तर्विन्तीको प्रार्थना थियो भने दोस्रोचाहिँ एकदमै व्यक्तिगत।
  2. त्यो "कचौरा" -- अर्थात् भोलिपल्ट हुने पिताबाटको विपत्ती र विछोड -- बाट उहाँ फेरि पनि झस्किनुभएकोबाट प्रभुको साँचो मनुष्यत्व झल्केको देखिन्छ।
  3. यस सङ्घर्षसित हामीले आफ्नै अनुभवलाई तुलना गर्नु खास असम्भवै छ किनकि यसमा ख्रीष्टका दुई स्वभावहरूका सारभूत एकता (hypostatic union) को भूमिका हुनु बाहेक हाम्रो निम्ति उहाँले सहनुभएको उहाँको कष्टको सवाल छ।
  4. तर आफ्नो गहिरो खाँचोको घडीमा उहाँले मानव सहचारिताको चाहना गर्नुभएको कुरामा ध्यान दिनुहोस्: "...तिमीहरू यहीं बस, र मसँग जागा रहो।" यहाँ हामी प्रार्थनाको सङ्गतिको चाहना देख्छौं।
  5. प्रार्थनामा ठूलो असफलता हुनुको पछाडीको कारण पनि यहाँ दिइएको छ: "...आत्मा साँच्चै तयार छ, तर शरीर कमजोर छ।"
  6. साथै आफ्ना मानवीय भावनाहरू जस्तासुकै भए तापनि उहाँ पूर्णरूपमा पिताको इच्छामा सुम्पिनुभएको तथ्यलाई ध्यान दिनुहोस्: "...तरै पनि म जे इच्छा गर्छु त्यो होइन, तर तपाईं जे इच्छा गर्नुहुन्छ।"

१५) क्रूसबाट गर्नुभएका प्रार्थनाहरू (मत्ती २७:४६; मर्कूस १५:३४; लूका २३:३४,४६)

प्रभुले जसरी आफ्नो सेवाकार्य प्रार्थनाद्वारा सुरु गर्नुभयो (लूका ३:२१), उसरी नै अन्त पनि गर्नुभयो। क्रूसबाट बोल्नुभएका उहाँका सातओटा "वाक्यहरू" मध्येमा तीनओटा चाहिँ प्रार्थना थिए।निश्चय नै जीवनपर्यन्तका आदत मृत्युको घडीमा झल्कन्छन् नै।

  1. "हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्; किनकि तिनीहरूले के गरिरहेका छन्, सो जान्दैनन्" (लूका २३:३४)।
    1. यो एक अन्तर्विन्तीको प्रार्थना हो। उहाँका हातले अब परमेश्वरका काम गर्नु असम्भव थियो; उहाँका पाउ अब परमेश्वरका मार्गमा हिँड्नु असम्भव थियो; तर गर्न सकिने सेवाहरूमा सर्वोत्तमचाहिँ उहाँको लागि प्राप्य नै थियो जब उहाँ आफूलाई सताउनेहरूका लागि प्रार्थना गर्नुभयो।
    2. यहाँ हामी हाम्रा प्रार्थनाहरूका एउटा अत्यन्तै ठूलो लक्ष्यलाई हेरिरहेका छौं अर्थात् हामीलाई खराबी गर्नेहरू। हाम्रा शत्रुहरूलाई प्रेम गर्नुपर्छ र हामीलाई खराबी गर्नेहरूका लागि प्रार्थना गर्नुपर्छ भनेर हामीलाई आज्ञा गरिएको छ (मत्ती ५:४४)। कतिपटक यो असम्भव जस्तै देखा पर्छ तर जसरी येशूले आफूलाई हत्या गरिरहेकाहरूका लागि प्रार्थना गर्नुभयो त्यसरी नै उनीहरूका लागि पनि हामीले प्रार्थना गर्ने अठोट गर्दा यो पहिलाभन्दा धेरै सजिलो हुन थाल्छ।
  2. "हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभयो?" (मत्ती २७:४६; मर्कूस १५:३४)
    1. योचाहिँ हाम्रा पाप-हरणकर्ताको चित्कार थियो जब हाम्रा सबै पापहरू उहाँमाथि हालियो। यो व्यक्तिगत थियो, भयावह थियो, पीडादायी थियो र जान्नै नसकिने थियो।
    2. हाम्रो प्रार्थनाको जीवनका लागि महत्त्वपूर्ण कुरा के सिक्न सक्छौं? अवश्य नै यहाँ हामी पाप कति भयङ्कर थियो भन्ने देख्छौं र त्यसैले व्यक्ति क्षमा र शुद्धिकरणका लागि हामी पाप स्वीकार गर्न छिटो हुनुपर्छ।
  3. "हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु" (लूका २३:४६)।
    1. प्रार्थना येशूको जीवनको आदत नै थियो। उहाँले "निरन्तर" प्रार्थना गर्नुभयो। अब उहाँले आफ्नो जीवन जसरी जिउनुहुन्थ्यो त्यसरी अन्त गर्नुभयो -- पितासित शान्तमय सङ्गति गर्नुहुँदै।
    2. के हामी राम्रो तरिकामा मर्न चाहन्छौं? त्यसो भए हामी राम्ररी जिउनुपर्छ। र मृत्युको अनुभवलाई उचित किसिमले पार गराउने एउटै किसिमको जीवनचाहिँ प्रार्थनाको जीवन हो।

साभार:
Ivan H. French, The Principles and Practice of Prayer, The Great Commission Prayer League, Leesburg, Florida (1985)